शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ८७४४ - रकम दिलाई भराई पाऊँ

भाग: ५४ साल: २०६९ महिना: बैशाख अंक:

ने.का.प. २०६९,            अङ्क १

निर्णय नं. ८७४४

सर्वोच्च अदालत, पूर्ण इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री खिलराज रेग्मी

माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय

माननीय न्यायाधीश डा. श्री भरतबहादुर कार्की

दे.पु.नं.२०६७–DF-०००१, ०००२, ०००३

फैसला मितिः २०६८।८।२२

 

मुद्दा :रकम दिलाई भराई पाऊँ 

 

पुनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३४ नयाँ बानेश्वर    स्थित नमस्ते ट्राभल्स प्रा.लि.का अध्यक्ष महेन्द्रमान श्रेष्ठ

विरुद्ध

प्रत्यर्थी वादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा न १३ ताहाचल स्थित ए.सि.    गार्मेन्ट

 

पुनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३४ नयाँ बानेश्वर    स्थित नमस्ते ट्राभल्स प्रा.लि.

विरुद्ध

प्रत्यर्थी वादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १३ ताहाचल स्थित ए.सि.   गार्मेन्ट

 

पुनरावेदक वादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १३ ताहाचल स्थित ए.सी       गार्मेण्टको तर्फबाट ऐ.का प्रोपराइटर अशोककुमार अग्रवाल

विरुद्ध

प्रत्यर्थी प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.३४ नयाँ बानेश्वर स्थित नमस्ते ट्राभल्स प्रा.लि.

 

शुरु फैसला गर्नेः

मा.जि.न्या.श्री वीरसिंह महरा

 

पुनरावेदन फैसला गर्ने

मा.न्या.श्री दुर्गाप्रसाद उप्रेती

मा.न्या.श्री जगदीश शर्मा पौडेल

यस अदालतको संयुक्त इजलासः

मा.न्या.श्री गौरी ढकाल

मा.न्या.श्री ताहिर अली अन्सारी

 

§  हदम्यादको विषय मुद्दाको कुनै पक्षले आफ्नो इच्छाअनुकूल संकुचित वा विस्तार गर्ने विषय नभई यो विशुद्ध विधायिकी कानूनद्वारा निर्दिष्ट कानूनी हक भएकाले यस्तो हकलाई कुनै पक्षको अनुकूल वा प्रतिकूल हुने गरी व्याख्या गर्न नमिल्ने 

§  कानूनमा हदम्यादको विषय जे जुन रुपमा र जसरी प्रयुक्त भएको छ, अदालतले पनि सो सम्बन्धी कानूनी प्रावधानको व्याख्या कानूनी शब्दको अर्थ र उद्देश्यअनुरूप मात्रै गर्नुपर्ने 

(प्रकरण नं.८)

 

पुनरावेदक वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता शम्भु थापा एवं विद्वान अधिवक्ताहरू तिलकविक्रम पाण्डे, शिव रिजाल, योगेन्द्र बस्नेत र डिल्लीराज भण्डारी

पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताद्वय लोकभक्त राणा र श्यामकृष्ण श्रेष्ठ

अवलम्बित नजीरः

सम्बद्ध कानूनः

§  करार ऐन, २०२३ को दफा १८(२) को (ग)

 

फैसला

            प्र.न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत, पाटनको मिति २०६३।५।१९ को फैसलाउपर वादी प्रतिवादी दुवै पक्षबाट पुनरावेदन परी यस अदालतको संयुक्त इजलाससमक्ष पेश भै मिति २०६७।२।१ मा फैसला हुँदा सो इजलासका माननीय न्यायाधीशहरू बीच मतैक्य हुन नसकी निर्णयार्थ यस इजलाससमक्ष पेश भएको प्रस्तुत मुद्दाको तथ्य एवं निर्णय यस प्रकार छः

फिरादी कम्पनीको कारोवारको सिलसिलामा संयुक्त राज्य अमेरिकाको न्यूयोर्क स्थित एप्परल्स विंड नामक कम्पनीलाई यु.एस. डलर ४१८९५। बराबरको यस कम्पनीको उत्पादन विक्री गर्ने र यसरी विक्री गर्दा अन्तर्राष्ट्रिय व्यापारमा प्रचलित पद्धतिबमोजिम एल.सि.भङ्ग गर्न नसकिने प्रतीतपत्रको माध्यमबाट कारोवार गर्ने टुङ्गो भएको थियो । सो बमोजिम ACG-05, 06, 07, 08. 13197 का इन्भ्वाइसहरू अन्तरगतका सामानहरू विपक्षी नमस्ते ट्राभल्समार्फत् प्रेषित गर्ने उद्देश्य यस कम्पनीले विपक्षी कम्पनीमा बुझाई सो कम्पनीबाट रीतपूर्वकको Freight cargo receipt प्राप्त गरेको थियो । जसमा स्पष्ट रुपमा सामान प्राप्त गर्ने पक्षको रुपमा चेज म्यानहटन व्यांक नै उल्लेख गरिएको छ । एप्परल्स विंडलाई होइन । विपक्षीले Bill of Lading हामीलाई उपलब्ध गराएका थिएनन् । लामो समयसम्म रकम प्राप्त हुन नआएकोले सोधखोज गर्दा उल्लिखित सामान बैङ्कले प्राप्त नगरेको भन्ने कुरा थाहा हुन आयो । सो बारेमा बुझ्दा यस कम्पनीले सामान प्राप्त गर्ने ग्राहकको रुपमा चेज म्यानहटन बैंङ्कको नाम स्पष्ट राखी सामान प्रेषित गरेको र सोहीबमोजिम फ्रेट कार्गो रसिदमा पनि प्राप्त गर्नेको नाम चेज म्यानहटन बैङ्क नै राखी यस कम्पनीलाई दिइएकोमा कुन बदनियतले विपक्षीले सामान प्राप्त गर्ने पक्षमा चेजम्यानहटन व्यांकको सट्टामा एप्परल्स विडंसको नाउँ राखेको र सम्बन्धित बैङ्कलाई कुनै भुक्तानी नै नगरी एप्परल्स विडंसले सामान बुझेको भन्ने कुरा जानकारी हुन आयो । जसको कारणले यस कम्पनीले कुनै रकम भुक्तानी गर्न सकेन । यस कम्पनीले रकम भुक्तानी नपाउनुको पछाडि विपक्षी नमस्ते ट्राभल्स र एप्परल्स विडंको बीचमा कुनै गैह्रकानूनी कार्य गरेको भै यस कम्पनीलाई हानि पुगेको कुरा करार ऐन, २०२३, मुलुकी ऐन अ.वं. ८२ र लेनदेन व्यवहार ४० नं. बमोजिम स्पष्ट छ । विपक्षीले यस कम्पनीलाई भौतिक रुपमा माग गर्दा नदिएकोले २७ अगस्ट १९९८ मा औपचारिक रुपमा रकम माग गरेकोमा २०५६ वैशाख मसान्तसम्म पनि रकम भुक्तानी नदिई विपक्षी कम्पनीले मिति २०५६।३।६ मा लेखेको पत्र २०५६।३।१६ मा प्राप्त भएकोले म्यादैभित्र यो फिराद गर्न आएको छु । विपक्षीको कामकारवाहीबाट यस कम्पनीलाई पुर्‍याएको हानि नोक्सानी, विगो, सामानको मूल्य र ढुवानी खर्च समेतको यु.एस.डलर ४१८९५। बराबरको नेपाली रुपैयाँ रु.२३,५८,६८५।–, क्षतिपूर्ति रु.१,६३,०००।र व्याज रु.४,०२,०२८।समेत जम्मा रु.२९,२३,७१३।र विगो भरी भराउ हुने दिनसम्मको व्याज समेत दिलाई पाऊँ भन्ने फिराद पत्र 

प्रस्तुत मुद्दामा दावी गरिएका इन्भोइस नम्बरहरू मध्ये ए.सि.जि.नं. ६।९७ र ८।९७ अन्र्तगतका सामानहरू बैङ्क रिलिज हुनु पूर्वनै एप्परल्स विन्डसलाई पुर्‍याई दिन विपक्षीले यस कम्पनीलाई सन् १९९७।३।९ मा पत्र पनि पठाएको थियो । सो पत्रमा उल्लिखित अर्को इन्भोइस नं. ए.सि.जि. १।९७ पनि बैङ्क रिलिज पूर्व नै एप्परल्स विन्डसलाई पुर्‍याई दिन उल्लेख भै सोही पत्र बमोजिम भए गरिएकोमा हाल इन्भोइस नम्बर विपक्षीले दावी गर्न सक्नु भएको छैन । एउटै पत्रमा उल्लिखित एकै व्यहोरा बमोजिम काम भए गरिएकोमा केहीको हकमा स्वीकारी केहीको हकमा अन्यथा भन्न मिल्दैन । अन्य इन्भोइसको हकमा पनि विपक्षीकै निर्देशानुसार अप्यारल विन्ड्स कहाँ सामान पठाएको हो । विपक्षीको दावी झूठा हो । विपक्षीलाई मुद्दा गर्नुपर्ने कारण अर्थात् हदम्याद कहिले खुल्न गयो भन्ने सम्बन्धमा विपक्षीको कानून व्यवसायी सुशीलकुमार पन्तले यस कम्पनीलाई मिति २०५४।१२।२२ मा पत्र पठाउनु भएको थियो । सो पत्रको प्रकरण ३ मा विपक्षीलाई यस कम्पनीबाट रकम उपलब्ध गराउन अनुरोध गरिएको थियो । मिति २०५४।१२।२२ मा हदम्याद शुरु भएकोमा मिति २०५६।३।६ को पत्रमा हदम्याद गणना गरी प्रस्तुत फिराद परेको देखिँदा करार ऐन, २०२३ को दफा १८ (२)(ग) बमोजिम फिराद दावी खारेज गरिपाऊँ भन्ने प्रतिउत्तर पत्र 

मार्च ९।१९९७ को पत्रमा सही हस्ते हो भन्ने वादीको वारेस डोलकुमार खड्काले गरेको बयान 

मिति १९९७ मार्च ९ को पत्रको सही सद्दे हो भन्ने प्रतिवादीको वारेस पूर्णभक्त डंगोलको बयान 

वादीबाट पेश भएको फ्रेट कार्गो रसिद र इन्भोइसहरू सद्दे हो भन्ने प्रतिवादीको वारेस पूर्णभक्त डंगोलको बयान 

लिखतहरूमा जाँच गरी पत्रमा व्यहोरा उल्लेख गरी सही गरी पठाएको ठीक छ भन्ने राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका स.वैज्ञानिक अधिकृत श्री मुकुन्द प्रधानले गरेको बकपत्र 

प्रतिवादीले दिएको जवाफलाई मुद्दा गर्नुपर्ने भनी निर्धारण गरी ल्याएको फिराद कानूनले हदम्याद नाघी सकेको देखिँदा यस्तो हदम्यादविहीन फिराद कायम रहन नसकी मुद्दाको विषयमा प्रवेश गरी रहनु परेन । प्रस्तुत फिराद हदम्यादविहीन हुँदा अ.वं. १८० नं. अनुसार खारेज हुन्छ भन्ने समेत व्यहोराको शुरु काठमाडौं जिल्ला अदालतको फैसला 

करार ऐन, २०२३ को दफा १८(२) को खण्ड (ग) मा भएको व्यवस्थाअनुसार मुद्दा गर्नुपर्ने कारण परेको मितिले ३ महिनाभित्र फिराद गर्नुपर्ने भन्ने रहेको र मुद्दा गर्नुपर्ने कारण मैले पत्राचार गरेपश्चात् मलाई विपक्षीले आफूले कुनै क्षतिपूर्ति तिर्नु नपर्ने गरी जवाफ दिएको मितिको पत्र मैले प्राप्त गरे पछिबाट नै हदम्याद शुरु हुने र सो अनुसार फिराद गर्न आएकोमा फिराद खारेज गर्ने गरेको शुरु जिल्ला अदालतको फैसला फिराद गर्दा बहाल रहेको करार ऐन, २०२३ को विपरीत हुनुको साथै सर्वोच्च अदालतबाट नेकाप २०४५, नि.नं. ३४१० मा प्रतिपादित नजीर सिद्धान्त समेतको प्रतिकूल भई बदरभागी हुँदा शुरु फैसला बदर गरी फुर्सत पाऊँ भन्ने समेत व्यहोराको वादीले मिति २०६२।३।२ मा पुनरावेदन अदालत पाटनमा दिएको पुनरावेदन 

प्रतिवादी पक्षले वादी पक्षलाई मिति २०५६।३।६ मा लेखेको पत्रलाई नै मुद्दा गर्नुपर्ने कारण सिर्जना भएको मान्नु पर्ने अवस्था नेकाप २०४४, पृष्ठ १५२, नि.नं. २९८८ को मुद्दामा सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित नजीर समेतबाट देखिन आएकोले हदम्याद नाघेको कारणले वादी दावी खारेज गर्ने गरेको शुरु काठमाडौं जिल्ला अदालतको मिति २०६१।१०।२२ को फैसला फरक पर्न सक्ने हुँदा छलफलका लागि प्रत्यर्थीलाई झिकाई आएपछि पेश गर्नु भन्ने समेत व्यहोराको मिति २०६३।१।२८।५ को पुनरावेदन अदालत पाटनको आदेश 

पुनरावेदक वादी ए.सी गार्मेण्टले प्रत्यर्थी प्रतिवादीमार्फत् विभिन्न मितिमा जम्मा ४१,८९५ अमेरिकी डलर मूल्य बराबरको सामानहरू पठाएको मिसिल संलग्न कागजातबाट देखिएको र सोको भुक्तानी पुनरावेदन वादीले पाएको अवस्था नदेखिएको र प्रस्तुत मुद्दामा प्रतिवादी पक्षले वादी पक्षलाई मिति २०५६।३।६ मा लेखेको पत्रमा सामानको भुक्तानी दिनु पर्ने दायित्व समाप्त हुने भनी पठाएको पत्रलाई नै मुद्दा गर्नुपर्ने कारण सिर्जना भएको मान्नु पर्ने अवस्था देखिनको साथै सर्वोच्च अदालतबाट नेकाप २०४४, अङ्क २, पृष्ठ १५२ निर्णय नं. २९८८ को निवेदक वादी ज्यानबहादुर प्रधान वि. कोरियन डेभल्पमेन्ट कर्पोरेशन विपक्षी प्रतिवादी भएको हिसाब दिलाई पाऊँ भन्ने मुद्दामा प्रतिवादीले सम्झौता बमोजिमको रकम भुक्तानी दिन इन्कार गरेपछि नै वादीको मुद्दा गर्नुपर्ने कारण परेको मान्न पर्ने भनी प्रतिपादित भएको हदम्याद सम्बन्धी नजीर सिद्धान्त समेतबाट प्रस्तुत मुद्दा हदम्यादभित्रै फिराद दायर भएको अवस्था देखिन्छ । अतः प्रस्तुत मुद्दामा हदम्याद नाघी फिराद दायर भएको भन्ने आधारहरू शुरु काठमाडौं जिल्ला अदालतबाट मिति २०६१।१०।२२ मा फिराद दावी खारेज गर्ने गरी भएको फैसला माथि उल्लिखित कारणबाट मिलेको नदेखिँदा शुरु फैसला उल्टी हुने ठहर्छ । माथि उल्लेख भएबमोजिम पुनरावेदक वादी पक्षले विभिन्न मितिमा जम्मा ४१,८९५।– (एकचालीस हजार आठ सय पञ्चानब्बे) अमेरिकी डलरको मूल्य बराबरको सामान प्रत्यर्थी प्रतिवादी मार्फत् पठाएको देखिएको र सोको भुक्तानी पुनरावेदक वादी पक्षले पाएको अवस्था नदेखिएको र आफूले बुझी लिएको सामान वादी पक्षले उल्लेख गरेको ठेगानामा पठाई सो सामानको मूल्य भुक्तानी वादी पक्षलाई गर्नुपर्ने प्रत्यर्थी प्रतिवादीको दायित्व एवं कर्तव्य भएकोमा पुनरावेदक वादी पक्षले आफूले प्रत्यर्थी प्रतिवादीमार्फत् पठाएको कपडाको मूल्य भुक्तानी पाएको नदेखिँदा वादी पक्षले प्रतिवादीबाट भुक्तानी पाउन बाँकी देखिएको ४१,८९५।– (एकचालीस हजार आठ सय पञ्चानब्बे) अमेरिकी डलरको तत्काल प्रचलित सटही दरबमोजिम हुन आउने फिरादमा उल्लिखित नेपाली मुद्रा रु.२३,५८,६८५।पुनरावेदक वादीले प्रत्यर्थी प्रतिवादीहरूबाट भराई लिन पाउने ठहर्छ । व्याज र क्षतिपूर्ति तर्फको पुनरावेदकको दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०६३।५।१९ को फैसला 

प्रस्तुत मुद्दा करार ऐन, २०२३ को दफा १८(२)(ग) बमोजिमको हदम्यादअनुसार कारण परेको मितिले तीन महिनाभित्र दायर गरिएको भनी फिराद पत्रमा उल्लेख गरिएको छ । विपक्षीका कानून व्यवसायीले यस कम्पनीलाई मिति २०५४।१२।२२ मा पत्र पठाई रकम उपलब्ध गराउन अनुरोध गरिएको छ । यस पश्चात् उक्त पत्रलाई समर्थन गर्दै विपक्षीले यस कम्पनीलाई मिति २०५५।४।२० मा पठाउनु भएको पत्रमा हदम्याद समेत नाघिसकेको भन्ने उल्लेख गरी आफैले स्वीकार गरेको अवस्थामा यस कम्पनीबाट विपक्षीलाई पठाएको भनिएको मिति २०५६।३।६ को पत्रबाट हदम्याद शुरु भएको मान्न नमिल्नेमा पुनरावेदन अदालत पाटनले शुरु जिल्ला अदालतले हदम्यादको अभावमा फिराद खारेज गर्ने गरी गरेको फैसलालाई उल्टी गरी गरेको फैसला मिलेको नहुँदा सो फैसलालाई बदर गरी शुरु काठमाडौं जिल्ला अदालतबाट भएको फैसला सदर कायम गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी नमस्ते ट्राभल्स प्रा.लि.का तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र 

प्रस्तुत मुद्दा करार ऐन, २०२३ को दफा १८(२)(ग) बमोजिमको हदम्यादअनुसार कारण परेको मितिले तीन महिनाभित्र दायर गरिएको भनी फिराद पत्रमा उल्लेख गरिएको छ । विपक्षीका कानून व्यवसायीले यस कम्पनीलाई मिति २०५४।१२।२२ मा पत्र पठाई रकम उपलब्ध गराउन अनुरोध गरिएको छ । यसपश्चात् उक्त पत्रलाई समर्थन गर्दै विपक्षीले यस कम्पनीलाई मिति २०५५।४।२० मा पठाउनु भएको पत्रमा हदम्याद समेत नाघिसकेको भन्ने उल्लेख गरी आफैले स्वीकार गरेको अवस्थामा यस कम्पनीबाट विपक्षीलाई पठाएको भनिएको मिति २०५६।३।६ को पत्रबाट हदम्याद शुरु भएको मान्न मिल्ने होइन । प्रस्तुत मुद्दामा नमस्ते ट्राभल्स कम्पनी लिमिटेड र म महेन्द्रमान श्रेष्ठलाई विपक्षी बनाएको छ । सीमित दायित्व भएको कम्पनी कानूनी व्यक्ति भएकोमा मलाई छुट्टै विपक्षी बनाउन मिल्ने होइन भनी प्रतिउत्तरमा मैले लिएको जिकीरलाई ख्यालै नगरी म समेतका प्रतिवादीहरूबाट विपक्षीले रु.२३,५८,६८५।भराई लिन पाउने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको फैसला बदर गरी शुरु काठमाडौं जिल्ला अदालतबाट भएको फैसला कायम गरिपाऊँ भन्ने समेत व्यहोराको नमस्ते ट्राभल्स प्रा.लि.का अध्यक्ष महेन्द्रमान श्रेष्ठको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र 

मैले फिराद पत्रमा मूल धनको हकमा यू.एस. डलर ४१,८९५।को भरी भराउ हुँदाको दिनमा निर्धारित दरमा भराई पाऊँ भनी दावी लिएकोमा पुनरावेदन अदालत पाटनले उक्त दावीलाई विचारै नगरी फिराद गर्दाको अवस्थामा कायम रहेको सटही दरअनुसार रु.२३,५८,६८५।मात्र भरी पाउने ठहर्‍याएको अवस्था छ । फिराद पत्रमा दावी गरिएको प्रचलित कानूनबमोजिमको १० प्रतिशत व्याज समेत मैले पाउनु पर्नेमा सो रकम तथा क्षतिपूर्ति बापत दावी गरिएको रु.१,६३,०००।रकम अदालतले अस्वीकार गरेको अवस्था छ । पुनरावेदन अदालत पाटनले विपक्षीहरूबाट रु.२३,५८,६८५।भराई लिने ठहर्‍याई व्याज र क्षतिपूर्ति तर्फको वादी दावी एवं पुनरावेदन जिकीर पुग्न नसक्ने भनी मिति २०६३।५।१९ मा गरेको फैसला चित्त नबुझेकोले पुनरावेदन पत्र प्रस्तुत गरेको छु । मेरो माग दावीबमोजिम व्याज तथा क्षतिपूर्तिबापतको रकम समेत दिलाई भराई पाऊँ भन्ने समेत व्यहोराको वादी ए.सी. गार्मेन्टको तर्फबाट ऐ. का प्रोपाइटर अशोककुमार अग्रवालले यस अदालमा दायर गरेको पुनरावेदन पत्र 

यसमा दुवै पक्षको पुनरावेदन परेको देखिँदा परेको पुनरावेदनको जानकारी एक अर्कोलाई दिई नियमानुसार गरी पेश गर्नु भन्ने व्यहोराको यस अदालतको मिति २०६६।४।३२ को आदेश 

कपडाको मूल्य भुक्तानी पाएको अवस्था नहुँदा वादी पक्षले प्रतिवादीबाट भुक्तानी पाउन बाँकी देखिएको अमेरिकी डलर ४१८९५।को तत्काल प्रचलित सटही दरबमोजिम हुन आउने फिरादमा उल्लिखित नेपाली मुद्रा रु.२३,५८,६८५।पुनरावेदक वादीले प्रतिवादीबाट भराई लिन पाउने ठहर्‍याई व्याज र क्षतिपूर्तितर्फ पुनरावेदकको दावी पुग्न नसक्ने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको मिति २०६३।५।१९ को फैसला मिलेको देखिँदा अन्यथा गर्न मिलेन । यसर्थ, पुनरावेदन अदालत पाटनको फैसला सदर हुने ठहर्छ । व्याज र क्षतिपूर्ति समेत भराई पाऊँ भन्ने पुनरावेदक वादीको पुनरावेदन जिकीर र हदम्याद नाघी दायर भएको फिरादबाट इन्साफ गरेको पुनरावेदन अदालत पाटनको फैसला बदर हुनुपर्छ भन्ने पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकीर पुग्न सक्दैन भन्ने यस अदालतका माननीय न्यायाधीश श्री गौरी ढकालको राय 

हदम्याद नाघी दायर भएको प्रस्तुत फिराद दावीबाट तथ्यभित्र प्रवेश गरी ठहर इन्साफ गर्न मिल्ने देखिन आएन । हदम्याद नाघी परेको फिराद दावी खारेज गर्नुपर्नेमा नगरी तथ्यभित्र प्रवेश गरी दावीबमोजिमको रकम वादीले प्रतिवादीबाट भराई लिन पाउने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको मिति २०६३।५।१९ को फैसला नमिलेकाले उल्टी भई फिराद दावी खारेज गर्ने गरेको शुरु जिल्ला अदालतको फैसला सदर हुन्छ । वादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पाटनको फैसला सदर गर्ने भनी माननीय न्यायाधीश श्री गौरी ढकालको फरक राय रहेको र उक्त रायसँग सहमत हुन नसकेको हुँदा प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(क) बमोजिम पूर्ण इजलासमा पेश गर्नू भन्ने यस अदालतका माननीय न्यायाधीश श्री ताहिरअली अन्सारीको राय 

नियमबमोजिम पेशी सूचीमा चढी निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भु थापा एवं विद्वान अधिवक्ताहरू श्री तिलक विक्रम पाण्डे, श्री शिव रिजाल, श्री योगेन्द्र बस्नेत र श्री डिल्लीराज भण्डारीले प्रस्तुत विवादमा मिति २०५५।४।२० मा ए.सी. गार्मेन्टले नमस्ते ट्राभल्सलाई लेखेको पत्रबाट वा मिति २०५६।३।६ मा नमस्ते ट्राभल्सले ए.सी. गार्मेन्टलाई लेखेको पत्रबाट मुद्दा गर्नुपर्ने कारण सिर्जना भएको मान्ने भनी निरोपण हुनु पर्ने विषय विद्यमान छ । नमस्ते ट्राभल्सले हाम्रो पक्षलाई दिएको मिति २०५६।३।६ को पत्रबाट निजले दायित्व इन्कार गरेको हुँदा सोही मितिबाट मुद्दा गर्नुपर्ने कारण खडा भएको मान्नु पर्दछ । ए.सी. गार्मेन्टले दिएको २०५५।४।२० को पत्र केवल कानूनी सूचना हो । त्यसबाट मुद्दा गर्नुपर्ने कारण सिर्जना भएको मान्न सकिँदैन । त्यस्तो सूचनाले हदम्याद सिर्जना वा समाप्त गर्ने होइन । अदालत प्रवेश नगरौं भन्ने उद्देश्यले दिएको सूचना इन्कार गरेपछि नै मुद्दा गर्नुपर्ने कारण सिर्जना हुन्छ । त्यसैले यस निवेदनमा प्रतिवादीले दिएको मिति २०५६।३।६ को पत्रबाटै मुद्दा गर्नुपर्ने कारण उत्पन्न भै सोको हदम्यादभित्र दायर भएको फिरादपत्र बमोजिमको रकम भराई पाउने ठहर्‍याउनु पर्नेमा हदम्यादको आधारमा फिराद खारेज गर्ने गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला उल्टी गरी फिराद दावीबमोजिम रकम भराई पाउने ठहर्‍याएको संयुक्त इजलासका माननीय न्यायाधीश श्री गौरी ढकालको राय मनासिब भएकोले सोही राय कायम रहनुपर्दछ भनी बहस गर्नुभयो ।      

पुनरावेदक प्रतिवादीको तर्फबाट विद्वान अधिवक्ताद्वय श्री लोकभक्त राणा र श्री श्यामकृष्ण श्रेष्ठले वादी प्रतिवादीबीच सामान ढुवानी सम्बन्धमा भएको सम्झौताको प्रकृतिअनुसार यस विवादमा मुद्दा गर्नुपर्ने कारण परेको मिति कायम गरिनु पर्दछ । यसरी हेर्दा वादी ए.सी. गार्मेन्टले मिति २०५५।४।२० मा नमस्ते ट्राभल्सलाई लेखेको पत्रबाटै सो गार्मेन्टको सामानहरू सम्बन्धित स्थानसम्म नपुर्‍याएको थाहा थियो भन्ने देखिन्छ । सामान नपुर्‍याएको थाहा भएपछि सम्झौता उल्लंघन भएको मान्नु पर्दछ । यसरी दुई पक्षबीच भएको सम्झौता बमोजिम कार्य नगरी कुनै एक पक्षबाट त्यसको शर्त उल्लंघन भएपछि सो कुरा थाहा भएपछि नै मुद्दा गर्नुपर्ने कारण उत्पन्न हुन्छ । त्यसैले प्रस्तुत मुद्दामा वादी ए.सी. गार्मेन्टले प्रतिवादी नमस्ते ट्राभल्सलाई मिति २०५४।४।२० मा लेखेको पत्रको मितिअनुसार नै हदम्याद कायम हुन्छ । सो मितिबाट करार ऐन, २०२३ को दफा १८(२) को देहाय (ग) बमोजिम तीन महिनाभित्र फिराद परेको अवस्था छैन । हदम्यादविहीन फिराद दावीबाट करार बमोजिमको रकम भराई पाउन नसक्ने हुँदा हदम्यादको अभावमा फिराद दावी खारेज गर्ने गरेको शुरु अदालतको फैसला मनासिव हुँदा पुनरावेदन अदालतले वादी दावीबमोजिम रकम भराई दिने गरी गरेको फैसला नमिलेको हुँदा सो फैसला उल्टी गरी शुरुको फैसला सदर गर्ने गरी संयुक्त इजलासका माननीय न्यायाधीश श्री ताहिरअली अन्सारीले व्यक्त गर्नु भएको राय कायम हुनु पर्दछ भन्ने समेत बहस गर्नुभयो 

विद्वान कानून व्यवसायीहरूले गर्नु भएको वहस जिकीर सुनी मिसिल अध्ययन गरी निर्णय तर्फ विचार गर्दा प्रस्तुत विवादमा मूलतः निम्न प्रश्नहरूको निरोपण गर्नुपर्ने देखिन आयो :

 

(क)   प्रस्तुत विवादमा मुद्दा गर्नुपर्ने कारण परेको मिति कुन कायम हुने हो ?

(ख)   वादीको फिरादपत्र हदम्याद भित्र परेको छ , छैन ?

(ग)   पुनरावेदन अदालतले गरेको फैसला मिले नमिलेको के हो ?

 

२. उल्लिखित निरोपण गर्नुपर्ने मूलभूत प्रश्नहरूको सम्बन्धमा विचार गर्नु पूर्व प्रस्तुत विवादको तथ्यगत कुराहरूको अवलोकन गर्नु वाञ्छनीय देखिएको छ । सो सम्बन्धमा हेर्दा वादी ए.सी. गार्मेन्टबाट उत्पादित सामानहरू प्रतिवादी नमस्ते ट्राभल्स प्रा.लि. मार्फत् निर्यात गर्ने सिलसिलामा ACG/०५,०६,०७,०८, १३÷९७ का इन्भ्वाइस अन्तर्गत अमेरिकी डलर ४१,८९५। बराबरका सामानहरू संयुक्त राज्य अमेरिकाको न्यूयोर्क स्थित एप्परल्स विन्ड्स नामक कम्पनीलाई बुझाई रीतपूर्वक Freight cargo Receipt प्राप्त गरेको र सो Receipt मा सामान प्राप्त गर्ने पक्षको रुपमा एप्परल्स विंण्डसको बैंकर चेज म्यानहटन बैंकलाई भुक्तानी दिने व्यहोरा उल्लेख गरिएकोमा सो Freight cargo Receipt मा उल्लिखित व्यहोराविपरीत प्रतिवादीले Bill of Lading मा सामान प्राप्त गर्ने पक्ष चेज म्यानहटन बैंकको सट्टा एप्परल्स विंण्डसको नाम राखी सामानहरू बुझाएको हुँदा सो सामान निर्यात गरेबापत प्राप्त हुने सामानको मूल्य प्राप्त नभएको हुँदा सो बमोजिमको हानि नोक्सानी भएको विगो रकम अर्थात् अमेरिकी डलर ४१,८९५। को परिवत्र्य ने.रु.२३,५८,६८५। तथा सोबाट पर्न गएको क्षतिपूर्ति रु.१,६३,०००। तथा विगोबापतको ब्याज रु.४,०२,०२८। समेत प्रतिवादीबाट भराई पाऊँ भनी करार ऐन, २०२३ को दफा १८(२) को (ग) को हदम्याद देखाई फिराद दर्ता भएको देखिन्छ 

३. उल्लिखित कारोवारको सन्दर्भमा प्रतिवादीको कानून व्यवसायीले वादी ए.सी. गार्मेन्टलाई मिति २०५४।१२।२२ मा पत्र पठाएको र सो पत्रलाई समर्थन गर्दै प्रतिवादी कम्पनीले मिति २०५५।४।२० मा नै पत्र पठाई वादीको सामानको भुक्तानीको बारेमा जानकारी गराई सकेको हुँदा त्यस उपर चित्त नबुझेको भए सोही मितिबाट हदम्याद भित्र फिराद दिनुपर्नेमा प्रतिवादीले वादीलाई मिति २०५६।३।६ मा लेखेको भनिएको पत्रका आधारमा हदम्याद समाई फिराद दर्ता गराएको हुँदा प्रस्तुत फिराद दावी नै हदम्यादविहीन भई खारेजभागी रहेको भन्ने प्रतिउत्तर जिकीर लिइएको देखियो 

४. उल्लिखित वस्तुतथ्यको रोहमा प्रस्तुत विवादमा निरोण गर्नुपर्ने मूलभूत पहिलो प्रश्नतर्फ विचार गर्दा वादी पक्षबाट उत्पादित सामान प्रतिवादीमार्फत् निर्यात गर्ने गरी कारोवार भएको भन्नेमा विवाद देखिएन । सोही बमोजिम सामान निर्यात गर्ने क्रममा Invoice No. ACG 05, 06, 07, 13 मार्फत् पठाइएका सामानहरू खरीदकर्ता कम्पनी Apparel Winds को बैंकर Chase Manhotan Bank मा भुक्तानी पठाउनु पर्नेमा खरीदकर्ता कम्पनीलाई सिधै पठाएको कारण सो बैंक मार्फत् प्राप्त हुनुपर्ने सामानको मूल्य सहितको रकम हानि नोक्सानी भएको कारण देखाई प्रतिवादी नमस्ते ट्राभल्सउपर वादीले सामान निर्यात गरेबापतको रकम समेतमा दावी गरेको देखिन्छ । सो सम्बन्धमा प्रतिवादी नमस्ते ट्राभल्सलाई वादी पक्षको कानून व्यवसायी सुशीलकुमार पन्त, जुरिष्ट एण्ड कम्पनी प्रा.लि. काठमाडौंको नामबाट "विभिन्न इन्भ्वाईसहरू मार्फत् एप्पेरल्स विण्ड्सलाई बुझाउनु पर्ने सामानहरूको Consignee परिवर्तन गरी सामान आयातकर्ता पार्टीले बैंकबाट रकम नतिरी सामान छुटाई लिएको र सो रकम हालसम्म प्राप्त नभएको कारण उक्त निर्यातको रकम उपलव्ध गराउनु अन्यथा राजश्व अनुसन्धान विभाग समेतमा उजूर गर्न वाध्य हुनेू भनी २०५४।१२।२२ मा पत्राचार गरेको देखिन्छ । तत्पश्चात् वादी पक्षबाटै मिति २०५५।४।२० मा पत्र लेखी मिति २०५४।१२।२२ को पत्रको सम्बन्धमा कुनै प्रतिक्रिया नजनाएको हुँदा विदेशी मुद्राको अपचलन गरेको महशुस गरी तपाई माथि आवश्यक कानूनी कारवाहीतर्फ जाने व्यहोरा यसै पत्रबाट अवलगत गराउँछौ भनी प्रतिवादी पक्षलाई जानकारी गराएको मिसिलबाट देखिन्छ । त्यसरी वादी ए.सी. गार्मेन्टस स्वयंका तर्फबाट लेखिएको मिति २०५५।४।२० को पत्रमा प्रतिवादीबाट पाउनु पर्ने रकम दिनु अन्यथा कानूनी कारवाही गर्ने भन्ने वाक्य उल्लेख नगरी आवश्यक कानूनी कारवाहीतर्फ जाने व्यहोरा यसैपत्रबाट अवगत गराउँदछौं भनिएको देखिन्छ । यसरी वादीले प्रतिवादीलाई लेखेको उक्त २०५५।४।२० को पत्रमा प्रतिवादीउपर कानूनी कारवाही तर्फ जाने भनेको देखिएकोले सो मितिमा नै वादी पक्षले कानूनी उपचारको मार्ग अवलम्बन गर्ने भनी प्रतिवादीलाई जानकारी गराएको स्थिति देखिन आयो 

५. वादी पक्षबाट प्रेषित सो पत्रको विषयमा प्रतिवादी पक्षबाट मिति २०५६।३।६ मा वादी पक्षलाई पत्राचार गरी तपाईले भनेबमोजिम सामान बुझाएको हुँदा अनावश्यक आरोप लगाई यस कम्पनीको प्रतिष्ठामा दखल नदिनु भन्ने जानकारी गराएको देखिन्छ । यसरी प्रस्तुत विवादमा वादी र प्रतिवादी पक्षबीच सामान निर्यात गर्ने क्रममा पठाइएका सामानहरूको विषयलाई लिएर भएको उपर्युक्त पत्रहरू हेर्दा वादी पक्षले मिति २०५४।४।२० मा लेखेको पत्रमा नै प्रतिवादीउपर कानूनी कारवाही चलाउने विषयमा प्रतिवादी पक्षलाई जानकारी गराएको देखिँदा विवादित सामान निर्यात गरेको रकमका सम्बन्धमा प्रतिवादीले दायित्व नलिएको भन्ने कुरा वादी पक्षलाई सोही मिति २०५५।४।२० मा नै थाहा भएको भन्ने देखिन आउँछ 

६. करार ऐन, २०२३ को दफा १८ को उपदफा (२) को देहाय (ग) मा "यस ऐन अन्तर्गतको अन्य कुनै दावीको हकमा मुद्दा गर्नुपर्ने कारण परेको मितिले तीन महिनाभित्र नालिस वा फिराद दिनु पर्नेू" भनी करारसम्बन्धी विवादमा सीमित हदम्यादको व्यवस्था भएको देखिन्छ । सो कानूनी व्यवस्थामा प्रयुक्त मुद्दा गर्नुपर्ने कारण परेको मिति भन्ने बाक्यांशले करार सम्बन्धी विवादको वस्तु तथ्यको सूक्ष्म अवलोकन गर्दा वास्तविक रुपमा नै करारका पक्षहरूबीच मुद्दा गर्नुपर्ने कारण उत्पन्न भएको मिति यकीन गर्नुपर्ने भन्ने कुरालाई औंल्याएको देखिन्छ । यसरी हेर्दा प्रस्तुत मुद्दाका दुईं पक्ष बीच Freight cargo Receipt का आधारमा पाउनु पर्ने निर्यातित सामानको मूल्य सम्बन्धित पक्षले भुक्तानी नपठाएको कारणबाट वादी प्रतिवादीबीच विवादको सिर्जना भएको र सो सम्बन्धमा दुवै पक्ष बीच पटकपटक पत्राचार समेत भएको देखिन्छ । सोही सिलसिलामा मिति २०५४।१२।२२ मा वादीको कानून व्यवसायीबाट निर्यात गरिएको सामानको भुक्तानी रकम वादीलाई उपलव्ध गराउन र सो नगराएमा राजश्व अनुसन्धान विभागमा समेत उजूर गर्न बाध्य हुने कुरा उल्लेख गर्दै प्रतिवादीलाई पत्र लेखिएको र सो पत्र समेतको स्मरण गराउँदै पुनः मिति २०५५।४।२० मा वादी कम्पनी स्वंयले नै तपाईमाथि आवश्यक कानूनी कारवाहीतर्फ जाने व्यहोरा यसै पत्रबाट अवगत गराउँदछौं भनी भुक्तानी पाउनु पर्ने रकमका सम्बन्धमा प्रतिवादीउपर कानूनी उपचारमा जाने कुरा स्पष्ट रुपमा जानकारी गराएको देखिन्छ । त्यसै कारण प्रस्तुत विवादमा उक्त मिति २०५५।४।२० मा वादी पक्षले लेखेको पत्रबाटै वादीको हकमा प्रतिवादीउपर मुद्दा गर्नुपर्ने कारण परेको भन्ने देखिन आउँछ 

७. करार ऐन, २०२३ को दफा १८(२) को देहाय (ग) मा निर्दिष्ट भएको हदम्याद अर्थात् मुद्दा गर्नुपर्ने कारण परेको मितिबाट तीन महिनाभित्र प्रस्तुत फिराद दर्ता भए नभएको सम्बन्धमा हेर्दा वादीले प्रस्तुत फिरादपत्र मिति २०५६।६।१७ मा दर्ता गराएको देखिन्छ । त्यसरी फिराद दर्ता गराउँदा प्रतिवादीले वादीलाई लेखेको मिति २०५६।३।६ को पत्रको आधारमा मुद्दा गर्नुपर्ने कारण परेको भन्दै सो पत्र २०५६।३।१६ मा प्राप्त भएको भनी उल्लेख गरेको देखिन्छ । यथार्थमा वादी प्रतिवादीबीच मुद्दा गर्नुपर्ने कारण मिति २०५५।४।२० मा वादी कम्पनी स्वयंले लेखेको पत्रको मिति मै परिसकेको सन्दर्भमा सो मितिबाट उल्लिखित करार ऐन, २०२३ को दफा १८(२)(ग) ले निर्दिष्ट गरेको ३ महिना नघाई् अर्थात् मुद्दा गर्नुपर्ने कारण परेको मितिबाट १ वर्ष १ महिना १७ दिनको दिन फिरादपत्र दर्ता गराएको देखिन आयो 

८. प्रचलित कानूनमा सम्बद्ध विषयको विवादमा नालिस वा उजूर गर्न भनी कुनै निश्चित हदम्यादको व्यवस्था भएकोमा सो कानूनअन्तर्गत कानूनी उपचार खोजी अदालतसमक्ष प्रवेश गर्ने पक्षले कानूनद्वारा निर्दिष्ट सो हदम्यादको अनुशरण गरेर मात्रै कानूनी उपचार खोज्नु पर्दछ । अदालतले पनि त्यस्तो विवादमा सर्वप्रथम हदम्यादसम्बन्धी प्रश्नलाई निरोपण गरी त्यस्तो फिराद सो हदम्यादभित्र दायर भए नभएको कुरा यकीन गरी हदम्याद भित्रै दर्ता भएको देखिन आएमा मात्र विवादको तथ्यभित्र प्रवेश गरी सम्बद्ध कानून र प्रमाणका आधारमा न्याय निरोपण गर्नुपर्छ । त्यसैले हदम्यादको विषय मुद्दाको कुनै पक्षले आफ्नो इच्छाअनुकूल संकुचित वा विस्तार गर्ने विषय नभई यो विशुद्ध विधायिकी कानूनद्वारा निर्दिष्ट भई प्राप्त हुने कानूनी हक हो । यस्तो हकलाई कुनै पक्षको अनुकूल वा प्रतिकूल हुने गरी व्याख्या गर्न पनि मिल्दैन । कानूनमा हदम्यादको विषय जे जुन रुपमा र जसरी प्रयुक्त भएको छ , अदालतले पनि सो सम्बन्धी कानूनी प्रावधानको व्याख्या कानूनी शब्दको अर्थ र उद्देश्यअनुरूप मात्रै गर्नुपर्ने हुन्छ । यो कानून व्याख्याको सर्वमान्य सिद्धान्त नै हो 

९. प्रस्तुत विवादमा वादीको फिरादपत्र करार ऐन, २०२३ को दफा १८ (२) (ग) को कानूनी व्यवस्थाको विपरीत मुद्दा गर्नुपर्ने कारण परेको मितिले तीन महिना नघाई दर्ता भएको अवस्था हुँदा प्रस्तुत फिरादपत्र हदम्यादविहीन रहेको पुष्टि हुन आएको छ । तसर्थ हदम्याद नाघी दायर भएको प्रस्तुत फिरादबाट वादी प्रतिवादीबीच सिर्जित अन्य तथ्यगत विवादको विषयमा प्रवेश गर्न र सो सम्बन्धमा अदालतले ठहर निर्णय गर्नु कानून र न्यायसम्मत देखिन आउँदैन । अतः शुरुले हदम्यादको अभावमा फिराद दावी खारेज गर्ने गरेको फैसला उल्टी गरी तथ्यभित्र प्रवेश गरी इन्साफ गरेको पुनरावेदन अदालत पाटनको मिति २०६३।५।११ को फैसला मिलेको नदेखिँदा सो फैसला उल्टी गरी शुरुको फैसला सदर हुने ठहर्‍याएको यस अदालत संयुक्त इजलासका माननीय न्यायाधीश श्री ताहिर अली अन्सारीको राय मनासिव हुँदा सोही राय कायम हुने ठहर्छ । अरुमा तपसीलबमोजिम गर्नू 

 

तपसील

माथि इन्साफ खण्डमा उल्लेख भए बमोजिम पुनरावेदन अदालतको फैसला उल्टी गरी शुरुले वादी दावी खारेज गर्ने गरेको फैसला सदर हुने ठहर्‍याएको यस अदालत संयुक्त इजलासका माननीय न्यायाधीश श्री ताहिरअली अन्सारीको राय कायम हुने ठहरेको हुँदा पुनरावेदन अदालत पाटनको फैसलाको तपसील खण्डको देहाय (१) बमोजिमको लगत कायम नरहने हुँदा सो लगत कट्टा गर्नु भनी शुरुमा लेखी पठाउनू ...             १

प्रतिवादीले यस अदालतमा पुनरावेदन दर्ता गर्दा र.नं. ५९५ र ५९६ बाट राखेको जम्मा धरौटी कोर्टफि रु.३७९६५। फिर्ता पाऊँ भनी ऐनका म्यादभित्र दरखास्त दिए प्रतिवादीलाई फिर्ता दिनु भनी यस अदालतको लेखा शाखालाई जानकारी दिनू –––

प्रतिवादीले यस अदालतमा पुनरावेदन गर्दा र.नं. २२८१६ र २२८१८ बाट रु.२४७५।६० का दरले राखेको जम्मा थप कोर्टफि रु.४९५१।२० वादीबाट भराई पाउने हुँदा उक्त कोर्टफि भराई पाऊँ भनी वादीको जेथा देखाई ऐनका म्यादभित्र प्रतिवादीले दरखास्त दिए वादीबाट प्रतिवादीलाई भराई दिन लगत राख्नु भनी शुरुमा लेखी पठाउनू ––            

दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू –––––––

उक्त रायमा हामी सहमत छौं 

न्या.वैद्यनाथ उपाध्याय

न्या.डा.भरतबहादुर कार्की

संवत् २०६८ साल मंसिर २२ गते रोज ५ शुभम्––

 

इजलास अधिकृतः विदुर कोइराला

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु