निर्णय नं. ७४७९ - सट्टापट्टा ।

निर्णय नं. ७४७९ ने.का.प.२०६२ अङ्क १
सर्वोच्च अदालत, पूर्ण इजलास
माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी
माननीय न्यायाधीश श्री हरिजङ्ग सिजापती
माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी
संवत् २०६१ सालको दे.पू.ई.नं. .....२७
फैसला मितिः २०६२।१।२२।५
मुद्दा :– सट्टापट्टा ।
पुनरावेदकरवादीः जिल्ला नुवाकोट, बेलकोट गा.वि.स. वडा नं. ५ बस्ने चन्द्रशेखर पाण्डे
विरुद्ध
प्रत्यर्थी/प्रतिवादीः ऐ.मदानपुर गा.वि.स.वडा नं. ६ बस्ने नवराज पाण्डे
§ मनासिव कारणहरु आवश्यक नपर्ने भए लेनदेन व्यवहारको ३६ नं.मा “चित्त नबुझ्ने” ले भन्ने शब्दावली रहनुपर्ने पनि थिएन । चित्त बुझेन भन्ने वित्तिकै सो चित्त नबुझ्नाका मनासिव कारणहरु अनिवार्य हुनुपर्ने ।
§ उल्लिखित शव्दावलीवाट घरको मुख्यले गरेको सटृापटृा निजले फिर्ता लिनदिन सक्नेसम्म देखिन आएकोले वादीलाई प्रस्तुत फिराद गर्ने हकदैया नै छैन, घरको मुख्यले गरेको सटृापटृामा लेनदेन व्यवहारको ३६ नं. ले निजलाई पुनः फिर्ता दिने भन्ने विधिकर्ताको मनसाय होइन भन्ने प्रतिउत्तर जिकिर एवं प्रतिवादी तर्फका विद्वान कानून व्यवसायीको वहस मनासिव नदेखिने ।
§ आफ्नो एकाघरको छोराको नाममा रहंदाको अवस्थामा खेती भोगचलन गरी आएको जग्गाको प्रकृतिको वारेमा यी वादीलाई थाहा जानकारी थिएन होला भन्न सकिने अवस्था नदेखिदा फिरादीले फिरादमा उल्लेख गरेका कारणहरु मनासिव र तथ्यपरक हुन् भन्न नसकिने ।
(प्रकरण नं.१८ र १९)
पुनरावेदक वादी तर्फवाटःविद्वान अधिवक्ता श्री हिरा रेग्मी
प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्तात्रय श्री शम्भु थापा, श्री कृष्ण देवकोटा, श्री इन्द्र खरेल
अवलम्वित नजिरः
आदेश
न्या.राजेन्द्रकुमार भण्डारीः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्याउने निस्सा प्रदान भै संयुक्त इजलासका माननीय न्यायाधीहरु बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य र निर्णय यसप्रकार छ :–
२. विपक्षी नवराज पाण्डेको नाउंमा मालपोत कार्यालय नुवाकोटमा दर्ता भएकोमा नुवाकोट जिल्ला मदानपुर गा.वि.स.वडा नं. ६ कि.नं. ४९३ को क्षेत्रफल १४–१५–३–३ खेत किसिमको पुरै जग्गा म फिरादी चन्द्रशेखर पाण्डेको नाउंमा दर्ता हुने गरी र म फिरादीका नाउँमा दर्ता भएको नुवाकोट जिल्ला वेलकोट वा.वि.स.वडा नं. ५ कि.नं. १२११ को क्षेत्रफल १७–०–० खेत पुरै जग्गा विपक्षी प्रतिवादी नवराज पाण्डेको नाउंमा दर्ता हुने गरी हामी दुवैले मिति २०५३।२।१४ मा सट्टापट्टाको लिखत पारित गरीबसेकोमा मैले विपक्षीलाई दिएको जग्गामा कुलोपानीको सिंचाई भएकोले आषाढ महिनामा ७५ मुरी र मंसीरमा ६५ मुरी धान उव्जनी हुन्छ । विपक्षीले मलाई दिएको जग्गा मलिलो नभई सेपिलो र पश्चिम तर्फबाट करीव ६ रोपनी जग्गा वेतिनि खोलाको ढुंगैढुंगाको वगर परी सो वगर बनाउन सम्भव नभएको हुंदा उक्त जग्गामा आषाढमा ४० मुरी र मंसीरमा ३० मुरी धान उब्जनी हुन्छ । त्यस कारण उक्त जग्गाहरु आ–आफ्नो जग्गा आ–आफूले फिर्ता गरीलिनु भन्दा आज भोलि भनी आलटाल गरेको र मिति २०५३।३।१५ मा विपक्षी संग भन्दा जानेको गर भनी जवाफ दिएकोले फिराद गरेको छु । मिति २०५३।२।१४ मा पारित भएको सट्टापट्टाको मेरा नाउँको जग्गा प्रतिवादीको नाउंमा र प्रतिवादीको नाउंमा दर्ता भएको जग्गा मेरो नाउंमा दर्ता गरिपाऊँ भन्ने समेत व्यहोराको फिराद पत्र ।
३. वादी र म प्रतिवादी बीचको सहमती अनुसार मेरा नाउंको जग्गा विपक्ष वादीको नाउंमा र विपक्षीको नाउंको जग्गा मेरो नाउंमा हुने गरी मालपोत कार्यालय नुवाकोटमा सट्टापट्टाको लिखत पारित गराएको हो । त्यसकारण सम्पूर्ण फिराद दावी झुठ्ठा हो । विपक्षीले फिरादमा लेनदेन व्यवहारको ३६ नं. उल्लेख गर्नु भएको छ, त्यसमा संपत्ति सट्टापट्टा गर्ने व्यक्ति घरको मुख्य व्यक्ति नभई अंशियार सदस्य रहेकोमा सम्म त्यस्तो अंशियारको नाउंमा रहेको चल अचल सम्पत्ति सट्टापट्टा गर्नु पर्दा मुख्य घर मालिकको मंजूरी लिनु पर्ने हो । सो बमोजिम मुख्य मालिकको मंजूरी नलिई वा राजी नगराई अरुसंग सट्टापट्टा गरेकोमा चित्त नबुझे अंशियारले नालेस गरी फिर्ता लिन सक्ने कानूनी मनसाय रहेकोमा उक्त कानूनको गलत अर्थ लगाई दिएको फिराद खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर ।
४. कि.नं. १२११ को जग्गा म वादीको नाउँमा दाखिल दर्ता गरी पाउँ र हाल मेरो नाउँमा भएको कि.नं. ४९३ को जग्गा प्रतिवादी नवराज पाण्डेको नाउँमा कायम गरी सट्टापट्टा गरेको जग्गा फिर्ता पाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने शुरु नुवाकोट जिल्ला अदालतको मिति २०५३।१०।२३ को फैसला ।
५. म पुनरावेदक वादीले उक्त सट्टापट्टा गरेकोमा सो सट्टापट्टामा मेरो चित्त नबुझेकोले सो सट्टापट्टा गरी दिएको मेरो कि.नं. १२११ को जग्गा विपक्षी प्रतिवादीबाट मलाई फिर्ता दिलाई पाउन मुलुकी ऐन लेनदेन व्यवहारको ३६ नं. बमोजिम स्पष्ट रुपमा किटानीसंग दावी लिई सो सट्टापट्टा भएको मिति २०५३।२।१४ बाट ३५ दिनभित्र नालीस गरेको हुँदाहुंदै पनि सो कुरालाई अन्यथा गरी गलत तर्क लगाई बुझ्नु पर्नेसबुद प्रमाणहरु बुझ्दै नबुझी प्रत्यक्ष रुपमा कानूनको गम्भीर व्याख्यात्मक त्रुटी गरी वादी दावी नपुग्ने ठहराई गरेको शुरु नुवाकोट जिल्ला अदालतको मिति २०५३।१०।२३ को फैसला नमिलेको हुंदा उक्त फैसला बदर गरी मेरो फिराद दावी बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन पत्र ।
६. यसमा लेनदेन व्यवहारको ३६ नं. मा भएको व्यवस्था अनुसार सट्टापट्टा गरेको ३५ दिनभित्र चित्त नबुझ्ने पक्षले फिर्ता लिनदिन हुने स्पष्ट कानूनी व्यवस्था रहेको परिप्रेक्ष्यमा शुरुको इन्साफ फरक पर्न सक्ने देखिंदा अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।
७. पुनरावेदक वादी चन्द्रशेखर पाण्डे र प्रत्यर्थी प्रतिवादी नवराज पाण्डेले विवादित कित्ता जग्गाहरु सट्टापट्टा गर्दा तयार गरेको मिति २०५३।२।१४।२ को लिखतको व्यहोरामा पछि जग्गा घटीबढी असल कमसल भनी कुनै कुराको उजूरबाजूर गर्ने छैन भन्ने समेतको वाक्यांश परेको देखिन्छ । मुलुकी ऐन लेनदेन ब्यबहारको ३६ नं. को व्यवस्था हेर्दा चित्त नबुझ्नेले फिर्ता लिनदिन हुन्छ भन्ने मुख्य आधार लिएको देखिए तापनि चित्त किन नबुझेको हो त भन्ने प्रष्ट उल्लेख नहुनुका साथै पुनरावेदक वादीले मंजूर भई सहिछाप गरी अड्डामा गई पारित गरेको उल्लेखित सट्टापट्टा कागजमा परेको सो उल्लेखनले यी पुनरावेदक वादीलाई जग्गा नराम्रो भयो वा घटी भयो भनी उजूर गर्ने स्थान दिएको छैन । तसर्थ शुरु नुवाकोट जिल्ला अदालतले वादी दावी नपुग्ने ठहराई गरेको मिति २०५३।१०।२३ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने समेतको पुनरावेदन अदालत पाटनको मिति २०५४।१२।५ को फैसला ।
८. लेनदेन व्यवहारको ३६ नं. मा चल अचल सम्पत्ति गैह्र सट्टापट्टा गर्दा घरको मुख्य मालिकलाई राजी गराई सट्टापट्टा गर्नु पर्छ, सट्टापट्टा गरेको ३५ दिनभित्र चित्त नबुझ्नेले फिर्ता लिनदिन हुन्छ भन्ने व्यवस्था भएको देखिन्छ । घरको मुख्य मालिकले सट्टापट्टा गरेको सम्पत्ति पूर्ववत् रुपमा फिर्ता लिनदिन पाउने किटानी कानूनी व्यवस्थालाई गलत व्याखया गरी भएको फैसला त्रुटीपूर्ण छ । साथै प्रमाणको उचित मूल्यांकन समेत भएको छैन । विपक्षीको नाउंको जग्गा सेपीलो ढुंग्यान भएको उव्जनीमा समेत फरक पर्ने भएकोमा सो तर्फ अ.वं. १७१ नं. बमोजिम नापनक्सा समेत गरी फैसला गर्नु पर्नेमा प्रमाण ऐन, २०३१ को दफा ५४ को समेत त्रुटीपूर्ण हुंदा मुद्दा दोहोर्याई हेरिपाउँ भन्ने समेतको यस अदालतमा परेको वादीको निवेदन ।
९. वादी चन्द्रशेखर पाण्डेसंग २०५३।२।१४ मा सट्टापट्टा लिखत गरी आफ्नो जग्गा सट्टा गरेको देखिन्छ । सो सट्टापट्टामा वादीले प्राप्त गरेको जग्गा कमसल भनी चित्त नबुझाई सो बदर गरी पाउँ भनी ०५३।३।१६ मा लेनदेन व्यवहारको ३६ नं. बमोजिम जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत पाटनको फैसलामा मुलुकी ऐन, लेनदेन व्यवहारको ३६ नं. को व्याख्यात्मक त्रुटी देखिंदा न्याय प्रशासन ऐन,२०४८ को दफा १२ को उपदफा (१) को को खण्ड (क) बमोजिम दोहोर्याई हेर्ने निस्सा प्रदान गरीएको छ भन्ने समेतको यस अदालतको मिति २०५८।३।२७ को आदेश ।
१०. सट्टापट्टाको लिखत घरको मुख्य व्यक्ति पुनरावेदक वादी र घरको मुख्य व्यक्ति विपक्षी प्रतिवादी नवराज पाण्डेका बीचमा राजीखुशी भै गरेको देखिन्छ । पुनरावेदक वादीले जग्गा घटी भएको र खोलाले पारेको बगर उब्जा हुने बनाउन असम्भव भएको भनी चित्त नबुझेको कारणमा उल्लेख गरेको सम्बन्धमा पनि एकाघर सगोलको छोरा धनप्रसाद पाण्डेको नामको जग्गा नै विपक्षीले बकसपत्रबाट लिएको र सो जग्गा नै पछिबाट वादीले प्रतिवादीबाट सट्टापट्टा गरी लिए दिएको, जग्गा असल कमसल घटी बढी भयो भनी उजूर नगर्ने व्यहोरा समेत उल्लेख गरी लिखत पारीत गरी लिए दिएको र सो लिखतको व्यहोरामा विवाद नगरेको अवस्थामा घरको मुख्य बाहेक अन्यले सट्टापट्टा गरेकोमा अरु चित्त नबुझ्नेले उजूर गर्न सक्ने गरी कानूनले व्यवस्था गरेको हदम्याद भित्र उजूर गरेकै आधारमा मात्र सट्टापट्टा गरी लिए दिएको लिखत बदर भै सो लिखतमा उल्लेख भएको जग्गा फिर्ता हुन्छ भन्न मिल्ने अवस्था नदेखिंदा उचित र पर्याप्त आधारको अभावमा प्रमाण ऐन, २०३१ को दफा ३४ विपरीत सट्टापट्टाबाट प्राप्त गरेको जग्गा फिर्ता गराई पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर गरेको शुरु नुवाकोट जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । शुरुको इन्साफ सदर गरेको पुनरावेदन अदालतको फैसला उल्टी गरी सट्टापट्टा लिखत बदर हुने ठहराएको सहयोगी माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंहको रायसंग सहमत हुन नसकेकोले सर्वोच्च अदालत नियमावली,२०४९ को नियम ३(१)(क)बमोजिम पूर्ण इजलास समक्ष पेश गर्नु भन्ने समेत माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुलीको राय ।
११. लेनदेन व्यवहारको ३६ नं.को कानूनी व्यवस्थाको प्रथम वाक्यांशले घरको मुख्य व्यक्तिको स्वीकृतिलाई प्रमुखता दिएतर्फ पुनरावेदक वादी घरको मुख्य व्यक्ति भएको भन्ने सम्बन्धमा विवाद रहेको नदेखिंदा सोतर्फ बढी विवेचना गरीरहनु पर्ने अवस्था रहेन । सो ३६ नं.को दोश्रो वाक्यांश “सट्टापट्टा गरेको ३५ दिनभित्र चित्त नबुझ्नेले फिर्ता लिनदिन हुन्छ ” भन्ने भएको कानूनी व्यवस्था तर्फ हेर्दा ३५ दिनसम्म सट्टापट्टाको लिखत र व्यवहारमा सो लिखतका पक्षहरुले पुनर्बिचार गर्न सक्ने र चित्त नबुझ्नेले सो व्यवहारलाई बदर गराउन पाउने कानूनी व्यवस्था स्पष्ट रहेको देखियो । वादीको फिराद हदम्याद भित्रैको हुँदा फिराद दावी अनुसार मिति २०५३।२।१४ को सट्टापट्टाको लिखतमा उल्लेख भएको कि.नं. १२११ को जग्गा लिखत बमोजिम जग्गा सेपीलो कम उब्जा हुने कमसल भयो भनी फिर्ता गराई पाउँ भन्ने दावी लिई फिराद परी रहेको अवस्थामा दावीको सट्टापट्टाको जग्गा फिर्ता नपाउने भन्न मिल्ने नदेखिंदा उल्लेखित सट्टापट्टाको जग्गा फिर्ता गराई पाउँ भन्ने वादी दावी नपुग्ने ठहर गरेको शुरु नुवाकोट जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला नमिलेकोले उल्टी भै वादी दावी बमोजिम सट्टापट्टा गरेको उक्त कि.नं. १२११ को जग्गा फिर्ता लिन पाउने ठहर्छ । शुरुले वादी दावी नपुग्ने ठहराएको इन्साफ सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला सदर गर्ने माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुलीको रायसंग मतैक्य नहुंदा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंहको राय सहितको यस अदालत संयुक्त इजलासको मिति २०६१।६।७ को फैसला ।
१२. नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हिरा रेग्मीले वादीको कि.नं. १२११ र प्रतिवादीको कि.नं. ४९३ को जग्गा सट्टापट्टा गरेमा मुलुकी ऐन लेनदेन व्यवहारको ३६ नं. मा सट्टापट्टा गरेकोमा चित्त नबुझे ३५ दिनभित्र फिर्ता लिनदिन हुने स्पष्ट कानूनी व्यवस्था गरेको छ । प्रतिवादीबाट सट्टापट्टामा पाएको जग्गा मलिलो नभएको, सेपिलो र वगर समेत भएको हुँदा घरको मूली स्वयं आफैले गरेको कारोवारमा पनि ३५ दिनभित्र चित्त नबुझ्नेले फिर्ता लिनदिन हुने गरेको कानूनी व्यवस्था सट्टापट्टा गरेको विषयमा पुनर्बिचार गर्नको लागि भएको हो । प्रतिवादीले साट्न इन्कार गरेको कारणबाट पनि सट्टापट्टा भएको उल्लेखित जग्गा असमान भएको स्पष्ट हुन्छ । तसर्थ वादी दावी नपुग्ने ठहर गरेको शुरु नुवाकोट जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला उल्टी गरी वादी दावी बमोजिम सट्टापट्टा गरेको कि.नं. १२११ को जग्गा फिर्ता लिन पाउने ठहराएको माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंहको राय सदर हुनु पर्छ भन्ने समेतको वहस प्रस्तुत गर्नुभयो ।
१३. प्रत्यर्थी प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्तात्रय श्री शम्भु थापा, श्री कृष्ण देवकोटा, श्री इन्द्र खरेलले घरको मुख्य व्यक्तिहरुबाट सट्टापट्टाको लिखत गरेकोबाट राजीखुशी भएको प्रष्ट हुन्छ र सो लिखत बैध लिखत हो, सट्टापट्टा बराबरकै हुनु पर्छ भन्ने होइन । सट्टापट्टा गर्दा लिखतमा सन्धी सर्पन पर्ने उल्लेख गरेको र जग्गाको वास्तविकता बुझी सट्टापट्टा गरेको हुंदा फिर्ता गर्नु पर्ने कारणमा सो उल्लेख छैन, सट्टापट्टाको लिखत गर्दा असल कमसल भनी उजूरबाजूर नगर्ने भन्ने लिखतमा नै उल्लेख भएको हुंदा वादीले प्रस्तुत नालेश गर्न प्रमाण ऐन, २०३१ को दफा ३४ ले पनि विवन्धन लाग्दछ । घरको मुख्यले गरेको सट्टापट्टामा लेनदेन व्यवहारको ३६ नं.ले निजलाई पुनः फिर्ता गर्न दिने भन्ने विधिकर्ताको मनसाय होइन, तसर्थ वादी दावी पुग्न नसक्ने ठहराएको शुरु इन्साफ सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला सदर गरेको माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुलीको राय सदर हुनु पर्छ भन्ने समेतको वहस प्रस्तुत गर्नुभयो ।
१४. विद्वान कानून व्यवसायीहरुको उपर्युक्त बहस समेत सुनी प्रस्तुत मुद्दामा देहायका प्रश्नहरु निर्णय दिनु पर्ने देखियो :–
(१) वादीदावी बमोजिम सट्टापट्टाको लिखतको जग्गा फिर्ता हुने हो, होइन ?
(२) वादी दावी पुग्न नसक्ने ठहराएको शुरु इन्साफ सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मुनासिव छ, छैन ?
१५. माथि उल्लेखित पहिलो प्रश्नतर्फ विचार गर्दा, विपक्ष प्रतिवादीको कि.नं. ४९३ को जग्गासंग मेरो कि.नं. १२११ को जग्गा मिति २०५३।२।१४ मा सट्टापट्टा गरेकोमा विपक्षीबाट सट्टापट्टामा पाएको कि.नं. ४९३ को जग्गा मलिलो नभई कमसल समेत भएकोले फिर्ता गर्न भन्दा नमानेकोले लेनदेन व्यवहारको ३६ नं. बमोजिम विपक्षीबाट कि.नं. १२११ को जग्गा फिर्ता दिलाई पाउँ र कि.नं. ४९३ को जग्गा विपक्षीलाई नै फिर्ता गरिपाऊँ भन्ने समेत वादीको दावी भएकोमा सट्टापट्टाको लिखत गरी लिनदिने विपक्षी स्वयं घर मालिकको हैसियत राख्ने व्यक्ति हुंदा लेनदेन व्यवहारको ३६ नं.ले विपक्षीलाई कुनै सहयोग पुर्याउन नसक्ने हुँदा फिराद गर्ने हकदैया नै नहुंदा फिराद खारेज गरी पाउँ भन्ने समेत प्रतिउत्तर जिकीर रही वादी दावी पुग्न नसक्ने ठहराएको शुरु इन्साफ सदर गरी पुनरावेदन अदालत पाटनबाट फैसला भए उपर मुद्दा दोहोर्याई पाउँ भनी यस अदालतमा वादीको निवेदन परी मुद्दा दोहोर्याउने निस्सा प्रदान भई संयुक्त इजलासमा मतैक्य हुन नसकी यस इजलासमा पेश हुन आएको देखिन आयो । वादी दावी बमोजिम हुने हो होइन भनी निर्णयमा पुग्नको लागि लेनदेन व्यवहारको ३६ नं.लाई नै मुख्य आधार गरी प्रस्तुत मुद्दा गरेको देखिंदा सो ३६ नं.को कानूनी व्यवस्था अध्ययन गर्नु पर्ने हुन आउंछ ।
१६. ३६ नं. : “चल अचल सम्पत्ति गैह्र सट्टापट्टा गर्दा घरको मुख्य मालिकलाई राजी गराई सट्टापट्टा गर्नु पर्छ । सट्टापट्टा गरेका पैंतीस दिनभित्र चित्त नबुझ्नेले फिर्ता लिनदिन हुन्छ । मुख्य मालिकलाई राजी नगराई अरुसंग सट्टापट्टा गरेमा सो गरेको मितिले चलमा भए पैंतीस दिन भित्र र अचलमा भए ६ महिना भित्र सम्ममा थाहा पाएको पैंतीस दिनभित्र नालिस नपरे लाग्न सक्दैन । ”
१७. उल्लेखित कानूनी व्यवस्थामा फिर्ता शब्दले आघि जो जस्ले लिए दिएको छ पछि तिनै व्यक्तिले सोही विषयवस्तु लिनुलाई बुझाउने हुँदा सो कानूनी व्यवस्थाबाट निम्न दुई अवस्थामा मात्र सट्टापट्टाको विषयवस्तु फिर्ता हुन सक्ने देखिन आउंछ ।
(क) उक्त ३६ नं.को पहिलो र दोश्रो वाक्यले घरको मुख्य मालिक राजी भए गरेको अवस्थामा भएको सट्टापट्टामा सो कारोवार गर्नेलाई चित्त नबुझे सट्टापट्टा गरेको विषयवस्तु फिर्ता लिनदिन हुने व्यवस्था गरेको देखिन्छ ।
(ख) दोश्रो अवस्था, घरको मुख्य मालिकलाई राजी नगराई गरेको सट्टापट्टा सम्बन्धमा रहेको देखिन्छ ।
१८. प्रस्तुत मुद्दामा घरको मुख्य मालिकलाई राजी नगराएको भन्ने विवाद नहुंदा सो अवस्था तर्फ केही विवेचना गरिरहनु परेन । मिति २०५३।२।१४ को सट्टापट्टामा चित्त बुझेन भनी ३५ दिनभित्रै प्रस्तुत फिराद परेको र सो सट्टापट्टाको दुवै लिखत गर्ने यी वादी प्रतिवादीले घरका स्वयं मुख्य मालिक रहे भएकोमा विवाद नभै मुख मिलेको देखिन्छ । सो ३६ नं. मा फिर्ता लिन दिनु हुन्छ भन्ने शब्दावली प्रयोग भएकोबाट “फिर्ता” शब्दले अघि जो जस्ले लिए दिएको छ उनै व्यक्तिले सोही विषयवस्तु लिनुदिनुलाई बुझाउने भएको र चित्त नबुझे फिर्ता लिनु दिनुको लागि नै बिधिकर्ताले सो शब्द प्रयोग गरेको देखिन्छ । यदि सो मनसाय थिएन भने सो ३५ दिनको अवधि ताक्ने ब्यबस्था हुने थिएन । साथै चित्त वुझेन भन्नेलाई अधिकारको रुपमा फिर्ता दिने मनसाय हुन्थ्यो भने फिर्ता लिन दिन हुन्छ भन्ने शव्दावलीको सटृा फिर्ता लिन पाउने कुरा वोध हुने अरु नै शव्दावली प्रयोग हुने थियो । सट्टापट्टा गरेका ३५ दिनभित्र चित्त नबु्झ्नेले फिर्ता लिनदिन हुन्छ भनिएबाट त्यस्तो सट्टापट्टा फिर्ता लिन चाहनेले चित्त बुझेन भनी दिए मात्र पुग्ने हो वा चित्त नबुझ्नाको मनासिव माफिकको कारण पनि हुनु पर्दछ भनी विचार गर्नु पर्ने हुन आउँछ । सट्टापट्टा गर्दाका कारणहरुमा राजीखुशी भै एक पटक सट्टापट्टा गरी सकेपछि सोमा चित्त बुझेन भनेर मात्र पुग्दैन, सोमा चित्त नबुझ्नाका माफिकको मनासिव कारणहरु पनि रहे भएको हुनु पर्छ । यदि त्यस्तो मनासिव कारणहरु आवश्यक नपर्ने भए सो ३६ नं.मा “चित्त नबुझ्ने” ले भन्ने शब्दावली रहनु पर्ने पनि थिएन । चित्त बुझेन भन्ने वित्तिकै सो चित्त नबुझ्नाका मनासिव कारणहरु अनिवार्य हुनुपर्छ । माथि उल्लिखित शव्दावलीवाट घरको मुख्यले गरेको सटृापटृा निजले फिर्ता लिनदिन सक्नेसम्म देखिन आएकोले वादीलाई प्रस्तुत फिराद गर्ने हकदैया नै छैन, घरको मुख्यले गरेको सटृापटृामा लेनदेन व्यवहारको ३६ नं. ले निजलाई पुनः फिर्ता दिने भन्ने विधिकर्ताको मनसाय होइन भन्ने प्रतिउत्तर जिकिर एवं प्रतिवादी तर्फका विद्वान कानून व्यवसायीको वहस पनि मनासिव देखिएन ।
१९. प्रस्तुत विवादमा यी वादी प्रतिवादी बीच भएको मिति २०५३।२।१४ को विवादित जग्गा सट्टापट्टाको लिखत गर्दा वादी प्रतिवादीले एक अर्काको जग्गा आआफूलाई सन्धी सर्पन पायक पर्ने भनी घटीबढी असल कमसल भन्ने छैन भनी खुशीराजी व्यक्त गरी मालपोत कार्यालयमा गई रजिष्ट्रेशन पारीत गरेको मालपोत कार्यालय नुवाकोटको पत्रसाथ प्राप्त प्रमाणित सट्टापट्टाको प्रतिलिपिबाट देखिन आएको छ । सो सट्टापट्टामा चित्त बुझेन भनी परेको प्रस्तुत फिरादमा मलिलो नभई सेपीलो र कमसल समेत भएको भन्ने कारणहरु उल्लेख गरेको देखिन्छ । सट्टापट्टाको लिखत गर्दा नै सन्धीसर्पन पायक पर्ने, जग्गा घटीवढी अससल कमसल भयो भनी कुनै कुराको उजुर वाजुर गर्ने छैन गरे यसै सटृापटृाको कागजले वदर गरी दिनु भन्ने व्यहोरा उल्लेख भएवाट सो व्यहोरामा वादीको असहमति रहेको भन्ने देखिदैन, त्यसतर्फ दावी रहे भएको पनि छैन । यसवाट आपसमा एक अर्काका जग्गाको वारेमा यी उभय पक्षलाई थाहा जानकारी थिएन होला भनी भन्न सकिने स्थिति देखिन आउंदैन । त्यसमा पनि अझ यी वादीले सट्टापट्टामा पाएको जग्गा नै सो सट्टापट्टाको लिखतमा अन्तरसाक्षी बस्ने यी वादीको एकाघरको जेठो छोरा धनप्रसाद पाण्डेले मिति २०५१।१२।१४ मा यिनै प्रतिवादीलाई हालैको बकसपत्र गरीदिएको जग्गा देखिन्छ । आफ्नो एकाघरको छोराको नाममा रहंदाको अवस्थामा खेती भोगचलन गरी आएको त्यस्तो जग्गाको प्रकृतिको वारेमा यी वादीलाई थाहा जानकारी थिएन होला भन्न सकिने अवस्था पनि नदेखिंदा फिरादीले फिरादमा उल्लेख गरेका कारणहरु मनासिव र तथ्यपरक हुन् भन्न सकिएन ।
२०. तसर्थ घरका मुख्य व्यक्ति यी वादी स्वयंले सट्टापट्टाको लिखत रजिष्ट्रेशन पास गरिदिएको र सो सट्टापट्टाको लिखतमा उल्लेख भएको व्यहोराबाट नै चित्त नवुझ्नाको मनासिव कारण नदेखिंदा वादी दावी बमोजिम सट्टापट्टाको लिखतको जग्गा फिर्ता हुने देखिन आएन ।
२१. अतः सट्टापट्टाको जग्गा फिर्ता गरी पाउँ भन्ने वादी दावी नै पुग्न नसक्ने देखिएको अवस्थामा वादी दावी पुग्न नसक्ने ठहराएको शुरु नुवाकोट जिल्ला अदालतको इन्साफ मुनासिव ठहराएको पुनरावेदन अदालत पाटनको फैसला सदर गरेको संयुक्त इजलासका माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुलीको राय सदर हुने । ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा सहमत छौं ।
न्या.मीनवहादुर रायमाझी
न्या.हरिजंग सिजापती
इति संवत् २०६२ साल वैशाख २२ गते रोज ५ शुभम् ...........