शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७६०१ - जग्गा खिचोला मेटाई पर्खाल भत्काई बाटो कायम ।

भाग: ४७ साल: २०६२ महिना: पौस अंक:

निर्णय नं.७६०१            ने.का.प.२०६२              अङ्क ९

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिजंग सिजापती

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

सम्वत् २०५८ सालको दे.पु.नं. ७९८५

फैसला मितिः२०६२।८।६।२

 

मुद्दाःजग्गा खिचोला मेटाई पर्खाल भत्काई बाटो कायम ।

 

पुनरावेदक / प्रतिवादीः जिल्ला मोरङ्ग, बिराटनगर उपमहानगरपालिका वडा नं. १० बस्ने             श्यामसुन्दर कनौडिया समेत

विरुद्ध

प्रत्यर्थी / वादीः जिल्ला मोरङ्ग, बिराटनगर उपमहानगरपालिका वडा नं. १० बस्ने             चन्द्रकला गौतम

 

§  अंशबण्डाको कागजमा दुबै पक्षका दाताको साझा बाटो जनाएको अबस्थामा बाटोको अस्तित्व स्वतः प्रमणित हुने ।

§  एकपटक बाटो स्वीकारी बण्डा गरेपछि दुबै पक्षले भोग गर्न पाउने भएको बाटोको हक र त्यस अन्तर्गत रहन सक्ने सीमालाई वादी प्रतिवादी दुबै पक्षले मञ्जुर गर्नुपर्ने ।

§  त्यसको अनदेखा गरेर पछिबाट पटक पटक लिखत गरी वा गर्दा बाटोको अस्तित्वलाई लोप हुने गरी वादी प्रतिवादीले कारोबार गर्न समेत नसक्ने ।   

(प्रकरण नं.१८)

 

§  एकपटक खुलाइसकेको बाटोको अस्तित्व देखिइसकेपछि बाटोको उपयोगमा बादीलाई बाधा हुने गरी प्रतिवादीले पर्खाल लगाउन नपाउने  र त्यस्तो बाटोमा आफ्नो निजी भनी वादीले हक कायम गर्न समेत नसक्ने ।

(प्रकरण नं.१९)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्धान अधिवक्ताद्वय श्री सतिश झा र श्री कमल

प्रत्यर्थी वादी तर्फवाटः विद्वान अधिवक्ता श्री भरतबहादुर थापा

अवलम्वित नजीरः

 

फैसला

            न्या.कल्याण श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) अनुसार पुनरावेदन अदालत विराटनगरको मिति २०५७।८।४ को फैसला उपर प्रतिवादीको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :-

            २.    बिपक्षीहरू मध्येको गंगा देवी ओली, मेरो दाता भोलाप्रसाद ओली र अम्वरप्रसाद ओली एक घरका अंशियार हुनु हुदो रहेछ । निज गंगा देवीले ०४३।३।१ मा अंशवण्डा पारित गरि म फिरादीले खरिद गरेको जग्गा भोलाप्रसाद र अम्वरप्रसादको तथा बिपक्षीहरू श्याम सुन्दर र निरन्जनले खरिद गरेको जग्गा गंगा देवी ओलीको नाउँमा दर्ता रहेको जग्गा थियो । बिपक्षी गंगा देवी र मेरो दाताहरू वीचमा वण्डा हुँदा उक्त वण्डापत्रमा नै ७ फिट चौडा १२२ फुट लम्वाई भएको वाटो सवैले प्रयोग गर्ने गरी वण्डापत्र भएको रहेछ । मैले भोलाप्रसाद र अम्वरप्रसादवाट साविक वि.न.पा. ५ हाल वडा नं. १० को कि.नं. ७९० ७९१ र ७९३ को समेत जम्मा ०१४ जग्गा खरिद गरि लिई भोग गरि रहेको अवस्था म मेरा पतिसंग विदेश भारत गएको समयमा विपक्षी श्यामसुन्दर र निरन्जनले तपाईको जग्गा खिचोला गरि पर्खाल वनाउन शुरु गर्नु भएको हुँदा रेखदेख गर्न आउनु भनी प्रमाणका मानिसले खवर गरेकोले आई आफ्नो उक्त जग्गा हेर्दा विपक्षीहरूले मेरो उल्लेखित जग्गा मध्ये पूर्व र दक्षिण तर्फवाट ०११ जग्गा र विपक्षीहरूले खरिद गरि दिएको राजिनामाको कैफियत महलमा जनिएको वाटो समेत आफ्नो कि.नं. १३०, ७८९, ७९२ र ७९४ को जग्गामा च्यापि घुसाई पर्खाल लगाई खिचोला गरेको हुनाले उक्त पर्खाल भत्काई जग्गा खिचोला मेटाई वाटो समेत कायम गरि पाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।

            ३.    भोलाप्रसाद र अम्वरबहादुरले म संग अंश छुट्याई आफ्नो आफ्नो जग्गा दर्ता गराई विपक्षीलाई ससिम विक्री गरेका हुन, उक्त जग्गाको पश्चिमतर्फवाट ठूलो चौडा वाटो रहेको छ, ७ फिट चौडा र १३२ फुट लम्वाई भएको वाटो उपभोग गर्न दिने आवश्यकता नै छैन, मैले आफ्नो नाउँ दर्ताको जग्गा प्र. मध्येको श्याम सुन्दर कनौडिया र निरन्जन कनौडियालाई ससिम विक्री गरी दिएको हुँ, विपक्षीको जग्गामा मैले मिचि खिचोला गरेको छैन भन्ने समेत व्यहोराको गंगा देवी ओलीको प्रतिउत्तर जिकिर ।

            ४.    हामीले आ आफुले खरिद गरि लिएको जग्गामा घर बनाएका हौ र जग्गाको सुरक्षाको लागि नगरपालिका ऐन र नियम वमोजिम नक्सा पास गरि पर्खाल लगाएको हो, जग्गा मिचि पर्खाल र घर समेत वनाएको हैन, पर्खालले वादीको जग्गामा कुनै वाधा नपरेको हुनाले पर्खाल हटाउनु पर्ने हैन भन्ने समेत व्यहोराको प्र. श्याम सुन्दर र निरन्जन कनौडियाको प्रतिउत्तर जिकिर ।

            ५.    पर्खाल भत्काई वाटो कयम गरीपाउँ भन्ने वादीदावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको मोरंग जिल्ला अदालतको मिति ०५१।३।२० को फैसला ।

            ६.    शुरु फैसला त्रुटिपूर्ण हुँदा वदर गरि फिराद दावि बमोजिम गरि पाउँ भन्ने समेत व्यवहोराको वादीको पुनरावेदन पत्र ।

            ७.    खिचोला गरे नगरेको के रहेछ, वाटो कायम हुने हो होइन सवुद प्रमाण वुझि निर्णय गर्नु पर्नेमा खिचोलातर्फ केही नवोली पर्खाल लगायो भन्ने वादीदावी  नपुग्ने ठहर्छ भन्ने मोरंग जिल्ला अदालतको फैसला वदर गरि दिएको छ, पुनः सवुद प्रमाण वुझी निर्णय गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालतको मिति ०५५।३।१५ को फैसला ।

            ८.    वादीदावी अनुसार खिचोला मेटाई पर्खाल भत्काई वाटो कायम हुन  सक्दैन अतः वादीदावी नपुग्ने ठहर्छ भन्ने समेत व्यहोराको मोरंग जिल्ला अदालतको मिति ०५५।१२।२१ को पुन फैसला ।

            ९.    शुरु फैसला त्रुटिपूर्ण हुँदा वदर गरि वादीदावीबमोजिम जग्गा खिचोला मेटाई पर्खाल भत्काई वाटो कायम गरि पाउँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

            १०.    वण्डापत्रमा बाटो उल्लेख भएको र वण्डापत्रवाट हक हुने भोलाप्रसाद र अम्वरप्रसादले वादीलाई सो वण्डापत्रकै जग्गा राजिनामा गरि दिएको स्थितिमा राजिनामा लिखतमा वाटो नखुलाउदैमा वादीले वाटो पाउन नसक्ने भनी शुरुले गरेको फैसला फरक पर्न सक्ने देखिंदा अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, ०४८ बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने समेतको यस अदालतको मिति ०५७।३।२६।२ को आदेश ।

            ११.    पुनरावेदक वादीले पुनरावेदन पत्रमा लिएको जिकिर कानून विपरीत र अर्थहिन भएको हुँदा सुरु फैसला सदर गरि पाउँ भन्ने समेत व्यहोराको प्रत्यर्थी प्रतिवादीहरूको लिखित प्रतिवाद ।

            १२.   यसमा अदालतबाट भइआएको नक्सा मुचुल्का समेतबाट वादीदावीको जग्गा वादीको श्रेस्ताभन्दा कम देखिएको र वादीको दाता तथा प्रतिवादीको दाता मध्ये श्यामसुन्दर कनौडिया र निरञ्जन कनौडियाको दाता अंशियार देखिएको र निज अंशियारहरूको बीचमा बण्डापत्र हुँदा बण्डापत्रमा बाटो उल्लेख भएको र सो बण्डापत्रबाट हक हुने भोलाप्रसाद र अम्बरप्रसादले वादीलाई सो बण्डापत्रकै जग्गा राजिनामा गरी दिएको स्थितिमा राजिनामा लिखतमा बाटो नखुलाउदैमा वादीले उक्त जग्गामा जान आउन नसक्ने भनी मान्न मिलेन । उपरोक्त आधार प्रमाणबाट शुरु जिल्ला अदालतले गरेको निर्णय कानून सम्मत भन्न मिलेन । शुरु निर्णय नमिलेको हुँदा उल्टी भै वादीदावी बमोजिम बाटो कायम भै वादीको जग्गा प्रतिवादीहरूले खिचोला गरेको ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत विराटनगरको फैसला ।

            १३.   हामी श्यामसुन्दर कनौडिया र निरञ्जन कनौडियाले विपक्षी वादीको कि.न.३९०, ३९१, ३९३ अर्थात न.न.५,६र ७ को जग्गा मध्ये पूर्वदक्षिणबाट ०११ जग्गा खिचोला गरेको ठहर्‍याइएको छ । सो विल्कुलै आधार हिन,कानून विपरीत, अष्पस्ट र हचुवाको आधारमा भएको छ । विपक्षीले कुन कित्ताको जग्गा हामीले हाम्रो कुन कित्तामा घुसाएको हो सो खुलाइ प्रष्ट दावी लिन सक्नु भएको  छैन । पुनरावेन अदालतबाट फैसला गर्दा पनि स्पष्ट नखोली गोश्वारा बोली पारी हामीले खिचोला गरेको ठहर गरी भएको फैसला त्रुटीपूर्ण रहेकोले उल्टी गरी पाउ भन्ने प्रतिवादीको यस अदालतमा परेको पुनरावेदनपत्र ।

            १४.   नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको सम्पूर्ण मिसिलहरू अध्ययन गरियो । पुनरावेदकहरूको तर्फवाट उपस्थित विद्धान अधिवक्ताद्वय श्री सतिश झा र श्री कमलले पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण रहेको छ । अर्कालाई भोग गर्न दिएको जग्गा फिर्ता लिन मिल्दैन । विपक्षी लिखत बदर मुद्दा लिई अदालत जानुपर्नेमा जग्गा खिचोलामा आएको अमिल्दो रहेकोले पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण भएकोले सो फैसला उल्टी होसं भन्ने वहस र प्रत्यर्थीको तर्फबाट उपस्थित विद्वान अधिवक्त श्री भरतबहादुर थापाले विपक्षीहरूले मेरो पक्षको जग्गामा पर्खाल लगाई बाटो उपभोग गर्न अबरोध खडा गरेकोले पुनरावेदन अदालतको फैसला न्यायपूर्ण भएकोले पुनरावेदन अदालतको फैसला सदर होस भन्ने बहस समेत सुनियो ।

            १५.   अव निर्णयतर्फ विचार गर्दा  पुनरावेदन अदालत विराटनगरको २०५७।८।४ को फैसला मिले नमिलेको के हो एवं पुनरावेदकको पुनरावेदन जिकिर पुग्ने नपुग्ने के हो? सो सम्वन्धमा निर्णय दिनु पर्ने हुन आयो ।

            १६.    यसमा विपक्षीहरूले मेरो ०११ धुर जग्गा र वाटो समेत खिचोला गरि पर्खाल वनाएको हुनाले पर्खाल भत्काई खिचोला मेटाई वाटो समेत कायम गरि पाउँ भन्ने वादी र दावी अनुसार वादीको जग्गा र वाटो खिचोला गरी पर्खाल वनाएको हैन, दावि अनुसार वादीको जग्गा र वाटो खिचोला गरि पर्खाल वनाएको हैन, वादीदावी झुठ्ठा हो भन्ने प्रतिवादी भएको प्रस्तुत मुद्दामा वादीदावी पुग्न नसक्ने ठहर्‍याई शुरु मोरंग जिल्ला अदालतले ०५१।३।३० मा फैसला गरे उपर वादीको पुनरावेदन परेकोमा पुनः निर्णय गर्नु भनी पुनरावेदन अदालतवाट मिति ०५५।३।१५ मा निर्णय भई पुनः निर्णयको लागि मिसिल शुरु अदालतमा गराएकोमा पुनः वादीदावी पुग्न नसक्ने ठहर्‍याई सुरुले फैसला गरेकोमा पुनः वादीकै तर्फवाट पुन पुनरावेदन अदालतमा पुनरावेदन परी शुरु फैसला उल्टी भई वादीदावी पुग्ने ठहरी पुनरावेदन अदालत विराटनगरबाट फैसला भएपछि प्रतिवादीको यस अदालतमा पुनरावेदन परेको अवस्था रहेछ ।

            १७.   यस सन्दर्भमा अदलतबाट भइआएको नक्सा मुचुल्काको अबलोकन गर्दा न.न. १, , ,७ का जग्गाहरू वादीको र न.न.८,९ र १० का जग्गाहरू प्रतिवादीको रहेको देखिन्छ । बादी र प्रतिवादी बीच न.न.११ र न.नं.१२ को कि.न.७८९ र ७९२ को बाटो भनिएको जग्गामा मुख्य विवाद रहेको देखियो । उक्त झगडा परेको न.न.१२ र ११ बाटो बाहेक प्रतिवादीको अन्य बाटो कतै पनि देखिन्न ।

            १८.   वादी प्रतिवादी दुवै पक्षले एकै स्रोतबाट जग्गा खरिद गरेको देखिन्छ । दाताका अंशियारहरू बीच २०४३।३।११ मा अंशबण्डा हुँदा न.न.१३ को बिष्णुमायाको घरदेखि उत्तरतर्फ बाटो कायम गरेको देखिन्छ । अंशबण्डाको कागजमा दुबै पक्षका दाताको साझा बाटो जनाएको अबस्थामा बाटोको अस्तित्व स्वतः प्रमणित हुन्छ । यसरी एकपटक बाटो स्वीकारी बण्डा गरेपछि दुबै पक्षले भोग गर्न पाउने भएको बाटोको हक र त्यस अन्तर्गत रहन सक्ने सीमालाई वादी प्रतिवादी दुबै पक्षले मञ्जुर गर्नुपर्ने हुन्छ । त्यसको अनदेखा गरेर पछिबाट पटक पटक लिखत गरी वा गर्दा बाटोको अस्तित्वलाई लोप हुने गरी वादी प्रतिवादीले कारोबार गर्न समेत सक्ने देखिन्न ।

            १९.    दुबै पक्षले भोग्ने गरी छुट्टयाइएको बाटोको हकमा प्रस्तुत मुद्दामा आप¥नो जग्गा पर्खाल समेत बनाएकोले खिचोला मेटाई पाउ भन्ने वादीको भनाइ र  आफ्नो नाममा हक कायम भइ सकेको छ भन्ने प्रतिवादी जिकिर देखिन्छ । एकपटक खुलाई सकेको बाटोको अस्तित्व देखिइसकेपछि बाटोको उपयोगमा बादीलाई बाधा हुने गरी प्रतिवादीले पर्खाल लगाउन नपाउने  र त्यस्तो बाटोमा आप¥नो निजी भनी हक कायम गर्न समेत वादीले नसक्ने हुँदा पर्खाल भत्काई पाउने ठहर्‍याएको हद सम्मको पुनरावेदन अदालतको इन्साफ मिलेकै देखिन्छ । सो बाहेक खिचोला ठहर्‍याएको हदसम्म पुनरावेदन अदालत विराटनगरबाट २०५७।८।४ मा भएको इन्साफ मिलेको नदेखिंदा सो हदसम्म उल्टी हुने ठहर्छ । पुनरावेदकको पुनकरावेदन अन्य जिकिर पुग्न सक्दैन । अरु तपसील बमोजिम गर्नु ।

 

तपसील

 

माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालतको इन्साफ केही उल्टी भई प्रतिवादीले वादीदावीको कि.न.७९०, ७९१ र ७९३ को पूर्वतर्फबाट ०११ जग्गा खिचोला गरेको नठहरेकोले उक्त जग्गाहरू वादीले चलन चलाइ पाउने सम्बन्धमा पुनरावेदन अदालतको फैसलाबमोजिमको लगत राखेको भए कट्टा गरी दिनु...........१

माथि इन्साफ खण्डमा लेखिए बमोजिम वादीको दावी बाटो तर्फमात्र पुगेकोले बाटो तर्फ वादीले फिराद दर्ता गर्दा शुरु अदालतमा बुझाएको कोर्ट फि रु.५० । र पुनरावेदन अदालतमा पुनरावेदन गर्दा बुझाएको बाटो तर्फको कोर्ट फि रु.७।५० गरी जम्मा रु.५७।५० प्रतिवादीबाट वादीले भराइ पाउने र प्रतिवादीले यस अदालतमा पुनरावेदन गर्दा बुझाएको कोर्ट फि रु.८९।७० मध्ये बाटो तर्फको रु.७।५० कटाई रु.८२।२० वादीबाट भराइ पाउने हुँदा प्रतिवादीले वादीबाट भराइ पाउने कोर्ट फि रकमबाट वादीले प्रतिवादीबाट भराइ पाउने रकम घटाइ बाँकी हुन आउने (८२।२०५७।५०.२४।७०) रकम रु.२४।७० प्रतिवादीले वादीबाट भराइ पाउने भएकोले ऐनको म्याद भित्र प्रतिवादीले भराइ पाउ भनी दरखास्त दिएमा प्रतिवादीलाई वादीबाट भराइदिन लगत राख्नु भनी शुरु मोरंग जिल्ला अदालतमा लेखी पाठाउनु.............२

प्रतिवादीले यस अदालतमा पुनरावेदन गर्दा पुनरावेदन अदालत विराटनगरमा २०५८।३।४ मा रसिद न.५४६ बाट राखेको धरौटी रु.५९८ फिर्ता पाउ भनी ऐनको म्यादभित्र दरखास्त दिन आए कानून बमोजिम फिर्ता दिनु भनी पुनरावेदन अदालत विराटनगरमा लेखी पठाउनु...... ३

प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार वुझाई दिनु ..४

 

उक्त रायमा सहमत छु ।

 

न्या.हरिजंग सिजापती

 

इति सम्वत् २०६२ साल मंसिर ६ गते रोज २ शुभम्...

 

 

e:12.0pt;line-height:115%;font-family: Mangal'>उक्त रायमा सहमत छु ।

 

 

न्या.रामप्रसाद श्रेष्ठ

 

इति सम्बत् २०६२ साल कार्तिक २४ गते रोज  ५शुभम्––––––

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु