शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७५९६ - दर्ता वदर हक कायम ।

भाग: ४७ साल: २०६२ महिना: पौस अंक:

निर्णय नं.७५९५           ने.का.प.२०६२              अङ्क ९

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री रामनगिना सिंह

माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ

सम्वत् २०५७ सालको दे.पु.नं. .....६५२२

फैसला मितिः २०६२।८।१।४

 

मुद्दाः दर्ता वदर हक कायम ।

 

पुनरावेदक र वादी काठमाडौं जिल्ला का.म.न.पा.वडा नं. ८ वस्ने कमलप्रसाद भट्ट समेत

विरुद्ध

प्रत्यर्थी र प्रतिवादीः काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. ९ वस्ने हरिप्रसाद घिमिरे समेत

 

§  कार्यव्यस्तताको कारण वा अन्य कुनै कारणले तोकिएको दिन कर्मचारी खटाउन नसकिएको अवस्थामा सो कारणवाटै पक्षको हक हितमा असर पर्छ भनी मान्न नमिल्ने ।

§  एउटा कामलाई भनी तारेख तोकिसके पश्चात सोही काम गर्नुपर्नेमा सो काम गर्नलाई कर्मचारी नखटाई चुप लागि वस्ने तर पक्षको तारेख गुज्रिसकेको भनी मुद्दालाई असर पर्ने गरी डिसमिस गर्नु न्यायोचित नदेखिने ।

(प्रकरण नं.१५)

§  वादीको वारेशलाई हाजिर हुन भनी व्यहोरा लेखी सहिछाप गराएपछि सो मितिमा कर्मचारी र अमिन समेत नगएको अवस्थामा तारेख गुज्रेको भनी प्रमाणित गरी मुद्दा डिसमिस गर्ने गरी भएको शुरुको फैसला र सो लाई सदर गर्ने गरी भएको पुनरावेदन अदालतको फैसला कायम रहन सक्ने नदेखिंदा वदर हुने ।

(प्रकरण नं. १६)

 

पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री शम्भु थापा र श्री इन्द्र खरेल

प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री श्रीप्रसाद पण्डित, श्री सुशिल पन्त, श्री हरिहर दाहाल र श्री वावुराम गिरी

अवलम्वित नजीरः ने.का.प. २०५०, अंक ६ नि.नं. ४७६४ पृष्ठ ३४९, ने.का.प. २०५३, अंक २, नि.नं. ६१४८, पृष्ठ १४१

 

फैसला

            न्या.रामनगिना सिंहः पुनरावेदन अदालत, पाटनको मिति २०५४।५।३१ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम वादीको मुद्दा दोहोर्‍याई हेरी पाउं भनी निवेदन परी मिति २०५६।१२।९ मा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भै पुनरावेदनमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :

            २.    जिजुबाजे गोपाल भट्टलाई वि.स. १८६१ साल कार्तिक ८ रोज ४ का दिन तत्कालीन श्री ५ का बाहुलीवाट संकल्प गरी पाएको कुश विर्ताको हांडीगाउंका अम्वलमा पूर्व मूलवाटो, पश्चिम प्रजाका सुना विर्ता भनेको हालको रैकर उत्तर गुठी र रैकर दक्षिण प्रजाकै सुना विर्ता भनेको हालको रैकर, उत्तर गुठी र रैकर, दक्षिण प्रजाकै सुना विर्ता भनेको हालको रैकर यति चार किल्ला भित्रको घुम्बोखेत रोपनी १४ को , पूर्व दक्षिण पश्चिम मुलवाटो उत्तर वाटो, टोडोलको गुठी र नुहकिल यति चार किल्ला भित्रको हसुल घडेरी रोपनी ५ को १ र पूर्व वाटो पश्चिम टोडोलको गुठी उत्तर रैकर दक्षिण हरिभक्त पण्डितको विर्ता लुहकिल यति चार किल्ला भित्रको हसुल धुम्बाराहीको रोपनी ११ समेत जम्मा ३० रोपनी जग्गा जिजु बाजे गोपाल भट्ट पछाडि बुढा वाजे बैजनाथ भट्टले विपक्षी चेतबहादुरकी बज्यै कर्णेल्नी राजकुमारीलाई रु १००१।मा भोग बन्धकी दिनु भै निज पछाडि पदम कुमारी, जयन्ता ब्राम्हणी समेतका नाममा लख बन्धकी हुंदै आएकोमा बन्धकी निखन्न नपाउंदै बुढा बाजे, बजै र बाबु समेतको परलोक भै सकेको र हामी नावालक हुंदा बन्धकी निखन्न पाएको थिएनौ । जयन्ता ब्राम्हणीले उक्त लख बन्धकी जग्गा छोरा कपिल देव र छोरी नन्द कुमारीलाई शेषपछिको बकसपत्र गरी दिनु भएकोमा छोरा कपिल देव परलोक हुनु भएको र सन्तान नभै निसन्तान भएको, छोरी नन्द कुमारी पनि परलोक भै छोरा गोविन्दप्रसाद र पति हरिप्रसादको बन्धकी जनिएको देखिएकोमा थैली वुझ्नु होस् भन्दा सो  गर्न इन्कार गरेको हुंदा ने.रा.वैंक धरौटी खातामा रु.१००१।धरौटी राखी लिखत हेर्दा चेतबहादु थैली बुझाउने र हरिप्रसाद तथा केशवप्रसाद थैली बुझ्ने गरी मिति ०२१।२।३० मा बन्धकी लिखत कटृा गराएको कुरा मिति ०४७।७।८ मा थाहा भयो । उपरोक्त जग्गा ०२३ सालमा सर्भे नापी हुंदा धुम्बो खेत रोपनी १४ हा.नं. १८५ कपन गा.पं. वार्ड नं. ३(घ) कि.नं. ४१ रोपनी ९० मौजे धुम्बाराही हा.नं. ५२ भिड्ने भनी का.न.पं. २३(ण) कि.नं. ६१,६२,६३,७६ र ७७ समेत कित्ता कायम भै क्रमशः ५, , ११, १ र ०१३१ समेत कायम भै फिल्डबुकमा बन्धकी जनिएको देखियो । पोत लगत हेर्दा मिति ०२१।२।२६ मा चेतबहादुरका नाउंमा रै.प. लगत दर्ता गराई चेतबहादुर राजिनामा गरि दिने र हरिप्रसाद राजिनामा गरि लिने गरी हरिप्रसादका नाउंमा दर्ता भएको पाइयो । चेतबहादुर वस्नेतको नाउ.मा रै.प. गरी दर्ता गराएको दर्ता र सो दर्ताका आधारवाट विपक्षी चेतबहादुर वस्नेत दिने विपक्षी हरिप्रसाद लिने गरी मिति २०२१।२।३० को राजिनामा लिखत र सो को आधारमा हरिप्रसादको नाउंमा भएको दर्ता वदर गरी हाम्रो हक कायम गरी दर्ता गरी चलन समेत चलाई पाउं भन्ने समेत व्यहोराको फिराद पत्र ।

            ३.    प्रतिवादीहरू हरिप्रसाद घिमिरेले मिति २०४७।८।१९ मा तामेल भएको शुरु म्याद र प्रतिवादी चेतबहादुरले पनि सोही मितिमा तामेल भएको शुरु म्याद गुजारी प्रतिवादनै नगरी बसेको।

            ४.    वादीले कागजको वारेमा जतिसुकै कुराको दावी गरेपनि त्यस कागजमा आफ्नो निर्विवाद हक प्रमाणित गर्न सकेको छैन । दावीको जग्गामा नक्शा गर्ने आदेश हुंदा वादी पक्ष स्वयं गैरहाजिर रही तारेख गुजारेको देखिन्छ । प्रस्तुत मुद्दामा तारेख थाम्ने थमाउने अवस्था समेत रहे भएको नदेखिंदा प्रस्तुत मुद्दा दायर रहन नसकी अदालती बन्दोवस्तको १८५(क) को देहाय (२) बमोजिम डिसमिस हुने ठहर्छ भन्ने काठमाडौं जिल्ला अदालतको मिति २०५३।५।३१ को फैसला ।

            ५.    प्रस्तुत दर्ता बदर हक कायम समेत लगायत लगाउका कुल २१ वटा मुद्दा एकै साथ रहेको हुंदा पछिल्लो तारिख ०५३।२।१६ मा तोकि पाएका थियौं । सो दिन अदालतमा उपस्थित हुंदा प्रस्तुत मुद्दा समेत २१ वटै मुद्दामा ०५३।३।१८ को तारेख तोकी हाम्रो वारेसलाई सहीछाप गराएका थिए । त्यसपछि ०५३।३।१८ को तारेखमा पनि उपस्थित भै ०५३।३।३१ को पेशी तारेख तोकी पाएको र पटक पटक वारेस उपस्थित भै तारेख लिइ रहेको अवस्थामा प्रसतुत मुद्दामा कसरी तारेख गुज्रन गयो आश्चर्यको कुरा छ । यसवाट के प्रष्ट हुन्छ भने प्रस्तुत मुद्दामा छुट्टै भिन्न मिति ०५३।३।७ को तारेख तोकिएको कुरा थप तारेख पर्चावाट अवगत हुन्छ । उक्त थप गरिएको पर्चामा वारेस वीरबहादुरको सही हाम्रो वारेसको सहीसंग मिल्दैन । मिति ०५३।३।१८ को तारेख तोकी पाएकोमा उक्त थप पर्चामा मिति ०५३।३।७ को तारेख तोकिएको छ । यसवाट वास्तविक हाम्रा वारेसलाई तोकिएको तारेख पर्चा मिसिल फाइलवाट हटाई गुम गरी सो को सटृा मिति ०५३।३।७ को तारेख तोकी मेरो सहीछाप नै नभएको मेरो नामको सही गराई राखिएको हो । यसर्थ मिति ०५३।३।१८ मा अदालतमा उपस्थित भै अन्य लगाउका मुद्दामा तारेख लिएको हुंदा सम्मानित श्री सर्वोच्च अदालतवाट शोभा गुरुङ्ग विरुद्ध प्रकाश गुरुङ्ग भएको जालसाजी मुद्दामा प्रतिपादित सिद्धान्त (ने.का. प. ०५३ नि.नं. ६१४८ अंक २ पृ. १४१) अनुसार प्रस्तुत मुद्दामा तारेख गुजारेको भन्न नमिल्ने हुंदा शुरु जिल्ला अदालतको बेरितको फैसला बदर गरी हाम्रा फिराद जिकिर बमोजिम न्याय इन्साफ दिलाई पाउं भन्ने समेत व्यहोराको वादीको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।

            ६.    यस्मा सम्बद्ध शुरु मिसिलको तारेख भरपाई अध्ययन गर्दा २०५३ साल आषाढ ७ गतेका दिन विवादित जग्गाको नाप नक्सा गर्ने हुंदा उक्त दिन विवादित जग्गामा हाजिर हुनेछु भन्ने व्यहोरामा वादीको वारेस वीरबहादुर थापाले सही गरेको देखिन्छ । निजले उक्त तारेख गुजारी कानून बमोजिम थाम्न थमाउन पाउने म्याद समेत भुक्तान भईसकेपछि मिति ०५३।५।३१ मा मुलुकी ऐन अ.वं. १८५(क) को देहाय (२) बमोजिम डिसमिस भएको देखिंदा उक्त डिसमिस फैसला कानून सम्मत हुंदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति ०५४।५।३१ को    फैसला ।

            ७.    वादीदावीको जग्गा हामी निवेदकका जिजु बाजे स्व. गोपाल भट्टलाई सम्वत् १८६१ सालमा तत्कालीन श्री ५ वाट संकल्प गरी दिएको कुश विर्ता जग्गा हो । निजको शेषपछि हाम्रा बुढा हजुर बुबा बैजनाथ भट्टले का.जि. बत्तिस पुतली बस्ने कर्णेल्नी राज कुमारीलाई रु १००१।मा भोगबन्धकी दिनु भएको हो । यसरी स्व. गोपाल भट्ट  र निजका सगोलका छोरा स्व. बैजनाथ भट्टका हामी निवेदकहरू जनाती, खनाती नाता पर्ने हुंदा उक्त विवादास्पद जग्गाहरू निजहरूको शेषपछि हामी निवेदकहरूको हक लाग्छ भन्ने कुरा प्रष्ट छ । सो कुराको प्रमाण मिति ०३८।४।१९ मा प्राप्त नाता प्रमाणितको प्रमाणपत्र र भोग वन्धकीमा लिएको राजकुमारीवाट पदम कुमारीले लिएको, पदम कुमारीवाट मिति १९७८।१२।२९ मा जयन्ता बम्हणीले लख बन्धकी लिई मिति २००१।११।८ मा रजिष्ट्रेशन भएको  प्रमाणित लिखत समेतवाट उक्त जग्गा हामी निवेदकको हो भन्ने प्रष्टै छ । यस्तो हाम्रो हकको जग्गा विपक्षीहरूले आपसमा जालसाजी गरी राजिनामा गरी दा.खा. नामसारी गरे गराए उपर दर्ता वदर गरी हाम्रो नाउंमा दा.खा. नामसारी गरी चलन पाउं भन्ने मुद्दामा का.जि.अ. का सम्वन्धित फांटवालाले हाम्रो वारेस वीरबहादुर थापालाई प्रस्तुत दर्ता वदर हक कायम मुद्दामा ०५३।३।७ मा तारेख तोकी दिएको छैन । मिति ०५३।१।२५ मा थप गरिएको तारेख भरपाई  कितावमा मिति ०५३।२।१६ मा विवादित जग्गामा नाप नक्सा गर्ने भएकोले विवादित जग्गा देखाउन अदालतमा उपस्थित हुनुहोला भनी लेखी वा. वीरबहादुरको सही गराइएको छ र मिति ०५३।३।७ मा विवादित जग्गाको नाप नक्सा हुने भएकोले जग्गामा हाजिर हुनु होला भनी वीरबहादुर थापाको सही गराइएको छ । उक्त सही हाम्रो वारेस वीरबहादुर थापाको होइन । अन्य मुद्दामा भएको वीरबहादुरको सहीसंग सो मा भएको सही मिल्दैन । प्रस्तुत मुद्दामा अन्य मुद्दा सरह ०५३।३।१८ गतेको तारेखका दिन विवादित जग्गामा नक्सा  सर्जमिन गर्न जग्गा देखाउन उपस्थित हुन भनी तारेख तोकी सही गराएको  थियो । उक्त मिति ०५३।३।१८ मा तोकिएको तारेखका दिन हाम्रो वारेस अदालतमा उपस्थित भै तारेख लिई सही गरेको तथ्य अन्य लगाउका जालसाजी लगायत लिखत वदर मुद्दाको तारेख भरपाई किताववाट प्रष्ट हुन्छ । अदालत वा सम्वन्धित कर्मचारी फांटवालाको गल्तीवाट मिति ०५३।३।७ को तारेख तोकी नक्कली सही गरी गराई तारेख गुजारी दिएको बनावटी हो । गुज्रेको तारेख थामी पाउने कानूनी म्याद भित्र ०५३।३।१८ मा अदालतमा उपस्थित भै अन्य लगाउ मुद्दामा तारेख लिएको हुंदा ने.का.प. ०५३ नि.नं. ६१४८ अंक २ पृ. १४१, ने.का.प. ०४३ नि.नं. २६०५ अंक १ पृ. ६६ अनुसार प्रस्तुत मुद्दामा तारेख गुजारेको भन्न मिल्दैन । अतः शुरुको फैसला सदर गर्ने गरी भएको पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण भएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को १(ख) बमोजिम मुद्दा दोहोर्‍याई हेरी पाउं भन्ने समेत व्यहोराको वादीको यस अदालतमा पर्न आएको निवेदन पत्र ।

            ८.    विवादित जग्गाको दर्ता वदर गरी हक कायम गरी पाउं भनी परेको प्रस्तुत मुद्दामा दावीको जग्गाको नक्सा गर्ने आदेश हुंदा वादी पक्ष स्वयं गैर हाजिर भै तारेख गुजारेको देखिन्छ भन्ने आधारमा शुरु काठमाडौं जिल्ला अदालतले डिसमिस हुने ठहराएको ०५३।५।३१ को फैसला सदर गरी पुनरावेदन अदालत, पाटनवाट ०५४।३।३१ मा फैसला भएको देखियो । यिनै निवेदक वादी भै लगाउको नि.नं. ६२४१ को लिखत वदर मुद्दा समेतका गरी जम्मा २१ थान मुद्दा दर्ता गरी निवेदक वादीको वारेस शुरु का.जि.अ. मा सवै मुद्दामा एउटै मितिको तोकि पाएको तारेखमा रहेकोमा प्रस्तुत हक कायम मुद्दामा वादीदावीको कित्ताहरूको चार किल्ला र साविकको राजिनामा समेतको चार किल्ला समेत खुल्ने गरी  जग्गाको नाप नक्सा गरी पेश गर्नु भन्ने ०५१।३।८ मा आदेश भै सो मितिवाट प्रस्तुत मुद्दा र लगाउका अन्य मुद्दा समेतमा एकै मितिको तारेख तोकिएको देखिन्छ । तत्पश्चात ०५३।२।१६ वाट तारेख तोक्दा प्रस्तुत हक कायम दर्ता वदर मुद्दामा मिति ०५३।३।७ गतेका दिन नाप नक्सा गर्ने हुंदा उक्त  िववादित जग्गामा हाजिर हुम्ला भन्ने व्यहोराको तारेख वादी वा. लाई दिएकोमा वादी वा. विरबहादुर ०५३।३।७ गते उपस्थित नभै गुजारेको भनी मिति ०५३।३।१८ मा प्रमाणित गरी सोही ०५३।३।१८ मा अन्य मुद्दामा क्रमशः ०५३।३।३१, ०५३।५।११, ०५३।५।३१ को पेशी तोकी ऐ. ३१ मा प्रस्तुत मुद्दा डिसमिस हुने र प्रस्तुत मुल मुद्दा भएकोले यसमा तारेख गुजारेको कारणवाट अन्य मुद्दामा दावी नपुग्ने भन्ने निर्णय भएको देखिन आउंछ ।

            ९.    यसरी नाप नक्सा गर्न जग्गामा हाजिर हुन भनी तोकि दिएको तारेखमा नक्सा गर्ने, अमिन र कर्मचारीको डोर खटाएको देखिंदैन । सो तोकिएको तारेखमा नक्सा गर्ने स्थानमा डोर खटिई जान नसकेपछि तुरुन्त सम्वन्धित पक्षलाई अदालतमा हाजिर हुन आउनु भनी  झिकाउनु पर्नेमा सो बमोजिम नगरी तारेख गुजारेको भनी डिसमिस गर्ने गरेको शुरु फैसलालाई सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसलामा अ.वं. ५३, १७८, १८५ नं. को व्याख्यात्मक त्रुटी देखिएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्‍याउने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालत संयुक्त इजलासको मिति २०५६।१२।९ को आदेश ।

            १०.    नियमबमोजिम दैनिक पेशी सूचिमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री शम्भु थापा र श्री इन्द्र खरेलले प्रस्तुत मुद्दा मात्र दायर भएको नभै अन्य लगाउका २१ थान मुद्दा समेत रहेका छन् । लगाउका मुद्दाहरूमा तारेख लिइरहेको अवस्थामा प्रस्तुत मुद्दाको तारेख गुज्रेको भनी मान्न मिल्दैन । नक्शा गर्ने भनी डोरको तारेख तोकिएको भएपनि त्यसदिन अड्डावाट डोर खटाई कर्मचारी पठाएको भन्ने देखिंदैन । सम्वन्धित जग्गामा नाप नक्सा गर्न कर्मचारी नै नगएको अवस्थामा पक्षको तारेख गुज्रेको भनी मान्न मिल्दैन । लगाउका अन्य मुद्दामा तारेख लिइरहेको अवस्था छ । यसै सम्वन्धमा २०५७ सालको प्रतिवेदन नं. ८०, निवेदक वासुदेव साहतेली विपक्षी रामचन्द्र राय यादव भएको जग्गा खिचोला चलन (मुद्दा दोहोर्‍याई हेरी पाउं भन्ने) मुद्दामा सम्मानित अदालतवाट २०५७।११।४ मा निर्णय हुंदा लगाउको मुद्दामा तारेख लिइरहेकोमा अर्को मुद्दामा तारेख गुज्रेको भनी मान्न मिल्दैन भनी पूर्ण इजलासवाट सिद्धान्त समेत प्रतिपादन भैसकेको हुंदा सोही आधारमा डिसमिस गर्ने गरेको शुरुको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुंदा वदर गरी वादीदावी बमोजिम हुनुपर्छ भनी र प्रत्यर्थी प्रतिवादी तर्फका विद्वान अधिवक्ता श्री श्रीप्रसाद पण्डित, श्री सुशिल पन्त, श्री हरिहर दाहाल र श्री वावुराम गिरीले लगाउको मुद्दामा तारेख लिएको भएपनि प्रस्तुत मुद्दामा सो दिनको तारेख तोकिएको छैन । पुनरावेदक तर्फका कानून व्यवसायीले देखाउनु भएको नजीर एकै दिनको तारेख लिएकोमा मात्र आकर्षित हुने हुंदा प्रस्तुत मुद्दामा आकर्षित हुने अवस्था छैन । दशौं पटक नक्शा गर्ने भनी तारेख तोकिएकोमा वादीले जग्गा देखाई नाप नक्सा गराउन सकेको छैन । प्रस्तुत मुद्दामा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गर्दा लिइएका आधार भन्दा वाहिर गै निर्णय गर्न मिल्दैन । २०२१।२।३० को लिखत र सो लिखतको आधारमा भएको दर्ता समेत वदर गरीपाउं भनी हाल आएर मात्र फिराद दिएको अवस्था छ । प्रमाणकै मूल्यांकन गरेर नै फैसला गर्ने हो भनेपनि कुनै हालतमा वादीदावी पुग्ने अवस्था छैन । प्रस्तुत मुद्दाको तारेख गुजारेकै दिन वारेशले अर्को मुद्दामा तारेख लिएको समेत मिसिलवाट देखिंदैन । यस्तो अवस्थामा पुनरावेदन अदालतको फैसला न्यायोचित हुंदा सदर हुनुपर्छ भनी गर्नु भएको वहस समेत सुनियो ।

            ११.    २०२३ सालमा सर्भे नापी हुंदा धुम्वो खेत रोपनी १४ हा.नं. १८५ गा.पं. कपन वडा नं. ३(घ) कि.नं. ४१ को क्षेत्रफल ९० भनी र मौजे धुम्वाराही हा.नं. ५२ भिड्ने भनी का.न.पं. वार्ड नं. २३(ण) कि.नं. ६१, ६२, ६३, ७६ र ७७ कायम भएको फिल्डवुकमा वन्धकि जनिएको जग्गा मैले हरिप्रसादलाई वन्धकी थैली वुझी निखनाई दिनुहोस भन्दा छोरा  गोविन्दलाई भन निजैले निखनाई देलान भनेकोमा निजलाई भन्दा समेत आलटाल गरेकाले थैली रु १००१।नेपाल राष्ट्र वैंकमा मालपोत कार्यालय काठमाडौंको धरौटी खातामा जम्मा गरी भौचर साथ राखि निवेदन दिंदा वन्धकी लिखत भिडाई कारवाही गर्ने भनी आदेश भएकोमा प्रतिवादी मध्येका चेतबहादुरले थैली वुझाउने र हरिप्रसाद तथा केशवप्रसाद जयन्ताको छोराले थैली वुझी २०२१।२।३० मा वन्धकि लगत समेत कटाई भएको राजिनामा लिखत र सो लिखतको आधारवाट भएको हरिप्रसाद नाउंको दर्ता समेत वदर गरी हाम्रो हक कायम समेत गरी पाउं भन्ने फिराद दावी । प्रतिवादीहरूले म्याद भित्र प्रतिउत्तर नफिराई शुरु म्यादै गुजारी वसेकोमा दावीको जग्गामा नक्शा गर्ने आदेश हुंदा वादी पक्ष स्वयंम गैर हाजिर भई तारेख गुजारेको भन्ने आधारमा शुरु काठमाडौं जिल्ला अदालतवाट मिति ०५३।५।३१ मा प्रस्तुत मुद्दा डिसमिस हुने ठहर्‍याई फैसला भएको देखिन्छ । सो फैसला उपर वादीले चित्त नवुझाई पुनरावेदन गरेकोमा शुरुकै फैसला सदर गरी पुनरावेदन अदालत, पाटनवाट मिति ०५४।५।३१ मा फैसला भएकोमा वादीले सो फैसलामा चित्त नवुझाई मुद्दा दोहोर्‍याई हेरीपाउं भनी निवेदन दिई मिति ०५६।१२।९ मा प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भै पुनरावेदनमा दर्ता भएको देखियो ।

            १२.   उपरोक्त तथ्य, विद्वान कानून व्यवसायीको वहस जिकिर समेतलाई मध्यनजर राख्दै पुनरावेदन अदालतवाट भएको फैसला मिलेको छ, छैन ? सोही विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।

            १३.   निर्णयतर्फ विचार गर्दा विवादित जग्गाको दर्ता वदर गरी पाउं भनी परेको प्रस्तुत फिरादमा प्रतिवादीहरूले म्याद भित्र प्रतिउत्तर नफिराई शुरु म्यादै गुजारी वसेको देखिन्छ । प्रस्तुत मुद्दाको फिराद २०४७।७।२५ मा दायर गरेपछि विभिन्न मितिमा विवादित जग्गाकै विषयमा अन्य २० थान मुद्दाहरू समेत दायर गरी लगाउमा रहेको भन्ने पाइन्छ । प्रस्तुत दर्ता वदर हक कायम मुद्दामा शुरु काठमाडौं जिल्ला अदालतवाट वादीदावीको ४ किल्ला र साविकको राजिनामा समेतको ४ किल्ला समेत खुल्ने गरी जग्गाको प्रकृति नाप नक्सा गरी पेश गर्नु भन्ने ०५१।३।८ मा भएको आदेश बमोजिम वादीको वारेशलाई २०५१।१२।२७ मा पहिलो पटक  विवादित जग्गाको नाप नक्सा हुने हुंदा विवादित जग्गामा हाजिर हुनेछु भनी तारेख तोकिएको र अन्य लगाउका २० थान मुद्दामा समेत सोही मितिको तारेख तोकिएको भन्ने देखियो । सो मितिमा नाप नक्सा नभए पश्चात २०५२।१।२५, २०५२।१।२७, २०५२।२।१९, २०५२।३।१६, २०५२।४।१७, २०५२।५।१५, २०५२।६।४, २०५२।८।१४, २०५२।९।१८, २०५२।१०।१८, २०५२।११।२१, २०५२।१२।२३, २०५३।१।२५ र २०५३।२।१६ सम्म प्रस्तुत मुद्दामा नापनक्सा गर्ने भनी र अन्य लगाउका मुद्दामा समेत एकै मितिको तारेख तोकिएको देखिन्छ । तर २०५३।२।१६ वाट तारेख तोक्दा प्रस्तुत मुद्दामा २०५३।३।७ मा विवादित जग्गामा नापनक्सा गर्ने भनी र लगाउको अन्य २० थान मुद्दामा २०५३।३।१८ को तारेख तोकिएको पाइन्छ । वादीको वारेश विरबहादुरलाई २०५३।३।७ गतेका दिन नापनक्सा गर्ने हुंदा उक्त विवादित जग्गामा हाजिर हुंला भन्ने व्यहोराको तारेख दिएकोमा सो मितिमा उपस्थित नभै गुजारेको भनी २०५३।३।१८ मा प्रमाणित गरी सोही मितिवाट अन्य लगाउका २० थान मुद्दामा क्रमशः २०५३।३।३१, २०५३।५।११ र २०५३।५।३१ को पेशी तारेख तोकि प्रस्तुत मुद्दामा डिसमिस गर्ने र अन्य लगाउका २० थान मुद्दामा प्रस्तुत हक कायम दर्ता वदर मुद्दा मूल भएकोले सो मुद्दा डिसमिस भैसकेको भन्ने आधारमा वादीदावी नपुग्ने भनी फैसला भएको देखियो ।

            १४.   प्रस्तुत मुद्दासंग अन्य लगाउका २० थान मुद्दा समेत रहेको र यस मुद्दामा विवादित जग्गाको नापनक्सा गर्ने भनी आदेश भए पश्चात १५ पटकसम्म सम्पूर्ण मुद्दामा एकै मितिको तारेख तोकिएको देखिन्छ । २०५१।१२।२७ देखि २०५३।३।७ सम्म पटक पटक विवादित जग्गाको नाप नक्सा गर्ने भनी तारेख तोकिएकोमा सो कुनै मितिमा पनि नापनक्सा गर्नको लागि कर्मचारी र अमिन खटाएको भन्ने देखिंदैन । यसरी कर्मचारी र अमिन नखटाएको अवस्थामा  प्रस्तुत मुद्दामा समेत नापनक्सा गर्ने भनी तारेख तोकिएकै दिनवाट अन्य मुद्दामा सरह सोही दिनवाट तारेख तोकिएको देखियो। २०५३।२।१६ सम्म सम्पूर्ण मुद्दामा एकै मितिको तारेख तोक्ने गरेकोमा सो मिति पश्चात तारेख तोक्दा प्रस्तुत मुद्दामा २०५३।३।७ मा विवादित जग्गामा नापनक्सा गर्ने भनी तारेख तोकिएको र अन्य २० थान मुद्दामा २०५३।३।१८ को तारेख तोकिएको देखिन्छ । सोही २०५३।३।१८ गतेकै दिन वादी वा विरबहादुरले तारेख गुजारेको भनी प्रमाणित भएको समेत देखियो । २०५३।३।७ मा जग्गाको नापनक्सा गर्ने भनी तारेख तोकि सकेपश्चात अमिन र कर्मचारी खटाउन नसकेको अवस्थामा यो यो कारण परी विवादित जग्गामा कर्मचारी खटाउन नसकिएकोले यस अदालतमा हाजिर हुन आउनु भनी सूचना दिई वादीका वारेशलाई जानाकारी दिएको पनि पाइदैन । २०५३।२।१६ वाट वादीको वारेशलाई तारेख तोक्दा २०५३ साल असार ७ गतेका दिन  विवादित जग्गाको नापनक्सा गर्ने हुंदा उक्त दिन विवादित जग्गामा हाजिर हुंला भनी व्यहोरा लेखि वादीको वारेश विरबहादुरलाई सही गराएको अवस्थामा निज वारेश अदालतमा नभै विवादित जग्गामा हाजिर हुनुपर्ने हुन्छ । कार्यालय खुल्ने समयसम्म विवादित जग्गामै वस्नुपर्ने भएपछि निज सो दिन अदालतमा हाजिर हुन सक्ने अवस्था देखिंदैन । अन्य लगाउका मुद्दामा तोकि पाएको तारेखको दिन अर्थात २०५३।३।१८ मा वादीको वारेश उपस्थित भई तारेख लिइरहेको देखिएपछि सोही दिन प्रस्तुत मुद्दामा समेत तारेख दिनुपर्नेमा नदिई सोही दिन गुजारेको भनी प्रमाणित गरेको देखियो ।

            १५.   कार्य व्यस्तताको कारण वा अन्य कुनै कारणले तोकिएको दिन कर्मचारी खटाउन नसकिएको अवस्थामा सो कारणवाटै पक्षको हक हितमा असर पर्छ भनी मान्न मिल्ने पनि हुंदैन । एउटा कामलाई भनी तारेख तोकि सकेपश्चात सोही काम गर्नुपर्नेमा सो काम गर्नलाई कर्मचारी नखटाई चुप लागि वस्ने तर पक्षको तारेख गुज्रिसकेको भनी मुद्दालाई असर पर्ने गरी डिसमिस गर्नु न्यायोचित देखिंदैन । प्रस्तुत मुद्दामा जग्गाको नापनक्सा गर्ने आदेश भै सकेपश्चात अन्य लगाउका २० थान मुद्दामा समेत २०५१।१२।२७ वाट २०५३।२।१६ सम्म एकै मितिको तारेख तोकि २०५३।३।१६ वाट प्रस्तुत मुद्दामा २०५३।३।७ को र अन्य लगाउको २० थान मुद्दामा २०५३।३।१८ को तारेख तोकिएको देखिन्छ । प्रस्तुत मुद्दाको तारेख भरपाईमा नै जग्गाको नापनक्सा हुने हुंदा विवादित जग्गामा उपस्थित हुन भनी सहिछाप गराइसके पश्चात सो मितिमा वादीको वारेश अदालतमा हाजिर नभएको अवस्थामा निजको तारेख गुज्रने हो कि होइन ? भन्ने नै प्रस्तुत मुद्दामा मूल प्रश्न रहेको देखिन्छ । यसै सम्वन्धमा पुनरावेदक प्रतिवादी शोभा गुरुङ्ग समेत प्रत्यर्थी वादी प्रकाश गुरुङ्ग भएको जालसाजी मुद्दा (ने.का.प. २०५३, अंक २ , नि.नं. ६१४८ पृष्ठ १४१) मा निर्णय हुंदा तारेख गुजारी वसेको भनेको दिनमा समेत अंश र लिखत दर्ता वदर मुद्दाको तारेखमा हाजिर भै २०५०।५।२७ का दिनको अर्को तारेख तोकि पाएको रहेछ । यसरी यी पुनरावेदकलाई तोकिएको तारेखमा हाजिर हुन जांदा पुनः २०५०।९।५ को तारेख तोकि पाएको देखिएपछि उक्त गुजारी वसेको भनेको २०५०।३।२७ का दिन समेत यी  पुनरावेदक हाजिर भएको देखिने र निजले अदालतवाट प्राप्त गरेको प्रस्तुत मुद्दाको तारेख भरपाईमा २०५०।३।२७ वाट २०५०।९।५ गतेमात्र तारेख तोकि पाएको देखिन आएको अवस्थामा निजले प्रस्तुत मुद्दामा तारेख गुजारेको भन्न मिल्ने अवस्था नदेखिनेभनी निर्णय भएको । त्यस्तै निवेदक कृष्ण  गोपाल विरुद्ध भक्तपुर जिल्ला अदालत समेत भएको उत्प्रेषण मुद्दा (ने.का.प. २०५०, अंक ६ नि.नं. ४७६४ पृष्ठ ३४९) मा यस अदालतवाट २०५०।३।१ मा आदेश हुंदा दुवै मुद्दामा अलग अलग तारेख पर्चा दिई तारेखमा राख्नु पर्ने सो बमोजिम कर्मचारीले नगरेको देखिएपछि वेञ्चमा पेश भएपछि दुवै मुद्दामा तारेखमा राख्ने आदेश गरेको देखिन्छ । अदालतमा उपस्थित भएका पक्ष विपक्षको तोरख गुज्रेको तथा हारेको भन्न कानून संगत देखिंदैनभनी आदेश भएको देखिन्छ । त्यस्तै निवेदक वादी वासुदेव साहतेली विरुद्ध विपक्षी प्रतिवादी रामचन्द्र राय यादव भएको जग्गा खिचोला चलन (मुद्दा दोहोर्‍याई हेरी पाउं भन्ने निवेदनमा) मुद्दामा यस अदालत पूर्ण इजलासवाट २०५७।११।४ मा निर्णय हुंदा निवेदकले २०५६।७।१८ वाट २०५६।९।२६ को तारेख समेत लिएको तारेख भरपाईवाट देखिंदा २०५६।७।१८ को तारेख गुजारेको भन्ने अवस्था नरहने तथा लगाउको एउटा मुद्दा वा निवेदनमा तारेख लिई मुद्दा पुर्पक्षमा रहेको अवस्थामा लगाउको अर्को मुद्दा वा निवेदनमा तारेख भरपाईमा लेख्न छुटेको भरमा तारेख गुजारी थाम्ने थमाउने म्याद समाप्त भएको मानी तामेलीमा राखि दिने भनी यस अदालत संयुक्त इजलासवाट २०५६।१२।९ मा भएको आदेश मिलेको देखिएन । उक्त संयुक्त इजलासवाट भएको आदेश कायम रहन सक्तैनभनी निर्णय भएको देखियो ।

            १६.    अतः उल्लेखित तथ्य एवं प्रतिपादित सिद्धान्त समेतवाट शुरु काठमाडौं जिल्ला अदालतले प्रस्तुत मुद्दाका वादीको वारेशलाई विवादित जग्गाको नापनक्सा गरी पेश गर्नु भन्ने आदेश भइ सकेपश्चात २०५१।१२।२७ देखि पटक पटक जग्गाको नापनक्सा गर्ने हुंदा विवादित जग्गामा हाजिर हुनु भनी तारेख तोकिएको देखिन्छ । साथै अन्य लगाउका २० थान मुद्दामा समेत २०५१।१२।२७ देखि २०५३।२।१६ सम्म एकै मितिको तारेख तोकि सो मितिवाट प्रस्तुत मुद्दामा २०५३।३।७ को अन्य लगाउको २० थान मुद्दामा २०५३।३।१८ को तारेख तोकि दिएको देखियो । वादीको वारेशलाई २०५३।३।७ मा विवादित जग्गाको नापनक्सा हुने हुंदा विवादित जग्गामा हाजिर हुन भनी व्यहोरा लेखी सहिछाप गराएपछि सो मितिमा कर्मचारी र अमिन समेत नगएको अवस्थामा तारेख गुज्रेको भनी प्रमाणित गरी मुद्दा डिसमिस गर्ने गरी भएको शुरुको फैसला र सो लाई सदर गर्ने गरी भएको पुनरावेदन अदालत, पाटनको मिति २०५४।५।३१ को फैसला कायम रहन सक्ने नदेखिंदा वदर हुने  ठहर्छ । अव जे जो प्रमाण वुझ्नु पर्छ वुझी प्रमाणको मूल्यांकन गरी फैसला गर्नु भनी तारेखमा रहेका पक्षलाई शुरु काठमाडौं जिल्ला अदालतमा हाजिर हुन जानु भनी तारेख तोकी शुरु मिसिल काठमाडौं जिल्ला अदालतमा पठाई दिई मिसिल नियमानुसार वुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या.शारदा श्रेष्ठ

 

इति सम्वत् २०६२ साल मंसिर १ गते रोज ४ शुभम् ........

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु