निर्णय नं. ८६१९ - उत्प्रेषणयुक्त परमादेश

ने.का.प. २०६८, अङ्क ५, निर्णय नं. ८६१९
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी
माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय
संवत् २०६७ सालको WO – ०५५९
आदेश मितिः २०६८।१।२७।३
मुद्दा : उत्प्रेषणयुक्त परमादेश ।
निवेदकः काठमाडौँ जिल्ला कपन गा.वि.स.वडा नं.९ वस्ने सन्तोष भण्डारी
विरुद्ध
विपक्षीः परीक्षा नियन्त्रण कार्यालय, त्रिभुवन विश्वविद्यालय, बल्खु समेत
§ कुनै कार्य मर्यादा र अनुशासनको अपेक्षित मापदण्डविपरीत हुन सक्दछ, नैतिकताको दृष्टिकोणबाट अनुचित हुन सक्दछ वा सामान्य समझ र सर्वमान्य शैक्षिकस्तरभन्दा तलको अमान्य हुन सक्दछ तर, कुनै नियम कानूनले त्यसलाई बर्जित र सजायभागी भनी पूर्व घोषित वा बर्गीकृत वा परिभाषित नगरेसम्म त्यसको आधारमा सो कार्य गर्नेलाई सजायको भागी बनाउन नसकिने ।
(प्रकरण नं.९)
§ कुनै विद्यार्थीले आफूले वर्षभरि पढेको विषय छोडी पढ्दै नपढेको विषय समावेश गरी परीक्षा सञ्चालन हुनुभन्दा अगाडि कम्तीमा ७ दिनभित्र दोहोर्याएर परीक्षा फर्म भर्न नपाउने र भरेको पाइएमा निजलाई परीक्षामा समावेश नगराउने र कुनै अवस्थामा लुकिछिपी परीक्षा दिएमा त्यस्तो कार्यलाई अनियमित कार्य वा विद्यार्थी आचार संहिताविपरीतको कार्य भनी नियममै लेखवद्ध गर्नुका साथै त्यस्तो कार्य गर्ने विद्यार्थीको परीक्षा रद्द गर्नु वा अन्य सजाय गर्नुका साथै यस्तो अनुचित कार्यमा सहयोग गर्ने विश्वविद्यालयका सम्बन्धित कर्मचारी वा शैक्षिक संस्थाको जिम्मेवार पदाधिकारीउपर कारवाही गर्ने समेतका कार्यहरूलाई अनियमित वा सजायभागी हुने अनुचित कार्यको श्रेणीभित्र राख्नुपर्ने ।
(प्रकरण नं.१३)
निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता हरिहर दाहाल तथा अधिवक्ताहरू प्रेमबहादुर खड्का, रेवतप्रसाद खरेल, धनबहादुर श्रेष्ठ, रामकृष्ण भण्डारी, युवराज भण्डारी, सुभाष लामिछाने र देवीकुमारी चौधरी
विपक्षी तर्फबाटः विद्वान अधिवक्ता नारायणप्रसाद खनाल
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ त्रि.वि.वि. संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को नियम २६०, र ६६१ देखि २७०
आदेश
न्या.ताहिर अली अन्सारीः नेपालको अन्तरिम संविधान २०६३ को धारा ३२ र १०७(२) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार रहेको छ :
म निवेदक त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कानून संकाय स्नातक तहमा शैक्षिक सत्र २०६५।०६६ मा नेपाल ल क्याम्पसमा भर्ना भै अध्ययनरत नियमित छात्र हुँ । मैले २०६६ सालको स्नातक तह प्रथम वर्षको परीक्षा रोल नं.१८१२, परीक्षा केन्द्र त्रि चन्द्र क्याम्पस घण्टाघरमा उपस्थित भै सवै विषयको परीक्षा दिएको थिए । मैलै परीक्षाको कुनैपनि शर्त एवं मर्यादाको उल्लंघन गरेको थिइन । तर म निवेदकले सम्पूर्ण विषयको परीक्षामा निर्वाध रुपमा सामेल भई दिएको परीक्षाको परीक्षाफल कुनै आधार कारण विना एक्सपेल्ड सूचीमा समावेश गर्ने गरी भएको विपक्षीहरूको निर्णय तथा सोसम्बन्धी कारवाहीको हालसम्म जानकारी समेत नदिने गरी भएको कार्य त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को परिच्छेद ५३ तथा ६६ प्रतिकूल भई नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२, १३, १७ द्वारा प्रदत्त संवैधानिक तथा मौलिक हकमाथि आघात पर्न गएको हुँदा विपक्षीहरूको उक्त निर्णय तथा कार्य उत्प्रेषणको आदेशद्वारा बदर गरी म निवेदकले प्रवेशपत्रमा उल्लिखित शर्तहरूको अधिनमा रही दिएको परीक्षाको परीक्षाफल प्रकाशित गर्नु गराउनु भनी विपक्षीहरूको नाममा परमादेशको आदेश समेत जारी गरिपाऊँ । साथै शैक्षिक वर्ष २०६६।०६७ को स्नातक तह प्रथम वर्षको परीक्षा २०६७ सालमा गर्नका लागि फाराम भर्नको लागि त्रिभुवन विश्वविद्यालयबाट सूचना प्रकाशित भैसकेको हुँदा समयभित्रै फाराम भर्नु पर्ने हुँदा म निवेदकले अघिल्लो वर्षको परीक्षामा सामेल भई अत्यन्तै राम्रो ढंगबाट परीक्षा दिएको अवस्थामा परीक्षाको फाराम भर्ने की नभर्ने भन्ने दुविधामा रही द्वितिय बर्षको पढाईमा समेत असर पर्न सक्ने तथ्यलाई ध्यानमा राखी परीक्षा फर्म भर्ने समयभन्दा अगावै रिट निवेदकको किनारा लागी सक्ने गरी पेसी तारेखको मिति तोकी प्रस्तुत रिट निवेदनको टुङ्गो लगाउनु भनी अग्राधिकारको आदेश समेत जारी गरिपाऊँ भन्ने समेत व्यहोराको रिट निवेदन ।
यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी नहुनु पर्ने हो ? जारी हुनु नपर्ने कुनै कारण भए सोको कारण र आधार खुलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्नु भनी विपक्षीहरूको नाउँमा सूचना पठाई नियमानुसार पेश गर्नु ।
साथै निवेदकले अग्राधिकारको समेत माग गरेको सम्बन्धमा निजले स्नातक तह तृतीय बर्ष अध्ययन गरिरहेको देखिएको र निजको स्नातक तह प्रथम बर्षको परीक्षा फारामसम्बन्धी विवाद छिटो किनारा भई निरोपण गर्नुपर्ने विषय देखिएकोले निवेदकको मागबमोजिम प्रस्तुत रिटलाई अग्राधिकार दिई नियमानुसार गरी पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको मिति २०६७।९।८ को आदेश ।
त्रिभुवन विश्वविद्यालय नेपाल ल क्याम्पसको यी निवेदकले त्रि.वि.परीक्षा नियन्त्रण कार्यालयबाट २०६६ सालको एल.एल.बी.प्रथम बर्षको लागि परीक्षा फर्म भर्नको लागि निकालेको सूचनाबमोजिम निवेदकले जनआन्दोलनमा घाइते विद्यार्थीले परीक्षा फर्म भर्दा पाउने सुविधा अन्तर्गत २०६६।५।२५ मा कुनै रकम नतिरी नेपाल ल क्याम्पसको नियमित विद्यार्थीको हैसियतले Optional subject मा Fiscal law and family law उल्लेख गरी फर्म भरेका र निजले प्रवेश पत्र लिने क्रममा निजको रोल नं.६५१ कायम रहेको थियो । २०६६ सालको एल.एल.बी. प्रथम बर्षको परीक्षा कार्यक्रम २०६६ साल पुस १२ गतेदेखि सञ्चालन हुने भनी २०६६ साल पुस ९ गते गोरखापत्रमा परीक्षा केन्द्र उल्लेख गरी सूचना प्रकाशित भएअनुसार नेपाल ल क्याम्पसका एल.एल.बी.तर्फका रोल नं.२९६ देखि ८९५ सम्मका परीक्षार्थीहरूको परीक्षा केन्द्र त्रि.वि.महेन्द्र रत्न क्याम्पस ताहचलमा र रोल नं.८९६ देखि माथिका सम्पूर्ण परीक्षार्थीहरूको परीक्षा केन्द्र त्रिचन्द्र बहुमुखी क्याम्पस घण्टाघर केन्द्रमा रहको थियो । प्रकाशित तालिकाअनुसार यी निवेदकको ताहाचल केन्द्रमा परीक्षा केन्द्र रहेको थियो ।
यी निवेदकले त्रि.वि.परीक्षा नियन्त्रण कार्यालयले मिति २०६६ साल पुस १२ गते परीक्षा केन्द्र निकालेपछि निवेदकले आफ्नै हस्ताक्षरले छूट फर्म भरी पुनः २०६६ साल पुस १३ मा परीक्षा फर्म क्याम्पसबाट पठाउन लगाई परीक्षा नियन्त्रण कार्यालयमा डबल दस्तूर बुझाई परीक्षा फर्म बुझाएको र निजको रोल नं.१८१२ कायम रहेको थियो । वर्तमान अवस्थामा परीक्षा नियन्त्रण कार्यालयले निर्धारित गरेको निश्चित समय तालिकाभित्र फर्म बुझाउनको लागि प.नि.का.ले सूचित गरेतापनि विभिन्न संघ संगठन र व्यक्तिको दवावको कारण पनि परीक्षा हुनु भन्दा अगाडिसम्म पनि फर्म बुझ्न वाध्य हुनुपरेको यथार्थता छ । सोही सन्दर्भमा यी निवेदकले शुरुमा फर्म भर्दा २०६२।०६३ को जन आन्दोलनमा घाइते भएको भनी सुविधा प्राप्त गर्ने विद्यार्थीको हैसियतले फर्म भरी सकेपछि र केन्द्र निर्धारण गरी सकेपछि पुनः फर्म भर्नुबाट पनि निवेदकको उद्देश्य र नियत प्रष्टतः गलत रहेको स्पष्ट हुन्छ । दोहोर्याएर फर्म भर्नु अनियमित कार्य हो जुन कुरा परीक्षार्थीको आचार संहिता भित्र पर्दैन । पहिले फर्म भर्दा र पछि भर्दा निजले विषय परिवर्तन गरेको, निवेदकले दोहोर्याएर फर्म भर्नुपर्नाको कुनै कारण पेश नगरेको र त्यसरी दोहोर्याएर परीक्षा फर्म भर्ने कार्य अनियमित कार्यभित्र पर्ने हुँदा त्यसरी अनियमित कार्य गर्ने व्यक्तिको त्रि.वि.वि. संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को नियम २६० र २६८ अनुसार सम्बन्धित परीक्षा रद्द गर्नुको साथै १ देखि ४ बर्षसम्म निष्काशन गर्ने अधिकार केन्द्रीय परीक्षा सञ्चालक समितिलाई रहेकोले केन्द्रीय परीक्षा सञ्चालक समितिले निजको परीक्षा रद्द गरी निजलाई २ बर्षसम्म निष्काशन गर्ने निर्णय गरी मिति २०६७।७।२४ मा सूचना प्रकाशित गरेको हो । साथै रिट निवेदकले आफूले दोहोर्याएर फर्म भरेको कुनै पनि कुरा रिट निवेदनमा उल्लेख नगरेकोले पनि निवेदक स्वच्छ र सफाहात लिएर अदालत प्रवेश नगरेको कुरा स्पष्ट हुन्छ । तसर्थ निवेदकको संविधान प्रदत्त हक र अधिकारमा त्रिभुवन विश्वविद्यालयबाट आघात पार्ने कुनै पनि काम नभएको हुँदा रिट निवेदन खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको त्रिभुवन विश्वविद्यालय ऐ. को परीक्षा समित, ऐ. का अध्यक्ष तथा परीक्षा नियन्त्रकको तर्फबाट पेश भएको संयुक्त लिखित जवाफ ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक पक्षतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता हरिहर दाहाल, तथा अधिवक्ताहरू प्रेमबहादुर खड्का, रेवतप्रसाद खरेल, धनबहादुर श्रेष्ठ, रामकृष्ण भण्डारी, युवराज भण्डारी, सुभाष लामिछाने र देवीकुमारी चौधरी समेतले बहस गर्नुभयो । विपक्षी त्रिभुवन विश्वविद्यालयको तर्फबाट विद्वान अधिवक्ता नारायणप्रसाद खनालले बहस प्रस्तुत गर्नुभयो ।
निवेदक तर्फका विद्वान वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूले त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० ले दुइपटक परीक्षा फर्म भर्न नपाइने भनी बन्देज लगाएको छैन । दुईपटक परीक्षा फर्म भरेको कार्य अपराध हुने भनी नियमावलीमा उल्लेख समेत गरेको पाइदैन । त्रि.वि.वि.को कुनै पनि नियम विनियमले प्रष्ट रुपमा नरोकेको कार्य गर्नु आचार संहिता विपरीत हुँदैन । दुईपटक परीक्षा फर्म भरेकै आरोपमा कुनै पनि विद्यार्थीको परीक्षा रद्द गरी २ वर्षसम्म परीक्षा दिन नपाउने सजाय गर्न मिल्दैन । कानूनमा व्यवस्था नभएको कार्यलाई कसूर मानेर सजाय गर्न मिल्दैन । आफूले अध्ययन गरेको विषय भन्दा फरक विषय उल्लेख गरी पहिले अन्य व्यक्तिले फाराम भरिदिएको कारणले पछिबाट आफूले पढेको विषय उल्लेख गरी परीक्षा फर्म भरेको र पछिल्लो फर्मअनुसारको रोल नं.उल्लेख गरी तोकिएको केन्द्रबाट परीक्षा दिएको हो । परीक्षको दौरान कुनै अनुचित कार्य नगरेकोले निवेदकको परीक्षा रद्द गर्ने गरी त्रिभुवन विश्वविद्यालयबाट भए गरेका कार्यहरू उत्प्रेषणको आदेशले बदर गरी निवेदकको उत्तर पुस्तिका परीक्षण गरी अविलम्ब नतिजा प्रकाशित गर्नु भनी परमादेशको आदेश समेत जारी गरिपाऊँ भन्ने समेत बहस गर्नुभयो । विपक्षी त्रिभुवन विश्वविद्यालय समेतका विपक्षीहरूका तर्फबाट उपस्थित विद्वान अधिवक्ता नारायणप्रसाद खनालले निवेदकले परीक्षाको मर्यादा एवं विद्यार्थीको आचरणविपरीत परीक्षा केन्द्र प्रकाशित भै सकेपछि परीक्षा केन्द्र रोज्ने उद्देश्यले दोस्रो पटक फर्म भरेको हो पहिला पनि आफैले फर्म भरी प्रवेश पत्र समेत लिई पुनः विषय परिवर्तन गरी दोस्रो पटक फार्म भर्ने जस्ता गैरकानूनी कार्य गरेको र सो कार्य त्रि.वि.वि.का विद्यार्थीको आचरण विपरीत भएकोले निजको परीक्षा रद्द गरिएको हो । यो कार्य शैक्षिक वातावरण र परीक्षाको मर्यादा कायम गर्नका लागि नियमसम्मत हुँदा बदर हुनुपर्ने होइन, साथै निवेदक अदालत प्रवेश गर्दा तथ्य ढाँटेर सफा हात र स्वच्छ मन लिएर आएको नदेखिएको हुँदा प्रथम दृष्टिमा नै रिट निवेदन खारेज हुनुपर्ने हुँदा खारेज गरिपाऊँ भन्ने समेत बहस गर्नुभयो ।
दुवैपक्ष तर्फबाट उपस्थित कानून व्यवसायीहरूको बहस जिकीर समेत सुनी निर्णयतर्फ विचार गर्दा यसमा निम्न प्रश्नहरूको निरोपण गर्दै निवेदकको मागबमोजिम आदेश जारी हुनुपर्ने हो वा होइन भन्ने सम्बन्धमा नै निर्णय दिनुपर्ने देखियोः
निरोपण गर्नुपर्ने प्रश्नहरू :
(१) रिट निवेदकले परीक्षाका लागि दोस्रो पटक फार्म भरेको कार्य त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० अन्तर्गतको विद्यार्थी आचार संहिताविपरीत कार्य हो वा होइन ?
(२) दोस्रो पटक परीक्षा फर्म भरेको कारण दिएको भनी परीक्षा गर्ने र दुई वर्षसम्म परीक्षामा सम्मिलित हुन नपाउने गरी दिएको सजाय कानूनसम्मत छ वा छैन ?
२. निर्णयतर्फ विचार गर्दा यसमा आफूले रीतपूर्वक परीक्षामा उपस्थित भै परीक्षा दिएकोमा विना कारण परीक्षा रद्द गर्ने कार्य उत्प्रेषणको आदेशले बदर गरी नतिजा प्रकाशित गर्नु भनी परमादेशको आदेश जारी गरिपाऊँ भन्ने मुख्य निवेदन जिकीर देखिन्छ । निवेदकले परीक्षा केन्द्र रोज्ने गलत मनसाय लिई परीक्षा केन्द्र प्रकाशित भै सकेपछि पुन अर्को फाराम भर्ने कार्य गरेको र उक्त कार्य परीक्षाको मर्यादा एवं विद्यार्थीको आचरणविपरीत भएकाले निजको परीक्षा रद्द गरिएको हुँदा निवेदन खारेज होस् भन्ने लिखित जवाफमा मुख्य जिकीर लिएको देखिन्छ ।
३. पहिलो प्रश्नको निरोपण गर्ने तर्फ विचार गर्दा यी रिट निवेदकले वि.एल प्रथम वर्षका लागि Fiscal law र Family law विषयहरू उल्लेख गरी मिति २०६६।५।२५ मा परीक्षा फर्म भरेको त्रिभुवन विश्वविद्यालयबाट प्राप्त फायल, कागजबाट देखिन्छ । त्यो फर्म निवेदकको तर्फबाट अन्यले भरेको भन्ने निवेदकतर्फका केही अधिवक्ताहरूको जिकीरतर्फ हेर्दा यस रिट निवेदनबाट प्रमाण बुझि सो फर्म यी निवेदकले भरेको वा अन्यले भरेको भन्ने विवादको निरोपण गरी रहनु पर्ने देखिन आउँदैन । विश्वविद्यालयको फायलबाट देखिएको तथ्यलाई नमान्नु पर्ने कुनै युक्तिसंगत कारण छैन । यसरी एकपटक परीक्षा फर्म भरी परीक्षा केन्द्र समेत निर्धारण भईसकेपछि यी निवेदकले पुनः २०६६।९।१२ मा सोही विषय समेत परिवर्तन गरी परीक्षा फर्म भरेको तथ्य विश्वविद्यालयको लिखित जवाफ र त्यहाँको फायलबाट देखिएको छ । यसरी एउटै नियमित विद्यार्थी वा परीक्षार्थीले विषय समेत परिवर्तन गरी दोस्रो पटक परीक्षा फर्म भरेको भए पनि सो कार्य त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० अन्तर्गत विद्यार्थी आचार संहिताविपरीत गैरकानूनी हुने वा अपराध जन्य हुने भनी सो नियमावलीमा उल्लेख गरेको देखिदैन । लिखित जवाफमा लेख्दैमा कुनै कार्य नियमित वा अनियमति हुने होइन । अनियमित हुन वा अपराध जन्य प्रकृतिको सजायभागी कार्य हुनको लागि उक्त कार्य नियमले नै प्रष्ट रुपमा निषेधित गरेको हुनुपर्दछ ।
४. विश्वविद्यालयको लिखित जवाफ हेर्दा यी रिट निवेदकले पहिला जनआन्दोलनको घाइतेले पाउने सुविधा उपभोग गरी निःशुल्क फर्म भरेको तथा पछि दुई गुणा परीक्षा दस्तूर दाखिल गरी २०६६।९।१२ मा आफैले परीक्षा फर्म भरी २०६६।९।१३ गते क्याम्पसबाट परीक्षा नियन्त्रण कार्यालयमा सो फर्म पठाउन लगाएको भन्ने समेत उल्लेख भएको छ । यस्तै लिखित जवाफ तथा विश्वविद्यालयका तर्फबाट बहस गर्ने विद्वान अधिवक्ताको बहसबाट आफूलाई सजिलो भएको त्रिचन्द्र क्याम्पसमा रहने परीक्षा केन्द्र यी निवेदकले रोजेको सो पनि विद्यार्थी आचार संहिताविपरीत कार्य हो भन्ने पनि देखिन्छ । यसबाट त्रिभुवन विश्वविद्यालयको परीक्षा व्यवस्थापनसँग सम्बन्धित अनेक कमी कमजोरीहरू स्पष्ट हुन आउँछ । एक पटक परीक्षा फर्म भरिसकेको विद्यार्थीले विषय समेत परिवर्तन गरी दोस्रो पटक भरेको फर्म किन स्वीकार गरियो, विद्यार्थीले क्याम्पसबाट अनियमितढंगले भरेको फर्म परीक्षा नियन्त्रण कार्यालय मा किन पठाइयो ? एकपटक रोल नम्बर समेत दिइसकेको विद्यार्थीले पुनः भरेको परीक्षा फर्म अनियमित हो भने निजलाई परीक्षा दिनबाट किन रोकिएन ? एउटा परीक्षा केन्द्र व्यवस्थित हुने र अर्को परीक्षाकेन्द्र अव्यवस्थित हुने किन ? यी यस्ता गम्भीर प्रश्नहरू छन् जसको जवाफ विश्वविद्यालयले खोज्नु पर्छ र आफ्नो सम्पूर्ण कामकारवाही र परीक्षासम्बन्धी सम्पूर्ण कार्य चुस्त, दुरुस्त, नियमित, व्यवस्थित र विश्वसनिय बनाउनु पर्छ ।
५. निवेदकले दुईपटक फारम भर्नुपर्नाको कुनै कारण उल्लेख नगरी भरेकोले सो कार्य अनियमित कार्यभित्र पर्ने हुँदा त्यस्तो कार्य गर्ने परीक्षार्थीलाई त्रि.वि.वि. संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को नियम २६० र २६८ अनुसार परीक्षा रद्द गरिएको भनी लिखित जवाफमा उल्लेख भएतर्फ विचार गर्दा उक्त नियम २६० को व्यवस्था हेर्दा “परीक्षार्थीले परीक्षा भवनमा निषेधित बस्तुहरू लैजानु हुदैन । कुनै परीक्षार्थीले त्यस्ता बस्तुहरू लगेमा वा अभद्र व्यवहार गरेमा केन्द्राध्यक्षले त्यस्ता परीक्षार्थी उपर कारवाही गर्नुका साथै परीक्षा भवनबाट निष्काशित गर्न सक्नेछ । साथै परीक्षार्थीले निषेधित बस्तुहरू लगेको, अनियमित कार्य गरेको वा अन्य अभद्र व्यवहार गरेको प्रमाण सहित कारवाहीको लागि केन्द्राध्यक्ष, पर्यवेक्षक, परीक्षक वा सम्परिवेक्षकबाट सिफारिश भै आएमा केन्द्रीय परीक्षा सञ्चालक समितिले नियम २६८ मा उल्लेख भएको हदसम्मको कारवाही गर्न सक्नेछ ” भनी उल्लेख भएको पाइन्छ ।
६. यसको अतिरिक्त सोही नियमावलीको सोही परिच्छेद ६६ को नियम २६१ देखि नियम २७० सम्ममा परीक्षार्थीका आचार संहिता वा निजले पालना गर्नुपर्ने आचरण बारे उल्लेख गरिएको पनि पाइन्छ । तर, यी निवेदकले दुई पटक परीक्षा फर्म भर्ने काम उक्त परिच्छेदको नियम २६१ देखि २७० भित्रका कुनै नियमविपरीत कार्य भएको भन्ने उल्लेख भएको पाइदैन ।
७. उपरोक्त कानूनी व्यवस्थाले परीक्षा हलभित्र परीक्षा सञ्चालन भै रहेको बेलामा भएगरेका अनियमित कार्यलाई अपराध जन्य कार्य मानेको देखिन्छ । तर प्रस्तुत मुद्दामा निवेदकले परीक्षाको समयमा अनियमित कार्य वा अमर्यादित कार्य गरेको भनी परीक्षक वा केन्द्राध्यक्षबाट लेखी आएको पाइएन । यी निवेदकउपर कारवाहीको लागि सिफारिश भई आएको पनि छैन । यस्तो अवस्थामा परीक्षा केन्द्रमा मर्यादित ढंगले परीक्षा दिएको व्यक्तिलाई अन्य कारण एवं आधारमा कारवाही गर्नको लागि उक्त नियम २६० को प्रयोग गर्न मिल्ने समेत देखिएन
८. विद्यार्थीहरूले सम्पूर्ण शैक्षिक मर्यादा एवं अनुशासनका सम्पूर्ण मापदण्डहरूको अनुपालन गर्नैपर्छ । यसमा कुनै विवाद हुन सक्दैन । त्यसमा पनि उच्च शिक्षा हासिल गर्ने र विशेष गरी कानूनको शिक्षा हासिल गर्ने विद्यार्थीले कानून, व्यवस्था र अनुशासनको मापदण्डहरूको धज्जी उडाउने गरी जालझेल गर्नु वा अशोभनीय आचरण वा व्यवहार गर्नु कुनै पनि हालतमा स्वीकार्य वा क्षम्य हुन सक्दैन । शैक्षिक निकायले यस कुराको पूर्ण प्रत्याभूति गर्नैपर्छ । अनिमात्र शिक्षाको गुणस्तर र शैक्षिक वातावरणलाई कायम राख्न सकिन्छ । यी रिट निवेदक विद्यार्थीले पहिला भरेको परीक्षा फर्ममा उल्लिखित विषयहरू मध्ये केही विषय समेत परिवर्तन गरी परीक्षा हुनुभन्दा एकदिन अगाडि कुनै विशेष कारण वा औचित्य उल्लेख नगरी दोस्रोपटक परीक्षा फर्म भरेको यहाँसम्म कि पहिला भरेको परीक्षा फर्म उल्लेख नगरी अर्थात् सो तथ्यलाई लुकाएर दोस्रो पटक परीक्षा फर्म भरेको कार्य एउटा कानूनको विद्यार्थीको लागि निश्चय पनि शुद्ध आचरणयुक्त वा शोभनीय वा सामान्य कार्य हो भनी मान्न, सम्झन वा बेवास्ता गर्न मिल्दैन । उक्त कार्य उचित र स्वीकार्य नदेखिए पनि त्यसलाई त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद ६६ अन्तर्गत वर्जित कार्य वा सजायभागी कार्यको रुपमा निषेध गरेको पाइदैन । यस्तो अवस्थामा त्रिभुवन विश्वविद्यालयले बनाएको परीक्षा सम्बन्धी तत्काल प्रचलित उक्त नियमावली अन्तर्गत यी निवेदकले दोस्रो पटक परीक्षा फर्म भरेको कार्य आचार संहिताविपरीत र सजायभागी कार्य देखिन आएन ।
९. अब दोस्रो प्रश्नतर्फ विचार गर्दा माथिका प्रकरणहरूमा पहिलो प्रश्नको निरोपणको सन्दर्भमा रिट निवेदकले दोस्रो पटक परीक्षा फर्म भरेको कार्य तत्काल प्रचलित आचार संहिता विपरीत छैन भन्ने बोलिसकिएको छ । यी रिट निवेदकलाई नियम २६० को अनियमित काम गरेको भनी नियम २६८ अनुसार निजको परीक्षा रद्द गरी दुई वर्ष (२) सम्म परीक्षामा भाग लिन नपाउने गरी निष्काशित गरेको भन्ने देखिन्छ तर, दोहोर्याएर परीक्षा फर्म भर्ने कार्य नै नियम २६० अन्तर्गतको अनियमित कार्यको श्रेणीभित्र नपरेकोले त्यस्तोमा नियम २६८ को सजाय आर्कर्षित हुन सक्ने देखिएन । एउटा कार्य मर्यादा र अनुशासनको अपेक्षित मापदण्डविपरीत हुन सक्दछ नैतिकताको दृष्टिकोणबाट अनुचित हुन सक्दछ वा सामान्य समझ र सर्वमान्य शैक्षिक स्तर भन्दा तलको अमान्य हुन सक्दछ तर कुनै नियम कानूनले त्यसलाई बर्जित र सजायभागी भनी पूर्व घोषित वा बर्गिकृत वा परिभाषित नगरेसम्म त्यसको आधारमा सो कार्य गर्नेलाई सजायको भागी बनाउन सकिदैन । यी रिट निवेदकले दोहोर्याएर परीक्षा फर्म भरेको भनिएको कार्य तत्काल प्रचलित विश्वविद्यालयको नियम अन्तर्गत सजायभागी कार्य भएको नदेखिएकोले सोही आधारमा निजले दिएको एल.एल.वी. प्रथम वर्षको परीक्षा रद्द गरी निजलाई दुईवर्ष सम्म निष्काशित गर्ने भनी त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिले गरेको निर्णय कानूनसम्मत् देखिन आएन ।
१०. अतः माथि विवेचित आधार कारणबाट दुइपटक परीक्षा फारम भर्ने कार्य अपराधजन्य कार्य हो भनी त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० ले बर्गिकृत वा परिभाषित नगरेकोले दोस्रो पटक भरेको फारमलाई विपक्षी त्रिभुवन विश्वविद्यालयले स्वीकार गरी परीक्षा दिन अनुमति दिएको तर सो परीक्षाको परीक्षाफल प्रकाशित नगरी उक्त परीक्षा नै रद्द गरी निजलाई Expelled गर्ने गरेको त्रिभुवन विश्वविद्यालय परीक्षा सञ्चालक समितिको मिति २०६७।७।१२ को निर्णय कानूनविपरीत देखिएको र सो निर्णयले निवेदकको कानून प्रदत्त हकमा प्रत्यक्ष आघात परेकोले उक्त निर्णय र सोअनुसार प्रकाशित सूचना समेत उत्प्रेषणको आदेश जारी गरी बदर गरिदिएको छ । अव निवेदक सन्तोष भण्डारीले २०६६ सालको कानून स्नातक तह एल. एल. वि. प्रथम वर्षको रोल नं. १८१२ उल्लेख गरी दिएको परीक्षाको परीक्षाफल प्रकाशित गर्नु भनी विपक्षी त्रिभुवन विश्व विद्यालयको नाउँमा परमादेशको आदेश समेत जारी गरिदिएको छ ।
११. अब यस विवादको अर्को पक्षतर्फ विचार गर्दा विद्यार्थीले अध्ययनका लागि उपलब्ध विषयहरू मध्ये आफ्नो इच्छाअनुसारका विषयहरू छनौट गरी अध्ययन गर्ने र तिनै विषयमा परीक्षा दिन पाउने हुन्छ । यसका लागि विश्वविद्यालयले नियम र प्रक्रियाहरू निर्धारण गरेको हुन्छ । उच्च तहमा अध्ययन गर्ने विद्यार्थीले अध्ययन गरेको विषयको परीक्षा नदिई परीक्षा हुनु एक दुईदिन अगाडि विषय परिवर्तन गरी परीक्षा फर्म भर्नु र परीक्षा दिनु आफैमा अनौठो र असामान्य मात्र नभई अनुचित, अस्वभाविक, असामान्य र शैक्षिक मर्यादाविपरीत कार्य हुन आउँछ । यस्तो कार्य हुन नदिन र शैक्षिक मर्यादा एवं शिक्षाको गुणस्तर कायम राख्न विश्वविद्यालय जस्तो उच्च शैक्षिक निकाय पूर्ण प्रतिवद्ध, सजग र प्रयासरत रहनु पर्दछ ।
१२. एउटा विद्यार्थीले परीक्षाको दिनभन्दा एक दिन अगाडि विषय परिवर्तन गरी दोहोरो परीक्षा फर्र्म भरी आफूखुशी परीक्षा दिएको छ भने सो अनुचित कामको जिम्मेवार विद्यार्थी र विश्वविद्यालय प्रशासन वा विश्वविद्यालयको परीक्षा व्यवस्थापन गर्ने पदाधिकारी र कर्मचारी पनि उत्तिकै जिम्मेवार हुने देखिन्छ । यसको अतिरिक्त यस्तो अनुचित कार्यलाई विद्यार्थीहरूको आचारसंहिता विपरीतको र सजायभागी कार्यको रुपमा नराख्नु वा वर्गीकृत नगर्नुमा विश्वविद्यालय पनि उत्तिकै जिम्मेवार रहेको देखिन्छ । आफूले अनियमित र निष्काशन गर्नुपर्ने वा परीक्षा रद्द गर्नुपर्ने भनी मानेको वा सम्झेको अनुचित वा अनियमित कार्यलाई अनियमित, अनुचित वा विद्यार्थी आचार संहिताविपरीत सजायभागी कार्यको रुपमा नियम बद्ध नगर्नु विश्वविद्यालयको ठूलो कमजोरी देखिन्छ ।
१३. यसर्थ अव कुनै विद्यार्थीले आफूले वर्षभरी पढेको विषय छोडी पढ्दै नपढेको विषय समावेश गरी परीक्षा सञ्चालन हुनु भन्दा अगाडि कम्तीमा ७ दिनभित्र दोहोराएर परीक्षा फर्म भर्न नपाउने र भरेको पाइएमा निजलाई परीक्षामा समावेश नगराउने र कुनै अवस्थामा लुकिछिपी परीक्षा दिएमा त्यस्तो कार्यलाई अनियमित कार्य वा विद्यार्थी आचार संहिताविपरीतको कार्य भनी नियममै लेखवद्ध गर्नुका साथै त्यस्तो कार्य गर्ने विद्यार्थीको परीक्षा रद्द गर्नु वा अन्य सजाय गर्नुका साथै यस्तो अनुचित कार्यमा सहयोग गर्ने विश्वविद्यालयका सम्बन्धित कर्मचारी वा शैक्षिक संस्थाको जिम्मेवार पदाधिकारी उपर कारवाही गर्ने समेतका कार्यहरूलाई अनियमित वा सजायभागी हुने अनुचित कार्यको श्रेणीभित्र राख्नुपर्ने देखिएकोले त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० मा समावेश गराउन आवश्यक संशोधन गर्ने प्रक्रिया यथाशीघ्र अगाडि बढाउनु भनी विपक्षी त्रिभुवन विश्वविद्यालय परीक्षा सञ्चालक समिति र परीक्षा नियन्त्रण कार्यालयका नाममा निर्देशनात्मक आदेश समेत जारी गरिएको छ । यो आदेशको जानकारी विपक्षीहरूलाई दिनु । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.कृष्णप्रसाद उपाध्याय
इति संवत् २०६८ साल वैशाख २७ रोज ३ शुभम्
इजलास अधिकृतः विमल पौडेल