निर्णय नं. १८०७ - गूठी धर्म कायम गरिपाउँ

निर्णय नं. १८०७ ने.का.प. २०४० अङ्क ११
फुलबेञ्च
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०३८ सालको दे.पु.नं. ४६
फैसला भएको मिति : ०४०।११।२६।६ मा
निवेदीका/वादी : का.जि.का.न.पं.वडा नं.८ डेरा गरी बस्ने जगतकुमारी राजभण्डारी
विरूद्ध
विपक्षी/प्रतिवादी : का.जि.का.न.पं.वडा नं.५ यंगाल टोल बस्ने रत्नकुमारी राजभण्डारीसमेत
मुद्दा : गूठी धर्म कायम गरिपाउँ
(१) गूठी राख्नेको सन्तानलाई गूठी धर्मलोप भएको खण्डमा धार्मिक कृति विधिवत रूपले चलाई राख्नुपर्ने हक दायित्व रहन्छ ।
(प्रकरण नं. ११)
(२) आफ्नो पुर्खाले राखेको गूठी कसैले धर्मलोप गरेमा गूठीको ३ र ४ नं.तथा अ.बं.८२ नं.ले उजूर गर्ने हकदैया निजमा रहने स्पष्ट छ ।
(प्रकरण नं. ११)
निवेदीका वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ
विपक्षी प्रतिवादीतर्फबाट : वरिष्ठ अ.श्री शम्भुप्रसाद ज्ञवाली तथा विद्वान अधिवक्ता श्री केदारचरण राय
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह
१. यस अदालतको डिभिजनबेञ्चबाट मिति ०३८।२।१५।५ मा भएको फैसला उपर निवेदीकाको श्री ५ महाराजाधिराज सरकारका हजूरमा बिन्तिपत्र पर्दा उपरोक्त मुद्दा फुलबेञ्चबाट दोहर्याई हेरी दिनु भन्ने हु.प्र.बक्स भई आए बमोजिम यस फुलबेञ्चको लगतमा दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ ।
२. मेरो पूर्खाले पशुपति गोकर्णमा शिवालयहरू र ललितपुर मंगलबजार कोत अगाडि त्यहाँ फलेमचा सतल पाटीमा श्री नारायणको मूर्ति स्थापना गरी महेन्द्रनाथको यात्रामा पत्ता छाय गर्ने गूठी समेत राखी जानु भएको, पूर्खाको सन्तानहरूले सो गूठी चलाई आएकोमा गूठी हकमा मुद्दा परी तत्कालिन कान्तिपुर देवानी अदालतबाट १९।९४।११।२० मा गूठीमा बेलकुमारीको ३ भाग र खड्गबहादुरको १ भाग लाग्ने गरी फैसला भएको उक्त पाटी बिग्री १९९० सालको भुकम्पमा भत्की सो समेतले चर्चेको पाताल जग्गा पूर्वतर्फ पश्चिम लम्बाई फिट ५२ उचाई ९ र उत्तर दक्षिण चौडाई फिट १८ उचाई ९ हालसम्म पातालै छ । उक्त पाताल जग्गा मध्ये पूर्व पश्चिम जग्गा १७.७ चौंडाई ६,३ को रु.६,०००। मोलिने धर्म कीर्ति र गूठीमा समेत दर्ता भइरहेको सार्वजनिक सत्तल पाटी भएको पाताल भइराखेको जग्गामा मंगलकृष्ण श्रेष्ठ, धर्मबहादुर र रत्नकुमारीले धर्मलोप गर्ने गरी राजीनामा लिई ल.पु.न.पं.बाट पास पूर्जि गराई घर बनाइसकेकोबाट सतल पाटी जस्तो सार्वजनिक धर्म किर्तिस्थान भन्ने तर्फ कति वास्ता नराखी ल.पु.न.पं.ले नगरपञ्चायत ऐन, २०१९ को दफा १७ को उपदफा (१) को खण्ड (ज.र.य.) को विपरीत कार्य गरेको तथा विपक्षीहरूको उक्त कारवाही मुलुकी ऐन गूठीको महलको २ नं.र ३ नं.को विरूद्ध भएको हुँदा गूठीको महलको १६ नं.अन्तर्गत विपक्षीहरूले बनाइसकेको घर, घर बनाउनेको महलको ४ नं.मुताविक घर भत्काई त्यस ठाउँमा सार्वजनिक सतल पाताल कायम गरी गूठी धर्म कायम गरिपाउँ भन्ने समेत मिति २०३०।६।७।१ को जगतकुमारीको फिराद रहेछ ।
३. फिराद दावी झुठ्ठा हो । पाताल र त्यसले चर्चेको लगापात समेत रत्नकुमारीबाट फार्छे गरी लिई मेरो हक हुनआएको उक्त जग्गामा सरजमीन बुझी ल.पु.न.पं.बाट पास पूर्जि गराई घर गरी सकेकोमा यसै सम्बन्धमा यसै जग्गा उपर निरमान नेवार समेतका व्यक्तिको उजूर परी ल.पु.न.पं.बाट घर बनाएतर्फ नक्सा बमोजिम गर्नु भनी निर्णय भएको त्यसपछि घर बनाउन रोकी पाउँ भनी वा.अं.अ.मा निषेधाज्ञाको निवेदन दर्ता गरेकोमा खारेज हुने ठहराई फैसला भई अन्तिम भएको छ तहाँफेल सतल पाटी पतछाय गर्ने गूठी यो मुद्दा परे बाहेकको प्र.मध्ये मंगलकृष्णको घर देखि पश्चिम आज सम्म छँदैछ । मैले घर बनाएको घर पाताल दाता रत्नकुमारीको एकलौटी हकको हो । गूठी घर भत्की पाताल भएको होइन । रत्नकुमारीको कुनै अंशियार नहुँदा अ.बं.८२ नं.ले विपक्षको हकदैया पुग्दैन । किन्ने व्यक्ति २ जना भई पृथक–पृथक लिखत हुँदा एउटै फिराद लाग्न नसक्ने अ.बं.७२ नं.मा स्पष्ट छ । सार्वजनिक मास्न र निजी प्रयोग भएको भए सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को संशोधन सहित अनुसूची १ को देहाय ९ को कार्यविधि अनुसारको उजूर नहुँदा खारेज हुनुपर्छ भन्ने समेत धर्मबहादुर शाक्य, मंगलकृष्ण श्रेष्ठको एकै व्यहोराको पृथक–पृथक प्रतिउत्तरपत्र ।
४. मिति २०००।११।१९।५ मा मेरो पति खड्गबहादुरज्यूले सन्तान दर सन्तान गूठी चलाई खान पाउने गरी भत्केको सतल बनाइएको समेत जनाई २ छापे तोक सदर भई २ छापे सदर समेत भएको र अहिले सम्म हामीले नै जो गर्नु चलाउनुपर्ने चलाई आएको त्यस्तो हाम्रो एकलौटी हक भई निज वादीको आमा वेलकुमारीको हक टुटी सकेको भन्ने स्पष्टै छ । आफ्नो हक नभएको कुरामा व्यक्तिगत हकबाट समेत निजले नालेश गर्न पाउने हैन । घर बनाउनेको ४ नं.प्रयोग र घर भत्काई सतल पाताल कायम गरिपाउँ भन्ने तर्फ राजीनामा लिई बनाएका कुरामा आफ्नो हक नपुग्ने जग्गामा बनाएको भन्ने प्रश्नै उठदैन । सतलले चर्चेको पाताल जग्गा गूठीको भन्ने सनदबाट देखिँदैन । आफ्नो हकभोगको जग्गा मंगलकृष्ण समेतका व्यक्तिलाई राजीनामा गरी दिएका र निजहरूले पनि नक्सा पास गरी घर बनाएको हुँदा खारेज हुनुपर्ने भन्ने प्र.रत्नकुमारी राजभण्डारीको प्रतिउत्तरपत्र ।
५. २००३ सालको सनदले उक्त गूठी सतल खड्गबहादुरले एकलौटी खर्च लगाएकोले उक्त गूठी सन्तान दर सन्तानले एकलौटी खान पाउने गरी पाएको देखिनाले वेलकुमारीको हक ।
६. टुटी सकेको हुनाले वेलकुमारीको छोरी वादीको हक लाग्ने भन्ने देखिएन । प्रस्तुत मुद्दा श्री ५ को सरकार वादी हुने अ.बं.१० भित्र समेत नपरेको, मुलुकी ऐन गूठीको महलमा धर्मलोपमा जोसुकैको नालेश लाग्न व्यवस्था भएको देखिएन । अ.बं.८२ नं.मा जसको जुन कुरामा हक पुग्छ उसले सो कुरामा दावी गरी नालेश दिए मात्र लाग्छ भन्ने उल्लेख भएको हुनाले हक नपुग्ने वादीको फिरादबाट इन्साफ तहकिकात गर्न नमिल्ने र यिनै वादीको प्र.विन्दुमति समेत उपर नालेश परेका पाताल कायम गरिपाउँ भन्ने मुद्दा समेत आजै खारेजी फैसला भएको हुनाले समेत फिराद खारेज हुने ठहर्छ भन्ने समेत ललितपुर जिल्ला अदालतको २०३२।७।२३।१ को फैसला ।
७. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादीको पुनरावेदन परेकोमा शुरूले गरेको मनासिव ठहराई म.क्षेत्रीय अदालतबाट मिति २०३५।६।१८।४ मा फैसला भएको रहेछ ।
८. उक्त मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्न अनुमति पाउँ भन्ने समेत वादीको निवेदनमा निवेदीका वादीले आमा वेलकुमारीको अविवाहिता छोरी भनी निवेदनमा उल्लेख गरी पूर्वजले राखेको गूठी बेच बिखन भएकोमा गूठी नै कायम गराई पाउँ भन्ने दावी लिई आएकोमा गूठी राख्नेको सन्तानलाई गूठी धर्मलोप भएको खण्डमा धार्मिक कीर्ति विधिवत रूपले चलाई राख्नुपर्ने हक दायित्व रहने नै हुनाले गूठी राख्नेको सन्तान अविवाहिता छोरी निवेदीकाको दावीलाई अ.बं.८२ ले हकदैया नलाग्ने भनी मध्यमाञ्चल क्षेत्रीय अदालतले ०३५।६।१८ मा सोझै खारेज गर्ने गरेको निर्णय गूठीको महलको नं.३,४ तथा नं.१६ को प्रतिकूल कानुनी त्रुटि भएको देखियो । यस्तो त्रुटि सार्वजनिक महत्त्वको विषयमा प्रत्यक्षतः गम्भीर कानुनी त्रुटि देखिएकोले न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) बमोजिम पुनरावेदनको अनुमति दिएको छ भन्ने समेत २०३६।९।५।५ को डिभिजनबेञ्चको आदेश ।
९. यसमा सार्वजनिक सतल पातालै कुराको दावा लिँदै मिति २०३०।६।७ गते प्रस्तुत फिरादपत्र परेको छ । २०२९ साल आश्विन ५ गत देखि प्रारम्भ भएको गूठी संस्थान ऐनका दफा १८ मा छुट गूठीको हक दायित्व संस्थानमा सर्ने व्यवस्था भएको पाइन्छ । प्रस्तुत मुद्दामा विवादास्पद गूठी जग्गा छुट गूठीको जग्गा हो भन्ने कुरामा कुनै विवाद छैन । अतः वादीको दावीबाट इन्साफ गर्न नमिल्ने खारेज हुने ठहराई मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति २०३५।६।१८ मा भएको इन्साफ मनासिव ठहर्छ भन्ने मिति २०३८।२।१५।५ को डिभिजनबेञ्चको फैसला ।
१०. उक्त फैसला फुलबेञ्चबाट दोहर्याई हेरी दिनु भन्ने हु.प्र.बक्स भई आएबमोजिम प्रस्तुत मुद्दा यस फुलबेञ्चको लगतमा दर्ता हुनआएको रहेछ ।
११. प्रस्तुत मुद्दामा निवेदीका जगतकुमारीको तर्फबाट उपस्थित हुनुभएका वरिष्ठ विद्वान अधिवक्ता श्री कुसुम श्रेष्ठ र विपक्षीहरू मंगलकृष्ण श्रेष्ठ र धर्मबहादुर शाक्यका तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली तथा रत्नकुमारीका तर्फबाट विद्वान अधिवक्ता श्री केदारचरण रायले गर्नुभएको बहस समेत सुनी डिभिजनबेञ्चबाट मिति ०३८।२।१५।५ मा भएको निर्णय मनासिव बेमनासिव के हो निर्णय गर्नु परेको छ । यसमा निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा निवेदीका वादी जगतकुमारी राजभण्डारीले आमा बेलकुमारीको एकमात्र अविवाहिता छोरी भनी निवेदनमा उल्लेख गरी पूर्वजले राखेको गूठी विपक्षीहरूले बेचबिखन गरी घर बनाई धर्मलोप गरेकोले गूठी नै कायम गराई पाउँ भन्ने दावी लिएकी देखिन्छ । गूठी राख्नेको सन्तानलाई गूठी धर्मलोप भएको खण्डमा धार्मिक कीर्ति विधिवत रूपले चलाई राख्नुपर्ने हक दायित्व रहन्छ । प्रस्तुत मुद्दामा निवेदीका वादी जगतकुमारी राजभण्डारीलाई आफ्नो पुर्खाले राखेको गूठी कसैले धर्मलोप गरेमा गूठीको ३ र ४ नं.तथा अ.बं.८२ नं.ले उजूर गर्ने हकदैया निजमा रहने स्पष्ट छ । तसर्थ निवेदीकाको दावीलाई अ.बं.८२ नं.ले हकदैया नलाग्ने भनी मध्यमाञ्चल क्षेत्रीय अदालतले खारेज गर्ने गरेको इन्साफ मनासिव ठहर्याएको डिभिजनबेञ्चको मिति ०३८।२।१५।५ को निर्णय मिलेको देखिएन । अतः पुनः जो बुझ्नुपर्ने बुझी कानुनबमोजिम इन्साफ गर्नु भनी तारेखमा रहेका दुवैपक्षलाई तारेख तोकी मिसिल शुरू ललितपुर जिल्ला अदालतमा पठाई दिनु ।
उक्त रायमा हामीहरू सहमत छौं ।
न्या.पृथ्वीबहादुर सिंह
न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०४० साल फाल्गुण २६ गते रोज ६ शुभम् ।