शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४०७५ - बन्दीप्रत्यक्षीकरण

भाग: ३२ साल: २०४७ महिना: जेष्ठ अंक:

निर्णय नं. ४०७५    ने.का.प. २०४७      अङ्क २

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

सम्वत् २०४६ सालको रि.नं. ८२६

आदेश भएको मिति: २०४७।१।२।१ मा

निवेदक      : सप्तरी कारागारमा थुनामा रहेको लोकबहादुर भन्ने राजाराम बस्नेत

विरुद्ध

विपक्षी/प्रत्यर्थी : सप्तरी जिल्ला अदालतसमेत

विषय : बन्दीप्रत्यक्षीकरण

(१)    डाँका बाहेक चोरी चार प्रकारका छन् यी चार प्रकारका चोरी एकै किसिमको चोरी नभई बेग्ला बेग्लै किसिमको चोरी हो र कानुनले सजायँ पनि बेग्ला बेग्लै तजबीज गरेको छ ।

(प्रकरण नं. ८)

(२)   चोरीको पटक कायम गर्दा एक किसिमको चोरीलाई अर्को किसिमको चोरीसंग गाभी पटक कायम गर्न चोरीको ११ नं. ले त्यस्तो कानुनी प्रावधान गरेको नपाइने ।

(प्रकरण नं. ८)

(३)   साधारण चोरी गर्नेलाई नकवजनीको कसूरमा सजायँ गर्न मिल्दैन । त्यस्तै साधारण चोरी पटक नकवजनी चोरीमा गाभी पटक कायम गर्दा आफूले जुन अपराधै गरेको छैन त्यस्तो अपराधको बढी पटके सजायँ हुन जाने स्थिति पर्छ । यस्तोमा साधारण चोरीको हिसाब नकवजनी चोरीसंग गाभी पटक कायम गर्न न्यायसंगत नदेखिने ।

(प्रकरण नं. ८)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गोपालप्रसाद भण्डारी

प्रत्यर्थी तर्फबाट      : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ

फैसला

न्या.त्रिलोकप्रताप राणा

१.     संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।

२.    २०३९ सालमा सुनसरी जिल्ला अदालतबाट साधारण चोरी मुद्दा ३ मा क्रमशः पहिला, दोस्रा, तेस्रा पटक समेतमा सजायँ पाई सो भुक्तान गरी छुटेकोमा, ना.सु.वालकृष्ण पंडितको जाहेरीले वादी श्री ५ को सरकार भएको पहिलो पटक नकवजनी चोरी गरेको ठहरी विपक्षी नं. १ बाट ०४६।३।८ मा फैसला भएको हुँदा यो नकवजनी चोरीमा के कति सजायँ गर्नु पर्ने हो सो प्रश्न नै मुख्य विचारणीय छ । मुख्यतः चोरीको प्रकृति अवस्था अनुसार चोरीको महलले चोरीलाई ५ प्रकारमा विभाजन गरेको छ ती मध्ये जुन चोरीमा जति पटक चोरी गरेको ठहर्छ सो चोरीमा त्यति पटकको पटक कायम गरी सजायँ गर्ने व्यवस्था गरेको पाइन्छ । कसैले साधारण चोरी गरे  बापत भएको सजायँ भोगी छुट्टै नकवजनी चोरी गरेमा त्यस्तो अवस्थामा अघि साधारण चोरीको सजायँ भोगी सकेको भनी पटक कायम गरी पछिको नकवजनी चोरीमा खत खापी सजायँ गर्न नमिल्ने कुरा चोरीको प्रकृति अवस्था बमोजिम चोरीको वर्गीकरणबाट स्वतः प्रष्ट गरेको पाइन्छ । यस्तो अवस्थामा एउटा प्रकृति अवस्था भएको चोरीमा सजायँ भएको भन्दैमा पछि अर्कै प्रकृति अवस्था भएको चोरीको पटक कायम गरी दोस्रा प्रकृति अवस्था भएको चोरीमा पहिलो पटकको खत खापी सजायँ गर्न मिल्ने होइन । साधारण चोरी र नकवजनी चोरी एकै प्रकृयाको नभई भिन्नै प्रकृतिको भएकोले नकवजनी चोरीमा चौथा पटक कायम गरी चोरीका १४(१) ले कैद वर्ष १।६ हुने नभई नकवजनी चोरीमा पहिलो पटकको सोही ऐनले कैद महीना ।१।१५ हुनु पर्ने स्वतः स्पष्ट भएकोले सप्तरी जिल्ला अदालतबाट मलाई नकवजनी चोरीमा चौथा पटक कायम गरी गरेको उक्त फैसला बदर गरी संविधानको धारा ७१ अन्तर्गत बन्दीप्रत्यक्षीकरणको आज्ञा, आदेश वा जो चाहिने पुर्जी जारी गरी गैरकानुनी थुनाबाट मुक्त गरिपाउँ भन्ने समेत व्यहोराको रिटनिवेदन जिकिर ।

३.    यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? विपक्षीहरुबाट लिखितजवाफ झिकाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत एक न्यायाधीशका इजलासबाट ०४६।७।३० मा भएको आदेश ।

४.    साधारण चोरीको पटकमा नकवजनी चोरीको पटक खापी चौथा पटक ठहर गरी प्रस्तुत मुद्दामा सजायँ गर्न नमिल्ने भन्ने निवेदकले जिकिर लिएको हकमा मुलुकी ऐन चोरीको ११ नं. मा भएको कानुनी व्यवस्था हेर्दा जुनसुकै प्रकारको चोरी मुद्दामा चोरी गरेको ठहरे, जति पटक चोरी गरेको ठहर्छ त्यति पटक, पटक कायम गर्नु पर्ने र डाँका बाहेक अरु प्रकारको मात्र बेग्ला बेग्लै पटक गरी सजायँ गर्न पर्छ भन्ने स्पष्ट प्रावधान भएकोले डाँका बाहेक चोरीको महल अन्तर्गत वर्गीकृत जुनसुकै प्रकारको चोरी गरेको ठहरे पटक कायम गरी सजायँ गर्न मिल्ने विधायिकाको मनसाय देखिएकोले निज प्रतिवादीले पहिले साधारण चोरी गरेकोमा ३ पटक कायम गरी सकेको र प्रस्तुत मुद्दामा नकवजनी चोरी गरेको ठहरी फैसला भएकोमा साधारण चोरीको महलमा खापी सजायँ गर्न मिल्ने नै देखिएकोले सोही अनुरुप यस अदालतबाट विन्देश्वरीको जाहेरी भएको प्रतिवादी यी राजाराम भएको नकवजनी चोरी मुद्दामा ०४६।३।८ मा फैसला हुँदा चौथा पटक कायम गरी सजायँ तोकिएको कानुन अनुरुप नै हुँदा निवेदकको जिकिर निरर्थक भएको र यस अदालतबाट भएको उक्त फैसलामा निजको चित्त नबुझेको खण्डमा सगरमाथा अञ्चल अदालतमा पुनरावेदन गरी फैसला बदर गराउन सक्ने पुनरावेदनको बाटो छँदाछँदै निज रिट निवेदकले सर्वोच्च अदालतबाट उपचार पाउन सक्ने होइन । यसरी निजले रिट क्षेत्रमा प्रवेश गर्न नै नसक्ने देखिँदा निजको रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको सप्तरी जिल्ला अदालतको लिखितजवाफ देखिन्छ ।

५.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा रिट निवेदकको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री गोपालप्रसाद भण्डारीले मेरो पक्षले साधारण चोरीमा ३ पटक सजायँ पाएकोमा सो सजायँ भोगी छुटी सकेको छ अब चौथो पटक नकवजनी चोरी मुद्दामा सजायँ हुँदा चौथो पटक नकवजनी चोरी गरेको भनी चोरीको १४ नं. अनुसार १ वर्ष ६ महीना कैदको लगत कसिएको छ । साधारण चोरीको कुरा नकवजनी चोरीमा गाभी पटक कायम गर्न मिल्दैन । अतः नकवजनी चोरी पहिलो पटकको हुँदा चोरीको १२ नं. बमोजिम १।। महीना कैद हुनेमा १।। वर्ष कैद गरेको मिलेको छैन भन्ने भनी तथा प्रत्यर्थी कार्यालयका तर्फबाट उपस्थित विद्वान का.मु.सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले चोरीको अपराध गरेमा प्रतिवादी साविती भई सजायँ समेत पाइसकेको र साधारण चोरीमा तीन पटक सजायँ पाएको र चौथो पटक नकवजनी चोरी गरेकोले अपराध चोरीको भएको र तरीका मात्र नकवजनी देखिँदा यस्तोमा पटक खाप्न पाइँदैन भन्न प्रतिवादीले पाउने होइन । नकवजनीमा चौथो पटक नकवजनीको सजायँको लगत कसेको कानुन अनुकूल हुँदा प्रतिवादीको बन्दीप्रत्यक्षीकरणको रिट खारेज होस भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नु भयो ।

६.    प्रस्तुत रिटनिवेदनमा निवेदकको माग बमोजिमको आदेश जारी हुने नहुने के रहेछ हेरी निर्णय दिनु पर्ने हुन आयो ।

७.    यसमा २०३९ सालमा सुनसरी जिल्ला अदालतबाट साधारण चोरी ३ मा पहिला, दोस्रा, तेस्रा पटक समेतमा सजायँ पाई सो भुक्तान गरी सकेको छु । ना.सु.बालकृष्ण पण्डितको जाहेरीले वादी श्री ५ को सरकार भएको पहिलो पटक नकवजनी चोरी मुद्दामा २०४६।३।८ मा फैसला भएको छ । साधारण चोरीमा यो नकवजनीको खत खापी सजायँ गर्न मिल्दैन । चोरीको १४(१) ले १ महीना १५ दिन कैद हुन्छ र जरिवाना रु. ४,१२५।हुनु पर्नेमा पटक कायम गरी खत खापी कैद वर्ष १ र ६ महीना र जरिवानाको कैद महीना ५, दिन १५ समेत १ वर्ष ११ महीना १५ दिन गरेकोले सो गर्न कानुनले मिल्दैन भन्ने रिट निवेदकको मुख्य जिकिर भएको देखिन्छ । चोरीको ११ नं. मा जुनसुकै प्रकारको चोरीमा पक्राउ भएकोमा एकै पटक पक्रिएको भए पनि जति पटक जति ठाउँमा चोरी गरेको ठहर्छ उती पटकको सजायँ हुन्छ । डाँका र अरु प्रकारको चोरी एकजनाले गरेमा डाँका र अरु प्रकारको चोरीको बेग्ला बेग्लै पटक गरी सजायँ गर्नु पर्छ सो गर्दा विदेशमा सजायँ पाएको पटक भने खापी सजायँ गर्न हुँदैनभन्ने लेखिएकोले साधारण चोरी गरेमा ३ पटक कायम भइसकेको र प्रस्तुत मुद्दामा नकवजनी चोरी गरेको ठहरेकोले चौथो पटक कायम गरी सजायँ गरेको कानुन अनुरुप छ भन्ने विपक्षी सप्तरी जिल्ला अदालतको लिखितजवाफबाट देखिन्छ ।

८.    चोरीको ११ नं. मा जुनसुकै प्रकारको चोरीमा पक्राउ भएकोमा एकै पटक पक्रिएको भए पनि जति पटक जति ठाउँमा चोरी गरेको ठहर्छ उती पटकको सजायँ हुन्छ । डाँका र अरु प्रकारको चोरीको बेग्ला बेग्लै पटक गरी सजायँ गर्नु पर्छ । सो गर्दा विदेशमा सजायँ पाएको पटक भने खापी सजायँ गर्न हुँदैनभन्ने र चोरीको १२ नं. मा डाँका, रहजनी, जबरजस्ती चोरी र नकवजनी बाहेक अरु साधारण चोरीमा कसूरदारलाई जनही सो चोरीको जम्मा बिगो बमोजिम जरिवाना र पहिला पटककोलाई एक महीना, दोस्रा पटककोलाई तीन महीना, तेस्रा पटकलाई ६ महीना, चौथो पटककोलाई एक वर्ष, पाचौं पटककोलाई २ वर्ष, छैठौं पटककोलाई चार वर्ष र सो भन्दा बढी जतिसुकै पटक भए पनि ६ वर्ष कैद समेत गर्नु पर्छभन्ने लेखिएको पाइन्छ । डाँका बाहेक चोरी चार प्रकारका छन । यी चार प्रकारका चोरी एकै किसिमको चोरी नभई बेग्ला बेग्लै किसिमको चोरी हो र कानुनले सजायँ पनि बेग्ला बेग्लै तजबिज गरेको छ । चोरीको ११ नं. ले चोरीमा एकै पटक पक्राउ भए पनि जति ठाउँमा चोरी गरेको ठहर्छ उती पटक सजायँ हुन्छसम्म भनेको पाइन्छ । तर चोरीको पटक कायम गर्दा एक किसिमको चोरीलाई अर्को किसिमको चोरीसंग गाभी पटक कायम गर्न चोरीको ११ नं. ले त्यस्तो कानुनी प्रावधान गरेको पाइँदैन । निवेदकले साधारण चोरीमा ३ पटक सजायँ पाएको र चौथो पटक नकवजनी चोरी गरेको देखिन्छ । साधारण चोरी र नकवजनी चोरी बेग्ला बेग्लै किसिमका हुन । सजायँ पनि बेग्ला बेग्लै छ । साधारण चोरी गर्नेलाई नकवजनीको कसूरमा सजायँ गर्न मिल्दैन । त्यस्तै साधारण चोरी पटक नकवजनी चोरीमा गाभी पटक कायम गर्दा आफूले जुन अपराधै गरेको छैन त्यस्तो अपराधको बढी पटके सजायँ हुन जाने स्थिति पर्छ । यस्तोमा साधारण चोरीको हिसाब नकवजनी चोरीसंग गाभी पटक कायम गर्न न्यायसंगत देखिएन । निवेदकले नकवजनी चोरी पहिलो पटक गरेको हुँदा चोरीको १२ नं. र १४ नं. ले १।। महीना डेढ महीना कैदको सजायँ गर्नु पर्नेमा चोरीको १२ नं. लाई दर्शाई साधारण चोरीलाई नकवजनी चोरीमा गाभी खत खापी नकवजनी चोरीको कसूरमा चौथो पटक १।। डेढ वर्ष सजायँ गरी सो बमोजिम लगत कसेको सप्तरी जिल्ला अदालतको निर्णय कारवाही मिलेन । नकवजनी चोरी मुद्दा ०४६।३।८ मा सप्तरी जिल्ला अदालतबाट फैसला भएको र कानुन बमोजिम निवेदकलाई पहिलो पटकको नकवजनी चोरीमा १।। महीना कैद र बिगो बमोजिम डेढी जरिवाना रु. ४,१२५।को पाँच महीना पन्ध्र दिन समेतको जम्मा कैद ७ सात महीना हुने हुँदा सो कैद भुक्तान भइसकेको देखिँदा निवेदकलाई यस मुद्दा बाहेक अन्य मुद्दामा थुनामा राख्न नपरे कैदबाट मुक्त गरी दिने ठहर्छ । आदेशको प्रतिलिपि सप्तरी जिल्ला अदालतमा पठाई फायल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.पृथ्वीबहादुर सिंह

 

इति सम्वत् २०४७ साल बैशाख २ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु