निर्णय नं. ७५९४ - अंश चलन ।

निर्णय नं.७५९४ ने.का.प.२०६२ अङ्क ९
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी
माननीय न्यायाधीश श्री रामकुमारप्रसाद साह
संम्वत २०५६ सालको दे.पु.नं......६४०२
संम्वत २०६१ सालको दे.पु.नं.... ९२३९
फैसला मितिः २०६२।९।६।४
मुद्दा : अंश चलन ।
पुनरावेदक / प्रतिवादीः चितवन जिल्ला पिठुवा गा.वि.स. वार्ड नं. २ बस्ने मुन्ना भन्ने पदमा भण्डारी समेत
विरुद्ध
प्रत्यर्थी / वादीः ऐ.ऐ. वस्ने अनिलराज भण्डारी
पुनरावेदक / प्रतिवादीः चितवन जिल्ला पिठुवा गा.वि.स. वार्ड नं. २ बस्ने श्यामबावु भण्डारीको मु.स. गर्ने छोरा दिनेश वावु भण्डारी
विरुद्ध
प्रत्यर्थी / वादीः ऐ.ऐ. बस्ने अनिलराज भण्डारी
§ निजी आर्जनको भन्नेले नै निजी आर्जनको प्रमाण पुर्याउनु पर्ने हुन्छ अन्यथा प्रमाण ऐनको दफा ६(क) बमोजिम त्यस्तो सगोलको अंशियारको नाउको सम्पत्ति सगोलको संम्पत्ति संझनु पर्ने ।
(प्रकरण नं.१९)
§ बकसपत्र बदरमा समयमै नालेस नगरेको भन्ने आधारमा मात्रै अन्य अंशियारको समेत हकलाग्ने सम्पत्ति आफ्नो श्रीमतीलाई बकसपत्र गरिदिएको भै सम्पत्ति अंशियारामा नै रहेको अवस्थामा हुंदा त्यस्तो सम्पत्तिमा अन्य अंशियारको हक समाप्त हुन्छ भन्नु न्याय संगत नहुने ।
§ लोग्नेको मात्र एकलौटी हक नभएको त्यस्तो सगोलको सम्पत्ति लोग्नेले बकसपत्र गरिदिएकै आधारमा मात्र त्यस्तो सम्पत्ति प्राप्त गर्ने स्वास्नीले स्त्री अंश धन अन्तर्गतको दावी लिई आफुखुस गर्न पाउने सम्पत्ति भनि अन्य अंशियारको अंश हक समाप्त गर्न नमिल्ने ।
(प्रकरण नं.२०)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री मुकुन्दप्रसाद पौडेल
प्रत्यर्थी वादी तर्फबाटः विद्वान वैतनिक अधिवक्ता श्री हेमराज अधिकारी
अवलम्वित नजीरः
फैसला
न्या.मीनवहादुर रायमाझीः न्याय प्रशासन ऐन २०४८ को दफा ९(१)(ग) अन्तर्गत पुनरावदेन अदालत हेटौंडाको मिति २०५६।७।२८।१ को फैसला उपर प्रतिवादीहरुको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्थ एवं ठहर यसप्रकार छ :-
२. म फिरादी र विपक्षीहरु एका सगोलका दाजु भाउज्यु र भाई हौं । हाम्रो पहाड घर गोरखा फुजेलमा पनि छ । म फिरादी शाही नेपाली सेनामा कार्यरत छु । मैले मेरो कमाई घरमै दिंदै आईरहेको छु । हाम्रो अंशवण्डा भएको छैन । म जागिरबाट आफ्नो पिठुवाको घरमा २०५३।१२।२९ गते आउंदा विपक्षीहरुले खान लाउन बस्न दिने इन्कार गरेकाले मेरो विहे भाग परसारी ४ भागको १ भाग अंश दिलाई भराई पाऊ भन्ने वादी दावी ।
३. मैले मेरो आर्जित सम्पत्ति र पहाड तर्फको केही जग्गा वेचविखन गरी चितवन जिल्ला पिठुवा गा.वि.स.मा केही जग्गा खरिद गरी जेठा छोरा बुहारीको नाममा रहेको छ । हामी कसैको पनि अंशवण्डा भएको छैन । वादीले हामी सवै प्रतिवादीहरुको सम्पत्तिबाट अंश पाउनु पर्ने हो । सवै छोराहरुमा वण्डा गरी दिन मेरो मन्जुरी छ भन्ने प्र. प्रेमबहादुर भण्डारीको प्रतिउत्तर पत्र ।
४. प्रतिवादी प्रेमबहादुर भण्डारीले आफ्नो प्रतिउत्तर पत्रमा के लेखाएका छन् हामीलाई थाहा छैन । मैले शाही नेपाली सेनामा काम गरी युनिफिल लेवनानमा गई त्यहां तलव भत्ता जोगाई उक्त चितवन पिठुवाको जग्गा खरिद गरेको हुंदा सो मेरो स्वआर्जनको भएकोले अंशवण्डा हुनु पर्ने होइन । पिता प्रेमबहादुर भण्डारीको पुर्ख्यौली सम्पत्ति वेच विखन गरी जग्गा किनेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी प्र.वा.स. अर्जुन राज भण्डारीको प्रतिउत्तर पत्र ।
५. वादीले दावी गरे बमोजिम जग्गामा अंशवण्डा लाग्ने होइन । वादीले पुर्ख्यौली सम्पत्तिबाट अंश पाउनुपर्ने हो । हामी छोराहरुले आफ्नो स्वआर्जनबाट खरिद भएको सम्पत्तिमा अंश लाग्ने होइन वादीको सम्पूर्ण व्यहोरा झुठ्ठा हो भन्ने समेत व्यहोराको प्रतिवादी श्यामबावु भण्डारीको प्रतिउत्तर पत्र ।
६. प्र. अर्जुन भण्डारी, प्र. पदमा भण्डारी, तथा श्यामबावु भण्डारीको फांटवारीमा उल्लेख भएको उक्त सम्पत्तिहरु निजहरुको हो । निजी आर्जनको देखिएकोले सो वण्डा नहुने हुंदा प्र. प्रेमबहादुर भण्डारीले मिति २०५४।१०।३०५ मा दिएको फांटवारीमा उल्लेख भएको रु.१,६६,८७०। को सम्पत्तिमात्र वण्डा लाग्ने अवस्था देखिन आएकोले यी वादीले सोही मुल्य रु. १,६६,८७०। वरावरका सम्पत्ति मध्ये अंशवण्डाको १७ नं. बमोजिम ५ प्रतिशतले हुने जम्मा रु.८३३८।५० यी वादीको विवाह खचर्, यी वादीलाई परसारी वांकी रहन आउने रु.१,५८,५२६।५० वरावरको सम्पत्ति मध्ये वरावर ४ भाग लगाई मुल्य रु.१,१८,८९४।८७ वरावरको ३ भाग प्रतिवादीहरुको अंश मात्र परसारी वांकी मुल्य रु. ३९,६३१।६२ वरावरको १ भाग मात्र सम्पत्ति यी वादीले अंश वापत पाउने हुंदा कोर्ट फि दाखिला गरी अंश छुट्याई पाउ भनी दरखास्त दिएका बखत अंश वापत यी वादीलाई छुट्याई दिनुपर्ने ठहर्छ भन्ने शुरु चितवन जिल्ला अदालतको फैसला ।
७. चितवन जिल्ला अदालतको फैसलामा मेरो चित्त बुझेन । विपक्षी प्रतिवादीहरुले निजी स्व. आर्जनबाट खरिद गरेको भनेका जग्गाहरु गोरखाको पुर्ख्यौली सम्पत्ति विक्री गरी सो बाट प्राप्त रकमबाट किनिएको स्पष्ट हुदां हुदै पनि निजी स्व.आर्जन भनी र पदमा भण्डारीको नामको जग्गा माइतिबाट प्राप्त भएको भनी कुनै प्रमाण विना वण्डा नहुने गरी चितवन जिल्ला अदालतले गरेको फैसला बदर भागी छ । अतः उक्त त्रुटिपूर्ण फैसलालाई बदर गरी फिराद दावी बमोजिम फैसला गरी पाऊ भन्ने पुनरावेदक वादीको पुनरावेदन पत्र ।
८. यसमा प्रतिवादी मध्येका प्रेमबहादुरले सवै अंशियारको वीच वरावर अंशवण्डा लाग्नु पर्ने भनी प्रतिवादीमा जिकिर लिएको देखियो । प्र.अर्जुन भण्डारी र श्यामबावु भण्डारीले खरिद गरेको जग्गा निजी आर्जनबाट खरिद भएको भन्ने लिखत एवं प्रमाणबाट नदेखिएको र जुनसुकै अंशियारको नाममा रहेको सम्पत्ति प्रमाण ऐन २०३१ को दफा ६(क) बमोजिम सवै अंशियारको सगोलको सम्पत्ति सम्झनु पर्ने भएकोबाट समेत शुरु चितवन जिल्ला अदालतको फैसला फरक पर्न सक्ने देखिंदा छलफलको निमित्त अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली २०४८ बमोजिम प्रत्यर्थी झिकाई उपस्थित भए वा अवधी नाघे पछि नियमानुसार पेश गर्नु भन्ने पुनरावदेन अदालतको संयुक्त इजलासबाट मिति २०५५ मार्ग २ गते भएको आदेश ।
९. यसमा वादीले प्रतिवादीहरु श्यामबावु, अर्जुनराज तथा पदमा भण्डारीको नाउको तायदातिमा उल्लेख भएको सम्पत्तिबाट अंश नपाउने ठहराएको शुरु चितवन जिल्ला अदालतको फैसला सो हदसम्म मिलेको नहुंदा केही उल्टी भै वादीले निज प्रतिवादीहरुको नाउमा रहेको सम्पत्तिबाट समेत ४ भागको १ भाग वादी दावी बमोजिम अंश पाउने ठहर्छ भन्ने व्यहोराको पुनरावदेन अदालत हेटौडाको मिति २०५६।७।२८।१ को फैसला ।
१०. म पुनरावेदकले सेनामा रहंदा लेवनान गै कमाएको, जागीर राजीनामा गर्दा प्राप्त गरेको र दक्षिण कोरिया गई काम गर्दा दुर्घटनामा परी विमावापत पाएको रकम समेत जम्मागरी खरिद गरेको निजी आर्जनको सम्पत्ति, प्रमाण ऐन २०३१ को दफा ६ र मुलुकी ऐन अंशवण्डाको १८ नं. विपरित सगोलको सम्पत्ति मानी उक्त सम्पत्तिबाट समेत बण्डा लगाउने गरेको पुनरावेदन अदालत हेटौडाको मिति २०५६।७।२८ को त्रुटिपूर्ण फैसला बदर गरी पाऊ भन्ने प्रतिवादीद्वय पदमा भण्डारी र अर्जुनराज भण्डारीको यस अदालतमा परेको पुनरावेदन जिकिर ।
११. प्रमाण ऐन, २०३१ को दफा ६ (क) को प्रतिवन्धात्मक बाक्यांश अनुसार निजी ज्ञान सिप र प्रयासबाट आर्जन गरेको प्रमाणित नभएमामात्र अंशियारको नाममा रहेको सम्पत्ति सगोलको हो भनी अनुमान गर्नु पर्नेमा शान्ति सेनामा खटीई पारिश्रमिक बापत प्राप्त रुपैयाबाट आर्जेको सम्पत्ति समेत सगोलको भनी बण्डा लगाउने गरेको पु.वे.अ. को फैसला ने.का.प.. २०४८ अंक ९ पृ ४८२ नि.नं. ४३५५ को ज्ञानेन्द्र मल्ल वि. निजानन्द मल्ल समेत भएको मुद्दामा यस अदालतबाट प्रतिपादित सिद्धान्त विपरित हुंदा उक्त फैसला बदर गरी प्रतिउत्तर जिकिर बमोजिम निजी आर्जनको सम्पत्ति बण्डा नलाग्ने गरी पाऊ भन्ने प्रतिवादी श्याम बावु भण्डारीको मु.स. गर्ने दिनेश बावु भण्डारीको तर्फबाट प्रस्तुत पुनरावेदन जिकिर ।
१२. यसमा प्रतिवादी मध्येका अर्जुनराज भण्डारीका नाउमा खरिद गरेको सम्पत्ति सगोलको सम्पत्ति वा सो को आम्दानी आयस्ताबाट खरिद गरेको भन्ने प्रमाणित भएको अवस्था नरहेको र निजले शाही नेपाली सेनामा कार्यरत रहदाका अवस्थामा विदेश लेवनान र कोरिया समेत गै प्राप्त गरेको पारिश्रमिक र सुविधा वापत प्राप्त रकमबाट खरिद गरेको जिकिरलिई सोको प्रमाण समेत पेश गरेको स्थितिमा निजीज्ञान सिपबाट आर्जन गरेको सम्पत्ति अंशवण्डाको महलको १८ नं.ले आर्जन गर्नेको निजी सम्पत्ति भै वण्डा नलाग्नेमा उक्त सम्पत्ति समेत वण्डा लाग्ने गरेको पु.वे.अ. हेटौडाको फैसला फरक पर्न सक्के हुंदा अ.वं. २०२ नं बमोजिम छलफलका लागि प्रत्यर्थी झिकाउनु भन्ने व्यहोराको यस अदालतको मिति २०६०।१२।८।४ को आदेश ।
१३. यसमा पु.वे.अ. हेटौंडाबाट मिति २०५६।७।२८ मा भएको फैसलामा हेरफेर भएको अवस्थामा पुनरावेदन नगर्ने प्रतिवादी प्रेमबहादुर भण्डारीलाई पनि असर पर्ने भएकोले निजलाई पनि अ.व.२०२ नं. बमोजिम छलफलका लागि म्याद दिई झिकाउने भन्ने यस अदालतको मिति २०६२।३।२२।४ को आदेश ।
१४. यसमा प्रस्तुत अंश मुद्दाको प्रतिवादीहरु मध्ये पुनरावदेक प्रतिवादी अर्जुनराज भण्डारी समेत भएको दे.पु.नं. ६४०२ को पुनरावदेनमा यस अदालतबाट २०६०।१२।१८ मा अ.वं. २०२ नं. बमोजिम झ.झि. आदेश भएको र सोही मुद्दामा यसै अदालतको मिति २०६१।८।१९ को आदेशानुसार जारी भएको पुनरावदेनको म्याद अनुसार प्रस्तुत पुनरावदेन मिति २०६१।११।१९ मा दर्ता भएको देखिंदा उक्त दे.पु.नं. ६४०२ को मुद्दामा हुने निर्णय प्रस्तुत मुद्दामा समेत अन्तरप्रभावी हुने हुंदा यस मुद्दामा पनि अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाउनु । प्रत्यर्थी वादी दे.पु.नं. ६४०२ को मुद्दामा तारेखमा रहेको देखिंदा झ.झी को म्याद प्रत्यर्थी वादीलाई यसै अदालतबाट वुझाउन लागाई प्रस्तुत मुद्दामा समेत तारेखमा राखि दुवै मुद्दामा एकै साथ पेश गर्नु भन्ने यस अदालतको मिति २०६२।३।१४ को आदेश ।
१५. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री मुकुन्द प्रसाद पौडेलले र प्रत्यर्थी वादीको तर्फबाट उपस्थित विद्वान वैतनिक अधिवक्ता श्री हेमराज अधिकारीले गर्नु भएको बहस सुनियो । पुनरावेदन सहितको मिसिल संलग्न कागज प्रमाणहरुको अध्ययन गर्दा प्रस्तुत मुद्दामा शुरु फैसला केही उल्टी गरी प्रतिवादीहरुको नाउमा रहेको सम्पत्तिबाट समेत बादीले ४ भागको १ भाग अंश पाउने ठहराएको पुनरावदेन अदालत हेटौडाको फैसला मिलेको छ , छैन निर्णय दिनुपर्ने देखियो ।
१६. निर्णयतर्फ विचार गर्दा वादी अनिलराज भण्डारी तथा प्रतिवादीहरु श्यामवावु भण्डारी र अर्जुनराज भण्डारी, प्रतिवादी प्रेमबहादुर भण्डारीका छोराहरु भै चारै जना वावु छोराहरु एकासगोलका अंशियार भएकोमा कुनै विवाद देखिंदैन । वादी प्रतिवादीहरु वीच अंशवण्डा नभएको र वादीले सगोलको सम्पत्तिको ४ भागको १ भाग अंश पाउने कुरामा समेत कुनै विवाद छैन । वादी प्रतिवादीहरु तथा प्रतिवादी अर्जुनराज भण्डारीकी पत्नी प्रतिवादी मुन्ना भन्ने पदमा भण्डारीको नाउमा रहेको तायदातीमा उल्लेखित सवै सम्पत्ति सगोलको सम्पत्ति हुंदा उक्त सवै सम्पत्तिबाट समेत ४ भागको १ भाग अंश पाउं भन्ने वादी दावी भएकोमा प्रतिवादीहरु अर्जुनराज भण्डारी तथा अर्का प्रतिवादी श्यामबावु भण्डारीको नाउमा रहेका सम्पत्ति निज प्रतिवादीहरुले शाही नेपाली सेनामा जागिर गर्दा शान्ति सेनामा खटिई गए वापत प्राप्त भत्ता पारिश्रमिकबाट आर्जित रकमबाट खरिद गरको निजी आर्जनको सम्पत्ति भएको र प्रतिवादी पदमा भण्डारीको नाउंको सम्पत्ति निजले पति अर्जुनराज भण्डारी विदेश जांदा र घरखर्च गर्दा माइतीबाट पाएको गहना विक्री गरी दिएको कारण पतिले सिला खरेलसंग खरिद गरको ०-१-० जग्गा मिति २०४९।१।२९ मा हा.व. गरिदिएको र उक्त हा.व. बदर तर्फ समयमै नालेस नपरेको हुंदा वण्डा गर्न नपर्ने सम्पत्ति भन्ने प्रतिवादीहरुको जिकिर देखिन्छ । प्रतिवादी प्रेमबहादुर भण्डारीको नाउमा रहेको सवै सम्पत्ति सगोलको सम्पत्ति भन्नेमा विवाद छैन । साथै सवै प्रतिवादीहरुको नाउमा रहेको सम्पत्ति पैतृक सम्पत्तिबाटै वढे बढाएको सम्पत्ति हुंदा सगोलको सवै अंशियारको वीच वण्डा लाग्ने सम्पत्ति हो भन्ने प्रतिवादी प्रेमबहादुर भण्डारीको भनाईबाट देखिन्छ ।
१७. प्रस्तुत मुद्दामा वादीले प्रतिवादी प्रेमबहादुर भण्डारीको नाउको सम्पत्तिबाट ४ खण्डको १ खण्ड अंश बण्डा छुट्याई लिन पाउने र अन्य प्रतिवादीका नाउमा तायदातीमा उल्लेखित सम्पत्तिमा वादी दावी नपुग्ने ठहर गरेको शूरुको फैसलामा प्रतिवादी हरुले पुनरावेदन नगरी वसेको देखिन्छ भने सो फैसला उपर वादीको तर्फबाट परेको पुनरावेदनमा पुनरावेदन अदालतबाट फैसला हुंदा प्रतिवादीहरु अनिलराज भण्डारी, पदमा भण्डारी र श्यामबावु भण्डारीको नाउमा रहेको तायदातीमा उल्लेखित सम्पत्तिमा वादी दावी नपुग्ने ठहर गरेको हदसम्म शुरु फैसला केही उल्टी भै प्रतिवादीहरुको नाउको उक्त सम्पत्तिबाट समेत वादी दावी बमोजिम वादीले ४ भागको १ भाग अंश पाउने ठहर गरी फैसला भएको देखिन्छ । पुनरावेदन अदालतको फैसला उपर प्रतिवादीहरु अर्जुनराज भण्डारी, पदमा भण्डारी र श्यामबावु भण्डारी को मु.स. गर्ने निजको छोरा दिनेश वावु भण्डारीको तर्फबाट प्रस्तुत पुनरावेदन परेको देखिंदा निज प्रतिवादीहरुको नाउको तायदातीमा उल्लेखित सम्पत्ति बण्डा लाग्ने सगोलको सम्पत्ति हो, होइन सो प्रश्न नै निरुपण गर्नुपर्ने देखिन आयो ।
१८. प्रतिवादी श्याम बावु भण्डारीले आफ्नो नाउमा रहेको सम्पत्ति स्व आर्जनको निजी सम्पत्ति भन्ने जिकिर लिंदै आफु शाही नेपाली सेनामा कार्यरत रहंदा शान्ति सेनामा गै कमाई ल्याएको रकम र जागीर छोड्दा प्राप्त रकमबाट उक्त जग्गाहरु किनेको भन्ने पुष्टि गर्न शाही नेपाली सेना बलाध्यक्ष विभागको मिति २०५४।३।१ को पत्र पेश गरेका पाइयो । मिसिल संलग्न मिति २०४३।१२।८।१ को राजिनामा हेर्दा निजको नाउमा रहेको चिवतन जिल्ला पिठुवा २(ख) को कि.नं. १०३ को १-०-६ जग्गा १०,२००। रुपैयामा लिएको भन्ने देखिई उक्त राजिनामा सम्पत्ति निजले आफ्नो निजी आर्जनबाट खरिद गरेको भन्ने भरपर्दो प्रमाणबाट पुष्टि हुन सकेको देखिंदैन । अर्का प्रतिवादी अर्जुनराज भण्डारीले पनि आफ्नो नाउको जग्गा जागिर छाडेर प्राप्त रकम र कोरियाबाट ल्याएको रकमबाट किनेको भनि जागिर छोडेको र कोरिया गएर फर्केको पुष्टि हुने कागजातसम्म पेश गरे पनि निजले निजी आर्जनको रकमबाटै विवादित सम्पत्ति खरिद गरेको भन्ने प्रमाणित हुन सक्ने अवस्था छैन । यस स्थितिमा निज प्रतिवादीहरुको नाउमा रहेको तायदातीमा उल्लेखित सम्पत्ति अंशवण्डाको १८ न. अनुसार निजी आर्जनको वण्डा नलाग्ने सम्पत्ति भनी मान्न मिल्ने देखिंदैन ।
१९. प्रमाण ऐन २०३१ को दफ ६ (क) ले एकासगोलको अंशियारको नाउमा दर्ता रहेका सम्पत्ति अन्यथा प्रमाणित नभएसम्म सगोलको सम्पत्ति सम्झनु पर्ने व्यवस्था गरेको र त्यसै गरी अंशवण्डाको १८ नं. ले सगोलमा रहेका अंशियारले सगोलको सम्पत्तिबाट वढे वढाएको सगोलको आर्जन सवै अंशियारलाई वण्डा लाग्ने व्यवस्था गरेको तथा कुनै अंशियारले आफ्नो ज्ञान वा सिपबाट आर्जन गरेको वा पाएको सम्पत्तिमात्र निजको निजी सम्पत्ति भै वण्डा गर्न कर नलाग्ने व्यवस्था गरेको परिप्रेक्ष्यमा सगोलका अंशियारको नाउमा रहेको सम्पत्ति सगोलकै सम्पत्ति मान्नु पर्ने र त्यस्तो सम्पत्ति निजी आर्जनको भन्ने दावी लिने अंशियारले नै निजी आर्जनको हो भनि प्रमाणित गर्नुपर्ने देखिन आउंछ । यस अवस्थामा प्रतिवादी अर्जुनराज भण्डारीको नाउमा खरिद गरेका सम्पत्ति सगोलको सम्पत्ति वा सोको आयस्ताबाट खरिद गरेको भन्ने प्रमाणित भएको अवस्था नरहेको भन्ने आधारमा उक्त सम्पत्ति बण्डा नलाग्ने भनी अ.वं. २०२ नं. बमोजिम प्रत्यर्थी झिकाउने गरी भएको आदेशसंग सहमत हुन सकिएन । निजी आर्जनको भन्नेले नै निजी आर्जनको प्रमाण पुर्याउनु पर्ने हुन्छ अन्यथा प्रमाण ऐनको दफा ६(क) बमोजिम त्यस्तो सगोलको अंशियारको नाउको सम्पत्ति सगोलको संम्पत्ति संझनु पर्ने हुन्छ । तसर्थ प्रतिवादीहरु अर्जुनराज भण्डारी र श्यामबावु भण्डारीका नाउमा रहेको तायदातीमा उल्लेखित सम्पत्ति सगोलको वण्डा लाग्ने सम्पत्ति देखिन आउंछ ।
२०. प्रतिवादी अर्जुनराज भण्डारीकी श्रीमति प्रतिवादी मुन्ना भन्ने पदमा भण्डारीका नाउंमा रहेको तायदातीमा उल्लेखीत सम्पत्ति निज पति अर्जुनराज भण्डारीले श्रीमतीलाई बकसपत्र गरिदिएको सम्पत्ति भन्ने देखिन्छ । उक्त सम्पत्ति प्रतिवादी अर्जुनराज भण्डारीको निजी आर्जनको सम्पत्ति नभै सवै अंशियारको अंश हक लाग्ने सम्पत्ति भएकोमा त्यस्तो सगोलको सम्पत्ति एक जना अंशियारले मात्र अन्य अंशियारको मंजुरी विना आफ्नो श्रीमतिलाई आफुखुस हक हस्तान्तरण गरिदिन सक्ने देखिंदैन । बकसपत्र बदरमा समयमै नालेस नगरेको भन्ने आधारमा मात्रै अन्य अंशियारको समेत हकलाग्ने सम्पत्ति आफ्नो श्रीमतीलाई बकसपत्र गरिदिएको भै सम्पत्ति अंशियारामा नै रहेको अवस्थामा हुंदा त्यस्तो सम्पत्तिमा अन्य अंशियारको हक समाप्त हुन्छ भन्नु न्याय संगत हुदैन । लोग्नेको मात्र एकलौटी हक नभएको त्यस्तो सगोलको सम्पत्ति लोग्नेले बकसपत्र गरिदिएकै आधारमा मात्र त्यस्तो सम्पत्ति प्राप्त गर्ने स्वास्नीले स्त्री अंश धन अन्तर्गतको दावी लिई आफुखुस गर्न पाउने सम्पत्ति भनि अन्य अंशियारको अंश हक समाप्त गर्न मिल्दैन । तसर्थ, प्रतिवादी पदमा भण्डारीका नाउमा दर्ता रहेको तायदातीमा उल्लेखित सम्पत्ति पनि सगोलको वादी समेतको वण्डा लाग्ने सम्पत्ति देखिन्छ ।
२१. माथि उल्लेखित आधार कारणहरुबाट प्रस्तुत मुद्दामा प्रतिवादीहरु श्यामबावु भण्डारी र अर्जुनराज भण्डारी र पदमा भण्डारीका नाउंको तायदातीमा उल्लेखित सम्पत्तिबाट वादीको विवाह खर्च परसारी वांकी सम्पत्तिबाट ४ खण्डको १ खण्ड अंश वादीले पाउने भनी सो सम्पत्तिबाट वादीले अंश नपाउने ठहराएको हदसम्म शुरु चितवन जिल्ला अदालतको फैसला केही उल्टी गरेको पुनरावदेन अदालत हेटौडाको मिति २०५६।७।२८ ।१ को फैसला मनासिव देखिंदा सदर हुने ठहर्छ। पुनरावेदक प्रतिवादीको पुनरावदेन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.रामकुमार प्रसाद शाह
इति सम्वत २०६२ साल वैशाख ६ गते रोज ४ शुभ्म............