शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १८३० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

भाग: २५ साल: २०४० महिना: फागुन अंक: ११

निर्णय नं. १८३०     ने.का.प. २०४० अङ्क ११

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०३९ सालको रिट नं. १३२९

आदेश भएको मिति : २०४०।११।२२।२ मा

निवेदक : जि.बारा बरियापुर गा.पं.वडा नं.२ बस्ने सीताराम शाह कानुसमेत

विरूद्ध

विपक्षी : श्री भूमिसुधार अधिकारी, भूमिसुधार कार्यालय बारासमेत

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१)                मोहीको मृत्युपछि जग्गावालाले मोही रोजिसकेको नदेखिएबाट निवेदकहरूको हक स्थापित भइसकेको देखिँदैन ।

(प्रकरण नं. ९)

निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर

विपक्षीतर्फबाट       : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री श्यामबहादुर प्रधान

आदेश

न्या.पृथ्वीबहादुर सिंह

१.     भूमिसुधार कार्यालय बाराको मिति ०३९।८।२९ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्नआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार छ :

२.    जि.बारा बरियारपुर गा.पं.वार्ड नं.३ कि.नं.४०० को ज.बि.१५ जग्गाको जग्गाधनी बुद्धिविक्रम शाह र मोहीमा हाम्रा पिता बासुदेव साह कानु भई फिल्डबुक कायम भई जग्गाधनी प्रमाण पूर्जा बनेको र सोही अवस्थामा पिता बासुदेवले उक्त कि.नं.४०० को जग्गाधनी बुद्धिविक्रम शाह देखाई भूमिसम्बन्धी ऐन अन्तर्गत मोही लगत अनुसूची १ नं.भरी २ नं.प्रकाशित भई उजूर नभई ४ नं.जो.अ.नि.समेत प्राप्त गर्नुभएको थियो । उक्त बुद्धिविक्रम शाहबाट लिलाम हुँदा सो कि.नं.४०० को जग्गा मध्ये ०१८० जग्गा विपक्षी पन्नालालले सकार गर्नु भएछ र बारा जि.अ.को ०३५।२।१६ को पत्रानुसार कि.नं.४०० कित्ताकाट भई कि.नं.४५५ बाट ०१८० जग्गा विपक्ष पन्नालालका नाउँमा र बाँकी कि.नं.४५६ कायम भई बुद्धिविक्रमका नाउँमा दर्ता भएअनुसार पिताजीले दुबै जग्गाधनीलाई बाली बुझाई जोतकोड गरी आउनु भएकोमा पिता ०३६।९।७ मा आफ्नो कालगतिले परलोक हुनुभएपछि हामी छोराहरूले जोतकोड गरी विपक्ष पन्नालाल समेतलाई बाली बुझाई आएका थियौं यही २०३९ साल माघको अन्तिममा विपक्ष पन्नालालले बाबुका नाउँको कि.नं.४५५ को मोही लगत कट्टा गराइसकेको छु अब उप्रान्त तिमीहरूले जग्गा जोतकाड गर्न पाउँदैनौं भनेबाट विपक्षी कार्यालयमा गई बुझी ०३९।११।१ मा मिसिलको नक्कल सारी हेर्दा विपक्षले पिता बासुदेवलाई विपक्ष बनाई बुद्धिविक्रम बबरविक्रमले बासुदेवका छोरा सीताराम लछुमनलाई भोगबन्धकी पारित गरी दिएकोमा सगोलका छोराहरूले मोही लेखाउनुभएको रहेछ सोही कि.नं.४०० भएको जग्गा मध्ये ०१८० मैले लिलाम सकार गरेको भोगबन्धकी ऋण फछ््र्यौट भए वा नभए पनि विपक्षको मोही नलाग्ने हुँदा लगत कट्टा गरिपाउँ भन्ने ०३९ साल कार्तिकमा निवेदन दिनुभएको रहेछ । विपक्ष अधिकारीज्यूले प्रतिवादी बनाइएको व्यक्तिलाई बुझ्ने काम सम्म पनि नगरी निवेदनमा उल्लिखित जग्गा बासुदेव सा कानूका नाउँमा यस कार्यालयमा भएको १ नं.मोही लगत ३ नं.मोही प्रमाणपत्रबाट मोही नदेखिएको र छोराको नाउँमा भोगबन्धकी र पूर्जा श्रेस्ताबाट बाबुको मोही देखिँदा ज.ध.श्रेस्तापूर्जाको मोही महल समेतमा निवेदनको कित्ताको मोही नाम कट्टा गरी दिन मालपोत कार्यालयका नाउँमा पूर्जि गरी दिनु भन्ने पत्र समेत पठाई प्राकृतिक न्याय सिद्धान्त विपरीत आदेश गर्नु भए उपर अन्य उपचारको बाटो नहुँदा असाधारण अधिकारक्षेत्रको प्रयोग गराई माग्न आएका छौं ।

३.    प्रतिवादी बनाइएका हाम्रा पिताको नाउँमा म्यादै नपठाई प्रतिवाद गर्ने मौका नदिई आफ्नै कार्यालयमा रहेको १ नं. २ नं.अनुसूची र ४ नं.जो.अ.नि.लाई समेत छैन भनी मनमानी गर्दै गरेको ०३८।९।२९ को निर्णय बदरभागी छ । भोगबन्धकी सम्बन्धी कुरामा हामीले प्रतिवाद गर्ने नै थियौं । विपक्षी बुद्धिविक्रमबाट ०३४ सालमा पिताबाट बाली बुझी भर्पाई गरी दिएको प्रमाण ४ नं.जो.अ.नि.प्राप्त दर्तावाला मोही पिता भएको र नापीमा समेत मोही जनिएकोमा साविक जग्गावालाको आजसम्म उजूर परेको छैन । मोही लागेको जग्गा सकार गर्नेले यो मोही लगत हो भन्न पाउने हक नरहने हुँदा विपक्ष अधिकारीको निर्णय कानुनी त्रुटिपूर्ण भई बदरभागी छ । विपक्षीले स्वर्गीय पिताका नाउँमा उजूर गरे पनि हामी छोराका मोही हुने हाम्रो संवैधानिक तथा कानुनी हकमा समेत आघात पुग्न गएकोले विपक्षले गरेको निर्णय बदर गरिपाउँ भन्ने समेतको रिट निवेदन जिकिर ।

४.    यसमा के कसो भएको हो विपक्षीहरूसँग लिखितजवाफ लिने भन्ने समेतको यस अदालत सिंगलबेञ्चको मिति ०३९।११।१६ को आदेश ।

५.    मोही नभएको व्यक्तिले नापीमा मोही लेखाउँदैमा मोही हुने हैन । सीताराम समेतले भोगबन्धकीमा जग्गा लिँदा सम्म आसामीले नै जोती कमाई आएको र लिए पछि आफ्नो बाबुलाई मोही कायम गर्न मिल्ने होइन । विपक्षको बाबु ०३६ सालमा मरेको निजको कुनै दावी नभएकोले विपक्षीलाई बुझ्न पर्ने कारण थिएन रिट खारेज हुनुपर्छ भन्ने समेतको पन्नालालप्रसाद शाह कलवारको लिखितजवाफ ।

६.    भोगबन्धकी जग्गामा साहूले लगाएको मोही नमानिने भन्ने सिद्धान्त कायम भएको र विवादको जग्गामा निवेदकहरूका पिताको नाममा मोही लगत कायम नभएको हुँदा रिट निवेदन खारेज हुनुपर्ने भन्ने समेतको भूमि सुधार कार्यालय बाराको लिखितजवाफ ।

७.    रिट निवेदकका तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरले र विपक्ष कार्यालयतर्फबाट बहस गर्न खटिई आउनु भएका विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री श्यामबहादुर प्रधानको बहस समेत सुनियो ।

८.    प्रस्तुत विषयमा रिट निवेदकका माग बमोजिमको आदेश जारी हुनुपर्ने हो वा होइन भन्ने कुराको निर्णय दिनुपर्ने हुनआएको छ ।

९.    यसमा निर्णयतर्फ हेर्दा निवेदकहरूको रिट निवेदन जिकिरमा पिताको मृत्युपछि हामी छोराहरू स्वतः मोही हुने भन्ने कुरा उल्लेख गरेको पाइन्छ । भूमिसम्बन्धी ऐनको व्यवस्था हेर्दा मोहीको मृत्युपछि जग्गावालाले पत्याएको निजको छोरा वा पति पत्नी मोही हुनसक्ने व्यवस्था देखिन्छ । प्रस्तुत विषयमा मोहीको मृत्युपछि जग्गावालाले मोही रोजीसकेको नदेखिएबाट निवेदकहरूको हक स्थापित भइसकेको देखिँदैन, यस्तो स्थितिमा रिट निवेदकहरूलाई रिट निवेदन दिने हकदैया भएको नदेखिँदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियमबमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव

 

इतिसम्वत् २०४० साल फाल्गुण २२ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु