शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४०९१ - अपुताली

भाग: ३२ साल: २०४७ महिना: जेष्ठ अंक:

निर्णय नं. ४०९१     ने.का.प. २०४७      अङ्क २

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४५ सालको दे.वि.वि.नं. ५६

फैसला भएको मिति: २०४७।२।२।४ मा

निवेदक/प्रतिवादी: सल्याङ खलंगा गा.पं. वा.नं. ५ बस्ने मोहनकुमारी बस्नेत

विरुद्ध

विपक्षी/वादी: ऐ. वा.नं. ८ बस्ने जितबहादुर विष्ट

मुद्दा : अपुताली

(१)    मामली तर्फको भाइलाई अपुतालीको ११ नं. मा व्यवस्था भएको दाजुभाइ मान्न नमिल्ने ।

(प्रकरण नं. १६)

निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल

फैसला

न्या.हिरण्येश्वरमान प्रधान

१.     म.प.क्षे.अ. को २०४४।३।२४।४ को फैसलामा इन्साफ जाँचको लागि प्रतिवादीको श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको निवेदनमा इन्साफ जाँची कानुन बमोजिम निर्णय गर्नु भन्ने हु.प्र. बाट पेश भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ ।

२.    जयबहादुर थापाको जेठी स्वास्नी रेवती थपेनीबाट जन्मेको जेठी मोहनकुमारी कान्छी नेवी डमेनी समेत २ बैनी छोरी मात्र जन्मेका कान्छी स्वास्नी चन्द्रकलाबाट कुनै सन्तानै नहुँदै निज मोहनकुमारीको विवाह भई २०१४ सालमा जयबहादुर थापाको र २०३८ सालमा रेवती परलोक हुनुभयो । टोपबहादुर विष्टको स्वास्नी ठगीबाट जन्मेकी छोरी चन्द्रकली र छोरा म जन्मेको भई चन्द्रकली दिदी हुनुहन्थ्यो अरु अंशियार कोही नभएकी दिदी चन्द्रकलीलाई अन्यायीवालीहरुबाट हकवाला कसैले सम्भार नगर्दा निज चन्द्रकली मेरो घरमा आई बसी बिरामी भएको अवस्था म समेतले चन्द्रकलीलाई खान लाउन दिई सेवा गरेको र दिदी चन्द्रकली २०४०।६।३० गते मरेपछि निजको काजकृया समेत गरी दिएको थिएँ । दिदी चन्द्रकलीका नाउँमा दर्ता श्रेस्ता भएको सल्यान केजरी गा.पं. वार्ड नं. ६ कि.नं. ८६८ को सिम खेत रो. ६० मध्ये आधा रोपनी ३० मुलुकी ऐन अपुतालीको ११ नं. बमोजिम मैले पाउनेमा पाउँदैनौ भनी २०४१।९।८ गते मलाई सुनाएका हुँदा आधा अपुताली हक कायम गरी पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।

३.    मेरो पिता जयबहादुर थापाको जेठी स्वास्नी रेवतीबाट म समेत २ बहिनी छोरी मात्र भई पिता परलोक भएपछि भएको जग्गा जमीनको आयस्ताको आमा रेवती र कान्छी आमा चन्द्रकलीलाई खान लाउन प्रशस्त पुगेको थियो आमा रेवती मेरै घरमा परलोक भएकी हुन् बहिनी नेवी दाङ भएकी र कान्छी आमा चन्द्रकलीको निकट म हुँदा चन्द्रकलीलाई मैले नै हेरचार गरेकी हुँ । फिरादी भेट गर्न भनी गएकी फिरादी कै घरमा सख्त विरामी भई परलोक भएकी चन्द्रकली मर्ने अवस्था सम्म गहना नगदी समेत थियो, चन्द्रकली मरेपछि फिरादीले राखेको माग्दा नदिएकोले उजूर पर्छ भन्ने चलाकीले उजूर गरेको हो । अपुतालीको १ नं. मा ७ पुस्ता बाहिर पुरुषतर्फको हागालाई दाजुभाइ भन्ने र माइती दाजुभाइ अपुतालीको ११ नं. ले सम्बोधन नगरेको हुँदा अ.बं. ८२ नं. ले दावा नपुग्ने फिरादीको उजूर खारेज गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।

४.    प्रतिवादी नेवी डंगेनीले २०४१।१०।११ गते तामेल भएको तामेलीको म्यादभित्र प्रतिउत्तर नदिई गुजारी बसेको ।

५.    अपुतालीको ११ नं. मा छोरा छोरीले संभार नगरेकोमा दाजुभाइले स्याहार संभार गरे चलमा सबै र अचलमा आधा स्याहार संभार गर्ने हकवाला वा दाजुभाइले पाउने व्यवस्था भएकोले उल्लेखित कानुनी आधारबाट वादी दावीको कित्ताको आधा जग्गामा वादीको हक पुग्ने ठहर्छ भन्ने सल्यान जिल्ला अदालतको फैसला ।

६.    अपुतालीको ११ नं. मा माइती पट्टीको भाइ भन्ने उल्लेखै नहुँदा सो ११ नं. ले १ नं. लाई औंल्याएको प्रष्ट छँदा छँदै फिरादको उजुरै खारेज हुनु पर्ने भएन शुरु फैसला बदर गरी हक इन्साफ पाउँ भन्ने समेत व्यहोराको राप्ती अञ्चल अदालतमा परेको पुनरावेदन ।

७.    अपुतालीको ११ नं. मा छोरा छोरीले संभार नगर्दा हकवाला वा दाजु भाइले स्याहार संभार गरेको रहेछ भने त्यो मरी अपुताली पर्‍यो भने त्यो अपुतालीको चलमा सबै र अचलमा आधा सो स्याहार संभार गर्ने हकवाला वा दाजुभाइले र आधा ऐन बमोजिम हकवालाले पाउनन् भन्ने व्यवस्था छ । उक्त ११ नं. मा उल्लेख भएको हकवाला वा दाजुभाइ भन्ने वाक्यांश अपुतालीको १ नं. मा उल्लेख भएको हकवाला वा दाजुभाइ भन्ने शब्दहरुलाई समेत गरेको छ । त्यस्तो स्थितिमा मर्ने चन्द्रकलीको माइती भाइ विपक्षी वादी जितबहादुरले अपुतालीको ११ नं. बमोजिम आधा अपुताली पाउने ठहर गरी शुरु सल्यान जिल्ला अदालतले गरेको फैसला मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ भन्ने राप्ती अञ्चल अदालतको फैसला ।

८.    राप्ती अञ्चल अदालतको फैसलामा चित्त बुझेन मेरो पुनरावेदन सहितको मिसिल प्रमाण अध्ययन गरी मलाई हराउने गरेको राप्ती अञ्चल अदालतको फैसला बदर गरी मेरो फिराद दावी बमोजिमको अपुताली मेरै कायम गरिपाउँ भन्ने वादी जितबहादुर विष्टको म.क्षे.अ. मा गरेको पुनरावेदन ।

९.    राप्ती अञ्चल अदालतको फैसला नमिली फरक पर्ने देखिएकोले विपक्षी प्रतिवादीलाई अ.बं. २०२ नं. र क्षेत्रीय अदालत नियमावली अनुसार छलफलमा झिकाउनु भन्ने यस म.प.क्षे.अ. को २०४४।२।१८ को आदेश ।

१०.    दाजुभाइले स्याहार संभार गरेको अवस्थामा अचलमा आधी अपुताली स्याहार संभार गर्न दाजुभाइले पाउने प्रष्ट छ । तसर्थ चन्द्रकली दर्ताको आधी जग्गामा दावी बमोजिम वादीको हक पुग्ने ठहराएको शुरु सल्यान जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ राप्ती अञ्चल अदालतको इन्साफ उल्टी हुन्छ भन्ने समेत म.प.क्षे.अ. को २०४४।३।२४।४ को फैसला ।

११.    अपुतालीको ११ नं. मा उपयुक्त दाजुभाइ भन्नाले अपुतालीको १ नं. बमोजिमको दाजुभाइ हुनेमा विवाद हुन सक्दैन यस्तोमा समेत म नै कान्छी आमाको माइतीको तर्फको भाइ विपक्षीले आधा पाउने गरिएबाट सा¥है नै अन्यायमा परेकोले म.प.क्षे.अ. को फैसलामा एकपटक सर्वोच्च अदालतबाट इन्साफ जाँच गरी दिनु भन्ने हु.प्र. बक्स पाउँ भनी श्री ५ महाराजाधिराजमा प्रतिवादीले चढाएको निवेदनमा इन्साफ जाँची कानुन बमोजिम निर्णय गर्नु भनी स.अ. का नाउँमा हु.प्र. बक्स भई देवानी विविधमा दर्ता भई आएको रहेछ ।

१२.   क्षेत्रीय अदालतको इन्साफ फरक पर्न जाने देखिन आएकोले अ.बं. २०२ नं. बमोजिम विपक्षीलाई झिकाई आएपछि नियम बमोजिम पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको २०४६।६।१० को आदेश रहेछ ।

१३.   नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा यस अदालतका आदेश बमोजिम वादी जितबहादुर विष्टको नाउँको म्याद रीतपूर्वक तामेल भई आएको मिसिलबाट देखिन आएको तर तारेखमा समेत रहेको देखिन नआएको । निवेदिकाको वा.लाई समेत रोहवरमा राखी निवेदक तर्फबाट बहसको लागि उपस्थित विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले गर्नु भएको बहस जिकिर समेत सुनियो ।

१४.   प्रस्तुत मुद्दामा म.प.क्षे.अ. ले गरेको इन्साफ मनासिब बेमनासिब के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।

१५.   यसमा मर्ने चन्द्रकली मरी अपुताली परेकोमा आफूले पालन पोषण गरी आफ्नै घरमा परलोक भएको भनी देखाई अपुतालीको ११ नं. बमोजिम अचलको आधा अपुताली पाउनु पर्ने भनी मर्नेकी सौतेनी छोरी मोहनमायालाई प्रतिवादी बनाई दावी लिएको देखिन्छ । वादीले आधार लिएको अपुतालीको ११ नं. मा भएको व्यवस्था हेरिएमा सो ११ नं. मा छोरा छोरीले संभार नगर्दा हकवाला वा दाजुभाइले स्याहार संभार गरेको रहेछ भने त्यो मरी अपुताली पर्‍यो भने त्यो अपुताली चलमा सबै र अचलमा आधा सो स्याहार संभार गर्ने हकवाला वा दाजु भाइले र आधा ऐन बमोजिमको हकवालाले पाउँछन् भन्ने भएकोबाट मर्नेका छोरा छोरीले स्याहार संभार नगरी अरु हकवाला वा दाजुभाइले स्याहार संभार गरेको रहेछ भने अचलमा आधा त्यस्तो स्याहार संभार गर्ने हकवाला वा दाजुभाइले पाउने व्यवस्था गरेको स्पष्ट छ, मर्ने चन्द्रकलालाई निजका भाइले स्याहार संभार गरेको र निजकै घरमा परलोक भएको भन्ने कुरा प्रतिवादी विपक्षीको प्रतिउत्तर तथा दुवै पक्षका साक्षीहरुको बकाईबाट देखिन आएकोले र त्यसतर्फ शंका ली रहनपर्ने अवस्था रहन आएन ।

१६.    विवाह भइसकेका मर्ने चन्द्रकलालाई निजका छोरा छोरीबाट स्याहार संभार नभई आफ्नो मावली पट्टिका भाइ वादीले स्याहार सम्भार गरेकाले क्षेपण गरेकोबाट अपुतालीको ११ नं. मा भएको उक्त व्यवस्थाले मामली पट्टिका भाइ वादीले चन्द्रकलाको अपुताली पाउने नपाउने के हो भन्ने प्रश्न रहेको देखिन आउँछ । यस प्रश्नको समाधान गर्न अपुतालीको ११ नं. मा उल्लेख भएको दाजुभाइ भन्ने शब्दले मर्नेको मावली पट्टीको भाइलाई जनाउँछ जनाउँदैन हेर्नु अनिवार्य भएको छ । यस प्रश्नको निरोपणको लागि अपुतालीको १ नं. मा भएको व्यवस्था हेरिएमा सो १ नं. मा हकवाला भनेको ७ पुस्ता सम्मको पुरुषतर्फको हाँगामा सबभन्दा नजीकको अंशियार हुन्छ सात पुस्ता नाघेको टाढाको दाजुभाइ हुन्छ । नजीकको टाढाको हकवाला छुट्याउँदा जो मरी अपुताली परेको हो उसको आफ्नै पुरुषतर्फको हाँगामा सन्तान भए मर्नेको मुल पुरुषको अरु हाँगाको हकवाला नजीकको ठहर्दैन भन्ने व्यवस्था भएकोबाट मर्नेको दाजुभाइ को मानिने हो भन्ने तर्फ विचार गर्दा मर्नेको पुरुषतर्फलाई मात्र लिन पर्ने स्पष्ट भएकोले वादी मर्ने चन्द्रकलाको भाइ नै भए पनि आफ्नो पुरुषतर्फको नभई मावलीतर्फको भन्ने कुरामा विवाद नरहेकोले अपुतालीको ११ नं. मा देखाइएको दाजुभाइ मर्ने चन्द्रकलाको पुरुषतर्फ मात्र हुन सक्ने भएकोले मावलीतर्फको भाइ जितबहादुरलाई सो अपुतालीको ११ नं. मा व्यवस्था भएको दाजुभाइ मान्न नमिलेको र सोही आधारमा क्षे.अ. को इन्साफ उपर यस अदालतबाट झगडिया झिकाउने आदेश भई विपक्षी वादीको नाउँमा सूचना म्याद गएकोमा कानुन बमोजिमको रीत पुर्‍याई २०४६।८।६ मा आफैंले बुझी लिएकोमा म्याद भित्र हाजिर भई आफ्नो दावी समर्थन गराउन समेत नआएकोले क्षे.अ. ले अं.अ. को इन्साफ उल्टाई अपुतालीको ११ नं. अनुसार मर्ने चन्द्रकलाको अचल सम्पत्तिमा आधा अपुताली हक कायम गर्ने ठहर्‍याएको इन्साफ गल्ती ठहर्छ दावी नपुग्ने ठहर्‍याएको इन्साफ राप्ती अञ्चल अदालतको मनासिब ठहर्छ । इन्साफ जाँचको लागि आएको हुँदा अरु केही गरी रहनु परेन मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.बब्बरप्रसाद सिंह

 

 

इति सम्वत् २०४७ साल ज्येष्ठ २ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु