निर्णय नं. ७६१५ - अंश दर्ता ।

निर्णय नं.७६१५ ने.का.प.२०६२ अङ्क १०
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिजंग सिजापति
माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी
सम्बत् २०५९ सालको दे.पु.नं. ....९०५३
फैसला मितिः २०६२।१०।५।४
मुद्दा :– अंश दर्ता ।
पुनरावेदक/वादीः वावुलाल पंजियारको मु.स. गर्ने पर्सा जिल्ला मधुवन मथौल वडा नं.४ वस्ने महेश पंजियार
विरुद्ध
प्रत्यर्थी/ प्रतिवादीः पर्सा जिल्ला पटेर्वा सुगौली वडा नं. ६ मा वस्ने वावुदत्त पंजियार समेत
§ वादी प्रतिवादीले आआफ्नो सम्पत्ति स्वतन्त्र रुपमा विक्री व्यवहार गरेको देखिएवाट निजहरु एकासंगोलमै रहेका र अंशवण्डा हुनुपर्ने अवस्था नदेखिने ।
(प्रकरण नं.१५)
§ मुल पूर्खादेखि नै वण्डा गर्नुपर्ने प्रकृतिको सम्पत्ति नदेखिएको अवस्थामा छुट्टाछुट्टै वसी छुट्टाछुट्टै भोग विक्री व्यवहारवाट प्राप्त सम्पत्तिलाई अवण्डा वा सगोलको मान्न नमिल्ने।
(प्रकरण नं.१६)
§ वादी प्रतिवादीवाट पेश भएको तायदाती विवरण र दर्ता श्रेस्ता समेतवाट दुवैपक्षका नाउंमा जग्गाहरु दर्ता रहेको देखिंदा त्यसवाट समेत यिनीहरु सम्पत्तिविहिनको अवस्थामा रहेको भन्न नमिल्ने ।
(प्रकरण नं.१७)
पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री अर्जुनप्रसाद लम्साल
प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्धान अधिवक्तात्रय श्री प्रकाश वस्ती, श्री शालिकराम पाण्डे र श्री नन्दप्रसाद अधिकारी
अवलम्वित नजीरः
आदेश
न्या.हरिजंग सिजापतीः पुनरावेदन अदालत हेटौंडाबाट ०५६।२।२५ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (ख) वमोजिम वादीको यस अदालतमा मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदन परी मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य र यस अदालतको ठहर यसप्रकार रहेको छः–
२. मुल पुर्खा कोलाई पंजियारको २ जना छोराहरुमा जेठो अनुप पंजियार र कान्छा मेरो वुवा महादेव पंजियार हुन् । जेठा वावु अनुप पंजियारको २ जना छोराहरुमा जेठा लक्ष्मी पंजियार हनु र कान्छा बिपक्षी वावुदत्त पंजियार हुन् । महादेव पंजियारको छोरा म वादी वावुलाल पंजियार हुँ । लक्ष्मी पंजियारको कुनै सन्तान छैनन् । बिपक्षी वावुदत्त पंजियारको एक मात्र छोरा बिपक्षी केशव पंजियार हुन् । बाजे कोलाई पंजियार, निजकी श्रीमती, जेठा वुवा, अनुप पंजियार र निजकी श्रीमती, लक्ष्मी पंजियार र मेरो वुवा महादेव पजियार र आमा सहौनी देवीको मृत्यू भै सकेको छ । पैत्रीक सम्पत्ति बिपक्षीहरुकै जिम्मामा छोडी म आफ्नो आमाको वुवाको घर जि.पर्सा गा.वि.स. मधुवन मथौल वडा नं. ४ औरोहामा वसोबास गर्दे आएको तथा समय समयमा आफ्नो गाउँ घरमा आई खेतीपातीको काम गर्दे आएको थिएँ । २०४२ साल आषाढ ५ गतेको दिन आफ्नो गाउँ घरमा आई बिपक्षीरुलाई जम्मा भेला गरी मेरो हुने अंश हक छुट्याई दिनुस् भनी बिपक्षीहरुलाई भन्दा बिपक्षीहरुले मेरो अंश हक दिन इन्कार गर्नु भएको हुँदा हाम्रो वीचमा चुलो मानो छुटेको कुनै लिखत प्रमाण नभएकोले फिराद परेको अघिल्लो दिनलाई चुलो मानो छुटेको मिति कायम गरी चल अचल श्रीसम्पत्तिको बिपक्षीहरुवाट तायदाती लिई २ खण्डको १ खण्ड मेरो अंश हक छुट्याई मेरो नाउंमा दर्ता गरिपाऊँ भन्ने समेत व्यहोराको फिराद पत्र ।
३. वादी दावी वमोजिम बिपक्षीहरुले हामी संग अंश हक पाउनु पर्ने होइन, छैन । बिपक्षी वादी तथा म प्रतिावदी वावुदत्त पंजियारको छुट्टा छुट्टै १ नं. र ७ नं.फांटवारी भरिएको छ । बिपक्षी वादीले सो फांटवारीहरु भर्दा आफ्नो वतन जि. पर्सा मधुवन मथौल वडा नं. ४ भनी उल्लेख गर्नु भएको छ भने मैले जि. पर्सा सुगौली वडा नं. ८ भनी उल्लेख गरेको छु । बिपक्षीले मिति ०२१।९।३० मा १ नं. मोही लगत भर्दा परिवारको सदस्यहरुको महलमा आफ्नो स्वास्नी छोरा छोरीहरुको नाम मात्र उल्लेख गर्नु भएको छ । त्यस्तै मैले ०२२।१।४ मा आफ्नो दाजु लक्ष्मी पंजियारको तथा स्वास्नी र छोरा केशव पंजियारको नाम मात्र उल्लेख गरेको छु भन्ने समेत व्यहोराको प्रतिवादीहरुको संयुक्त प्रतिउत्तर पत्र ।
४. यी वादी प्रतिवादीहरुले भूमिसुधार लागु हुंदाको वखत ७ नं. फांटवारी एवं पारिवारिक लगत समेत छुट्टाछुट्टै भरेको, वादीले मावलीतर्फको सम्पत्ति पाएको भन्ने कुनै प्रमाण पेश गर्न नसकेको र वादीका वाजे कोलाईका नामवाट कुनै पनि पैत्रीक सम्पत्ति महादेव पंजियार, वादीका पिता र अनुप पंजियार काकाका नाउंमा आएको भन्न वादीलाई कागज गराउंदा पनि नसकेको र अनुपका छोरा वावु दत्त र लक्ष्मी पंजियारले खरिद गरेको प्रमाणवाट देखिंदा पैत्रीक सम्पत्ति भन्ने नदेखिई पहिले नै छुटी वसेको उपरोक्त व्यवहार प्रमाणबाट अंश पाउ भन्ने बादी दावी पुग्न सक्दैन भन्ने समेत शुरु पर्सा जिल्ला अदालतको मिति २०५४।१०।२६ को फैसला ।
५. उक्त फैसलामा चित्त वुझेन । छुट्टाछुट्टै मौजामा वसेको कुरा विचार नगरी भूमिसुधार को १ नं. र ७ नं. फांटवारी छुट्टाछुट्टै भरेको आधारमा वादी दावी नपुग्ने भनी भएको फैसला सर्वोच्च अदालतवाट प्रतिपादित सिद्धान्त समेतको बिपरीत छ । मेरो मावली मधुवन मथौलमा भएको र मथौलको जग्गा मावली तर्फवाट प्राप्त भएकोले अंश वण्डा भएको भन्न मिल्दैन । अंश वण्डा हुन वण्डा लिखत हुनुपर्नेमा सो नभएको र सगोलको आम्दानीवाट खरिद भएको अवस्था हुंदा वादी दावी नपुग्ने ठहर्याएको फैसला उल्टी गरी दावी वमोजिम अंश दिलाई पाउं भन्ने समेत वादीको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।
६. कि.नं. ९२,९६,२६ का जग्गाहरु वावुदत्त पंजियारका नाउंमा अनुप पंजियारका नाउंवाट नामसारी भै आएको भन्ने महेश पंजियारको कागज भएको, अनुप र महादेव वीच रितपुर्बक अंश वण्डा भएको भन्न सकिने अवस्थाको अभावमा दावी पुग्न नसक्ने ठहर्याएको शुरु फैसला मिलेको नदेखिंदा छलफलको निमित्त अं.वं. २०२ नं. वमोजिम बिपक्षी झिकाउनु भन्ने समेत पुनरावेदन अदालतको आदेश ।
७. वण्डा गर्नुपर्ने पुख्र्यौली सम्पत्ति रहे भएको नदेखिएको, वादी प्रतिवादीले आ–आफ्नो जग्गा नामसारी दर्ता विक्री व्यवहार समेत गरी आएको भन्ने देखिन आएको परिप्रेक्षमा अंश पाउं भन्ने वादी दावी पुग्न सक्दैन भनी गरेको २०५४।१०।२६ को पर्सा जिल्ला अदालतको फैसला मनासिव हुंदा सदर हुने ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौंडाका २०५६।२।२५ मा भएको फैसला ।
८. उक्त फैसलामा चित्त बुझेन । वादी र प्रतिवादी वीचमा अंश वण्डा भएको लिखत नभएको र अंशियार भएकोमा विवाद रहेको छैन । मोहीको १ नं. र ७ नं. फाराममा भरिएको विवरणलाई आधार मानी अंश वण्डा भैसकेको मान्न मिल्दैन भनी ने.का.प. २०४७ अंक २, पृष्ठ १८५ मा सिद्धान्त समेत प्रतिपादन भएको छ । सगोलमा रहंदा जसको नाउंमा पनि जग्गा जमिन खरीद हुन सक्ने अवस्था रहन्छ । स्व.अनुप पंजियारको नामको जग्गा लक्ष्मी पंजियारले नामसारी गराएकै कारणवाट अंश छुट्टिएको भन्न मिल्दैन । मेरो नाउंमा रहेको मधुवन मथौलको जग्गा पूर्ख्यौली नभई मावली तर्फवाट पाएको जग्गा हो । पूर्ख्यौली सगोलको जग्गा सुगौलीमा रहेको छ । ने.का.प. ०४९ पृष्ठ २६८ मा अंश मुद्दामा वण्डा हुनको लागि नामसारी दाखिल खारेज भोगचलन गरेको देखिनु पर्ने र यो यति अंश पाइसकेको देखिनु पर्ने भन्ने सिद्धान्त प्रतिपादित भएको छ । तदनुसार मेरो स्व.वावुले अंश पाइसक्नु भएको भनी प्रतिवादीले देखाउन र प्रमाणित गर्न सकेको अवस्था छैन । यस आधारमा वादी दावी पुग्ने गरी फैसला हुनु पर्नेमा अंश नपाउने गरी भएको पर्सा जिल्ला जिल्ला अदालतको फैसलालाई नै सदर गरेको पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण भै न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (ख) को अवस्था विद्यमान हुंदा मुद्दा दोहोर्याई हेरी उक्त फैसला उल्टी गरी वादी दावी वमोजिम अंश दिलाई पाउं भन्ने ब्यहोराको वादीको यस अदालतमा दायर भएको निवेदन ।
९. यसमा निवेक वादी र बिपक्षी प्रतिवादी अंशियार रहेकोमा विवाद नरहेको, रीतपूर्वक अंश वण्डा भएको लिखत पनि नभएको र कानून वमोजिम मानो छुएिको मिति कायम भै तायदातीफाँटवारी समेत माग नभएको अवस्थामा केवल ७ नं. फांटवारी तथा मोहीको १ नं. लगत अलग अलग भरिउको र वण्डा गर्नुपर्ने पैतृक सम्पत्ति यो यो छ भनी देखाउन नसकेको भन्ने आधारमा वादी दावी पुग्न नसक्ने ठहयाएको शुरुको फैसला सदर गरेको पुनरावेदन अदालत हेटोंडाको २०५६।२।२५ को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ६(क), अंश वण्डाको ३० नं.को व्याख्यात्मक त्रुटी हुनुको साथै ने.का.प. २०५० अंक १२ पृष्ठ ७१० मा प्रकाशित यस अदालतवाट प्रतिपादित कानूनी सिद्धान्त समेतको प्रतिकूल देखिई न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को खण्ड (क) र (ख) को अवस्था विद्यमान देखिंदा मुद्दा दोहोराई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतवाट २०५८।१२।२१ मा भएको आदेश ।
१०. यसमा वादी प्रतिवादीहरु अंशियार भएको भन्ने कुरामा विवाद नदेखिएको, निजहरु वीच अंश वण्डा भएको प्रमाण पेश नभएको, २०२१ सालमा वावुदत्त पंजियारले ७ नं. फराम भर्दा आफूलाई वावुदत्त भनी उल्लेख गरेको देखिएको, सो जमिन्दारी निजले खरीद गरेको भन्ने भनाई पनि नरहेको र जमिन्दार हुने व्यक्तिसंग पैतृक जग्गा जमिन नरहने भन्ने स्थिति पनि नभएको अवस्थामा वादीले प्रतिवादीवाट अंश पाउने नै देखिंदा अंशवण्डाको २०,२१ र २३ नं. वमोजिम वादी प्रतिवादीवाट फिराद परेको अघिल्लो दिन सम्मको चलअचल सम्पत्तिको फांटवारी लिई दाखिल हुन आएको तायदाती फांटवारी वादी प्रतिवादीलाई परस्पर सुनाई नपुग कोर्टफी वादीवाट लिई तायदातीमा उल्लिखित जग्गाको दर्ता श्रेस्ता समेत सम्बन्धित मालपोत कार्यालयवाट झिकाई लगाउका मुद्दा समेत साथै पेश गर्नू भन्ने यस अदालतवाट ०६१।१०।१३ मा भएको आदेश ।
११. नियमवमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फवाट विद्धान अधिवक्ता श्री अर्जुनप्रसाद लम्सालले वादी र प्रतिवादी अंशियार भएकोमा विवाद छैन । अंशवण्डा भएको रीतपुर्वकको लिखत पनि छैन । २०२१ सालमा वावुदत्त पंजियारले ७ नं. फारम भर्दा आफूलाई जमिन्दार वावुदत्त भनी उल्लेख गरेको , सो जमिन्दारी खरीद गरेको भन्ने पनि देखिएको छैन , जमिन्दार व्यक्तिसंग पैतृक सम्पत्ति हुन सक्दैन भन्न पनि मिल्दैन । यस स्थितिमा वादी दावी वमोजिम अंशवण्डा हुनु पर्नेमा वादी दावी नपुग्ने ठहर गरेको शुरुको फैसलालाई सदर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला त्रुटिपूर्ण हुँदा उल्टी भई वादी दावी वमोजिम २ भागको १ भाग अंश वादीले पाउनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।
१२. बिपक्षी तर्फवाट विद्धान अधिवक्तात्रय श्री प्रकाश वस्ती, श्री शालिकराम पाण्डे र श्री नन्दप्रसाद अधिकारीले वादी प्रतिवादीका मूल पूर्खा कोलाई भएकोमा विवाद छैन । कोलाई संग कुनै पनि सम्पत्ति रहेको छैन । त्यसपछिका अनुप, महादेव र लक्ष्मी पंजियार कसैसंग पनि सम्पत्ति छैन । तेश्रो पुस्तामा आएर अंश मुद्दा परेको छ । दुईवटा परिवार अलग अलग वसी सम्पत्ति पनि अलग अलग भोग व्यवहार गरिरहेका छन् । वण्डा गर्नुपर्ने सम्पत्ति नै नरहेको अवस्थामा प्रमाण ऐन, २०३१ को दफा ६ (क) लाग्न सक्दैन । ०५४।१०।२० मा वादीलाई कागज गराउंदा मूल पूर्खा कोलाईको नाउको सम्पत्ति खुलाउन सक्दिन भनी लेखाइदिएको अवस्था समेत रहेको छ । निस्सा दिने आदेशमा उल्लिखित नजिर एवं वादी तर्फवाट पेश भएका नजिर समेत प्रस्तुत विवादमा अशान्दर्भिक छन् । तसर्थ अंश वण्डा हुन नसक्ने ठहर गरेको शुरुको फैसलालाई सदर गरेको पुनरावेदन अदालतको फैसला कायम रहनु पर्छ भनी बहस गर्नुभयो ।
१३. उपरोक्त बहस वुँदा समेतका शन्दर्भमा वादीको पुनरावेदन/ निवेदन जिकिर, दोहोयाउने निस्सा प्रदान गर्दा यस अदालतवाट लिइएका आधार वुँदा एवं शुरु र रेकर्ड मिसिल समेत अध्ययन गरी हेर्दा यसमा पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसला मिले नमिलेको र वादीको पुनरावेदन/ निवेदन जिकिर वमोजिम हुनु पर्ने नपर्ने सम्बन्धमा निर्णय गर्नुपर्ने हुन आयो।
१४. निर्णयतर्फ विचार गर्दा, यसमा वादी र प्रतिवादी अंशियार भएकोमा प्रतिवादीसंग अंश छुट्टाईदिन आग्रह गर्दा अंश हक दिन इन्कार गर्नु भएकोले हामी वीचमा चुलो मानो छुट्टिएको मिति कायम गरी चल अचल श्रीसम्पत्तिको तायदाती लिई २ खण्डको १ खण्ड अंश छुट्टाई वादीको नाउमा दर्ता समेत गरिपाऊँ भन्ने फिराद दावी र वादी र प्रतिवादीको अलग अलग भोग र विक्री व्यवहार रहेको छ, दुवैको १ नं. र ७ नं. फाँटवारी अलग अलग भरिएको छ, दुवैको वसोवास समेत अलग अलग ठाउँमा रहेको हुँदा दावी वमोजिम अंश पाउनु पर्ने होइन भन्ने प्रतिउत्तर जिकर भएकोमा वादी दावी पुग्न नसक्ने गरी शुरु पर्सा जिल्ला अदालतवाट फैसला भई त्यस उपर वादीको पुनरावेदन पर्दा शुरुकै फैसला सदर गर्ने गरी पुनरावेदन अदालत हेटौंडाबाट फैसला भएको देखिन्छ । त्यस उपर वादीकै यस अदालतमा मुद्दा दोहोराई पाउँ भन्ने निवेदन पर्दा वादी प्रतिवादी अंशियार भएकोमा विवाद नभएको र रीतपुर्वकको वण्डा भएको पनि नदेखिएको अवस्थामा अंश वण्डा नहुने ठहर गरेको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ६(क) र ने.का.प. २०५० अंक १२ पृष्ठ ७१० मा प्रकाशित सिद्धान्तको समेत त्रुटी देखिएको भन्ने आधारमा मुद्दा दोहोराउने निस्सा प्रदान भएको अवस्था छ ।
१५. वादी प्रतिवादीहरु प्रस्तुत मुद्दा पर्नु भन्दा धेरै अगाडि देखि नै अलग अलग गाउँ ठाउँमा वसी आएको देखिन्छ । भूमिसुधार लागू हुँदाका अवस्थामा ७ नं. फांटवारी र मोहीको १ नं. लगत समेत आ आफ्नो परिवार र जग्गा समेत उल्लेख गरी छुट्टा– छुट्टै भरेको देखिन्छ । मूल पुरुष कोलाई पंजियारबाट अरु कसैका नाउमा सम्पत्ति नामसारी भएको पनि देखिएको छैन। २०५४।१०।२० मा अदालतवाट कागज गराउंदाका अवस्थामा वादीले वण्डा गर्नुपर्ने पैतृक सम्पत्ति यो यति यो संग छ भनी खुलाउन सकेको पनि देखिंदैन । प्रतिवादीले आफ्नो हाँगाका लक्ष्मी पंजियार र अनुप पंजियारवाट जग्गा नामसारी गराई लिएको भन्ने र वादीका वावुको नाउवाट समेत अरु व्यक्तिका नाउमा जग्गा विक्री व्यवहार भई गएको भन्ने पनि उक्त ०५४।१०।२० को कागज समेतको व्यहोरावाट देखिएको छ । यसर्थ वादी प्रतिवादीले आ– आफ्नो सम्पत्ति स्वतन्त्र रुपमा विक्री व्यवहार गरेको देखिएवाट निजहरु एकासंगोलमै रहेका र अंशवण्डा हुनुपर्ने अवस्था समेत देखिंदैन ।
१६. जहाँसम्म प्रमाण ऐन, २०३१ को दफा ६(क) मा उल्लेख भए अनुसार एकासगोलका अंशियार जो सुकैका नाउमा रहेको भए पनि त्यस्तो सम्पत्ति सवैलाई वण्डा लाग्ने भन्ने बिषय छ, यहाँ एकातिर वादी प्रतिवादीहरु नै एकासगोलमा नरही अलग अलग रहेको देखिन्छ भने वण्डा गर्नुपर्ने प्रकृतिको पैतृक सम्पत्ति यो यो हो भनी देखाउन सकेको अवस्था छैन । मुल पूर्खादेखि नै वण्डा गर्नुपर्ने प्रकृतिको सम्पत्ति नदेखिएको अवस्थामा छुट्टा छुट्टै वसी छुट्टा छुट्टै भोग विक्री व्यवहारवाट प्राप्त सम्पत्तिलाई अवण्डा वा सगोलको मान्न मिल्दैन । निस्सा दिंदा आधार लिइएको ने.का.प. २०५०, अंक १२, पृष्ठ ७१० को नजिर हेर्दा सो मुद्दामा अंशियार भाईलाई वयान गराउंदा वण्डा गर्नुपर्ने सम्पत्ति दाजुको नाउमा छ भनी वयान गरेको र सो सम्पत्ति वण्डा लाग्न नसक्ने भन्ने कुारको प्रमाण सम्वन्धित दर्तावालाले गुजार्न नसकेको भन्ने आधारमा अंशवण्डा गर्ने गरेको देखिन्छ । प्रस्तुत मुद्दामा वण्डा गर्नुपर्ने सम्पत्ति यस्को नाउमा छ भनी खुलाउन सकेको अवस्था पनि छैन र देखिएको सम्पत्ति वण्डा नलाग्ने प्रकृतिको हो भनी वादी प्रतिवादी दुवैले प्रमाण दिएको अवस्था समेत हुँदा उल्लिखित नजिर प्रस्तुत मुद्दाको हकमा अनुशरणयोग्य देखिएन । त्यस आधारमा निस्सा दिंदाको आधार वुंदामा पनि सहमत हुन सकिएन ।
१७. यसैगरी वादी प्रतिवादीवाट पेश भएको तायदाती विवरण र दर्ता श्रेस्ता समेतवाट वादी प्रतिवादी दुवैपक्षका नाउमा जग्गाहरु दर्ता रहेको देखिन्छ । त्यसवाट समेत यिनीहरु सम्पत्तिविहिनको अवस्थामा रहेको भन्न मिलेन । यसर्थ वादी दावी वमोजिम वण्डा नहुने ठहर गरेको पुनरावेदन अदालतको फैसलालाई परिवर्तन गर्नुपर्ने भएन ।
१८. अतः माथि उल्लेख भए अनुसार वादी दावी वमोजिम अंशवण्डा हुन नसक्ने ठहर गरेको शुरु पर्सा जिल्ला अदालतको फैसलालाई सदर हुने ठहर्याएको पुनरावेदन अदालत हेटौंडाको २०५६।२।२५ को फैसला मिलेकै देखिंदा मनासीव ठहर्छ । वादीको पुनरावेदन/ निवेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.ताहिर अली अन्सारी
इति सम्बत् २०६२ साल माघ ५ गते रोज ४ शुभम् ............