निर्णय नं. ८६१३ - कर्तव्य ज्यान

ने.का.प. २०६८, अङ्क ५, निर्णय नं. ८६१३
सर्वोच्च अदालत संयुक्त इजलास
माननीय न्यायाधीश श्री तपबहादुर मगर
माननीय न्यायाधीश श्री अवधेशकुमार यादव
पुनरावेदन नं. २०६६–CR–००७२, ०१०८
फैसला मितिः २०६७।१०।५।४
मुद्दा :– कर्तव्य ज्यान ।
पुनरावेदक प्रतिवादीः भोजपुर जिल्ला, चरम्वी गा.वि.स. वडा नं. २ घर भै कारागार शाखा भोजपुरमा थुनामा रहेकी मधुमाया तामाङ
विरुद्ध
प्रत्यर्थी वादीः गणेश आले मगरको जाहेरीले नेपाल सरकार
पुनरावेदक वादीः गणेश आले मगरको जाहेरीले नेपाल सरकार
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः भोजपुर जिल्ला, चरम्बी गा.वि.स. वडा नं. २ बस्ने नरेन्द्रबहादुर तामाङ
शुरु फैसला गर्ने :–
मा.न्या.श्री श्यामप्रसाद लावती
पुनरावेदन फैसला गर्ने :–
मा.न्या.श्री हरिप्रसाद घिमिरे
मा.न्या.श्री ऋषिराज मिश्र
§ अपराध मनसाय प्रेरित वा जघन्य हुनु नै अ.बं. १८८ नं. को कानूनी व्यवस्था आकर्षित हुन नसक्ने निरपेक्ष आधार बन्न सक्ने देखिँदैन भने उमेर, अपराधको स्वीकारोक्ति, पक्राउ परेपछिको पछुतोभाव, अभियुक्तको अशिक्षित अवस्था जस्ता कुराहरू पनि सबै अवस्थामा अ.बं.१८८ नं. प्रयोग हुने आधार बन्न नसक्ने ।
§ अ.बं. १८८ नं. को प्रयोग अक्सर गरी घटनाको अवस्था र प्रकृति, मृतकका क्रियाकलाप, वारदात घटाउन अभिप्रेरित गर्ने तत्व, वारदात घटाउँदा अपनाएको कार्य शैली, अभियुक्तको मानसिक अवस्था, मृतक र अभियुक्तबीच भएका क्रियाकलाप जस्ता कुराहरूमा अक्सर निर्भर रहने ।
§ अपराध र सजायबीच सन्तुलन कायम गर्ने सम्बन्धमा अ.बं. १८८ नं. को प्रयोग मुनासिव आधारबिना अपराधिक मनसाय, तयारी र योजनाबद्ध ढंगले क्रूर कार्यशैली अपनाई गरिने हत्याका सम्बन्धमा सजाय घटाउने अस्त्रको रुपमा विकसित गर्नु उचित नहुने ।
(प्रकरण नं.६)
§ कसूर स्वीकार गर्नु र प्रायश्चित् गर्नुलाई मात्र अ.ब. १८८ नं. बमोजिम सजाय घटाउने राय व्यक्त गर्ने निरपेक्ष आधार बनाइनु मुनासिव नहुने ।
(प्रकरण नं.८)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री रामनाथ राई
प्रत्यर्थी वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री सरोजप्रसाद गौतम
अवलम्बित नजीरः
§ नेकाप २०४५, नि.नं. ३५७२, पृष्ठ ८७२,
§ नेकाप २०६१, नि. नं. ७३९९, पृष्ठ ७६९
§ नेकाप २०४४, नि. नं. ३१७८, पृष्ठ ८४०
§ नेकाप २०४४, नि.नं. ३२०५, पृष्ठ ९२९
§ नेकाप २०४९, नि.नं. ४५२२, पृष्ठ ४०१
§ नेकाप २०४५, नि.नं. ३३७१, पृष्ठ १६२
§ नेकाप २०६०, नि.नं. ७२४६, पृष्ठ ५८७,
§ नेकाप २०४६, नि.नं. ३७१६, पृष्ठ १०४
§ नेकाप २०४५, नि.नं. ३६८४, पृष्ठ १३१५
§ नेकाप २०४७, नि.नं.४१५४, पृष्ठ ४६१
§ नेकाप २०४५, नि.नं. ३५४०, पृष्ठ ७६४
§ नेकाप २०४१, नि.नं. १९६०, पृष्ठ ३२७
§ नेकाप २०६१, नि.नं. ७४६६, पृष्ठ १४८६
§ नेकाप ०४८, नि. नं. ४३०६, पृष्ठ २७४
§ नेकाप ०४६, नि.नं. ३९७९, पृष्ठ १०८९
§ नेकाप २०५६, नि.नं. ६८२१, पृष्ठ ८३८
§ नेकाप ०६७, नि.नं. ८४१५, पृष्ठ ११५९
§ नेकाप २०४४, नि.नं. ३२७९, पृष्ठ ११९४
§ नेकाप २०५७, नि.नं. ६९४३, पृष्ठ ७०४
सम्बद्ध कानूनः
§ ज्यानसम्बन्धी महलको १३(१), (४)
§ अ.व. १८८ नं.
फैसला
न्या.तपबहादुर मगरः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदन अदालत धनकुटाको मिति २०६६। १।२।४ को फैसलाउपर पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर निम्नबमोजिम छ :–
मेरो बुहारी तुलसा मगर (तामाङ्ग) लाई मिति २०६३।९।२६ गते ४:३० बजेको समयमा चरम्बी गा.वि.स. वडा नं. ४ स्थित बेसीटार एक्ली वारीमा खर काट्न गएको समयमा खुकुरीले काटी निर्ममतापूर्वक हत्या गरिएको अवस्थामा सोही दिनको राति १८:३० बजे लाश फेला परेको हुँदा अपराधी पत्ता लगाई कानूनबमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी मधुमाया तामाङ्गले दिएको जाहेरी दरखास्त ।
मृतक मेरी दिदी तुलसा तामाङ्गलाई मिति २०६३।९।२६ गते ४:३० बजेको समयमा चरम्बी गा.वि.स. ४ स्थित बेसीटार एक्ली बारीमा खर काटी रहेको अवस्थामा कोही कसैले थाहा नपाउने गरी खुकुरी प्रहार गरी काटी निर्ममतापूर्वक हत्या गर्ने अभियुक्त मधुमाया तामाङ्ग र नरेन्द्रबहादुर तामाङ्ग नै हुन् । निजहरूलाई कानूनबमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको गणेश आले मगरले दिएको जाहेरी दरखास्त ।
जिल्ला भोजपुर चरम्बी गा.वि.स. वडा नं. ४ स्थित विष्णुबहादुर तामाङ्गको पाखा बारी गराभित्र मृतक रहेको स्थानबाट उत्तर दुई फीटको दूरीमा सानो बुट्टे रुमाल रहेको, सोही स्थानदेखि उत्तरतर्फ ५ मिटर लम्बाई ४ मिटर चौडाईको भागमा रहेको जमिन पूरै मडारिएको, मृतक रहेको स्थानदेखि पश्चिम १ फीटको दूरीमा १ फीट लम्बाई ६ ईञ्च चौडाईको भागमा पूरै आलो रगत जमेको, सो स्थानदेखि २ फीट पश्चिममा केशको मुठ्ठा काटिएर रहेको, घाँटीको अवस्था बाँयातर्फबाट काटिएको र पूरै छिन्न लागेको, बाँया कञ्चटमा ४ ईञ्चको गहिरो चोट, गालामा ३ ईञ्च लम्बाई २ ईञ्च चौडाइको गहिरो चोट, बाँया दाँया हातका कान्छी औंला र साहिँली औंला पुरै काटिएको भन्ने समेत व्यहोराको दिलकुमार तामाङ्ग समेत ७ जनाले गरी दिएको लाश प्रकृति मुचुल्का ।
मृतक मेरो भाउजू वर्ष २७ की तुलसा मगर (तामाङ्ग) मिति २०६३।९।२६ गते ४:३० बजेको समयमा बेसीटार एक्ली बारीमा खर काट्दै गरेको अवस्थामा कसैले थाहा नपाउने गरी खुकुरीले बायाँ कन्चट, गाला र घाटी समेतमा काटी निर्ममतापूर्वक हत्या गर्ने हाल पक्राउ परेकी अभियुक्त मधुमाया तामाङ्ग (मेरो आमा) नै हुन् । म उक्त घट्नामा संलग्न छैन । शंकाको भरमा मलाई वारदातमा संलग्न छ भनी किटानी जाहेरी दिएको हो भन्ने समेत व्यहोराको प्रतिवादी नरेन्द्रबहादुर तामाङ्गले अधिकारप्राप्त अधिकारीसमक्ष गरी दिएको बयान ।
मृतक तुलसा मगर (तामाङ्ग) लाई मेरो छोरा रोशन तामाङ्गले मिति २०५५ सालमा प्रेम विवाह गरी ल्याएको थियो । एक छोराको जन्म समेत भैसकेको छ । छोरा रोशन तामाङ्ग भारतीय सेनामा नोकरी गर्दै गरेको हुँदा निज मृतक बुहारी तुलसा मगर (तामाङ्ग) घरमा सँगै बस्दै आएकी थिइन् । निज बुहारी घरमा रहँदा बस्दा मैले लाए अह्राएको काम कार्यहरू नगर्ने गरेको हुँदा मलाई निज बुहारीदेखि धेरै रिस उठेको र पटक–पटक घरमा झगडासमेत भएको कारण मैले निजलाई पूरै योजना बनाई मिति २०६३।९।२६ गते हाल घटनास्थल भनिएको बारीमा खर काट्न गएको अवस्थामा कोही कसैले नदेख्ने गरी मैले घरबाट नाङ्गो खुकुरी लिई उक्त घटना स्थलमा पुग्दा निज बुहारी खर काट्दै गरेको अवस्थामा निजले थाहा नपाउने गरी मार्ने मनसाय लिई बायाँ कन्चटमा र बायाँ गालामा खुकुरी प्रहार गरी जमिनमा ढलेपछि घाँटीमा सोही खुकुरीले प्रहार गरी मारेको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी मधुमाया तामाङ्गले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।
मृतक तुलसा मगर (तामाङ्ग)को २०६३।९।२६ गते ४.३० वजेको समयमा घटनास्थलमा खुकुरीले काटी निर्ममतापूर्वक हत्या गर्ने प्रतिवादी मधुमाया तामाङ्ग हुन् । उक्त वारदातमा निजको छोरा प्र. नरेन्द्रबहादुर तामाङ्गको समेत संलग्नता छ भन्ने समेत व्यहोराको गंगाबहादुर आले मगरले गरेको कागज ।
मृतक तुलसा मगर (तामाङ्ग) को घटनास्थलमा खुकुरीले काटी निर्ममतापूर्वक हत्या गर्ने प्रतिवादी मधुमाया तामाङ्ग र निजको छोरा नरेन्द्रबहादुर तामाङ्ग नै हो । निजहरूलाई कानूनबमोजिम कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको देवीबहादुर सोरली मगरले गरी दिएको कागज ।
मृतकको हत्या गर्ने प्रतिवादीहरू मधुमाया तामाङ्ग र नरेन्द्रबहादुर तामाङ्ग नै हुन् भन्ने समेत व्यहोराको शेरबहादुर आले मगरले गरी दिएको कागज ।
मिति २०६३।९।२६ गते बेलुका ४:३० बजेको समयमा वारदात स्थलमा मृतक तुलसा मगर तामाङ्गलाई खुकुरीले काटी हत्या गर्ने प्रतिवादी मधुमाया तामाङ्ग नै हुन् । यस घटनामा प्रतिवादी नरेन्द्रबहादुर तामाङ्गको समेत संलग्नता छ भन्नेमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको लालबहादुर राईले गरी दिएको कागज ।
जाहेरीमा उल्लिखित मिति र समयमा वारदात स्थलमा मृतकलाई खुकुरीले काटी हत्या गर्ने अभियुक्त मधुमाया तामाङ्ग र नरेन्द्रबहादुर तामाङ्ग हुन् । नरेन्द्रबहादुर तामाङ्गको पनि संलग्नता भएकोमा शंका लाग्छ भनी दुर्गाबहादुर मगरले गरी दिएको मौकाको कागज ।
हाल पक्राउ परेका प्र. मधुमाया तामाङ्गले वारदात स्थलमा प्रयोग गरेको खुकुरी थान–१, रगत लागेको रातो खाँडीको रुमाल–१, निज अभियुक्तले वारदात समयमा लगाएको लुंगी र बुट्टे चोली, रगत लागेको जस्तो देखिने धर्के सटर्, प्र. मधुमाया तामाङ्गको घरबाट मिति २०६३।१०।२९ गते हामीहरूको रोहवरमा बरामद गरी लगेको ठीक साँचो हो भन्ने समेत व्यहोराको दोर्ज सिंह तामाङ्ग समेत ४ जनाले गरी दिएको बरामदी तथा खानतलासी मुचुल्का ।
वारदात स्थलमा प्रयोग गरेको खुकुरी, रगत पुछेको सेतो खाडीको रुमाल समेत देखाउँदा देखे चिने, सनाखत समेत गरी दिएको छु भनी अभियुक्त मधुमाया तामाङ्गले अधिकारप्राप्त अधिकारीसमक्ष गरी दिएको कागज ।
प्रतिवादी मधुमाया तामाङ्ग र मृतकबीच धेरै वर्ष अघिदेखि झगडा भैरहने खान लगाउन नदिने, हेला होचो गर्ने गर्दै आएको थिइन् । तुलसा मगरको हत्या गर्ने मधुमाया तामाङ्ग नै हुन् । कानूनबमोजिम कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको डिल्लीबहादुर तामाङ्गले मौकामा गरी दिएको कागज ।
जाहेरीमा उल्लिखित मिति समयमा मृतकलाई खुकुरीले काटी हत्या गर्ने मधुमाया तामाङ्ग नै हुन् । प्रतिवादी नरेन्द्रबहादुर तामाङ्गको संलग्नता छ छैन म भन्न सक्दिन भन्ने समेत व्यहोराको दिलीपकुमार तामाङ्गले गरी दिएको कागज ।
मृतक तुलसा मगरको लाश खोजतलासको क्रममा वारदात स्थलमा देखी गाउँ र घर छिमेकी मानिसहरूलाई जानकारी गराई दिएको हुँ । निज मृतकको मृत्यु मधुमाया तामाङ्गको कारणबाट भएको हो । नरेन्द्रबहादुरको संलग्नता थियो थिएन म भन्न सक्तिन भन्ने समेत व्यहोराको झुपालाल तामाङ्गले गरी दिएको कागज ।
हाल वारदातस्थल भनिएको ठाउँमा जाहेरीमा उल्लेख गरिएको मिति समयमा तुलसा मगर (तामाङ्ग) लाई खुकुरीले काटी निर्ममतापूर्वक हत्या गर्ने मधुमाया तामाङ्ग नै हुन् । निजको छोरा नरेन्द्रबहादुर तामाङ्गको संलग्नता भएकोमा बिश्वास लाग्छ भन्ने समेत व्यहोराको हिमाल राई, भोजनकुमार राई, नरबहादुर राई समेतका मानिसहरूले गरी दिएको २०६३।११।३ गतेको वस्तुस्थिति मुचुल्का ।
मृतक तुलसा मगरको हत्या गर्ने प्रतिवादी मधुमाया तामाङ्ग नै हुन् । प्रतिवादी नरेन्द्रबहादुर तामाङ्गको संलग्नता थियो थिएन, आँखाले नदेखेकोले भन्न सक्दिन भन्ने समेत व्यहोराको पुष्पबहादुर तामाङ्ग र अर्जुन तामाङ्गले गरी दिएको मिति २०६३।११।३ गतेको बस्तुस्थिति मुचुल्का ।
मृतक तुलसा मगरलाई मार्ने नै मनसाय लिई मिति २०६३।९।२६ गते चरम्वी गा.वि.स. वडा नं. ४ स्थित बेसींटार एक्ली बारी भन्ने ठाउँमा खर काटी रहेको समयमा दिनको ४:३० बजेको समयमा कोही कसैले थाहा नपाउने गरी घरबाट नाङ्गो खुकुरी बोकी अभियुक्त नरेन्द्रबहादुर तामाङ्गको सहयोगमा अभियुक्त मधुमाया तामाङ्गले खुकुरीले बायाँ कन्चट, बायाँ गालामा काटी, घाँटीमा काटी घट्नास्थल मै निर्ममतापूर्वक हत्या गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत कसूर गरेको हुँदा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३ (१) नं. बमोजिम हदैसम्म सजाय हुन र अभियुक्तमध्येका नरेन्द्रबहादुर तामाङ्गले हतियारको चोट छोडेको नभए पनि मृतकलाई मार्न संयोग पारी दिन पक्री समाती थिची दिएकोले ऐ. ऐनको १३ (४) नं. बमोजिम हदैसम्म सजाय गरिपाऊँ भन्ने व्यहोराको अभियोग माग दावी ।
मिति २०६३।९।२६ गते दिनको १२:०० बजेदेखि बेलेकी ४:३० बजे घट्ना घटेको समयसम्म म बिरामी भई आफ्नै घरमा सुतेको थिएँ । मेरी भाउजू तुलसा मगरलाई मेरी आमा मधुमाया तामाङ्गले हत्या गरेको हो । मेरो संलग्नता छैन भन्ने समेत व्यहोराको प्रतिवादी नरेन्द्रबहादुर तामाङ्गले अदालतमा गरेको बयान ।
मृतक तुलसा मगरलाई मैले मारेको हो । मार्छु भन्ने योजना २,४ दिन अघिदेखि बनाई २०६३।९।२६ गते ४:३० बजेको समयमा खर काटी रहेकी बुहारीलाई निहुरिएको अवस्थामा घरबाट बोकी लगेको खुकुरीले टाउकोको माझैमा हानें । उक्त चोटबाट त्यहीँ लडेपछि घाँटी र गालामा समेत हानें । निज मरेपछि खुकुरी रगतैसँग लिएर घरमा आई कोठेवारीमा भएको धारामा पखाली आफ्नो रातो पोटुकाले पुछें र मेरो कपडामा लागेको रगत धोएँ । त्यसपछि छिमेकी झुपलाल तामाङ्ग, दिलीप तामाङ्ग समेतलाई बुहारी हराएको कुरा भने पछि ३ जना मानिस खोज्न गए । उनीहरूले मृतकको लाश भेटी काटिएर मरेछ भने पछि मैले आफू बच्ने मनसाय लिएर अपराध छिपाउन झूठा जाहेरी दिएकी हुँ । मेरो छोरा प्रतिवादी नरेन्द्रबहादुर तामाङ्गको मार्नमा सहमति छैन । म एक्लैले मात्र मारेको हो भन्ने समेत व्यहोराको प्रतिवादी मधुमाया तामाङ्गले अदालतमा गरेको बयान ।
शुरु अदालतका मिति २०६३।११।२५ का आदेशानुसार जाहेरवाला सहितका वादी पक्षका साक्षीहरू र प्रतिवादीका साक्षीहरूको वकपत्र भई मिसिल सामेल रहेको ।
शुरु अदालतका मिति २०६४।५।९ का आदेशानुसार मृतकको मृत्यु घाटी काटेर नशा छिनिनु र घाँटीको हड्डी छिनिनु नै मृत्युको कारण हो भन्ने समेत व्यहोराको पोष्टमार्टम गर्ने डा. सूर्यबहादुर गुरुङ्गले गरेको वकपत्र ।
अभियुक्त मधुमाया तामाङ्गलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ । अर्का प्रतिवादी नरेन्द्रबहादुर तामाङ्गको हकमा निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(४) नं. बमोजिम जन्मकैद हुने ठहर्छ । साथै निज प्रतिवादी नरेन्द्रबहादुर तामाङ्गलाई तोकिएको कैद चर्को पर्ने महसूस भएकोले अ.बं. १८८ नं. बमोजिम २ (दुई) वर्ष कैद हुने राय प्रस्तुत गरिएको छ भन्ने समेत व्यहोराको भोजपुर जिल्ला अदालतको मिति २०६५।३।२४ को फैसला ।
मृतकलाई मार्नमा म प्रतिवादी नरेन्द्रबहादुर तामाङ्गको कुनै किसिमको संलग्नता नभएको अवस्थामा केवल शंकाको भरमा ज्यानसम्बन्धी महलको १३ (४) को सजाय गर्ने गरी भएको शुरु अदालतको फैसला उल्टी गरिपाऊँ भन्ने प्रतिवादी नरेन्द्रबहादुर तामाङ्गको तथा म प्रतिवादी मधुमाया तामाङ्ग सिधा साधा अन्जान बृद्ध महिला भएका कारणले गर्दा आफूले गरेको कामको परिणाम बुझ्न नसक्ने अवस्थाकी भएकोले मैले मात्र खुकुरी प्रहार गरी मृतकलाई मारेकोले आफ्नो सत्य तथ्य बयान प्रहरी र अदालतसमक्ष गरेकी हुँदा म उपर अ.बं. १८८ नं. बमोजिम कम सजाय हुन राय व्यक्त गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी मधुमाया तामाङ्गको संयुक्त रुपमा कारागार कार्यालय भोजपुरमार्फत् पुनरावेदन अदालत धनकुटामा पर्न आएको पुनरावेदनपत्र ।
यसमा प्रतिवादीमध्येका नरेन्द्रबहादुर तामाङ्गको हकमा सबूद प्रमाणको समुचित मूल्याङ्कन नगरी कसूरदार ठहर गरेको शुरुको फैसला प्रमाण मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा छलफलका लागि पुनरावेदन सरकारी वकील कार्यालय धनकुटालाई पेसीको सूचना दिई नियमानुसार गरी पेश गर्नु भन्ने मिति २०६५।१२।९ मा पुनरावेदन अदालत धनकुटाबाट भएको आदेश ।
प्रतिवादी मधुमाया विरुद्धका सम्पूर्ण सबूद प्रमाणले मालाकार रुपमा निजको कसूर अपराधलाई समर्थन गरिरहेको पाइँदा प्रतिवादी मधुमाया तामाङ्गले नै दुराशयपूर्ण भावनाले जघन्य एव् विभत्स किसिमसँग मृतक तुलसालाई काटी हत्या गरेको ठहर्छ । सो ठहर्नाले निजलाई ज्यानसम्बन्धी महलको १३ नं. को देहाय १ अनुसार सर्वश्वसहित जन्मकैदको सजाय गर्ने ठहर्याएको शुरु भोजपुर जिल्ला अदातलको इन्साफ निजको हकमा मिलेकै देखिँदा सो इन्साफ सदर हुने ठहर्छ । मिसिल संलग्न सबूद प्रमाणहरूको सूक्ष्म विश्लेषण गर्दा यी प्रतिवादी नरेन्द्रबहादुर तामाङ्गले कसूर अपराध गरेकै हुन् भन्ने कुराको प्रत्यक्ष, निर्विवाद एवम् ठोस सबूद प्रमाणको विद्यमानता मिसिलमा नदेखिँदा पुनरावेदक प्रतिवादी नरेन्द्रबहादुर तामाङ्गले समेत आरोपित कसूर अपराध गरेका हुन् भनी कसूरदार ठहर्याई सजाय गर्न न्यायोचित हुने नदेखिँदा निजले आरोपित कसूर अपराध गरेको ठहर्दैन, सफाइ पाउने ठहर्छ । निजलाई समेत कसूरदार ठहर्याई सजाय गर्ने गरेको शुरु भोजपुर जिल्ला अदालतको इन्साफ मिलेको नदेखिँदा निजको हकमा सम्म सो इन्साफ उल्टी हुने ठहर्छ भन्ने पुनरावेदन अदालत धनकुटाको मिति २०६६।१।२ को फैसला ।
मेरो पारिवारिक र सामाजिक वातावरणले मैले शिक्षाको ज्योति लिन पाउन सकिन । मेरो चेतनास्तर उही पुरातनवादी सामाजिक सोचभन्दा माथि उठ्न सकेन । ममा जातीय विभेदको सोचाई तथा जातीय अहं रहीनै रह्यो । उमेरमा नै पतिको देहवशान भयो । यसै क्रममा मेरो जेठा छोरा रोशन तामाङ्गले वि. सं. २०५५ मा मगर जातको बुहारी (हाल मृतक तुलसा मगर) सँग अन्तर्जातीय विवाह गर्यो । मृतक निज बुहारीले मलाई केही पनि नसघाउने, मैले अह्राएको काम पनि केही नगर्ने लगायतको कारणले उक्त अकल्पनीय दुर्घटना भूलवस हुन गयो । मैले अधिकारप्राप्त अधिकारी तथा शुरु जिल्ला अदालतमा घटनाको सत्यतथ्य बयान गरी अदालतलाई न्याय निरोपणमा सहयोग गरेकी छु । म ५५ वर्षको वृद्ध र निरक्षर महिला भएकोले अपराधको गम्भीरता र परिमाण सोच्न र बुझ्न नसक्ने भएको र मैले प्रायश्चित् गरिसकेको र मेरो सोचाईमा पनि सकारात्मक रुपमा आमूल परिवर्तन भएकोले अ.बं. १८८ नं. बमोजिम कम सजाय हुन राय व्यक्त गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी मधुमाया तामाङ्गको कारागार कार्यालय भोजपुरमार्फत् प्राप्त भई मिति २०६६।५।११ मा यस अदालतमा दर्ता भएको पुनरावेदनपत्र ।
वारदातको प्रकृति हेर्दा ५१ वर्ष उमेरकी बृद्ध महिला प्रतिवादी मधुमाया तामाङले २७ वर्ष उमेरका बयस्क मृतकलाई एक्लैले मारेको पुष्ट्याई हुने आधारहरू देखिदैनन् । खुकुरीले प्रहार गरी गर्घन छिन्ने गरी चोट लागेको देखिएकोमा चोट लागेपछि मृतक छटपटाउँदा घटनास्थलमा यत्रतत्र रगतका छिटाहरू छरिनु पर्नेमा खोविल्टा जस्तो भएको एक ठाउँमा मात्र रगत जम्मा भएको घटनास्थल तथा लासजाँच मुचुल्काबाट देखिएको, स्वयम् प्रतिवादीका साक्षी पुष्पबहादुर तामाङ्ग, डिल्लीबहादुर तामाङ्ग समेतले वारदातमा अन्य व्यक्तिको समेत सहयोग जरुरी छ भनी लेखाएकोबाट वारदातमा एकभन्दा बढी मानिसको संलग्नता रहेको पुष्ट्याई भएको छ । प्रतिवादी नरेन्द्रबहादुर तामाङले मृतक तुलसालाई नकाटी छाड्दीन भनी काट्छु मार्छु भन्दै खुकुरी बोकेर हिँड्ने गरेको, वारदातको प्रकृति हेर्दा कसैले काटेको देखिएकोले निजको समेत संलग्नता छ भनी जाहेरवाला, मौकामा कागज गर्ने मानिस दुर्गा मगर समेतले वकपत्र समेत गरी दिएको पाइन्छ । प्रतिवादीले दिएको इन्कारी बयान तथ्ययुक्त र प्रमाणबाट पुष्टि भएको छैन । प्रतिवादी नरेन्द्रबहादुर तामाङले समेत अभियोग दावी अनुसारको कसूर गरेको पुष्ट्याँई भैरहेकोले अभियोग दावीबाट सफाइ दिने गरी भएको फैसलामा प्रमाण मूल्याङ्कनमा त्रुटि भएकोले प्रतिवादी नरेन्द्रबहादुर तामाङ्गलाई अभियोग दाबीबाट सफाइ दिएको हदसम्म पुनरावेदन अदालत धनकुटाको २०६६।१।२ को फैसला उल्टी गरी शुरु भोजपुर जिल्ला अदालतको फैसला सदर गरिपाऊँ भन्ने वादी नेपाल सरकारको मिति २०६६।५।३० मा यस अदालतमा दर्ता भएको पुनरावेदनपत्र ।
नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेश भएको प्रस्तुत कर्तव्य ज्यान मुद्दाको मिसिल संलग्न सम्पूर्ण कागजातहरू अध्ययन गरी पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट विद्वान सहन्यायाधिवक्ता सरोजप्रसाद गौतमले मृतक २७ वर्षकी हट्टाकट्टा व्यक्तिलाई प्रतिवादी मधुमाया तामाङ एक्लैले मार्न सम्भव देखिँदैन, लास प्रकृति मुचुल्काबाट विभिन्न चोटहरू देखिएबाट मृतकलाई मार्न दुवै प्रतिवादीको सहयोग र षड्यन्त्र रहेको देखिन्छ, प्रतिवादी नरेन्द्रले मृतकलाई नमारी छाड्दिन भनी हिँडेको जाहेरवालाले वकपत्रमा उल्लेख गरेका र प्रतिवादीका साक्षीले पनि मृतकलाई मार्न एक्लै सम्भव छैन भनी उल्लेख गरेबाट प्रतिवादी नरेन्द्र उपरको अभियोग दावी पुष्टि भैरहेको अवस्थामा पुनरावेदन अदालतले सफाइ दिएको मिलेको छैन भनी तथा पुनरावेदक प्रतिवादी मधुमाया तामाङको तर्फबाट विद्वान अधिवक्ता रामनाथ राईले प्रतिवादी बृद्धा अवस्थाकी र ४, ५ वर्षदेखि जेल जीवन विताई रहेकी छिन्, निजले आफ्नो कसूर स्वीकार गरी मौकामा तथा अदालतमा वयान गरी न्यायिक प्रक्रियामा सहयोग पुर्याएको अवस्था समेतलाई विचार गरी अ.बं. १८८ नं. बमोजिम सजाय घटाइनु पर्दछ भनी गर्नु भएको बहस सुनियो ।
वादी तथा प्रतिवादी दुवै पुनरावेदक तर्फबाट प्रस्तुत भएको बहस तथा मिसिलबाट देखिएको तथ्यलाई दृष्टिगत गरी इन्साफतर्फ विचार गर्दा मृतक तुलसा मगरलाई मार्ने नै मनसाय लिई मिति २०६३।९।२६ गते चरम्बी गा.वि.स. वडा नं. ४ स्थित बेसिटार एक्ले बारी भन्ने ठाउँमा खर काट्न पठाई सोही दिनको ४:३० बजेको समयमा कोही कसैले थाहा नपाउने गरी घरबाट नाङ्गो धारिलो खुकुरी बोकी अभियुक्त नरेन्द्र तामाङको सहयोगमा अभियुक्त मधुमाया तामाङले सो खुकुरीले बायाँ कन्चट बायाँ गाला घाटी समेतमा काटी घटना स्थलमै कर्तव्यबाट मृतक तुलसा मगरको निर्ममतापूर्वक हत्या गरी मुलुकी ऐन, ज्यानसम्बन्धीको १ नं विपरीत कसूर गरेको हुँदा निजलाई ऐ. ऐनको दफा १३(१) नं. बमोजिम र अभियुक्तमध्येका नरेन्द्र तामाङले हतियार चोट छोडेको नभए पनि मृतकलाई मार्न वारदातमा गई मार्नलाई संयोग पारी दिना निमित्त पक्री समाती थिची दिएको कुरा पुष्टि भएकोले निज अभियुक्तलाई ऐ.ऐनको १३(४) नं. बमोजिम हदैसम्म सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको अभियोग दावी देखिन्छ । शुरु जिल्ला अदालतले प्रतिवादी मधुमाया तामाङ्गलाई अभियोग दावीबमोजिमको कसूर अपराधमा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैद तथा प्रतिवादीमध्येका नरेन्द्रबहादुर तामाङ्गलाई सोही महलको १३(४) नं. बमोजिम जन्मकैदको सजाय हुने ठहराई अ.बं. १८८ नं. बमोजिम २ वर्ष कैद गर्न राय प्रस्तुत गरेको पाइन्छ । पुनरावेदन अदालतले प्रतिवादी मधुमाया तामाङको हकमा शुरु फैसला सदर र प्रतिवादी नरेन्द्रबहादुर तामाङको हकमा शुरु फैसला उल्टी गरी अभियोग दावीबाट सफाइ दिएकोमा कसूर ठहराइएउपर प्रतिवादी मधुमाया तामाङको र कसूरबाट प्रतिवादी नरेन्द्रबहादुर तामाङलाई सफाइ दिएउपर वादी नेपाल सरकारको पुनरावेदन परेको अवस्था छ ।
पुनरावेदक प्रतिवादी मधुमाया तामाङले प्रस्तुत गरेको पुनरावेदनपत्रमा घटना वारदात आफूबाट भएको तथ्यमा विवाद नगरी आफूलाई मुलुकी ऐन, अदालती बन्दोबस्तको १८८ नं. बमोजिम सजाय घटाई पाउन अनुनय विनय गरेको अवस्था छ भने वादी नेपाल सरकारको पुनरावेदन पत्रमा प्रमाणहरूले प्रतिवादीमध्येका नरेन्द्रबहादुर तामाङको हकमा पुनरावेदन अदालतले प्रमाणहरूको मूल्याङ्कन नै नगरी सफाइ दिएको भन्ने समेत जिकीर लिएको देखिन्छ ।
सर्वप्रथम प्रतिवादी मधुमाया तामाङको पुनरावेदन सम्बन्धमा विचार गर्दा यी प्रतिवादी मधुमाया तामाङले जेठी बुहारी तुलसा मगर २०६३।९।२६ गते घरबाट विहानको खाना खाई ११ बजेको समयमा चरम्बी गा.वि.स. वडा नं. ४ स्थित आफ्नै बेसींटार (एक्लो) बारीमा खर काट्न गएको र साँझसम्म पनि फर्की नआएको हुँदा छिमेकी समेतलाई बोलाई खोज्न पठाउँदा धारिलो हतियारले काटी मृतक अवस्थामा फेला परेकोले निज बुहारीलाई के कुन मानिसले धारिलो घातक हतियार प्रहार गरी काटी कर्तव्य गरी मारेको हो, अपराधीहरूको खोजतलास गरी पत्ता लगाई पक्राउ गरी कानूनबमोजिम गरिपाऊँ भनी मिति २०६३।९।३० मा जिल्ला प्रहरी कार्यालय भोजपुरमा जाहेरी दरखास्त दर्ता गरेको देखिन्छ । त्यसैगरी निज समेत उपर गणेश आले मगरले २०६३।१०।१ मा जाहेरी दरखास्त दर्ता गराएपछि निज प्रतिवादी मधुमाया तामाङ पक्राउ परेको देखियो ।
निज प्रतिवादीले अनुसन्धान अधिकृतसमक्ष बयान गर्दा जेठा छोरा रोशन तामाङले मृतक बुहारी तुलसा (मगर) तामाङलाई २०५५ सालमा प्रेम विवाह गरी ल्याएको, जातमा तल माथि पर्न गएकोले निज तुलसा मगरलाई छूट्याउनको लागि हर प्रयास गरेकोमा असफल भएको, त्यसपछि अलग गर्नको लागि जवर्जस्ती छोरा रोशन तामाङलाई आफ्नो जातको केटी झमनासँग दोस्रो विवाह गर्न लगाई मोरङ्गको दुर्गापुरी भन्ने ठाउँमा जग्गा जमिन लिइ राखेको, निज मृतक बुहारी अह्राएको काम कार्य नगर्ने, भनेको कुरा नमान्ने, निजले जाँड रक्सी बनाई बिक्री वितरण गर्ने गरेकोमा आफूले सवै सामान जुटाई दिनुपर्ने भएको कारण निज बुहारीसँग भित्री आत्मादेखि मनमुटाव हुँदै आएको कारणबाट वारदात भन्दा ४/५ दिन अगाडिदेखि कुनै पनि ठाउँमा मौका पर्नासाथ खुकुरीले काटी हत्या गर्छु भन्ने कुरा सोची योजना बनाई २०६३।९।२६ गते विहानको खाना खाई सकेपछि दिनको अं. ११ बजेको समयमा घटनास्थल भनिएको एकान्त ठाउँमा बुहारी तुलसा मगरलाई खर काट्न जा भनी पठाई सोही अवस्था मौका छोपी दिनको अं. १६:३० बजेको समयमा नाङ्गो खुकुरी बोकी उक्त स्थानमा पुगेको बुहारी खर काटी रहेको अवस्थामा कोही मानिस नभई सुनसान भएको अवस्थामा बुहारीले नदेख्ने गरी पछाडिबाट खुकुरीले घाँटीमा प्रहार गर्दा बुहारी रन्थनिएर जमिनमा ढल्न खोजेको, सोही अवस्थामा पुनः सोही खुकुरीले बायाँ गालामा प्रहार गरेपछि बुहारी जमिनमा घोप्टो परी ढलेको, त्यसपछि बायाँ घाँटीमा खुकुरी प्रहार गरी घाँटी छिन्न लागेपछि निज चट्पटाउन छाडेकी भन्ने समेत उल्लेख गरी उक्त घटना कसैले थाहा नपाओस् र आफू अपराधबाट बाँच्नको लागि जाहेरी दिएको भन्ने उल्लेख गरेको र अदालतमा समेत सोहीबमोजिम बयान गरेको पाइयो ।
२. यसरी मौकामा अनुसन्धान अधिकारीसमक्ष तथा अदालतमा समेत पुनरावेदक प्रतिवादीले मृतक तुलसा (मगर) तामाङलाई आफूले मार्न बनाएको योजना समेत उल्लेख गर्दै मनसायपूर्वक नै हत्या गरेको स्वीकार गरेको अवस्था हुँदा यी प्रतिवादीले मृतकलाई मारेको भन्ने तथ्यगत कुरामा विवाद रहेको पाइएन । प्रतिवादीले आफूले घटनाप्रति प्रायश्चित गरेको, अदालत र अनुसन्धानको क्रममा सहयोग गरेको तथा आफू बृद्ध र निरक्षर भई घटनाको परिणाम सोच्न र बुझ्न नसक्ने भएकोले अ.बं.१८८ नं. बमोजिम सजाय घटाई पाउन पुनरावेदनपत्रमार्फत् अनुनय गरेको अवस्था हुँदा अ.बं.१८८ नं. बमोजिम पुनरावेदक प्रतिवादीको अनुनय, वर्तमान कानूनी व्यवस्था तथा यस अदालतबाट स्वीकार गरिएका मान्यताहरूअनुरूप रहे नरहेको तर्फ पनि विवेचना हुनुपर्ने देखियो ।
३. मुलुकी ऐन, अदालती बन्दोबस्तको १८८ नं. को कानूनी व्यवस्था हेर्दा “ऐनले सर्वश्वसहित जन्म कैद वा जन्मकैद गर्नुपर्ने भएका मुद्दामा सावित ठहरे पनि इन्साफ गर्ने हाकिमका चित्तले भवितव्य हो कि भन्ने सम्मको शंकाले वा अपराध गरेको अवस्था विचार गर्दा कसूरदारलाई ऐनबमोजिम सजाय दिँदा चर्को हुने भई घटी सजाय हुनुपर्ने चित्तले देखेमा ऐनले गर्नुपर्ने सजाय ठहराई आफ्ना चित्तले देखेको कारणसहितको खुलासा राय पनि साधक तोकमा लेखी जाहेर गर्न हुन्छ । अन्तिम निर्णय दिनेले पनि त्यस्तो देखेमा ऐनले हुने सजायमा घटाई तोक्न हुन्छ” भन्ने उल्लेख भएको पाइन्छ ।
४. यो कानूनी व्यवस्थाले स्पष्टतया २ अवस्थालाई इंगित गरेको देखियो । पहिलो वारदात मनसायपूर्वक नदेखिई भवितव्य हो कि भन्ने देखिएको अवस्था र दोस्रो वारदात मनसायपूर्वक नै भए पनि ऐनबमोजिम सजाय दिँदा चर्को पर्छ कि भन्ने निर्णयकर्ताको चित्तले देखेमा । यी दुवै अवस्थाहरू फौजदारी न्याय प्रशासनमा तजविजी अधिकारको प्रयोगमार्फत् प्रतिवादीको अवस्था र निजले गरेको अपराधलाई विचार गरी निजलाई कसूर गरेमा हुन सक्ने सजायमा सन्तुलन कायम राख्ने अवधारणागत अनुभूति हुन् । अपराध र सजायमा सन्तुलन राख्नुपर्ने अवस्था छ भन्ने न्यायिक आधार मौजूद रहन्छ भने त्यस्तो अवस्थामा सजाय घटाउनुको अर्थ अभियुक्तउपरको न्यायिक सदाशयताको विषय हो, न कि अभियुक्तको अधिकारको विषय । हाम्रो फौजदारी न्याय प्रशासनमा सजाय निर्धारण सम्बन्धमा हालसम्म छूट्टै कानूनको निर्माण भएको पाइँदैन । विद्यमान कानूनमा पनि ऐनबमोजिम तोकिएको सजाय घटाउन सकिने अवस्था के कस्तो प्रकृतिको हत्यामा हुने भन्ने स्पष्ट विधायिकी नीतिको अभाव नै देखिन्छ । साथै सजाय निर्धारण सम्बन्धमा छुट्टै सुनुवाई गर्ने परिपाटीको विकास भैनसकेको अवस्था हुँदा यस अदालतले नै स्वविवेकको प्रयोग गरी अ.बं. १८८ नं. को प्रयोगमार्फत अनेकौं कर्तव्य ज्यान मुद्दाहरूमा ऐनबमोजिम तोकिएको सजाय घटाउन सकिने केही निश्चित मापदण्डको विकास गरी सकेको पाइन्छ । यद्दपि यो कानूनी व्यवस्थाले अपराधमा अभियुक्तको संलग्नता कुन हिसाबले भएको छ र वारदातप्रति अग्रसर हुन अभियुक्तलाई कुन–कुन तत्वले अभिप्रेरित गरेको छ ? त्यस्ता परिस्थिति र तत्वहरू अन्य साधारण व्यक्तिहरूमा पनि समान रुपले सिर्जित हुन सक्ने अवस्था रहन सक्छ वा सक्दैन ? वारदातबाट अभियुक्तले लिन खोजेको उपादेयता के हो ? अपराधको प्रकृति र वारदात घटाउँदा अपनाएको कार्यशैली कस्तो छ ? अभियुक्तको वारदात अघि र पछिको मानसिक अवस्था कस्तो थियो ? भन्ने जस्ता कुराहरूको विश्लेषण गर्न अभिप्रेरित गराई अपराध र सजाय बीचको सन्तुलन कायम गर्न न्यायकर्तालाई मद्दत गर्दछ । यिनै तत्वहरूबाट कर्तव्य ज्यानको अपराधमा आपराधिक गाम्भिर्यता घटाउने परिस्थितिहरूको विद्यमानता (Presence of mitigating circumstances on homicide) भए नभएको खोजी गर्ने गरिन्छ ।
५. अपराधको प्रकृति, अपराध गर्दा अपनाइने कार्यशैली, अभियुक्तको मानसिक अवस्थाको स्थिति, अपराध गर्नु पछाडिको उत्प्रेरित तत्व सबै अवस्था र परिस्थितिमा समान हुन नसक्ने भएकाले त्यसको विश्लेषण र मूल्याङ्कन गरी उचित सजायको निर्धारण हुन सकोस् भन्ने विधायिकी अभिप्राय अ.बं. १८८ नं. को कानूनी व्यवस्थामा प्रतिविम्बित हुने भएकाले सबै अवस्था र प्रकृतिका ज्यान मुद्दाहरूमा अ.बं. १८८ नं. को प्रयोग गरी सजाय घटाउन सकिने हुँदैन । सजाय घटाउन सकिने अवस्थाको विद्यमानता भएमा पनि उस्तै प्रकृतिका मुद्दाहरूमा अपराधको गाम्भिर्यता घटाउने परिस्थितिहरूको विद्यमानताको अवस्था पृथक हुनसक्ने भएकोले समान प्रकृतिको ज्यान मुद्दामा पनि उत्तिनै सजायको निर्धारण हुनसक्ने देखिँदैन । सर्वश्वसहित जन्म कैद वा जन्मकैदको सजाय हुने मुद्दामा ऐनबमोजिम तोकिएको सजायमा छूट दिन सकिने सम्बन्धी अ.बं. १८८ नं.को कानूनी व्यवस्था अभियुक्तको चरित्र, पछुतो भावको शैली, अपराध गर्दा प्रयोग गरिएको हतियारको प्रकृति, अभियुक्तको उमेर जस्ता आधारहरूमा निरपेक्षरुपमा अडिएको समेत हुँदैन । त्यस्ता कुराहरू अपराधको प्रकृति (Nature of the crime), अपराध घटाउन अपनाइएको कार्यशैली (Modus operandi of the crime), अभियुक्तको मानसिक अवस्था (Mental state of the accused), अपराध गर्न अग्रसर गराउने तत्व (Motive of the crime) जस्ता मुख्य प्रश्नसँग जोडिएको आउने सहायक कुराहरू मात्र हुन् । यस्ता सहायक कुराहरूलाई निरपेक्ष आधारको रुपमा अगाडि सारी अ.बं. १८८ नं. को प्रयोगमार्फत् आपराधिक दायित्व घटाउन मिल्ने हुँदैन । मिसिलबाट देखिएको परिस्थितिलाई विश्लेषण र विवेचना नगरी अ.बं. १८८ नं. को प्रयोग गरिएमा दण्डसम्बन्धी कानूनी व्यवस्था फितलो हुन जाने देखिन्छ ।
६. यस अदालतबाट अ.बं. १८८ नं. को कानूनी व्यवस्थामार्फत अनेकौं ज्यानसम्बन्धी मुद्दाहरूमा सजायको दायित्व घटाइएका दृष्टान्तहरू रहेका छन् । उक्त कानूनी व्यवस्थाको अनुशरण गरी अपराध र सजायबीच सन्तुलन कायम गर्ने सन्दर्भमा शान्ति वि.क. विरुद्ध छविलाल वि.क.को जाहेरीले श्री ५ को सरकार भएको कर्तव्य ज्यान मुद्दामा (नेकाप २०६१, अङ्क ६, पृष्ठ ७६५) विचार गर्नुपर्ने विभिन्न १५ आधारहरू उल्लेख गरिएको देखिन्छ भने देवनारायण र चन्द्र मण्डलको जाहेरीले नेपाल सरकार विरुद्ध जुगत सदा समेत भएको कर्तव्य ज्यान मुद्दामा (नेकाप, २०६३, अङ्क ८, पृष्ठ १०७५) अ.बं. १८८ नं. बमोजिम सजाय घटाउँदा वा नघटाई हदैसम्मको सजाय तोक्दा कारण खुलाउनु पर्ने कुरालाई इँगित गर्दै सजाय निर्धारणमा विभिन्न कुराहरूलाई ध्यान दिनुपर्ने भनी उल्लेख गरिएको पाइन्छ । पुनरावेदक गोविन्दबहादुर कार्की विरुद्ध शिवप्रसाद लामिछानेको जाहेरीले नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्धामा (नेकाप २०६५, अङ्क ११, पृष्ठ १३६९) अ.बं. १८८ नं. प्रयोग गरी सजाय घटाउने राय व्यक्त गर्ने सामान्य नियम नभई यसको प्रयोग गरी सजाय घटाउँदा अदालतले विचार गर्नुपर्ने अवस्था र कुराहरूको उल्लेखन गरिएको देखिन्छ । उल्लिखित मुद्दाहरूमा प्रतिपादित कानूनी सिद्धान्त अ.बं. १८८ नं. को कानूनी व्यवस्थाको प्रयोग गर्दा विचार गरिनुपर्ने कुराहरूको मार्गदर्शनका रुपमा रहेका छन् । अपराध मनसाय प्रेरित वा जघन्य हुनु नै अ.बं. १८८ नं. को कानूनी व्यवस्था आकर्षित हुन नसक्ने निरपेक्ष आधार बन्न सक्ने देखिँदैन भने उमेर, अपराधको स्वीकारोक्ति, पक्राउ परेपछिको पछुतोभाव, अभियुक्तको अशिक्षित अवस्था जस्ता कुराहरू पनि सबै अवस्थामा अ.बं.१८८ नं. प्रयोग हुने आधार बन्न सक्ने देखिँदैन । अ.बं. १८८ नं. को प्रयोग अक्सर गरी घटनाको अवस्था र प्रकृति, मृतकका क्रियाकलाप, वारदात घटाउन अभिप्रेरित गर्ने तत्व, वारदात घटाउँदा अपनाएको कार्य शैली, अभियुक्तको मानसिक अवस्था, मृतक र अभियुक्तबीच भएका क्रियाकलाप जस्ता कुराहरूमा अक्सर निर्भर रहने गर्दछ । तर अपराध र सजायबीच सन्तुलन कायम गर्ने सम्बन्धमा अ.बं. १८८ नं. को प्रयोग मुनासिव आधारबिना अपराधिक मनसाय, तयारी र योजनाबद्धढंगले क्रूर कार्यशैली अपनाई गरिने हत्याका सम्बन्धमा सजाय घटाउने अस्त्रको रुपमा विकसित गर्नु उचित हुने देखिँदैन । हामीले अ.बं. १८८ नं. को प्रयोग गरी ऐनबमोजिम तोकिएको सजाय घटाउन आधार लिएका केही दृष्टान्तहरू निम्न देखिन्छन्ः–
(क) अबैध सम्बन्धको कारण जन्मेको बच्चाको हत्या (नेकाप २०४५, नि.नं. ३५७२, पृष्ठ ८७२, नेकाप २०६१, नि. नं. ७३९९, पृष्ठ संख्या ७६९)
(ख) दुवै प्रेमीले प्रेममा बाधा विरोध भएपछि आत्महत्या गर्ने निधो गरी प्रेमिकाले पहिले मर्न आफ्नो घाँटीमा छुरी प्रहार गर्दा प्रेमीले मद्दत गरी मारी आफू मर्न जत्रतत्र छुरी प्रहार गरी प्रयास गरेको अवस्थाको हत्या (नेकाप २०४४, नि.नं. ३१७८, पृष्ठ ८४०)
(ग) सतित्व रक्षाको लागि अधिक बल प्रयोग गरी गरेको हत्या (नेकाप २०४४, नि.नं. ३२०५, पृष्ठ ९२९)
(घ) आवेशको अवस्थामा हतियार (चक्कु) को प्रयोग गरी गरेको हत्या (नेकाप २०४९, नि.नं. ४५२२, पृष्ठ ४०१)
(ङ) पूर्व योजना नभई अत्याधिक जाँड रक्सी सेवन गरी मनमा उठेको परिणाम सोच्न नसक्ने अवस्थामा गरेको हत्या (नेकाप २०४५, नि.नं. ३३७१, पृष्ठ १६२)
(च) लोग्नेको क्रियाकलापबाट आततायी भएकी महिलाले गरेको लोग्नेको हत्या (नेकाप २०६०, नि.नं. ७२४६, पृष्ठ संख्या ५८७, नेकाप २०४६, नि.नं. ३७१६, पृष्ठ १०४),
(छ) पारिवारीक तनाव सहन नसकी छोराछोरीलाई समेत मारी आत्महत्या गर्न दहमा हामफाल्दा छोराछोरी मरेको अवस्था (नेकाप २०४५, नि.नं. ३६८४, पृष्ठ १३१५)
(ज) आफूसहित पहिलो लोग्नेतर्फका वच्चा समेत स्याहार्ने कबूल गरी पेट बोकाई छोडी अर्कैसँग विवाह गरी गएको कारण सोही पीरले आफूसहित वच्चालाई विष खुवाई मार्ने नियतले विष खाई खुवाई सुतेकोमा छोरीको मृत्यु भएको अवस्था (नेकाप २०४७, नि.नं.४१५४, पृष्ठ ४६१)
(झ) मानसिक दुर्वलता (अस्थितरता) को अवस्थामा गरिएको हत्या (नेकाप २०४५, नि.नं. ३५४०, पृष्ठ ७६४)
(ञ) पीडितको पहिचानमा भूल भै गरिएको हत्या (नेकाप २०४१, नि.नं. १९६०, पृष्ठ ३२७)
(ट) एउटालाई ताकेर हान्दा अर्कैलाई लागि मर्न गएको अवस्था (नेकाप २०६१, नि.नं. ७४६६, पृष्ठ १४८६)
(ठ) अनुचित प्रभावमा गरिएको हत्या (नेकाप ०४८, नि. नं. ४३०६, पृष्ठ २७४)
(ड) धम्की वा दवावमा परी गरेको हत्या (नेकाप ०४६, नि.नं. ३९७९, पृष्ठ १०८९ )
(ढ) आमासँग अनैतिक सम्बन्ध राखेको कारण गरिएको हत्या (नेकाप २०५६, नि.नं. ६८२१, पृष्ठ ८३८)
(ण) साथीको आग्रहमा गरिएको हत्या (नेकाप ०६७, नि.नं. ८४१५, पृष्ठ ११५९)
(त) अति बृद्ध भै सुझबुझ कम हुँदै गएको अवस्थामा गरिएको हत्या (नेकाप २०४४, नि.नं. ३२७९, पृष्ठ ११९४)
(थ) लोग्नेसँग अनैतिक सम्बन्ध राखेकको आशंकामा गरिएको हत्या (नेकाप २०५७, नि.नं. ६९४३, पृष्ठ ७०४)
७. प्रस्तुत वारदातको सम्बन्धमा हेर्दा यी पुनरावेदक प्रतिवादी र मृतक सासू बुहारी नाताका देखिन्छन् । आफ्नो छोराले प्रेम विवाह गरी ल्याएकी बुहारीसँग जातीयता नमिलेको भन्ने आधारमा छोराबाट छूटाउने र घरबाट हटाउने प्रयास गर्दा असफल भएको भन्ने प्रतिवादी मधुमायाको बयानबाट देखिन्छ । उक्त कुराको साथै निज मृतकलाई आफूले जाँड रक्सी बनाउने सामान जुटाई दिनुपर्ने कारणबाट आन्तरिक रुपमा निज मृतकप्रति रुष्ट हुँदै गएको र वारदातको ४।५ दिन अगाडिदेखि मौका पर्नासाथ निजलाई खुकुरीले काटी मार्ने योजना बनाएको देखिन्छ । सोही योजना मुताविक बुहारीलाई बारीमा खर काट्न पठाई एकान्त अवस्थाको मौका छोपी खर काटी रहेकी बुहारीलाई यी प्रतिवादीले खुकुरीले काटी हत्या गरेको अवस्था प्रतिवादीको बयानबाट देखिन्छ । यस प्रकारका योजनाबद्ध ढंगले होशियारी र तयारीसाथ खुकुरीले मृतकको घाँटीलगायतका स्थानमा पटक–पटक प्रहार गरी मारेको कार्य क्रुरतापूर्ण देखिन्छ । यस्तो क्रुर हत्या निश्चय नै आपराधिक गाम्भिर्यता घटाउने अवस्था हुन सक्दैन । मृतकले निजको हत्यापूर्व प्रतिवादीलाई मार्न अग्रसर हुने गरी दुःख दिने र सताउने गरेको भन्ने अवस्था मिसिलबाट देखिँदैन । बरु मृतकलाई नै आफ्नो परिवारबाट कसरी पन्छाउन सकिन्छ भन्नेतर्फ नै यी प्रतिवादी लागेको भन्ने निजको भनाई रहेको देखिन आउँछ । मृतकको हत्या गर्नैपर्ने अवस्थाको सिर्जना भएको समेत पाइँदैन । प्रतिवादी वारदातको समयमा आफूले गर्ने कार्यको परिणाम बुझ्न र सम्झन नसक्ने अति बृद्ध अवस्थामा भएको समेत देखिएन । बरु वारदात घटाई बुहारी साँझमा पनि नआएको भनी छिमेकीहरूलाई खोज्न पठाएको र लास भेटिएपछि अपराधबाट उम्किने नियतले बुहारीलाई को कसले हत्या गरे, पत्ता लगाई कारवाही गरिपाऊँ भनी जाहेरी दिएको अवस्थाले प्रतिवादी चलाखी र दुरदर्शी परिणाम सोच्न सक्ने क्षमता भएको भन्ने देखिन आउँछ ।
८. प्रतिवादीले आफूले अनुसन्धानको क्रममा र अदालतमा समेत सत्यतथ्य वयान गरेको र प्रायश्चित् गरिसकेको भनी सजाय घटाउने राय व्यक्त हुने आधार प्रस्तुत गरेको देखिन्छ । मौकामा र अदालतमा कसूर स्वीकार गर्नुंले अनुसन्धान तथा न्यायिक प्रक्रियालाई सहज बनाउने तथ्यमा विवाद छैन । तथापि जघन्य अपराध गरी कसूर स्वीकार गर्दै अपराधप्रति प्रायश्चित गरेको भनी भनाई राखेकै आधारमा त्यसलाई सजाय घटाउने आधार बनाइने हो भने त्यो न्यायसंगत नहुनुको साथै त्यसले खराब न्यायिक प्रथाको विकास गर्ने उत्तिकै खतरा रहन जाने देखिन्छ । त्यसैले कसूर स्वीकार गर्नु र प्रायश्चित गर्नुलाई मात्र अ.ब. १८८ नं. बमोजिम सजाय घटाउने राय व्यक्त गर्ने निरपेक्ष आधार बनाइनु मुनासिव हुने देखिँदैन । यी प्रतिवादी मधुमाया तामाङ्गले मृतक तुलसा (मगर) तामाङ्गलाई योजनाबद्ध र होशियारीसाथ धारिलो हतियार खुकुरीले काटी हत्या गरेको देखिएको अवस्थामा माथि विवेचना गरिए बमोजिम अ.बं. १८८ नं.अनुरूप ऐनबमोजिम तोकिएको सजाय घटाउन सकिने अवस्था मौजूद नदेखिँदा निजले पुनरावेदनपत्रमार्फत गरेको अनुरोध मुनासिव देखिन आएन ।
९. अब प्रतिवादी नरेन्द्रबहादुर तामाङ्गले कसूर गरेको प्रमाणहरूले पुष्टि गरेको छ भनी वादी नेपाल सरकारले लिएको पुनरावेदन जिकीर सम्बन्धमा विचार गर्दा, यी प्रतिवादी कसूर अपराध गरेमा मौकामा तथा अदालतमा इन्कार भै बयान गरेको देखिन्छ । निजउपर परेको जाहेरी तथ्यगत र वस्तुगत रुपमा नभई अनुमानमा आधारित छ । जाहेरवाला चश्मदिद गवाहको रुपमा नरहेको तथ्य निजको भनाइबाट स्पष्ट हुन आउँछ । प्रस्तुत वारदातको घटना टेलिफोनबाट थाहा पाएको र वारदातको समयमा दिउँसो आफू धरानमा भएको र राति मोरङ्गको हरैंचामा थिएँ भनी वकपत्र गर्ने जाहेरवालाले यी प्रतिवादीउपर जे जस्ता शब्द र वाक्याँश उल्लेख गरी वकपत्र गरे पनि निजको भनाई प्रत्यक्ष प्रमाणको रुपमा रहन सक्ने देखिन आएन । वादी पक्षले प्रमाणको रुपमा प्रस्तुत गरेका मौकामा कागज गर्ने तथा वस्तुस्थिति मुचुल्काका मानिसहरूको भनाई हेर्दा प्रायः सबैजसोले घटनास्थलको र लासको प्रकृतिको आधारमा नै सो घटना वारदातमा यी प्रतिवादीको संलग्नता हुन सक्ने अनुमान लगाएको देखियो । मौकामा तथा वस्तुस्थिति मुचुल्कामा कागज गर्ने दुर्गाबहादुर आले, लालबहादुर राई, देवबहादुर रोसाली, हिमाल राई, गंगाबहादुर आले, नरबहादुर राई, ओजनकुमार राई समेतले यी प्रतिवादीको वारदातमा संलग्नताको विश्वाससम्म गरेको देखिन्छ । त्यस्तै घटनास्थल लाश प्रकृति मुचुल्काकामा समेत बसेका प्रतिवादीका साक्षी डिल्लीबहादुर तामाङ्गले घटनास्थलको प्रकृति र लासको अवस्था हेर्दा एक जना भन्दा बढीको संलग्नता हुनसक्ने अनुमान लगाएको सम्म देखियो ।
१०. वादी पक्षले यी प्रत्यर्थी प्रतिवादीका उपर प्रमाणको रुपमा प्रस्तुत गरेका व्यक्तिहरू कोही पनि प्रत्यक्षदर्शी भएको देखिन आएन । फौजदारी न्याय प्रशासनमा अनुमान, विश्वास र शंकाजन्य अभिव्यक्तिहरूलाई निश्चयात्मक प्रमाणको वर्गमा राखिने गरिँदैन । यस्ता अनुमान, विश्वास र शंका जस्ता अभिव्यक्तिले प्रतिवादीको वारदातमा संलग्नताभन्दा निजको निर्दोषितातर्फ नै बढी झुकाव राख्ने गरेको कारण शंकाको लाभ अभियुक्तको पक्षमा जाने कुरालाई फौजदारी न्याय प्रशासनमा स्वीकार गरिएको छ । प्रत्यक्षदर्शी प्रमाणको अभावमा कुनै परिस्थितिले यी प्रतिवादीको उक्त वारदातमा संलग्नता छ कि भन्ने तर्फ विचार गर्दा पनि निःसन्देहात्मक रुपमा यी प्रतिवादीको प्रस्तुत घटनाको वारदातमा संलग्नता रहेको स्थिति मिसिलबाट देखिएन । प्रतिवादीले लगाएको सर्टमा वारदातको क्रममा रगत लागेको हुन सक्ने आशंकामा उक्त सर्ट राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा परीक्षण गरिँदा उक्त सर्टमा रगत नभेटिएको भन्ने मिति २०६४।१।३० को परीक्षण प्रतिवेदनबाट देखिएको छ । साथै मुख्य अभियुक्त मधुमाया तामाङ्गको अनुसन्धान अधिकृतसमक्ष भएको बयान तथा अदालतमा भएको बयानबाट समेत यी प्रत्यर्थी प्रतिवादीको घटना वारदातमा कुनै संलग्नता देखिएको छैन । यसरी वादी पक्षबाट जे जति प्रमाण प्रस्तुत गरिएको छ, ती सबै प्रमाणहरूले प्रत्यर्थी प्रतिवादी नरेन्द्रबहादुर तामाङ्गको अभियोग दावीबमोजिमको कसूरमा संलग्नता भएको पुष्टयाई गरेको नदेखिएको अवस्थामा पनि प्रामाणिक दृष्टिले मूल्यहिन अभिव्यक्तिलाई लिएर कसूर पुष्ट्याँई भैरहेको भनी लिएको पुनरावेदन जिकीरलाई समर्थन गर्ने अवस्था मिसिल प्रमाणबाट देखिन आएन ।
११. अतः माथि विवेचना गरिएबमोजिम पुनरावेदक प्रतिवादी मधुमाया तामाङ्गलाई ज्यानसम्बन्धी महलको १३(१) बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहराएको शुरु भोजपुर जिल्ला अदालतको फैसला सदर गरेको तथा प्रतिवादी नरेन्द्रबहादुर तामाङ्गलाई सोही महलको १३(४) नं. बमोजिम जन्मकैदको सजाय गर्ने गरेको उक्त अदालतको फैसला निज प्रतिवादीको हकमा उल्टी गरी कसूरबाट निज प्रतिवादी नरेन्द्रबहादुर तामाङ्गलाई सफाइ दिएको पुनरावेदन अदालत धनकुटाको मिति २०६६।१।२ को फैसला मिलेकै देखिँदा सदर हुन्छ । अ. बं.१८८ नं. बमोजिम कम सजाय हुन राय व्यक्त गरिपाऊँ भन्ने प्रतिवादी मधुमाया तामाङ्गको र प्रतिवादी नरेन्द्रबहादुर तामाङ्गलाई अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्तैन । दायरीको लगत कट्टा गरी फैसलाको जनाउ पुनरावेदक प्रतिवादीलाई दिई मिसिल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.अवधेशकुमार यादव
इति संवत् २०६७ साल माघ ५ गते रोज ४ शुभम्
इजलास अधिकृत : दीपककुमार दाहाल