निर्णय नं. ४०५१ - भ्रष्टाचार

निर्णय नं. ४०५१ ने.का.प. २०४७ (क) अङ्क १
संयुक्त इजलास
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४६ सालको फौ.पु.नं. २६५
फैसला भएको मिति : २०४६।१२।२२।४ मा
पुनरावेदक/वादी : नेपाल बैंक लिमिटेड बुधबारेको पत्रले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : धरान न.पं.वा.नं.१३ बस्ने पूर्णबहादुर श्रेष्ठ
मुद्दा : भ्रष्टाचार
(१) मौकामा जाँचबुझ गरी सुनले खाने रकम मात्र भुक्तानी दिनु पर्नेमा जाँचबुझ नगरी आफ्नो जिम्माको रकम भुक्तानी दिई लापरवाहीबाट रकम हिनामिना भएको अवस्थामा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३(१) आकर्षित हुने अवस्था नदेखिने ।
(प्रकरण नं. ४१)
(२) खजान्चीको लापरवाहीबाट सम्पत्ति हिनामिना हुन गएमा सो हिनामिना भएको रकम बैंक र खजान्ची बीच भएको सम्झौताको शर्त नं. १३ अन्तर्गत खजान्चीबाट असूल गर्नुपर्ने ।
(प्रकरण नं. ४१)
पुनरावेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.
फैसला
न्या.त्रिलोकप्रताप राणा
१. पू.क्षे.अ. को इन्साफमा चित्त नबुझी वादी श्री ५ को सरकारतर्फबाट पुनरावेदन पर्न आई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।
२. त्यस कार्यालयका खजान्ची पूर्णबहादुर श्रेष्ठले सरुवा भई आउने खगेन्द्रबहादुर के.सी. हाजिर भइसक्दा पनि बर बुझारथ नगरी बाहिर बाहिरै छुट्टी लिई बस्ने गरेको र काममा समेत बाधा उत्पन्न भइरहेछ । अतः निजले बैक प्रति गरी आएको कुविचारले स्थानीय वातावरण पनि धमिलो भई बैंक प्रति नराम्रो असर पर्ने भएकोले अविलम्ब कारवाही गरी पाउँ भन्ने समेत नेपाल बैंक बुधबारे झापाको मिति २०३९।५।१५ को पत्र ।
३. नेपाल बैंक बुधबारेमा राखेको कर्जाको फाँटवारी ठीक छ ती सुनचाँदी राखेर भुक्तानी दिएको मैले नै हो । बैंक गार्ड राजकेशर गजेन्द्र, परशुरामका श्रीमती र उनीहरुका नातेदार भनेका हुँदा र पटक पटक झिकेका र गार्डहरुले मौखिक सिफारिश गरेको हुँदा कर्मचारीहरुको विश्वासमा परी कर्जा दिएको हुँ । यस्तो फर्जरी सुन बनाउने र कर्जा लिने व्यक्तिबाट कानुन बमोजिम रुपैयाँ असूल गरी पाउँ र असूल हुन नसकेको रकम कानुन बमोजिम मैले नै तिर्नु पर्ने ठहरे बुझाउन मन्जूर छ भन्ने खजान्ची पूर्णबहादुर श्रेष्ठले ०३९।६।१७ मा प्रहरीमा गरेको बयान ।
४. शनिश्चरे बस्ने चिनजान भएको व्यक्तिहरुले हाम्रो सुन बैंकमा राखेर रुपैयाँ निकाली दिनु पर्यो तपाइको बैंकमा चिनजान छ भनेकोले गर्दा पटक पटक सुन धितो राखी कर्जा लिएको हुँ । मेरो नामबाट रुपैयाँ झिकी उनीहरुलाई नै बुझाई दिएको हुँ । नक्कली सुन हो भन्ने मलाई थाहा भएन भन्ने समेत ०३९।६।३ मा कान्छीमाया लिम्बुनीले प्रहरीमा गरेको कागज ।
५. बुढी कमिनीसंग चिनजान भएको नाताले रुपैयाँ झिकी दिनु पर्यो भनेकोले पटक पटक गरी रुपैयाँ झिकी दिएको हुँ । सुन नक्कली हो भन्ने कुरा थाहा भएन । पोते सहितको नौगेडी सुनको थियो भन्ने मिति ०३९।६।३ मा लक्ष्मीदेवी थापाले प्रहरीमा गरेको बयान ।
६. गजेन्द्रप्रसाद लिम्बुको जुवाई नाउँ नजानेको राई, काइली राइनी, पूर्णबहादुर लिम्बुले ल्याएको सुन हरियो पोतेमा जडान भएको नौगेडी तिलहरी समेतको सुन मेरो र छोरीको नाउँबाट रुपैयाँ झिकी सुन धनीलाई नै दिएको हो । फरजरी सुन हो भन्ने कुरा मलाई थाहा थिएन भन्ने लिलामाया लिम्बुनीले प्रहरीमा गरेको बयान ।
७. घटी सुन राखी बढी रुपैयाँ बैंकबाट झिक्न लगाई हिनामिना गर्ने उद्देश्य मेरो होइन । चिनजान र स्टाफका नातेदार व्यक्तिहरु भएको हुँदा उनीहरुको लागि सुन राखी रुपैयाँ निकालेको हो । फरजरी सुन हो भन्ने थाहा भएन । सुन राम्ररी जाँच्नु पर्छ भनी मैले खजान्ची समेतलाई भनेको थिएँ भन्ने गजेकेशर लिम्बुले प्रहरीमा गरेको बयान ।
८. मेरी श्रीमती कान्छीमाया लिम्बुनीले आफ्ना चिनजानका मानिसहरुले हरियो पोते जडान भएको नौगेडीहरु राखी जम्मा रु. ३४,४५०।– पटक पटक झिकेको हो । तर त्यस रकमबाट लिएको छैन सम्पूर्ण रुपैयाँ नै सुन धनीले नै लगेका हुन । फरजरी सुन हो भन्ने कुरा मलाई थाहा थिएन भन्ने समेत गजेन्द्रप्रसाद लिम्बुले प्रहरीमा गरेको बयान ।
९. सुन धनी चिनजान भएका व्यक्ति हुँदा बैंकमा सुन राखी दिनु होस भन्दा हरियो पोतेमा जडान भएको नौगेडी पटक पटक धितो राखेर कर्जा लिएको ठीक हो । यसरी फरजरी सुन हो भन्ने कुरा मलाई थाहा थिएन भन्ने समेत हर्कबहादुर थापा मगरले प्रहरीमा गरेको बयान ।
१०. सुकमाया राइनी र निरकुमार राइनी दुवै नाम मेरै हो । यी दुवै नामबाट मैले नै सुन राखी कर्जा लिएको हुँ । शनिश्चरे बस्ने पृथ्वीबहादुर विश्वकर्मा, बलबहादुर विश्वकर्मा, अर्जुन विश्वकर्माले फरजरी सुन बनाउने हुँदा उनीहरुले नै बनाएको सुन ल्याएर राखेको हुन् भन्ने सुकमाया राइनीले प्रहरीमा गरेको बयान ।
११. नरमाया विश्वकर्मा मेरी श्रीमती हुन । निजले मेरो सल्लाह बेगर नरमाया, रणमाया, रणकुमारी नरमाया क्षेत्रीनी विभिन्न नाम गरी बुधबारे बैंकबाट पटक पटक कर्जा लिएको ठीक हो । यसरी सुन राखेर रुपैयाँ झिके बापत सुन धनीबाट रु. १२०।– मेरी श्रीमतीले खाएको हो । अरु रुपैयाँ सुनधनी बलबहादुर कामीले नै लगे भन्ने पशुराम विश्वकर्माले प्रहरीमा गरेको बयान ।
१२. विष्णुप्रसाद, यामबहादुर, निर्मलदाश समेतलाई मैले सुन राख्न लगाएको होइन, गजेन्द्रप्रसादले बोलाएर ल्याई दे भनेकाले बोलाई दिएको हुँ, सुन राख्न गजेन्द्रप्रसादले लगाएका हुन । सो रुपैयाँ निकाले बापत मलाई रु. ३००।– गजेन्द्रप्रसादले दिएका हुन । अरु रुपैयाँ गजेन्द्रप्रसादले नै लगेको फर्जरी सुन हो भन्ने कुरा मलाई थाहा थिएन भन्ने बुद्धिबिलास भट्टराईले प्रहरीमा गरेको बयान ।
१३. पार्वती चामे, ठाकुर सिंह भुजेल, यसोदादेवी पोख्रेलका नाउँमा जम्मा रु. ६,५००।– मैले मिलोमतोबाट झिकेको हुँ । उक्त सुनहरु गजेकेशर र गजेन्द्रप्रसादकै हो । यसरी रु. ७००।– मैले सुन राखी दिए बापत पाएँ । अरु रुपैयाँ गजेकेशर र गजेन्द्रप्रसादलाई नै दिएँ । सुन कहाँबाट ल्याए थाहा छैन । सुन फर्जरी हो भन्ने कुरा मलाई थाहा थिएन । बैंक गार्ड साक्षीमा बस्नु हुँदैन भनेर नाम ढाँटी साक्षीमा बसेको हुँ भन्ने पशुराम गौतमले प्रहरीमा गरेको बयान ।
१४. बलबहादुर विश्वकर्माले सुन राखेर रुपैयाँ ल्याइदिनु भनेकोले मेरी श्रीमतीले उक्त सुन कान्छीमाया र लक्ष्मीदेवी थापालाई बैंकमा राख्न लगाई रकम रु. ४,१००।– झिकी ल्याई दिएको हो यसरी रुपैयाँ ल्याइदिए बापत बलबहादुरले ११५।– मेरी श्रीमतीलाई दिएको देखेको हुँ । फर्जरी सुन हो भन्ने कुरा मलाई थाहा थिएन । यस्तो फर्जरी सुन बनाउन मैले जानेको छैन भन्ने छत्रबहादुर विश्वकर्माले प्रहरीमा गरेको बयान ।
१५. विभिन्न व्यक्तिले लिएका कर्जाबाट साँवा व्याज समेत जम्मा गरी रु. ३,७०,२०५।४४ मेरो लापरवाहीबाट भएको होइन । खजान्ची पूर्णबहादुर श्रेष्ठकै लापरवाहीबाट यो रकम हिनामिना भएको हो । सम्पूर्ण जिम्मेवार नै खजान्ची पूर्णबहादुर श्रेष्ठको नै हुन्छ । सुन जाँच्ने मेरो जिम्माको नहुँदा सम्पूर्ण जिम्मेवारी नै खजान्चीको हो भन्ने भजनलाल चौधरीले प्रहरीमा गरेको बयान ।
१६. खजान्ची पूर्णबहादुर श्रेष्ठको लापरवाहीबाट हिनामिना भ्रष्टाचार गरेको रकम ब्याज सहित रु. ३,७०,२०५।४४ मध्ये गजेकेशर लिम्बु र निजकी श्रीमती लिलामाया लिम्बुनीको मिलोमतोबाट हिनामिना भएको रकम रु. ४८,९५०।– गजेन्द्रप्रसाद लिम्बु र निजकी श्रीमती कान्छीमाया लिम्बुनीबाट ५६,३५०।, हर्कबहादुर थापा र निजकी श्रीमती लक्ष्मीदेवी थापाबाट रु. ४८,९५०।, पशुराम गौतमबाट रु. ६,५००।, सुकमाया राइनीबाट रु. १,९०९।३४, पर्शुराम विश्वकर्माबाट रु. ६,१५०।, छत्रबहादुर विश्वकर्माबाट रु. ४,१००।, कृष्णबहादुर थापाबाट रु. १,१७६।५६ हिनामिना भएको प्रष्ट देखिन आएको हुँदा उक्त रकम सोही बैंकका खजान्ची पूर्णबहादुर श्रेष्ठको लापरवाही र मिलेमतोबाट हिनामिना गरेको र सो देखि बढी नपुग हुन आएको पूर्णबहादुर श्रेष्ठको मिलेमतोबाट भ्रष्टाचार हुन गएको हुँदा उक्त बैंकका कर्मचारी उपर भ्र.नि. ऐनको दफा १३ को उपदफा १ बमोजिम सजायँ गर्नु पर्ने र उक्त खण्डमा लेखिएका अभियुक्तको हकमा सोही ऐनको दफा ७ देहाय दफा १–२ बमोजिम सजायँ भई अभियुक्तबाट बिगो समेत कानुन बमोजिम असूल उपर गरी पाउँ भन्ने समेतको प्रहरी प्रतिवेदन ।
१७. शनिश्चरे बस्ने सुकबहादुर लिम्बु नाम नजानेकी कमेनी, काइली राइनी र नाम नजानेको लाठीवाल लिम्बु मेरो चिनाजानका व्यक्ति भएका हुँदा ०३८ सालमा म कहाँ आई हाम्रो गहना राखी रुपैयाँ निकाली दिनुहोस भन्दा निकालेको हुँ । केही दिनमा उकासी हाल्छौं भनेकोले मात्र सुन राखी कर्जा निकालेको हुँ । फरजरी सुन हो भन्ने कुरा मलाई थाहा भएन । यसरी रुपैयाँ निकालेको कुरा मेरो श्रीमानलाई थाहा थिएन पछि पक्राउ हुँदा मात्र थाहा भयो । खजान्चीसंग मिलोमतोबाट रुपैयाँ निकालेको होइन भन्ने कान्छीमाया लिम्बुनीले अदालतमा गरेको बयान ।
१८. सहरेडाँगी बस्ने नाम थाहा नभएको कमिनी, सुकमाया राइनी, म कहाँ आई सुनका गहना राखी रुपैयाँ निकाली दिनु होस भन्दा सुकमायाको एकपटक र कमिनीको दुई पटक पटक–पटक गरी सुनका गहना राखी रुपैयाँ निकाली दिएको हुँ । यसरी घटी सुन राखी गहना बनाएको हो भन्ने मलाई थाहा भएन । गहना मेरो होइन र सुनका गहना राखी रुपैयाँ मलाई झिकेको होइन, सुन धनीले नै रुपैयाँ लगेका हुन । कसैको मिलोमतोबाट मैले त्यसरी फर्जरी सुन राखेको होइन । सुन फर्जरी हो भन्ने कुरा मलाई थाहा भएन भन्ने लक्ष्मीदेवी थापाले अदालतमा गरेको बयान ।
१९. झापा धाइजन बस्ने बलबहादुर विश्वकर्माकी श्रीमतीले मेरी श्रीमतीलाई सुनको नौगेडी बैंकमा राखी रुपैयाँ निकाली दिनुहोस् भन्दा बुधबारे बैंकमा गई बैंक गार्डको श्रीमतीको नामबाट बैंकमा नौगेडी धितो राखी रुपैयाँ झिकी बलबहादुरकी श्रीमतीलाई दिएको कुरा मेरी श्रीमतीले भन्दा थाहा पाएको हुँ । त्यो सुन हामीहरुको निजी सुन पनि होइन र रुपैयाँ समेत हामीले लिएको छैन । त्यस्तो फरजरी सुन होला भन्ने पनि थाहा भएन । त्यस्तो सुन बनाउन पनि जानेको छैन । रुपैयाँ झिकी दिए बापत बलबहादुरकी श्रीमतीले ११०।– मेरी श्रीमतीलाई दिएकोसम्म हो भन्ने छत्रबहादुर विश्वकर्माले अदालतमा गरेको बयान ।
२०. गजेन्द्र लिम्बु र हर्कबहादुर थापाले शनिश्चरे बस्ने बलबहादुर विश्वकर्मालाई सुनको गहना बनाउन दिएका छौं ल्याइदेउ भनेकाले ल्याई दिएको हुँ । हर्कबहादुर थापाले बोलाउन पठाएकोले निज र गजेन्द्र लिम्बुले बैंकमा लगी कहाँ कहाँ सही गराए मलाई केही थाहा भएन । मैले कुनै व्यक्तिसंग मिलोमतो गरी फरजरी सुन राखी बैंकलाई हानी नोक्सानी पुर्याएको होइन छुइन भन्ने सुकमाया राइले अदालतमा गरेको बयान ।
२१. बलबहादुर विश्वकर्माले सुनको नौगेडी राखेर कर्जा निकाली दिनुहोस् भन्दा मेरी श्रीमती नरमायाले दुई पटक सुनको नौगेडी राखी रुपैयाँ निकाली दिएको हो रुपैयाँ निकाली दिए बापत ६०।– रुपैयाँका दरले सापटी दिएका थिए मेरी श्रीमतीले नाम ढाँटेको कुरा मलाई थाहा थिएन भन्ने पर्शुराम विश्वकर्माले अदालतमा गरेको बयान ।
२२. शनिश्चरे बस्ने बलबहादुर विश्वकर्मा, पदमबहादुर विश्वकर्माकी श्रीमती, महाप्रसाद विश्वकर्मा, सुकबहादुर राई, पूर्णबहादुर लिम्बु, सुकमाया राइनी, मैनमाया विश्वकर्मा समेतले हामीहरुको सुन बैंकमा राखी रुपैयाँ निकाली दिनुस् भन्दा मेरी श्रीमतीले सुन राखी रुपैयाँ झिकी सुन धनीलाई नै दिइन । त्यो सुन हाम्रो होइन र हामीले फरजरी सुन बनाउन लगाएको समेत होइन । यस्तो फरजरी सुन थियो भन्ने कुरा समेत थाहा थिएन भन्ने गजेन्द्रप्रसाद लिम्बुले अदालतमा गरेको बयान ।
२३. म बैंकको डिउटीमा बसी रहेको अवस्थामा शनिश्चरे बस्ने बलबहादुर विश्वकर्मा, अर्जुनबहादुर विश्वकर्मा, महाप्रसाद विश्वकर्मा, मैतमाया कमिनी समेतले नौगेडी र तिलहरी समेतका मालसामान बैंकमा राखी रुपैयाँ निकाली दिनुहोस् भनेकोले मेरी श्रीमतीलाई अह्राएकोले श्रीमतीले कर्जा राखी रुपैयाँ सुनधनीलाई दिइन । सुनको माल ठूला ठूला भएकोले गर्दा माल धनीले भने अनुसार नै रुपैयाँ दिए भनी भन्नु भयो भन्ने हर्कबहादुर थापा मगरले अदालतमा गरेको बयान ।
२४. बैंकको असिस्टेण्टसंग मनमोटाव भई फसाउने नियतले असिस्टेण्ट र जि.का. को सुब्बा लोकनाथ मिली नभएको व्यहोरामा पक्राउ गरेका हुन् । जि.का. झापामा लेखेको कागज सुनाउँदै नसुनाई सही गर्न लगाएका हुन । मैले कुनै पनि फरजरी सुन बनाउन लगाएको होइन र त्यस प्रकारको सुन मैले बैंकमा राखी रुपैयाँ झिकेको समेत छैन, झुठ्ठा अभियोगबाट फुर्सद पाउँ भन्ने परशुराम गौतमले अदालतमा गरेको बयान ।
२५. नेपाल बैंक बुधबारेमा कर्जा धितो राखी कुनै पनि रकम लिएको छुइन । कर्जा नं. ४४।६९८ बाट कर्जा लिएको समेत मैले छुइन होइन । मेरो नामबाट कसले रुपैयाँ लियो थाहा छैन । तमसुकमा लागेको सही छाप मेरो होइन कसले गरे जान्दिन सो तमसूकमा तीन पुस्ते समेत मिल्दैन । बाजे बुधवीर र बाबु चन्द्रबहादुर हुन् भन्ने कृष्णबहादुर थापाले अदालतमा गरेको बयान ।
२६. सुकबहादुर राई, पूर्णबहादुर, सुकमाया राई समेत मेरोमा आई सुनका गहना बैंकमा राखी रुपैयाँ झिकी दिनुहोस भनेकोले पटक पटक गरी नौगेडी, तिलहरी र कण्ठ बैंकमा धितो राखी कहिले मैले र कहिले छोरीले रुपैयाँ झिकी दिएका हौं । कम तौलको सुन छ भन्ने कुरा मलाई थाहा थिएन । क्याशिएर र सुन जाँचकीले जाँच गरी सुन राख्ने हुँदा फरजरी सुन हो भन्ने सोचेको थिइन भन्ने लिलामाया लिम्बुनीले अदालतमा गरेको बयान ।
२७. सुकमाया राइनी, सुकबहादुर राई, पूर्णबहादुर नेवार आएर सुन धितो राखी रुपैयाँ झिकी दिनु पर्यो भनेकोले मेरी श्रीमतीले धितो राखी रुपैयाँ सुन धनीलाई दिएको हो धेरै सुन आएकोले राम्ररी जाँच्नु पर्छ भनी क्यासिएर साहेवलाई भनेको हुँ । हाम्रो सुन समेत नभएको हुँदा फरजरी सुन राखी बढी रुपैयाँ निकालेको समेत होइन भन्ने गजेकेशर लिम्बुले अदालतमा गरेको बयान ।
२८. नेपाल बैंक लिमिटेड बुधबारेमा धितो राख्न ल्याएको सुनको नौगेडी, तिलहरी कण्ठ भित्री भागमा लाहा लाएर ल्याउने गरेका र आफ्नै स्टाफका श्रीमतीहरुले ल्याएको हुँदा उनीहरुले भनेको तौलको आधा तौल राखी रुपैयाँ दिने गरेको हुँ । आफ्नै स्टापका श्रीमती भए पनि प्रशस्तै सुन धितो राख्न ल्याएको हुँदा शंका गरी मैनेजर र असिस्टेण्टलाई भन्दा गार्डहरु र निजका श्रीमती समेतलाई बोलाएर कुरा गर्दा सुन हाम्रो होइन । अरु नै व्यक्तिको राखेको हुँ भनेकोले सोही व्यहोराको कागज समेत गरेकोले कारवाहीको लागि क्षेत्रीय कार्यालय विराटनगरमा पठाउँदा श्रीमतीहरुबाट भएको नोक्सानी गार्डको तलबबाट कट्टा गर्ने कारवाही भइरहेको छ र अन्य व्यक्तिको हकमा ७ दिने र १५ दिने सूचना समेत जारी भई कारवाही भइरहेछ । बैंकलाई नोक्सानी र मलाई फाइदा हुने प्रकारले कर्जावालासंग मिलोमतो गरेको समेत छुइन भन्नेसमेत व्यहोराको पूर्णबहादुर श्रेष्ठले अदालतमा गरेको बयान ।
२९. प्रहरी प्रतिवेदनमा उल्लेख भएका प्रतिवादीहरु मध्ये कृष्णबहादुर थापाले सफाई पाउने ठहर्छ । अन्य प्रतिवादीहरु पर्शुराम विश्वकर्मा समेतले बिगो रु. ३४,२००।– को दामासाही दावी बमोजिम कसूर गरेको ठहर्छ र पूर्णबहादुर श्रेष्ठ, बलबहादुर विश्वकर्मा, भिमबहादुर विश्वकर्मा, नरबहादुर विश्वकर्मा, सुकबहादुर राई, पृथ्वीबहादुर विश्वकर्मा समेत ६ जवानले बाँकी बिगो रु. २,१०,८६९।८६ मध्ये जनही ३५,१४४।९७ बिगोको बिगो बमोजिम जरिवाना हुने ठहर्छ भन्ने समेत मेची अञ्चल अदालतबाट भएको फैसला ।
३०. मेची अञ्चल अदालतबाट मलाई कसूरदार ठहर्याई बिगो बमोजिम जरिवाना समेत गर्ने गरेको इन्साफमा चित्त बुझेन । उक्त फैसला बदर गरी अभियोग दावीबाट सफाई पाउँ भन्ने समेतको पू.क्षे.अ. मा पूर्णबहादुर श्रेष्ठको पर्न आएको पुनरावेदनपत्र ।
३१. वादी प्रतिवेदनमा प्रतिवादी पूर्णबहादुरको बदनियत थियो भन्न नसकी लापरवाही गरेको मानिएको तर ०३९।९।८ अघि प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३ मा लापरवाहीलाई भ्रष्टाचारको परिभाषा भित्र समावेश गरेको देखिँदैन । सो बाहेक गजकेशर समेतको विशेष प्रहरी अधिकृत समक्ष भएको बयानबाट पनि प्रतिवादी पूर्णबहादुर भ्रष्टाचार गर्ने कृयाकलापमा संलग्न थिएन भन्ने खुल्न नआउने समेतबाट प्रतिवादी पूर्णबहादुर श्रेष्ठले भ्रष्टाचार गरेको ठहर्याएको मेची अञ्चल अदालतको इन्साफमा सहमत नहुँदा अ.बं. २०२ नं. र क्षेत्रीय अदालत नियमावली, २०३६ बमोजिम पूर्वाञ्चल क्षेत्रीय सरकारी वकील कार्यालयलाई झिकाई नियम बमोजिम पेश गर्नु भन्ने पू.क्षे.अ. संयुक्त इजलासको आदेश ।
३२. विभागीय कारवाही टुड्डो लागे नलागेको के हो टुड्डो नलागेको भए सोको जवाफ टुड्डो लागिसकेको भए सो मिसिल क्षेत्रीय सरकारी वकील कार्यालय मार्फत नेपाल बैंक लि. केन्द्रीय कार्यालय काठमाडौंबाट झिकाउने र सो मिसिल आएपछि जगाउने गरी हाल यो पुनरावेदन दायरीको लगत कट्टा गरी मुलतवीमा राखी दिने भन्ने पू.क्षे.अ. को ०४४।५।१० को आदेश ।
३३. प्रस्तुत मुद्दामा मिति ०४४।५।१० गतेको आदेश बमोजिम काम सम्पन्न भइसकेको देखिँदा मुलतवीबाट जगाई दिएको छ । मुलतवी रहँदाको अवस्थामा तारेखमा रहेको पुनरावेदक प्रतिवादीलाई ७ दिन म्याद दिई र झिकाई आएको पक्ष श्री ५ को सरकार समेतलाई मुलतवीबाट जागेको जनाउ दिई नियम बमोजिम पेश गर्नु भन्ने पू.क्षे.अ. को ०४५।२।३ को आदेश ।
३४. खजान्चीको लापरवाहीबाट नेपाल बैंक लिमिटेडको सम्पत्ति हिनामिना हुन गएमा सो हिनामिना भएको रकम बैंक लिमिटेड र खजान्चीको बीचमा भएको सम्झौताको शर्त (१३) अन्तर्गत खजान्चीबाट असूल उपर हुनु गर्नु पर्नेमा भ्रष्टाचार निवारण ऐन अन्तर्गत कसूर गरेको ठहराएको मेची अञ्चल अदालतको इन्साफ मिलेको नदेखिएकोले बदर हुने ठहर्छ भन्ने समेत व्यहोराको मिति ०४५।११।३ मा पू.क्षे.अ. बाट भएको फैसला ।
३५. पू.क्षे.अ. को इन्साफमा चित्त नबुझी वादी श्री ५ को सरकारको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
३६. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा वादी श्री ५ को सरकारतर्फबाट खटिनु भएका विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.ले प्रतिवादी पूर्णबहादुरले आफूलाई फाइदा हुने र बैंकलाई हानी हुने किसिमले ऋण प्रदान गरेको कुरा विशेष प्रहरी समक्ष र अदालतको बयानबाट समेत स्वीकार गरेको छ । जिम्मेवारी लिई बसेको व्यक्तिले सुनको राम्ररी तौल गरी ऋण प्रदान गर्नु पर्नेमा कतिपय प्रतिवादीहरुको बतन समेत फेला नपर्नुको साथै त्यति ठूलो ऋण प्रदान गर्नु प्रतिवादीको बदनियत प्रष्ट भएकोले पू.क्षे.अ. बाट प्रतिवादीले सफाई पाउने ठहराएको फैसला उल्टी भई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३ को कसूरमा सजायँ गर्ने गरेको मेची अञ्चल अदालतको फैसला सदर हुनुपर्छ भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
३७. प्रस्तुत मुद्दामा पू.क्षे.अ. बाट भएको फैसला मिले नमिलेको हेरी निर्णय दिनु पर्ने हुन आयो ।
३८. यसमा मेची अञ्चल अदालतको फैसला बदर गरी प्रतिवादीहरुलाई सफाई दिएको पू.क्षे.अ. को फैसला मिलेको छैन । पू.क्षे.अ. को फैसला बदर गरी मेची अञ्चल अदालतबाट भएको फैसला सदर कायम गरी पाउँ भनी वादी श्री ५ को सरकारको यस अदालतमा पुनरावेदन परेको पाइन्छ ।
३९. भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३(१) बमोजिम लापरवाहीबाट सम्पत्ति हिनामिना गरेकोले प्रहरी प्रतिवेदन दावीबाट सफाई दिने गरेको मिलेको छैन भन्ने सरकारी वकीलले मूल रुपमा बहस गर्नु भएको समेतमा हेर्दा खजान्ची पूर्णबहादुर श्रेष्ठको लापरवाहीबाट हिनामिना भ्रष्टाचार गरेको रकम ब्याज सहित रु. ३,७०,२०५।४४ मध्ये गजकेशर लिम्बु र निजकी श्रीमती लिलामाया लिम्बुनीको मिलोमतोबाट हिनामिना भएको रकम रु. ४८,९५०।–, गजेन्द्रप्रसाद लिम्बु र निजकी श्रीमती कान्छीमाया लिम्बुनीको मिलोमतोबाट रु. ५६,३५०।–, हर्कबहादुर थापा र निजकी श्रीमती लक्ष्मीदेवी थापाबाट रु. ४८,९५०।–, परशुराम गौतमबाट रु. ६,५००।–, सुकमाया राइनीबाट रु. १,९०९।३४, परशुराम विश्वकर्माबाट रु. ६,१५०।–, छत्रबहादुर विश्वकर्माबाट रु. ४,१००।– कृष्णबहादुर थापाबाट रु. ११७६।५८, हिनामिना भएको प्रष्ट देखिन आएको हुँदा उक्त रकम सोही बैंकका खजान्ची पूर्णबहादुर श्रेष्ठको लापरवाही र मिलोमतोबाट हिनामिना गरेको र सो देखि बढी अपुग हुन आएको पूर्णबहादुरको मिलोमतोबाट भ्रष्टाचार हुन गएको हुँदा उक्त बैंकका कर्मचारी उपर भ्र.नि. ऐनको दफा १३(१) बमोजिम सजायँ गर्नु पर्ने र विरुद्ध खण्डमा लेखिएको अरु अभियुक्तको हकमा सोही ऐनको दफा ७ को (१)(२) बमोजिम सजायँ भई अभियुक्तबाट बिगो समेत कानुन बमोजिम असूल उपर गरी पाउँ भन्ने प्रहरी प्रतिवेदन देखिन्छ ।
४०. भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३(१) लाई हेर्दा कुनै राष्ट्र सेवकले आफ्नो ओहदाको वा सो सम्बन्धी काम कुरा गर्दा आफ्नो जिम्मा वा नियन्त्रणमा रहेको कुनै सरकारी वा कुनै व्यक्ति वा सरकारी मान्यता प्राप्त कुनै संस्थाको चल वा अचल कुनै सम्पत्ति बदनियत साथ वा जालसाजी गरी मासेमा वा अरु कुनै तवरले निजी व्यवहारमा लगाएमा वा अरुलाई लेखिए बमोजिम गर्न दिएमा वा लेखिए मध्ये कुनै काम गर्न गराउन प्रयत्न गरेमा कसूरको मात्रा अनुसार निजलाई एक वर्षदेखि ५ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजायँ हुनेछ र मासेमा वा मास्न दिएको सम्पत्ति पनि निज कसूरदारबाट सरकारी बाँकी सरह असूल उपर गरिनेछ भन्ने लेखिएको देखिन्छ ।
४१. मौकामा जाँचबुझ गरी सुनले खाने रकम मात्र भुक्तानी दिनु पर्नेमा जाँचबुझ नगरी आफ्नो जिम्माको रकम भुक्तानी दिई लापरवाहीबाट रकम हिनामिना भएको अवस्थामा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३(१) आकर्षित हुने अवस्था देखिँदैन । आफ्नो जिम्मामा रहेको उक्त रकम बैंकको खजान्चीले खाए मासेको भन्ने वादी दावी देखिन्न । उक्त सम्पत्ति खजान्चीले बदनियतसाथ दुरुपयोग गरेको वा निजी व्यवहारमा लगाएको भन्ने पनि दावी छैन । अतः खजान्चीको लापरवाहीबाट नेपाल बैंक लिमिटेडको सम्पत्ति हिनामिना हुन गएमा सो हिनामिना भएको रकम नेपाल बैंक लिमिटेड र खजान्ची बीच भएको सम्झौताको शर्त नं. १३ अन्तर्गत खजान्चीबाट असूल गर्नु पर्नेमा भ्रष्टाचार निवारण ऐन, २०१७ अन्तर्गत कसूर गरेको राय ठहरिएको मेची अञ्चल अदालतको इन्साफ बदर गर्ने गरेको पू.क्षे.अ. को इन्साफ मनासिब ठहर्छ । श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हिरण्येश्वरमान प्रधान
इति सम्वत् २०४६ साल चैत्र २२ गते रोज ४ शुभम् ।