निर्णय नं. १८४६ - उत्प्रेषण लगायत उपयुक्त पूर्जि वा आज्ञा, आदेश जारी गरिपाउँ

निर्णय नं. १८४६ ने.का.प. २०४० अङ्क १२
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४० सालको रिट नं. १८५८
आदेश भएको मिति : २०४०।१०।१।१ मा
निवेदक : का.न.पं.वडा नं.१८ इखापोखरी बस्ने नानीमैया मास्के
विरूद्ध
विपक्षी : ऐ.बस्ने छवाङ ढोमा नेपाली, काठमाडौं नगरपञ्चायतसमेत
विषय : उत्प्रेषण लगायत उपयुक्त पूर्जि वा आज्ञा, आदेश जारी गरिपाउँ
(१) मिलापत्र बमोजिम कायम गर्ने भनी नगरपञ्चायतले निर्णय गरेको हुनाले हक बेहकको निर्णय गरेको भन्ने देखिन नआउने ।
(प्रकरण नं. १०)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरि अर्याल
विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ र विद्वान अधिवक्ता श्री हरिहर दाहाल र विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर
आदेश
न्या.धनेन्द्रबहादुर सिंह
१. नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्नआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यसप्रकार रहेछ ।
२. का.जि.इखापोखरी बस्ने विपक्षी छवाङ ढोमा नेपालीले का.न.पं.वडा नं.१८ कि.नं.५३४, ५३५ को जग्गा रोपनी ०–९–३–३ मध्येको पूर्व इखापोखरी पश्चिम चौ.२०० को मूल सडक र उत्तर कुनामा ल. २२ चौ.४”०”उ”८”०” को नानीमैया मास्के र मेरो घरमा जाने बाटो र सो बाटो माथि आफ्नै घर उत्तर ऐ.बस्ने नानीमैया मास्केको घर र ऐ.बस्ने कान्छा कुस्लेको घर दक्षिण बीचमा ३२”०” आफ्नै जग्गा परखाल २ सो देखि दक्षिण ऐ.बस्ने न्हुछे मालीको घर जग्गा यति ४ किल्ला भित्रको पश्चिम साईट प्लानमा देखाएको ठाउँमा ५ तल्ला कोठा ५० को घर बनाउन पाउँ भनी ज.ध.प्र.पूर्जा रसिदको नक्कल सहितको विपक्षीले का.न.पं.मा नक्सा दर्खास्त दिनुभएकोमा मैले मिलापत्रको अनुपातमा लम्वाई फु.२९”६” र चौ.फु. ६”२” भन्ने किटानी उल्लेख भइरहेको हुँदा सो बमोजिम बाटो कायम हुनुपर्ने सो बाटो माथि घर बनाउने भन्ने कुरा मिलापत्रमा नै नहुनाले र त्यसो गर्न कानुनले बाध्य गर्न नसक्ने हुनाले सो भन्दा घटी बाटो राखी सो माथि घर बनाउन ०३७।४।१५ को का.जि.अ.को मिलापत्र बमोजिम नहुने भनी मेरो उजूरी निवेदन परेकोमा का.न.पं.ले ०३९।१२।२१ गते निर्णय गर्दा प्रस्तुत बाटो साझा वा सार्वजनिक नभएबाट केवल सहुलियतको भरबाट हक मानी वादीको नक्सा पास हुनुपर्ने छैन भन्ने निवेदन निराधार छ भन्ने उल्लेख गरिएको छ । बाटोको लम्वाई चौडाई सम्बन्धमा मिलापत्र बमोजिम गर्न स्वतः कायम हुने कुरा वादीले समेत स्वीकारेको छ तसर्थ नक्सा पास हुने ठहर्छ भनी उक्त निर्णय गरिएको छ।
३. उल्लिखित नक्सा दर्खास्त बमोजिम उत्तर पश्चिम कुनामा लम्वाई फुट २२ चौडाई फुट ४ र उचाई फुट ८ को नानीमैया मास्केको घरमा जाने बाटो र सो बाटो माथि आफ्नै घर समेतको उल्लिखित किल्ला भित्रको नक्सा बमोजिम घर बनाउन निवेदन दिएको ०३७।४।१५ को मिलापत्रमा उल्लिखित लम्वाई फुट २९, ६ चौडाई फुट ६.२ भन्ने किटानी उल्लेख भएकोमा सो बमोजिम बाटो कायम गर्नुपर्नेमा सो माथि घर बनाउने भन्ने कुरा उक्त मिलापत्रमा नभएको कुरा हुनजान्छ । उक्त मिलापत्रको शब्द र मर्मको गलत अर्थ गरी विपक्षीको हक हर्याई निर्णय भएको छ । पक्ष विपक्षीमा यसरी मुख नमिलेको कुरामा र लिखितको अर्थ समेत गर्नुपर्ने विषयमा निर्णय गर्ने अधिकार का.न.पं.लाई कुनै कानुनले दिँदैन अतः सो निर्णय अ.बं.३५ विपरीत भएकोले बदरभागी छ । विपक्षीलाई बाटो माथि घर बनाउन मिलापत्रमा उल्लेख नभएबाट हक छैन । नगरपञ्चायत ऐन, २०१९ को दफा ४९(२) अनुसार अदालतबाट हक बेहक छुट्याई आएपछि मात्र नक्सा पासको कारवाही गर्नुपर्नेमा सो नगरी निर्णय गरेको अधिकारक्षेत्रात्मक त्रुटि भएकोले उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरी यो निवेदन अन्तिम नभएसम्म घर नबनाउनु भन्ने अन्तिम आदेश जारी गरिपाउँ भन्ने समेतको रिट निवेदन रहेछ ।
४. विपक्षीहरूसँग लिखितजवाफ लिने भन्ने समेतको सर्वोच्च अदालत सिंगलबेञ्चको मिति ०४०।३।९ को आदेश रहेछ ।
५. मुख नमिलेको तथा हक बेहकमा का.न.पं.ले निर्णय गरेको भन्ने तर्क विपक्षले प्रस्तुत गरे तापनि त्यो प्रश्न उपस्थित थिएन सिर्फ विवाद उत्पन्न गर्नु नै हक बेहकको मूल आधार बन्न सक्तैन । स्पष्ट र निर्विवाद कुरालाई आधार मानी निर्णय गर्न कुनै बन्देज छैन विवादित बाटोको जग्गा मेरो हो भन्ने कुरामा कुनै विवाद छैन केवल विपक्षीले आवत जावत गर्न बाटोको सुविधा सम्म पाएको हो । मिलापत्रले बाटोको स्वामित्व म मा देखाएको छ र सो बाटो सार्वजनिक पनि छैन । बाटो भन्नासाथ खुल्ला आकास भएको अर्थ गर्न मिल्दैन । अतः का.न.पं.को निर्णय अ.बं.३५ नं.ले बदरभागी साथै नगरपञ्चायत ऐन, २०१९ को दफा ४९(२) विपरीत छ भनी विपक्षले लिएको जिकिर तर्क संगत ......? र सो निर्णयबाट विपक्षीको कुनै हक आघात नभएबाट रिट निवेदन खारेज गरिपाउँ भन्ने समेतको छवाङढोमाको लिखितजवाफ रहेछ ।
६. का.न.पं.ले गरेको निर्णय कानुन अनुरूपको छ साथै विपक्षीले दावी गरेको बाटोको जग्गाको हक छवाङ ढोमाको देखिनाले विपक्षीको कुनै हकमा आघात नपरेकोले रिट निवेदन खारेज हुनुपर्दछ भन्ने समेतको का.न.पं.को लिखितजवाफ रहेछ ।
७. निवेदकतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री हरि अर्यालले मिलापत्रमा बाटो माथि घर बनाउने भन्ने कुरा उल्लेख भएको छैन । मिलापत्र लिखतको ब्याख्या गरी हक बेहक गर्नुपर्ने अवस्था देखिए हक बेहक गरी आउनु भनी सुनाउनुपर्नेमा आफैंले निर्णय गरेको त्रुटि हुँदा का.न.पं.को निर्णय बदर हुनुपर्ने भन्ने समेत र विपक्षीतर्फबाट रहनुभएका विद्धान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विद्वान अधिवक्ता श्री हरिहर दाहालले बाटो छोडिएको जग्गा प्रत्यर्थी छवाङढोमा नेपालीको स्वामित्वको हो निवेदकलाई हिड्न सम्म दिएको हुँदा हक बेहकको प्रश्न छैन । रिट खारेज हुनुपर्छ भन्ने समेत र प्रत्यर्थी नगरपञ्चायततर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरले कानुनबमोजिम अधिकारक्षेत्रभित्र रही निर्णय गरेको हुँदा रिट खारेज हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।
८. प्रस्तुत विषयमा निवेदकको माग अनुसारको आदेश जारी हुनुपर्ने हो होइन सो कुराको निर्णय दिनुपर्ने हुनआएको छ ।
९. यसमा निर्णयतर्फ हेर्दा बाटोको सम्बन्धमा लम्बाई चौडाई मिलापत्र बमोजिम कायम गरी अरू नक्सा पास हुने ठहर्छ भनी प्रत्यर्थी काठमाडौं न.पं.बाट फैसला गरेको देखिन्छ ।
१०. यही रिट निवेदक र प्रत्यर्थी छवाङढोमा नेपाली समेतको बीच लिखत फैसला दर्ता बदर हक कायम मुद्दा परी सो मुद्दामा काठमाडौं जिल्ला अदालतबाट मिति २०३७।४।१५ मा मिलापत्र भएको पाइन्छ । सो मिलापत्रले विवादास्पद बाटोको सम्बन्धमा बोलेको छ । सो मिलापत्र भएको कुरालाई आधार लिई बाटोको सम्बन्धमा मिलापत्र बमोजिम कायम गर्ने भनी प्रत्यर्थी काठमाडौं नगरपञ्चायतले निर्णय गरेको हुनाले हक बेहकको निर्णय गरेको भन्ने देखिन आएन ।
११. अतः अधिकार प्राप्त अधिकारीले कानुन बमोजिम निर्णय गरेको देखिन आएको हुनाले निवेदकको माग अनुसारको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियमबमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरिहरलाल राजभण्डारी
इतिसम्वत् २०४० साल माघ १ गते रोज १ शुभम् ।