निर्णय नं. ७६११ - जवर्जस्ती करणी ।

निर्णय नं.७६११ ने.का.प.२०६२ अङ्क १०
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री अनुपराज शर्मा
माननीय न्यायाधीश श्री तपवहादुर मगर
सम्वत् २०६१ सालको फौ.पु. नं. ३३६१
फैसला मितिः २०६२।६।९।१
मुद्दाः– जवर्जस्ती करणी ।
पुनरावेदक/प्रतिवादीः जिल्ला कैलाली धनगढी न.पा.वडा न.२ घर भई हाल कारागारशाखा कैलालीमा थुनामा रहेका वमवहादुर कठायत
विरुद्ध
प्रत्यर्थी र वादीः विष्णु साहुको जाहेरीले श्री ५ को सरकार
§ महिलाको अस्मितालाई सम्वेदनशिल रुपमा लिइने हाम्रो समाजमा आफ्नी छोरीलाई उनाउ व्यक्तिले जवर्जस्ती करणी गरेको भनी वावुले जाहेरी दर्खास्त दिएको तथ्यलाई सामान्य रुपमा लिन नसकिने ।
§ पहिले वारदात भएको वास्तविक तथ्यलाई जाहेर गरी घटनावाट पीडित एवं अन्य सम्वन्धित व्यक्तिहरुले वास्तविकता लेखाई दिएकोमा समयको अन्तरालमा सो घटनावाट आफ्नो परिवार र आफु माथि भएको सामाजीक वेइज्जती पीडा र दागलाई कम गर्नुपर्ने महसुस गरी अन्य किसिमका प्रलोभनमा पारी अदालतमा आई वकपत्र गर्दा आफ्नो पहिलेको भनाई विरुद्ध हुने गरी वकी लेखाई दिने प्रचलन पनि पाइने ।
§ जवर्जस्ती करणी जस्तो अपराधमा अन्य मुद्दामा जस्तो अंक गणितिय हिसाववाट हेर्नु भन्दा पनि नारीको अस्मितामा गम्भिर आँच आउने विषय भएकाले अदालतले संवेदनशिल रुपमा विचार गर्नुपर्ने ।
§ १३ वर्षकी पीडितले आफ्नो इज्जत प्रतिष्ठा र नारी अस्मितामा आँच आउने गरी प्रतिवादी माथि जवर्जस्ती करणी गरेको भनी पोल्नुपर्ने कुनै कारण देखिन नआउंदा प्रतिवादीले जवर्जस्ती करणीको कसूरको उद्योग गरेको ठहराई जवर्जस्ती करणीको महलको ५ नं. अनुसार ३ (साढे तीन वर्ष) कैद सजाय हुने ठहराएको पुनरावेदन अदालतको फैसला मिलेकै देखिने ।
(प्रकरण नं.२८)
पुनरावेदक प्रतिवादी तर्फवाटःविद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ र विद्वान अधिवक्ता श्री चक्रविक्रम शाह
प्रत्यर्थी वादी तर्फवाटः
अवलम्वित नजीरः
फैसला
न्या.अनूपराज शर्माः पुनरावेदन अदालत दिपायलवाट भएको मिति ०६०।११।१२ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत प्रतिवादी पक्षको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छ :–
२. मिति २०५९।६।१२ गते दिउसो २ वजे मेरो सहोदर जेठी छोरी वर्ष १३ की मन्जु साहु र माहिली छोरी रन्जु वजार गएका र गुडभेली किन्ने पसलमा पदमवहादुर कठायत संग भेट भै म तिम्रो अंकल हुँ वुवालाई राम्ररी चिन्दछु भनि हात समाती त्यहाँवाट सुनसरी होटलमा लगी जवरजस्ती नास्ता खुवाई हातपात गरी आनन्द होटेलको पुर्वपटी जोडिएको रिमझिम होटेलमा लगी जवरजस्ती करणी गरेको हुंदा कानून बमोजिम कारवाही गरी पाउँ भन्ने जाहेरी दरखास्त ।
३. रिमझिम होटलको माथिल्लो उत्तर पट्टीको कोठामा जवरजस्ती करणी गरेको भन्ने घटनास्थल प्रकृति मुचुल्का ।
४. योनी झिल्ली च्यातिएको यौन सम्पर्क भएको विर्य नभेटिएको भन्ने पीडित मन्जु साहुको मेडिकल रिपोर्ट ।
५. वाह्य चोट पटक नभएको सवै सामान्य रहेको भन्ने प्रतिवादी वमवहादुर कठायतको मेडिकल रिपोर्ट ।
६. मिति ०५९।६।१२ गते दिउसो १.०० वजेतिर म पैदल हिडी रहेको अवस्थामा सुनसरी होटल नजिक पुग्दा पीडित मन्जु र निजकी वहिनी गुडभेली किन्न लागेकी देखि भेली किन्न रु १५। कम भएकोले मेले दिएर नास्ता गर्छौ भन्दा मानेकीले सुनसरी होटलमा गई तिनै जनाले नास्ता गरी घुम्न जाने हो भनी सोध्दा हुन्छ भनेपछि निजको साइकिल नजिकको पसलमा छोडी रिक्सामा रिमझिम होटलमा गै माथिल्ला उत्तर पट्टीको कोठामा मन्जु सित एकछिन वसी केही कुरा गरी निजको गालामा (किस) म्वाइ खाए, स्तन दवाएको हुं । निजलाइ जवरजस्ती करणी गरेको होइन भन्ने समेत व्यहोराको प्रहरीमा प्र. वमवहादुर कठायतको वयान कागज ।
७. मिति ०५९।६।१२ गते दिउसो १ वजेतिर भेली किन्न वहिनी र म वजारमा आई सुनसरी होटल नजिक भेली किनी रहेको वेला हाल नाम थाहा भएको वमवहादुर कठायत आई म तिम्रो अंकल हुं भनि गुडमा रु १५। थपी नास्ता खाउँ भनि भनेको र हामीले खान्नौ भन्दा पिट्छु भनेकोले नास्ता ग¥यौ र पछि घर जान्छौ भन्दा निजले साइकल रोकी ताला लगाई चावी लिएर एउटा रिक्सा रोकी हिड घुम्न जाउँ भन्दा हामीले नमानेपछि कुट्न खोजेकोले डरले सो रिक्सामा गै रिमझिम होटलमा पुगी रिक्सा रोकी वहिनीलाई र २। दि यही वस नत्र पिट्छु भनि तल वसाली मलाई माथि हिड भनि लिई गएको त्यहाँ पुगेपछि मलाई कट्टु खोल्न लगाई हातले जवरजस्ती मेरो योनीमा आफ्नो लिङ्ग घुसाउन थाल्यो नगएपछि थुक लगाई जवरजस्ती गर्न खोज्दा पनि नगएपछि ४।५ पटक सम्म भित्र वाहिर गरी सकेपछि म आफ्नो कट्टु वोकी रुदै काउन्टरमा आएर खवर गरेकी हु भन्ने पीडित मन्जु साहुको कागज ।
८. मिति २०५९।६।१२ गते दिउसो १ वजेतिर म र दिदी गुडभेली ल्याउन भनि सुनसरी होटल नजिकको पसलमा पुगी गुडभेली किनी रहेको अवस्थामा वमवहादुर कठायत आई म तिम्रो अंकल हुँ, तिम्रो वुवालाई चिन्दछु भनि गुडभेलीमा रु १५। थपी हाम्रो साइकलमा ताला लगाई चाबी आफुसंग राखी होटल भित्र लगी हामी खादैनौ भन्दा पनि डर धाक देखाई नास्ता खुवाई त्यसपछि हामी घर जान्छौ भन्दा साइकल लुकाई रिक्सा रोकी हामी दुवैलाई रिक्सामा राखी वजारमा लगि रिमझिम होटलमा पुर्याई मलाई रु २। को डलर हातमा दिई दिदीलाई होटलको माथिल्लो तलामा लगी जवरजस्ती करणी गरेको हो भनि काउन्टरवालाको कुरा अनुसार म आफ्नो घरमा वुवालाई खवर गर्न गए दिदी रुदै कराउदै भाग्दै आइन र मैले के भयो भन्दा त्यो केटाले मेरो योनीमा आफ्नो लिङ्ग छिराई करणी ग¥यो भनेकि हुन भन्ने समेत व्यहोराको प्रत्यक्ष दर्शि रन्जु साहुले गरेको कागज ।
९. मिति ०५९।६।१२ गते म आफ्नो होटल काउन्टरमा थिए । प्रतिवादी वमवहादुर कठायतले पीडित मन्जु र निजको वहिनी रन्जु समेत आई साहु जी खै भनि सोद्धा छैन भनेपछि निज प्रहरी भएकोले केही कामको लागि आएका होलान भनि छोडी दिए पछि एउटा केटी मेरो अगाडी उभिएको देखि तिमी किन उभिएकी भनि सोद्धा मेरो दिदी माथि लगेको छ भनेको र केही छिनपछि माथिवाट चिच्याएको आवाज सुनियो मन्जु मानन्धर माथि गइन पीडितलाई करणी गरेको देखिन र मलाई भनिन् पछि म पनि गई समात भन्दा प्रतिवादी अर्को वाटोबाट भागी आनन्द होटलमा पस्यो र पीडित रुदै काउण्टरमा आइन करणी गरेको मन्जु मानन्धरले देखेको हो भन्ने समेत व्यहोराको श्रीमती देवी के.सी.ले गरेको कागज ।
१०. मिति २०५९।६।१२ गते रिमझिम होटलमा एक जना नावालक वर्ष १३ को मन्जु साहुलाई ललाई फकाई होटलको माथिल्लो तलामा लगी करणी गर्न थालेपछि पीडित चिच्याई रुन कराउन लाग्दा सवैले थाहा पाइ भागी गएको कुरा सुनेको हो पीडित निन्याउरो मुख लगाएकी देखेको हो भन्ने समेत व्यहोराको वस्तुस्थिति मुचुल्काका मानिसको भनाई रहेको ।
११. संकलित सवुत प्रमाणका आधारवाट मिति २०५९।६।१२ गते दिउसो प्रतिवादी वमवहादुर कठायतले वर्ष १३ की मन्जु साहुलाई रिमझिम होटलमा कोही नभएको माथिल्लो तलामा लगि ज्यान मार्ने धम्की दिई जवरजस्ती करणी गरेको पुष्टी हुन आएकोले निजलाई मुलुकी ऐन जवरजस्ती करणीको महलको ३ नं. बमोजिम सजाय गरी ऐ. को १० नं. बमोजिम पीडितलाई प्रतिवादीवाट आधा अंश समेत दिलाई भराई पाउँ भन्ने अभियोगपत्र माग दावी ।
१२. ०५९।६।१२ गते दिउसो १.३० वजेतिर म घर जान लाग्दा सुनसरी होटल नजिक पसलमा जाहेरवालाको छोरी मन्जु र रन्जुलाई भेटेको थिए । निज संग सामान्य परिचयको हिसावले मैले तिमिहरु किन आएको भन्दा गुडभैली किन्न आएका हौ रु. १५। अपुग भयो भनेकाले मैले रु १५। दिई म नास्ता खान सुनसरी होटलमा पुग्दा मेरो पछि पछि ती दुवैकेटी भित्र पसेपछि तपाईहरु पनि नास्ता खानु हुन्छ की भन्दा खान्छौ भनि भनेपछि मैले कालीगडलाई टिकीको अडर गरी दिएपछि टिक्की ल्याई दिएको र म चाहि नास्ता खाई रिक्सामा चढी आफ्नो घर तिर आएको हुं मैले जाहेरवालाको छोरीलाई जवरजस्ती करणी गरेको छैन भन्ने प्रतिवादी वमवहादुर कठायतले कैलाली जिल्ला अदालतमा गरेको वयान ।
१३. मिति ०५९।६।१२ गतेको दिन मेरो होटल खुलेको थियो, म आफ्नो होटलमा दिन भरी वसेको हुँ मेरो होटल माथि २०,२५ वटा गा.वि.स. का कार्यालयहरु पनि छ दिउसैको समयमा मेरो होटलमा मन्जु साहुलाई करणी गर्ने कुरै आउदैन उक्त दिन मेरो होटलमा कुने किसिमको घटना घटेको छैन भन्ने मौकामा कागज गर्ने देवी के.सी.ले. कैलाली जिल्ला अदालतमा गरेको वकपत्र ।
१४. मिति २०५९।६।१२ गतेको दिन म आप्mनै पसलमा छु मेरो पसल र रिमझिम होटल ओल्लो पल्लो हो सो दिन रिमझिम होटलमा कुनै किसिमको घटना घटेको मैले थाहा पाएन भन्ने वस्तुस्थिति मुचुल्काका हरि प्रसाद कोइरालाले कैलालि जिल्ला अदालतमा गरेको वकपत्र ।
१५. मिति ०५९।६।१२ गते दिन रिमझिम होटलमा डेढ वजेतिर म पनि गएको थिए त्यहाँ इन्द्र कडेल, बमवहादुर कठायत संग भेट भै चिया पान गर्दा लगभग त्यहाँ हामी ढाईवजे सम्म वसेका थियौ । वमवहादुरले मलाई हाकिमले पेल्छ भन्ने कुरा गरेको थियो हामीले नआत्तिनुहोस नोकरी गरेपछि अधिनमा वस्नु पर्छ भनि भनेको थियौ । निज वमवहादुर दिउसो ढाई वसे सम्म हामी संग गफ गरी वसेको अवस्थामा जाहेरवालाको छोरीलाई करणी गर्ने प्रश्ननै आउदैन निजले जाहेरवालीको छोरीलाई करणी गरे होला भन्ने हामीलाइ विश्वास लाग्दैन भन्ने प्रतिवादीको साक्षी सुनिल हमाल र इन्द्र कडेलले एकै मिलानले कैलाली जिल्ला अदालतमा गरी दिएको वकपत्र ।
१६. मिति यकिन थाहा छैन एक दिन दिदी र म वजारमा गएको थियौ । त्यहा होटलमा वसी नास्ता पनि गरेको थियो नास्ता गरी सकेपछि एकजना मानिसले दिदीलाई गुडभैली किन्न रु १५ । दिएको थियो र गुडभैली किनी हामी घरमा आएका हौ भन्ने मौकामा कागज गर्ने रन्जु कुमारी साहुले कैलाली जिल्ला अदालतमा गरेको वकपत्र ।
१७. मेरो छोरी मन्जु कुमारीलाई कसैले पनि करणी गरेको छैन र मैले जाहेरी पनि दिएको छैन मिति २०५९।६।१२ गते प्रहरीले वोलाएको छ भनि छोरीले भनेकोले म प्रहरी भएको ठाउंमा गएको थिए यसमा सही गरी दिनु होस भनि भनेकोले सही गरी दिएको हुं सो मुचुल्कालाई प्रहरीले जाहेरी वनाएको रहेछ भन्ने जाहेरवाला विष्णुवहादुर साहुले कैलाली जिल्ला अदालतमा गरेको वकपत्र ।
१८. मिति २०५९।६।१२ गते वमवहादुर कठायत संग मेरो सुनसरी होटलमा भेट भएको थियो त्यहाँ नास्ता खाई वमवहादुरले मलाई गुडभैली किन्न रु १५ । दिएको हो त्यस पछि मैले गुडभैली किनी घर आएको हुं मलाई कसैले पनि आज सम्म करणी गरेको छैन । मलाई वमवहादुरले जवरजस्ती करणी ग¥यो भन्ने कुरा झुठ्ठा हो भन्ने पीडित मन्जु साहुले कैलाली जिल्ला अदालतमा गरेको वकपत्र ।
१९. लामो समयको अन्तरलपछि पीडित मन्जु साहु जाहेरवाला विष्णुवहादुर साहुले प्रतिवादीलाई अपराधवाट वचाउने हेतुले करणी गरेको छैन भनि अदालतमा प्रतिकुल वकपत्र गरेतापनि घटना र परिस्थिति संग मेल खाएको देखिएन । प्रतिवादीले प्रहरीमा र अदालतमा गरेको वयानमा आन्तरिक साविती, किटानी जाहेरी पीडितको मौकाको कागज, शारिरीक परिक्षण प्रतिवेदन समेतको आधारमा प्रतिवादीले पीडित मन्जुलाई जवरजस्ती करणी गरेको देखिन आएकोले प्रतिवादीलाई जवरजस्ती करणीको महलको ३ नं. बमोजिम ६ (छ) वर्ष कैद र १० नं. बमोजिम पीडितलाई प्र.बाट आधा अंश समेत दिलाई दिने ठहर्छ भन्ने व्यहोराको मिति ०६०।३।४ को कैलाली जिल्ला अदालतको फैसला ।
२०. अधिकार प्राप्त अधिकारी र अदालत समक्ष कसूर गरेकोमा इन्कारी, जाहेरवाला र पीडितले करणी भएको छैन भनि वकपत्र गरेका छन सोही कुरालाई पुष्टी हुने गरी देवी के.सी., हरि प्रसाद कोइराला र मेरा साक्षी सुनिल हमाल र इन्द्र कडेल समेतले गरेको वकपत्रलाई समेत वास्ता नगरी प्रमाण ऐन, २०३१ को दफा ५४ विपरित वुझनु पर्ने प्रमाण नवुझी बुझ्नु नहुने प्रमाण वुझी संकाको भरमा ६ (छ) वर्ष कैद हुने ठहर्याई गरेको शुरु कैलाली जिल्ला अदालतको त्रुटीपूर्ण फैसला वदर गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी वमवहादुर कठायतको पुनरावेदन पत्र ।
२१. यसमा प्रमाणको मुल्यांकननै नगरी सुरु कैलाली जिल्ला अदालतवाट भएको इन्साफ फरक पर्न सक्ने देखिंदा अ.व.. २०२ नं. बमोजिम छलफलको निमित्त सरकारी वकिल कार्यालयलाई पेशीको सुचना दिई पेश गर्नु भन्ने पुनरावेदन अदालत दिपायलको मिति ०६०।८।८ को आदेश ।
२२. प्रतिवादी प्रहरी कर्मचारीले होटल कोठामा पीडित मन्जु साहुको गालामा म्वाई खाएको स्तन दवाएको समेतका कार्यहरु पीडितलाई करणी गर्ने उद्देश्यले गरेको प्रष्ट हुंदा प्रतिवादी वमवहादुर कठायतले जवरजस्ती करणीको कसूरको उद्योग सम्म गरेको ठहर्छ । कैलाली जिल्ला अदालतले गरेको मिति ०६०।३।४ को निर्णय सो हद सम्म उल्टी हुने ठहर्छ भन्ने पुनरावेदन अदालत दिपायलको मिति २०६०।११।१२ को फैसला ।
२३. मलाई मौकामा प्रहरी समक्ष वयान गराउदा धाक, धम्की दिई जवर्जस्ती सहि गराईएको हो । पीडितलाई मैले होटल कोठामा म्वाई खाएको र स्तन दवाएको भन्ने कुरा स्वतन्त्र प्रमाणबाट पुष्टि भएको छैन । जाहेरवाला, पीडित र घटना संग प्रत्यक्ष सम्वन्ध रहेका भनिएका साक्षीहरुले गरेको वकपत्रवाट समेत मैले जवर्जस्ती करणीको उद्योग गरेको भन्ने स्थापित हुन सकेको छैन । पुनरावेदन अदालतवाट भएको फैसला त्रुटिपूर्ण भएको हुंदा सो फैसला उल्टी गरी अभियोग दावीवाट सफाई पाउँ भन्ने व्यहोराको प्रतिवादीको पुनरावेदन पत्र ।
२४. नियमबमोजिम मुद्दा पेशी सूचीमा चढि पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फवाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ एवं विद्वान अधिवक्ता श्री चक्रविक्रम शाहले प्रतिवादी वमवहादुर कठायतले अनुसन्धान अधिकारी समक्ष गरेको वयान स्वेच्छाले गरेको होइन । धाक धम्कि दिई जर्वजस्ती सहि गराइएको हो भनी अदालत समक्ष वयान गरेको छ । वारदात भएको भनिएको दिन प्रतिवादीले मन्जु साहु र रन्जु साहुले गुडभेली किन्न रु.१५। अपुग भयो भन्दा दिएको र सुनसरी होटलमा नास्ता खान गएकोमा उनीहरुपनि आएको हुंदा नास्ता खाने भनी सोध्दा खान्छौ भनेकाले नास्ता खुवाएको सम्म हो भनी प्रतिवादीले अदालत समक्ष वयान गरेका छन् । मन्जु साहुलाई रिमझिम होटलमा लगी गालामा म्वाई खाएको र स्तन दवाएको भन्ने कुरा स्वतन्त्र प्रमाणवाट पुष्टि हुन सकेको छैन । जाहेरवाला विष्णुवहादुर शाहुले एउटा वदमास प्रहरीलाई तह लगाउनको लागि मुचुल्का गरेका हौं सही गरी दिनोस भनेकाले सहि गरि दिएको हु मैले जाहेरी दिएको छैन मेरो छोरीलाई कसैले करणी गरेको होइन भनी वकपत्र गरेका छन् । पीडित भनिएकी मन्जु शाहुले प्रतिवादी संग सामान्य चिनजान भएको वारदात भएको भनिएको दिन निज संग भेट सम्म भएको र आज सम्म कसैले करणी नगरेको भनी वकपत्र गरेकी तथा वस्तुस्थिति मुचुल्कामा कागज गर्ने व्यक्तिहरुले समेत घटना भएको कुरालाई अस्विकार गरी वकपत्र गरि दिएका छन् । त्यसवाट समेत जवर्जस्ती करणीको वारदात भएको कुरा पुष्टि हुदैन । वजारको ठाउंमा दिउसोको समयमा जवर्जस्ती करणीको वारदात हुन सक्ने अवस्थै रहदैन । हलुकोतवरले प्रतिवादीलार्ई जवर्जस्ती करणीको उद्योगको कसूरदार ठहर गर्न मिल्ने होईन । जवरजस्ती यौन सम्पर्क गर्ने उद्योग गरेको प्रमाणित भएको अवस्थामा मात्र जवर्जस्ती करणीको उद्योगमा सजाय गर्न मिल्छ । सो कुरा मिसिलबाट पुष्टि भएको नदेखिंदा पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ । सो फैसला उल्टी गरी प्रतिवादीलाई सफाई होस् भनि वहस प्रस्तुत गर्नुभयो ।
२५. पेश भएको पुनरावेदनपत्र सहितको मिसिल कागजात अध्ययन गरी विद्वान कानून व्यवसायीहरुले प्रस्तुत गर्नु भएको वहस जिकिरलाई दृष्टिगत गर्दा पुनरावेदन अदालत डोटीको फैसला मिले नमिलेको के रहेछ ? भनी निर्णय दिनु पर्ने देखिन आयो ।
२६. निर्णयतर्फ विचार गर्दा प्रतिवादी वमवहादुर कठायतले वर्ष १३ की मन्जु साहुलाई जवर्जस्ती करणी गरेको पुष्टि भएको हुंदा मुलुकी ऐन जवर्जस्ती करणीको ३ नं. बमोजिम सजाय गरी ऐ.को १० नं. बमोजिम आधा अंश समेत भराई पाउन अभियोग माग दावी भएकोमा प्रतिवादीलाई ६ वर्ष कैद हुने र पीडितलाई आधा अंश भराई दिने गरी शुरु जिल्ला अदालतवाट फैसला भएको रहेछ । पुनरावेदन अदालतले प्रतिवादीलाई जवर्जस्ती करणीको उद्योगमा तीन वर्ष ६ महिना कैद सजाय गरे उपर प्रतिवादीको पुनरावेदन पर्न आएको देखियो ।
२७. प्रतिवादी वमवहादुर कठायतले अनुसन्धान अधिकारी समक्ष वयान गर्दा पीडित मन्जु साहु र निजकी वहीनीलाई गुडभेली खरिद गर्न रु १५। दिएको त्यस पछि सुनसरी होटलमा लगी नास्ता खुवाएको र वजार घुम्न जाउ भनी रिक्सा चढाएर रिमझिम होटलमा पुर्याई वहिनी चाहीलाई होटलको काउन्टर मै छाडी मन्जुलाई होटलको तेश्रो तल्लाको कोठामा लगी विछ्यौनामा संग वसी गालामा किस (चुम्वन) गरी दुवै स्तन समातेर दवाएको कुरालाई स्विकार गरेकोमा अदालत समक्ष वयान गर्दा होटलमा संगै नास्ता खाएको सम्म स्विकार गरी कसूरमा इन्कार रही वयान गरेको देखिन्छ । पीडित मन्जु साहुको वावु विष्णुवहादुरले आफ्नी छोरीलाई प्रतिवादीले जवर्जस्ती करणी गरेको भनी किटानी जाहेरी दरखास्त दिएको, पीडित साथ रहेकी निजकी वहिनी रन्जु शाहुले पीडित सहित निजलाई प्रतिवादीले जवर्जस्ती होटलमा लगि आफुलाई काउन्टरमा राखी दिदि मन्जुलाई भित्र लगेको र केहि समय पछि दिदि रुदै आएकी भनि मौकैमा अनुसन्धान अधिकारी समक्ष लेखाई दिएको देखियो । पीडित मन्जु शाहुले अनुसन्धान अधिकारी समक्ष प्रतिवादीले आफुलाई रिमझिम होटलमा लगी मुख थुनी जवजस्ती करणी गरेको भनी लेखाई दिएकोमा अदालत समक्ष वकपत्र गर्दा कसैले पनि करणी नगरेको भनी अनुसन्धान अधिकारी समक्षको आफ्नो व्यहोरालाई अस्विकार गरेको देखिन्छ ।
२८. वारदात भएको भनिएको दिन मिति ०५९।६।१२ मा पीडित मन्जु शाहुको स्वास्थ्य परिक्षण हुंदा योनी झिल्लि च्यातिएको योनी सुन्निएको भनी सेती अन्चल अस्पतालले प्रतिवेदन दिएको देखियो । वारदात भएपछि मौकैमा घटनाको सम्वन्धमा पीडित, निजकी वहिनी, जाहेरवाला र वस्तु स्थिति मुचुल्काको व्यक्तिले लेखाई दिएको कुरा र अस्पतालको प्रतिवेदनवाट समेत प्रतिवादीले अनुसन्धान अधिकारी समक्ष गरेको वयान डर धाक धम्कीवाट गरेको भन्ने पुष्टि हुदैन। यी प्रमाणहरुबाट प्रतिवादीवाट अपराधीक कार्य भएको पुष्टि हुन आउछ । १३ वर्ष उमेरकी पीडितले आफु माथिको अन्याय मौकैमा लेखाई दिएको कुरालाई समयको अन्तरालमा अदालत समक्ष आई वकपत्र गर्दा पहिले जस्तो गरी वकपत्र नगरी दिएतापनि निजले पहिले प्रतिवादी माथी जवर्जस्ती करणी गरेको भनी किटान गर्नुपर्ने कुनै कारण मिसिलवाट देखिदैन । महिलाको अस्मितालाई सम्वेदन सिल रुपमा लिइने हाम्रो समाजमा आफ्नी छोरीलाई उनाउ व्यक्तिले जवर्जस्ती करणी गरेको भनी वावुले जाहेरी दर्खास्त दिएको तथ्यलाई सामान्य रुपमा मात्र लिन सकिदैन । पहिले वारदात भएको वास्तविक तथ्यलाई जाहेर गरी घटनावाट पीडित एवं अन्य सम्वन्धित व्यक्तिहरुले वास्तविकता लेखाई दिएकोमा समयको अन्तरालमा सो घटनावाट आफ्नो परिवार र आफु माथि भएको सामाजीक वेइज्जती पीडा र दाग लाई कम गर्नुपर्ने महसुस गरी अन्य किसिमका प्रलोभनमा पारी अदालतमा आई वकपत्र गर्दा आफ्नो पहिलेको भनाई विरुद्ध हुने गरी वकी लेखाई दिने प्रचलन पनि पाइन्छ । सोही दृष्टिकोणवाट विचार गर्दा समेत प्रस्तुत मुद्दामा प्रतिवादी वमवहादुरवाट अपराधीक कसूर भएको होईन भन्न सकिन्न। १३,१४ वर्षकी उनाउ केटीलाई पैसा दिनु, नास्ता खान जवर्जस्ती गर्नुपर्ने कुनै उचित कारण मिसिलवाट खुल्न आउदैन । जवर्जस्ती करणी जस्तो अपराधमा अन्य मुद्दामा जस्तो अंक गणितिय हिसाववाट हेर्नु भन्दा पनि नारिको अस्मितामा गम्भिर आँच आउने विषय भएकाले अदालतले संवेदनसिल रुपमा विचार गर्नुपर्ने हुन्छ । १३ वर्षकी पीडितले आफ्नो इज्जत प्रतिष्ठा र नारि अस्मितामा आँच आउने गरी प्रतिवादी माथि जवर्जस्ती करणी गरेको भनी पोल्नु पर्ने कुनै कारण मिसिलवाट देखिन आउदैन । तसर्थ प्रतिवादीको तर्फवाट उपस्थित विद्वान कानून व्यवसायीको वहस जिकिरसंग सहमत हुन सकिएन।
२९. अतः माथि उल्लेखित आधार र कारणवाट प्रतिवादी वमवहादुर कठायतले जवर्जस्ती करणीको कसूरको उद्योग गरेको ठहराई जवर्जस्ती करणीको महलको ५ नं. अनुसार ३ (साढे तीन वर्ष) कैद सजाय हुने ठहराएको पुनरावेदन अदालत डोटीको मिति ०६०।११।१२ को फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । फैसलाको जनाउ पुनरावेदक प्रतिवादीलाई दिई डायरीको लगत कट्टा गरी मिसिल नियमानुसार वुझार्ई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.तपवहादुर मगर
इति सम्वत् २०६२ साल आश्विन ९ गते रोज १ शुभम–––––––––––––––