शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७६१३ - दोहोरो लिखत दर्ता बदर ।

भाग: ४७ साल: २०६२ महिना: माघ अंक: १०

निर्णय नं.७६१३            ने.का.प.२०६२              अङ्क १०

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री खिलराज रेग्मी

माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी

सम्बत् २०५९ सालको दे.पु.नं.८९९६

फैसला मितिः २०६२।१०।१७।२

 

मुद्दा : दोहोरो लिखत दर्ता बदर ।

 

पुनरावेदक /प्रतिवादीः मोरङ जिल्ला भौडाही गा.वि.स.वडा नं.१ बस्ने कमलेश विश्वास थारु

बिरुद्ध

विपक्षी वादीः ऐ.ऐ.कटहरी गा.वि.स.वडा नं.३ बस्ने लालवती विश्वास थारु

 

§  हकै नपुगेको जग्गा दाताले अरु व्यक्तिलाई हालैदेखिको वकसपत्र( को लिखत गरिदिएपनि सो लिखत बदरमा दावी गर्न वादीको हकदैया  नपुग्ने ।        

(प्रकरण नं. १३)

§  शेषपछिको बकसपत्रको लिखत दाताले चाहेमा आफ्नो जीवनकालभरी जहिलेसुकैपनि बदर गराउनसक्ने ।

§  शेषपछिको वकसपत्रमा उल्लेखित सम्पत्तिमा दाताको जीवन रहेसम्म पाउनेको हक प्राप्त हुनसक्ने अवस्था नभएकोले दाताले कुन समयमा शेषपछिको बकसपत्र बदर गराएको हो सो कुराले तात्विक असर नपार्ने ।         

(प्रकरण नं. १४)

§  हालैदेखिको बकसपत्रको लिखत तत्कालै क्रियाशील हुने भएकोले लेनदेन व्यवहारको २७ नं. को कानूनी व्यवस्थाबमोजिम समेत वादीले प्राप्त गरेको लिखत भन्दा प्रतिवादीले प्राप्त गरेको लिखतले प्राथमिकता र कानूनी मान्यता प्राप्त गर्ने ।           

(प्रकरण नं.१५)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्धान अधिवक्ता श्री हरिकृष्ण काकी

विपक्षी वादी तर्फवाटः विद्धान अधिवक्ता श्री महम्मद इद्रीस

अवलम्वित नजीरः

 

फैसला

न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत विराटनगरको २०५४।६।२ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोराई पाउँ भनी प्रतिवादीको यस अदालतमा परेको निवेदनमा दोहोराउने निस्सा प्राप्त भै पुनरावेदनमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :

२.    विपक्षी चमरु विश्वासको २ छोरा जेठो वंगाली लाल र कान्छा पुरनलाल विश्वास भएकोमा वंगालीको जेठो छोरा गणेश विश्वासको म पत्नी भई चमरुको म नातिनी वुहारी भएकी, चमरुले आफ्ना छोराहरुलाई २०३८।१।१२ गते अंशवण्डा पारित गरी दिनु भएको, चमरु विश्वास दर्ता रहेको झापा वैजनाथपुर गा.वि.स.वडा नं.८(ख) कि.नं.१७५ को ०१७१७ जग्गा म नातिनी बुहारीलाई २०४७।८।१७ गते पारित गरी दिनु भएको कुरा कमलेश समेतलाई जानकारी भइरहेको, चमरुले म वादीलाई २०४७।८।१७ मा गरिदिएको शेषपछिको बकसपत्रमा उल्लेखित जग्गा प्रतिवादी चमरुले प्रतिवादी मध्येका कमलेशलाई लिखत गरी दिनु भएको कुरा सुनीपत्रा लगाउँदा मलाई बकसपत्र गरी दिएको कुरा गुम गरी जालसाजी व्यहोराबाट प्रतिवादीहरुले मिलोमतो गरी मलाई बकसपत्र गरी दिनु भएको जग्गा दोहोरो पारी प्रतिवादी कमलेश विश्वासलाई २०५२।६।३० मा लिखत गरी लिनु दिनु गरेको कुरा २०५२।७।१४ मा नक्कल लिंदा जानकारी हुन आएकोले उल्लेखित तवरबाट दोहोरो पारी कानून विपरीत २०५२।६।३०मा पारित गरी लिनु दिनु गर्नु भएको लिखत र सो लिखतको आधारमा प्रतिवादी कमलेश विश्वासका नाममा दर्ता भएको जग्गाको दर्ता समेत बदर गरिपाऊँ भन्ने समेत व्यहोराको फिरादपत्र ।

३.    विपक्षीले म चमरुलाई ललाई फकाई स्याहार सम्भार गरी पाल्छु भनी विश्वास दिलाई जग्गा शेषपछिको बकसपत्र गरी दिनु होस् भनेको हुँदा विश्वासमा परी दावीको कि.नं.१७५ को जग्गा मेरा नामबाट २०४७।८।१७ मा शेषपछिको वकसपत्र गरी दिएपछि विपक्षीले मलाई स्याहार सम्भार हेरविचार समेत कुनै कुरा नगरेको हुँदा दावीको उक्त जग्गा रिझाए वापत प्रतिवादी मध्येका नाती कमलेशलाई मिति २०५२।६।३० मा हालैको बकसपत्र गरिदिएको छु र सो मुद्दा परेको जानकारी हुनु भन्दा अगावै २०५२।८।१८ मा सो बकसपत्र बदर गरी लिईसकेको छु । प्रस्तुत मुद्दा गर्ने वादीलाई हकै नपुग्ने भएकाले खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको संयुक्त प्रतिउत्तरपत्र ।

४.    आआफ्ना पक्षको भनाईलाई पुष्टि गर्ने गरी वादीका साक्षी फुलकु चौधरी र जोगलाल चौधरी तथा प्रतिवादीका साक्षी धनवहादुर कोइराला र जोगेन्द्र कामतले २०५३।१।१३ मा गरिदिएको बकपत्र मिसिल सामेल रहेको छ ।

५.    वादीलाई २०४७।८।१७ मा गरिदिएको बकसपत्र बदर गराउनु अघि प्रतिवादी मध्येका कमलेश विश्वासलाई मिति २०५२।६।३०मा गरिदिएको मोरङ जिल्ला झापा वैजनाथपुर गा.वि.स.वडा नं. ८(ख) कि.नं.१७५ को ०१७१७ को हालैको बकसपत्र लिखत र सो बकसपत्रका आधारले भएको दर्ता समेत बदर हुने ठहर्छ भन्ने शुरु मोरङ जिल्ला अदालतको २०५३।९।३ को फैसला ।

६.    शेषपछिको बकसपत्र दिनु भनेको सम्पत्तिको उत्तराधिकारीसम्म घोषित गरिएको मात्र हो तर उक्त सम्पत्तिबाट अधिकारको अन्त्य नै भएको मान्नु नहुनेमा शुरुले शेषपछिको बकसपत्र पारित भएपछि दिएको हालैको बकसपत्र लिखत बदर हुने ठहर्‍याएको शुरु फैसलामा चित्त बुझेन । तसर्थ उक्त त्रुटीपूर्ण फैसला बदर गरी शुरु प्रतिउत्तर जिकिर बमाोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुका तर्फबाट मिति २०५३।१२।२६ मा पर्न आएको संयुक्त पुनरावेदनपत्र ।

७.    पुनरावेदन जिकिर छाडी मिलापत्र गरिपाऊँ भनी पुनरावेदक प्रतिवादी सुर्जिदेवी विश्वास र प्रत्यर्थी वादी लालवती विश्वासको संयुक्त निवेदन मांग बमोजिम अ.वं.१८२ नं.अनुसार निज निवेदकहरुका हकमा सम्म मिलापत्र भै पुनरावेदक कमलेश विश्वासका हकमा दायरी लगत कायम भएको रहेछ ।

८.    विवादको कि.नं.१७५ को ०१७१७ जग्गा २०४७।८।१७ मा चमरु विश्वास थारुले लालवती विश्वासलाई शेषपछिको बकसपत्र गरिदिएकोमा सोही जग्गा प्रतिवादी कमलेश विश्वास थारुलाई २०५३।६।३० मा हालैको बकसपत्र गरिदिएको देखिन्छ । शेषपछिको बकसपत्र दाताले चाहेमा जुनसुकै समयमा बदर गराउन पाउने भएपनि सो बदर नभै लिखत क्रियाशिल रहेकै अवस्थामा अन्य व्यक्तिलाई हा.व.गरी दिन कानूनले मिल्ने देखिदैन । तसर्थ दावी बमोजिम दर्ता बदर समेत हुने ठहराएको शुरु जिल्ला अदालतको फैसला मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत विराटनगरको फैसला ।

९.    दावीको जग्गा चमरु विश्वासले वादी लालवतीलाई शेषपछिको बकसपत्र गरी दिएपनि दाताको जीवन रहेसम्म वादीको हक हुन नसक्ने साथै दाताले चाहेसम्म सो लिखत जहिले सुकै पनि बदर हुन सक्ने अवस्था रहन्छ । मैले चमरु विश्वासलाई पालन पोषण, हेर विचार गरी रिझाए वापत सो सम्पत्ति हालै देखि बकसपत्रबाट प्राप्त गरेको हुँ । मैले प्राप्त गरेको सम्पत्तिमा निज वादीको हक प्राप्त नै नभएको अवस्था हुँदा हक नपुग्ने व्यक्तिले दिएको फिराद दावी बमोजिम लिखत बदर हुने ठहराएको पुनरावेदन अदालतको फैसला बदर गरिपाऊँ भन्ने समेत व्यहोराको कमलेश विश्वास थारुको मुद्दा दोहोराई पाउँ भनी यस अदालतमा परेको निवेदन ।

१०.    यसमा शेषपछिको बकसपत्र दाताको मृत्यु पश्चात पाउनेको हक प्राप्त हुने र त्यस्तो लिखत दाताले जहिले सुकै बदर गराउन पाउने भै प्रत्यर्थी फिरादीको दाताले निवेदक प्रतिवादीलाई हालैको बकसपत्र गरी दिई सकेको अवस्थामा फिरादी लालवतीको हक श्रृजना भई नसकेको र उक्त लिखत बदर गराई सकिएको समेत देखिएबाट जुन लिखतको आधारमा दोहोरो लिखत भएको दावी गरेको हो सो लिखत नै निष्कृय भैसकेको लिखतलाई दोहोरो लिखतको संज्ञा दिई लिखत बदर हुने ठहराएको शुरु फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत विराटनगरको फैसलामा मुलुकी ऐन दानबकसको २ नं., ५ नं., लेनदेन व्यवहारको २५ नं.को व्याख्यात्मक त्रुटी र ने.का.प.२०४३ नि.नं.२८०९ पृष्ठ ७४५ मा प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल भएको हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम प्रस्तुत मुद्दा दोहोर्‍याउने निस्सा प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालतको आदेश ।

११.    नियम बमोजिम मुद्दा पेशीसूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीतर्फका विद्धान अधिवक्ता श्री हरिकृष्ण कार्कीले वादीले दावीको जग्गा दताबाट शेषपछिको बकसपत्र पाएको र दाता जिवित रहेसम्म सो बकसपत्रको लिखत क्रियाशिल हुन नसक्ने हुँदा दावीको जग्गामा वादीको हक पुग्न सक्ने अवस्था छैन । दाताले शेषपछिको बकसपत्रको लिखत आफ्नो जीवनकालमा जहिलैसुकै पनि बदर गर्न सक्ने कानूनी व्यवस्था बमोजिम शेषपछिको बकसपत्र लिखत बदर गराएको र प्रतिवादी कमलेश विश्वासले रिझ वापत सोही सम्पत्ति वादीलाई शेषपछि बकसपत्र गरी दिने दाताबाटै हालै देखीको बकसपत्र लिखतबाट हक प्राप्त गरेको हुँदा यस्तो अवस्थामा दोहोरो लिखत भएको मान्न नमिल्ने साथै वादीले आफ्नो हक नै प्राप्त नगरेको सम्पत्ति सम्बन्धमा लिखत बदरमा फिराद दिने हकदैया समेत प्राप्त नगरेको हुँदा हकै नपुग्ने व्यक्तिले गरेको फिराद दावी बमोजिम लिखत बदर हुने ठहराएको पुनरावेदन अदालतको फैसला बदर हुनुपर्दछ भन्ने र विपक्षी वादीतर्फका विद्धान अधिवक्ता श्री महम्मद इद्रीसले दावीको जग्गा दाताले वादीलाई २०४७।८।१७ मा शेषपछिको बकसपत्र गरी दिएपछि सो लिखत बदर नगराई पुनः प्रतिवादीलाई २०५२।६।३०मा सोही सम्पत्ति हालै देखिएको बकसपत्र गरिदिएकोले पहिलो लिखत वादीको भै वादीले लिखत बदरमा फिराद दिएपछि मात्र शेषपछिको बकसपत्र लिखत बदर गराएको अवस्था समेत भएबाट दावी बमोजिम लिखत बदर हुने ठहराएको पुनरावेदन अदालतको फैसला सदर हुनुपर्दछ भनी गर्नु भएको बहस समेत सुनी मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालतबाट भएको फैसला मिले नमिले सम्बन्धमा नै निर्णय दिनुपर्ने देखियो ।

१२.   निर्णयतर्फ विचार गर्दा विपक्षी मध्येका चमरु विश्वासले मलाई २०४७।८।१७ मा कि.नं.१७५ को जग्गा शेषपछिको बकसपत्र लिखत गरी दिनु भएकोमा सोही जग्गा विपक्ष मध्येका कमलेश विश्वासलाई २०५२।६।३० मा दोहोरो पारी हा.व.लिखत गरी दिनु भएकोले सो दोहोरो लिखत बदर गरी सो आधारमा भएको दर्ता समेत बदर गरिपाऊँ भन्ने फिरादमा वादीलाई उल्लेखित जग्गा शेषपछिको बकसपत्र गरी दिएपनि निजले मेरो हेरविचार नगरेकोले २०५२।६।३०मा कमलेश विश्वासलाई सोही जग्गा हा.व.गरिदिएको र वादीलाई दिएको लिखत समेत २०५२।८।१८ मा बदर गरी सकेकोले दावी झुठ्ठा हो भन्ने समेत प्रतिउत्तर भै दावी बमोजिम लिखत बदर हुने ठहराएको शुरु फैसलालाई सदर गरेको पुनरावेदन अदालतको फैसला उपर प्रतिवादी कमलेश विश्वासको मुद्दा दोहोराई पाउँ भनी यस अदालतमा परेको निवेदनमा दोहोराई दिने निस्सा प्राप्त भै प्रस्तुत मुद्दा पुनरावेदनमा दर्ता भएको देखियो ।

१३.   यसमा चमरु विश्वासले वादी लालवती विश्वास थरुनीलाई आफ्ना नाउँको झापा वैजनाथपुर गा.वि.स.वडा नं.८(ख) कि.नं.१७५ को ०१७१७ जग्गा मिति २०४७।८।१७ मा शेषपछिको बकसपत्र पारित गरिदिएकोमा सोही जग्गा २०५२।६।३० मा प्रतिवादी कमलेश विश्वासलाई हालै देखिको बकसपत्रको लिखत पारित गरिदिएकोले सो २०५२।६।३० को लिखत बदर गरिपाऊँ भन्ने वादीको मुख्य फिराद दावी देखिन्छ । वादीले दावीको जग्गा २०४७।८।१७ को शेषपछिको बकसपत्रको लिखतद्धारा आफ्नो हक भएको भन्ने दावी लिएपनि शेषपछिको बकसपत्र दिने व्यक्तिको परलोक भएपछि मात्र सो लिखत क्रियाशिल हुने भएकोले दाताको जीवन रहेसम्म सो सम्पत्तिमा दाताकै हक हुने भै लिखत गरी लिने व्यक्तिको तत्काल सो सम्पत्तिमा हक प्राप्त हुने हुँदैन । साथै शेषपछिको बकसपत्र दिने व्यक्तिले आफ्नो जीवनकालमा चाहेमा जहिले सुकै पनि लिखत बदर गर्न सक्ने अवस्था रहन्छ । सो को लागि बकसपत्र लिने व्यक्तिको मन्जुरी लिई रहनु पर्ने आवश्यक हुँदैन । प्रतिवादी कमलेश विश्वासले वादीले शेषपछिको बकसपत्रबाट पाएको सम्पत्ति नै वादीका दाता चमरु विश्वासबाट २०५२।६।३० मा हालैको बकसपत्रको लिखतद्धारा प्राप्त गरेको देखिन्छ । हालै देखिको बकसपत्रबाट दाताले कसैलाई लिखत गरिदिएको सम्पत्तिमा दाताको हक तत्काल समाप्त भै सो हक लिखत गरी पाउने व्यक्तिको नाउँमा सर्न जान्छ । तसर्थ प्रस्तुत विवादमा वादीको दावीको जग्गामा हक प्राप्त भई सकेको अवस्था नदेखिंदा हकै नपुगेको जग्गा दाताले अरु व्यक्तिलाई हा.व.को लिखत गरी दिएपनि सो लिखत बदरमा दावी गर्न वादीको हकदैया नै पुग्ने स्थिति देखिदैन ।

१४.   जहाँसम्म दाताले मलाई जुन सम्पत्ति मिति २०४७।८।१७ मा शेषपछिको बकसपत्र गरिदिएको हो ? सो लिखत बदर नगरी प्रतिवादी कमलेश विश्वासलाई २०५२।६।३० मा सोही सम्पत्ति हा.व.गरिदिएकोमा दोहोरो लिखत बदरमा मेरो दावी परी सकेपछि मात्र दाताले मलाई दिएको शेषपछिको लिखत बदर गराएको गैरकानूनी भएको भन्ने वादीको दावी छ सो सम्बन्धमा विचार गर्दा शेषपछिको बकसपत्रको लिखत दाताले चाहेमा आफ्नो जीवनकाल भरी जहिले सुकै पनि बदर गराउन सक्ने अवस्था भएको र शेषपछिको बकसपत्रमा उल्लेखित भएको सम्पत्तिमा दाताको जीवन रहेसम्म पाउनेको हक प्राप्त हुन सक्ने अवस्था नभएकोले दाताले कुन समयमा शेषपछिको बकसपत्र बदर गराएको हो सो कुराले तात्विक असर पार्ने देखिदैन ।

१५.   अर्कोतर्फ वादीले दान बकसको ५ नं. र जग्गा पजनीको १७ नं.अगाली प्रस्तुत फिराद गरेको अवस्था देखिन्छ । दान बकसको ५ नं.को कानुनी व्यवस्था बमोजिम आफुले दान बकस पाएको कुरामा आफ्नो हक पुगेको मितिले २ वर्ष भित्र नालेस दिनुपर्ने भन्ने र जग्गा पजनीको १७ नं.मा एकको हकको जग्गा अर्कोले दर्ता गराएकोमा थाहा पाएको मितिले ६ महिना भित्र  नालेश दिनुपर्ने कानूनी व्यवस्था देखिन्छ । दावीको जग्गा वादीले शेषपछिको बकसपत्रबाट पाएको र दाता जीवितै रहेको अवस्थामा सो जग्गामा निजको हक पुगी सकेको भन्न नमिल्ने हुँदा हक पुगी सकेको सम्पत्तिको सम्बन्धमा फिराद गर्दा आकर्षित हुने उल्लेखित ऐनका दफाहरु वादीको हकमा लागू हुन सक्ने देखिदैन । वादीले लिएको शेषपछिको बकसपत्रको लिखत दाताको शेषपछि मात्र क्रियाशिल हुने तथ्यमा विवाद नभएको र प्रतिवादी कमलेश विश्वासले गरिलिएको हालै देखिको बकसपत्रको लिखत तत्कालै क्रियाशिल हुने भएकोले लेनदेन व्यवहारको २७ नं.को कानूनी व्यवस्था बमोजिम समेत वादीले प्राप्त गरेको लिखत भन्दा प्रतिवादीले प्राप्त गरेको लिखतले प्राथमिकता र कानूनी मान्यता समेत प्राप्त गर्ने देखिन्छ । 

१६.    तसर्थ वादीले दावीको जग्गाको आफ्नो हकको श्रोत देखाएको २०४७।८।१७ को शेषपछिको बकसपत्र क्रियाशिल भै बकसपत्र बमोजिमको सम्पत्ति वादीको हकमा नआउँदै दान बकसको २ नं.बमोजिम दाताले शेषपछिको बकसपत्रको लिखत बदर गराई सकेको अवस्था भएको र प्रतिवादी कमलेश विश्वासले सोही जग्गा वादीकै दाताबाट हालै देखिको बकसपत्रद्धारा हक प्राप्त गरिसकेको अवस्थामा लिखत बमोजिम आफ्नो हकै नपुग्ने सम्पत्तिको लिखत बदर गरिपाऊँ भनी नालिस गर्न वादीलाई अ.वं.८२ नं.बमोजिम हक प्राप्त नै भएको नदेखिंदा हक नपुग्ने व्यक्तिले दिएको फिराद दावी बमोजिम लिखत दर्ता बदर समेत हुने ठहराएको शुरु मोरङ जिल्लाअदालतको फैसला सदर हुने ठहराएको पुनरावेदन अदालत विराटनगरको फैसला मिलेको नदेखिंदा सो फैसला बदर भै वादी दावी पुग्न नसक्ने ठहर्छ । अरु तपसिल बमोजिम गर्नु ।

 

तपसिल

पुनरावेदक÷प्रतिवादी कमलेश विश्वास थारुके माथि इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदन अदालतको फैसला उल्टी भै वादी दावी पुग्न नसक्ने ठहरेकाले शुरु जिल्ला अदालतको फैसला बमोजिम वादीलाई भराई दिने गरेको कोर्टफि रु.२००।मध्ये निजको हकको कोर्टफि रु.१००।निजले पुनरावेदन अदालत विराटनगरमा पुनरावेदन गर्दा र.नं.१७९८१ मिति २०५३।१२।२६ मा धरौट राखेको देखिंदा सो धरौटी रकम निजले नै फिर्ता पाउने हुँदा फिर्ता पाउँ भनी ऐनका म्याद भित्र निजको दर्खास्त केही दस्तुर नलिई फिर्ता दिनु भनी पुनरावेदन अदालत विराटनगरमा लेखी पठाउनु र शुरु फैसला बमोजिम राखेको निजको हकको कोर्टफिको लगत समेत कट्टा गर्न शुरु मोरङ जिल्ला अदालतमा लेखी पठाई  दिनु –––

पुनरावेदक÷प्रतिवादी कमलेश विश्वासके माथि इन्साफ खण्डमा लेखिए बमोजिम हुने ठहरेकाले पुनरावेदन गर्दा २०५३।१२।२६ मा र.नं.१७९८१ बाट पुनरावेदन अदालतमा राखेको कोर्टफि रु.३०।मध्ये निजको हकको रु.१५।र यस अदालतमा पुनरावेदन गर्दा र.नं.२५३९३ मिति २०५९।१।२३ मा दाखिल गरेको कोर्टफि रु.३०।समेत जम्मा कोर्टफि रु.४५।वादीबाट भरी पाउने ठहरेकाले वादीको यसै सरहदको जेथा देखाई कोर्टफि ऐनका म्याद भित्र प्रतिवादीको दर्खास्त परे केही दस्तुर नलि भराई दिन लगत राख्नु भनी शुरु मोरङ जिल्ला अदालतका नाममा लेखी पठाई दिनु..२

शुरु जिल्ला अदालतको फैसलाको तपसिल खण्डको देहाय १ को लिखत बदरको जानकारी दिने सम्बन्धी लगत कायम नरहने हुँदा सो लगत कट्टा गर्नु भनी शुरु मोरङ जिल्ला अदालतमा लेखी पठाई दिनु –––––

मिसिल नियमानुसार गरी बुझाई दिनु ४

 

उक्त रायमा सहमत छु ।

 

न्या.राजेन्द्रकुमार भण्डारी

 

 

इति सम्बत् २०६२ साल माघ १७ गते रोज २ शुभम्–––––––––

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु