शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १८५३ - खुन डाँका

भाग: २५ साल: २०४० महिना: चैत्र अंक: १२

निर्णय नं. १८५३     ने.का.प. २०४० अङ्क १२

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०३८ सालको फौ.पु.नं. २६९

फैसला भएको मिति : २०४०।१०।२०।६ मा

पुनरावेदक/वादी : जोगेन्द्रयादवको जाहेरीले श्री ५ को सरकार

विरूद्ध

विपक्षी/प्रतिवादी : जि.स.हनुमानगर गा.पं.वडा नं.१ बस्ने भोला मलाहसमेत

मुद्दा : खुन डाँका

(१)                प्रहरीमा भएको साविती कागजकै एकमात्र आधारमा खुन डाँका जस्तो मुद्दामा प्रहरी प्रतिवेदन बमोजिम सजाय गर्न मिल्ने देखिन नआउने ।

(प्रकरण नं. १७)

पुनरावेदक वादीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह

१.     पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर श्री ५ को सरकारको पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निम्न प्रकार रहेछ ।

२.    ०३४।३।३१ को रात अं.१२।१ बजे भारततर्फबाट करिब १५।२० जना मानिसहरू हातमा भाला बर्छी लाठी समेत लिई मेरो घरमा आई बाबु नसिवलाल यादव सुतिरहेको अवस्थामा भाला बर्छी समेत प्रयोग गरी कुटपिट गरे । सोही कुटाईको तारिमबाट बाबुको तत्कालै मृत्यु भयो । म डरले घरबाट निस्की गाउँमा गई गुहार भनी हल्ला गर्दा बदमासहरूसँग बन्दूक समेत हतियार होला भनी गाउँलेहरू जुट्न सकेनन् कुटपिट गरी बिगो रु.३४४। को धनमाल समेत डाँका गरी अपराधीहरू भागी गए । अपराधी मध्ये श्यामसुन्दर अमात, रजवा अमात, बैजनाथ मलाह, भोला मलाह, सहदेब मलाह समेतलाई टर्च बत्तीको उज्यालोबाट मौकैमा प्रष्ट देखेँ चिनँे अन्य अपराधीलाई चिनेको छैन चिनेका अपराधीलाई पक्राउ गरी अरू को को थिए निजहरूबाट खुलाउन लगाई कानुनबमोजिम सजाय गरिपाउँ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त ।

३.    म समेत भई नसिवलाल यादवलाई मारी डाँका समेत गरेको हो भन्ने समेत सहदेव मलाहको ०३४।४।१४ मा प्रहरीमा गरेको बयान ।

४.    सहदेव, श्यामसुन्दर, रजवा बैजनाथ, म र अन्य १५।२० जना समेत भई नसिबलाई भाला बर्छी लाठ्ठी समेतले घोची काटी मारेको हौं भन्ने समेत ०३४।४।१४ मा भोला मलाहले प्रहरीमा गरेको बयान ।

५.    भोला, सहदेव, श्यामसुन्दर, रजावा, बैजनाथ गंगावा भन्ने बचुलाल समेत १५।२० जना भई नसिवलाल यादवलाई खुन गरी बिगो रु.३४४। धनमाल डाँका गरी लगे भन्ने अधिकांश सरजमीनको मानिसहरूले बकी लेखी दिएको सरजमीन मुचुल्का ।

६.    दरखास्तमा लेखिएबमोजिम भोला मलाह समेतले नसिवलाई मारी धनमाल समेत डाँका गरेको हुँदा निजहरूलाई ज्यानसम्बन्धीको १३(१) र चोरीको १४(४) नं.बमोजिम समेत सजाय हुन पक्राउ परेका भोला मलाह र सहदेव मलाह समेतलाई प्रस्तुत गरेका छौं भन्ने समेतको प्रहरी प्रतिवेदन ।

७.    जाहेरवाला र सरजमीन समेतका व्यक्तिसँग कुटपिट मुद्दा, जग्गा खिचोला, ज्यान बेपत्ता, कान्जी हाउस लुटे विषयको मुद्दा समेतमा म र मेरा बाबु समेतसँग परी रहेको हवीबाट फसाउन झुठ्ठा पोले पोलाएका हुन् जाहेरवालाको घरमा डाँका गरेको र निजको बाबुलाई मारेको समेत छैन प्रहरीले कुटपिट गरी साविती गराएका हुन् भन्ने समेत सहदेव मलाहले ०३८।४।२३ मा सप्तरी जि.अ.मा गरेको बयान ।

८.    जाहेरवाला र मेरो छोरा सहदेवको झगडा भई कुटपिट कपाली मुद्दा परी यसै अदालतबाट फैसला भएको छ । जाहेरवालाको काकासँग जग्गा खिचोला मुद्दा परेको समेत कारणबाट हनुमाननगरको कान्जी हाउसको ठेक्कामा परेको मालको महसूल नतिरी मेरो छोरा सहदेवलाई कुटपिट गरी मालहरू छुटाई लगे त्यस सम्बन्धमा उजूरी दिएको छु । तनुकलालको स्वास्नी पोइल गएकोमा म समेत उपर ज्यान बेपत्ता मुद्दा दिएको प्र.जि.का.मा र रामजी, श्रीलाल, बुधन समेत उपर कुटपिट मुद्दा चलेको रिसइवीले सरजमीनले म समेत उपर झुठ्ठा पोले पोलाएका हुन मैले डाँका गरेको र नसिवलाललाई मारेको समेत होइन प्रहरीले कुटपिट गरी कागज गराएका हुन भन्ने समेत भोला मलाहले ०३४।४।२३ मा सप्तरी जि.अ.मा गरेको बयान ।

९.    जाहेरवाला जोगेन्द्र यादव र सरजमीनका व्यक्तिहरू उपस्थित भई बकपत्र गरेको रहेछन् ।

१०.    प्र.भोला मलाह र सहदेव मलाहको साक्षी जवान दुईको बकपत्र भएको रहेछ ।

११.    बेपत्ता रहेका श्यामसुन्दर, रजवा, बैजनाथ र बचुलाल अमात भारतीय हुँदा फैसला वा पक्राउ भईआएका बखत ठहरे बमोजिम हुन र प्र.भोला मलाह र सहदेव मलाहको हकमा सबूत प्रमाण बेगर खुन डाँका जस्तो ठूलो कैदको सजाय हुने कुरा ठहराउन न्यायोचित नहुँदा निजहरूले सफाई पाउने ठहर्छ भन्ने समेत सप्तरी जि.अ.को फैसला ।

१२.   उक्त फैसलामा चित्त बुझेन प्रहरी प्रतिवेदन बमोजिम सजाय होस भन्ने समेत श्री ५ को सरकारको पू.क्षे.अ.मा परेको पुनरावेदन ।

१३.   प्र.भोला मलाह र सहदेव मलाह डाँका गरेमा र नसिवलाललाई मारेमा अदालतमा इन्कार रहेका । निजहरूको शरीरमा घा चोट परेको डाक्टरी जाँच फारामबाट देखिएकोले स्वेच्छा पूर्वक प्रहरीमा बयान गरेको भन्ने नमिल्ने देखिएन । सरजमीनका मानिसहरूको बकाई एक रूपको देखिएन । निजहरूको साक्षीले सफाई दिई बयान गरेको देखिन्छ । सरजमीनका रामजी र देखे चिन्हे भन्ने व्यक्तिहरूसँग अघिदेखि मुद्दा परी इवीवाला देखिन आएका प्रतिवादीहरूबाट दसी बरामद नभएको । प्रहरीमा भएको साविती कागज बाहेक अन्य सबूत गुज्रन नआएको हुँदा प्रहरी प्रतिवेदन बमोजिम प्र.भोला मलाह र सहदेव मलाहलाई सजाय हुनुपर्ने पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । सुरू सप्तरी जि.अ.ले निजहरूलाई सफाई दिने गरेको निर्णय मनासिव ठहर्छ भन्ने समेत पु.क्षे.अ.को ०३०।१।२४ को फैसला ।

१४.   उक्त पू.क्षे.अ.को फैसलामा चित्त बुझेन प्रहरी प्रतिवेदन बमोजिम सजाय होस भन्ने समेत श्री ५ को सरकारको निवेदन परेकोमा यसमा बाबु नसिवलाललाई कुटपिट गर्न प्र.भोला मलाह र सहदेव मलाह समेतका मानिसलाई कुटपिट गरी रहेकै अवस्था टर्च बत्ती बाली हेर्दा चिने भन्ने समेत जाहेरी र जाहेरवालाको बकसपत्रबाट देखिन्छ । निज प्र.भोला मलाह र सहदेव मलाहले अदालतमा बयान गर्दा अपराधमा इन्कार रहेको छ । तर नसिवलाललाई कर्तव्य गरी म समेतले मारेको हुँ भन्ने समेत सहदेव मलाह र खुन डाँका वारदात गरेमा भोला मलाह प्रहरीमा साविती भएको पाइन्छ । सरजमीनका व्यक्तिहरूले प्रतिवादीहरूलाई देखे चिने भनी मौका सरजमीनमा र अदालतमा समेत बकपत्र गरेको देखिन्छ । यस्तो स्थितिमा पनि प्रतिवादी सहदेव मलाह र भोला मलाहलाई सफाई दिने गरेको सुरूको फैसला मिलेको देखिन नआएको हुँदा छलफलको लागि प्रतिवादीहरूलाई अ.बं.२०२ नं.र स.अ.नियमावली बमोजिम नोटिस जारी गरी झिकाई आएपछि वा अवधि नाघेपछि पेश गर्नुभन्ने समेत यस अदालत डिभिजनबेञ्चको ०३९।८।२१ को आदेश ।

१५.   प्र.मोला मलाह र सहदेव मलाहको नाउँको म्याद रूखमा टाँस भएको रहेछ ।

१६.    पुनरावेदक वादी श्री ५ को सरकारतर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डेले प्रतिवादीहरू प्रहरीमा सावित भएका छन् । सरजमीनका मानिसहरूले देखे चिने भनेका र अदालतमा आई बकपत्र गरेका छन् प्रस्तुत गर्नुभएको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा पु.क्षे.अ.को निर्णय मिले नमिलेको के हो ? निर्णय दिनुपर्ने हुनआएको छ ।

१७.   यसमा प्र.भोला मलाह र सहदेव मलाहलाई सफाई दिने गरी पू.क्षे.अ.ले गरेको निर्णय बदर गरी प्रहरी प्रतिवेदन बमोजिम सजाय गरिपाउँ भनी श्री ५ को सरकारको पुनरावेदन परेकोमा सो बमोजिम गर्न मिल्ने नमिल्ने के हो त्यसतर्फ हेर्दा प्र.भोला मलाहको मृत्यु भइसकेको देखिएकोले निजको हकमा केही बोली रहन परेन अब प्रतिवादी सहदेब मलाहको हकमा विचार गर्दा प्रहरीले कुटपिट गरी साविती कागज गराएका हुन जाहेरवाला र सरजमीनका अन्य व्यक्तिहरूसँग अन्य मुद्दाहरू परिरहेको इवीबाट फसाउन झुठ्ठा पोल उजूर गरेका हुन जाहेरवालाको घरमा डाँका गरेको र नसिवलाललाई मारे मराएको होइन भनी अदालतमा बयान गरेका छन् । निज प्रतिवादीहरूको शरीरमा वा चोट परेको डाक्टरी जाँच केसफारामबाट देखिएकोले स्वेच्छापूर्वक प्रहरीमा कागज गरेका रहेछन् भन्न मिल्ने देखिन आएन । सरजमीनका मानिसहरूको बकाई विरोधाभासपूर्ण भएको र प्रतिवादीहरूका साक्षीहरूले सफाई दिई अदालतमा बकपत्र गरेको देखिन्छ । प्रतिवादीहरूबाट प्रमाण स्वरूप कुनै दसी बरामद भएको देखिन आएको छैन । सबूत प्रमाण पुर्‍याउने अभिभारा वादी पक्षको हो । सबूत प्रमाणको अभावमा शंकाको सुविधा अभियुक्तहरूले पाउने फौज्दारी न्यायको मूल सिद्धान्त हो । यस्तो स्थितिमा सबूत प्रमाण बेगर र प्रहरीमा भएको साविती कागजकै एक मात्र आधारमा खुन डाँका जस्तो मुद्दामा प्र.भोला मलाह र प्र.सहदेव मलाहलाई प्रहरी प्रतिवेदन बमोजिम सजाय गर्न मिल्ने देखिन आएन । प्रतिवादीहरूलाई सफाई दिने गरेको शुरू सप्तरी जि.अ.को निर्णय मनासिव ठहराएको पू.क्षे.अ.को निर्णय मिलेकै देखिन्छ । श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन श्री ५ को सरकारतर्फबाट पुनरावेदन परेकोले केही गर्न परेन । मिसिल नियमानुसार बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरिहरलाल राजभण्डारी

 

इतिसम्वत् २०४० साल माघ २० गते रोज ६ शभम् । 

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु