शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७५८७ - परमादेश ।

भाग: ४७ साल: २०६२ महिना: पौस अंक:

निर्णय नं.७५८७           ने.का.प.२०६२              अङ्क ९

 

सर्वोच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी

माननीय न्यायाधीश श्री रामनगीना सिंह

माननीय न्यायाधीश श्री गौरी ढकाल

संबत् २०६२ सालको रि.पू.ई.नं. ...१०

आदेश मितिः २०६२।९।७।५

 

बिषय :परमादेश ।

 

निवेदकः बर्दिया जिल्ला, गुलरिया नगरपालिका वडा नं. ६ घर भई हाल का.जि.का. म.न.पा.वडा नं. १६ डेरा गरी वस्ने मेघेन्द्र प्रकाश गिरी

बिरुद्ध

विपक्षीः त्रिभुवन विश्वविद्यालय, केन्द्रीय कार्यालय, कीर्तिपुर, काठमाडौ समेत

 

§  निवेदकले प्रथम वर्षको परीक्षा फर्म भरी परीक्षार्थीको सूचीमा आफू समावेश भइसकेको भनी कुनै जिकिर लिन सकेको नदेखिएको अवस्थामा त्रि.वि.संगठन तथा शैक्षिक प्रशासन सम्वन्धी नियमको व्यवस्था अनुसार निजलाई द्वितीय खण्डको कक्षामा प्रवेश पाउनको लागि योग्य भएको मान्न नमिल्ने ।

(प्रकरण नं.१०)

§  २०५४ सालमा प्रथम खण्डको परीक्षामा समावेश हुन फारम नभरी द्वितीय खण्डको कक्षामा प्रवेश गरी प्रथम तथा द्वितीय खण्डको परीक्षाको लागि २०५५ सालमा  एकैसाथ फर्म भरी दुवै खण्डको परीक्षामा सामेल भएको कार्य नै नियमसम्मत भएको मान्न नमिल्ने भई ट्रान्सक्रिप्ट पाउनुपर्ने भन्ने निवेदकको जिकिर मनासिब  नदेखिने ।

(प्रकरण नं.११)

 

निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री शालिकराम आचार्य

विपक्षी तर्फवाटः विद्वान अधिवक्ता श्री नारायणप्रसाद खनाल

अवलम्वित नजीरः

 

आदेश

            न्या.रामनगिना सिंहः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत दर्ता भई सर्बोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) अनुसार यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको व्यहोरा तथा यस अदालतको आदेश यसप्रकार छः-

            २.    म निवेदक वाणिज्य शास्त्रमा स्नातक तह उत्तिर्ण गरी शैक्षिक सत्र २०५३०५५ मा शंकरदेव क्याम्पस, पुतली सडकमा बाणिज्यशास्त्रको स्नातकोत्तर तहमा भर्ना भई नियमित रुपमा अध्ययन गरेको थिएँ । घरायसी कारणले २०५४ सालमा लिइएको प्रथम खण्डको परीक्षामा सामेल हुन सकिन । मैले त्रि.वि.वि.लाई बुझाउनु पर्ने सवै शुल्कहरू बुझाई द्वितीय वर्षमा भर्ना भई २०५५ सालमा लिइएको प्रथम र द्वितीय दुवै खण्डको परीक्षामा सहभागी भएँ । उक्त दुवै खण्डमा केही बिषयमा उत्तिर्ण र केहीमा अनुत्तिर्ण एवं अनुपस्थित भएको कारणले पुनः २०५६ सालमा परीक्षामा सम्मिलित भै आंशिक सफलता प्राप्त भएकोले पुनः २०५७ सालमा सामेल भै स्नातकोत्तर तहको सम्पूर्ण बिषयहरू उत्तिर्ण गरें । यस पछि लाग्ने दस्तुर बुझाई ट्रान्सक्रिप्टको लागि त्रि.वि.परीक्षा नियन्त्रण कार्यालयमा आवेदन दिएकोमा मैले ट्रान्सक्रिप्ट पाउनु नसक्ने जवाफ दिएको हुँदा परीक्षा नियन्त्रक समक्ष निवेदन दर्ता गराएकोमा कुनै कारवाही भएन ।

३.    त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को नियम २९२ मा विश्वविद्यालय अन्तर्गत सम्वन्धित विद्या परिषदले तहगत तोकेको सम्पूर्ण पाठ्याँशहरूको यस नियमको व्यवस्था अनुरुप आवश्यक प्रकृया पूरा गरी परीक्षा उत्तिर्ण गरेको परीक्षार्थीबाट निर्धारित शुल्क सहित आवेदन आएमा परीक्षा नियन्त्रण कार्यालयले ट्रान्सक्रिप्ट दिनेछ ।भन्ने व्यवस्था र नियम ३०७ को विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्ने विद्यार्थी, प्रशिक्षार्थी वा अनुसन्धानकर्ताहरूलाई देहायका शर्तहरू पूरा गरेपछि सम्वन्धित उच्च शिक्षाको प्रमाणपत्र दिइनेछ भन्ने व्यवस्थाको उल्लंघन गरिएको छ । उक्त कार्यले उक्त नियमको नियम २०२ को खण्ड (घ) र (ङ) र नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ अनुसार समानता तथा धारा १२ ले प्रदान गरेको स्वतन्त्रतामा समेत असर पर्नुकासाथै मेरो शिक्षा प्राप्त गर्ने नैसर्गिक मानव अधिकार समेत उल्लंघन भई मलाई अपुरणीय क्षती भएकोले विपक्षीहरूका नाउँमा परमादेश लगायत जो चाहिने आदेश जारी गरिपाऊँ भन्ने समेत व्यहोराको निवेदनपत्र ।

            ४.    विपक्षीहरूका नाउँमा लिखितजवाफ पठाउनु भनी सूचना पठाई लिखितजवाफ परेपछि वा अवधि नाघेपछि नियमानुसार गरी पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासबाट मिति २०५९।१०।१४ मा भएको आदेश ।

            ५.    त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा लिइने बिभिन्न तहको परीक्षामा संलग्न हुनको लागि कुनै पनि व्यक्ति त्रि.वि. अन्तर्गतको क्याम्पसमा भर्ना हुनु पर्ने हुन्छ । यसरी भर्ना भई अध्ययन पूरा गरेका विद्यार्थीहरूले निर्धारित परीक्षा फाराम भरी परीक्षार्थीहरूको सूचीमा समाविष्ट भइ प्रवेश पत्र एवं सिम्वल नम्वर लिएको हुनु पर्दछ । प्रथम बर्षको जाँच नदिई अनुपस्थित भएमा उक्त विद्यार्थी सवै बिषयमा अनुत्तिर्ण भएको मानिने व्यवस्था त्रि.वि.संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को नियम २१७ मा उल्लेख भएको हुँदा कुनै पनि विद्यार्थीले कुनै पनि तहको द्वितिय बर्षमा भर्ना हुन प्रथम बर्षको परीक्षार्थीको सूचीमा समावेश हुनु पर्ने अनिवार्यता छ । निवेदकले २०५४ सालमा प्रथम बर्षको परीक्षा फाराम भर्नु पर्नेमा नभरी एकै पटक द्वितीय वर्षमा भर्ना भएको देखिन्छ । प्रथम बर्षको परीक्षार्थीको रुपमा दर्ता नभई दोस्रो बर्षमा भर्ना भई २०५५ सालमा व्यहोरा ढाँटी क्याम्पसलार्इ समेत झुक्याई प्रथम र द्वितीय बर्षको एकै पटक परीक्षा फाराम भरी जाँच दिई सोही आधारमा व्याक पेपर दिएको रेकर्डबाट देखिन्छ । त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को परिच्छेद ६० अन्तर्गत नियम २१७ मा प्रथम खण्डका पाठ्याँशहरूको अध्ययन पूरा भई परीक्षार्थीहरूको सूचीमा समाविष्ट भइसकेका विद्यार्थीहरू परीक्षामा अनुपस्थित भएमा वा अनुत्तिर्ण भएमा उक्त तहको द्वितिय खण्डको कक्षामा प्रवेश पाउनको लागि अन्यथा तोकिए बाहेक योग्य हुनेछन् भन्ने व्यवस्था छ । तर निवेदक प्रथम बर्षको परीक्षा फाराम पनि नभरेको र परीक्षार्थीको रुपमा दर्ता समेत नभएकोले परीक्षामा अनुपस्थित वा अनुत्तिर्ण भएको सम्झन मिल्दैन ।  त्यस्तो अवस्थामा दोस्रो वर्षमा भर्ना भई प्रथम र द्वितीय बर्षको एकै पटक जाँच दिने कार्य उपरोक्त नियमको प्रतिकूल छ । नियम २०२(घ) र २१७ को प्रकृया पूरा गरेको भन्न सक्ने अवस्था नरहेको हुनाले ट्रान्सक्रिप्ट नदिइएको हो । प्रथम बर्षको परीक्षा फाराम भरेको हुनु पर्नेमा सो बमोजिम नभएको हुँदा नियम २९२ लागू हुन सक्तैन । निवेदकको कार्य नियम २१७ को प्रतिकूल भएकोले निजलाई ट्रान्सक्रिप्ट दिन नमिल्ने भएकोले रिट निवेदन खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय,परीक्षा नियन्त्रण कार्यालय,केन्द्रीय परीक्षा सञ्चालक समिति एवं परीक्षा नियन्त्रकको संयुक्त लिखितजवाफ ।

            ६.    निवेदकले विश्वविद्यालयले निर्धारण गरेको प्रथम र द्वितीय वर्षको पाठ्यक्रम अनुरुपका बिषयहरूको परीक्षा उत्तिर्ण गरेको भन्ने बिषयमा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट समेत कुनै प्रश्न उठाएको पाइँदैन । निवेदकले नियम अनुरुप प्रक्रिया पूरा गरी द्वितीय वर्षमा प्रवेश पाई परीक्षा उत्तिर्ण गरी सकेको तथ्य मिसिल संलग्न शंकरदेव क्याम्पसले प्रदान गरेको चारित्रिक प्रमाण पत्र र परीक्षा नियन्त्रण कार्यालयले प्रदान गरेको लव्धाङ्क पत्रको छाँया प्रतिहरूबाट समेत पुष्टि हुन आएको देखिन्छ । यसरी निवेदकले अध्ययन क्रममा बिभिन्न चरणहरू पूरा गर्दा उक्त नियम प्रतिकूल भए परीक्षा दिने समयमा नै रोक्का राख्नु पर्नेमा सो नगरी ट्रान्सक्रिप्ट दिने बेलामा मात्र दिन नमिल्ने भनी रोकिएको कार्य कानून अनुकूल र न्यायसम्मत मान्न मिलेन । तसर्थः निवेदकलाई निजले उत्तिर्ण गरेको परीक्षाको ट्रान्सक्रिप्ट प्रमाणपत्र उपलव्ध गराउनु भनी बिपक्षीहरूका नाउँमा परमादेशको आदेश जारी हुने ठहर्छ । यस्तै विवाद समावेश भएको निवेदक राजेश श्रेष्ठ, विपक्षी त्रिभुवन विश्वविद्यालय समेत भएको २०५८ सालको रिट नं. ३७९० को उत्प्रेषण मुद्दामा यस अदालतको संयुक्त इजलासबाट मिति २०६१।९।२०।३ मा २०५४ सालको प्रथम खण्डको परीक्षा फाराम नभरी एकै पटक द्वितीय खण्डमा भर्ना भई दुवै तहको परीक्षा दिएको नियम २१७ अनुरुप नभएकोले ट्रान्सक्रिप्ट नदिएको कार्यलाई अन्यथा भन्न मिल्ने नदेखिंदा रिट निवेदन खारेज हुने ठहर्छ भनी आदेश भएकोले विवादको बिषयवस्तु एउटै रहेका यी दुवै रिट निवेदनहरूमा एउटा संयुक्त इजलासबाट रिट खारेज भएको र अर्को संयुक्त इजलासबाट रिट जारी भएकोले दुइ इजलासबाट एउटै बिषयमा भएका भिन्दा भिन्दै निर्णयमा  एकरुपता कायम गर्नु पर्ने अवस्था देखिंदा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) (ख) बमोजिम प्रस्तुत रिट निवेदन पूर्ण इजलास समक्ष पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०६१।१२।२३ को  आदेश ।     

७.    प्रस्तुत रिट निवेदनमा निवेदक तर्फबाट विद्वान अधिवक्ता श्री शालिकराम आचार्यले रिट निवेदकले पहिलो बर्षको अध्ययन पूरा गरी दोस्रो बर्षमा भर्ना भएकोमा विवाद छैन । दोश्रो बर्षमा पहिलो र दोश्रो बर्षको परीक्षा फारम एकैसाथ भरिएकोमा उक्त फारम स्वीकृत गरी निजलाई परीक्षामा सामेल गराइएकोछ । त्यसपछिका बर्षहरूमा पनि निवेदकले भरेको परीक्षा फारमलाई स्वीकार गरी परीक्षामा सामेल हुन दिइएको छ । निजको परीक्षाफल प्रकाशित गर्ने कार्य रोक्ने वा रद्द गर्ने काम समेत गरिएको छैन । दोस्रो बर्षमा भर्ना भई सकेपछि नियम २१७ को औचित्य समाप्त हुन्छ । निवेदकले परीक्षा उत्तीर्ण गरेको परीक्षाफल तथा निजले प्राप्त गरेको लब्धाङ्कपत्र बदर नभएको अवस्थामा त्यसलाई प्रमाणित गर्ने ट्रान्सक्रिप्ट नदिने भन्न मिल्दैन । यसर्थ निवेदकलाई ट्रान्सक्रिप्ट दिनु भनी  निवेदन माग बमोजिमको आदेश जारी गरिनु पर्दछ भन्ने समेत व्यहोराको वहस गर्नु भयो । विपक्षी तर्फवाट विद्वान अधिवक्ता श्री नारायणप्रसाद खनालले रिट निवेदकले प्रथम बर्षको परीक्षाको फाराम भर्नु भएको छैन । विश्वविद्यालयको संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को  नियम २१७ र २९२ मा उल्लिखित सम्पूर्ण प्रक्रिया पूरा गरी परीक्षा उत्तिर्ण गरेका परीक्षार्थीहरूलाई मात्र ट्रान्सक्रिप्ट दिनु पर्ने व्यवस्था छ । निवेदकले त्यस अनुसारको प्रक्रिया पूरा गर्नु भएको छैन । यस विषयमा रिट निवेदक प्रकाश श्रेष्ठको रिट निवेदनमा यस अदालतवाट नियमको व्याख्या सहित निर्णय भइसकेको छ । उक्त रुलिंगसंग असहत भएको भनी पूर्ण इजलासमा पठाउने आदेश गर्दा संयुक्त इजलासवाट नियमको व्याख्या गरी अघि कायम भएको रुलिंगसंग असहमत रहेको आधार र कारण उल्लेख गरिएको छैन । यसैले उक्त निर्णय अनुसार रिट निवेदन खारेज गरिनु पर्दछ भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नु भयो ।

८.    विद्वान कानून व्यवसायीहरूको उल्लिखित व्यहोराको बहस जिकिर समेत सुनी निर्णय तर्फ विचार गर्दा प्रस्तुत रिट निवेदनमा निवेदन माग बमोजिमको आदेश जारी हुनु पर्ने हो होइन भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।

९.    निवेदन व्यहोरा अध्ययन गर्दा वाणिज्य शास्त्र विषयको स्नातकोत्तर तहमा २०५३ सालमा शंकर देव क्याम्पसमा भर्ना भई अध्ययन गरेकोमा घरायसी कारणले २०५४ सालमा संचालन गरिएको परीक्षामा सामेल हुन नसके पनि दोश्रो बर्षको लागि बुझाउनु पर्ने शुल्क बुझाई अध्ययन पूरा गरी प्रथम बर्ष तथा दोश्रो बर्षको परीक्षा फारम एकै साथ भरी दुवै वर्षको परीक्षामा समावेश भई पटक पटक परीक्षा दिई उत्तिर्ण भइसकेपछि पनि त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयवाट ट्रान्सक्रिप्ट नदिएको कार्य त्रिभुवन विश्वविद्यालय, संगठन तथा शैक्षिक प्रशासन सम्वन्धी नियम, २०५० को नियम २९२ समेत विपरीत भएको र त्यसवाट संविधानको धारा ११ तथा १२ द्वारा प्रदत्त मौलिक हक समेत उल्लंघन हुन गएकोले निवेदकले उत्तीर्ण गरेको परीक्षाको ट्रान्सकृप्ट दिनु भनी परमादेशको आदेश जारी गरिपाऊँ भन्ने मागदावी लिएको देखिन्छ । विपक्षीहरूको लिखितजवाफमा त्रिभुवन विश्वविद्यालय, संगठन तथा शैक्षिक प्रशासन सम्वन्धी नियम, २०५० को नियम २१७ अनुसार प्रथम बर्षको परीक्षाको फाराम भरी परीक्षार्थीको सूचीमा अनिवार्य रुपमा समावेश हुनु पर्नेमा निवेदकले त्यस अनुसार नगरी दोस्रो बर्षमा भर्ना भई प्रथम र दोस्रो बर्षको परीक्षाको फाराम एकै साथ भरी तत्पश्चात पुनः परीक्षा दिई उत्तिर्ण गरेको कार्य नियम २१७ र २९२ बिपरित हुँदा ट्रान्सक्रिप्ट नदिएकाले रिट निवेदन खारेज हुनु पर्ने जिकिर लिएको पाइन्छ । प्रस्तुत रिट निवेदन संयुक्त इजलास समक्ष पेश हुँदा  निवेदकलाई निजले उत्तिर्ण गरेको परीक्षाको ट्रान्सक्रिप्ट प्रमाणपत्र उपलव्ध गराउनु भनी बिपक्षीहरूका नाउँमा परमादेशको आदेश जारी हुने ठहर गरी निवेदक राजेश श्रेष्ठ विपक्षी त्रिभुवन विश्वविद्यालय समेत भएको २०५८ सालको रिट नं. ३७९० को उत्प्रेषण मुद्दामा यस अदालतको संयुक्त इजलासबाट मिति २०६१।९।२०।३ मा रिट खारेज हुने गरी निर्णय भएको देखिएकोले समान विषयको रिट निवेदनमा दुई संयुक्त इजलासको निर्णयमा एकरुपता नभएको भनी  सर्बोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) (ख) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने आदेश अनुसार प्रस्तुत मुद्दा यस इजलास समक्ष पेश हुन आएको देखिन्छ ।    

१०.    त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को नियम २१७ मा प्रथम खण्डका पाठ्याँशहरूको अध्ययन पूरा भइ परीक्षार्थीको सूचीमा समाविष्ट भइसकेका विद्यार्थीहरू परीक्षामा अनुपस्थित भएमा वा अनुत्तिर्ण भएमा उक्त तहको द्वितिय खण्डको कक्षामा प्रवेश पाउनका लागि अन्यथा तोकिए बाहेक योग्य हुनेछन्भन्ने व्यवस्था रहेको देखिन्छ । उल्लेखित व्यवस्था अनुसार प्रथम खण्डको पाठ्याँशहरूको अध्ययन पूरा गरी परीक्षा फर्म भरी परीक्षार्थीको सूचीमा समावेश भएको अवस्थामा  परीक्षामा अनुपस्थित भएको वा अनुत्तिर्ण भए पनि द्वितीय खण्डको कक्षामा प्रवेश पाउनको लागि योग्य मानिने र उल्लेखित प्रक्रिया पूरा भएको नपाइएमा द्वितीय खण्डको कक्षामा प्रवेश पाउन सक्ने देखिंदैन । यी निवेदकले आफूले प्रथम खण्डको अध्ययन पूरा गरी परीक्षा फर्म भरी परीक्षार्थीको सूचीमा समावेश भएको वा परीक्षामा अनुपस्थित वा अनुत्तीर्ण भएको भनी कुनै जिकिर लिन सकेको वा सो कुरा पुष्टि गर्ने प्रवेश पत्र लगायतको कुनै आधार देखाउन सकेको पाइँदैन । निजले आफ्नो घरायसी कारणले गर्दा प्रथम वर्षको परीक्षामा  सामेल हुन नसकेको भनी रिट निवेदनमा स्वीकार गरेको र निजले प्रथम वर्षको परीक्षा फर्म भरी परीक्षार्थीको सूचीमा आफू समावेश भइसकेको भनी कुनै जिकिर लिन सकेको नदेखिएको अवस्थामा उल्लेखित नियमको व्यवस्था अनुसार निजलाई द्वितीय खण्डको कक्षामा प्रवेश पाउनको लागि योग्य भएको मान्न मिलेन । यसैले निजले २०५४ सालमा प्रथम खण्डको परीक्षामा समावेश हुन फारम नभरी द्वितीय खण्डको कक्षामा प्रवेश गरी प्रथम तथा द्वितीय खण्डको परीक्षाको लागि २०५५ सालमा  एकैसाथ फर्म भरी दुवै खण्डको परीक्षामा सामेल भएको कार्य नै नियम सम्मत भएको मान्न मिलेन ।

११.    त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को परिच्छेद ७१ मा गरिएको ट्रान्सक्रिप्ट जारी सम्वन्धी व्यवस्था अध्ययन गर्दा सो परिच्छेद अन्तर्गतको नियम २९२ मा विश्वविद्यालय अन्तर्गत सम्वन्धित विद्यापरिषदले तहगत तोकेको सम्पूर्ण पाठ्याँशहरूको यस नियमको व्यवस्था अनुरुप आवश्यक प्रक्रिया पूरा गरी परीक्षा उत्तिर्ण गरेको परीक्षार्थीबाट निर्धारित शुल्क सहित आवेदन आएमा परीक्षा नियन्त्रण कार्यालयले ट्रान्सक्रिप्ट दिनेछभन्ने समेत व्यवस्था गरेको देखिन्छ । निवेदकले नियमको सो व्यवस्था अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरेकोले आफूले ट्रान्सक्रिप्ट पाउनु पर्ने जिकिर लिएको पाइन्छ । माथि उल्लेख भए अनुसार निवेदकले २०५४ सालमा प्रथम खण्डको परीक्षामा समावेश हुन फारम नभरी द्वितीय खण्डको कक्षामा प्रवेश गरी प्रथम तथा द्वितीय खण्डको परीक्षाको लागि २०५५ सालमा  एकैसाथ फर्म भरी दुवै खण्डको परीक्षामा सामेल भएको कार्य नै नियम सम्मत भएको मान्न नमिल्ने भएकोले निजले नियमद्वारा तोकिएको सम्पूर्ण प्रक्रिया पूरा गरेको मान्न नमिल्ने हुँदा नियम २९२ को व्यवस्था अनुसार ट्रान्सक्रिप्ट पाउनु पर्ने भन्ने निवेदकको जिकिर मनासिब देखिन आएन ।

१२.   यस्तै प्रकृतिको विवाद समावेश भएको सम्वत् २०५८ सालको रिट नं. ३७९० निवेदक राजेश श्रेष्ठ विरुद्ध त्रिभुवन विश्वविद्यालय, केन्द्रीय कार्यालय समेत भएको उत्प्रेषण विषयको रिट निवेदनमा मिति २०६१।९।२० मा यस अदालतको संयुक्त इजलासवाट रिट निवेदन खारेज हुने ठहरी निर्णय भइसकेको अवस्था भएको र उक्त निर्णयसंग असहमत हुनु पर्ने मनासिव आधार र कारण समेत भएको नदेखिंदा प्रस्तुत रिट निवेदनमा निवेदन माग बमोजिमको आदेश जारी हुने ठहराई संयुक्त इजलासवाट व्यक्त रायसंग सहमत हुन सकिएन । यसर्थ निवेदन माग बमोजिमको आदेश जारी हुन सक्ने अवस्था रहेको नदेखिंदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । मिसिल नियमानुसार बुझाई दिनु ।

 

उपर्युक्त रायमा सहमत छौं ।

 

न्या.मीनवहादुर रामामाझी

न्या.गौरी ढकाल

 

इति संबत् २०६२ साल पौष ७ गते रोज ५ शुभम ..........

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु