शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७४८५ - नखनाई पाउँ

भाग: ४७ साल: २०६२ महिना: बैशाख अंक:

निर्णय नं.७४८५     ने.का.प.२०६२ अङ्क १

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली

माननीय न्यायाधीश श्री परमानन्द झा

सम्वत् २०५८ सालको दे.पु नं. ७७२२

फैसला मितिः २०६१।१२।५।६

 

मुद्दाः निखनाई पाउँ ।

 

            पुनरावेदकरवादीःका.जि.का.म.न. पा. वडा नं. २५ वस्ने सुरेन्द्रमान श्रेष्ठ समेत         

विरुद्ध

            विपक्षीरप्रतिवादीः का.जि.का.म.न.पा.वडा नं. २४ वस्ने राजकुमार श्रेष्ठ समेत

 

§  प्रतिवादीका दाताले आफ्नो हकको घर हिस्सा विक्री गरेको देखिंदा त्यस्तो घर वादीले निखनी लिन चाहेमा लेनदेन व्यवहारको १२ नं. को देहाय २(१) अनुसार दावी लिई फिराद दायर गर्नुपर्नेमा सो अनुसारको दावी नलिई दानवकसको ३ नं. अनुसारको दावी लिई परेको प्रस्तुत फिरादमा दानवकसको ३ नं. ले निर्धारण गरेको सर्तहरुको विद्यमानता रहे भएको नदेखिने । 

(प्रकरण नं.१८)

§  अलग अलग घरधनीका हक भोगमा रहेका घर जग्गाका अलग अलग धनीवाट अलग अलग व्यहोराले वादी प्रतिवादीहरुमा हक हस्तान्तरण भएको देखिएको अवस्थामा दान वकसको ३ नं. ले अगाडि दिने घरधनी र पछाडि घर दिने घरधनी एउटै भई अगाडि दिएको घरको वाँकी भागनै पछाडि दिएको हुनुपर्ने र दुवै दानवकस गरी दिएको समेतका पुर्वावस्था रहे भएको नदेखिए पछि वादी दावी नपुग्ने गरेको  शुरु  फैसला सदर गरेको पुनरावेदन अदालतको  फैसलामा दानवकसको ३ नं. को व्याख्यात्मक त्रुटी रहे भएको नदेखिने ।

(प्रकरण नं.१९)

 

पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री शम्भु थापा र हिरा रेग्मी

प्रत्यर्थी प्रतिवादी तर्फवाट विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा र विद्वान अधिवक्ताद्वय श्री नारायण वल्लभ पन्त र अर्जुनप्रसाद कडेल

अवलम्वित नजीरः

फैसला

            न्या.चन्द्रप्रसाद पराजुलीः पुनरावेदन अदालत पाटनको मिति ०५५।४।१८ को  फैसला उपर दोहोर्‍याई पाँउ भनी दिएको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को खण्ड (क) बमोजिम दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पुनरावेदन दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :

            २.    का.जि.का.न.पा.वडा नं. २४ को कि.नं. १२४८ को घर जग्गा मध्येवाटै कित्ताकाट भई कायम भएको कि.नं. १४५६ र कि.नं. १४५७ को जग्गा हामी वादीहरुले दाता पुष्करप्रसाद राजभण्डारी र वटुकप्रसाद राजभण्डारीवाट २०४८।९।१७ मा राजिनामा गरी लिएको र सो कि.नं. १२४८ को घर मध्येको उत्तर तर्फको ४ कवल पसल वसन्ती देविले साहुलाई वुझाउनु पर्ने रकम नवुझाई लिलाममा चढी हाम्रो एकाघरका पिता नारायणमान श्रेष्ठले लिलाम सकार गरी कित्ताकाट हुंदा कि.नं. १४१५ कायम भएको थियो । जम्मा ८ कवल घर पसल एउटै घरको रुपमा भोगेको थिए । पिताले लिलाम सकारी लिएको कवल लिलाम वदर भै उक्त जग्गा आनन्द प्रसाद र वसन्ती देविको नाउंमा दर्ता भै निजहरुले र.नं. १३२८३ मिति २०५२।३।२२ मा कि.नं. १४१५ को घर मुल्य रु ३,५१,०००। हालै देखिको वकसपत्र गरी राजकुमार श्रेष्ठलाई दिनु भएछ । विवादित जग्गा हामीले एकै घरको रुपमा भोग चलन गरी आएका थियौ । उक्त घर हामीलाई निखन्न दिनु होस भनी विपक्षीलाई भन्दा सन्धी सर्पन परे पनि निखन्न दिन्नौ जानेको गर भनी जवाफ दिनु भएकोले अदालतको शरणमा आएका छौ । रजिष्ट्रेशन दस्तुर धरौट राखी निखनाई लिन पाउं । कुनै एउटा घर, पसल एक भाग वाट टुक्रा टुक्रा भई विभाजन गर्नु भन्दा जोडेर एउटै कायम गराउने विधायीकाको मनसाय भएको र हामीलाई पनी सन्धी सर्पर्ण पर्ने भएकोले का.न.पा.वडा नं. २४ को कि.नं. १४१५ को घर जग्गा र.नं. १३२८३ मिति २०५२।३।२२ को लिखत समेतको रु ४,०३,६५०। विपक्षीलाई वुझाई मुलुकी ऐन दान वकसको ३ नं. अनुसार निखनाई न्याय पाउं भन्ने समेत व्यहोराको फिराद दावी ।

            ३.    विवादीत जग्गा का.जि.अ.को मिति २०४०।१२।३ को मिलापत्रवाट हामीहरुको हक हुन आएको पैतृक संपती हो । महेश चन्द्र रेग्मी समेत भएको लेनदेन मुद्दामा मिति २०४४।३।२८ मा लिलाम हुंदा विपक्षको पिता नारायणमान श्रेष्ठले सकार गरी लिएको विवाद छैन । मिति २०४४।३।२८ को लिलाम वदर भै हाम्रो नाममा दर्ता भएको जग्गा घर हाम्रो हक भोगको जग्गा हो । विपक्षीलाई सन्धीसर्पण पर्ने होइन । विभिन्न व्यक्तिको नाममा कि.का. भै कायम भएको जग्गा हुंदा विभिन्न व्यक्तिलाई विक्रि वितरण हुदै आएको छ । विवादीत घर जग्गा पसल कवल हुंदा वाटोमा पर्ने हुंदा कसैलाई सन्धिसर्पण पर्ने होइन । हाम्रो नाममा दर्ता भएको जग्गा घर राजकुमार श्रेष्ठलाई वकस गरी दिएको हो विपक्षले निखनाई लिन पाउने होईन किनकी वादीले दावी गरेको कि.नं. १४१५ को घर जग्गा लिलामवाट सकार गरी लिंदा कि.नं. १४५६ र १४५७ समेत विपक्षीको थिएन । लिलाम सकार गरको ४ वर्ष पछि मात्र लिएको हो । मिति २०४४।३।२८ मा सकार गरेको लिलामनै बदर भै पुर्वावस्थाको स्वरुप अनुरुप २०४०।१२।३ मा मिलापत्रको हक एवं उक्त लिलाम पुर्वको स्थितिमा आई हामीहरुका नाममा कायम हुन आएको हो। पछि सो घर जग्गा राजकुमार श्रेष्ठलाई वकस गरि दिएको हुंदा वादिले निखनी लिन पाउने होईन कानून असगंत फिराद दावीवाट फुर्सद दिलाई पाउं भन्ने समेत व्यहोराको प्र. वसन्ती देवि राज भण्डारी प्र. आनन्दप्रसाद राजभण्डारी समेतको संयुक्त प्रतिउत्तर जिकिर ।

            ४.    विपक्षीको वावुले २०४४।३।२८ मा कि.नं. १४१५ को घर जग्गा लिलामवाट सकार गरि लिएको अवस्थामा कि.नं. १४५६,१४५७ समेत विपक्षीले ४ वर्ष पछि मात्र लिएको  हो । कि.नं. १४१५ को घर जग्गाको लिलाम वदर भै पूर्वावस्थाको अनुरुप २०४०।१२।३ को मिलापत्रको हक एवं उक्त लिलाम पूर्वको स्थितिमा आई मेरो दाताको नाममा कायम हुन आएको घर जग्गा मैले राजिनामा गरी लिएको हो । उक्त घर जग्गावाट कसैलाई सन्धीसर्पण वा वाधा अडचन छैन । वादीको घर जग्गा र विवादित घर जग्गा इन्द्रचोक मुल सडकमा पर्छ । वादीको दावि अनुचित र दान वकसको ३ नं. ले प्रतिकूल समेत भएको हुंदा निराधार वादी दाविवाट अलग फुर्सद गरिपाऊँ भन्ने समेत व्यहोराले प्र. राजकुमार श्रेष्ठको   प्रतिउत्तर ।

            ५.    प्रस्तुत मुद्दामा दान वकसको ३ नं. को अवस्था विद्यमान नदेखिएको हुंदा कि.नं. १४१५ को घर जग्गा निखनी पाउं भन्ने वादी दावी पुगन सक्दैन भन्ने समेत व्यहोराको मिति २०५४।५।१७ को काठमाडौं जिल्ला अदालतको  फैसला ।

            ६.    का.जि.अ.को  फैसलामा चित्त वुझेन । सो  फैसला हुंदा प्रमाण वुझदै नवुझि कानूनको गलत अर्थ लगाई  फैसला भयो । अतः वादी दावी नपुग्ने गरी काठमाडौं जिल्ला अदालतवाट २०५४।५।१७ मा भएको सो  फैसला वदर गरी हाम्रो वादी दावी बमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन पत्र ।

            ७.    साविक कि.नं. १२४८ को घर जग्गा कित्ताकाट भै कि.नं. १४१५ आनन्दप्रसाद र वसन्तदेवीको नाममा र कि.नं. १४५६ र १४५७ पुष्करप्रसाद र वटुकप्रसादको नाममा कायम भए पश्चात कि.नं. १४५६ र १४५७ पुनरावेदक वादीले राजिनामा गरी लिएको र कि.नं. १४१५ प्रतिवादी मध्येको आनन्दप्रसाद र वसन्त देवीवाट प्रतिवादी मध्येकै राजकुमारलाई वकसपत्र पारित गरी दिएको दोखिन्छ । यसरी विवादित घर जग्गा कित्ताफोड भई भिन्न भिन्न कित्ताहरुको वेग्ला वेग्लै अस्तित्वमा आइ वेग्ला वेग्लै व्यक्तिहरुको नाममा दर्ता भई वादीले राजिनामावाट र प्रतिवादीले वकसपत्रवाट लिनु दिनु गरेको स्थितिमा उक्त घर जग्गा एकै अस्तित्वको नभै पृथक पृथक अस्तित्वको भएको पृथक पृथक किसिमवाट लिनु दिनु भएको अवस्थामा दानवकसको ३ नं. आकर्षण हुन नसक्ने हुंदा वादी दावी पुग्न नसक्ने ठहर्‍याई भएको शुरु  फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने व्यहोराको पुनरावेदन अदालत पाटनको ०५५।४।१८ को  फैसला ।

            ८.    साविक घर कि.नं. १२४८ को हो । उक्त घर २०४० सालको मिलापत्रवाट टुक्रा टुक्रा हुंदा कि.नं. १४१५,१४५६,१४५७ लगायतका कि.नं. कायम भई एउटै घरका भागहरुनै टुक्रा टुक्रा भएको कुरा विपक्षीले स्वयं पनि स्वीकार गर्नु भएको छ । एउटै घरका भागहरु टुक्रा टुक्रामा वाडिएको अवस्थामा सवै टुक्राहरु पूर्ण घरमा परिणत हुने नभई मुल घरका भागकै रुपमा रहन्छन। एउटै घर भाई भाई बीच वण्डा लगाई कित्ताकाट गरिदैमा छुट्टाछुट्टै घरको रुपमा अस्तित्वमा आउन सक्ने होइन । दान वकसको ३ नं. राजिनामा गरी लिनु दिनु गरेको वाहेक कुनै घरको भाग वा घरले चर्चेको जमीन दान वकसको लिखतद्वारा हक हस्तान्तरण गरिएको अवस्थामा पनि निखन्न सकिने कानूनी व्यवस्था हो । निखन्नेले अघि पाइ सकेको र अव निखन्न मागेको दुवै सम्पत्ति वकसपत्रैवाट पाएको हुनुपर्ने होइन, केवल निखन्न मागेको सम्पत्ति दानवकस गरिएको हनु पर्ने सम्म हो ।

            ९.    साविकको १ घर मध्ये केही भाग हामी वादीले लिएको र केही भाग विपक्षी राजकुमार श्रेष्ठले पाएको भनी दावी लिएको अवस्थामा विवादित घर जग्गा एउटै घरका भागहुन् वा छुट्टाछुट्टै घर हुन् भन्ने सम्वन्धमा अ.वं. १७१ नं. बमोजिम नक्सा गरी निर्णयमा पुग्नु पर्नेमा सो नगरिएको र प्रस्तुत मुद्दा चलिरहेको अवस्थामा विपक्षीले विवादित घर भत्काउनु भएकोले भत्केको घरको रकम दिलार्ई पाउं भनी अर्को मुद्दा समेत दायर भै हाल मुल्तवी अवस्थामा रहेको छ । अदालतमा विचाराधिन रहेको अवस्थामा भएका काम कारवाहीवाट विचाराधिन मुद्दामा कुनै असर पर्न सक्तैन ।  अतः घर भत्काई सकेको भनि पुनरावेदन अदालतले  फैसलामा लिएको आधार पनि कानून संगत छैन । उपरोक्त आधार प्रमाणवाट निखन्न नपाउने ठहर्‍याई भएको शुरु  फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको  फैसला कानून र सर्वोच्च अदालतवाट प्रतिपादित सिद्धान्त समेतका आधारमा मिलेको नदेखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ उपदफा १ को खण्ड (क) र (ख) को आधारमा दोहोर्‍याई हेरी वादी दावी बमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको निवेदन ।

            १०.    यसमा साविक कि.नं. १२४८ को कित्ताकाट भै कि.नं. १४१५,१४५६ र १४५७ भएको कुरामा विवाद देखिएन । यी निवेदक वादीले कि.नं. १४५६ र १४५७ घर जग्गा मिति ०४८।९।१७ मा राजिनामा प्राप्त गरी हक प्राप्त गरेको र कि.नं. १४१५ को विवादित घर जग्गामा विपक्षी प्रतिवादी राजकुमार श्रेष्ठले मिति ०५२।३।२२ मा वकसपत्रद्वारा हक प्राप्त गरेको देखिन्छ । यसरी एउटै कित्ता जग्गाबाट कित्ताकाट भएको घर जग्गाहरु राजिनामा र वकसपत्र पारित गरी दिएको देखिंदा वादी दावी पूग्न नसक्ने ठहर्‍याएको शुरु  फैसला सदर गरेको पुनरावेदन अदालतको  फैसलामा दान वकसको ३ नं. को व्याख्यात्मक त्रुटी देखिएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) (क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ । नियमानुसार गरी पेश गर्नु भन्ने व्यहोराको यस अदालत संयुक्त इजलासको मिति ०५८।६।८ को आदेश ।

            ११.    नियमबमोजिम पेश भएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदक वादीतर्फवाट विद्वान अधिवक्ता द्वय श्री शम्भु थापा र हिरा रेग्मीले विवादित घर साविक कि.नं. १२४८ को घर हो । वादी प्रतिवादीका दाता बीच वण्डा हुँदा उक्त कि.नं. १२४८ वाट कि.का. भै कि.नं. १४५६, १४५७, १४५४, १४५५, १४१५ समेतका कित्ता हुन गएकोमा १४५६ र १४५७ को घर वादीले मिति ०४८।९।१७ मा राजिनामा वाट र सोही घरको अर्को भाग कि.नं. १४१५ प्रतिवादीले मिति ०५२।३।२२ मा हा.व. गरी लिनु भएको हो । सो घर साविकमा एउटै घर भएको र हाल पनी विभिन्न अंशियारहरुको बीचमा छुट्टाछुट्टै अंश भागमा परेको भएपनि समुच्चमा एउटै भएको र वादीकै घरको पश्चिम तर्फ जोडिएकोले यी वादीले दान वकसको ३ नं. अनुसार निखन्न पाउनु पर्छ । एउटै घरको विभिन्न कवल भिन्न भिन्न अंशियारको नाउ.मा दर्ता हुदैमा घरको समुच्चा स्वरुपमा परिवर्तन आउने होईन । त्यस्तो अवस्थामा एउटा घरको आधा वा केही खण्ड एउटालाई र वाँकी खण्ड वा भाग अर्कोलाई दान वकस वा अन्य व्यहोराले हकछाडी दिएमा अघि पाउने वा सोही ठाउं वस्नेले निखनी लिन पाउने स्पष्ट व्यवस्था दानवकसको ३ नं. ले गरेको छ । कानूनले यसरी स्पष्ट अर्थ दिई रहेको अवस्थामा अर्कै किसिमवाट व्याख्या गरी एउटै घरमा भएका कवलहरु छुट्टाछुट्टै दर्ता भएको भन्ने आधारले छुट्टाछुट्टै हो भन्न मिल्ने होइन । साथै प्रस्तुत मुद्दा विचाराधिन रहेको अवस्थामा सो मुद्दाको अस्तित्व र प्रमाणिकतामा असर पुर्‍याउने गलत मनसायवाट विवादित कि.नं. १४१५ को कवल (भाग) भत्काएको हुंदा सो उपर भत्केको घरको रकम दिलाई पाउँ भनी दायर मुद्दा हाल मुल्तवीमा रहेको छ । मुद्दा विचाराधिन रहेको अवस्थामा भएका कुनै काम कारवाहीवाट मुद्दामा कुनै असर नपर्ने हुंदा निखनाई पाउं भनेको घर नै हाल अस्तित्वमा नरहेको भनी पुनरावेदन अदालतले लिएको  फैसलाको आधार पनि कानून सम्मत नभएको हुँदा सो समेतका आधारवाट विवादित कि.नं. १४१५ को कवल साविक कि.नं. १२४८ को मुल घरकै एक भाग वा हिस्सा भन्ने पुष्टि भै रहेकोले शुरु सदर गरेको पुनरावेदन अदालतको  फैसला उल्टी गरी वादी दावी बमोजिम निखनी लिन पाउने निर्णय हुनु पर्छ भनी र प्रत्यर्थी प्रतिवादीका तर्फवाट विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा र विद्वान अधिवक्ताद्वय श्री नारायण वल्लभ पन्त र अर्जुनप्रसाद कडेलले प्रस्तुत मुद्दाका वादी प्रतिवादीले प्राप्त गरेको घर वादी प्रतिवादीका दाताका बीचमा अंश मुद्दा परी मिलापत्र भै सो मिलापत्र बमोजिम वण्डा भै छुट्टाछुट्टै दर्ता भएको साविक कि.नं. १२४८ वाट कित्ताकाट भै कायम हुन आएको घर हो । यो कुरामा विपक्षीले कुनै विराध जनाउनु भएको छैन । वादीलाई २०४८ सालमा र प्रतिवादीलाई ०५२ सालमा दिनु भन्दा अगावै अलग अलग अंशियारवाट अलग अलग भोग चलन विक्री व्यवहार समेत भएको छ । सोही बमोजिम कि.नं. १४५६ र १४५७ को घर वादीले राजिनामावाट र कि.नं. १४१५ को घर प्रतिवादीले हा.व. गरी प्राप्त गर्नु भएको  हो । यसरी अंशियारका बीचमा वण्डा भै छुट्टाछुट्टै अस्तित्व रहेकोलेनै साविक १२४८ वाट कित्ताकाट भै कायम भएका विभिन्न कित्ताहरुका साविकका कवलहरु भत्काई नयाँ घरहरु निर्माण भई सकेका छन् । विवादित साविक कवल १४१५ को घर अत्यन्तै जिर्ण भएकोले सो घर भत्काउनु भन्ने तत्कालिन का.न.पा.वाट ०४२।५।१८ मा प्राप्त पत्रानुसार सो घर भत्काई नयाँ घर वनी सकेको छ । सो कुरा यीनै विपक्षीले सो घर निर्माण गर्न रोकी पाउँ भनी यसै अदालतमा दिएको प्रतिषेध र पुनरावेदन अदालत पाटनमा दिएको निषेधाज्ञाको निवेदनवाट पुष्टी भै सकेकै  छ । जुन निवेदनहरु क्रमश ०५६।१।२८ र ०५३।१२।२० मा खारेज भै सकेको छ । यसरी साविकको स्वरुप, अवस्था, धनी र हस्तान्तरणको व्यहोरा समेत फरक फरक भएको अवस्थामा दान वकसको ३ नं. अनुसार निखनी लिन पाउने अवस्था  देखिदैन । उक्त नं. ले केही निश्चित पूर्वशर्तहरु राखेको   पाइन्छ । त्यस्ता शर्तहरुको विद्यमानतामा मात्र उक्त नं. आकर्षित हुने देखिन्छ । साथै जुन घर निखनी पाउं भनी फिराद परेको छ सो घरको अस्तित्व नभएको कुरा स्वयं वादीले स्वीकार गरी सक्नु भएको छ । यसरी उपरोक्त आधार प्रमाणको वस्तुनिष्ठ मुल्यांकनवाट वादी दावी नपुग्ने ठहराई भएको शुरु  फैसला सदर गरेको पुनरावेदन अदालतको  फैसला मिलेको देखिंदा सदर हुनु पर्छ भनी गर्नु भएको वहस सुनियो ।

            १२.   विद्वान कानून व्यवसायीहरुको वहस जिकिर सुनि सम्पूर्ण मिसिल अध्ययन गरी प्रत्यर्थी प्रतिवादीका तर्फवाट पेश हुन आएको वहस नोटमा उल्लेखित कुराहरुलाई समेत विचार गरी आज निर्णय सुनाउन तारेख तोकी पेश हुन आएको प्रस्तुत मुद्दाको निर्णय तर्फ विचार गर्दा दावी बमोजिमका घर दान वकसको ३ नं. बमोजिम निखनी लिन पाउने हुंदा निखनाई पाउं भनी परेको फिरादमा दावी अनुसार निखनाई लिन नपाउने भनी भएको शुरु  फैसला सदर गरेको पुनरावेदन अदालतको  फैसला दोहोर्‍याई पाउं भनी परेको निवेदनमा दान वक्सको ३ नं. को व्याख्यात्मक त्रुटी गरी पुनरावेदन अदालतले  फैसला गरेको भनी यस अदालतवाट दोहोर्‍याउने निस्सा प्रदान भै आएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालतको  फैसला मिले नमिलेको के रहेछ ? पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? भन्ने विषयमा नै निर्णय दिनु पर्ने देखिन आयो ।

            १३.   सो तर्फ विचार गर्दा दान वकसको ३ नं. बमोजिम निखनाई पाउं भन्ने मुख्य वादी दावी र निस्साको आधार पनि सोही नम्वरको व्याख्यात्मक त्रुटी भन्ने भएकोले दानवकसको ३ नं. मा के कस्तो व्यवस्था रहेछ भनी हेर्नु पर्ने देखिन   आयो । दान वकसको ३ नं. माकसैले केही व्यहोरा संग आफ्नो हक छाडी अरुको हक लाग्ने गरी एकै घरमा आधा वा केही खण्ड सो घर वा घरले चर्चेको जमिन दानवकस गरी दिई पाएको रहेछ र पाउनेले आफुले पाएको वा दिनेले आफुले दिए देखि वाकी अर्कालाई दिए भने अघि दिने वा अघिवाट दिनेका सोही ठाउंमा वस्ने हकवालाले र दिनेले वाँकी अर्कालाई दान वकस गरी दिए भने पाउने वा सोही ठाउमा वस्ने उसका हकवालाले लिखत रजिष्ट्रेशन भएको मितिले ६ महिना सम्ममा थाहा पाएको ३५ दिन भित्र मोल अंक देखिनेमा सो बमोजिम र अंक नदेखिनेमा पन्चकृर्ति मोल दिई लिन पाउछन्भन्ने व्यवस्था गरेको देखिन्छ ।

            १४.   उपरोक्त उल्लेखित दान वकसको ३ नं. को सुविधा पाउन निम्न बमोजिमको अवस्था हुनुपर्ने देखियो

 

(१)    घर वा घरले चर्चेको जग्गाको स्वामी एउटै हुनुपर्ने

(२)   एकै घरमा आधा वा केही खण्ड सो घर वा घरले चर्चेको जमिन आफ्नो हकछाडी             अरुको हक लाग्ने गरी दान वकस गरी दिएको हुनुपर्ने ।

(३)   अघि आफुले दिए देखि वाँकी अर्कालाई दान वकस गरि दिएको हुनुपर्ने ।

      (४)   अघि पाउनेले आफुले पाएको सो घर वा घरले चर्चेको जग्गा अरुलाई दिएमा अघि                  दिने वा अघिवाट दिनेको सोही ठाउंमा वस्ने हकवालाले उजुर गरेको हुनुपर्ने ।

(५)   अघि दिनले आफुले दिए देखि वाँकी अरुलाई दानवकस गरि दिएको   हुनुपर्ने ।

(६)    पछाडि दान वकस दिए उपर अघि पाउने वा सोही ठाउंमा वस्ने निजका हकवालाले            उजुर गरेको हुनुपर्ने ।

(७)   त्यस्तो उजुर लिखत रजिष्ट्रेशन भएको मितिले ६ महिना सम्ममा थाहा पाएको ३५            दिन भित्र हुनुपर्ने ।

      (८)   मोल अंक देखिनेमा सो बमोजिम लिन पाउने ।

(९)    मोल अंक नदेखिनेमा पन्चकृर्ति मोल दिई लिन पाउने ।

 

            १५.   दान वकसको ३ नम्वरको उपरोक्त उल्लेखित व्यवस्था अनुसार एकैघरको आधा वा केही खण्ड कसैलाई दान वकस दिई सकेपछि सोही घरको वाँकी खण्ड अर्कोलाई पनि दान वकसको रुपमा दिएको र अगाडि दिने दाता र पछाडि दिने दाता समेत एउटै भएको अवस्थामा मात्र अगाडि लिनेले पछाडि दान वकस दिएको घर निखनी लिन पाउने  गरी शर्त निर्धारण गरेको  देखिन्छ ।

१६.    अव उल्लेखित परिधिभित्र वादीको फिराद दावी पर्ने नपर्ने के रहेछ भन्ने कुरा तर्फ विचार गर्दा यी वादी प्रतिवादीको दाता समेतका अंशियारहरु बीच चलेको अंश मुद्दामा काठमाडौं जिल्ला अदालतवाट मिति २०४०।१२।३ मा मिलापत्र हुंदा कि.नं. १२४८ को घर जग्गा सवै अंशियारहरुलाई वण्डा लाग्ने गरी मिलापत्र भएको र सो मिलापत्र बमोजिम आआफ्नो हक हिस्सा लिई छुट्टाछुट्टै कित्ता नम्वरहरु १४१५, १४५४, १४५५, १४५६, १४५७ कायम भै आआफ्नो नाममा दर्ता भएको मध्ये कि.नं. १४५६, १४५७ को घर वादीहरु राजेन्द्र श्रेष्ठ र सुरेन्द्र श्रेष्ठले मिति ०४८।९।१७ मा दाता पुष्करप्रसाद राजभण्डारी र वटुकप्रसाद राजभण्डारीवाट राजिनामा गरी प्राप्त गरेको देखिन्छ भने वादीले निखनाई पाउँ भनी दावी लिएको कि.नं. १४१५ को घर प्रतिवादीले मिति ०५२।३।२२ मा दाता आनन्दप्रसाद राजभण्डारी र वसन्तीदेवी राजभण्डारी( वाट हालैदेखिको वकसपत्र गरी पाएको देखिन्छ ।

            १७.   यसरी वादीहरुलाई घर दिने स्वामी र प्रतिवादीलाई घर दिने स्वामी एउटै व्यक्ति नभई वादीहरुलाई घर दिने व्यक्तिहरु पुष्करप्रसाद राजभण्डारी र बटुकप्रसाद राजभण्डारी भएको र प्रतिवादीलाई घर दिने स्वामी आनन्दप्रसाद राजभण्डारी र वसन्ती देवी राजभण्डारी भएको देखिन्छ भने वादीहरुले राजिनामावाट घर लिएको देखिन्छ भने प्रतिवादीले हालैदेखिको वकसपत्रवाट घर लिएको देखिन्छ । त्यस्तै दुवै घरहरुको कित्ता नम्वर पनि वेग्ला वेग्लै भई सोमा आआफ्नो हक कायम भएको देखिन्छ । तर दान वकसको ३ नं. ले भने एकै घरको आधा वा केही खण्ड वा सो घर वा घरले चर्चेको जमिन जुन व्यक्तिले पहिले दान वकस गरिदिएको हो सोही व्यक्तिले पछि आफूले अगाडि दिए देखि वाँकी सो घर वा घरले चर्चेको जमिन अरुलाई दान वकस गरी दिएको अवस्थामा मात्र सोही घरको आधा वा केही खण्ड अगाडि पाउने व्यक्तिले वा निजको हकवालाले सम्म उजुर गरी लिन पाउने व्यवस्था गरेको देखिन्छ । यस्तो दान वकसको ३ नं को परिधिभित्र नपर्ने वेग्ला वेग्लै घर हिस्सा भएका वेग्ला वेग्लै घर धनिले आफ्नो हकको घरको घर हिस्सा विक्री गरेको अवस्थामा अर्को घर हिस्साका धनिले विक्रि भएको घर हिस्सा निखनी लिन चाहेमा लेनदेन व्यवहारको १२ को देहाय २ (१) मा एउटै घरको भिन्न भिन्न हिस्साको भिन्न भिन्न धनि भएको अवस्थामा घरको कुनै हिस्साको धनिले आफ्नो हिस्सा जति विक्रि गरी दिएमा सो घरको अर्को हिस्साको धनिले निखन्न खोजेकोमा निखन्न पाउछ भनि छुट्टै व्यवस्था गरेको देखिन्छ ।

            १८.   घर निखनाई पाउं भनि दान वकसको ३ नं. को दावी लिई फिराद परेको अवस्थामा दान वकसको ३ नं. ले अधि दिने दाता र पछि दिने दाता एउटै हुनुपर्ने, हस्तान्तरणको व्यहोरा पनि दुवैमा दानवकस नै हुनुपर्ने र सो घर मध्ये अगाडि दिएको वा पाएको घरको आधा वा केही खण्ड वा सोही घरले चर्चेको जमिन मध्येकै वाँकी घर पछाडि दिएको हुनुपर्ने समेतका पुर्वशर्तको विद्यमानता रहे भएको देखिएको अवस्थामा मात्र घर निखनी लिन पाउनेमा प्रस्तुत मुद्दामा वादीले निखनाई पाउं भनेको घर निज वादीलाई दिने घर धनिलेनै यी प्रतिवादीलाई पनि दिएको नभै अर्कै घर धनिले दिएको देखिएको र वादीले राजिनामाको व्यहोराबाट घर प्राप्त गरेको देखिन्छ भने प्रतिवादीले वकसपत्रको व्यहोराबाट घर प्राप्त गरेको देखिन्छ । घरको विभिन्न कवल मध्येमा अंश मुद्दाको मिलापत्रवाट आआफ्नो घर हिस्सा वापत प्राप्त गरी वेग्ला वेग्लै घर धनि र कित्ता नम्वर समेत कायम भै सकेको अवस्थामा प्रतिवादीका दाताले आफ्नो हकको घर हिस्सा विक्री गरेको देखिंदा त्यस्तो घर वादीले निखनी लिन चाहेमा लेनदेन व्यवहारको १२ नं. को देहाय २ (१) अनुसार दावी लिई फिराद दायर गर्नुपर्नेमा सो अनुसारको दावी नलिई दान वकसको ३ नं. अनुसारको दावी लिई परेको प्रस्तुत फिरादमा दान वकसको ३ नं. ले निर्धारण गरेको सर्तहरुको विद्यमानता रहे भएको  देखिएन ।

            १९.    यसरी प्रस्तुत मुद्दामा अलग अलग घरधनीका हक भोगमा रहेका घर जग्गाका अलग अलग धनीवाट अलग अलग व्यहोराले वादी प्रतिवादीहरुमा हक हस्तान्तरण भएको देखिएको अवस्थामा दान वकसको ३ नं. ले अगाडि दिने घर धनि र पछाडि घर दिने घर धनि एउटै भई अगाडि दिएको घरको वाँकी भागनै पछाडि दिएको हुनुपर्ने र दुवै दानवकस गरी दिएको समेतका पुर्वावस्था रहे भएको नदेखिए पछि वादी दावी नपुग्ने गरेको  शुरु  फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको  फैसलामा दानवकसको ३ नं. को व्याख्यात्मक त्रुटी रहे भएको नदेखिंदा सो  फैसलाहरुमा दान वकसको ३ नं. को व्याख्यात्मक त्रुटी गरेको देखिएको भनी दोहोर्‍याउने निस्सा प्रदान गरेको यस अदालत संयुक्त इजलासको आदेश संग सहमत हुन सकिएन। अतः विवादित घर निखनाई पाउं भन्ने वादी दावी पुग्न नसक्ने ठहर्‍याएको शुरु  फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०५५।४।१८ को  फैसला कानूनको रोहमा मिलेकै देखिंदा सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन ।

 

नियमानुसार गरी मिसिल वुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या. परमानन्द झा

 

इति सम्वत् २०६१ साल चैत्र ५ गते रोज ६ शुभम्.......

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु