निर्णय नं. ७४८९ - अंश चलन

निर्णय नं.७४८९ ने.का.प.२०६२ अङ्क १
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी
माननीय न्यायाधीश श्री परमानन्द झा
सम्वत् २०५७ सालको दे.पु.नं.....६८२२
फैसला मितिः २०६२।१।२१।४
मुद्दाः– अंश चलन ।
पुनरावेदक/प्रतिवादीः जिल्ला मोरङ्ग विराटनगर उपमहानगरपालिका वडा नं. ९ वस्ने रेवतमल घाडेवा मरी मुद्दा सकार गर्ने निजकी श्रीमती वनारसी देवी घाडेवा मरी मुद्दा सकार गर्ने निजको एका सगोलको छोरा ऐ. ऐ. वस्ने युवराज घाडेवा
विरुद्ध
प्रत्यर्थी/वादीः ऐ. ऐ. वस्ने त्रिलोक चन्द्र घाडेवा मरी मुद्दा सकार गर्ने निजको छोरा ऐ. ऐ. वस्ने संजयकुमार घाडेवा
§ कुनै मुद्दामा सक्षम अदालतवाट एकपटक फैसला भइसकेको अवस्थामा सोही विवादको सम्वन्धमा अघिल्लो मुद्दाको पक्षले दिएको फिराद लाग्न नसक्ने र फिराद दर्ता भइसकेको भए पनि खारेज गर्नुपर्ने हुन्छ । सो व्यवस्था आकर्षित हुनको लागि अघि परेको मुद्दामा फैसला भएको हुनुपर्ने हुन्छ । फैसला नभएको अवस्थामा अ.व.८५ नं. को व्यवस्था आकर्षित हुन नसक्ने ।
§ अ.व. ८५ नं. मा फैसला भन्ने शब्द सम्म परेको देखिदा फैसलाको परिभाषा कुनै कानूनले गरेको नदेखिइ कुनै विवादको सम्वन्धमा सक्षम अदालतमा दायर भएको मुद्दामा सो मुद्दाका पक्ष विपक्षहरुले उठाएको विवादको निरुपण निमित्त भएको निर्णयलाई फैसला मान्नुपर्ने ।
§ मुद्दामा उठेको बिबादको अन्तिम निरुपण नगरी फैसला भनी नामाकरण गर्दैमा त्यसलाई अ.बं.८५ नं.को सन्दर्भमा फैसला भएको मान्न मिल्दैन । अ.वं. ८५ मा परेको फैसला भन्ने शव्दको अर्थ यहि रुपमा वुझ्नु पर्ने ।
§ प्रस्तुत मुद्दामा अ.बं.८५ नं.ले गरेको ब्यबस्था अर्थात प्राङन्यायको सिद्वान्त (Principles of Res judicata) आकर्शित हुन सक्ने अबस्था नभएबाट प्रस्तुत मुद्दामा इन्साफ गरेको पुनराबेदन अदालत बिराटनगरको फैसलामा अ.बं.८५ नं.को त्रुटि बिद्यमान रहेको भन्ने आधारमा यस अदालतबाट भएको बिपक्षी झिकाउने आदेशसंग सहमत हुन नसकिने ।
(प्रकरण नं.१८, १९)
पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान बरिष्ठ अधिबक्ता श्री राधेश्याम अधिकारी
प्रत्यर्थी वादी तर्फवाटः विद्वान अधिवक्ता श्री देबेन्द्र कोइराला
अवलम्वित नजीरः
फैसला
न्या.मीनवहादुर रायमाझीः पुनरावेदन अदालत विराटनगरको मिति २०५५।८।२२ को फैसला उपर प्रतिवादी पक्षको न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) बमोजिम यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :-
२. बिपक्षी मध्येका रेवतमल र नेमचन्द्र दाजु भाइ, मुलचन्द्रकी पत्नी बिजयादेबी भाइ बुहारी,रामलालकी पत्नी राजकुमारी भाउजु नाताका ब्यक्ति हुन । हामी सबै सगोलमा बसी आएकोमा म फिरादी र मुलचन्द्र नाबालख अबस्थामा रहेको बेला बिपक्षी मध्येका दाजु रेवतमल,नेमचन्द्र,रामलाल समेतले पिता जिबित रहेको अबस्थामा आ–आफ्नो अंश भाग लिनको लागि पिताबाट २००८ सालमा घरसारमा बण्डापत्रको लिखत खडा गरेको । सो समयमा के कति धनमाल थियो सम्पूर्ण कुरा पिता र दाजुहरुलाई थाहा थियो । घरसारको बण्डा बमोजिम दाजुहरुले आ–आफ्नो भाग लिई म फिरादी र मुलचन्द्रको अंश भाग पिता इश्वरीचन्द्रको जिम्मामा रहेको थियो । आफुले पाएको चल अचल भाग रेवतमलले हिनामिना गरी हामी दुई भाइको सम्पत्ति खान लाग्दा पिताले श्री ५ महाराजधिराज सरकारको जुनाफमा बिन्तिपत्र चढाई हु.प्र.बक्स भई आए बमोजिम मो.बि. अपिलबाट नाबालखको चल अचल सम्पत्ति इश्वरीचन्द्रको मन्जुरी बेगर हिनामिना गर्न नपाउने गरी २०१० सालमा खडा भएको पर्चालाई २०११ सालमा सदर गोश्वाराबाट फैसला भएको । २००९ सालमा पिता उपर रेवतमल समेतले अंश पाउँ भनी दिएको मुद्दा कारवाही हुँदा हुँदै पिता २०१७ सालमा स्वर्गिय हुनु भयो । तत्पश्चात सो मुद्दा मैले सकार गरी कारवाही हुँदा दुबै पक्षबाट तायदाती फाँटवारी माग गर्दा प्रतिबादीबाट तायदाती फाँटवारी दाखिल भै बादी रेवतमलले तायदाती नदिई २०३० सालमा सो मुद्दा मुलतवी रहेको थियो । बिपक्षीहरुले हालसम्म आ–आफ्नो अंश भाग छुट्याई अंश हक कायम गराउनु पर्नेमा सो नगरी म फिरादीको भागमा परेको चल अचल सम्पत्ति समेत आफ्नो कब्जामा लिने नियत गरेकोले बिपक्षीहरुबाट तायदाती लिई पाँच अशियार हुँदा पाँच भागको एक भाग अंश छुट्याई चलन समेत पाउँ भन्ने ब्यहोराको फिरादपत्र ।
३. नाता सम्बन्धमा बिबाद छ्रैन । बादीले मबाट अंश पाउने होइन । म एवं बिपक्षी समेत बादी भई पितासंग अंश पाउँ भनी दिएको अंश मुद्दामा २००९।३।३लाई मानो छुटिएको मिति उक्त मुद्दामा कायम गरिएको छ । सो मुद्दामा पिताले दिएको प्रतिउत्तरपत्रमा म रेवतमल मुल घरबाट अलग्लै रंगेली सडकको घरमा बस्न गएको कुरा स्वीकार गर्नु भएको छ । पितासंग बिपक्षी संगै रहे बसेको कुरा बिपक्षीले भु.सु.का. मोरङमा २०२५।१२।२५ मा गरेको बयानमा समेत स्वीकार गरेको अबस्था छ । पिताको मृत्युपछि पिताको मुद्दा बिपक्षीले सकारेको हो । जसबाट बिपक्षीले स्वयं बादी भएर पितासंग अंश पनि माग्ने र प्रतिबादी पिताको मुद्दा पनि सकार गर्ने भई उक्त मुद्दामा बादी प्रतिबादी स्वयं बिपक्षी देखिएका छन । पिताको मृत्युपछि पितासंग रहेको चल अचल सम्पूर्ण सम्पत्ति बिपक्षी बादीले आफ्नो कब्जामा लिई भोग चलन गरेका छन । पिताको नाममा दर्ता रहेको जग्गा बिपक्षीले नामसारी गरी कतिपय जग्गा बिक्री गरेको हुनु पर्छ । मैले पैतृक सम्पत्ति कब्जा गरेको भन्ने दाबी झुठ्ठा हो । मेरो नाममा रहेको जग्गा जमिन २००९ सालमा अंश मुद्दा परेपश्चात प्राप्त गरेको निजी एकलौटि हक भोग दर्ताको सम्पति रहे भएको र २०९।३।३लाई मानो छुटिएको मिति साविकको अंश मुद्दाबाट देखिएकोले बिपक्षी जिम्माको सम्पति पैतृक भएकोले विपक्षी जिम्माको सम्पति बण्डा लाग्नु पर्ने हो । सो पश्चात मैले कमाएको सम्पत्तिबाट बिपक्षीले अंश पाउने होइन । एउटा बिबादमा २००९ सालमा अंश मुद्दा परी रहेकोमा सोही कुराको सन्दर्भमा पुनः बिपक्षीले अ.बं.८५ नं.को प्रतिकूल दायर गरेको प्रस्तुत मुद्दा खारेज गरिपाउँ भन्ने समेत ब्यहोराको प्रतिबादी रेवतमल घाडेवाको प्रतिउत्तरपत्र ।
४. ससुराको जीवनकालमै मिति २००८।१०।१८ मा ससुरा इश्वरी चन्द्रले छोराहरुलाई घरसारमा अंशबण्डा गरी दिनु भएकोमा जेठाजु रेवतमल घाडेवा समेतको चित्त नबुझी जेठाजु रेवतमल समेतले २००९ सालमा इश्वरीचन्द्र उपर अंश मुद्दा दिएकोमा मुद्दा फैसला हुनु अगावै प्रतिबादी इश्वरीचन्द्र परलोक हुनु भएकोले उक्त अंश मुद्दामा प्रतिबादी इश्वरीचन्द्रको मुद्दा यिनै बादीले सकार गरी चलेको । सो मुद्दामा मानु छुटिएको मिति २००९।३।३ कायम गरी सो मिति तकको तायदाती लिने भन्ने अदालतको आदेशानुसार यिनै बादी त्रिलोचन्द्रले तायदाती दाखिल गरेपछि जेठाजु रेवतमलको तर्फबाट तायदाती दिन असमर्थ भएको भन्ने निबेदन परेबाट निजले तायदाती दिएको बखत कारवाही गर्ने गरी मुद्दा स्थगित राख्ने भनी २०३०।३।२९ मा फैसला भएको छ । सम्पूर्ण सम्पत्तिको जानकार यी बादी नै हुन । पहिलो अंश मुद्दा स्थगित रहेकोले सोही मुद्दाबाट अंशबण्डा हुनुपर्ने, पहिलाको मुद्दा स्थगित हुँदा हुँदै त्यसलाई वास्ता नगरी सोही सम्पत्तिको सम्बन्धमा अर्को मुद्दा दायर गरी चल्नु पर्ने होइन । अघि परेको मुद्दा यथाबतै छ । दाबीबाट फुर्सद पाउँ भन्ने ब्यहोराको प्रतिबादी विजयादेवी घाडेवाको प्रतिउत्तरपत्र ।
५. पिता इश्वरीचन्द्रको जीवन कालमै घरसारमा मिति २००८।१०।१८ मा पिता इश्वरीचन्द्रले म समेतका छोरालाई अंशबण्डाको लिखत गरिदिनु भएकोमा चित्त नबुझेकोले पिता उपर म समेतका छोराले २००९ सालमा अंश मुद्दा दिई चल्दा चल्दै पिता परलोक हुनु भएकोले यी बादीले सकार गरी चलेको, सो मुद्दामा २००९।३।३लाई मानो छुटिएको मिति कायम गरी तायदाती दाखिल गरेपछि बादी मध्येको रेवतमलले तायदाती दाखिल गर्न असमर्थता देखाई निबेदन गरेपछि बादी रेवतमलको तायदाती दाखिल भएपछि शंशबण्डाको २२ नं. बमोजिम कारवाही गर्ने भनी मिति २०३०।३।२९ को फैसलाले उक्त मुद्दा स्थगित रहेको हुँदा सोलाई बास्ता नगरी पुनः म समेत उपर यी बादीले दिएको प्रस्तुत मुद्दा चल्न सक्ने होइन । अघि परेको मुद्दाबाट जो हुन्छ सो हुनुपर्ने भएकोले बादीको नालेस खारेज गरिपाउँ भन्ने समेत ब्यहोराको प्रतिबादी नेमचन्द्र घाडेवाको प्रतिउत्तरपत्र ।
६. बादीलाई अंश दिनु पर्ने होइन । यी बादीले हाम्रो आमा राजकुमारी देबीउपर प्रस्तुत मुद्दाको फिराद दायर गरेको मिति २०४९।५।१७ भन्दा अघि नै मिति २०४९।४।२८ मा हाम्रो आमा राजकुमारीको मृत्यु भई सकेको र यी बादी हाम्रो खास काका र हाम्रो आमाको देवर नाताको भएकोले बादीलाई हाम्रो आमा परलोक भएको जानकारी हुँदा हुँदै पनि मरिसकेकी हाम्री आमा राजकुमारी देवीको नाममा नालिस दिएकोले प्रस्तुत मुद्दा चल्न सक्ने होइन । बाजे इश्वरीचन्द्र जीबित छदै २००८।१०।१८ मा छोराहरुलाई बाजेले घरसारमा अंशबण्डाको लिखत गरिदिनु भएकोमा हाम्रो बाबु रामलाल समेतको सो अंशबण्डामा चित्त नबुझेकोले जेठाबाबु रेवतमल,हाम्रो बाबु रामलाल समेतका इश्वरीचन्द्रका छोराहरुले इश्वरीचन्द्र उपर २००९ सालमा अंश मुद्दा दिई मिति २००९।३।३लाई मानो छुटिएको ठहराई तायदाती फाँटवारी लिने भन्ने आदेश भएकोमा जग्गाको लगत श्रेस्ता नभएकोले तायदाती दाखिल गर्न सक्दिन भन्ने निबेदन पर्दा अंशबण्डाको २२ नं. बमोजिम कारवाही गर्ने भनी २०३०।३।२९ मा फैसला भएकोले पुनः अंश मुद्दा गर्न नपाउने भएकोले प्रस्तुत मुद्दा खारेज गरिपाउँ भन्ने समेत ब्यहोराको प्रतिबादीहरु हेमराज घाडेवा,मोतीचन्द्र घाडेवा,किशोरकुमार घाडेवा,भरतकुमार घाडेवाको संयुक्त प्रतिउत्तरपत्र ।
७. यस अदालतबाट बण्डा गर्नुपर्ने सम्पत्तिको फाटवारी दाखिल गर्ने आदेश भएको र सम्पत्तिको फाटवारी समेत दाखिल भै सकेको देखिन्छ तर फाटवारी दाखिल भै सकेपछि बादीको भागको कोर्ट फि दाखिल गर्ने तारिख तोकिएकोमा कोर्ट फि दाखिल नगरी तारेख गुजारी बसेको अबस्थामा कोर्ट फि ऐन,२०१७ को दफा ३ बमोजिम कोर्ट फि नलिई मुद्दा हेर्न नमिल्ने भनी उल्लेख भएको र सो भन्दा पूर्बको प्रकृया पुरा गरी कोर्ट फि दाखिल गर्ने आदेशलाई बादीले कार्यान्वयन गर्न नसकेको अबस्थामा प्रस्तुत मुद्दा खारेज हुने ठहर्छ भन्ने शुरु मोरङ जिल्ला अदालतको मिति २०५२।३।१९ को फैसला ।
८. मुलुकी ऐन,अंशबण्डाको ३२ नं मा अंश मुद्दामा बादीले तारेख गुजारे पनि मुद्दा डिसमिस नगरी ठहरे बमोजिम गर्नुपर्ने ब्यबस्था भएकोमा उक्त ब्यबस्था विपरीत मुद्दा खारेज हुने ठहराएको शुरु फैसला त्रुटिपूर्ण भएकोले उल्टी गरी कोर्ट फि दाखिल गरेको अबस्थामा पाउने गरी तायदाती पेश भएका सम्पत्तिको ५ भागको १ भाग अंश छुट्याई पाउँ भन्ने बादीको पुनराबेदन अदालत विराटनगरमा परेको पुनराबेदन पत्र ।
९. तायदाती फाटवारी समेत दाखिल भै सकेको परिप्रेक्ष्यमा शुरुले कोर्ट फि दाखिल गर्ने आदेशलाई बादीले कार्यान्वयन गर्न नसकेको भनी खारेज हुने ठहराई गरेको शुरुको फैसला फरक पर्न सक्ने देखिदा छलफलको निमित्त बिपक्षीहरुलाई झिकाउनु भन्ने पुनराबेदन अदालत विराटनगरको आदेश ।
१०. पुनराबेदन अदालत विराटनगरको आदेशानुसार बादीबाट कोर्ट फि दाखिल भएको ।
११. बादी प्रतिबादीहरु एक अर्काको अंशियार भएको तथ्यमा विवाद नभएपछि २००९।३।३लाई मानो छुटिएको मिति कायम गरी ऋणको हकमा साहुको उजुर परेको बखत ठहरे बमोजिम हुने नै हुँदा २०५१।२।२६ मा बादीले र २०५१।२।२४ मा प्रतिबादीले पेश गरेको तायदाती फाँटवारीबाट देखिएको सम्पत्तिमा ५ भागको एक भाग अंश बादीले पाउने ठहर्छ भन्ने पुनराबेदन अदालत विराटनगरको मिति २०५५।८।२२ को फैसला ।
१२. २००९ सालमा रेवतमल घाडेवा समेतले इश्वरीचन्द्र घाडेवा उपर अंश मुद्दा दायर गरेको र सो मुद्दा मुलतवी रहेको कुरा फैसलामा उल्लेख छ । सो मुद्दामा यी प्रत्यर्थी समेत बादी रहेको हुँदा पुनः बादी भै दायर गरेको प्रस्तुत मुद्दामा इन्साफ गर्न मिल्ने होइन । अ.बं.८५ नं.ले प्रस्तुत मुद्दा खारेज गर्नुपर्नेमा इन्साफ गरेको पुनराबेदन अदालत बिराटनगरको फैसला अ. बं. ८५ नं. को विपरीत रहेको प्रष्टै छ । घरसारमा भएको बण्डामा चित्त नबुझ्दा २००९ सालमा अंश मुद्दा दायर भएको हो । सो अबस्थादेखि हामीहरु अलग अलग रही मुद्दा गरी आएको कुरा पुष्ट्याई भई राखेकोमा आधिकारिकरुपमा अघि नै छुट्टि भिन्न भएको लिखत प्रमाणको अभाब रहेको भन्ने निर्णयाधार त्रुटिपूर्ण रहेको प्रष्टै छ । पुनराबेदन अदालत बिराटनगरबाट भएको कानुन विपरीतको फैसला उल्टी गरी अघि नै अंश मुद्दा परिसकेको हुँदा पुनः परेको प्रस्तुत मुद्दा खारेज गरिपाउँ र यदि खारेज नभै इन्साफै हुने हो भने तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिको बारेमा छानबिन गरी मानो छुट्टिएको मिति पछि प्रत्यर्थीले बिक्री गरेको जग्गाहरु प्रत्यर्थीको अंश भागबाट कट्टा गरी हक इन्साफ गरिपाउँ भन्ने समेत ब्यहोराको प्रतिबादी रेवतमल घाडेवाको मुद्दा सकार गर्ने युबराज घाडेवाको यस अदालतमा परेको पुनराबेदनपत्र ।
१३. रेवतमल समेतले इश्वरीचन्द्र उपर दायर गरेको अंश मुद्दामा तायदाती दाखेल गरेका बखत कारवाही गर्ने गरी फैसला भएकोमा अघिको मुद्दा कारवाहीयुक्त अबस्थामा छंदा छंदै बादी त्रिलोकचन्द्रले पुनः मिति २०४९।५।१७ मा दायर गरेको मुद्दामा फाँटवारी लिई निर्णय निरुपण गरेको देखिदा पुनराबेदन अदालत बिराटनगरको फैसलामा अ.बं. ८५ नं.को त्रुटि बिद्यमान रहेकोले अ.बं. २०२ नं.बमोजिम बिपक्षी झिकाउनु भन्ने यस अदालतको आदेश ।
१४. नियमबमोजिम पेश भएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरियो । पुनराबेदक तर्फबाट बिदान बरिष्ठ अधिबक्ता श्री राधेश्याम अधिकारीले वादी प्रतिवादीका बावु इश्वरी चन्द्रका चार जना छोराहरुले इश्वरी चन्द्र उपर अंश मुद्दा दिएकोमा तायदाती दाखिल गरेका वखत कारवाही गर्ने गरी सो मुद्दामा फैसला भएको छ । पुनः सोही विषयमा दायर भएको प्रस्तुत मुद्दा अ.वं. ८५ नं. को व्यवस्था बमोजिम खारेज हुनुपर्ने अवस्थाको छ । अघि परेको अंश मुद्दामा अंशवण्डा हुने नहुने सम्वन्धमा निर्णय हुन वाँकी भएकोले अघि परेको मुद्दामा निर्णय नभै पछि परेको प्रस्तुत मुद्दा खारेज गरी अंशको सम्वन्धमा अघि परेको मुद्दावाट नै निर्णय हुनुपर्छ । वादीले मानो छुट्टिएको मितिपछि विभिन्न जग्गाहरु विक्री गरेको हुँदा अघि परेको मुद्दामा दाखिल भएको तायदातीबाट वण्डा हुनुपर्ने भएकोले यस मुद्दामा पेश भएको सम्पत्तिवाट वादीले अंश पाउने गरी भएको पुनरावेदन अदालत विराटनगरको फैसला उल्टी हुनु पर्छ भन्ने समेत वहस प्रस्तुत गर्नुभयो।
१५. प्रत्यर्थी तर्फबाट विद्वान अधिवक्ता श्री देबेन्द्र कोइरालाले अघि परेको अंश मुद्दामा अंशवण्डा हुने नहुने सम्वन्धमा निर्णय नभएकोले अ.वं. ८५ नं. को अवस्था छैन । वादी प्रतिवादी अंशियार भएको कुरामा विवाद छैन । वादी र प्रतिवादीको वीचमा अंशवण्डा नभएको र जम्मा ५ अंशियार भएकोले वादीले ५ भागको १ भाग अंश पाउने ठहर गरेको पुनरावेदन अदालत विराटनगरको फैसला सदर हुनु पर्छ भन्ने समेत वहस प्रस्तुत गर्नुभयो ।
१६. उपरोक्त वहस समेतलाई विचार गरी प्रस्तुत मुद्दामा निर्णय तर्फ विचार गर्दा इश्वरीचन्द्र घाडेबाको पाँच जना छोराहरु मध्ये तत्काल नावालक अवस्थाका त्रिलोकचन्द्र र मूलचन्द्र वाहेक अरु छोराहरुको वीचमा २००८।१०।१८ मा घरसारमा वण्डापत्र भई त्रिलोक चन्द र मूलचन्द्रको अंश भाग निजहरुको पिता इश्वरी चन्द्रको जिम्मामा रहेको भन्ने देखिन्छ । उक्त वण्डापत्रमा चित्त नवुझाई इश्वरी चन्द्रका पाँच जना छोराहरु मध्ये मुलचन्द्र वाहेकका अरु चार जना छोराहरुले आफ्नो वावु इश्वरी चन्द्र माथि २००९ सालमा अंश मुद्दा दायर गरेको देखियो । सो मुद्दा चल्दै जाँदा यस अदालतमा आई पुगेपछि प्रतिवादी इश्वरी चन्द्रको मृत्यु हुँदा निजको हकमा बादी मध्येका त्रिलोकचन्द्रले मुद्दा सकार गरेकोमा दुवै पक्षलाई झिकाई ऐन बमोजिम मानो छुट्टिएको मिति कायम गरी तायदाती लिई लाग्ने कोर्टफि असुल गरी ऐन बमोजिम वण्डा छुट्याई दिनु भनी मिसिल मोरङ्ग जिल्ला अदालतमा पठाई दिनु भन्ने यस अदालतबाट मिति २०२७।७।२० मा फैसला भएको देखियो । सो बमोजिम मोरङ्ग जिल्ला अदालतवाट मिति २००९।३।३लाई मानो छुटिएको मिति कायम गरी तायदाती फाँटवारी माग्ने आदेश भएकोमा सो मुद्दाको वादी रेवत मलले अहिले सम्पत्तिको तायदाती दाखिल गर्न सक्दिन जग्गाको श्रेस्ता पत्ता लागेपछि तायदाती लिई हाजिर हुनेछु हाललाई अंशवण्डाको २२ नं. बमोजिम गरिपाउं भन्ने निवेदन दिएकोमा फाँटवारी दाखिल गर्न ल्याएका वखत अंशवण्डाको २२ नं. बमोजिम कारवाही गर्ने गरी मोरङ्ग जिल्ला अदालतवाट मिति २०३०।३।२९ मा फैसला भएको देखियो । सो मुद्दामा भएको उक्त फैसला बमोजिम प्रस्तुत मुद्दाका प्रतिवादीहरुले हाल सम्म आ– आफ्नो अंश छुट्याई अंश हक कायम गराउनु पर्नेमा सो नगरी वादीको भागमा परेको सम्पत्ति समेत आफ्नो कव्जामा लिने नियत गरेकोले पाँच अंशियार हुँदा पाँच भागको एक भाग अंश छुट्याई चलन समेत पाउँ भन्ने व्यहोराको वादीको दावी भएको पाइयो । माथि उल्लिखित २००९ सालमा परेको अंश मुद्दाबाट नै अंशवण्डा हुने नहुने सम्वन्धमा निर्णय हुने अवस्था हुँदा सोही कुराको सन्दर्भमा पुनः प्रस्तुत मुद्दा परेकोले अ.वं. ८५ नं. को व्यवस्था बमोजिम खारेज हुनुपर्ने भन्ने प्रतिवादीहरुको मुख्य प्रतिउत्तर जिकिर भएको देखियो ।
१७. प्रस्तुत मुद्दामा सम्पत्तिको फाँटवारी दाखिल भै सकेपछि वादीले कोर्टफि दाखिल नगरी तारेख गुजारेको आधारमा कोर्ट फि ऐन, २०१७ को दफा ३ बमोजिम प्रस्तुत मुद्दा खारेज गर्ने गरी शुरु मोरङ्ग जिल्ला अदालतबाट २०५२।३।१९ मा फैसला भएको देखयो । सो फैसला उपर वादीको पुनरावेदन अदालत विराटनगरमा पुनरावेदन परी अदालतको आदेशानुसार वादीले कोर्टफि समेत दाखिल गरेपछि शुरुको फैसलालाई उल्टी गरेर पेश भएका तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिबाट वादीले पाँच भागको एक भाग अंश पाउने गरी पुनरावेदन अदालत विराटनगरबाट फैसला भएको छ । सो फैसला उपर प्रतिवादी मध्येका रेवतमल घाडेवा वाहेक अन्य प्रतिवादीहरुको यस अदालतमा पुनरावेदन परेको देखिएन । यस मुद्दाको वादी त्रिलोक चन्द्र समेतले २००९ सालमा अंश मुद्दा दायर गरेको र सोही विषयमा त्रिलोकचन्द्रले पुनः दायर गरेको प्रस्तुत मुद्दावाट इन्साफ गर्न नमिल्ने हुँदा प्रस्तुत मुद्दा नै खारेज हुनुपर्ने र खारेज नभएमा मानो छुट्टिएको मिति पछि प्रत्यर्थीले विक्री गरेको जग्गाहरु प्रत्यर्थीको अंश भागवाट कट्टा हुने गरी इन्साफ हुनुपर्ने भन्ने मुख्य जिकिर लिई प्रतिवादी रेवतमलको हकमा मुद्दा सकार गर्ने निजको छोरा युवराज घाडेवाको यस अदालतमा पुनरावेदन परेको र अघिको मुद्दा कारवाहीयुक्त अवस्थामा छङदाछंदै सोही विषयमा परेको प्रस्तुत मुद्दामा इन्साफ गरेको अ.वं. ८५ नं. को त्रुटि भएको भन्ने आधारमा यस अदालतबाट प्रत्यर्थीलाई झिकाउने आदेश भएको देखियो ।
१८. उपरोक्त तथ्य भएको प्रस्तुत मुद्दामा अ.वं. ८५ नं. को व्यवस्था आकर्षित हुने, नहुने सम्बन्धमा विचार गर्दा अ.वं. ८५ नं. मा अड्डामा मुद्दा परी फैसला भएपछि सो फैसला उपर ऐन बमोजिमको पुनरावेदन नभई सोही मुद्दामा उसै झगडियाको नाउंको फिरादपत्र लिई सुन्न हुदैन । लिएको भए पनि खारेज गरि दिनु पर्छू भन्ने व्यवस्था भएको पाइन्छ । उक्त कानूनी व्यवस्था बमोजिम कुनै मुद्दामा सक्षम अदालतवाट एकपटक फैसला भई सकेको अवस्थामा सोही विवादको सम्वन्धमा अघिल्लो मुद्दाको पक्षले दिएको फिराद लाग्न नसक्ने र फिराद दर्ता भई सकेको भए पनि खारेज गर्नुपर्ने हुन्छ । सो व्यवस्था आकर्षित हुनको लागि अघि परेको मुद्दामा फैसला भएको हुनुपर्ने हुन्छ । फैसला नभएको अवस्थामा अ.व.. ८५ नं. को व्यवस्था आकर्षित हुन सक्दैन । अ.व.. ८५ नं. मा फैसला भन्ने शब्द सम्म परेको देखिन्छ । फैसलाको परिभाषा कुनै कानूनले गरेको देखिदैन । कुनै विवादको सम्वन्धमा सक्षम अदालतमा दायर भएको मुद्दामा सो मुद्दाका पक्ष विपक्षहरुले उठाएको विवादको निरुपण निमित्त भएको निर्णयलाई फैसला मान्नु पर्ने हुन्छ । फैसलाले बिबादको निरुपण गरेको हुनु पर्छ । मुद्दामा उठेको बिबादको अन्तिम निरुपण नगरी फैसला भनी नामाकरण गर्दैमा त्यसलाई अ.बं.८५ नं.को सन्दर्भमा फैसला भएको मान्न मिल्दैन । अ.वं. ८५ मा परेको फैसला भन्ने शव्दको अर्थ यहि रुपमा वुझ्नु पर्ने हुन्छ ।
१९. यस मुद्दाका प्रतिबादी रेवतमल घाडेवा समेतले आफ्नो बाबु इश्वरीचन्द्र घाडेवा उपर २००९ सालमा दायर गरेको अंश मुद्दामा फाँटवारी दाखिल गर्न ल्याएका बखत अंशबण्डाको २२ नं बमोजिम कारवाही गर्ने गरी मिति २०३०।३।२९ मा मोरङ्ग जिल्ला अदालतबाट फैसला भएको देखिन आएबाट सो फैसलाले बादी प्रतिबादीको बीचमा अंशबण्डा हुने नहुने भन्ने सो मुद्दामा रहेको बिबादको मूल बिषयमा अन्तिम निरुपण गरेको अबस्था नहुँदा सो फैसलालाई अ.बं.८५ नं.मा जुन अर्थमा फैसला भन्ने शब्दको उल्लेखन भएको हो, त्यस अर्थमा फैसला मान्न मिल्ने अबस्था भएन । उपरोक्त अंश मुद्दामा मोरङ जिल्ला अदालतबाट मिति २०३०।३।२९ मा भएको फैसलालाई अ.बं.८५ नं.को सन्दर्भमा फैसला भएको मान्न नमिल्ने भएपछि सो फैसलाको आधारमा प्रस्तुत मुद्दामा अ.बं.८५ नं.ले गरेको ब्यबस्था अर्थात प्राङन्यायको सिद्वान्त (Principles of Res judicata) आकर्शित हुन सक्ने अबस्था नभएबाट प्रस्तुत मुद्दामा इन्साफ गरेको पुनराबेदन अदालत बिराटनगरको फैसलामा अ.बं.८५ नं.को त्रुटि बिद्यमान रहेको भन्ने आधारमा यस अदालतबाट भएको बिपक्षी झिकाउने आदेशसंग सहमत हुन सकिएन ।
२०. यस मुद्दामा निर्णय नगरी अघि परेको वादी रेवतमल घाडेवा समेत प्रतिवादी इश्वरीचन्द्र घाडेवा भएको अंश मुद्दामा निर्णय हुनुपर्ने भन्ने पुनराबेदकतर्फका कानून ब्यबसायीको जिकिरको सम्बन्धमा अघि परेको अंश मुद्दाको वादी यिनै पुनराबेदक रेवतमल घाडेवाले तायदाती फाँटवारी नदिएको कारणले सो मुद्दाको कारवाही स्थगन भएको देखिन्छ । सो मुद्दाको कारवाही स्थगन हुनुमा यस मुद्दाको बादी त्रिलोकचन्द्र घाडेवाको कुनै भुमिका रहेको देखिदैन । सो मुद्दाको वादी यी पुनराबेदक रेवतमल घाडेवाले तायदाती दाखिल नगर्दासम्म सो मुद्दाको कारवाही अगाडि बढन सक्ने अबस्था छैन । निजले सो मुद्दामा तायदाती फाँटवारी पेश गर्ने सम्बन्धमा कुनै चासो नदेखाई अनिश्चित कालसम्म सो मुद्दाको कारवाही स्थगन भएकोले बादी त्रिलोकचन्द्रले आफ्नो भागको अंश पाउँ भनी दाबी गरी प्रस्तुत मुद्दा दिएको अबस्था छ । सो मुद्दाको कारणले यस मुद्दामा निर्णय नगर्ने हो भने बादीले अंश पाउनु पर्ने अबस्था भए पनि यी पुनराबेदकले अघि परेको सो मुद्दाको कारवाही हुने प्रकृया अगाडि नबढाई अनिश्चित कालसम्म बादीले अंश पाउन नसक्ने स्थिति हुने भएबाट अघि परेको सो अंश मुद्दाको कारणले गर्दा प्रस्तुत मुद्दामा निर्णय गर्न नमिल्ने भन्न मिल्ने अबस्था भएन ।
२१. अब बादीले अंश पाउनु पर्ने नपर्ने सम्बन्धमा विचार गर्दा पुनराबेदक रेवतमल घाडेवा र प्रत्यर्थी बादी त्रिलोकचन्द्र घाडेवा सहित इश्वरीचन्द्र घाडेवाको पाँच जना छोराहरु भएको भन्ने कुरामा बिबाद छैन । निजहरुको बीचमा कानूनी मान्यता प्राप्त अंशबण्डा भएको लिखत भएको देखिएन । २००९।३।३लाई मानो छुटिएको मिति कायम गरेको सम्बन्धमा मुद्दाका पक्षहरु बीच कुनै बिबाद भएको देखिदैन । २००८ सालमा भएको घरसारको बण्डापत्रमा चित्त नबुझाई यी पुनराबेदक समेतले २००९ सालमा आफ्नो बाबु उपर अंश मुद्दा दायर गरेको र सो मुद्दामा यी पुनराबेदकबाट तायदाती फाँटवारी दाखिल भएपछि कारवाही गर्ने गरी मिति २०३०।३।२९ मा मोरङ जिल्ला अदालतबाट फैसला भै सो मुद्दाको कारवाही स्थगित रहेको देखिदा इश्वरिचन्द्रका छोराहरुको बीचमा अंशबण्डा भैसकेको देखिन आएन । यस स्थितिमा बादी प्रतिबादीहरु जम्मा पाँच अंशियार रहेको देखिदा बादीले पाँच भागको एक भाग अंश पाउनु पर्ने देखिन आयो । जहासम्म मानो छुटिएको मिति पछि बादीले बिक्री गरेको बिभिन्न जग्गाहरु बादीको अंश भागबाट कट्टा हुनुपर्ने भन्ने पुनराबेदन जिकिर छ, त्यस सम्बन्धमा यी पुनराबेदक समेतको हक लाग्ने जग्गा बादीले बिक्री गरेको भए सो सम्बन्धमा कानूनले व्यवस्था गरे बमोजिमको कारवाही अवलम्वन गर्न सक्ने नै हुंदा त्यस सम्बन्धमा यस मुद्दामा केही वोली रहन पर्ने देखिएन ।
२२. अतः माथि बिबेचना गरिए बमोजिम मुद्दा खारेज हुने ठहर गरेको शुरु मोरङ जिल्ला अदालतको फैसलालाई उल्टी गरी ऋणको हकमा साहुको उजुर परेका बखत ठहरे बमोजिम हुने र पेश भएको तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिबाट बादीले पाँच भागको एक भाग अंश पाउने ठहर गरेको पुनराबेदन अदालत बिराटनगरको इन्साफ मनासिब हुँदा सदर हुने ठहर्छ । पुनराबेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.परमानन्द झा
इति सम्बत २०६२ साल बैशाख २१ गते रोज ४ शुभम ।