शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७६१४ - लेनदेन ।

भाग: ४७ साल: २०६२ महिना: माघ अंक: १०

निर्णय नं.७६१४            ने.का.प.२०६२              अङ्क १०

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री खिलराज रेग्मी

माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा

संवत् २०५५ सालको दे.पु.नं.४८९०,५०३३, ५०३४

फैसला मितिः २०६२।१०।२४।२

 

मुद्दा :लेनदेन ।

 

पुनरावेदक/प्रतिवादीः काठमाडौं जि.का.म.न.पा.वडा नं.२२ धर्मपथ स्थित नेपाल बैंक लिमिटेड प्रधान कार्यालयकोतर्फवाट अख्तियारप्राप्त ऐ.का महाप्रबन्धक गौरीलाल श्रेष्ठ

विरुद्ध

प्रत्यर्थी /वादीः ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं.५ मानभवन स्थित तुलसीमेहर युनेस्को क्लबका अध्यक्ष रुद्रलाल मुल्मी

 

पुनरावेदक / वादी ललितपुर जिल्ला ललितपुर उपमहानगर पालिका वडा नं . ५             मानभवन स्थित तुलसीमेहर युनेस्को क्लबका अध्यक्ष रुद्रलाल मुल्मी

विरुद्ध

प्रत्यर्थी / प्रतिवादीः काठमाडौं जि.का.म.न.वा.नं.११ स्थित नेपाल चर्खा प्रचारक गांधी स्मारक महागुठी समेत

 

पुनरावेदक/प्रतिवादी काठमाडौं जि.का.म.न.पा.वडा नं.११ स्थित नेपाल चर्खा प्रचारक गान्धी स्मारक महागुठीको तर्फवाट मुद्दा गर्ने अख्तियार प्राप्त ऐ.का उपाध्यक्ष दिर्घराज कोइराला

विरुद्ध

प्रत्यर्थी/वादी जिल्ला ललितपुर ललितपुर उपमहानगरपालिका वडा नं.५ मानभवन स्थित तुलसीमेहर युनेस्को क्लबको अध्यक्ष रुद्रलाल मुल्मी

 

§  वादीले पाउने गरी पठाइएको रकममा कानूनी हक अधिकार विना विपक्षीले कव्जा गरेको हुंदा सो रकममा हककायम गराई दिलाईभराई पाउँ भन्ने वादी दावी लेनदेन व्यवहारको महल अन्तरगतको विषय नहुंदा ऐ महलको ४० नं को हदम्याद आकर्षित हुने भन्न नमिल्ने ।

(प्रकरण नं. २१)

§  वादी मातृसंस्थाबाट हटेपनि निजले दावी गरेको रकम खर्च गरिने संस्थाको लक्ष्य पनि मातृसंस्थाकै समान देखिएको अवस्थामा वादी कुन हैसियतले जापान गएका थिए भन्ने कुराले मात्र सम्पादित काम निश्चित नहुने तथा कार्य परिणाम र प्रकृतिवाटै सम्बन्धित तथ्यको निरोपण र निष्कर्ष निकाल्नुपर्ने हुंदा पुनरावेदक वादीको उक्त रकममा हक नलाग्ने भन्न नमिल्ने ।

§  रकम पठाउदाको समयमानै दाताको इरादा के हो ? सोअनुसार अर्थ निकाल्नु पर्दछ । पछिको व्यवहार र पत्राचारले खास अर्थ राख्न हुँदैन । एउटै विषयका सम्बन्धमा पहिले एउटा कुरा र पछि अर्को कुरा भन्दा तथ्यमा अनिश्चितता र अप्ठ्यारो स्थिती सिर्जना हुनजान्छ । यसकारणवाट आश्रमको खातामा आएको रकममा महिला आश्रमको समेत हक नलाग्ने भन्न नमिल्ने ।

§  सम्झौता गर्दा वादी रुद्रलाल मुल्मी पक्ष रहेको र रकम पठाउदा महिला आश्रम रुद्रलाल मुल्मी समेत उल्लेखभै उक्त रकम आश्रमको खातामा जम्मा भएको देखिएको र रकम पठाउदा दुवैको नाम उल्लेख गरिएको अवस्थामा वादीदावीको रु.८६,७१,७२१।९४ मा वादीको मात्र हक लाग्ने भन्न नमिल्ने ।

(प्रकरण नं.२४)

§  वादी प्रतिवादीवीच व्याज लिनेदिने गरी लिखतभै लेनदेन नभएको र दाताले सहयोगस्वरुप प्रदान गरिएको रकममा विवाद उठी हककायम हुनेसम्मको कुरामात्र हुंदा व्याजतर्फको वादीदावी पुग्न नसक्ने भनी पुनरावेदन अदालतबाट भएको फैसला सो हदसम्म मिलेकै देखिने ।

(प्रकरण नं. २७)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्धान अधिवक्ताहरु शुसिल पन्त, हरिहर दाहाल र प्रचण्ड प्रधान

प्रत्यर्थी वादी तर्फवाटिःविद्धान वरिष्ठ अधिवक्ताहरु विपुलेन्द्र चक्रवर्ती र विश्वकान्त मैनाली तथा विद्धान अधिवक्ताहरु शम्भु थापा र रामजी मैनाली

अवलम्वित नजीरः

 

फैसला

न्या.खिलराज रेग्मीः शुरु फैसला उल्टी हुने ठहरी भएको पुनरावेदन अदालत पाटनको २०५५।४।२६ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार   छ ः

२.    म फिरादीको व्यक्तिगत प्रयाश प्रभाव र प्रस्ताववाट प्रभावित भई एक वृद्ध जापानी सज्जन हान्सुतारो मात्सुदाईराले नेपालमा महिला साक्षरता तथा सामुदायिक विकास कार्यक्रम संचालन गर्नका लागि नेशनल फेडेरेशन अफ युनेस्को इन जापान भन्ने संस्था मार्फत म रुद्रलालको जिम्मामा आर्थिक सहयोग गर्ने गहिरो अभिरुचि र सद्भावना देखाउनु भएकोले सहयोग गर्ने क्रममा प्रथम पटकका लागि जापानी ऐन २६,०००,०००।प्रदान गर्ने गरी ११ डिसेम्बर १९८९ मा नेशनल फेडेरेशन अफ युनेस्को इन जापानसँग एउटा सम्झौता भएको थियो । तुलसीमेहर युनेस्को क्लब दर्ता गरी संस्थापित गर्ने कार्यमा केही ढिलाईको कारणले गर्दा उक्त फेडेरेशन मार्फत पहिलो किस्ता अमेरिकी डलर ८९,०४०।को अनम चेक म रुद्रलाल मुल्मीको नाउँमा रजिष्ट्ररी गरी पठाएको चेक सहीतको पत्र महागुठीका महासचिव दिर्घराज कोइरालाले अनधिकृत रुपमा खोली हात पारेपछि नेपाली संस्थाहरुको वेइज्जत हुने सम्मको अवस्था खडा भई २३ फेव्रुअरी १९९० मा नेशनल फेडेरेशन अफ युनेस्को जापानका तर्फवाट कडा पत्र पठाएपछि डराई निज कोइरालाले १९९० मार्च ७ का दिन उक्त अमेरिकी डलर ८९,०४०।को अनम चेक म रुद्रलाल मुल्मीलाई वुझाउन वाध्य हुनु भएको थियो । सो रकम मेरो अध्यक्षतामा स्थापित भएको तुलसीमेहर युनेस्को क्लबद्धारा संचालित महिला साक्षरता कार्यक्रममा खर्च भएको छ र त्यसपछि पनि पटक पटक उक्त फेडेरेशन मार्फत मात्सुदाईराले आर्थिक सहयोग पठाउने भएको, विपक्षी महागुठीले उक्त फेडेरेशन तथा मात्सुदाईरा भन्ने जापानी सज्जनवाट सहयोग प्राप्त गर्ने सम्बन्धमा कुनै प्रस्ताव अथवा कारवाही नगरेको हुंदा आर्थिक सहयोग पठाउने र दावी गर्ने कुनै अवस्था नै रहेको थिएन । पहिलो पटक पठाएको अनम चेकको अमेरिकी डलर ८९,०४०। अनधिकृत रुपमा दिर्घराज कोइरालाले कव्जामा लि गैरकानुनी तथा अनैतिक तवरले दावी गरी अलमल भई रहेकोले कुनै बैंक खाता मार्फत रकम पठाई दिन पाए सुविधा हुने थियो भनि निज मात्सुदाईराले ईच्छा व्यक्त गरेको हुंदा तत्कालिन अवस्थामा म आफु समेतको हस्ताक्षरवाट संचालन भई आएको नेपाल वैंक स्थित हि.२१५५५ को खाता नं. टिपाई दिएको थिए, सोही आधारमा निज जापानी सज्जन मात्सुदाइराले २० फेव्रअरी १९९० मा बैंक अफ टोकियोवाट नेपाल बैंकको उक्त खाता नं. मा अमेरिकी डलर ३,४३,२८८।७१ टि.टि.गरी पठाउनु भएको रहेछ । सो को जानकारी मलाई पठायो । उक्त रकमको मिति ०४६।११।२५ को विनियम दर अनुसार रु ९७,८३,७२८।२३ कायम गरी खाता नं.२१५५५मा जम्मा गरिएको छ । म समेतको हस्ताक्षरवाट संचालित वचत उक्त हिसाव नं.मार्फत उक्त रकम प्राप्त गर्ने दृष्टिकोणले केही समयका लागि यो सरल प्रवन्ध गरेको हुंदा रकम पाउने व्यक्तिको रुपमा तुलसीमेहर महिला आश्रमको रुद्रलाल मुल्मी भनि प्रापकको नाम किटानी लेखिएको छ । विपक्षी गुठीको खाता च.हि.नं.२१५५५ मा ने.रु.५,००,०००।वांकी राखि मिति ०४६।११।२५ मा मेरो अनुरोधमा रु.४०,००,०००।मुद्दती खाता नं.५२।३१४७ मा, रु.५२,६८,२५३।३१ व.हि.नं.५९७५९ को खातामा जम्मा गरी म फिरादीलाई सो को पास वुक तथा रसिद समेत विपक्षी वैंकले प्रदान गरेको थियो । जुन रद्द गरेको छैन र म संग नै छ । मिति ०४७।२।८ मा म संस्थापक अध्यक्ष समेत भएको तुलसीमेहर युनेस्को क्लवको नाममा उल्लेखित दुवै खाताहरु कायम गरिएको थियो र वचत खातावाट म समेतको हस्ताक्षरको आधारमा रु.६ लाख जतिको कारोवार समेत भएको हो । उक्त क्लब विधिवत स्थापना भई पूर्व प्रस्तावित साक्षरता कार्यक्रम संचालन गर्ने कार्य आजसम्म गरी आएको छ । यसको पूर्ण जानकारी विपक्षीहरुलाई छ । यसै विच ०४७।२।२३ मा विपक्षी गुठीले उपरोक्त दुवै खाताहरु कव्जा गरी आफुले माग नै नगरेको र दिदै नदिएको रकम पचाउने षडयन्त्र परिपन्च गरी विपक्षी बैंकलाई पत्र लेखि उक्त खाता संचालन गर्ने काम महागुठीका तर्फवाट हुने भनि संचालक समितिको निर्णय समेत पठाउने कार्य गरेपछि सो रकमहरु उपर विपक्षी महागुठीले गैरकानूनी कव्जा गरी रहेको छ । यसै वीच विपक्षी महागुठीले मेरो विरुद्धमा विवाद कै रकम अमेरिकी डलर ३,४३,२८८।–(रु.९७,८३,७२८।२३) ठगी गरेको भनि ललितपुर जिल्ला अदालतमा मुद्दा दिई कारवाही चलाएकोमा सो मुद्दामा विपक्षीहरुले विवादको रकम महागुठीको प्रयोगको लागि पठाएको हो भन्ने र हक पुग्ने कुनै प्रमाण पेश गरी पुष्टि गर्न नसकी उल्टै म फिरादीले पाउने गरी पठाएको हो भन्ने प्रमाणित मानी २०५०।३।२३ मा फैसला गरी सकेको छ । ठगी मुद्दाको अन्तिम किनारा नलागेसम्म विपक्षी महागुठीलाई झिक्न खर्च गर्न नदिनु भनि निषेधाज्ञाको आदेश समेत जारी गरी पाउं भनि मुद्दा गरेकोमा निवेदकको मागवमोजिम आदेश जारी गर्न मिलेन भनि पुनरावेदन अदालतवाट २०५१।२।२७ मा निर्णय भएको छ । एउटा विदेशी दाताले श्रद्धाले प्रदान गरेको निस्वार्थ अनुदान वा उपहार रकममा विपक्षी महागुठी समेतले जापानी दाता श्री मात्सुदाईराले मैले पाउने गरी विपक्षी वैंकको खाता मार्फत पठाएको यु.एस.डलर ३४३२८८।७१ को हुने नेपाली रु.९७,८३,७२८।२३ मध्येको वांकी रकम रु.८६,७१,७२१।९४ र सो विपक्षी महागुठीले कव्जा गरेको मिति २०४७।२।१३ देखि यो फिराद परेको मिति सम्मको सयकडा १०% ले हुने व्याज रु ३४,५०,०००।६ समेत गरी जम्मा रु.१,२१,२१,७२२।अदालतवाटै म फिरादीको हक कायम गरी महागुठीवाट र निजको खाता वा जेथावाट नउठे वा नपुग भए सो रकम प्रयोग गर्न दिने विपक्षी बैंकवाट दिलाई भराई पाउंभन्ने समेत व्यहोराको वादीको फिराद दावी ।

३.    प्रतिवादी बैंकमा रहेको विपक्षी नेपाल चर्खा प्रचारक गान्धी स्मारक महागुठीको च.हि.नं.२१५५५ मा मु.हि.नं.५२।३१४७ व.हि.नं.५९७५९ तथा सो खाता समेतवाट रकम झिकी गुठीले अन्य खाता खोली रकमान्तर गर्न नपाउने गरी रोक्का राखी पाउं भन्ने रुद्रलाल मुल्मीको निवेदन परी निवेदनमा उल्लेख भएको रकम झिकी खर्च गर्न हिनामिना नगर्नु रोक्का राख्नु भन्ने ०५१।७।१५ को आदेश ।

४.    विपक्षी वादीले आफ्नो फिरादपत्रमा उक्त रकम जापानको दातृ संस्थावाट प्राप्त गरेको भनि उल्लेख गर्नु भएको कुरा विलकुलै झुट्ठा हो । उक्त रकम निज मुल्मीलाई प्राप्त नभई प्रतिउत्तरवाला गुठीलाई प्राप्त भएको रकम हो । पछि संस्थाको कार्यकारिणी सचिव भएको नाताले सो अवस्थामा उक्त संस्थावाट प्रतिउत्तरवाला गुठीलाई प्राप्त भएको रकम ठगी गर्ने उद्देश्यले त्यस्तै नामको तुलसीमेहर युनेस्को क्लब नामको संस्था दर्ता गरी प्रतिउत्तरवाला महागुठीको रकम हिनामिना गरी विपक्षीले आफ्नो पारिवारीक रुपमा खडा गरेको संस्थाको नाउंमा रकम सार्न लागेको र प्रतिउत्तरवाला संस्थाको रकम हिनामिना गरेको हुंदा विपक्षी उपर ठगी मुद्दाको कारवाही पुनरावेदन अदालत पाटनमा चलि रहेको छ । विपक्षी वादीलाई नेपाल चर्खा प्रचारक गान्धी स्मारक महागुठीवाट पद भ्रष्ट एवं गुठीको रकम हिनामिना गरेको आरोपमा गुठीवाट निस्कासन गरेकोमा विपक्षीले सर्वोच्च अदालतमा उत्प्रेषण मिश्रित परमादेशको रिट निवेदन दायर गरेकोमा विपक्षीको रिट निवेदन खारेज हुने गरी फैसला भएको छ । त्यस्तै गरी विपक्षीले निषेधाज्ञाको निवेदन दिएकोमा उक्त निवेदन समेत मिति ०४९।७।२९ मा खारेज भै अन्तिम भै वसेको छ । दातृ संस्थाले उक्त रकम प्रदान गर्दा वादी यस गुठीको कर्मचारी मात्र हुनु हुन्थ्यो । विपक्षीले मिति २०४७।२।२७ मा द.नं.५६।०४६।०४७ मा ललितपुर जिल्ला प्रशासन कार्यालयमा महागुठीको तुलसीमेहर महिला आश्रम युनेस्को क्लबको परियोजना संग मिल्ने गरी आफ्नो मानिस राखि तुलसीमेहर युनेस्को क्लबको नामको संस्था दर्ता गरेछन र लेखा अधिकृतलाई झुक्यानमा पारी नेपाल बैंकवाट उक्त रकम आफ्नो निजी संस्थामा रकमान्तर गर्न खोज्दा बैंकको कर्मचारीले विपक्षीले ठगी गर्न लागेको थाहां पाई संस्थाको रकम ठग्ने प्रयास गरेको हुंदा निजलाई गुठीको कर्मचारीवाट आचरण विरुद्ध काम गरेको आरोपमा पदवाट वर्खास्त गरिएको थियो । निज उपर ठगी मुद्दा परी ललितपुर जिल्ला अदालतमा कारवाही चलिरहेको छ । वादीको संस्थाको नाउंमा आएको रकम भनि दावी गर्ने वादीको दावी झुट्ठा एवं हदम्याद विहिन छ । प्रतिउत्तरवाला संस्थाका लागि प्राप्त रकम विपक्षीको हक लाग्ने भए लेनदेन व्यवहारको ४० नं.अन्तरगत २ वर्ष भित्र नालेश दिई हक कायम गराउन सक्नु पर्नेमा हदम्याद भित्र नालेश गर्न नसक्नु भएकोले प्रस्तुत फिराद खारेज गरी पाउं भन्ने समेत व्यहोराको नेपाल चर्खा प्रचारक गान्धी स्मारक महागुठीका तर्फवाट महासचिव दिर्घराज कोइरालाको प्रतिउत्तर जिकिर ।

५.    मिति २०४६।८।१३ मा तुलसीमेहर युनेस्को क्लब नामको च.हि.नं.३३१७४ को खाता खोल्दा यहि वादीले महागुठीको छाप लगाई महागुठीको तर्फवाट पत्र लेखेको, ०४६।११।२५ मा तुलसीमेहर महिला आश्रम नामको च.हि.नं. २१५५५ वाट रकम सारी तुलसीमेहर महिला आश्रम (युनेस्को क्लब) नामको व.हि.नं . ५९७५९ र ऐ.नामको मुद्दती हि.५२।३१४७ खोली तुलसीमेहर महिला आश्रमको लेटर प्याडमा यहि वादीले आश्रमकै तर्फवाट पत्र लेखेको र संस्था सम्बन्धी कागजात च.हि.नं.२१५५५ मा छ भनि लेखेवाट सो खाताहरु आश्रम सम्बन्धी देखिएका साथै ति खातामा तुलसीमेहर महिला आश्रम कै च.हि.नं.२१५५५ वाट रकम सारिएको समेतवाट पछि ०४७।२।२७ मा मात्र दर्ता भएको तुलसीमेहर युनेस्को क्लब लेखेको भन्न नसकिने हुंदा महागुठीको अनुरोधमा वादी तर्फको खाता संचालन रोक्का गरी महागुठी तर्फवाट खाता संचालन गर्न दिइएको हो भन्ने समेत व्यहोराको नेपाल बैंक लिमिटेड प्रधान कार्यालयको तर्फवाट महाप्रवन्धक पुरुषोत्तम वहादुर पाण्डेको प्रतिउत्तर पत्र ।

६.    यी विवादित रकम तुलसीमेहर युनेस्को क्लब कै लागि हो भनि यकिन किटानी गरी दाता हात्सुतारो मात्सुदाईराले उल्लेख गरी पठाएको समेत देखा परेन । मिसिल संलग्न मार्च १, १९९० को पत्र हेर्दा ३४३२८८। यु.एस.डलर पठाएको व्यहोरासम्म उल्लेख भएको पाइयो । उक्त रकम युनेस्को क्लवकै लागि पठाएको भन्ने व्यहोरा उक्त पत्रवाट देखिदैन । वादी रुद्रलाल मुल्मी प्रतिवादी संस्थाका कार्यकारिणी सचिव भएको र निजले दाताहरुसंग सम्पर्क गरी सामाजिक सेवा सम्बन्धी कार्यका लागि दातावाट सहयोग प्राप्त गर्ने प्रक्रिया अगाडि वढाएको हुंदा निजको नाउं उल्लेख भै रकम पठाई दिनु अथवा प्राप्त हुनु वाट नै प्रतिवादी संस्थाको रकम होईन भन्ने निश्चयात्मक आधार हुन सक्दैन । प्रतिवादी संस्थामा कार्यरत रहदाको अवस्थामा प्राप्त भै प्रतिवादी संस्थाको खातामा रहेको रकमलाई वादीको हो भनि यकिन गर्न उपरोक्त सन्दर्भमा विचार गर्दा मनासिव देखिएन । तसर्थ यस्मा वादी दावी पुग्न सक्ने देखिएन । विवादित रकममा हक कायम गरी रकम दिलाई भराई पाउं भन्ने समेत व्यहोराको वादीको फिराद दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको शुरु काठमाडौं जिल्ला अदालतको मिति २०५३।८।३ को फैसला ।

७.    शुरु काठमाण्डौं जिल्ला अदालतले वादी दावी पुग्न नसक्ने ठह¥याएको फैसलामा चित्त  वुझेन । विवादित रकम जापानवाट जापानी दाता मात्सुदाईराले मेरो जिम्मा हुने गरी पठाएको हो भन्ने कुरा रकम पठाउने क्रममा तथा त्यसपछि दाताले पठाएको स्वहस्ताक्षर पत्रहरुवाट नै अकाट्य रुपमा पुष्टि भै सकेको निर्विवाद छ । पुनरावेदकको नाममा प्रेषित भएको रकम प्रतिवादीको बैंक खातामा जम्मा हुनुको कारण क्लबको नाममा खाता खोली नसकेको र तत्कालिन विपक्षी महागुठीमा म रुद्रलाल कार्यरत रहेकोले खाता संचालक मध्येको हैसियत राख्ने हुंदा मेरै अनुरोधमा रकम  सुरक्षित प्राप्त गर्ने सुविधाको लागि सम्म प्रतिवादीको चल्ती खाता नं.२१५५५ प्रयोग गरी सो खातामा अस्थायी रुपमा रकम जम्मा गरिएको   थियो । म वादीको अनुरोध अनुसार खाता नं.२१५५५ मा पठाएको र पछि अर्को नयाँ खाता खोली सो रकम अर्कै खातामा (तुलसीमेहर युनेस्को क्लव नामको) जम्मा भई सकेपछि सो रकम माथि महागुठीको कुनै हक स्थापित हुन सक्ने न्यायोचित आधार हुन सक्दैन । शुरुको फैसला बदर गरी वादी दावी वमोजिम गरी पाउं भन्ने समेत व्यहोराको वादी रुद्रलाल मुल्मीको पुनरावेदन पत्र ।

८.    यस्मा तुलसीमेहर युनेस्को क्लबलाई दातृ संस्थावाट प्राप्त रकमको सम्बन्धमा चलेको ठगी मुद्दामा ठगी कायम हुन नसकेको र प्रस्तुत लेनदेन मुद्दामा हकदैया र हदम्यादको आधार देखाई वादी दावी नठहर्ने गरी गरेको शुरु काठमाडौं जिल्ला अदालतको मिति २०५३।८।३ को फैसला त्रुटीपूर्ण रही विचारणीय रहेको हुंदा अ.वं.२०२ नं.तथा पुनरावेदन अदालत नियमावली २०४८ को नियम ४७ वमोजिम विपक्षी झिकाई आएपछि पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।

९.    वादी र नेशनल फेरडेसन अफ युनेस्को इन जापान बिच ११ डिसेम्वर १९८९ मा भएको सम्झौतामा वादी रुद्रलाल एक पक्ष रहेको हुनाले सो सम्झौता अन्तरगत प्राप्त हुन आएको रकमको हकमा वादीलाई हकदैया विहिन भन्न मिल्दैन । प्रतिवादीले वादी गुठीको कर्मचारी भएको सोही हैसियतबाट गुठीको खर्चमा जापान गएको भन्ने जिकिर लिएपनि करारमा गुठीको पदाधिकारीको हैसियत कतै उल्लेख भएको देखिदैन भने निजलाई आदेश निर्देश दिएको कुनै लिखत समेत पेश भएको देखिदैन । दातृ संस्थाबाट पठाएका विभिन्न पत्रहरुबाट वादी रुद्रलाल मुल्मीलाई नै रकम पठाएको भन्ने देखिएको अवस्थामा वादीको उक्त रकममा हक नलाग्ने भन्न मिलेन । तसर्थ शुरु काठमाडौं जिल्ला अदालतको फैसला उल्टी भै दावीको रकममा वादीको हक कायम भै सो रकम दिलाई भराई पाउने ठहर्छ । व्याजको हकमा वादी प्रतिवादी बिच लेनदेन कारोवार भएको अवस्था नदेखिंदा व्याजतर्फको दावी पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत पाटनको  फैसला ।

१०.    बैंकमा जम्मा हुन आउने रकममा कसको स्वामित्व छ भनी बैंकले निक्र्यौल गर्न नपाउने हो भने उक्त रकम कसलाई हस्तान्तरण गर्ने भन्ने द्धिविधा उत्पन्न हुन जान्छ । वादीले बैंक समेतलाई प्रतिवादी वनाई दावी लिएर आएको अवस्थामा र अदालतले समेत सो कुरा मानी रहेको अवस्थामा बैंकले रकमको स्वामित्व माथी प्रतिवाद गर्न नमिल्ने भनी तर्क गर्न मिल्दैन । बैंकवाट बादीलाई कुनै रकम भरी भराउ हुनु पर्ने गरी फैसला नभएको अवस्थामा कोर्टफी प्रतिवादीवाट भराई पाउने होइन तसर्थ हकदैया र हदम्याद समेतको अभाव हुंदा पुनरावेदन अदालतको फैसला बदर भागी छ बदर गरी पाउं भन्ने नेपाल बैंक लिमिटेड प्रधान कार्यालय धर्मपथको यस अदालतमा परेको पुनरावेदन ।

११.    महागुठीको खातामा २०४६ साल फाल्गुण ११ गते रकम जम्मा हुन आएको छ र उक्त रकमवाट महिला परियोजना संचालन भइ आएको छ । विपक्षीले महागुठीको खाता नं.२१५५५ मा जम्मा भएको रकम दिलाई भराई पाउँ भनी करिब ५ वर्ष पछि अर्थात् २०५१ आश्विन महिनामा फिराद गर्नु भएको छ । विपक्षी रुद्रलाल मुल्मीले महागुठी अन्तर्गत तुलसीमेहर महिला आश्रम संचालित थियो र उक्त संस्थाको खाता निज मुल्मी समेतले संचालन गरी आएको कुरा स्वीकार गर्नुभएको छ । दाताले उक्त रकम परियोजना संचालनको लागी दिएको हो । प्रस्तावित परियोजना वमोजिम पहिलो किस्ताको ०४७ साल भित्र खर्च गर्ने रकम हो । महागुठीको मनोहरामा पहिलेदेखि नै कार्यक्रम संचालन भै ०४६।४७ सालमा महिला आश्रम युनेस्कोक्लबको कार्यक्रममा परियोजनावाट आएको रकम खर्च भए गरेको मिसिल संलग्न प्रमाणवाट देखिएको छ । उक्त परियोजनामा रुद्रलालले पक्ष भएर सही गर्नु पर्ने कारणमा विपक्षी रुद्रलाल महागुठीको तलवी कार्यकारणी सचिव भएको र महागुठीकै खर्चमा विपक्षीलाई जापान पठाइएको छ र महागुठीले पहिला युनेस्को क्लब संचालन गरी आएकोमा उक्त कार्यक्रम दाताहरु कै सहयोगवाट संचालन हुने कार्यक्रम भएको हुंदा गुठीको कर्मचारीको हैसियतले गुठीको खर्चमा गुठीको कामको लागी गएको र गुठीकै खातामा आएको रकमलाई सम्झौतामा वादी रुद्रलाल एक पक्ष रहेको कारणले उक्त रकममा वादीको हक हुने भन्न मिल्दैन । १ मार्च १९९० र ३ सेप्टेम्बर १९९८ को पत्रको प्रमाणित मूल्य नै शुन्य छ । उक्त पत्रहरु मात्सुदाईराले लेखेको समेत होइन । महागुठीको स्थापना २०३६ सालमा भएको छ भने तुलसीमेहर क्लब १० जनवरी १९९० मा उक्त रकम हडप्ने मनसायवाट खोलिएको संस्था हो । तुलसीमेहर युनेस्को क्लबको अध्यक्षको हैसियतले विपक्षीले फिराद दर्ता गराउनु भएकोले कानूनवमोजिम दर्ता भएको पुर्वोक्त संस्थावाट यस पुनरावेदक महागुठीलाई प्रतिवादी बनाई मुद्दा दायर गर्ने अधिकार निज विपक्षीलाई प्रत्यायोजित गरिएको अधिकारको लिखत मुलुकी ऐन अदालती वन्दोवस्तको दफा ७७ वमोजिम फिराद पत्र साथ विपक्षीवाट पेश नभएको अदालती वन्दोवस्तको दफा ८२ वमोजिम हकदैयाको अभावमा फिराद खारेज गर्नु पर्ने हुन्छ । अतः उपरोक्त आधार कारणवाट पुनरावेदन अदालत पाटनको फैसला त्रुटीपूर्ण हुंदा उल्टी गरी रोक्का रहेको खाता समेत फुकुवा गरि पाउं भन्ने प्रतिवादी नेपाल चर्खा प्रचारक गान्धी स्मारक महागुठीको यस अदालतमा परेको पुनरावेदन ।

१२.   तुलसीमेहर युनेस्को क्लबको नाममा रहेको बैंक खाताहरु अनाधिकार रुपवाट प्रतिवादी महागुठीले कव्जा गरी खातामा रहेको रु.८६,७१,७२१।९४ उपर पुनरावेदकको हक कायम भै भरी पाउने ठहरेको कुरामा मेरो चित्त वुझीसकेको तर सोही रकम बैंक खातामा रहदा बैंकको प्रचलित व्याज दर वमोजिमको व्याज रकम प्र.महागुठीले प्राप्त गरी कव्जा गरेको कुरामा कुनै विवाद छैन । प्र. बैंकको मुद्दती खातामा रकमान्तर गरी राखेको उपर समेत विपक्षीहरुले गैर कानूनी कव्जा गरी झिक्ने राख्ने कार्य भएको कुरामा समेत इन्कारी छैन । फैसलाबाट मेरो निमित्त सो रकम बैंक जिम्मा रहेकोले विपक्षी बैंक समेतले तिर्नु व्यहोर्नु पर्दछ तर पुनरावेदनको फैसलामा त्यसतर्फ कुनै कुरा वोलिएको छैन । बैंकमा रहेको रकम वापत बैंकले व्याज दिनु हुन्छ तर प्रस्तुत मुद्दामा विवाद उठी उक्त रकममा मेरो हक लाग्ने फैसला भै सकेपछि उक्त रकमको कानून वमोजिमको व्याज मैले पाउनु पर्नेमा सो नगरेको हदसम्म फैसला उल्टी गरी न्याय पाउँ भन्ने तुलसीमेहर युनेस्को क्लवका अध्यक्ष रुद्रलाल मुल्मीको यस अदालतमा परेको पुनरावेदन ।

१३.   यसमा यसै साथ पेश भएको दो.नि.नं.४९२० को निवेदनसंग सम्बन्धित ठगी मुद्दाको शुरु रेकर्ड र भए प्रमाण मिसिल तथा यिनै पक्ष विपक्ष विच चलेको निषेधाज्ञा मुद्दामा पुनरावेदन अदालत पाटनवाट भएको २०५१।२।२७ को निर्णय सहितको मिसिल झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने यस अदालतको २०५९।८।९ को आदेश ।

१४.   यसमा पुनरावेदन अदालत पाटनको फैसला उपर वादी प्रतिवादी दुवै पक्षको यस अदालतमा पुनरावेदन परेकोले वादीको पुनरावेदनको जानकारी प्रतिवादीलाई र प्रतिवादीको पुनरावेदनको जानकारी वादीलाई गराई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको २०६१।४।२१ को आदेश ।

१५.   नियमवमोजिम पेशीसूचिमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फवाट रहनु भएका विद्धान अधिवक्ताहरु शुसिल पन्त, हरिहर दाहाल र प्रचण्ड प्रधानले वादीको कुनै पनि विदेश भ्रमण महागुठीको रकमवाट भएको छैन । दैनिक भ्रमण भत्ता दिएको पनि देखाउन सकेको छैन । ११ डिसेम्बर १९८९ मा सम्पन्न सम्झौता वमोजिम पठाइएको प्रथम किस्ता दीर्घराज कोइरालाले चिठ्ठी  खोली लिई सकेपछि निजले यो रकम हाम्रो हो अनधिकृत रुपमा रुद्रलाल मुल्मीको नाउँमा आएछ भनी दातासंग पत्राचार गर्दा दाताको तर्फवाट यो रकम सम्झौता वमोजिम रुद्रलाललाई नै दिएको हो, उक्त रकम रुद्रलाललाई नदिएमा उक्त चेकको भुक्तानी रोकि दिन्छौं भनी उल्लेख गरी पत्राचार गरेको छ । सम्झौतावमोजिम पठाएको प्रथम किस्ता जसरी दीर्घराजले रुद्रलाललाई मिति ०७।०३।९० मा भरपाई गरी दिए त्यसवाट नै यो रकम कसले पाउनु पर्ने हो भन्ने कुरा स्पष्ट छ । आफुले महागुठीको खातामा राखेको रकम पछि आफ्नो अनुकुलता अनुरुप रुद्रलालले अर्को खातामा सारेकोमा सो सारी सकेपछि महागुठीले दिएको ठगी मुद्दावाट निजको हकको नदेखिई ठगी नठहर्ने भनी फैसला भएको छ । रकम दाताले आफ्नो मृत्यु पूर्व पटकपटक प्रधानमन्त्री सम्मको तहमा व्यक्त गरेको कुराको प्रतिकूल कुनै पनि श्रोत विना यो रकम महागुठीको भन्न सकिने अवस्था छैन । सो पछि पनि सम्झौता भई दाता समुहवाट नै रकम हालसम्म प्राप्त भई सामाजिक संस्था चली आइरहेको छ । यो कुनै पक्ष विपक्ष भई लेनदेन गरेको मुद्दा नहुंदा लेनदेन व्यवहारको महलको हदम्याद प्रासङ्गिक देखिदैन । प्रस्तुत मुद्दाका पक्ष रुद्रलाल मुल्मीले पाउने गरी पठाएको रकममा हक कायम गरी पाउँ भन्ने नै मूलदावी रहेको छ । वादीले साहुको रुपमा विपक्षीलाई दिएको क्रृण तमसुक वा कुनै रसिद भरपाई वा वैनावट्टाको लिखतको समेत आधारमा नालेश गरेको छैन । प्र.को खाता मार्फत पठाई दिएको रकममा विना कुनै कानूनी हक अधिकार विना विपक्षीले कव्जा गरेको हुंदा सो रकममा हक कायम गराई दिलाई भराई पाउं भनी दावी गरेकोमा सो सन्दर्भमा अ.वं.८२ नं. र अ.वं.३६ नं. वाहेक कुनै विशेष कानुनी प्रावधान विद्यमान नभएको अवस्थामा उक्त दफाहरुको आधारमा गरिएको नालेस पूर्णतः कानून संगत छ । तसर्थ तत्काल क्लवको नाममा खाता खोली नसकेको र त्यसबेला रुद्रलाल मुल्मी महागुठीमा कार्यरत रहेकोले वादीकै अनुरोधमा रकम सुरक्षित ढंगवाट प्राप्त गर्ने सुविधाको लागी सम्म तुलसीमेहर महिला आश्रमको खातामा अस्थायी रुपमा जम्मा गरिएको हुंदा र महागुठीको रकम हो भन्ने कुनै प्रमाण समेत प्रतिवादी पक्षवाट पेश नभएको अवस्थामा पुनरावेदक वादीको हक लाग्ने गरी भएको पुनरावेदन अदालत पाटनको फैसला सदर गरी सो सावाले जन्माएको व्याज पनि पाउने गरी फैसला गरी पाउं भनी वहस तथा वहस नोट समेत प्रस्तुत गर्नु भयो ।

१६.    त्यसैगरी पुनरावेदक प्रतिवादी नेपाल चर्खा प्रचारक गान्धी स्मारक महागुठीको तर्फवाट रहनु भएका विद्धान वरिष्ठ अधिवक्ताहरु विपुलेन्द्र चक्रवर्ती र विश्वकान्त मैनाली तथा विद्धान अधिवक्ताहरु शम्भु थापा र रामजी मैनालीले तुलसीमेहर युनेस्को क्लबको अध्यक्षको हैसियतले बादीले फिरादपत्र दर्ता गर्नु भएकोले पछि जन्म भएको संस्थावाट यस महागुठीलाई प्रतिवादी वनाई मुद्दा दायर गर्ने अधिकार निजलाई प्रत्यायोजन गरिएको लिखत मुलुकी ऐन अ.वं.७७ नं.वमोजिम पेश नभएकोले र  छिनुवा मिसिल संलग्न सो संस्थाको विधानमा समेत क्लवको हकमा अध्यक्षले मुद्दा दायर गर्न पाउने अख्तियार प्रत्यायोजन गरिएको नभएकोले अ.वं.८२ नं. वमोजिम विपक्षीलाई हकदैया नभएको हुंदा हकदैयाको अभावमा दायर भएको फिराद खारेज गर्नपर्नेमा मुद्दाको तथ्यमा प्रवेश गरी इन्साफ गरेको मिलेको छैन । फिरादको व्यहोरा र मागदावीवाट यो मुद्दा लेनदेन व्यवहार अन्तरगतको हो भन्ने कुरा स्पष्ट छ । व्याज भराई पाउँ भनी पुनरावेदक वादीको यस सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन परेको कारणवाट पनि यो मुद्दा लेनदेनकै आधारमा फिराद दावी गरेको प्रष्ट छ । अ.वं.३६ नं. र अ.वं.८२ नं.सारवान कानून नभई कार्यविधि कानून भएको र कार्यविधि कानूनले हक स्थापना गराउदैन । महागुठीको खातामा ०४६ फागुन ११ गते रकम जम्मा भएको छ भने उक्त रकमवाट महागुठीको महिला परियोजना संचालन भई आएको छ । विपक्षीलाई यसै विवादीत रकमको हिनामिना गरेको सम्बन्धमा कारवाही भै कार्यकारिणी सचिबबाट २०४७।४।१८ मा निजलाई बरखास्त गरिएको छ । विपक्षीले महागुठी अन्तरगत तुलसीमेहर महिला आश्रम संचालित थियो र उक्त संस्थाको खाता निज मुल्मी समेतले संचालन गरी आएको कुरा स्वीकार गर्नु भएको छ । विपक्षीले महागुठीको खाता नं.२१५५५ मा जम्मा भएको रकम दिलाई भराई पाउँ भनी २०५१ आश्विनमा करिब ५ वर्षपछि नालिस गर्नुभएको छ । उक्त परियोजनामा विपक्षीले पक्ष भएर सहि गर्नुपर्ने कारणमा विपक्षी महागुठीको तलबी कार्यकारिणी सचिव भएको र महागुठीकै खर्चमा विपक्षीलाई जापान पठाइएको छ । उक्त परियोजना कार्यक्रम दाताहरुकै सहयोगवाट संचालन हुने कार्यक्रम भएको हुंदा गुठीको  कर्मचारीको हैसियतले गुठीको खर्चमा गुठीको कामको लागी पेश गरेको परियोजनामा गुठीको खातामा आएको रकमलाई सम्झौतामा वादी रुद्रलाल एकपक्ष रहेको भन्ने निर्णयाधार कानून संगत छैन । दाता मात्सुदाईराले १ मार्च १९९० मा आफ्नै हातले लेखेको चिट्ठी भनी विपक्षीले पेश गरेका प्रमाणहरु झुट्ठा एवं जालसाजी पूर्ण हुन् । जापानी नेशनल फेडरेशन अफ युनेस्को क्लबको मिति ५ अगस्त १९८९ को पत्रमा उल्लेखित व्यहोराले पनि महागुठी अन्तरगत कार्यक्रम संचालन भै रहेको र उक्त उद्देश्य पूर्तिका लागी दाता मात्सुदाईराले रकम पठाएको र उक्त रकमवाट मनोहरा र जनकपुरमा भवन निर्माण गरेका हौं । नव साक्षर उत्पादन गर्ने तथा आयमुलक सिप विकास कार्यक्रममा आएर फिल्ड भिजिट गरी तुलसी मेहेर महिला आश्रमको परिसरमा वनेको एक्सन लर्निङ सेन्टर भवनको शिलान्यास भएको हो । उक्त उद्देश्य पूर्तिका लागी आएको रकमलाई हडप्ने उद्देश्यवाट मात्र निज मुल्मीले तुलसीमेहर युनेस्कोक्लब भनी नयां संस्था दर्ता गराएको हो । एक जापानी पत्रकार टोली र समाजसेवी टोली काठमाण्डौं आई भ्रमण गरी प्रभावित भएपछि जापानीपत्र पत्रिकामा प्रकाशित समाचारको आधारमा दाता मात्सुदाईराले महागुठीलाई सहयोग गर्न मनसुभा राखेर पठाएको रकमलाई महागुठीको तलवी कर्मचारी मुल्मीले भविष्यमा संस्था खोल्छ भनेर पठाएको भन्ने तर्कको औचित्य कही कतैवाट देखिदैन । २०४६।११।११ मा बैंक अफ टोकियोले टोकियोवाट नेपाल बैंक लिमिटेड काठमाण्डौंलाई पठाएको टेलेक्सको Beneficiary मा स्पष्टतया Tulsi Meher Mahila  Ashram, Rudra Lal Mulmi उल्लेख छ । ठगी मुद्दाले पनि हक वेहक वोल्ने भएको हुंदा लगाउको ठगी मुद्दाले हाम्रो हक भएको ठहर गरि दिएको छ । तर विपक्षीले महागुठीको खातावाट रकमान्तर गरेको हुंदा विपक्षीलाई ठगीमा सजाय गर्नु पर्दछ भन्ने हाम्रो मांग दावी कायम छ । नेपाल बैंक लिमिटेड केन्द्रीय कार्यालयले आफ्नो प्रतिउत्तरमा तुलसीमेहर युनेस्को क्लब नामको च.हि.नं ३३१७४ खोल्दा यही बादीले महागुठीको छापलगाई महागुठीको तर्फवाट पत्र लेखेकोमा तुलसी मेहेर महिला आश्रम नामको च.हि.नं.२१५५५ वाट रकम सारी तुलसी मेहेर महिला आश्रम युनेस्को क्लब नामको व.हि.नं. ५९७५९ र ऐ. नामको मुद्दति हि.२२।३१४७ खोल्दा समेत तुलसी मेहेर महिला आश्रमको लेटर प्याडमा यही वादीले आश्रमको तर्फवाट पत्र लेखेको र संस्था सम्बन्धी कागजात च.हि.नं. २१५५५ मा छ भनी लेखेवाट सो खाताहरु आश्रमसंग सम्बन्धित रहेको देखिएको छ । विपक्षी रुद्रलाल मुल्मीलाई ७।३।१९९० मा भरपाई गरि चेक हस्तान्तरण गरेको भन्ने सम्बन्धमा निज मुल्मीले महिला आश्रमको कार्य संचालन गरी आउनु भएको हुंदा आफ्नो कर्मचारीलाई भरपाई गरी दिएको हो उक्त भरपाईमा मनोहरा भनी प्रष्टै लेखिएको छ । वादी दावीको स्वरुप र प्रकृतिलाई हेर्दा प्रस्तुत मुद्दा लेनदेन नभई विनियम अधिकार पत्र ऐन, २०३४ अन्तरगत भएको र उक्त ऐन अन्तरगत नआएको हुंदा नालेस खारेज हुनु पर्दछ । तसर्थ उपरोक्त सम्पूर्ण आधार कारणवाट महागुठीको नाउँवाट महागुठीकै खातामा आएको रकममा विपक्षीको हक कायम गराई पाउ भन्ने हकदैया नै नहुंदा हकदैया एवं हदम्याद विहिन नालेस खारेज हुन पर्दछ सो नगरेको पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण हुंदा उल्टी हुन पर्दछ भनी वहस तथा बहसनोट प्रस्तुत गर्नु भयो ।

१७.   अव मिसिल संलग्न सम्पूर्ण कागज प्रमाणहरु र वादी प्रतिवादी दुवै तर्फवाट प्रस्तुत भएको वहस तथा वहसनोट समेतको अध्ययन गरी हेर्दा निम्न प्रश्नहरुको निरोपण गर्नुपर्ने देखियो ।

 

(१)    वादीलाई प्रस्तुत फिराद दायर गर्ने हकदैया छ, छैन ?

(२)   प्रस्तुत फिराद कुन ऐन अन्तरगत लाग्ने हो ?

(३)   उक्त महागुठी तुलसीमेहर महिला आश्रम २१५५५ नं. को खातामा जम्मा हुन आएको रकममा कसको हक पुग्न जाने हो ?

(४)   पुनरावेदन अदालत पाटनको फैसला मिलेको छ, छैन ?

 

१८.   पहिलो प्रश्नतर्फ विचार गर्दा विवादको यु.एस.डलर ३,४३,२८८।७१ रकम जापानका बृद्ध सज्जन हांसुतारो मात्सुदाईराले प्रदान गरेको आर्थिक सहयोगको रकम रहेको र सो रकम २० फेव्रुअरी १९९० मा बैंक अफ टोकियोवाट प्रतिवादी मध्येको नेपाल बैंक लिमिटेडमा प्रतिवादी महागुठीको तुलसीमेहर महिला आश्रमको २१५५५ नं. खातामा जम्मा भएको कुरामा विवाद देखिदैन । वादी रुद्रलाल मुल्मी र नेशनल फेडेरेसन अफ युनेस्को इन जापान बिच १९८९ मा सम्झौता भएको उक्त सम्झौतामा वादीले दस्तखत गरेको र दातामा मात्सुदाईरा र अन्य श्रोत उल्लेख भएको पाइन्छ । प्रतिवादीले निज मुल्मीलाई निज तत्काल गुठीको कार्यकारी सचिव भएकोले गुठीकै खर्चमा जापान पठाएको भनी जिकिर लिएपनि प्रस्तुत सम्झौतामा गुठीको पदाधिकारीको हैसियत कहि कतै उल्लेख भएको देखिदैन । निजलाई त्यसरी दावीको सहायता रकम जुटाउने प्रयोजनको लागी पठाई यि दाता समेतसंग समेत सम्पर्क राख्न गुठीले पत्राचार गरेको र सो जाने पदाधिकारीलाई आदेश निर्देश दिएको लिखत पेश हुन सकेको देखिदैन । महागुठीको खर्चमा जापान गएको भन्ने प्रतिवादीको जिकिर भएपनि विभिन्न मितिमा पछि सोधभर्ना गर्ने गरी रकम दिइएको भन्ने मिसिल संलग्न रहेको प्रमाणहरुवाट देखिएकोवाट उक्त रकम भ्रमण भत्ता वापत दिइएको हो भन्ने कुरा यकिन हुन सकेको पाईदैन ।

१९.    उक्त सम्झौता बमोजिम प्राप्त हुन आएको रकम प्रापकमा रुद्रलाल मुल्मी पनि उल्लेख भएको देखिन्छ भने ५ जुलाई १९९० मा "National federation of UNESCO Associations in Japan" ले रुद्रलाल मुल्मीलाई लेखको पत्रमा "Mr. Hasuturo Matsudaira read the article and was impressed by the literacy programme run by Mr. Rudra Lal Mulmi president of the Tulsi Meher UNESCO Club, which motivated him to send the donation to Mr. Mulmi thus the sum of Us 343288.71 with the date of his letter as of 1 March was sent to the bank account No. 21555 from Mr Matsudaira to Mr Mulmi. Therefore the above amount of money should be handed over to Mr Mulmi as it is specially earmarked to the literacy programme conducted by the tulsi Meher UNESCO Club." भनी रुद्रलाल मुल्मीको कार्यक्रमवाट प्रभावीत भै सहयोग स्वरुप रकम पठाएको र उक्त रकम निजलाई हस्तान्तरण गर्नु पर्ने भनी उल्लेख गरेको छ । त्यसैगरी ७ मार्च १९९० को रुद्रलाल मुल्मी (तुलसी मेहेर युनेस्को क्लब) लाई लेखेको पत्रमा "Sum of donation directly sent from Matsudiara to you as presedent of Tulsi Meher UNESO Club should be used to run activities." भनी उल्लेख गरिएको पाईन्छ । यसैगरी विभिन्न समयमा रुद्रलाल मुल्मी सित पत्राचार भएको र निजलाई जापान भ्रमणको लागी पठाइएका पत्र र दाता मात्सुदाईराको नेपाल भ्रमण उक्त विवादित रकमकै कारण स्थगित भएको भन्ने विभिन्न मिसिल संलग्न पत्रहरुवाट देखिएको अवस्थामा वादी रुद्रलाल मुल्मीको व्यक्तिगत सम्बन्ध र हैसियत रहेको छैन भन्न मिल्ने देखिदैन ।

२०.   उपरोक्त आधारमा सम्झौता गर्ने व्यक्ति रुद्रलाल मुल्मी भएको र त्यसमा तुलसीमेहर महिला आश्रमको तर्फवाट नै सम्झौता गरेको नदेखिएको परन्तु क्लब त्यसबेला स्थापना भैनसकेको अवस्था भएपनि रकम प्रापक Beneficiary मा वादी रुद्रलालको नाम समेत उल्लेख भएको एवं निज रुद्रलालले रकम महिला साक्षरता र सामुदायिक विकासको काममा नै लगाउन चाही संस्था खोली सोको तर्फवाट फिराद गरेको देखिदा अ.वं.७७ नं.वमोजिम संस्थाको कागज नभएको भनी अ.वं.८२ नं.वमोजिम हकदैया बिहिन फिराद भन्न मिलेन ।

२१.   अव प्रस्तुत फिराद कुन ऐन अन्तरगत लाग्ने हो भन्ने दोस्रो प्रश्न तर्फ विचार गर्दा कानून वमोजिम लिखत भै लेनदेन गरेकोमा लेनदेन व्यवहारको ४० नं. आकर्षित हुने हो । विवादको सो रकम यि वादी प्रतिवादी बिच कुनै किसिमको लेनदेन व्यवहार भई प्राप्त हुन आएको देखिदैन । यि पुनरावेदक वादी रुद्रलाल मुल्मी र नेशनल फेडरेशन अफ युनेस्को इन जापान विच ११ डिसेम्बर १९८९ मा भएको सम्झौता अनुसार दाताले नेपालमा महिला साक्षरता तथा सामुदायिक विकास कार्यक्रम संचालन गर्नका लागी स्वेच्छाले प्रदान गरेको दातव्यको रकम भन्ने देखिएको र वादीले फिराद गर्दाको अवस्थामा पनि साहुको रुपमा प्रतिवादीलाई दिएको ऋण तमसुक वा कुनै रशिद भरपाई वा वैनावट्टाको लिखतको आधारमा समेत नालेस गरेको अवस्था छैन । वादीले रुद्रलाल मुल्मीले पाउने गरी पठाइएको रकममा विना कुनै कानूनी हक अधिकार विना विपक्षीले कव्जा गरेको हुंदा सो रकममा हक कायम गराई दिलाई भराई पाउँ भन्ने दावी गरेको देखिन्छ ।  यस प्रकार वादी दावी लेनदेन व्यवहारको महल अन्तरगतको विषय नहुंदा ऐ महलको ४० नं को हदम्याद आकर्षित हुने भन्न मिलेन ।

२२.   प्रस्तुत मुद्दाको विवादित रकम यु .एस. डलर ३४३२८८।७१ जपानको बैंक अफ टोकियोवाट टि.टी.भई आएको र प्रतिवादी मध्येका नेपाल बैंक लिमिटेडमा रहेको प्रतिवादी महागुठी तुलसीमेहर महिला आश्रमको २१५५५ नं. को खातामा जम्मा हुन आएको अवस्थामा उक्त रकम कसले भुक्तानी पाउन पर्ने हो भन्ने मुख्य विवाद उठेको अवस्था छ । सो प्राप्त रकममा कसको हक लाग्ने भनी प्रश्न उठेको र हक कायम गरी पाउँ भन्ने फिराद दावी भएको र वादी प्रतिवादी विच भएको लिखत अनुसारको लेनदेनको दावी नहुंदा अ.वं.३६ नं र अ.वं.८२ नं.वाहेक अन्य कुनै विशेष कानुनी प्रावधान विद्यमान नभएको अवस्थामा उक्त कानुनी व्यवस्था अनुसार दायर भएको फिरादलाई अन्यथा भन्न मिल्ने देखिदैन । प्रस्तुत मुद्दा विनिमय अधिकार पत्र ऐन, २०३४ अन्तरगत पर्ने विषय भएको सो अन्तरगत आएको छैन भन्ने सन्दर्भमा दाताले विवादित विषयमा प्रश्न उठाई आएको अवस्था नहुँदा र प्रापकहरुको विच प्राप्त रकममा हक वेहकको प्रश्न हुंदा सो ऐन अन्तरगत नै आउनु पर्दछ भन्न समेत मिल्ने देखिदैन ।

२३.   अव उक्त महागुठीको २१५५५ नं.को खातामा जम्मा भएको रकममा कसको हक पुग्न जाने हो ? भन्ने प्रश्नतर्फ विचार गर्दा वादी र नेशनल फेडरेसन अफ युनेस्को इन जापान विच ११ डिसेम्बर १९८९ मा भएको सम्झौतामा वादी रुद्रलाल मुल्मी एकपक्ष रहेको देखिने र त्यसमा तुलसीमेहर महिला आश्रमको तर्फवाट निजले सम्झौता गरेको भन्ने देखिदैन । रकम प्रापक Beneficiary मा वादी रुद्र्रलालको नाम समेत उल्लेख भएको र सो कुरालाई दाताले समेत स्वीकार गरी रहेको विभिन्न मिसिल संलग्न पत्रहरुवाट देखिन्छ । निज रुद्रलालले उक्त रकम महिला साक्षरता र सामुदायिक विकासको काममा नै लगाउन चाहि संस्था समेत खोलेको देखिन्छ । वादी रुद्रलालको कार्यवाट प्रभावीत भै उक्त रकम सहयोग स्वरुप पठाइएको र उक्त रकम निजलाई हस्तान्तरण गर्नु भनी ५ जुलाई १९९० को पत्रमा उल्लेख भएको देखिन्छ । त्यसैगरी १ मार्च १९९० मा रुद्रलाल मुल्मीलाई लेखेको पत्रमा "I transferred 343288.71 to you as my second donation to assist your devoting to carry your programme of literacy and community development" भन्ने उल्लेख छ भने त्यसैगरी ३ सेप्टेम्बर १९९२ को पत्रमा "I want assist you by some amount of money as a part of donation" भनी व्यक्तिगत रुपले पनि दाताले वादीलाई रकम उपलव्ध गराई सहयोग गर्न चाहेको भन्ने उल्लेख गरेको पनि देखिन्छ ।

२४.   वस्तुतः Beneficiary मा महिला आश्रम रुद्रलाल मुल्मी लेखिएकोमा खातावाल संस्थाको नाम लेखेपछि रुद्रलालको समेत नाम लेख्नुको औचित्य नदेखिएको र रुद्रलालको आश्रमको पदिय हैसियत समेत उक्त Beneficiary मा नलेखिएवाट निज रुद्रलालको व्यक्तिगत हैसियत पनि त्यहाँ रहेको भन्ने अवस्था हुंदा र वादी मातृ संस्थाबाट हटेपनि निजले दावी गरेको रकम खर्च गरिने संस्थाको लक्ष पनि मातृ संस्थाकै समान देखिएको यस्तो अवस्थामा वादी कुन हैसियतले जापान गएका थिए भन्ने कुराले मात्र सम्पादित काम निश्चित नहुने, कार्य परिणाम र प्रकृतिवाटै सम्बन्धित तथ्यको निरोपण र निष्कर्ष निकाल्नु पर्ने हुंदा पुनरावेदक वादीको उक्त रकममा हक नलाग्ने भन्न मिल्ने देखिएन ।

२५.   उक्त विवादीत रकम सम्बन्धमा सम्झौता गर्न जापान जादा वादी रुद्रलाल मुल्मी महागुठीको तलबी कर्मचारी थिए र सोही हैसियतवाट जापान गएका र पछि मात्र तुलसीमेहर युनेस्को क्लब नाउंको संस्था खोलेको भन्ने प्रतिवादीको जिकिर रहेको छ । नेपाल बैंक लिमिटेडको च.हि.नं. २१५५५ को खाता महागुठीकै प्याडमा महागुठीको निर्णय वमोजिम उक्त संस्थाका कार्यकारिणी सचिव रुद्रलाल मुल्मीले संचालन गर्ने गरी २०३६ सालमा महागुठीको स्थापना भएको पाइन्छ । उक्त खाता नं.२१५५५ समेत महागुठीको भएकोमा विवाद देखिदैन । विवादित रकम Beneficiary (प्रापक)मा  महिला आश्रम रुद्रलाल मुल्मी उल्लेख गरी रकम पठाएको देखिन्छ भने सो कुरालाई समेत दुवैपक्षवाट स्वीकार गरिएको अवस्था छ । रकम पठाउदाको अवस्थामा नै Beneficiary मा महिला आश्रमको नाम उल्लेख गरी सोही संस्थाको नाममा पठाएको देखिन्छ । Beneficiary मा संस्थाको नाम लेखिएकोमा उक्त रकम उक्त संस्थालाई पठाएको होइन भनी भन्न मिल्ने देखिदैन । रकम पठाउदाको समयमा नै दाताको इरादा के हो ? सो अनुसार अर्थ निकाल्नु पर्दछ । पछिको व्यवहार र पत्राचारले खास अर्थ राख्न हुँदैन । एउटै विषय सम्बन्धमा पहिले एउटा कुरा र पछि अर्को कुरा भन्दा तथ्यमा अनिश्चितता र अप्ठ्यारो स्थिती सृजना हुन जान्छ । यस कारणवाट आश्रमको खातामा आएको रकममा महिला आश्रमको समेत हक नलाग्ने भन्न मिल्ने देखिदैन ।

२६.   अव पुनरावेदन अदालत पाटनको फैसला मिले नमिलेको के हो ? सो सम्बन्धमा विचार गर्दा माथि विवेचना गरिए अनुसार सम्झौता गर्दा वादी रुद्रलाल मुल्मी पक्ष रहेको र रकम पठाउदा महिला आश्रम रुद्रलाल मुल्मी समेत उल्लेख भै उक्त रकम आश्रमको खाता नं.२१५५५ मा जम्मा भएको देखिएको र रकम पठाउदा दुवैको नाम उल्लेख गरिएको अवस्थामा उक्त वादी दावीको रु.८६,७१,७२१।९४ मा वादीको मात्र हक लाग्ने भन्न मिलेन । उक्त दावीको रकम रु.८६,७१,७२१।९४ मा वादी रुद्रलाल मुल्मी र प्रतिवादी महागुठीको आधी आधी सम्ममा हक कायम भै सो आधी रकम वादी दावी बमोजिम दिलाई भराई पाउने ठहर्छ । वादी दावीको पुरै रकममा वादीको मात्र हक लाग्ने ठहरी भएको पुनरावेदन अदालत पाटनको २०५५।४।२६ को फैसला केही उल्टी   हुन्छ ।

२७.   व्याजको हकमा विचार गर्दा वादी प्रतिवादी वीच व्याज लिनेदिने गरी कुनै लिखत भै लेनदेन नभएको र दाताले सहयोग स्वरुप प्रदान गरिएको रकममा विवाद उठी हक कायम हुने सम्मको कुरामात्र हुंदा व्याज तर्फको वादी दावी पुग्न नसक्ने भनी पुनरावेदन अदालतबाट भएको फैसला सो हदसम्म मिलेकै देखिंदा सदर हुने ठहर्छ ।

तपसिल

माथि इन्साफ खण्डमा उल्लेख भए वमोजिम वादी दावीको रकम रु.८६,७१,७२१।९४ मध्ये आधी रकम रु.४३,३५,८६०।९७ सम्ममा हक कायम हुने ठहरी फैसला भएकाले नेपाल चर्खा प्रचारक गान्धी स्मारक महागुठी तथा सो अन्तरगत तुलसीमेहर महिला आश्रम च.हि.नं.२१५५५, मुद्दती खाता नं.५२।३१४७ व.हि.नं. ५९७५९ को खातामा सो रकम रहेको भएमा तुलसीमेहर युनेस्को क्लवको नाउँमा उक्त रकम ट्रान्सफर गरी दिनु भनी सम्बन्धित वैंकलाई लेखी पठाई दिनु सो खाताहरुमा उक्त रकम नरहेको वा खाता रद्द भै वा सो खाताहरुबाट उक्त रकम प्रतिवादी महागुठीले अन्य खातामा रकमान्तर गरी खर्च भएको भए पुनरावेदक वादीलाई सो ठहरेको रु.४३,३५,८६०।९७ दण्डसजायको ४२ नं.को म्यादभित्र पुनरावेदक वादीको दरखास्त परे नियमानुसार प्रतिवादी महागुठीबाट पुनरावेदक वादीलाई भराई दिनु भनी शुरु जिल्ला अदालतमा लेखी पठाउनु ........१

व्याज तर्फको दावी नपुग्ने ठहरी फैसला भएको र शुरु, पुनरावेदन र यस अदालतमा समेत कोर्टफी नराखी फिराद तथा पुनरावेदन दर्ता गरेकोले व्याज रु.३४,५०,०००।०६ को शुरु कोर्टफी रु.३८,२७०।र पुनरावेदन अदालतमा पुनरावेदन गर्दा राख्न पर्ने शुरु कोर्टफीको १५ प्रतिशत दस्तुर रु.५,७४०।०५ यस अदालतमा राख्नु पर्ने १५ प्रतिशत दस्तुर रु.५,७४०।०५ समेत जम्मा रु.४९,७५१।वादी रुद्रलाल मुल्मीबाट जरिवाना सहर असुल उपर गर्नु भनी शुरु जिल्ला अदालतमा लेखी पठाउनु ... २

वादी दावीको रु.८६,७१,७२१।९४ मध्ये आधी रकम रु.४३,३५,८६०।९७ सम्ममा मात्र दावी पुग्ने ठहरी फैसला भएको र कोर्टफी पछि दाखिल गर्ने गरी फिराद दर्ता भएकोले जम्मा लाग्ने कोर्टफी रु.९०,४८७।२० मध्ये आधा कोर्टफी रु.४५,२४३।६० वादीबाट जरिवाना सरह असुल उपर गर्नु र बाँकी कोर्टफी प्रतिवादीहरुबाट असुल उपर गर्नु, प्रतिवादीहरुबाट असूल उपर हुन नसके वादीबाट जरिवाना सरह असुल उपर गर्नु भनी शुरुमा लेखी पठाउनु ............... ३

 

वादीले यस अदालत र पुनरावेदन अदालतमा समेत पुनरावेदन गर्दा कोर्टफी पछि ठहरे बमोजिम हुने गरी कोर्टफी नराखी पुनरावेदन गरेकोले जम्मा लाग्ने कोर्टफीको १५ प्रतिशतले हुने रकम रु.१३,५७३।०६ पुनरावेदन अदालतमा पुनरावेदन गर्दा लाग्ने कोर्टफी वापत र सोही रकम रु.१३,५७३।०६ सर्वोच्च अदालतमा पुनरावेदन गर्दा लाग्ने कोर्टफी समेत जम्मा रु.२७,१४६।१२ हुन आउने र वादीको आधा रकममा मात्र हक पुग्ने ठहरी फैसला भएको हँुदा उक्त पुनरावेदन अदालत र सर्वोच्च अदालतमा पुनरावेदन गर्दा जम्मा लाग्ने कोर्टफी रु.२७,१४६।१२ को आधा रकम रु.१३,५७३।०६ मात्र वादीबाट जरिवाना सरह असूल उपर गर्नु र बाँकी कोर्टफी रु.१३,५७३।०६ प्रतिवादीहरुबाट असूल उपर गर्न यदि उक्त रकम प्रतिवादीहरुबाट असुल उपर हुन नसके वादीबाट जरिवाना सरह असुल उपर गर्नु भनी शुरु जिल्ला अदालतमा लेखी पठाउनु ............४

मिसिल नियमानुसार गरी बुझाई दिनु ..५

 

उक्त रायमा सहमत छु ।

 

न्या.दामोदरप्रसाद शर्मा

 

 

इति संवत् २०६२ साल माघ २४ गते रोज २ शुभम्........

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु