शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४०७३ - उत्प्रेषण

भाग: ३२ साल: २०४७ महिना: जेष्ठ अंक:

निर्णय नं. ४०७३    ने.का.प. २०४७      अङ्क २

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

सम्वत् २०४६ सालको रि.नं. ५९९

आदेश भएको मिति: २०४७।१।१४।६ मा

निवेदक      : जनकपुरधाम न.पं. वा.नं. ११ स्थित शिव मेडिकल स्टोर्सको प्रो.रामजीप्रसाद शाह

विरुद्ध

विपक्षी : कर कार्यालय, जनकपुरसमेत

विषय : उत्प्रेषण

(१)    निवेदकले पेश गरेको विवरणलाई अमान्य गर्दा कसरी विवरणमा फरक पर्न गयो र के कुन तथ्यांक प्रमाणको आधारमा कर निर्धारण गरियो सो सम्पूर्ण कुरा स्पष्ट उल्लेख नगरी खूद आय कायम गरी कर निर्धारण गर्ने गरिएको निर्णयलाई कानुन अनुरुपको मान्न नमिल्ने ।

(प्रकरण नं. १२)

 

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सुशीलकुमार सिन्हा

विपक्षी तर्फबाट      : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत

अवलम्बित नजीर : ने.का.प. २०३६, अंक ८, पृष्ठ २३७ मा प्रकाशित नि.नं. १२८७ निवेदक सुनीलकुमार एण्ड कं.प्रा.लि. विरुद्ध विपक्षी कर फछ्र्यौट आयोग काठमाडौं समेत भएको उत्प्रेषण विषयमा यस अदालत पूर्ण इजलासबाट प्रतिपादित सिद्धान्त ।

आदेश

न्या.बब्बरप्रसाद सिंह

१.     नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार छ ।

२.    निवेदकले आ.ब. २०४३।०४४ को आय विवरण आय खरिद रु. ३६,६१,३७५।५७ र कूल बिक्री रु. २६,२३,४०३।४९ भएको पेश गरेकोमा कर कार्यालय जनकपुरले कानुन विपरीतका हचुवा आधार देखाई थोक औषधि बिक्री ४०,०००००।कायम गरेको शुरु र अन्तिम मौज्दात पनि नदेखाई खर्च कट्टी नगरी ६% ले खूद आय रु. २,४०,०००।कायम गरेको २०४५।२।७ को कानुन विपरीतको निर्णय उपर मेरो निवेदन परेकोमा पूर्व निर्णय नै सदर गरी २०४६।३।१ मा कर विभागबाट निर्णय भएको आयकर ऐन, २०३१ को दफा ३३, १७ तथा नियमावली, २०३९ को नियम १६ समेतको विपरीत छ ।

३.    आयकर ऐनको दफा ५६५८ ले पेश भएको हिसाब अमान्य गर्न पूर्वावस्था अनिवार्य छ यस फर्मको प्रस्तुत वर्षमा शुरु मौज्दात रु. १,२५,३१५।२४ भएको र आयात रु. ३६,६१,३५७।२३ को गरेको र साल तमामी मौज्दात रु. १३,०२,०७६।४९ भएको श्रेस्ता प्रमाण विपरीत एकमुष्ट कूल बिक्री रु. ४०,००,०००।कायम गर्नु हचुवा भई कूल आयात भन्दा बिक्री बढी देखिन गएको छ । कुनै खर्च कट्टी गरेको पनि छैन । मौज्दातको कुनै विवरण खुलाएको पनि छैन । कर निरीक्षकको प्रतिवेदन आयकर ऐन, २०३१ को दफा ३३ (२)(ग) विपरीत भएको समेत हुँदा संविधानको धारा १६।७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी कर कार्यालय जनकपुरको २०४५।२।७ को कर निर्धारण आदेश र सो सदर गर्ने गरेको कर विभागको २०४६।३।१ को निर्णय समेत बदर गरी पाउँ भन्ने मुख्य रिटनिवेदन जिकिर ।

४.    यसमा के कसो भएको हो निवेदक माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको आदेश ।

५.    निवेदकको आ.व. २०४३।४४ को कारोबार सम्बन्धी विवरण २०४४।८।२७ मा यस कार्यालयमा दाखिल गरी निजको उक्त आ.व. मा रु. ४०,००,०००।को औषधिको स्तरमा बिक्री गरेको देखिएको र यीनै कारोबार गर्ने अन्य करदाता सरह उक्त बिक्रीमा ६% खूद आय कायम गरी आयकर निर्धारण भएको, निजले पेश गरेको विवरण मान्यता दिन नमिल्ने कुरामा प्रमाण पेश गर्ने मौका दिंदा ठोस सबूद दिन नसकेको र उक्त आदेश उपर कर विभागमा निजको पुनरावेदन गर्दा तहाँबाट पनि सदर भएकोले रिट खारेज गरी पाउँ भन्ने समेत कर कार्यालय जनकपुरको लिखितजवाफ ।

६.    निवेदकले पेश गरेको विवरण अनियमित एवं नियम विपरीतको लेखाको आधारमा पेश गरेकोले आयकर ऐनको दफा ३३(२) बमोजिम नै खूद आय कायम गर्नु परेको हो । कारोबार एवं नाफाको अंक यकीन गर्दा निज करदाताका आ.व. २०४०।०४१ मा खूद आय निश्चित गर्दा व्यापारिक खर्च कट्टा गरी ६% नै खूद आय कायम गरिएकोमा कुनै प्रतिक्रिया नजनाएबाट पनि प्रस्तुत आ.ब. को सोही बमोजिमको काम कारवाही औचित्यपूर्ण नै छ । कर निरीक्षकको प्रतिवेदन हचुवा नभई तथ्ययुक्त एवं वस्तुगत छ ।

७.    २०४४।१०।४ को पत्रबाट करदातालाई सूचना दिएकोमा निजले २०४४।१०।१० मा प्रतिकृया व्यक्त गरी निवेदन दिएको र निजको कुरा समेत विचार गरी निर्णयमा पुगिएको हुँदा रिट खारेज गरी पाउँ भन्ने समेत कर विभागको लिखितजवाफ ।

८.    नियम बमोजिम पेश भई आएको प्रस्तुत विषयमा रिट निवेदकतर्फका विद्वान अधिवक्ता श्री शुसिलकुमार सिन्हाको तथा विपक्षीतर्फका विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेतको बहस जिकिर समेत सुनियो ।

९.    रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्नु पर्ने नपर्ने के रहेछ भनी त्यसतर्फ विचार गर्दा निवेदकले पेश गरेको आ.व. २०४३।०४४ को आय विवरण अडिटेड हिसाब किताबको आधारमा आयात खरीद रु. ३६,६१,३५७।२३ र कूल बिक्री रु. २६,२३,४०३।४९ भएको श्रेस्ताको विपरीत आयात र खरीद समेतको प्रष्ट आधार नखुलाई शुरु र अन्तिम मौज्दात पनि नदेखाई हचुवा सूचना गरी बढी थोक औषधि बिक्री रु. ४०,००,०००।कायम गरी त्यसमा खर्च कट्टी गरेको पनि नदेखाई खूद आय रु. २,४०,०००।कायम गरी कर निर्धारण गरेको कर कार्यालय जनकपुरको मिति २०४५।२।७ को कर निर्धारण आदेश र त्यसलाई सदर गर्ने गरेको कर विभागको मिति २०४६।३।१ को निर्णय समेत गैरकानुनी हुँदा बदर गरी पाउँ भन्ने समेत रिटनिवेदन जिकिर भएकोमा विपक्षीहरुको लिखितजवाफ हेर्दा निवेदकले पेश गरेको विवरण अनियमित एवं नियम विपरीतको लेखाको आधारमा पेश गरेकोले आयकर ऐन, २०३१ को दफा ३३(२) बमोजिम खूद आय कायम गरिएको हो भन्ने समेत देखिन्छ ।

१०.    आयकर ऐन, २०३१ को दफा ३३(२) हेरिएमा करदाताले आय विवरण दाखिल नगरेमा वा झुठ्ठा विवरण दाखिल गरेमा वा कारोबारको लेखा नराखेमा वा राखेको लेखालाई मान्यता दिन नमिल्ने भएमा कर अधिकृतले देहायका कुन आधारमा खूद आय कायम गरी कर निर्धारण गर्न सक्नेछ भन्ने व्यवस्था गरी खण्ड (क) देखि (छ) सम्म विभिन्न आधारहरुको व्यवस्था गरिएको देखिन्छ त्यस बाहेक सोही ऐनकै दफा ३३(४) मा भएको व्यवस्थाले यसरी खूद आय निर्धारण गर्दा कर अधिकृतले त्यसरी आय निर्धारण गर्नु परेको आधार स्पष्ट खुलाई करदातालाई लिखितसूचना दिई आफ्नो साथ सम्बन्धमा केही कुरा भन्न वा सबूत प्रमाण पेश गर्न सात दिनको म्याद दिनु पर्नेछ भन्ने देखिन्छ । यसबाट करदाताले पेश गरेको आय विवरणलाई अमान्य गरी कर अधिकृतले आय निर्धारण गर्नु पर्ने भएमा ऐनले तोकेको आधारहरुको अधीनमा रही यसरी आय निर्धारण गर्नु परेको आधार स्पष्ट खुलाई करदातालाई स्पष्टीकरण वा प्रमाणपत्र पेश गर्न अवसर प्रदान गर्नै पर्ने अनिवार्यता रहेको देखियो ।

११.    निवेदकका हकमा निजले पेश गरेको आय विवरण हिसाब किताब बील भौचर लेखा के कति कारणले के कुन कानुनको विपरीत भएको तथा निजले पेश गरेको जवाफको सबूत प्रमाण के कति कारणले ठोस नभएको भन्ने कुरा पनि निर्णयमा खुल्न सकेको पाइँदैन । न्यायोचित अनुमानबाट खूद आय कायम गरी कर निर्धारण गर्न कानुनले जुन पूर्वावस्थाको अनिवार्यता गरेको छ सो कुनै पनि पूर्वावस्था निर्णयमा उल्लेख गर्न नसकेको अवस्थामा न्यायोचित अनुमानको आधारमा खूद आय कायम गरेको र सो खूद आयको आधारमा कर अधिकृतले कर निर्धारण गरेको कानुनी त्रुटि देखिनेभन्ने समेत ने.का.प. २०३६, अंक ८, पृष्ठ २३७ मा प्रकाशित नि.नं. १२८७ निवेदक सुनिलकुमार एण्ड कं.प्रा.लि. विरुद्ध विपक्षी कर फछ्र्यौट आयोग काठमाडौं समेत भएको उत्प्रेषण विषयमा यस अदालत पूर्ण इजलासबाट सिद्धान्त समेत प्रतिपादित भइरहेको पाइन्छ ।

१२.   यसबाट निवेदकले पेश गरेको विवरणलाई अमान्य गर्दा कसरी विवरणमा फरक पर्न गयो र के कुन तथ्यांक प्रमाणको आधारमा कर निर्धारण गरियो सो सम्पूर्ण कुरा स्पष्ट उल्लेख नगरी खूद आय कायम गरी कर निर्धारण गर्ने गरिएको निर्णयलाई कानुन अनुरुपको मान्न मिलेन । तसर्थ निवेदकको हकमा यसरी गरिएको निर्णय अनुसारको कर कार्यालय जनकपुरको मिति २०४५।२।७ को कर निर्धारण आदेश तथा सो लाई सदर गर्ने गरेको कर विभागको मिति २०४६।३।१ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी दिएको छ । अब कानुन बमोजिम गरी निवेदकको हिसाब किताब सम्बन्धी बुझ्नु पर्ने प्रमाण बुझी सोको आधारमा खूद आय कायम गरी कर निर्धारण गर्नु भनी विपक्षीका नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । जानकारीको लागि आदेशको प्रतिलिपि म.न्या.का. मार्फत पठाई फायल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.पृथ्वीबहादुर सिंह

 

 

इति सम्वत् २०४७ साल बैशाख १४ गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु