शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १८०८ - अर्को लिखत गराई पाउँ

भाग: २५ साल: २०४० महिना: फागुन अंक: ११

निर्णय नं. १८०८     ने.का.प. २०४० अङ्क ११

 

फुलबेञ्च

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०३९ सालको दे.फु.नं. ५४

फैसला भएको मिति : २०४०।११।१९।६ मा

निवेदक/प्रतिवादी : पर्वत जिल्ला पाङ बडहरे गा.पं.वार्ड नं.टार बस्ने खगराज रिजाल

विरूद्ध

विपक्षी/वादी : ऐ.ऐ बस्ने सरस्वती जैस्यनी

मुद्दा : अर्को लिखत गराई पाउँ

(१)                लिखित दैवी परेको देखिन आएकोले अर्को लिखत गरी दिनपर्ने ठहर्‍याएको इन्साफ मनासिव छ ।

(प्रकरण नं. १६)

निवेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल

विपक्षीवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

फैसला

न्या.गजेन्द्रकेशरी बास्तोला

१.     सर्वोच्च अदालत डिभिजनबेञ्चबाट मिति ०३८।७।३।२ मा भएको फैसला दोहर्‍याई पाउँ भन्ने निवेदन प्रतिवादी खगराज रिजालले न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराजका हजूरमा चढाउनु भएकोमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम उपयुक्त मुद्दा दोहर्‍याई दिनु भनी हु.प्र.बक्स भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ।

२.    मिति २०२५।५।२९ गते भाइ खगराज, दयानिधि आसामी भई रु.११,०००। को भाखा पत्रको तमसुक लेखी दिएका मैले राजीनामा पारित गरी दिएको रूपैयाँ देउ भन्दा टारवार गर्न थाले । तमसुक मामालाई देखाउँछु भनी झोलामा राखी ०३३।६।१ मा दमुखोला तर्न लाग्दा खोलाको माझमा पुग्नासाथ भेल आई मलाई पल्टाई कागज सहितको झोला र छाता समेत बगाई दियो चण्डीप्रसाद खगराजले मलाई पाखा निकाली दिनुभयो । लेनदेन व्यवहारको १ नं.बमोजिम दर्खास्त दिई ०३३।६।१५ गतेसम्म अर्को तमसुक गरी देउ भनी भन्दा नदिएकोले अर्को लिखत गराई पाउँ भन्ने समेत फिरादपत्र ।

३.    माल अड्डामा गएका बखत माल अड्डामा माल अड्डाको हाकिम समक्ष सबै रूपैयाँ बुझी लिइसकेकी छु । राजीनामा पारित भएको हो रु.११,०००। दिन बाँकी होइन । रु.११,०००। दिनबाँकी भनी दसौंद ब्याजसमेत कवोल गरी तमसुक लेखी दिएको होइन । वादी दावी झुठ्ठा हो अर्को लिखत गरी दिनुपर्ने होइन भन्ने समेत खगराजको प्रतिवादी ।

४.    दाजु र मेरो गोश्वारा व्यवहार हुँदा एकै पटक दिउँला भन्दा भन्दै यो झुठ्ठा फिराद दिएकी हुन् भन्ने समेत दयानिधिको प्रतिउत्तर ।

५.    वादीलाई प्रतिवादीहरूले रु.११,०००। को कपाली तमसुक हरिदत्तका हस्ताबाट लेखी फट्के साक्षी बसेको छु लिखत गर्नुपर्ने हो अरू कुरा थाहा छैन भन्ने समेत प्रेमराज वैरागीको बयान ।

६.    तमसुकमा बसेको भन्ने दयानिधिका नाउँमा रजिष्ट्रेशन पारित हुन नसकेको र साक्षी बस्ने प्रेमदास बैरागीले लिखत भएको खास सबूत नदिएका हुँदा लिखत भएको पक्का प्रमाण वादीले पुर्‍याउन सकेको नदेखिँदा र दैवी परेकोलाई बुझिएका वादीका देखि जान्ने साक्षीले नै प्रष्ट रूपमा इन्कार गरेको देखिँदा वादी दावी झुठ्ठा ठहर्छ भन्ने समेत ०३४।५।२६ को पर्वत जि.अ.को फैसला।

७.    उक्त फैसलामा चित्त बुझेन भन्ने सरस्वती जैस्यानीको पुनरावेदन ।

८.    खगराजले वादीका हकको जग्गा रु.१२,०००। मा राजीनामा पारित गरी दिएको हो भन्ने तर्फ दुबै थरीको मुख मिलेको र वादीलाई ११,०००। को लिखत गरी दिएको हुँदा अर्को लिखत गरी दिनुपर्ने हो भनी खगराजका सहोदर भाइ दयानिधी लाचार भएको समेतबाट प्रतिवादीको वादीका फिराद बमोजिम रु.११,०००। को अर्को लिखत गरी दिनुपर्ने ठहर्छ भन्ने समेत धौलागिरी अञ्चल अदालतको फैसला ।

९.    अञ्चल अदालतको फैसलामा प्रत्यक्षतः कानुनी त्रुटि भएकोले पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने प्रतिवादी खगराज रिजालको निवेदन परेकोमा पुनरावेदन गर्ने अनुमति प्रदान गरी चण्डीप्रसाद र खगराजको बकपत्रबाट खोला तरेको कुरा पुष्ट्याइँ भएको छ, दयानिधि र खगराजले उक्त राजीनामा लिएको जग्गा बाँडी खाने मिलापत्र भएको भन्ने देखिएको छ दयानिधि र खगराजका बीच मिलापत्र भएको छ । दयाधिनीले स्वीकार गर्नुपर्ने अवस्था देखिन्न तसर्थ अर्को लिखत गरी दिने ठहर्‍याएको अञ्चल अदालतको फैसला मनासिवै छ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला रहेछ ।

१०.    उक्त फैसलामा सार्वजनिक महत्त्वको विषयमा प्रत्यक्षतः गम्भीर कानुनी त्रुटि भएकोले पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने खगराज रिजालको निवेदन परी वादीले दावी गरेअनुसारको सबूत प्रमाण पुर्‍याई सो कुराको समर्थन गराउन सक्नुपर्नेमा वादीको साक्षीले पनि सो कुराको समर्थन गरेको देखिन नआएकोमा प्रतिवादी मध्येकै एकजना दयानिधिले वादी दावीको कुरालाई स्वीकार गर्दैमा पक्का प्रमाणको अभावमा वादीले दावी गरेअनुसार अर्को लिखत गराई दिने गरी पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट गरेको फैसलामा प्रमाण ऐन, ०३१ को दफा ५४ र अ.बं.१८५ नं.को त्रुटि भएको भनी अनुमति प्रदान गरेको रहेछ ।

११.    यसमा १२,०००। मा मोल तय गरी राजीनामा गराएपछि बाँकी रु.११,०००। को छुट्टै भर्पाई गराई दिएको थियो । सो भर्पाई खोलाले बगाएको हुँदा अर्को गराई पाउँ भन्ने मुख्य वादी दावी भएकोले त्यस्तो लिखत थियो वा थिएन भन्ने प्रश्नमा वादीको पेटबोलीबाट बुझिएका प्रेमदास वैरागीले लिखत खडा गरेको थियो भनी बकपत्र गरेका र सो रूपैयाँ बुझाउन पर्ने मध्येका दयानिधिले कागज गरेमा सावितै रहेकोबाट समेत लिखत भएको कुरामा शंका नदेखिएको उक्त लिखत दैवी परेको भन्ने कुरा पनि मिसिलबाट प्रष्ट हुनआएकोले अर्को लिखत गरी दिन पर्ने देखिएकोले क्षेत्रीय अदालतको फैसला मनासिव छ भन्ने मिति २०३८।७।३ गतेको डिभिजनबेञ्चको फैसला ।

१२.   श्री ५ महाराजाधिराज सरकारबाट उक्त फैसला नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्‍याई दिनु भन्ने हु.प्र.बक्स भई आए बमोजिम यस बेञ्च समक्ष पेश हुनआएको रहेछ ।

१३.   प्रस्तुत मुद्दामा निवेदक प्रतिवादीका तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेलले लिखत गरेको र दैवी परेको भन्ने दावी प्रमाणित गर्ने भार वादीको हुन्छ वादीकै साक्षी खगराजले छाता र झोलाको बारेमा थाहा छैन पारसम्म लगाई दिएको हुँ भनी बकपत्र गरेको छ । प्रतिवादीका साक्षीहरूले लिखत गरेको र दैवी परेको होइन भनी बकेका छन् प्रमाण ऐनको दफा ४९(२) अनुसार साक्षी बकाउँदा मुद्दाको दुवैपक्षको रोहवरमा बकाउनु पर्दछ तर वादीले देखाएको कपाली तमसुकको अन्तरसाक्षी प्रेमदासको बकपत्र उक्त दफा ४९(२) अनुसार भएको छैन । तसर्थ यस अदालतको डिभिजनबेञ्चको फैसला त्रुटिपूर्ण भएकोले बदर हुनुपर्दछ भन्ने समेत बहस गर्नुभयो । विपक्षीवादीका तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले प्रतिवादी मध्येकै दयानिधिले वादीलाई रु.११,०००। को लिखत गरिदिएको हुँदा अर्को लिखत गरी दिनुपर्ने हो भन्ने कुरामा सावित भएका छन् र यस्तो साविती भएको कुरामा प्रमाण बुझ्नु पर्दैन । प्रमाणको साक्षीलाई जिरह गर्न आवश्यक छैन । वादी र प्रतिवादीहरूका बीचमा कपाली तमसुकको लिखत भएको पक्का प्रमाण उक्त लिखतको अन्तरसाक्षी प्रेमदास वैरागीको भनाई छ । वादीका साक्षी खगराजले यी वादीलाई खोलाबाट तारी दिएको हुँ भनी बयान गरेका छन् । तसर्थ यस अदालतको डिभिजनबेञ्चबाट लिखत भएको र उक्त लिखत दैवी परेकोले अर्को लिखत गरी दिनुपर्ने भनी गरेको इन्साफ मनासिव हुनाले सो फैसला यथावत कायम रहनु पर्दछ भन्ने समेत बहस गर्नुभयो।

१४.   दुबै पक्षका विद्वान कानुन व्यवसायीहरूले गर्नुभएको बहस समेत सुनियो । अब प्रस्तुत मुद्दामा डिभिजनबेञ्चबाट मिति ०३३।७।३।२ मा भएको इन्साफ मनासिव छ छैन भन्ने कुरा हेर्नु परेको छ । यस तर्फ हेर्दा मिति ०३८।७।५।५ को वादीको फिरादपत्रमा मेरो सहोदर भाइहरू खगराज र दयानिधि आसामी र म साहु भई मिति ०२५।५।२९ गते प्रेमदास उमानन्द समेत अन्तरसाक्षी बसी रु.११,०००। को भाकापत्र तमसुक गरी दिएकोमा उक्त लिखत ०३३।६।१ गते दमु खोलामा दैवी परेकोले र निज आसामीहरू खगराज र दयानिधिले अर्को लिखत गरी नदिएको हुनाले ती विपक्षीहरूबाट अर्को रु.११,०००। को तमसुक गराई पाउँ भन्ने दावी लिएको देखिन्छ । प्रतिवादी दयानिधिको प्रतिउत्तरको प्रकरण (२) र (३) मा वादीबाट मेरो एकाघरका दाजु खगराजले रु.१२,०००। मा जग्गा राजीनामा गरी लिँदा रु.११,०००। पछि दिने गरी कपाली तमसुक गराई एउटै लिखित गरी दिएका थियौ । सो रूपैयाँ तिर्न बाँकी नै  थियो । त्यस्तैमा कागज खोलाले बगाएछ। मलाई रूपैयाँ पछि दिँदै रहुला कागज गरी देउ भनी वादीले मसँग पनि भन्नुभएको थियो । दाजुको र मेरो गोश्वारा व्यवहार हुँदा एकै पटक गरी दिउँला भनी मैले भन्दा भन्दै वादीले यो झुठ्ठा फिराद दिएको हो भन्ने उल्लेख गरेको छ । यसरी यी प्रतिवादी दयानिधिले वादीसँग रु.११,०००। को कपाली तमसुक भएको र उक्त लिखत दैवी परेको कुरा स्वीकार गरेको देखिन्छ ।

१५.   त्यस्तै गरी वादीका पेटबोलीको साक्षी तथा कपाली तमसुकका अन्तरसाक्षी प्रेमदास वैरागीले वादीलाई खगराज र दयानिधिले मो.रू.११,०००। को कपाली तमसुक हरिदत्तका हस्ताबाट लेखी म फड्के साक्षीमा बसेको हुँ । सो तमसुकको रूपैयाँ दिन बाँकी नै थियो भनी मिति ०३४।४।३०।१ मा बकपत्र गरेको कुरा समेत मिसिलबाट देखिन आउँछ ।

१६.    यसरी प्रतिवादी मध्येकै दयाधिनी र लिखितका अन्तरसाक्षी प्रेमदास बैरागीको भनाई समेतबाट यी वादी र प्रतिवादीहरूका बीच लिखत भएको कुरा स्पष्ट हुनआउँछ । अब उक्त लिखत दैवी परेको हो वा होइन भन्नेतर्फ विचार गर्दा वादीका साक्षी चण्डीप्रसादले वादी सरस्वतीको तमसुक भएको झोला बगाएको देखिँन भनी बकपत्र गरे तापनि अर्का साक्षी खगराज रिजालले वादीको झोला र छाता बगाएर लग्यो लगेन मैले देखिँन वादीले भनेबाट थाहापाएको हुँ भनी मिति ०३३।१२।१४।१ मा बकपत्र गरी दिएबाट समेत उक्त वादी दावी बमोजिम लिखत भएको भन्ने कुराको पुष्टि हुन आई सो लिखत दैवी परेको समेत देखिन आएकोले अर्को लिखत गरी दिन पर्ने ठहर्‍याएको डिभिजनबेञ्चको मिति ०३८।७।२ को इन्साफ मनासिव छ । कोर्टफी दाखिल रहेकोले केही गर्नुपरेन । मिसिल नियमबमोजिम गर्नु ।

 

उक्त रायमा हामीहरू सहमत छौं ।

 

न्या.बासुदेव शर्मा

न्या.हरगोविन्द सिंह प्रधान

 

इतिसम्वत् २०४० साल फाल्गुण १९ गते रोज ६ शुभम् ।

 



भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु