शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४०४५ - कर्तव्य ज्यान

भाग: ३२ साल: २०४७ महिना: बैशाख अंक:

निर्णय नं. ४०४५    ने.का.प. २०४७ (क) अङ्क १

 

संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४६ सालको फौ.पु.नं. ६२६, ३५६, ३५७

सम्वत् २०४६ सालको फौ.सा.नं. ३१

फैसला भएको मिति : २०४६।१२।५।१ मा

पुनरावेदक/वादी : अम्बिका राइनीको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : जि.झापा, गरामुनी गा.पं. वा.नं. ९ बस्ने कौशल्या ओलीसमेत

पुनरावेदक/प्रतिवादी : कारागार शाखा वीरगन्ज थुनामा रहेको प्रेमप्रसाद ओलीसमेत

विपक्षी/वादी : अम्बिका राइनीको जाहेरीले श्री ५ को सरकार

मुद्दा : कर्तव्य ज्यान

(१)    पटक पटक चोट छाडी क्रुरतापूर्वक ज्यान मारेको भन्ने देखिँदा अपराध घटित भएको अवस्थालाई समेत विचार गर्दा ऐन बमोजिम सजायँ गर्दा चर्को पर्ने नदेखिने ।

(प्रकरण नं. ३४)

(२)   मृतकलाई मारौं भन्ने पूर्व योजना नभएको, अपराध गरेको अवस्था समेतबाट जन्मकैदको सजायँ गर्दा चर्को पर्ने भएकोले अपराधिक संलग्नतालाई दृष्टिगत गरी घटी सजायँ हुन उपयुक्त नै देखिएकोले अ.बं. १८८ नं. बमोजिम प्रतिवादीलाई १० वर्षको कैद हुने ।

(प्रकरण नं. ३४)

पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री विनोद रोका विद्वान अधिवक्ता श्री युवराज संग्रौला

पुनरावेदक/वादी तर्फबाट     : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.

फैसला

प्र.न्या.धनेन्द्रबहादुर सिंह

१.     पू.क्षे.अ. को मिति २०४६।१।१३।३ को फैसला उपर वादी श्री ५ को सरकार र प्रतिवादी दीपक ओली समेतको तर्फबाट पुनरावेदन परी तथा साधकको रोहबाट समेत पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :

२.    वन सुदृढीकरण आयोगबाट पति खड्गबहादुरका नाउँमा सिफारिश भई उक्त जग्गामा लगाएको गत सालको बाली प्रेमप्रसाद ओलीले लुटी लगेको र यो सालको बाली मकै र पाटा निजहरुले नै लुटी लगेको र धानबाली आधा जति हामीले काट्यौं बाँकी रहेको धान हरिप्रसाद ओली समेतले भारततर्फका जनबन गर्ने मियाँहरु खेतमा पठाई काट्न शुरु गरेकोले मेरो पतिले धान मेरो हो नकाट भनी मियाँहरुलाई भन्दा यसलाई ठोक मार भनी लक्ष्मीप्रसाद ओली र हरिप्रसाद ओलीले बचन दिनासाथ प्रेम ओली, दीपक ओली, भूपाल ओली, विनोद ओली, भक्तिप्रसाद ओली, कोशल्या ओली समेत भई हुल बाँधी मेरो पतिलाई घेराउ गरी कसैले काट्ने र कसैले लाठीले कुट्ने गरी कुटपिट गरी घटनास्थलमै मारी लडाए म रुँदै कराउँदै जाँदा प्रेमप्रसादले लाठीले हिर्काए त्यसपछि गुहारमा मानिस आउन थालेकोले विपक्षीहरु घटनास्थलमा भागी घरतर्फ गए यसरी कर्तव्य गरी मार्नमा कृष्ण पाठकको पनि सहमति छ भन्ने समेत व्यहोराको मिति ०४२।८।११ को जाहेरी दर्खास्त ।

३.    बायाँ कानबाट रगत आई कानमा जमेको, मुखबाट रगत निस्किएको, टाउकोको टुप्पीनिर ४ इन्च लामो ३ चौडाइको छाला काटिएको गिदी निस्किएको गहिरो चोट भएको सो चोटबाट प्रशस्त रगत बगेको, सो चोटको १ बेन्च फरक बायाँ पट्टी २ इन्च लामो छाला फुटी हड्डी देखिने दुबै आँखा माथि निलडाम परेको, दाहिने नली खुट्टामा धारिलो हतियारले घोचेको, पछाडिको भाग कम्मर देखि माथि कुमसम्म पुरै भाग लाठी मुंग्राले हिर्काएको, निल डामहरु प्रशस्तै देखिने भन्ने मिति ०४२।८।११।३ को लाश प्रकृति मुचुल्का साथै काँचो बाँसको लाठी १ मुंग्रा १, बाँसको लाठी १, सखुवा काठको चारपाटे बटम १ समेत घटनास्थलमा पाइएको भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का ।

४.    प्रेमप्रसाद ओलीको घरमा खानतलासी गर्दा धान राख्ने २ कोठा भएको काठको ठूलो बक्सा शंका लागी हेर्दा काठको बिंड भएको फलामको दाप बेगरको खुकुरी र प्रेमप्रसाद ओली बसेको फेला परेको र निज प्रेमप्रसादले हातमा बोकेको खुकुरीको १ ठाउँमा रगत लागेको समेत बरामद भएको ठीक हो भन्ने समेत व्यहोराको खानतलासी मुचुल्का ।

५.    २०४२।८।११ मा ५ जना मियाँहरुलाई धान काट्न थालेको थियो खड्गबहादुर खुकुरी लाठी लिई कराउँदै आउँदा मियाँहरु हाम्रो घरतर्फ भागे । त्यस्तैमा भाइ दीपक र भूपाल हातमा बटमको टुक्रा र मुंग्रो बोकी म भएमा आई पुगे हामी कुट्न अगाडि बढ्यौं भाइ दीपकले बटमको टुक्राले खड्गबहादुरको पछाडिपट्टिबाट जोडले टाउकोमा हान्दा घुत्रुक्कै लडे, यस्तैमा भक्तिप्रसाद ओली, गोपाल र दिदी कौशिला पनि हातमा लाठी बोकी आइपुगे र हामी सबै जनाले लडिरहेको खड्गबहादुरलाई लाठी र मुंग्राले हिर्कायौं । मरिसकेपछि गाउँलेहरु आउन थोलपछि हामी भागी आफ्ना घरमा गई लुक्यौं, काका हरिप्रसाद, लक्ष्मीप्रसाद घटनास्थलमा आएनन् । घरैबाट हेरिरहे । खड्गबहादुरलाई कुट्नु पर्छ भन्ने सहमति चाहिं थियो भन्ने समेत व्यहोराको प्रेमप्रसाद ओलीले प्रहरीमा गरेको कागज ।

६.    ०४२।८।११ गते मियाँहरु लिई दाजु प्रेमप्रसाद बाँकी रहेको धान काट्न जानु भयो खड्गबहादुरले मियाँहरुलाई खेदी खुकुरी लाठी लिएर दाजु प्रेमप्रसादसंग बाद विवाद हुन थालेपछि भक्तिप्रसाद र दिदी कौशिल्या लाठी मुंग्रा लिएर गई सबैले खड्गबहादुरलाई घेरा हाली मैले पहिलापटक र त्यसपछि भक्तिप्रसादले टाउकोमा हिर्काई लडायौं लडेपछि अरु सबैले हिर्काए । मारिसकेपछि गाउँलेहरु आउन थाले पछि घरमा गई लुकी बस्यौं निजलाई मार्न पर्छ भन्ने काका लक्ष्मीप्रसाद, हरिप्रसाद र कृष्णप्रसाद पाठकको पनि सहमत थियो । वारदातमा हरिप्रसाद, लक्ष्मीप्रसाद थिएनन् । मार्न प्रयोग गरेको लाठी मुंग्रा बटमको टुक्रा वारदात स्थलमा नै छाडेका थियौं बरामद गरी ल्याएका यिनै हुन् भन्ने समेत व्यहोराको दीपक ओलीले प्रहरीमा गरेको  कागज ।

७.    घटनास्थलबाट अं. ५० गज फरकमा गाइवस्तु पगा लगाउँदै थिएँ । दाजु प्रेमप्रसाद र मियाँहरु धान काट्न थाले खड्गबहादुरले हातमा लाठी लिएर कराउन थाले पछि मियाँहरु भागे । दीपक, भक्ति पनि लाठी लिई आई कुटाकुट हुन आँटेकोले म गई झगडा नगर भने तर भाइहरु मानेनन प्रेमले हिर्काउन थाले त्यसपछि गोपाल भक्तिले कुट्न थालेपछि हुलमाल भई मैले पनि एकपटक हिर्काएँ भाइ भूपाल भने घटनास्थलमा देखिन भाइहरुको खड्गबहादुरलाई मार्ने विचारको सल्लाह थियो थिएन, मलाई थाहा थिएन, खड्गबहादुर वारदात स्थलमै मरेछन् भन्ने कौशिल्या ओलीले ०४२।८।१३ को प्रहरीमा गरेको कागज ।

८.    खड्गबहादुरको र दाजु प्रेमप्रसादको खेतमा वाद विवाद हुँदै थियो । दीपक भक्ति पनि लाठी लिई दौडेर खेतमा गए म भैंसी बाँध्न किलो काठको मुंग्राले ठोक्दै थिएँ, खड्गबहादुरलाई सबैले कुट्न थाले मैले पनि काठको किलो ठोक्ने मुंग्रो लिएर गई लडिरहेको खड्गबहादुरलाई १।२ पटक हिर्काएँ, खड्गबहादुर रगत पक्ष भएको देखी मलाई डर लाग्यो र म स्कूल गए पछि निजको प्राण गएछ भन्ने प्र.भूपाल ओलीले ०४२।८।१३ मा प्रहरीमा गरेको कागज ।

९.    २०४२।८।१० गते राती दाजु प्रेमप्रसाद ओली, दीपक ओली, भूपाल ओली, काका लक्ष्मी ओली, काका नाता पर्ने कृष्ण पाठक बसी अस्ती खड्गबहादुरले मद्दत पुर्‍याई धान लग्यो, भोलि बाँकी रहेको धान काट्नु पर्छ, खड्गबहादुर आयो भने हात खुट्टा भाँच्नु पर्छ भन्ने सल्लाहा भई ०४२।८।११ गते धान काट्न ५ जना मियाँ गएका र खड्गबहादुर लाठी लिएर आएपछि मियाँहरु भागेछन्, दाजुसंग वाता वाति झै झगडा भएको देखि प्रेम, भक्ति, भूपाल ओली समेतले कुटेर मर्णान्त पारेको अवस्था मैले पनि १ लाठी हिर्काएँ मार्ने उद्देश्य चाहिं थिएन भन्ने प्र.गोपाल ओलीले ०४२।८।११।३ मा प्रहरीमा गरेको कागज ।

१०.    २०४२।८।११ गते बिहान ८ बजे धान काट्न ५ जना मियाँ र दाजु प्रेम खेतमा पुगी धान काट्न थाले पछि खड्गबहादुरले खुकुरी र लाठी लिई कराउँदै खेतमा आएपछि मियाँहरु भागे दाजु प्रेमको र खड्गबहादुरको बीचमा वात हुँदा हुँदै खड्गबहादुरले प्रेमलाई लखेट्न थाले र म, भूपाल, दीपक, बिनोद भन्ने गोपाल र कौशल्या समेतले लाठी मुंग्रा, लिएर खड्गबहादुर भएमा पुग्यौं । खड्गबहादुरले कुट्न भनी हानेको लाठी छली पैला मैले र दीपकले खड्गबहादुरको टाउकोमा लाठीले हानी लडायौं, प्रेमले खड्गबहादुरको लाठी खुकुरी खोसे भूपाल र विनोदले पनि हिर्काए, कौशल्या घर गई पगा लाउँदै थिइन्, कौशल्याले हिर्काएको देखिन, खड्गबहादुर मर्णान्त भएपछि म घर गएँ, बुबा हरिप्रसाद वारदातमा हुनुहुन्नथ्यो, घरैमा हुनुहुन्थ्यो भन्ने प्र.भक्तिप्रसाद ओलीले ०४२।८।१३।५ मा प्रहरीमा गरेको कागज ।

११.    २०४२।८।११ गते म तुलसी चुडालको घरमा गएको थिएँ, चिया खाई घर फर्की घरघरे खोलामा आई पुग्दा वारदात स्थानमा हल्ला सुनी जाँदै गर्दा धेरै मानिस जम्मा देखें हाम्रो मान्छे मारेछन् यसमा हरीप्रसादको पनि हात छ यो कहाँ छ ठीक पार्नु पर्छ भन्ने कुरा गरेको सुनेपछि वारदात स्थलमा नपुगी घरमा गएँ जग्गामा म जान सकिन जग्गामा भतिजो प्रेमप्रसादको र खड्गबहादुरको खिचोला परी राखेकोले निजै भतिजाहरुले नै मारेको हो भन्ने हरिप्रसादको प्रहरीमा गरेको कागज ।

१२.   २०४२।८।११ गते विहान प्रेमप्रसादले धान काट्न जाँदा खड्गबहादुरले धान काट्न रोक्दा मियाँहरु भागे, प्रेमप्रसादका परिवार अथवा पक्राउ परेका व्यक्तिहरुले लाठी बटम समेतले कुटपिट गरी मारेका हुन् प्रेमप्रसादको घर छेउबाट मार भनी आदेश दिने कृष्ण पाठक १, हरिप्रसाद ओली १, लक्ष्मीप्रसाद १ समेत ३ जनाले मार भनी आदेश दिंदै थिए भन्ने केही व्यक्ति र कृष्ण पाठक, हरि ओली, लक्ष्मी ओलीको कुनै हात थिएन छैन भन्ने अधिकांश भनाई भएको २०४२।९।३ को सरजमीन मुचुल्का ।

१३.   विपक्षी प्रेमप्रसाद ओली, दीपक आली, कौशिल्या, भूपाल, गोपाल, भक्ति समेत ६ जनाले निज खड्गबहादुरलाई लाठी मुंग्रा बटम समेतले सबैले कुटपिट गरेको र घटनास्थलमै मृत्यु भएको हो भन्ने निर्विवाद रुपमा प्रष्ट हुन आएकोले निज ६ जना उपर ज्यानसम्बन्धीको १३(३) अनुसार सजायँ हुन र खड्गबहादुरलाई ज्यान मार्नमा पूर्णतया सहमत भई ज्यान मार्नमा बचन दिएको कुरा सिद्ध हुन आएबाट पक्राउ परी आएका हरिप्रसाद र फरार रहेका कृष्ण पाठक, लक्ष्मी ओली समेत ३ जना उपर ऐ.ऐनको १३ को दफा (४) अनुसार हुनु पर्ने भन्ने प्रहरी प्रतिवेदन ।

१४.   मैले एक्लैले मात्र खड्गबहादुरलाई कुटपिट गरी मारेको हुँ । निजकी श्रीमती गुहार भनी कराउन थाले पछि झोडा बासीहरु पनि मार, पक्र, भन्दै आउन थाले पछि म खुकुरी बोकी घरमा गई चामल राख्ने बाकसमा पसी बाहिरबाट श्रीमतीलाई साँचो लगाउन लगाए प्रहरीले घर खानतलासी गर्दा मलाई फेला पारी खुकुरी सहित पक्राउ गरेका हुन्, वारदात हुँदा खड्गबहादुर म बाहेक अरु कोही थिएन, आत्मरक्षाको लागि मारौं नै भन्ने नियत नभई कुटपिट गरी छाड्नु पर्‍यो भनी कुटपिट गरेको हो, भन्ने समेत व्यहोराको प्र.प्रेमप्रसाद ओलीले ०४२।९।७।१ मा अदालतमा गरेको बयान ।

१५.   म वारदातमा गएको थिएन, म काका जयप्रसादको घरमा थिएँ, दिउँसो प्रेमप्रसादको र खड्गबहादुरको कुटाकुट भई खड्गबहादुरको मृत्यु भएको कुरा सुनेको हुँ र वारदातमा म नगएको हुँदा झुठ्ठा अभियोगबाट सफाई पाउँ भन्ने प्र.दीपक ओलीले २०४२।९।७।१ मा अदालतमा गरेको बयान ।

१६.    वारदातमा म छुइन, गरामुनि गा.पं. वा.नं. ९ बस्ने अविकेशरको जग्गामा गाई वस्तु हेरी म ९ बजे घरमा आउनासाथ मृतक खड्गबहादुर मरेमा तिमी पनि छौ भनी प्रहरीले पक्रेका हुन् म निर्दोष छु भाइ दीपक र प्रेमले मलाई किन पोले भन्न सक्दिन । कुटपिट गरी मार्नमा म शरिक नहुँदा झुठ्ठा अभियोगबाट सफाई पाउँ भन्ने प्र.कौशिल्या ओलीले अदालतमा गरेको बयान ।

१७.   २०४२।८।११ गते स्कूलमा जाँच हुँदा ७.३० बजे स्कूल गएको हुँ म घरमा छुइन स्कूलको चौरीबाट प्रहरीले पक्रेका हुन्, वारदात स्थलमा छुइन र मैले मृतकलाई कुटपिट गरेको छैन बरामद भएको खुकुरी, समेत कहाँबाट कस्का हो दाखिल गरे थाहा पाइन भन्ने प्र.भूपाल ओलीले अदालतमा गरेको बयान ।

१८.   म र दीपक भात खाँदै थियौं, दाजु प्रेम प्रसाद ओली हातमा खुकुरी लिएर आई खड्गबहादुर म माथि आई लाग्यो, र मैले कुटेर आएँ भन्दा थाहा पाएको हो, घटनास्थलमा पुग्न घरबाट २००३०० गज पर्छ मेरो उमेर प्रहरीमा १७ वर्ष लेखेछन् तर मेरो उमेर १५ वर्ष भयो । मैले मृतकलाई कुटपिट गरेको होइन, म निर्दोष छु भन्ने प्र.गोपाल ओलीले अदालतमा गरेको बयान ।

१९.    २०४२।८।११ गते बिहानै ६ बजे बिराटपोखर मिलमा धान सुकाउन गएको छु । वारदातस्थल छुइन । अरु प्रतिवादीहरुले म समेत भई कुटपिट गरेको भनी किन लेखाए म जान्दिन म निर्दोष छु भन्ने प्र.भक्तिप्रसाद ओलीले अदालतमा गरेको बयान ।

२०.   २०४२।८।११ गते बिहान छोरा भक्तिलाई धान सुकाउन मिलमा पठाई बिहान ७ बजे तुलसीको रांगा पुर्‍याउन गई चिया खाएर घर फर्किंदा घरघरे खोलानेर आउँदा वारदात स्थलमा कल्याङ कुलुंग कुटाकुट पो भोकी भनी म वारदातस्थलमा नगई घरमा बसेको मात्र थिएँ मृतक खड्गबहादुरलाई प्रेमप्रसादले कुटेर मारेको भन्ने कुरा जि.प्र.का.मा आएपछि थाहा पाएको हुँ । रिसले म उपर किटानी जाहेरी दिएको भन्ने प्र.हरिप्रसाद ओलीले अदालतमा गरेको बयान ।

२१.   ०४२।८।११ भन्दा अगावै ०४२।८।२ गते नै म मेरो काठमाडौंको घरमा गएको थिएँ वारदात अवस्थामा म छुइन भन्ने प्र.कृष्ण पाठकले अदालतमा गरेको बयान ।

२२.   सरजमीन मुचुल्का प्रहरी प्रतिवेदन समेत सुनाउँदा सुने पञ्चबहादुरको र तुलसीको लुटपिट मुद्दामा मैले साक्षी बकेकोमा पदमबहादुर रिसाएर निजले जाहेरी लेखाएका र सरजमीनका मानिसलाई सिकाई मराउने सहमति थियो भन्ने दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको प्र. लक्ष्मीप्रसाद ओलीले अदालतमा गरेको बयान ।

२३.   निज प्रतिवादीहरु ६ जनाले कुटपिट गरी खड्गबहादुरको ज्यान मारेको देखिएकोले प्रहरी प्रतिवेदन माग दावी बमोजिमको कसूर गरेको ठहर्छ सो ठहर्नाले प्र.प्रेमप्रसाद ओली, दीपक ओली, भूपाल ओली, भक्तिप्रसाद ओली, कौशिल्या ओली समेतलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैद हुन्छ । प्र.गोपाल ओलीको उमेर वारदात हुँदाको अवस्थामा १४ वर्षको मात्र देखिनाले १३(३) नं. बमोजिमको सजायँको दण्ड सजायँको १ नं. ले १० वर्ष कैद हुन्छ । अन्य प्रतिवादीहरु लक्ष्मीप्रसाद ओली, हरिप्रसाद ओली १, कृष्णप्रसाद पाठक समेतले बचन दिएको भन्ने कुराको ठोस सबूद वादी पक्षबाट गुज्रन नआएको हुँदा सफाई पाउने ठहर्छ भन्ने समेत झापा जिल्ला अदालतको ०४४।८।१६।४ को फैसला ।

२४.   शुरुले गर्ने गरेको फैसलामा चित्त बुझेन इन्साफ पाउँ भन्ने समेत व्यहोराको दीपक ओली, कौशिल्या, भूपाल, गोपाल, भक्तिप्रसाद ओली १ समेतले कारागार शाखा झापा मार्फत मेची अञ्चल अदालतमा ०४४।१०।१०।१ मा चढाएको पुनरावेदनपत्र ।

२५.   शुरु जिल्ला अदालतको फैसलामा चित्त बुझेन इन्साफ पाउँ भन्ने समेत प्रेमप्रसाद ओलीले गरेको पुनरावेदनपत्र ।

२५.   कर्तव्य गरेको ठहर्न सक्ने कुनै स्वतन्त्र प्रमाण नभएकोले प्रतिवादीहरु कौशल्या, गोपाल, भूपाल, भक्तिप्रसादहरुले कसूरबाट सफाई पाउने ठहर्छ । यसकै प्रहारबाट मृतकको मृत्यु भएको भनी दावी नभएको र यसकै चोटबाट मर्न गएको भन्ने कुरा छुट्टिन नआएको हुँदा ती दुवै जनालाई ज्यानसम्बन्धी १३(३) बमोजिम जन्मकैद हुने हुनाले दीपक ओली र प्रेमप्रसाद ओली २ जनाको हकमा जन्मकैदको सजायँ हुने ठहर गरेको शुरुको इन्साफ मनासिब छ भन्ने समेत व्यहोराको मेची अञ्चल अदालतको मिति ०४५।५।७ को फैसला ।

२६.   कौशल्या समेतलाई सफाई दिने गरी गरेको फैसला चित्त बुझेन सो फैसला उल्टाई प्रहरी प्रतिवेदन बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको श्री ५ को सरकारको पक्षको र जन्मकैद गर्ने गरेको फैसला उपर चित्त बुझेन सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी दीपक ओली र प्रेमप्रसाद ओलीको बेग्लाबेग्लै पू.क्षे.अ. मा पर्न आएको पुनरावेदनपत्र ।

२७.   यसमा प्रतिवादीहरु कौशल्या ओली, भूपाल ओली, भक्तिप्रसाद ओलीले अदालत समक्ष अपराधमा इन्कार रही बयान गरेका छन् । प्रहरीमा भएको साविती अन्य भरपर्दो प्रमाणबाट पुष्टि हुन नसकेको कारण समेतबाट निजहरुलाई सफाई दिने गरेको मेची अञ्चल अदालतको इन्साफ मनासिब देखिँदा श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रेमप्रसाद ओलीको हकमा निजले आफू एक्लैले कुटपिट गरेको फलस्वरुप खड्गबहादुरको मृत्यु भएको भनी अदालतमा साविती बयान गरेको सरजमीन आदि बुझिएका सबूद प्रमाणबाट खड्गबहादुरसंग प्रेमप्रसाद ओलीको नै झगडा प्रारम्भ भई निजले खड्गबहादुरलाई लाठीले कुटेको तथ्य निर्विवाद रुपमा देखिँदा निजलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम जन्मकैद हुने ठहर्‍याएको मनासिब ठहर्छ । प्रतिवादी दीपक ओलीले दाजु प्रेमप्रसाद र खड्गबहादुर बीच विवाद हुँदा आफुले बटमले खड्गबहादुरलाई प्रहार गरेको भनी प्रहरीमा सावित भएको बरामद भएको बटममा रगतको दाग लागेको बटम बरामद समेत भएकोमा निजलाई पनि जन्मकैद गर्ने गरेको अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ । प्रतिवादीहरु कलिलै उमेरका भएको, खड्गबहादुरकै कारणबाट बारदात भएको र लाठीले मात्र प्रहार गरेको देखिँदा अ.बं. १८८ नं. को प्रयोग गरी १५ वर्ष कैद सजायँ गर्ने उचित हुने भन्ने समेतको पू.क्षे.अ. को फैसला ।

२८.   उक्त फैसलामा चित्त बुझेन । प्रतिवादी भूपाल ओली, भक्तिप्रसाद ओली समेत उपर किटानी जाहेरी परेको, प्रतिवादीहरु प्रहरी समक्ष सावित भएको तथा मृतकलाई दुई जनाले मात्रै मारेको नभई धेरै जना हुल भई मारेको हुँदा प्रतिवादी भूपाल ओली, कौशल्या ओली, गोपाल ओली, भक्तिप्रसाद ओलीलाई सफाई दिएको हदसम्म पू.क्षे.अ. को फैसला बदर गरी प्रहरी प्रतिवेदन दावी बमोजिम सजायँ गरी पाउँ भन्ने समेतको श्री ५ को सरकारको पुनरावेदनपत्र ।

२९.   प्रेमप्रसादलाई प्रहरीले जबरजस्ती गराएको कागजको भरमा मलाई दोषी सिद्ध गर्न मिल्दैन । मैले अदालत समक्ष अपराधमा पूर्ण रुपमा इन्कार रही बयान गरेको छु । प्रेमप्रसादले अदालतमा बयान गर्दा समेत मलाई सफाई दिई बयान गरेका छन् । वादीका कुनै पनि गवाहले मलाई कसूरदार भनी अदालतमा बकपत्र गनसकेका छैनन् । वारदात हुँदाको अवस्थामा म आफ्नै घरमा छु । मेरो अदालतमा भएको इन्कारी बयानलाई मेरा साक्षीको बकपत्रबाट यथेष्ट रुपमा पुष्टि भइरहेको अवस्थामा दोषी ठहर्‍याएको पू.क्षे.अ.को फैसला उल्ट्याई सफाई पाउँ भन्ने समेतको दीपक ओलीको पुनरावेदन ।

३०.   मैले कुनै मनसायपूर्वक अपराध गरेको थिइन । म धान काट्न कटाउन खेतमा गएको अवस्थामा खड्गबहादुर राई हातमा लाठी खुकुरी लिई म माथि आई लाग्दा आत्मरक्षाको लागि तत्काल उठेको रिसबाट लाठीले कुटेको चोटबाट निजको मृत्यु भएको हो निजले पहिला मलाई आक्रमण नगरेको भए वारदात नै हुने थिएन । निजलाई मारौं भन्ने मेरो कुनै षडयन्त्र तथा पूर्व तयारी समेत नभएको कुरा लाठी मुडकीको चोटबाट निजको मृत्यु भएकोले समेत स्पष्ट पार्दछ । प्रहरीमा मलाई कुटपिट गरी जबरजस्तीसंग कागज गराइएको हो । आत्मरक्षाको लागि उक्त अपराध हुन गएको भनी मैले अदालतमा बयान समेत गरेको छु । तसर्थ मृतक खड्गबहादुरले नै शुरुमा आक्रमण गरी मैले आफ्नो ज्यान बचाउनका खातिर वारदात घट्न गएकोले आत्मरक्षाको  सुविधा मैले पाउनु पर्छ । अतः मलाई जन्मकैदको सजायँ गर्ने गरेको पू.क्षे.अ. समेतको फैसला उल्टी गरी अभियोग दावीबाट सफाई पाउँ भन्ने समेतको प्रेमप्रसाद ओलीको पुनरावेदन ।

३१.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी प्रेमप्रसाद ओलीको तर्फबाट बहस गर्न उपस्थित विद्वान वैतनिक अधिवक्ता श्री विनोद रोकाले अपराध गर्दा पूर्व तयारी र मनसायको तत्व विद्यमान हुनुपर्दछ । यस केसमा खड्गबहादुर राईलाई मार्ने पूर्व योजना तथा मनसाय प्रेमप्रसाद ओलीको थिएन । मृतक खड्गबहादुरले नै पहिला आक्रमण गरेकोले आत्मरक्षाको लागि लाठी मुड्की प्रहार गर्दा निजको मृत्यु हुन गएको हुँदा प्रतिवादी प्रेम ओलीले आत्मरक्षाको सुविधा पाउनु पर्छ भन्ने समेतको बहस गर्नु भयो । अर्का पुनरावेदक प्रतिवादी दीपक ओलीको तर्फबाट बहस गर्न उपस्थित विद्वान अधिवक्ता श्री युवराज संग्रौलाले प्रस्तुत केशमा दीपक ओलीको कुनै संलग्नता छैन । प्रेम ओलीले आत्मरक्षार्थ प्रहार गरेको चोट पिरबाट खड्गबहादुरको मृत्यु भएको भन्ने कुरा प्रेम ओलीको बयानबाट प्रष्ट छ । दीपक ओली कसूरमा इन्कारी रही अदालतमा बयान गरेका छन् र निजको इन्कारी बयानलाई पुष्टि हुने गरी निजका साक्षीहरुले बकपत्र गरेका छन् । दीपक ओलीले अपराध गरेको कुरा वादी पक्षबाट पुष्टि हुनसकेको छैन । तसर्थ सफाई पाउनु पर्छ भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो । त्यस्तै पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट बहस गर्न खटिई आउनु भएका विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.ले वारदातमा भूपाल ओली, गोपाल ओली, कौशल्या ओली र भक्तिप्रसाद ओलीको पनि संलग्नता छ । निजहरुसंगै वारदातमा थिए र सबैले चोट छोडेको भन्ने कुरा अधिकारप्राप्त अधिकारी समक्ष गरेको बयानबाट पुष्टि भइरहेको छ । एकजनाले मात्रै प्रहार गरेको होइन भन्ने सरजमीनबाट समेत सिद्ध भएको छ । तसर्थ निज ४ जना प्रतिवादीहरुलाई सफाई दिएको हदसम्म पू.क्षे.अ.समेतको इन्साफ उल्टी गरी प्रहरी प्रतिवेदन दावी बमोजिम सजायँ गरी पाउँ भन्ने समेतको बहस गर्नु भयो ।

३२.   प्रस्तुत मुद्दामा पू.क्षे.अ. को इन्साफ मिलेको छ छैन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

३३.   यसमा निर्णयतर्फ हेर्दा प्रतिवादी प्रेमप्रसाद ओली, निजको परिवार र मृतक खड्गबहादुर राइका बीच जग्गाको बाली काट्ने सम्बन्धमा विवाद परी वारदात घट्न गएको देखिन्छ । मृतक र प्रतिवादीहरु बीच सोही विषयमा अघिल्ला वर्षहरुमा पनि झगडा परेको भन्ने कुरा जाहेरवाला अम्बिका राइको बकपत्रबाट पुष्ट्याई भएको देखिन्छ । घटनास्थलमा को को उपस्थित थिए भन्ने सम्बन्धमा जाहेरवाली तथा सरजमीनका मानिसहरुको बकपत्रबाट प्रेमप्रसाद ओली तथा दीपक ओली समेत उपस्थित भएको भन्ने पुष्टि गरेको छ । लाश जाँच प्रतिवेदनको अध्ययन गर्दा मृतकको जीउमा विभिन्न चोट परेको तथा टाउको फुटी गिदी समेत निस्केको भन्ने देखिएको छ । प्रेमप्रसाद ओलीले कसूरमा सावित भई प्रहरी तथा अदालतमा बयान गरेको देखिन्छ । आत्मरक्षाको लागि अपराध गरेको भन्ने जिकिरको सम्बन्धमा मृतकलाई एक दुई चोट मात्र प्रहार गरेको नभई शरीर भरी ठाउँ ठाउँमा पटक पटक प्रहार गरी घाउ चोट पारेको देखिन्छ । साथै प्रेमप्रसाद ओलीले अदालतमा बयान गर्दा आफूले मात्र अपराध गरेको भनी दीपक ओलीलाई अपराधिक कृयाबाट अलग गर्न खोजिएको देखिन्छ । तर भाइलाई बचाउन पनि त्यस प्रकारको बयान हुन स्वाभाविक देखिन्छ । अब दीपक ओलीको प्रहरीमा भएको साविती अन्य स्वतन्त्र सबूद प्रमाणबाट समर्थित भएको छ छैन भनी हेर्दा सहअभियुक्तको पोल तथा पोष्ट मार्टम रिपोर्टमा देखाइएका घाउ प्रकृतिबाट निजको प्रहरीमा भएको सावितीलाई पुष्टि गरेको छ । त्यस्तै किटानी जाहेरी दर्खास्त तथा जाहेरवालीको बकपत्र समेतबाट दीपक ओली पनि अपराधमा सरिक भएका कुरालाई समर्थित गरेको पाइन्छ । दीपक ओलीले प्रहरी समक्ष बयान गर्दा काठको बटमले पहिलो चोट आफुले हिर्काएको भनी बयान गरेको र घटनास्थलमा रगत लागेको बटम फेला परेको भन्ने देखिन्छ । तसर्थ सफाई पाउनुपर्छ भन्ने प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रतिवादी प्रेमप्रसाद ओली तथा दीपक ओलीलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) बमोजिम जन्मकैद गर्ने गरेको शुरु तथा अञ्चल अदालतको इन्साफ सदर गरेको पू.क्षे.अ. को इन्साफ मनासिब हुँदा सदर हुने ठहर्छ ।

३४.   अब प्रेमप्रसाद ओलीको हकमा सजायँ घटाई १५ वर्ष मात्र कैद सजायँ गर्ने भनी पू.क्षे.अ. ले राय व्यक्त गरेतर्फ विचार गर्दा मृतक खड्गबहादुरलाई काठको बटम समेतले पटक पटक चोट छाडी क्रुरतापूर्वक ज्यान मारेको भन्ने देखिन्छ । अपराध घटित भएको अवस्थालाई समेत विचार गर्दा ऐन बमोजिम सजायँ गर्दा चर्को पर्ने देखिएन । तसर्थ प्रेमप्रसादको हकमा सजायँ घटाउने भन्ने पू.क्षे.अ. को राय मनासिब देखिएन । अर्को प्रतिवादी दीपक ओलीको हकमा परिवारसंगको झगडामा घटनास्थलमा पुगी पहिलो चोट छाडेको देखिएको तथा निजले मृतकलाई मारौं भन्ने समेतको पूर्व योजना नभएको समेतबाट अपराध गरेको अवस्था समेतबाट जन्मकैदको सजायँ गर्दा चर्को पर्ने भएकोले निजको अपराधिक संलग्नतालाई दृष्टिगत गरी घटी सजायँ हुन उपयुक्त नै देखिएकोले अ.बं. १८८ नं. बमोजिम प्रतिवादी दीपक ओलीलाई १० वर्षको कैद सजायँ हुन्छ ।

३५.   अरु प्रतिवादीहरु भूपाल ओली, गोपाल ओली, भक्तिप्रसाद ओली र कौशल्या ओलीलाई सफाई दिएको मिलेन भन्ने श्री ५ को सरकारको पुनरावेदन जिकिरको हकमा प्रतिवादीहरुले अदालत समक्ष कसूरमा इन्कार रही बयान गरेको देखिन्छ । निजहरुका प्रहरी समक्ष भएको साविती बयानलाई अन्य सबूद प्रमाणबाट पुष्टि हुन सकेको देखिँदैन । तसर्थ निजहरुलाई सफाई दिने गरेको मेची अञ्चल अदालतको इन्साफ सदर गरेको पू.क्षे.अ. को इन्साफ मनासिब हुँदा सदर हुने ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । अरु तपसील बमोजिम गर्नु ।

तपसील

पुनरावेदक प्रतिवादी दीपक ओली के माथि इन्साफ खण्डमा लेखिए बमोजिम अ.बं. १८८ नं. अनुसार कैद वर्ष १०(दश) सजायँ हुन्छ । निज मिति २०४२।८।१२ देखि प्रहरी हिरासतमा रहेको र हाल कारगार शाखा वीरगन्जमा थुनामा रहेको मिसिलबाट देखिएकोले सोही मिति देखि कैद कट्टा गर्नु भनी शुरु झापा जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु...१, पुनरावेदक प्रतिवादी दीपक ओली के माथि इन्साफ खण्डमा लेखिए बमोजिम दश वर्ष कैद हुने ठहरेकोले निजलाई शुरु झापा जिल्ला अदालतका मिति २०४४।८।१६।४ का फैसलाले ज्यानसम्बन्धीको १३(३) बमोजिम जन्मकैद गर्ने गरेको लगत कायम राख्नु परेन सो लगत कट्टा गर्नु भनी शुरु झापा जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु...२, पुनरावेदन फैसला भएको जानकारी पुनरावेदकहरुलाई दिन...३ मिसिल नियमानुसार गरी बुझाई दिनु...४

 

उक्त रायमा म सहमत छु ।

 

न्या.प्रचण्डराज अनिल

 

इति सम्वत् २०४६ साल चैत्र ५ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु