शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७४७७ - कर्तव्यज्यान ।

भाग: ४७ साल: २०६२ महिना: बैशाख अंक:

निर्णय नं. ७४७७    ने.का.प.२०६२ अङ्क १

 

सर्वोच्च अदालत पूर्ण इजलास

माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा

माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल

माननीय न्यायाधीश श्री अनूपराज शर्मा

सम्वत २०६१ सालको फौ.पू.इ.नं. १८

फैसला मितिः २०६१।६।१४।५

 

मुद्दाः कर्तव्यज्यान ।

 

            पुनरावेदक/ प्रतिवादीः जिल्ला संखुवासभा शिद्धकाली गा.वि.स. घर भै हाल कारागार शाखा            खाँदवारीमा कैदमा रहेको मणिकुमार राई

विरुद्ध

            प्रत्यर्थी/वादीः कृष्णवहादुर राईको जाहेरीले श्री ५ को सरकार

 

§  पुनरावेदकीय मार्ग व्यक्तिको कानूनी अधिकार भएकोले साधकको रोहबाट हेरी निर्णय गरिसकेको भन्ने अर्थमा पुनरावेदनको मार्गलाई निःस्प्रभावी वनाउन नमिल्ने ।

§  यस अदालतमा रीतपूर्वक परिरहेको प्रतिवादीको पुनरावेदनको रोहबाट न्याय निरोपण गर्नुपर्ने अवस्था देखिन आएबाट साधकको रोहबाट हेरी पुनरावेदन अदालतको फैसला सदर गर्ने गरेको संयुक्त इजलासको फैसला स्वतः वदर हुने ।

(प्रकरण नं.२४)

§  मृतकले प्रहार गर्न लागेको भनेको चुप्पी कहां गयो, के भयो सो कुरा समेत देखाउन सकेको अवस्था नहुंदा अदालतमा भएको एकतर्फी वयानकै भरमा वयान व्यहोरा सत्य सावित रहेछ भनी अनुमान गर्न नमिल्ने ।

§     संकलित सवूद प्रमाण र प्रतिवादीको साविती वयान समेतबाट मृतक र प्रतिवादीका बीच         पूर्व चिनाजान, रिषइवी अवादत रहेको देखिन नआउदा योजनावद्ध (Pre Plan) रुपमा   मृतकलाई कर्तव्य गरी मार्नमा लागेको भन्ने समेत देखिन नआउने ।

(प्रकरण नं.२५)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान वैतनिक अधिवक्ता श्री मुकुन्दप्रसाद पौडेल

प्रत्यर्थी वादी तर्फवाटः

अवलम्वित नजीरः ने.का.प.२०५७, निर्णय नं. ६९४३, पृष्ठ ७०४

 

फैसला

न्या.हरिप्रसाद शर्माः पुनरावेदन अदालत धनकुटाको मिति २०५८।५।२५ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९(१)(ख) अन्तर्गत परेको प्रस्तुत पुनरावेदनमा पूर्ण इजलासमा पेश गर्नु भन्ने प्रधानन्यायाधीशको मिति २०६१।२।२५ का आदेशानुसार यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा एवं ठहर यसप्रकार छ :-

            २.    संखुवासभा जिल्ला शिद्धकाली गा.वि.स. वडानं. ७ वस्ने सुर्जकुमार राईको छोरा मेरो भतिजो सोमवहादुर भन्ने लगनवहादुर राई मिति २०५६।८।३ गतेका दिन चैनपुरमा लाग्ने शुक्रवारे हाट भरी वेलुका घर फर्किदा रात परेको हुंदा शिद्धकाली गा.वि.स. वडा नं. ४ मा पर्ने पोखरी वजारमा वास वसेपछि मैदाने वतासे जाने वाटोको नजिक दलवहादुर तामाङको घरपसल अगाडि २०५६।८।३ गते वेलुका अन्दाजी ८ वजेको समयमा मणिकुमार राई र तुलसीवहादुर राइले मेरो भतिजो सोमवहादुर भन्ने लगनवहादुर राईलाई गालमुखाल गरी निहुँ खोजी निज मणिकुमार राईले मृतक लगनवहादुर राईलाई चुप्पी रोपी कर्तव्य गरी मारी भागेको हुंदा निजहरु लगायत अरु अभियुक्त समेत संलग्नमा भए पत्तालगाई कानूनबमोजिम कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको कृष्णवहादुर राईको जाहेरी दर्खास्त ।

            ३.    धारिलो हतियारको प्रहारवाट सोमवहादुर भन्ने मृतक लगनवहादुर राईको मृत्यु भएको भन्ने पोष्टमार्टम रिपोर्ट ।

            ४.    चैनपुरवाट नुमढाकी जाने मुलवाटो दक्षीण, नरध्वज खत्रीको घर पूर्व, मनवहादुर लिम्वुको घर पश्चिम, गौरीमान लिम्वुको घर उत्तर यति ४ किल्लाको बीचमा मृतकले खैरो पाटे टि सर्ट जिन्सको कालो पेन्ट रातो छालाको जुत्ता लगाएका, मृतकको मोहडा पूर्व फर्किएको, शरीरको सवै भागमा रगत लागेको भन्ने समेत व्यहोराको घटनास्थल लाश जाँच मुचुल्का ।

            ५.    वारदातको समयमा मृतक लगनवहादुरलाई प्रहार गरेको चुप्पी शिद्धकाली गा.वि.स. वडानं. ६ वस्ने निरवहादुर राईको घर फाली मतानको छानामा काठको घेरा भएको विंड लगाएको फलामे २ धारे अं. १० इन्च लम्वाई भएको चुप्पी वरामद भएको भन्ने समेत व्यहोराको वरामदी मुचुल्का ।

            ६.    मिति ०५६।८।३ गते शुक्रवारको दिन पोखरी वजारमा आएका थियौं । सो वजारमा धान नाच्न वेलुका खाना खाइ म, मणिकुमार, भिमवहादुर, पूर्णकुमार समेतका हामी गाउँका साथीहरु पोखरी वजारमा आएका थियौं । सोही दिन वेलुका अं. ८ वजेको समयमा मृतक सोमवहादुर भन्ने लगनवहादुर राई र देउप्रसाद राईले म संग झगडा गरे, म भाग्दा पनि खेदाउदै आई मलाई कुटपीट गरे, म भाग्न सफल भएँ । मणिकुमार राईले मृतक सोमवहादुर भन्ने लगनवहादुर राईलाई चुप्पी प्रहार गरी मारेछन् । सो कुरा मैले घर पुगेपछि मणिकुमार राईले भन्दा मात्र थाहा पाएं । निज मणिकुमार वाहेक मृतकलाई मार्नमा कोही कसैको संलग्नता छैन । उक्त घटना हुंदा म पहिला नै भागी घर गएको थिएं भन्ने समेत व्यहोराको प्रतिवादी तुलसीवहादुर राईले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान कागज ।

            ७.    मिति २०५६।८।३ गते शुक्रवारको दिन वेलुका पोखरी वजारमा पहिला पहिला जस्तै धान नाच गर्न र साथीभाईसंग भेटघाट गर्न खाना खाएर म, तुलसीवहादुर, प्रेमवहादुर लगायतका हामी ७ जना पोखरी वजारमा आएका थियौं । त्यहां आएपछि मेरो दाजु नता पर्ने तुलसीवहादुरसंग देउप्रसाद लगायतका व्यक्तिहरुसंग झगडा गरी निउँ खोज्दै तत्काल सोमवहादुर भन्ने लगनवहादुर पनि आई पुगी झगडा गर्दा मैले छुट्याएपनि निजहरुले दाजु तुलसीलाई खेदाउदै लगेपछि मेरो दाजुलाई मार्छन होला भनि थाहा पाई प्रेमवहादुर समेतका साथीहरुलाई भन्दा निजहरु मानेनन् । म चाहि पछि पछि गई दाजुलाई खेदाउंदै गरेको सोमवहादुर भन्ने लगनवहादुरलाई पछाडिवाट समाई यसो नगर्नुहोस् भन्दा मलाइ हिर्काउन खोजेपछि मैले कम्मरमा भिरेको चुप्पी निकाली निजको छातिमा रोपी कर्तव्य गरी मारी म भागी घर गई साथीहरुलाई भन्दा मात्र थाहा पाएका हुन् भन्ने समेत व्यहोराको अधिकार प्रप्त अधिकारी समक्ष प्रतिवादी मणिकुमार राईले गरेको वयान ।

            ८.    ०५६।८।३ गते चैनपुरमा लाग्ने शुक्रवारे हटिया भरि पोखरी वजारमा पुगी वेलुका लगनवहादुर राईसंग खानाखाई पोखरी वजारमा घुम्दै गर्दा तुलसी र म वीच जीउको ठक्कर लागे पछि तुलसीले मृतकलाई लात्तिले हानी झगडाभएपछि म साथी लिई गई दोर्चीलाई लिएर आंउदा तुलसी र मणिकुमारले सोमवहादुरलाई खेदांउदै गरेको देखेपछि चुप्पी प्रहार गरी मृतकलाई मणिकुमार राईले छुरी प्रहार गरी मारे मराएको हो भन्ने समेत व्यहोराको देउप्रसाद राईको ठाडो कागज ।

            ९.    साथी म¥यो भनेको आवाज सुनी वाहिर निस्कीएर हेर्दा देउप्रसादले मृतकलाई समाती रहेको थियो । मणिकुमारले चुप्पीले हान्यो भनेको हुंदा गएर हेर्दा आँखा पल्टाई मृत्यु भई सकेको रहेछ । मेरो पसलको वाहिर ढिक भएको स्थानमा मृतक अवस्थामा थियो । कस्ले कस्तो परिवन्दवाट चुप्पी हानीगए मैले आंखाले देखिन । रातको समय भएकोले कस्ले खेदायो थाहा भएन । हाल मैले सुन्दा मणिकुमारले मारेको अरे भन्ने सुनेकोहुँदा निजले नै मारेकोमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको केवलकुमारी अधिकारीको ठाडो कागज ।

            १०.    वेलुका अं.८ वजेको समयमा मृतक सोमवहादुर भन्ने लगनवहादुरलाई मणिकुमार राईले नै चुप्पी प्रहार गरी कर्तव्य गरी मारेकोमा पूर्ण विश्वास लाग्छ । अरु मतियारहरु को को थिए थाहा भएन भन्ने समेत व्यहोरा एकै मिलानको दलकुमार तामाङ समेतका मानिसहरुले लेखाईदिएको वस्तुस्थिती मुचुल्का ।

            ११.    राती ८ वजेको समयमा देउप्रसाद आएर म र सोमवहादुर भन्ने लगनवहादुर राई संग राई गाउँका केटाहरुले निहुँ खोजी रहेका छन् भनि निज देउप्रसादले भनेपछि म देउप्रसाद भन्दा पछि गएं । सोमवहादुर राईलाई २ जनाले खेदांउदै थिए । म सो ठांउमा पुग्दा सोमवहादुर को नाकवाट रगत वगेको र अचेत अवस्थामा थिए । लगनवहादुरलाई हाल पक्राउ परेका मणिकुमारले चुप्पी निकालेको हुंदा निजले नै कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको दोर्ची शेर्पाको ठाडो कागज ।

            १२.   मणिकुमार र तुलसी, मृतक र देउप्रसाद वीच पहिला विवाद भई पुनः झगडा हुँदा मणी र तुलसी वाहेकका निजहरुका साथीहरु भागी सकेका थिए । मणि, तुलसी मृतक र देउप्रसाद समेत उभो कुद्दै गए । म खाना खाएर निस्कदा मानिस म¥यो भनि सुनेर थाहा पाएं । दोर्ची आएर डम्वरलाई तेरो साथी खोजी गर मानिस मरी सक्यो भनेर दोर्चीले भने । मणिकुमार र तुलसीले मारेको होला मात्र मैले भनेको हो । मैले चुप्पीले हानेको देखिन । पछि म घटनास्थलमा गएर हेर्दा सोमवहादुर भन्ने लगनवहादुरको मृत्यू भएको रहेछ । घटना हुनु भन्दा अगाडि मणिकुमार, तुलसी , मृतक सोमवहादुर र देउप्रसाद बीच झगडा भएको मात्र थाहा थियो भन्ने समेत व्यहोराको रुपचन्द्र शेर्पाको ठाडो कागज ।

            १३.   मिसिल संलग्न कागजात, जाहेरी दर्खास्त, घटनास्थल तथा लाश प्रकृती मुचुल्का, प्रतिवादीहरुको अख्तियार प्राप्त अधिकारी समक्षको कागज, मौकाका व्यक्तिहरुको भनाई समेतको आधारवाट सोमवहादुर भन्ने लगनवहादुर राईको कर्तव्यवाट मृत्यू भएको देखिन आएकोले यी प्रतिवादीहरु कसूरदार देखिन आई प्रतिवादी मध्येका तुलसीवहादुर राईले मृतकलाई मार्नमा सहयोग पुयाएको भन्ने प्रमाणित भएकोले निजको हकमा ज्यानसम्वन्धी महलको १३(४) नं. अनुसार र प्रतिवादी मणिकुमार राईलाई ऐ.को १३ (३) नं. अनुसार सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको अभियोगपत्र ।

            १४.   जाहेरी दरखास्तको व्यहोरा झुठा हो । मृतक सोमवहादुर भन्ने लगनवहादुर २०५६।८।३ गते पोखरी वजारमा हामी संगै झगडा गर्न आई मलाई निज सोमवहादुर भन्ने लगनवहादुरले चुप्पीले हान्न खोजेको, सो चुप्पी मैले रोकी मैले भिरेको प्रेमवहादुरको चुप्पीले ज्यान वचाउनको लागि मैले लगनवहादुरलाई हानी मारेको हो । मैले लगनवहादुरलाई मार्ने उदेश्यले हानेको नभई मेरो ज्यान वचाउने उद्येश्यले चुप्पी हानेको हो । सो भन्दा अगाडि तुलसीवहादुरसंग झगडा गरी रहेका थिए । म त्यहां पुगेपछि तुलसीवहादुर भागी गएका हुन् । प्रतिवादी तुलसीवहादुरले लगनवहादुरलाई मार्न खोजेको होइन । जिल्ला सरकारी वकिलको कार्यालयको वयान मैले भने अनुसार लेखिएको हो । सोमवहादुर भन्ने लगनवहादुरलाई मार्नमा कसैको संलग्नता छैन । म आफू वच्नको लागी चुप्पी प्रहार गरेको हुँदा अभियोग माग दावी अनुसार सजाय हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी मणिकुमार राईले शुरु अदालतमा गरेको वयान ।

            १५.   मृतक लगनवहादुर र प्रतिवादी मणिकुमार राई वीच वाद विवाद भई लगनवहादुरले मणीकुमार राईलाई खेदाई चुप्पीले हान्न खोज्दा वच्नको लागि मैले चुप्पीले हानेको हुँ भनि मणिकुमारले भनेको हो । झगडा भई छुटयाउन जाँदा निजहरु दुवै जनाले खेदी म त्यहाँजान सकिन । मेरो र लगनवहादुरको वीच झगडा भएको होइन । म उपरको जाहेरी झुठा हो । जिल्ला सरकारी वकिलको कार्यालयमा भएको वयान र सहिछाप मेरो हो । मैले मृतकलाई लात्तीले हानेको होइन । लगनवहादुरलाई मार्नमा मेरो कुनै सहमती नभएको हुँदा अभियोग माग दावीवाट सजाय नभई सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी तुलसीवहादुर राईले शुरु अदालतमा गरेको वयान ।

            १६.    प्रतिवादी तुलसीवहादुर राईको कसूरको पुष्टि हुन सकेको नदेखिंदा आरोपीत कसूरवाट सफाई पाउने र मणिकुमार राईलाई मृतक उपर घातक हतियार चुप्पी प्रहार गरी मृतकको मृत्यु भएको देखिंदा अभियोगपत्र माग दावी बमोजिम मुलुकी ऐन ज्यानसम्वन्धी महल को १३(३) नं. बमोजिम सर्वस्व सहित जन्म कैद हुने ठहर्छ भन्ने समेत व्यहोराको संखुवासभा जिल्ला अदालतको मिति २०५७।९।२६ को फैसला ।

            १७.   अभियोग माग दावीबमोजिम सजाय हुनको लागी मनसायपूर्ण अपराध हुनुपर्ने र मनसायपूर्ण अपराधको लागी रिस इवी, उद्योग योजना हुनु अनिवार्य भएको तर प्रस्तुत मुद्दामा उपरोक्त अवस्थाहरु विद्यमान नभएको हुनाले अभियोग मागदावी बमोजिम कसूरदार ठहर्‍याई भएको शुरु संखुवासभा जिल्ला अदालतको फैसला वदर गरी आरोपीत कसूरवाट पूर्ण सफाई दिलाई पांउ भन्ने समेत व्यहोराको पुनरावेदक प्रतिवादी मणीकुमार राईको पुनरावेदन अदालत धनकुटामा परेको पुनरावेदन   पत्र ।

            १८.   अनुसनधानको क्रममा प्राप्त तथ्य एवं मिसिल संलग्न प्रमाणहरुवाट प्रतिवादी तुलसीवहादुर राइले अभियोग दावी बमोजिम कसूर गरिरहेको अवस्थामा निजलाई सफाईदिने गरी गरेको शुरु जिल्ला अदालतको फैसला त्रुटीपूर्ण हुंदा उल्टी गरी प्रतिवादी तुलसीवहादुरलाई समेत अभियोग दावी बमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकार को तर्फवाट पुनरावेदन अदालत धनकुटामा परेको पुनरावेदनपत्र ।

            १९.    आफ्नो ज्यान वचाउन आत्मरक्षार्थ लगनवहादुर उपर चुप्पी प्रहार गरेको हो भन्ने प्रतिवादी मणिकुमार राईको कथन कंही कतैवाट प्रमाणित नभएको अवस्थामा जिल्ला अदालतले ज्यान सम्वन्धिको महलको १ नं. को कसूरमा सोही ऐनको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहराएको र प्रतिवादी तुलसीवहादुरको हकमा निजले मृतकलाई मार्न संयोग पारिदिएको र कुनै चिज वस्तुले प्रहार गरेको भन्ने कतैवाट नदेखिदा निज उपरको अभियोग दावी अभियोजन पक्षले प्रमाणित र पुष्टि गर्न नसकेको अवस्थामा प्रतिवादी तुलसीवहादुरलाई अरोपीत कसूरवाट सफाई दिएको मिति ०५७।९।२६ को फैसला मनासिव हुंदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत धनकुटाको मिति २०५८।५।२५ को  फैसला ।

२०.   मलाई दावी बमोजिम कसूर गरेको ठहर्‍याई गरेको पुनरावेदन अदालतको फैसलामा चित्त नवुझेकोले पुनरावेदन गरेको छु । धान नाच गरी रमाईलो गर्न गएको, तकलाई मार्ने पूर्व योजना तयारी उद्देश्य केही नभएकोमा अभियोग माग दावी बमोजिम कसूर ठहर्‍याई भएको फैसला वदर गरी आरोपित कसूरबाट सफाई दिलाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी मणीकुमार राईको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

२१.   पुनरावेदन अदालत धनकुटाबाट प्रस्तुत मुद्दामा २०५८।५।२५ मा यी पुनरावेदकलाई ज्यानसम्बन्धीको १३(३) नं. अनुसार सर्वश्वसहित जन्म कैद गर्ने गरी निर्णय भएको र साधकको रोहबाट मिति २०६०।७।२० मा यस अदालत संयुक्त इजलासबाट पुनरावेदन अदालत धनकुटाको फैसला सदर गर्ने गरी निर्णय भएको मिसिलबाट देखिन्छ । पुनरावेदक प्रतिवादीको नाउँमा ७० दिने पुनरावेदन म्याद २०५८।१२।९ मा तामेल भएकोमा कारागरा शाखा मार्फत यस अदालतमा निजको पुनरावेदन २०५९।२।१० मा दर्ता भएको देखियो । पुनरावेदन दर्ता हुँदा हुँदै २०६०।७।२० मा यस अदालतको संयुक्त इजलासबाट साधकको रोहबाट पुनरावेदन अदालतको फैसला सदर हुने गरी निर्णय भैसकेको अवस्थामा समान स्तरको इजलासले पुनरावेदनको रोहबाट प्रस्तुत मुद्दा हेरी निर्णय निरुपण गर्न मिल्ने नहुँदा संयुक्त इजलासको लगत कट्टा गरी पूर्ण इजलासमा पेश गर्न प्रधान न्यायाधीश समक्ष पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०६०।१२।२७ को आदेश ।

२२.   पुनरावेदन अदालत धनकुटाबाट प्रस्तुत मुद्दामा २०५८।५।२५ मा यी पुनरावेदकलाई ज्यान सम्बन्धीको १३(३) नं. अनुसार सर्वश्वसहित जन्म कैद गर्ने गरी निर्णय भएको र साधकको रोहबाट मिति २०६०।७।२० मा यस अदालत संयुक्त इजलासबाट पुनरावेदन अदालत धनकुटाको फैसला सदर गर्ने गरी निर्णय भएको मिसिलबाट देखिन्छ । पुनरावेदक प्रतिवादीको नाउँमा ७० दिने पुनरावेदन म्याद २०५८।१२।९ मा तामेल भएकोमा कारागरा शाखा मार्फत यस अदालतमा निजको पुनरावेदन २०५९।२।१० मा दर्ता भएको देखियो । पुनरावेदन दर्ता हुँदा हुँदै २०६०।७।२० मा यस अदालतको संयुक्त इजलासबाट साधकको रोहबाट पुनरावेदन अदालतको फैसला सदर हुने गरी निर्णय भैसकेको अवस्थामा समान स्तरको इजलासले पुनरावेदनको रोहबाट प्रस्तुत मुद्दा हेरी निर्णय निरुपण गर्न मिल्ने नहुँदा संयुक्त इजलासको लगत कट्टा गरी पूर्ण इजलासमा पेश गर्न प्रधान न्यायाधीश समक्ष पेश गर्नु भन्ने भएको आदेशानुसार प्रस्तुत मुद्दा पूर्ण इजलासको फौजदारी दायरीमा दर्ता गरी नियमानुसार पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको प्रधान न्यायाधीशको मिति २०६१।२।२५ को आदेश ।

            २३.   नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी मणीकुमार राईको तर्फबाट विद्धान वैतनिक अधिवक्ता श्री मुकुन्दप्रसाद पौडेलले मृतक सोमवहादुर भन्ने लगनवहादुरले निजसंग रहेको खुकुरी झिकी यी प्रतिवादीलाई हिर्काउन आएको अवस्थामा आत्मसुरक्षाको लागि प्रतिवादीले प्रहार गरेको खुकुरीबाट निज मुतकको मृत्यु भएको हुंदा दावीबमोजिम सजाय गरेको मिलेको छैन । दावीबमोजिको कसूर भएकै देखिएपनि मृतकलाई मार्नु पर्ने पूर्व रिष, इविलाग भएको अवस्था नहुंदा सजाय कम हुनुपर्दछ भन्ने समेत व्यहोराको बहश जिकिर प्रस्तुत गर्नुभयो ।

२४.   विद्धान वैतनिक अधिवक्ताको वहस जिकिर समेतलाई विचार गरी सम्बन्धित मिसिल कागजात अध्ययन गरी निर्णय तर्फ विचार गर्दा पुनरावेदक प्रतिवादी मणीकुमार राईलाई अभियोग माग दावी बमोजिम मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) नं. अनुसार सर्वश्वसहित जन्म कैद हुने ठहर गरेको शुरु संखुवासभा जिल्ला अदालतको फैसला सदर गरी पुनरावेदन अदालत धनकुटाबाट भएको फैसला उपर न्याय प्रशासन ऐन,२०४८ को दफा १० समेत बमोजिम साधक जाहेरी भई आई सो फैसला साधकको रोहबाट यस अदालत संयुक्त इजलासबाट मिति २०६०।७।२० मा पुनरावेदन अदालतले जाहेर गरेको साधक सदर भएको देखिन्छ । सोही फैसला उपर यी प्रतिवादीको प्रस्तुत पुनरावेदन यस अदालतमा सो साधक सदर हुनु पूर्व देखिनै दर्ता भै विचाराधिन अवस्थामा रहेको देखिन आउँछ । न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) ले प्रस्तुत मुद्दामा यी प्रतिवादीको पुनरावेदन अदालतको फैसला उपर यस अदालतमा पुनरावेदन लाग्न सक्ने नै भएबाट प्रस्तुत पुनरावेदन उपर निर्णय हुनुपर्ने अवस्था देखिन आउँछ। पुनरावेदकीय मार्ग व्यक्तिको कानूनी अधिकार भएकोले साधकको रोहबाट हेरी निर्णय गरिसकेको भन्ने अर्थमा पुनरावेदनको मार्गलाई निःस्प्रभावी वनाउन नमिल्ने भनी ने.का.प.२०५७, नि.नं. ६९४३, पृष्ठ ७०४ मा प्रकाशित सिद्धान्त समेतबाट प्रस्तुत पुनरावेदन उपर हेरी न्याय निरोपण गर्न वाधा पर्ने अवस्था देखिन आएन । यसरी यस अदालतमा रितपूर्वक परिरहेको प्रतिवादीको पुनरावेदनको रोहबाट न्याय निरोपण गर्नुपर्ने अवस्था देखिन आएबाट यी पुनरावेदकको हकमा साधकको रोहबाट हेरी पुनरावेदन अदालतको फैसला सदर गर्ने गरेको यस अदालत संयुक्त इजलासको मिति २०६०।७।२० को फैसला स्वतः वदर हुन्छ ।

२५.   अव पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर बमोजिम दावीको कसूरबाट निजले सफाई पाउन सक्ने, नसक्ने के रहेछ भन्ने तर्फ विचार गर्दा पुनरावेदक प्रतिवादी मृतक सोमवहादुर भन्ने लगनवहादुरलाई आफूले कम्मरमा भिरेका धारिलो हतियार चुप्पी (छुरा) प्रहार गरी कर्तव्य गरी मारेको भनी अधिकारप्राप्त अधिकारी समक्ष र निज मृतकलाई आफूले नै आत्मसुरक्षाको कारणले धारिलो हतियार प्रहार गरी मृतकलाई मारेको भनी अदालत समक्ष समेत मृतकलाई कर्तव्य गरी मारेमा सावित रहेका देखिन्छन् । जाहेरवालाको अदालतमा भएको वकपत्र र मुद्दा तहकिकातको क्रममा प्रहरीमा कागज गर्ने देउकुमार राई, केवलकुमारी अधिकारी, दोर्चि शेर्पा समेतको कागजबाट मृतकको मृत्यु यी प्रतिवादी मणीकुमार राईले प्रहार गरेको चुप्पीकै चोटबाट भएको भन्ने कुरा समर्थन भै रहेको देखिन्छ । शव परीक्षण प्रतिवेदनवाट धारिलो हतियारको प्रहारवाट सोमवहादुर भन्ने लगनवहादुर राईको मृत्य भएको भन्ने उल्लेख भएको र लाश जाँच मुचुल्काबाट दाँया छातिमा चुप्पीले हानेको १ इन्च लम्बाई ७ इन्च गहिरो चोट भएको भएको भन्ने उल्लेख भएको र दशीको रुपमा रहेको धारिलो हतियार समेत यी प्रतिवादीले भनेको स्थानबाटै वरामद भएको देखिन आएबाट मृतक सोम वहादरु भन्ने लगनवहादुरको मृत्य यी प्रतिवादी मणीकुमारको कर्तव्यबाटै भएको भन्ने निजको वयान स्वतन्त्ररुपमा पुष्टि हुन आएको देखिन्छ । जहाँसम्म आत्मरक्षाको लागी चुप्पी प्रहार गरेको हुंदा अभियोग दावीवाट फूर्सद पांउनु पर्छ भन्ने पुनरावेदक प्रतिवादीको जिकिर छ सो तर्फ विचार गर्दा यी प्रतिवादीको अनुसन्धानका क्रममा भएको वयान र वुझिएको व्यक्तिहरुको कागज, वस्तुस्थिति मुचुल्का समेतका कागज व्यहोराबाट मृतकले यी प्रतिवादीलाई खुकुरी वा छुरा प्रहार गर्न आई लागेको र निज मृतकको साथमा त्यसप्रकारको धारिलो हतियार समेत रहेको भन्ने तथ्य स्थापित हुन सकेको पाइदैन । अनुसन्धानको क्रममा मुतकले यी प्रतिवादीका दाजुलाई हिर्काउन आएको आफूले छुट्याउन खोज्दा निज मृतकले कराते पोजिशन लिई हान्न खोजेको भन्ने जिकिर लिएकोमा अदालतमा वयान गर्दा मृतक लगनवहादुरले मलाई चुप्पी प्रहार गर्न खोज्दा आफूले चुप्पीले हिर्काएको भन्ने उल्लेख गरेको पाइन्छ तर अनुसन्धानमा भएको वयानलाई अन्यथा भन्न सकेको देखिदैंन । साथै मृतकले प्रहार गर्न लागेको भनेको चुप्पी कहां गयो, के भयो सो कुरा समेत देखाउन सकेको अवस्था नहुंदा निजको अदालतमा भएको एकतर्फी वयान कै भरमा निजको व्यहोरा सत्य सावित रहेछ भनी अनुमान गर्न मिलेन । अतः यस सम्बन्धी निजको जिकिर पुग्न सक्ने देखिन आएन । तसर्थ अभियोग दावी बमोजिमको कसूर ठहर गरेको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत धनकुटाको फैसला मिलेकै देखिदा सदर हुन्छ । सफाई पाउनु पर्ने भन्ने प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । तर संकलित सवूद प्रमाण र प्रतिवादीको साविती वयान समेतबाट मृतक र प्रतिवादीका बीच पूर्व चिनाजान, रिषइवी अवादत रहेको देखिन आउदैंन । प्रस्तुत वारदातको रुपबाट योजनावद्ध (Pre Plan) रुपमा मृतकलाई कर्तव्य गरी मार्नमा लागेको भन्ने समेत देखिन आउदैंन । मृतक समेतका प्रतिवादी धान नाच मेलामा रमाईलो मनाउन गएको अवस्थामा खुट्टामा कुल्चिएको भन्ने कारणबाट भनाभन भइ सोही जरियाबाट धारिलो हतियार प्रहार गरी मृतकको मृत्यु भएको पुष्टी हुन आएको देखिन्छ । वारदातको अवस्थामा प्रतिवादीको उमेर १८ वर्षको कलिलै रहेको देखिएको समेतकको कारणबाट मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम यी प्रतिवादी मणीकुमार राईलाई सर्वश्वसहित जन्मकैद गर्दा सजाय चर्को पर्ने देखिएको र वारदातको अवस्थावाट निजलाई १० वर्षको कैदको सजाय गर्दा ऐनको मनसाय पूर्ति हुने चित्तमा लागेकाले मुलुकी ऐन अ.वं. १८८ नं. बमोजिम सजाय १० वर्ष मात्र कैद हुने ठहर्छ अरु तपसिल बमोजिम गर्नु ।

 

तपसिल

 

पुनरावेदक प्रतिवादी मणीकुमार राई के माथि इन्साफ खण्डमा लेखिएबमोजिम अभियोग मांग दावीबमोजिम निज प्रतिवादीले कसूर गरेको ठहर गरेको फैसला सदर भै मुलुकी ऐन अ.वं १८८ नं. बमोजिम सजायँ कैद वर्ष १० मात्र हुने ठहरेकोले शुरु जिल्ला अदालतको तपसिलको देहाय २ को व्यहोरामा यसै बमोजिमको व्यहोरा जनाई निज थुनामा रहेको मिति देखि कैद कट्टा हुने गरी कैद म्याद ठेक्नु भनी शुरु संखुवासभा जिल्ला अदालतमा लेखी पठाई दिनु ....१

माथि इन्साफ खण्डमा लेखिए बमोजिम अ.वं १८८ नं. बमोजिम पुनरावेदक प्रतिवादी  मणीकुमार  राईलाई सजाय कैद वर्ष १० मात्र हुने ठहरेकोले शुरु जिल्ला अदालतको फैसलाको तपसिलको देहाय ३ अनुसार जायजात गरी अशं रोक्का राख्नु भनी कायम गरेको लगत अनुसार सर्वश्व गर्नु नपर्न हुंदा सो लगत कट्टा गरी दिनु भनी शुरु संखुवासभा जिल्ला अदालतमा लेखी पठाई दिनु....२

फैसलाको जानकारी थुनवा पुनरावेदक प्रतिवादीलाई दिई मिसिल नियमानुसार गरी वुझाई दिनु....... ३

                                                           

उपर्युक्त रायमा सहमत छौं ।

 

न्या.दिलीपकुमार पौडेल

न्या.अनुपराज शर्मा

इति सम्वत् २०६१ साल असोज १४ गते रोज ५ शुभम् ..................................।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु