शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६३०० - लागू औषध

भाग: ३८ साल: २०५३ महिना: चैत्र अंक: १२

निर्णय नं. ६३००     ने.का.प. २०५३ अङ्क १२

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

माननीय न्यायाधीश श्री हरिश्चन्द्र प्रसाद उपाध्याय

संवत् २०५० सालको फौ.पु.नं. ... ७९४

फैसला मितिः२०५३।३।१२।४

 

मुद्दा : लागु औषध ।

पुनरावेदक

वादीः वाजुरा जिल्ला अस्पतालको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी

प्रतिवादीः जि. वाजुरा वाई गा.वि.स. वडा नं. ३ जेरा गाउं बस्ने नन्द लाल गिरी ।

     

§  प्रमाणको लागि आएको यीनै प्रतिवादी नन्दलाल गिरी प्रतिवादी भएको नकवजनी चोरी मुद्दामा धेरै परिणाममा अन्य औषधी सहित ३० एम्पुल पेथेडिन पलिया खेरी अवस्थित गिल मेडिकल स्टोरबाट रु. ५,९४०। मा खरीद गरी सो मेडिकल स्टोरको विल समेत पेश भएको देखिनाले अन्य औषधी लगायत छुट्टै परिमाणमा खरीद गरेको नीजि प्रयोगको निम्ति हो भन्न सकिने स्थिति नदेखिने ।    

                    (प्र.नं. २५)

§  बाजुरा अस्पतालको निमित्त मेडिकल सुपरिटेण्डेट राम चन्द्र यादवले प्रतिवादीलाई जाच्दा (Vain) भेनमा ईन्जेक्शन लगाएको पाइएकोले लागु औषध सेवन गरेको लक्षण चिन्ह पाइयो भनी बन्द सवालको नं. ५ मा जवाफ दिएकोवाट औषधी सेवन गरेको एकिन भन्न नसकि लक्षण चिन्ह भन्नुको तात्पर्य हो होइन यकिन हुन नसक्ने भै शंकास्पद देखिन आउने राय भन्नु पर्ने ।  

(प्र.नं. २५)

§  दुई चिकित्सकको २ विभिन्न एक अर्का देखि आपसमा विरोधाभास राय भएको देखिएको अवस्था त्यस्तो राय शंकास्पद मान्नु पर्ने भै प्रतिवादीको विरुद्ध सो प्रमाण ग्रहण गर्न कानुनले मिल्ने नदेखिने ।       

(प्र.नं. २५)

     

पुनरावेदक तर्फवाटःविद्वान सरकारी अधिवक्ता श्री कृष्णराम श्रेष्ठ

विपक्षी तर्फवाटः

अवलम्बित नजीरः

 

फैसला

      न्या.ओमभक्त श्रेष्ठ: न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(क) अनुसार यस अदालत समक्ष पर्न आएको पुनरावेदनको मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकारको छ ।

      २. स्टोरबाट पेथडिन ईन्जेक्सन चोरी भैरहने गरेको मिति २०४७।११।५ गते ११.०० वजे औषधी झिक्न स्टोर किपर जांदा पछाडीको झ्याल खुल्ला भएको औषधी छरिएकोले चोरी भएको शंका लागि जिन्सी खाता अनुसार औषधी गन्ति गर्दा २८३ वट्टा पेथडिन एम्पुल र १० मि.लि. को सिरिन्च थान १ निडिल समेत चोरेर लगेको हुंदा हेल्थपोष्टमा काम गर्ने नन्दलाल गिरीले पेथडिन इन्जेक्शन लगाउने गर्दै थियो भन्ने समेत सुनिएको हुंदा निजलेनै लगेको पुरा शंका लागेको  हुंदा कार्यवाही गरी पाउं भन्ने समेत वाजुरा अस्पतालको च.नं. १९५ मिति २०४७।११।५ को पत्र ।    

३. स्टोर कोठाको उत्तर तर्फको झ्यालको छेस्किनी भांचिएको भित्र भागमा तारको जाली अडाएको काठ भांची मानिस पस्न सक्ने बनाएको फोडिएको झ्याल नजिक बाकसमा सिरिन्जहरु राखिएको ९ वटा मध्ये ८ वटा भएको सो नजिकै खुल्ला काठको वाकसमा आई.भि. सेटहरु राखिएको एउटा आई.भि. सेटको ल्पास्टिक च्याती निडिल १ झिकेको अन्य सोही स्थानमा रहेको सोही कोटाको दक्षिणतर्फको कुनामा वेडलकर ३१२ वटा पेथेडिन इन्जेक्शन भएकोमा २८३ वटा चोरी भएको अन्य यथास्थितिमा रहेको भन्ने २०४७।११।८ को घटनास्थल प्रकृति मुचूल्का ।

      ४. २०४२ साल देखि हेल्थपोष्ट मार्तडीमा रहेको हुंदा हे.पो.मा पनि पेथेडिन इन्जेक्शन निकाशा भै आउने गरेको हुंदा उक्त इन्जेक्शन लगाएपछि जिउमा आराम भै निन्द्रा लगाउने गर्छ भन्ने सुनेकोले पहिले २०४६ साल भाद्रमा लगाएको १।२ पटक प्रयोग गरेपछि लत् वसेकोले पाएसम्म खोजेर प्रयोग गर्ने गरेको अस्पतालमा डा. गंगाराम चौधरी ज्यूले स्टोरबाट पेथेडीन इन्जेक्शन झिकी विरामीलाई लगाई दिएको देखेको हुंदा पहिलो पटक २०४७ साल माघ २१ गते त्यसपछि २०४७ माघ २७ गते दोश्रो पटक २०४७।११।४ गते राती अस्पतालको झ्याल तोडी पटक पटक गरी १३० एम्पल पेथेडिन निडिल १ चोरी गरेको हुं उक्त ईन्जेक्शन हातको नशामा आफै प्रयोग गर्ने गरेको थिएं अन्य औषधी सेवन गर्ने गरेको छैन भन्ने समेत २०४७।११।८ गतेको प्र. नन्दलाल गिरीको वयान कागज ।

      ५. मेरो श्रीमान नन्दलाल गिरीले २०४७ साल फाल्गुण ४ गते राती ल्याउनु भएको के औषधी हो २२ वटा सिरिन्ज १, निडिल, मैले राखि दिएको प्रहरीबाट खोजी भएकोले दाखिल गरेको छु भन्ने श्रीमती नन्दा कुमारी के.सी. गिरीको २०४७।११।९ को ठाडो कागज ।

      ६. नन्दलाल गिरीको स्वास्थ्य परिक्षण गर्दा पेथेडिन प्रयोग गरेको प्रमाणित गरिन्छ भन्ने वाजुरा जिल्ला अस्पतालको २०४७।११।१० को पत्र ।

      ७. २०४७।११।४ गते दिउंसो र राती  समेत पालो भएकोले राती २ वजे घरबाट अस्पताल तर्फ आई रहेको अवस्था अस्पतालको कम्पाउण्ड भित्रबाट अ.हे.ब. नन्दलाल गिरी एक्लै वजारतर्फ आईरहेको देखि सोधपुछ गर्दा नवोली जानु भयो । निजले नै चोरेको विश्वास लाग्छ भन्ने अस्पतालको पियन दल वहादुर रावलको २०४७।११।१३ को ठाडो कागज ।

      ८. २०४७।११।४ भन्दा अगाडी पटक पटक स्टोरको झ्यालबाट भित्र पसी २५३ वटा पेथेडिन एम्पुल चोरी भै मानिस पत्ता लागेको थिएन । २०४७।११।५ गते ११ बजे स्टोर कोठा भित्र पस्दा औषधी छरिएको झ्यालको काठ भांचिएको झ्याल खुलै रहेको देखि वेड लकरमा राखेको पेथेडीन एम्पुल गन्ति गर्दा २९ वटा मात्र वांकी रहेको देखियो । नन्दलाल गिरी अस्पतालको कम्पाउण्डबाट मिति २०४७।११।४ गते राती २ वजे वजारतर्फ जान लागेको पियन दल वहादुर रावलले देखेको हुं भनी भनेकोले निज माथि शंका लागि अस्पतालबाट लेखी पठाएको हो भन्ने समेत स्टोरमा काम गर्ने अ.हे.व. रामचन्द्र यादवको ०४७।११।१३ को कागज

      ९. प्र. नन्दलाल गिरीलाई राम्रोसंग चिन्दछु निजले पेथेडिन इन्जेक्शन सेवन गर्दछ भन्ने सुनेको पनि थिइन । हालै प्रहरीमा प्रक्राउ भै निजले स्वीकार गरेकोले थाहा भयो । हाल सम्मको निजको चाल चलन राम्रो थियो । अरु कुरा थाहा छैन भन्ने जि. वाजुरा वाई गा.वि.स. वा.नं. ७ बस्ने जनक राज गिरी समेत जना ११ को एकै मिलानको २०४७।११।२३ को गाउं सर्जमिन मुचूल्का ।

      १०. प्र. नन्दलाल गिरीले पेथेडीन इन्जेक्शन सेवन गर्नुको लागि नै चोरी गरेको भनी स्वीकार गरेको र पक्राउ परेको अवस्था निजको स्वास्थ्य परिक्षण गराउंदा निजको हिस्ट्री अनुसार दुवै हातको पेन हेर्दा पेथेडीन प्रयोग गर्ने गरेको भनी वाजुरा अस्पतालबाट प्रमाणित भएको निजको वयान कागजलाई पुष्ट्याई हुने गरी निजको श्रीमती नन्दा कुमारीले कागज समेत गरी दिएको हुंदा निज प्र. नन्दलाल गिरीले लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा ४ को देहाय (६) अनुसार लागु औषध सेवन गरेको सिद्ध हुन आयो सो कसुरमा सोही ऐनको दफा १४ को उपदफा (१) को देहाय (घ) वमोजिम संजाय हुन सेती अन्चल अदालत डोटीमा प्रस्तुत गरेको प्रहरी प्रतिवेदन ।

      ११. जाहेरवाला रामचन्द्र यादवसंग वेलावेलामा व्यक्तिगत झै झगडा भैरहने हुनाले म उपर झुठा जाहेरी दिएको हुन, मैले अपराध गरेको छैन प्रहरीमा मेरो भएको वयान नसुनाई जवरजस्ती सहि गराएका हुन वरामद भएको पेथेडिन औषधी ३० एम्पल लगायत धेरै औषधी, औषधी पसल राख्नको लागि भारत पलियाबाट खरीद गरी ल्याएको हुं निडील र सीरीन्ज प्रहरीले कहांबाट दाखिल गरे मेरो होईन स्वास्थ्य परीक्षण पनि गराएको थिएन, चोरीमा मुद्दा चलाएको छ, धरौटीमा छुटेको छु । मैले चोरी गरेको छैन, कसले चोरी गरेको हो भन्ने समेत प्र.नन्दलाल गिरीले सेती अन्चल अदालत डोटीमा गरेको वयान ।

      १२. चोरी र सेवन गरेको कुरा मलाई थाहा हुन सकेन, पछि मात्र थाहा पाएको हुं । २०४७ श्रावण महिना ३।४ गते वाजुरा कोल्टीबाट प्रतिवादी र म साथै धनगढी गै भारतको पलियामा औषधी किनेर नेपालगंज हुदै घर फर्की लागु औषधी के के खरीद गरे मलाई थाहा छैन । म संग साथ हुंदा आचरण राम्रै थियो कुनै नसालू पदार्थ प्रयोग गर्ने गरेको मैले देखेको थिएन भन्ने समेत निजको साक्षी विष्णु प्रसाद रेग्मीको वकपत्र ।

      १३. वाजुरा अस्पतालको डाक्टरले अभियुक्त नन्दलाल गिरीलाई जांच गरी निजले पेथेडिन प्रयोग गरेको भनी र डोटी अस्पतालको डाक्टरले लागु औषध प्रयोग गरेको नदेखिने भनी राय दिएबाट दुवै डाक्टरलाई बुझ्ने भनी सेती अंचल अदालतबाट २०४८।१०।६।५ मा भएको आदेश ।

      १४. नन्दलाल गिरीको २०४८।३।१९ गते मेलै स्वास्थ्य परिक्षण गर्दा हातको भेनहरु नर्मल थियो अरु सो पत्रमा उल्लेख भएकै छ भन्ने समेत डोटी अस्पतालका डा. श्री नारायण चौधरीले यस अदालतमा गरेको वकपत्र ।

      १५. प्र. नन्दलाल गिरीले चोरी गरी सेवन गरेको वेला मैले जांच गर्दा निजले दिएको हिष्ट्री र लक्षण चिन्हबाट थाहा पाएको हुं । स्वास्थ्य परिक्षण भए गराएको छैन भन्ने निजको कुरा झुठा हो भन्ने समेत वाजुरा अस्पतालको जांच गर्ने अ.हे.व. रामचन्द्र यादवको वकपत्र ।

      १६. यही प्रतिवादी भएको लगाउको चोरी मुद्दा वाजुरा जिल्ला अदालतमा विचाराधिन रहेको प्रस्तुत मुद्दाको ठहरबाट सो अदालतमा परेको मुद्दा असर पर्न सक्ने हुंदा लगाउको चोरी मुद्दामा फैसला भएपछि जगाउने गरी अ.वं. १२ नं. वमोजिम मुल्तवी राखि दिने भन्ने मिति २०४८।११।१३ को विचाराधीन रहेको चोरी मुद्दा पुनरावेदन तहबाट समेत फैसला भै सकेकोले मुल्तवीबाट जगाई कारवाही गर्ने भनी २०४९।१२।२८।४ को यस अदालतको आदेश ।

      १७. डा. नारायण चौधरीले प्र. ले लागु औषध सेवन गरेको नदेखेको उता प्र. को साक्षीले पनि प्र. को वयानलाई समर्थित हुने गरी वकपत्र गरी दिएको अदालतमा इन्कारी वयान गरेको प्रतिवादीले लागु औषध सेवन गरेको हो भनी ठोस सवुद प्रमाणको अभावमा प्रतिवादीले सफाई पाउने ठहर्छ । प्रहरी प्रतिवेदन माग दावी पुग्न सक्ने ठहर्दैन भन्ने पुनरावेदन अदालत दिपायल डोटीको मिति २०५०।४।२१।५ को एक न्यायाधीशको इजलासको फैसला ।

      १८. प्रमाणहरुलाई दृष्टिगत नै नगरी पुनरावेदन अदालत दीपायल डोटीले प्रतिवादीलाई सफाईदिने गरी गरेको फैसला मिलेको छैन, तसर्थ सो फैसला वदर गरी प्रहरी प्रतिवेदन दावी अनुसार सजांय गरी पाउं भन्ने वादी श्री ५ को सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन ।

      १९. नियमानुसार दैनिक मुद्दा पेशी सुचीमा चढी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा वादी पुनरावेदक तर्फबाट खटी आउनु भएका सरकारी अधिवक्ता श्री कृष्ण राम श्रेष्ठले जाहेरी दरखास्त, प्रहरीमा अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान, सो वयानलाई समर्थित हुने गरी वरामद भएको सामान तथा प्रतिवादी नन्दलाल गिरीले पेथेडीन प्रयोग गरेको भन्ने तत्काल जांच गरेको वाजुरा अस्पतालको रिर्पोटबाट समेत निज प्रतिवादीले लागु औषध सेवन गर्‍यो भन्ने प्रमाणित हुन आउने हुंदा प्रहरी प्रतिवेदन माग दावी वमोजिम प्रतिवादीलाई सजांय भै पुनरावेदन अदालतको इन्साफ वदर हुनु पर्दछ भनी वहस प्रस्तुत गर्नुभयो ।

      २०. विद्वान सरकारी अधिवक्ताको वहस सुन्नूको साथै इजलास समक्ष प्राप्त हुन आएको मिसिल कागजातहरु समेत अध्ययन गरी हेर्दा पुनरावेदन माग दावी वमोजिम पुनरावेदन अदालत दिपायल डोटीले गरेको फैसला मिले नमिले तर्फ के रहेछ भन्ने निर्णय दिनु पर्ने हुन आयो ।

      २१. यसमा निर्णय तर्फ विचार गर्दा मिति २०४७।११।४ गते ११ वजे औषधी झिक्न स्टोर किपर जांदा चोरी भएको शंका लागि जिन्सी खाता अनुसार गन्ति गर्दा द्दडघ वटा पेथेडिन एम्पुल १० मि.लि. को सिरिन्ज थान ज्ञ निडिल समेत चोरी भएकोमा नन्दलाल गिरी उपर शंका लागेको हुंदा कारवाही गरी पाउं भन्ने वाजुरा अस्पतालको मिति २०४७।११।५ को पत्रबाट कारवाही शुरुवात भै अनुसन्धान कार्य पुरा गरी प्रतिवादी नन्दलाल गिरीले पेथेडिन इन्जेक्शन सेवन गर्नको लागि नै चोरी गरेको भनी स्वीकार गरेको र पक्राउ परेको अवस्था निजको स्वास्थ्य परिक्षण गराउंदा निजको हिष्ट्री अनुसार दुवै हातको भेन हेर्दा पेथेडिन प्रयोग गर्ने गरेको भनी वाजुरा अस्पतालबाट प्रमाणित भएको, निज प्रतिवादीले गरेको वयान कागजलाई पुष्टयाई हुने गरी निजको श्रीमती नन्दा कुमारीले प्रहरीमा आई पेथेडिन एम्पुल समेत बुझाई कागज समेत गरी दिएको हुंदा निज प्रतिवादी नन्दलाल गिरीले लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा १४ को देहाय (३) अनुसार लागु औषध सेवन गरेको सिद्ध हुन आएकोले सो वमोजिम कसुर गरेकोमा सोही ऐनको दफा १४ को उपदफा (१) को देहाय (३) वमोजिम संजाय गरीपाउं भनी माग दावी गर्दै तत्कालिन सेती अंचल अदालत डोटीमा दायर भएको प्रहरी प्रतिवेदनको मुख्य माग दावी भएको पाइन्छ ।

      २२. यता प्रतिवादी निज नन्दलाल गिरीले अदालतमा आई गरेको वयानमा आफु आरोपित कसुरमा ईन्कार रहेको र प्रहरीले आफुलाई नसुनाई जवरजस्ती कागजमा सही गराएको र उल्लेखित पेथेडिन ३० एम्पुल लगायत धेरै औषधी मिति २०४७।४।९ गते खरिद गरी पसल राख्नको लागि भारतको पलियाबाट ल्याएको र उल्लेखित सिरीन्ज र निडल मेरो हैन प्रहरीले कहांबाट दाखेल गरे भन्ने समेत वयानमा उल्लेख गरेको पाइन्छ भने निज प्रतिवादी कै साक्षी विष्णु प्रसादले लागु औषधी सेवन गरेको नदेखेको र आचरण राम्रो थियो भनी निजले आफ्नो वयानमा उल्लेख गरेको पाईन्छ ।

      २३. त्यस्तै स्वास्थ्य परीक्ष्ँणको हकमा वाजुरा अस्पतालको निमित्त मेडिकल सुपरीटेडेण्टले भेन (Vein) मा इन्जेक्शन गरेको पाउनुको साथै औषधी सेवन गरेको लक्षण समेत पाईयो भनी निजले गरेको वन्दसवालको नं. ५ मा उल्लेख भएको पाइन्छ भन्ने पि. चन्द्र अस्पताल डोटीका का.मु. मे.सु. डाक्टर नारायण चौधरीले निज प्रतिवादीले लागु औषधी सेवन नगरेको र जाच्दा मुटु नर्गल  थियो भनी किटान साथ अदलतमा वकपत्र गरेको पाइन्छ ।

      २४. त्यस्तै प्रस्तुत मुद्दामा उल्लेखित औषधी तथा निडिल र सिरिन्ज समेत निज प्रतिवादीले चोरी गरेको भन्ने सम्वन्धको प्रमाण स्वरुप लिइएको  प्रतिवादी नन्दलाल गिरी भएको छुट्टै नकवजनी चोरी मुद्दामा पनि शुरु जिल्ला अदालतको इन्साफ मनासिव ठहराई पुनरावेदन अदालत दिपायल डोटीबाट मिति २०४९।१२।१७।३ मा प्रतिवादीलाई सफाई दिने गरी ठहर फैसला भएको पाइन्छ ।

      २५. तसर्थ विद्वान अधिवक्ताको वहस प्राप्त मिसिल कागजातको अतिरिक्त प्रतिवादीको अदालतमा आई गरेको इन्कारी वयान, स्वास्थ्य परीक्षण प्रतिवेदन आदि समेतलाई दृष्टिगत गरी हेर्दा यसमा प्रतिवादी नन्दलाल गिरी आरोपित कसुर गरेमा प्रहरीमा सावित भएको देखिएता पनि वरामद भएको ३० एम्पुल पेथेडीन र अरु औषधीहरु पनि पसल राखि विक्री गर्न किनेको भनी अदालत समक्ष इन्कारी वयान गरेको देखिएको छ ।

प्रमाणको लागि आएको यीनै प्रतिवादी नन्दलाल गिरी प्रतिवादी भएको नकवजनी चोरी मुद्दामा धेरै परिमाणमा अन्य औषधी सहित ३० एम्पुल पेथेडिन पलिया खेरी अवस्थित गिल मेडिकल स्टोरबाट रु.५,९४०। मा खरिद गरी सो मेडिकल स्टोरको विल समेत पेश भएको देखिनाले अन्य औषधी लगायत छुट्टै परिमाणमा खरीद गरेको निजी प्रयोगको निम्ति हो भन्न सकिने स्थिती देखिएन । साथै बाजुरा अस्पतालको निमित्त मेडिकल सुपरिन्टेण्डेट राम चन्द्र यादवले प्रतिवादीलाई जांच्दा (Vein) भेनमा ईन्जेक्शन लगाएको पाइएकोले लागु औषध सेवन गरेको लक्षण चिन्ह पाइयो भनी बन्द सवालको नं. छ मा जवाफ दिएकोवाट औषधी सेवन गरेको एकीन भन्न नसकी लक्षण चिन्ह भन्नुको तात्पर्य हो होइन यकिन हुन नसक्ने भै शंकास्पद देखिन आउने राय भन्नु पर्ने हुन्छ । अर्को कुरा यस सन्दर्भमा  पि. चन्द्र अस्पताल डोटीमा का.मु. मेडिकल सुपरिटेण्डेन्ट डाक्टर नारायण चौधरीले भने प्रतिवादीको स्वास्थ्य परीक्षण गर्दा लागु औषधी प्रयोग गरेको नदेखिएको र मुटु सामान्य थियो भनी अदालतमा वकपत्र  गरेको देखिन्छ । यसरी दुई चिकित्सकको २ विभिन्न एक अर्को देखि आपसमा विरोधाभास राय भएको देखिएको अवस्था त्यस्तो राय शंकास्पद मान्नु पर्ने भै प्रतिवादीको विरुद्ध सो प्रमाण ग्रहण गर्न कानुनले मिल्ने नदेखिएको कारण समेतबाट प्रतिवादी नन्दलाल गिरीलाई आरोपित कसुरबाट सफाई दिएको पुनरावेदन अदालत दिपायलको इन्साफ मिलेकै देखिंदा वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन । नियमानुसार गरी मिसिल बुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या. हरिश्चन्द्र प्रसाद उपाध्याय

 

इति सम्वत् २०५३ साल आषाढ १२ गते रोज ४ शुभम् ................................ ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु