शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७५९३ - लिखत पारीत दर्ता ।

भाग: ४७ साल: २०६२ महिना: पौस अंक:

निर्णय नं.७५९३           ने.का.प.२०६२              अङ्क ९

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायधीश श्री केदारप्रसाद गिरी

माननीय न्यायाधीश श्री तपबहादुर मगर

सम्व्त २०५७ सालको दे.पु.नं. ...७०८७

फैसला मितिः २०६२।८।३०।५

 

मुद्दाः लिखत पारीत दर्ता ।

 

पुनरावेदक / प्रतिवादीः जिल्ला रौतहट, गा.वि.स. प्रेमपुर गोनाही वडा नं. ८ वस्ने             वुधियादेवी  चमारनी

विरुद्ध

प्रत्यर्थी / वादीः जिल्ला रौतहट गा.वि.स. प्रेमपुर गोनाही वडा नं ८ वस्ने अमिरी महरा    चमार

 

§  प्रतिवादीका पतिले रु. १९,५००। मा आफ्नो ०.३.५ जग्गा दिने र वादीले लिने गरी सहमती भै प्रतिवादीका पतिले १९,५००। सो लिखत हुँदाको मितिसम्म रु.१९,०००। बुझि लिई वाँकी रहेको रु.५००। लिखत पारित गर्दाका अवस्थामा वादीबाट लिई उक्त लिखत अनुसार शुकन महरा चमार आफू विरामीबाट निको भएमा निको भएका मितिले ६ महिनाभित्र, विरामीबाट निको नभै मरेमा पुनरावेदकका नाउँमा नामसारी भएका मितिले ६ महिना भित्र जग्गा पारित गरी लिनु भन्ने शर्त उल्लेख भएपछि वादीले मुद्दा गर्नुपर्ने कारण सो शर्त अनुसार निजको पतिको नामको जग्गा नामसारी भएको मितिलाई नै मान्नु पर्ने ।

§  नामसारी गराई लिएको मितिले ३ महिना भित्र वादीको प्रस्तुत फिराद परेको देखिंदा उक्त फिराद हदम्याद नघाई दायर भएको भनी मान्न नमिल्ने ।

§  निश्चित समयपछि लिखतमा लेखिएको घर जग्गा विक्री गरिदिने भन्ने शर्तमा करारीय सम्झौतासम्म भएको हुँदा उक्त लिखत विक्रीको लिखत (Sale Deed) नभै विक्री गरिलिने भन्ने कुराको मञ्जुरी (Agreement to sale) को लिखत भएको प्रष्ट छ । यस्तो लिखतलाई रजिष्ट्रेशन गर्नुपर्ने बाध्यात्मक व्यवस्था रहे भएको नपाइने भएकोले सो लिखत मौकैमा रजिष्ट्रेशन पारित गर्नुपर्ने भन्न नमिल्ने ।

(प्रकरण नं.१६)

§  वादी र प्रतिवादीका पति वीच भएको लिखत करारिय भै करार ऐन बमोजिम प्रतिवादीका पतिको दायित्व प्रतिवादीमा सर्ने ।

(प्रकरण नं.१७)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः

प्रत्यर्थी वादी तर्फवाटः

अवलम्वित नजीरः ने.का.प. २०४९, अङ्क १, नि.नं. ४४४७

 

फैसला

न्या.तपबहादुर मगरः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदन अदालत, हेटौंडाको फैसला उपर प्रतिबादीको यस अदालतमा पुनरावेदन परी  पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार छ :-

            २.    प्रतिबादीको लोग्ने सुकन महरा भन्ने सुकन महरा चमारले आफ्नो नाउँ दर्ताको जि.रौ.गा.वि.स. प्रेमपुर गोनाही वा.नं. ८ कि.नं. ७६ को ०.५.१५ मध्ये पश्चिम तर्फबाट ०.३.५ जग्गा बिक्री गर्ने कुरा निश्चित भई प्रति  कठ्ठाको रु. ६०००। ले हुने रु.१९,५००। मोल मध्ये रु. १९०००। वुझि लिई बाँकी रु. ५००। रजिष्ट्रेशन गर्ने बेलामा दिई लिई रजिष्ट्रेशन गर्ने समेत भाखा राखी मिति २०२८।१।१।४ मा मलाई शर्तनामा भाखापत्रको भरपाईको सक्कल लिखत गरिदिएकोमा २०२८।१।२५ मा निज सकुन महरा चमार आफ्ना कालगतिले परलोक भई निजको नामको जग्गा निजकी श्रीमति प्र. बुधीयादेवीले २०५३।३।२१ मा नामसारी गराई सकेपछि मलाई पारित गर्नु पर्नेमा उक्त जग्गा मलाई पारित गरी दिनुस भन्दा निज वुधिया देवीले आलटाल गरेकोमा २०५३।५।२१ मा मैले बिपक्षी उपर पंचायती वसाल्दा सो पञ्चायतीमा पनि बिपक्षीले पारित गर्न इन्कार गरेकाले नालेश गर्न आएको छु । उक्त शर्तनामा भरपाईको शर्त अनुसार वाँकी रु. ५००। म बाट प्रतिबादीलाई बुझ्न लगाई जग्गाको लिखत प्रतिबादीबाट मलाई पारित गराई मेरा नाउँमा दर्ता गरिपाऊँ भन्ने समेत व्यहोराको बादीको फिराद दावी ।

            ३.    बादी दावीको रु. १९०००। लिई शर्तनामाको कागज स्व.पति सुकन महराले बादीलाई गरिदिएको भए सो को जानकारी मलाई हुने थियो । मलाई कुनै जानकारी नभएकोले बादी दावीको कागज बादीले शुद्ध व्यवहारबाट गराएको नहुँदा  दावीको लिखत पारित गरी दिनु पर्ने होइन । सक्कल लिखत बादीबाट दाखिल गराई मलाई सनाखत गराएका बखत अ.वं. ७८ नं. बमोजिम सद्दे किर्ते तर्फ एकिन गर्नेछु भन्ने प्रतिबादीको प्रतिउत्तर जिकिर ।

            ४.    २०२८।१।१ को शर्तनामा भरपाईको लिखतमा ऋणीको हैसियतले लागेको ल्याप्चेछापहरू प्रतिबादीको स्व. पति सुकन महरा चमारको नभै किर्ते हो । उक्त शर्तनामा भरपाई कागजमा उल्लिखित रु. १९०००। लिएको छैन । लिखत किर्ते भएकाले लिखत पारित हुनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिबादीको वारेस फगुनी हजारा दुसाधले २०५४।२।५ मा शुरु अदालतमा गरेको वयान ।

            ५.    प्रतिबादीको वयान झुठ्ठा हो ।  ऋणी सुकन महरा चमारकै ल्याप्चे सहिछाप हो, किर्ते होईन । शुद्ध र सद्दे व्यवहारबाट लिखत भएकाले बादी अमिरी महरा चमारले किर्ते तर्फ सजाय पाउनु पर्ने नभै लिखत पारित हुनु पर्ने हो भन्ने समेत व्यहोराको बादीको वारेस हृदयनारायणप्रसाद यादवले २०५४।२।५ मा सुरु अदालतमा गरेको वयान ।

            ६.    रेखा तथा लेखा विशेषज्ञ शाखाबाट जाँच भइ प्राप्त हुन आएको राय जाँच प्रतिवेदन मिसिल सामेल    रहेको ।

            ७.    प्रतिबादीको लोग्ने सुकन महरा चमारको ल्याप्चे संग लिखतको ल्याप्चे मिल्न भिड्न आएको भन्ने रेखा विशेषज्ञको राय समेतबाट किर्ते हो भन्ने प्रतिबादी जिकिर पुग्न सक्दैन । बादीले पेश गरेको लिखत सद्दे ठहर्छ । उक्त लिखत एकजनाले गरी दिएको भै करारको परिभाषा भित्र नपर्ने हुँदा बादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने रौतहट जिल्ला अदालतको २०५५।१२।४ को फैसला ।

            ८.    दावीको लिखत सद्दे ठहराउदै उक्त लिखतलाई करारको परिभाषा भित्र नपरेको भनी बादी दावी नपुग्ने ठहराएको रौतहट जिल्ला अदालतको फैसलामा चित्त वुझेन । कानून बमोजिम करार हुनका लागि चाहिने आवश्यक तत्व लिखतमा भएको अवस्थामा दावी बमोजिम लिखत पारित गर्ने ठहर गर्नु पर्नेमा दावी पुग्न नसक्ने ठहराएको सुरु फैसला कानून र प्रतिपादित सिद्धान्त समेतको बिपरित भएकोले वदर गरी न्याय पाउँ भन्ने समेत व्यहोराको बादीको पुनरावेदन अदालत, हेटौंडामा परेको पुनरावेदन पत्र ।

            ९.    शुरु जिल्ला अदालतको फैसला फरक पर्न सक्ने हुँदा अ.वं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालत, हेटौंडाको २०५६।७।१७ को आदेश ।

            १०.    पत्नि वुधियादेवीलाई साक्षि नराखेको मात्र कारणबाट सो शर्तनामाको लिखतलाई अमान्य गर्न समेत  मिल्दैन । दावीको लिखत सद्दे ठहर भै लिखतको प्रकृतिबाट करारको लिखत देखिन आएकोले सो करार बमोजिम प्रतिबादी वुधिया देवीको नाउँको कि.नं. ७६ को जग्गा मध्ये पश्चिम तर्फबाट ०.३.५ जग्गा यी बादीलाई पारित गरी दिनु पर्ने गरी ठहर गर्नु पर्नेमा दावी नपुग्ने ठहराएको रौतहट जिल्ला अदालतको फैसला उल्टी हुन्छ र बादीले धरौट राखेको रु. ५००। प्रतिबादीलाई बुझाई उक्त करार लिखत पारित गरी दिने समेत ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, हेटौंडाको २०५७।२।२। को   फैसला ।

            ११.    पुनरावेदन अदालतबाट भएको फैसला कानून र न्यायसंगत नहुनुको साथै सर्वोच्च अदालतसमेतबाट प्रतिपादित सिद्धान्त समेतको त्रुटी भएको छ ।  पुनरावेदकको वारेसले गरेको वयानको पेटवोली लगायत मेरो शुरु प्रतिउत्तर जिकिरको पेटवोलीमा परेको कुरालाई बिचार नगरी भएको फैसला अ.वं. १३९ नं. समेतको विपरीत भएकोले सो फैसला वदर गरी शुरु रौतहट जिल्ला अदालतको फैसला सदर गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिबादीको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

            १२.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदन अदालत, हेटौंडाबाट मिति २०५७।२।२ मा भएको फैसला मिले नमिलेको के रहेछ ? सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।

            १३.   यसमा प्रतिबादी वुधियादेवी चमारीनको लोग्ने शुकन महरा चमारले आफ्ना नाम दर्ताको कि.नं. ७६ को ज.वि. ०.५.१५ मध्ये पश्चिम तर्फबाट ज.वि. ०.३.५ जग्गा विक्री गर्न निश्चित गरी प्रतिकठ्ठा रु.६०००। का दरले हुने रु.१९,५००। मध्ये रु.१९,०००। बुझि लिई बाँकी रु.५००। लिखत पारित गर्दाका अवस्थामा दिने शर्तनामाको भरपाई २०२८।१।१ मा गरिदिएकोमा २०२८।१।२५ मा शुकन महरा चमारको मृत्यु भएकोमा शुकन महरा चमारका नामको जग्गा प्रतिबादी वुधियादेवीले २०५३।३।२१ मा नामसारी गराई बिपक्षीले उक्त जग्गा मलाई पारित गर्न इन्कार गरेकाले शर्तनामा भरपाईको शर्त अनुसारको रु.५००। म बाट बुझ्न लगाई प्रतिबादीबाट लिखत पारित दर्ता गराई हक इन्साफ पाउँ भन्ने समेत बादीको मुख्य फिराद दावी जिकिर र बादी दावी अनुसारको लिखत बादीले शुद्ध व्यवहारबाट गराएको नहुँदा दावी अनुसार लिखत पारित गराउनु पर्ने होइन, बादीलाई किर्तेमा सजाय गरिपाऊँ भन्ने समेत प्रतिबादीको मुख्य प्रतिउत्तर जिकिर भएकोमा शुरु रौतहट जिल्ला अदालतले लिखतमा लागेको सहिछाप प्रतिबादीका पतिकै देखिएकाले किर्ते भन्ने प्रतिउत्तर जिकिर पुग्न नसक्ने र एकजनाले गरिदिएको लिखत करारको परिभाषा भित्र पर्न नसक्ने भएकाले सो तर्फको बादी दावी पुग्न नसक्ने ठहर गरी गरेको फैसला उपर बादीको पुनरावेदन अदालत, हेटौंडामा पुनरावेदन परेकोमा पु.वे.अ.ले दावीको लिखत सद्दे ठहरी लिखतको प्रकृतिबाट करार ठहर गरी करार लिखतमा उल्लेखित शर्त अनुसार करार अनुसारको लिखत पारित गरि दिने ठहर गरी गरेको फैसला उपर प्रतिबादी वुधियादेवी चमारको यस अदालतमा पुनरावेदन पर्न आएको रहेछ ।

            १४.   निर्णयतर्फ बिचार गर्दा प्रतिबादीका स्व. पति शुकन महरा चमारले २०२८।१।१ मा गरिदिएको शर्तनामा भाखापत्रको भरपाई हेरिंदा बादीसंग प्रतिबादीका स्व. पतिले आफ्नो नाममा रहेको प्रेमपुर गोनाही गा.वि.स.वडा नं. ८ को कि.नं. ७६ को ज.वि. ०.५.१५ मध्ये ०.३.५ जग्गा रु. १९,५००। मा पारित गरिदिने शर्त राखी २०२८।१।१ मा १९,०००। बादीसंग प्रतिबादीको पतिले बुझिलिई उक्त रकम वापत आफ्नो नामको जग्गा वाँकी रकम रु. ५००। बुझिलिई आफु विरामीबाट निको भएको मितिले ६ महिना भित्र पारित गरिदिने र कथंकदाचित निको नभै मरेमा सो जग्गा मेरो श्रीमति वुधियादेवी चमारिनका नाममा नामसारी गराई लिएको मितिले ६ महिना भित्र पारित गरिदिने भाखापत्र गरी कागज भए गरेको कुरामा कुनै विवाद देखिदैन । प्रस्तुत मुद्दामा बादी दावीको शर्तनामा भरपाई लिखतलाई प्रतिबादीले आफ्नो पतिबाट भएको होईन लिखतमा भएको सहिछाप अड्डामा रहेको फिल्डवुकमा लागेको सहिछापसंग भिडाई जाँच गरिपाऊँ भन्ने जिकिर लिएकोमा विशेषज्ञबाट जाँच हुँदा बादी दावीमा उल्लेखित लिखतमा लागेको सहिछाप प्रतिबादीकै पतिको सहिछाप संग मिले भिडेको भनी राय व्यक्त हुन आई सो राय समेतको आधारमा प्रतिबादीको किर्ते तर्फ जिकिर पुग्न नसक्ने ठहर गरी रौतहट  जिल्ला अदालतले मिति २०५५।१२।४ मा फैसला गरेकोमा सो उपर प्रतिबादीले चित्त बुझाई पुनरावेदन अदालतमा समेत पुनरावेदन नगरी वसेका रहेछन् ।

१५.   उपरोक्त आधार प्रमाणबाट प्रतिवादीका पतिको लिखत र वादीको आचरण र व्यवहारबाट  प्रस्ताव, स्विकृति एवं प्रतिफल भै तदनुरुप करारमा हुनुपर्ने तत्व समेत विद्यमान रहे भएकै देखिन आएको पाईन्छ ।

            १६.    त्यस्तै करार सम्बन्धी दायित्वको प्रश्न तर्फ बिचार गर्दा, करार ऐन, २०२३ को दफा १०(२) मा करार गर्ने कुनै व्यक्तिको मृत्यु भएमा वा निजको होस ठेगानामा नरहेमा निजको हक र दायित्व निजको हकवालामा सर्नेछ भन्ने समेत व्यवस्था भएबाट उक्त लिखत अनुसारको दायित्व यि प्रतिवादी वुधियादेवी चमारिनका नाउँमा सर्ने नै हुन आउँदा वादी र प्रतिवादीका पति वीच भएको उक्त शर्त बमोजिम प्रतिवादीका पतिको मृत्यु पश्चात करार ऐन अनुसार प्रतिवादीका  पतिले  पुरा गर्नु पर्ने दायित्व  यी प्रतिवादीले पुरा गर्नु नै पर्ने हुन्छ ।  अव हदम्याद तर्फ बिचार गर्दा, प्रतिवादीका पतिले रु. १९,५००। मा आफ्नो ०.३.५ जग्गा दिने र वादीले लिने गरी सहमती भै प्रतिवादीका पतिले १९,५००। मध्ये सो लिखत हुँदाको मिति सम्म रु. १९,०००। बुझि लिई वाँकी रहेको रु. ५००। लिखत पारित गर्दाका अवस्थामा वादीबाट लिई उक्त लिखत अनुसार शुकन महरा चमार आफू विरामीबाट निको भएमा निको भएका मितिले ६ महिना भित्र, विरामीबाट निको नभै मरेमा वुधियादेवि चमारिनका नाउँमा नामसारी भएका मितिले ६ महिना भित्र जग्गा पारित गरी लिनु भन्ने शर्त उल्लेख भएपछि वादीले मुद्दा गर्नु पर्ने कारण सो शर्त अनुसार वुधियादेवीको नाममा निजको पतिको नामको जग्गा नामसारी भएको मितिलाई नै मान्नु पर्ने भएकोले वुधियादेवि चमारिनले २०५३।३।२१ मा नामसारी गराई लिएको मितिले ३ महिना भित्र अर्थात २०५३।५।२६ मा वादीको प्रस्तुत फिराद परेको देखिंदा उक्त फिराद हदम्याद नघाई दायर भएको भनी मान्न पनि मिलेन । उक्त लिखत तत्काल रजिष्ट्रेशन पारित हुनु पर्ने भन्ने प्रतिवादीको जिकिर रहे तर्फ विचार गर्दा, यस अदालतबाट प्रतिपादन भएको ने.का.प. २०४९, अङ्क १, नि.नं. ४४४७ मा निश्चित समय पछि लिखतमा लेखिएको घर जग्गा विक्री गरिदिने भन्ने शर्तमा करारीय सम्झौता सम्म भएको हुँदा उक्त लिखत विक्रीको लिखत (Sale Deed) नभै विक्री गरिलिने भन्ने कुराको मञ्जुरी (Agreement to sale) को लिखत भएको प्रष्ट छ । यस्तो लिखतलाई रजिष्ट्रेशन गर्नु पर्ने बाध्यात्मक व्यवस्था रहे भएको नपाइने भनी सिद्धान्त समेत प्रतिपादन भएकोले सो लिखत मौकैमा रजिष्ट्रेशन पारित गर्नुपर्ने भन्न मिल्ने देखिन आउँदैन । 

१७.   तसर्थः उपरोक्त विवेचित तथ्य, यस अदालतबाट प्रतिपादित नजिर र प्रमाण समेतका आधार प्रमाणबाट वादी र प्रतिवादीका पति वीच भएको लिखत करारीय भै करार ऐन बमोजिम प्रतिवादीका पतिको दायित्व प्रतिवादीमा सर्ने व्यवस्था अनुरुप करार ऐनमा उल्लेखित मुद्दा गर्नु पर्ने कारण परेको मितिले हदम्याद भित्रै प्रस्तुत फिराद परी दावी बमोजिम कि.नं. ७६ को ज. वि. ०--५ जग्गा लिखत बमोजिम प्रतिबादीबाट बादीका नाममा पारित गरिदिने ठहर गरेको पुनरावेदन अदालत, हेटौंडाको इन्साफ मिलेकै देखिंदा मनासिव ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.केदारप्रसाद गिरी

 

 

इति संवत् २०६२ साल मार्ग ३० गते रोज ५ शुभम .........            

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु