निर्णय नं. १८४५ - बन्दीप्रत्क्षीकरण

निर्णय नं. १८४५ ने.का.प. २०४० अङ्क १२
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४० सालको रिट नम्बर १९२१
आदेश भएको मिति : २०४०।१२।५।१ मा
निवेदक : का.जि.का.न.पं.वडा नं.१७ ठहिठी क्वाबहालको हाल सदर खोर शाखा डिल्लीबजारमा थुनामा रहेको अमृतलाल बज्राचार्य
विरूद्ध
विपक्षी : त्रिभुवन विमानस्थल भन्सार कार्यालय, श्री ५ को सरकार
विषय : बन्दीप्रत्क्षीकरण
(१) रिट निवेदन गर्दाको अवस्थामा पुर्पक्षको निमित्त थुनामा रहेको रिट निवेदक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको निर्णय पछि निर्णयानुसार थुनामा रहेको देखिएको यस्तो परिवर्तित परिस्थितिमा रिट निवेदकका माग बमोजिमको आदेश जारी गर्न नमिल्ने ।
(प्रकरण नं. ८)
निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर
विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार
आदेश
न्या.बासुदेव शर्मा
१. गैरकानुनी तरीकाबाट मलाई थुनामा राखेकोले बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरी थुनाबाट छुटाई पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत दायर हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकारको रहेछ ।
२. म निवेदक पश्चिम जर्मनीको राजदुतावासमा ड्राईभर भई काम गर्ने एक निम्नस्तरीय कर्मचारी हुँ । यही ०३९।६।१५ गते विपक्षी त्रिभुवन विमानस्थलबाट मसँग केही कुरा सोध्नुपर्ने भएकोले आउनु भन्ने पत्र प्राप्त भई कार्यालय जाँदा पश्चिम जर्मनी राजदुतावासकै पिउन शिव के.सी.ले उक्त दुतावासको झुठ्ठा अधिकार पत्र कुटनैनिक सुविधा पत्र समेत पेश गरी नौ बाकस सामान छुटाउन आएको भनी निज के.सी.लाई त्रि.वि.भ.का.ले पक्राउ गरी कारवाही गरेको रहेछ । निज शिव के.सी.ले मलाई पोल गर्नुभएको रहेछ । ०३९।६।१५ गते मैले इन्कारी बयान गरे तापनि ऐ.१७, १८, १९, २० र २१ गते मलाई डर धम्की दिई कुटपिट गरी साविती बयान गराइयो । काम गराउने हङकडे«गो कान्छा भन्ने कृष्णलाल गौचनलाई म्याद दिई निजलाई कानुन बमोजिम गर्ने गरी हाललाई सावित भएका प्र.शिव के.सी.र अमृतलाल बज्राचार्यबाट निकासी पैठारी नियन्त्रण ऐन, ०१३ को दफा ५(१) बमोजिम बिगो रु.२०,८१,२२५ का दरले नगद धरौट लिई तारेखमा छाडने धरौट दिन नसके पुर्पक्ष निमित्त थुनामा राख्ने भन्ने ०३९।६।२१ गते आदेश गरी मलाई थुनुवा पूर्जि दिई धरौट दिन नसकेको भनी आज १६ महीना सम्म थुनामा राखेको छ ।
३. मिति ०३९।६।१५ गतेको बयानमा इन्कार रहे पनि पुनः जवरजस्ती ऐ.१७, १८, १९, २० र २१ गते गराएको साविती बयान परस्पर बाझिई प्रमाण योग्य छैन । मलाई निकासी पैठारी ऐन, ०१३ को दफा ५(१) अन्तर्गत मनाही गरिएको माल सामान पैठारी गरेको अरोप लगाइएको छ । तर माल सामान मैले पैठारी गरेको हो भन्न लेख्न सकेको छैन । उक्त घडी मेरो नाउँमा आएको पनि छैन र घडी छुटाउन समेत म गएको हैन घडी छुटाउन प्रस्तुत गरिएको नक्कली कागजहरू मैले दिएको नभई हङकड्रेडो कान्छाले दिएको भन्ने कुरा शिव के.सी.को बयानबाट प्रष्ट छ । साथै एम्बेसीको छाप समेत मैले लगाएको होइन यसरी धरौट राख्न नसकेको भनी मुलुकी ऐन, अ.बं.को ११८(१८)(२०) नेपालको संविधानको धारा १०,११(२)(ङ) विपरीत थुनामा राखेको हुँदा बन्दीप्रत्यक्षीकरण तथा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरी विपक्षीको असंवैधानिक अनधिकृत गैरकानुनी थुनाबाट मुक्त हुन पाउँ भन्ने समेतको मिति ०४०।१०।१७ को अमृतलालको निवेदनपत्र रहेछ ।
४. यसमा के कसो भएको हो निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो विपक्षीबाट लिखितजवाफ मगाई आएपछि नियमानुसार पेश गर्नुभन्ने यस अदालत सिंगलबेञ्चको मिति २०४०।१०।१८ को आदेश ।
५. पश्चिम जर्मनी एम्वेसीको नाउँमा आएका सामानहरू कारवाहीको सिलसिलामा खोली हेर्दा अवैध घडीहरू बरामद भएको र सो माल छुटाउन आउने मानिस शिव के.सी.ले सो छुटाउने कागज मलाई उक्त एम्बेसीका डा.अमृतलाल बज्राचार्यले दिएको हो भन्ने भनी बयानमा भने अनुसार निज अमृतलालाई झिकाई निज उपर यस कार्यालयबाट कारवाही भएको हो । निवेदकलाई डर धाक धम्की देखाई बयान गराइएको होइन निजले यस कार्यालयमा गरेको बयानबाट सो घडी अवैध पैठारी गरेकोमा निजको शिव के.सी.तथा हङ्गोकड्रेगा कान्छा भन्ने कृष्णलाल गौचनसँगको भेटघाट कुराकानी सरसल्लाह र कृष्णलाल गौचनबाट रु.५००। लिएको र हाम्रो भागमा पनि रु.५०,०००। सम्म पर्नसक्ने भन्ने समेतको व्यहोरा खुलाई निजले सावित भई गरेको उक्त बयानबाट स्पष्ट भएको हुँदा निजको समेत अवैध घडी पैठारीमा मिलोमतो भएको देखिन आई अ.बं.११८।१८। बमोजिम धरौटी समेत राख्न नसकेको हुँदा थुनामा राखी कारवाही गरिएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेतको त्रिभुवन विमानस्थल भन्सार कार्यालयको लिखितजवाफ रहेछ ।
६. नियमबमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दामा निवेदक अमृतलाल बज्राचार्यलाई रोहवरमा राखी निजतर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरले र विपक्ष भन्सार कार्यालयको तर्फबाट खटिई आउनु भएका विद्वान सरकारी अधिवक्ता श्री वलिराम कुमारले प्रस्तुत गर्नुभएको बहस समेत सुनियो ।
७. प्रस्तुत मुद्दामा निवेकको माग बमोजिमको आदेश जारी हुने हो होइन भनी निर्णय दिनुपर्ने देखिन्छ ।
८. यसमा मिति २०४०।११।२५ गते यस कार्यालयबाट निर्णय भई निवेदक अमृतलाल बच्राचार्यलाई पुर्पक्षको हिरासतबाट न्यायिक हिरासतमा परिणत गराई सकिएको हुँदा निजको उक्त रिट निवेदनपत्र खारेज गरिपाउँ भनी मिति २०४०।११।२६।६ को भन्सार कार्यालयको पत्रमा उल्लेख भएको पाइन्छ । यसरी रिट निवेदन गर्दाको अवस्थामा पुर्पक्षको निमित्त थुनामा रहेको रिट निवेदक, अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको मिति २०४०।११।२५ को निर्णय पछि निर्णयानुसार थुनामा रहेको देखिएको, यस्तो परिवर्तित परिस्थितिमा रिट निवेदकका माग बमोजिमको आदेश जारी गर्न नमिल्ने हुँदा प्रस्तुत रिट निवेदनपत्र खारेज हुने ठहर्छ । नियमानुसार गरी फाइल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.महेशरामभक्त माथेमा
इतिसम्वत् २०४० साल चैत्र ५ गते रोज १ शुभम् ।