निर्णय नं. ७९२७ - फैसला नामसारी दर्ता बदर

निर्णय नं.७९२७ ने.का.प. २०६५ अङ्क २
सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री केदारप्रसाद गिरी
माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
संवत् २०६० सालको दे.पु.नं.....९२४९
फैसला मितिः२०६४।११।१९।१
मुद्दा :– फैसला नामसारी दर्ता बदर ।
पुनरावेदक/वादीः ताप्लेजुङ जिल्ला, फूङलिङ गा.वि.स.वडा नं ४ घर भई हाल झापा जिल्ला भद्रपुर न.पा. वडा नं. ६ बस्ने लक्ष्मी देवी चापागाई
विरुद्ध
प्रत्यर्थी/प्रतिवादीः ताप्लेजुङ जिल्ला, फूङलिङ गा.वि.स.वडा नं.४ बस्ने नारायण सिं मादेन समेत
शुरु निर्णय गर्नेः
जि.न्या.श्री प्रकाशचन्द्र गजुरेल
पुनरावेदन निर्णय गर्नेः—
मा.न्या. श्री भिमेन्द्रबहादुर कार्की
मा.न्या.श्री दुर्गाप्रसाद उप्रेती
§ अ.वं. ८६ नं. को सहारा लिई अदालतमा प्रवेश गर्ने व्यक्ति अघि चलेको मुद्दाको पक्ष विपक्ष नभई कुनै तेश्रो पक्ष रहेको हुनुपर्ने तत्वलाई सो कानूनी व्यवस्थाले मूल रुपमा अंगिकार गरेको देखिने ।
§ कुनै दुई पक्ष मिली तेश्रो पक्षको हक जाने गरी फैसला समेत गराएको अवस्थामा प्रभावित पक्षलाई थाहा नहुने भएको कारण आफूले थाहा पाएपछि आफ्नो गुमेको हक कायम गराउन अदालत प्रवेश गर्न पाउने कानूनी व्यवस्था स्वयंमा बोधगम्य र स्पष्ट हुँदा त्यसमा अलमल गरिरहनु नपर्ने ।
(प्रकरण नं.७)
§ एकासगोलमा रहेकी आमा उपर परेको मुद्दा हारजित भई फैसला भएपछि सगोलमा रहकै नावालक छोराहरुले उमेर पुगेपछि अ.वं. ८६ नं. को आधारमा मुद्दा गर्दै जान पाउने हो भने विवादको निरुपण कहिल्यै अन्त नहुने समेत भई मुद्दाको अन्तिम हुने सिद्धान्तको प्रतिकूल हुने हुँदा घरको मुख्यले गरेको मुद्दामा अ.वं. ८६ नं. आर्कषित नहुने ।
(प्रकरण नं.८)
§ एकासगोलको पति प्रतिवादी भई चलेको मुद्दामा अ.वं. ११० नं. विपरीत म्याद तामेल भई प्रतिवाद गर्न नपाएकोले फैसला बदर गरिपाऊँ भनी अ.वं. २०८ नं.को कानुनी व्यवस्थालाई परित्याग गरी अ.वं. ८६ नं. अंगाली आएको मुद्दाको फिराद खारेज गर्नुपर्ने ।
(प्रकरण नं.९)
पुनरावेदक वादी तर्फवाटःविद्वान वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी
प्रत्यर्थी प्रतिवादी तर्फवाटः
अवलम्वित नजीरः ने.का.प.२०५८, अंक ७, ८, निर्णय नं. ७०२२, पृष्ठ ४४०
फैसला
न्या.रामप्रसाद श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावेदन अदालत इलामको मिति २०६०।५।२५ को फैसला उपर चित्त नबुझाई पुनरावेदक वादीको यस अदालत समक्ष पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :–
यसमा १९५० साल जाँचमा थुम ताप्लेजुङ्ग मेल्लुङ्गका राइ सु. श्याम्राहाङ लिम्बुको नाउँमा किपटीया तिरामा दाखेल दर्ता भएको जग्गामध्ये मेरै वारी साँधदेखि पूर्व भनेको दाता हर्षप्रसादको साँधदेखि पूर्व, सावोकपा देखि तोक्मा आउने जाने बाटोदेखि पश्चिम, ठाडो डाँडा उत्तर, कृष्णप्रसादको साँधदेखि दक्षिण यति (चार) ४ किल्ला भित्रको फुङलिङ गा.वि.स.वार्ड नं. ४ मा पर्ने लुते आहाल माथिका आइतवारे पाखो वारी नामले चिन्ने किपट गोश्वारी जग्गा दर्तावालाले भोगी आउँदैमा निजका छोरा नाति समेत मरी प्रतिवादी नारायण सिंहका पिता हर्षप्रसादमा एकलौटी जग्गाको हक आई भूमि सम्बन्धी ऐन, २०२१ अनुसार १।७।१४ नं. लगत क्रम संख्या १८ मा भरेको उक्त जग्गा जग्गाधनी हर्षप्रसादले आजैका मितिदेखि बकस जानी खानु भनी मेरा पति देवीप्रसादलाई २०४०।१२।२९ गते प्रतिवादी नारायण सिंह समेत अन्तर साक्षी बसी ऐ मितिमा मा.पो.का. ताप्लेजुङ्गबाट र.नं. १७२२ मा पारीत भई स्व. पति देवीप्रसाद र मैले भागी आउँदैमा उक्त जग्गा मध्ये दक्षिण तर्फ ४५ हात जग्गा आफ्नै सुफत राखी बाँकी उत्तर तर्फको जग्गा प्र.नारायण सिंलाई २०४४।३।२४ मा मेरो पती स्व. देवीप्रसादले राजीनामा पास गरी दिएपछि बाँकी ४५ हात जग्गा सर्भे नापीका समयमा फुङलिङ गा.वि.स.वार्ड नं. ४ कि.नं. १०८ र ३४२ कायम गराई २ कित्ता पारी स्व.पति देवीप्रसादको नाउँमा दर्ता भई ज.ध. प्रमाण पूर्जा प्राप्त जग्गा फुङलिङ गा.वि.स.वार्ड नं. २ बस्ने मेरै मानिस बुद्धिसागर भट्टराईलाई हेरचार रेखदेख गरीदिन भनी हाम्रो सपरिवारै जिल्ला झापा भद्रपुर नगरपालिका वार्ड नं. ६ मा गई बसेकोमा प्रतिवादीहरु मिली मेरा पति देवीप्रसाद उपर उक्त कि.नं. १०८, ३४२ को जग्गालाई मेरो जग्गा हो भनी दर्ता गरेछन् । सो दर्ता बदर गरी मेरो नाउँमा दर्ता गरिपाऊँ भन्ने २०५६।४।१७ गते फिराद दायर गरी सम्मानीत अदालतबाट मेरा पतिको नाममा जारी भएको तामेली म्याद हाम्रो कुनै घर परिवार नभएको वतनमा घर ढोकामा टांस गरी दिएको भनी २०५६।४।२५ मा जालसाज पूर्ण तवरले म्याद तामेल गरी हामीहरुको प्रतिउत्तर फिराउने हकाधिकारबाट नै बन्चित गरी २०५६।४।२५ गते तामेल भएको ३० दिने म्याद भित्र प्रतिवादीले प्रतिउत्तर नै नदिई गुजारी बसेको देखिनाले वादी दावी बमोजिम कि.नं. १०८,३४२ को जग्गाको प्रतिवादीको नाममा भएको दर्ता बदर भई वादीका नाउँमा दर्ता कायम हुने ठहरी २०५७।२।१० गते एकतर्फी भएको फैसला अनुसार उक्त जग्गा प्र. नारायणका नाउँमा २०५७।३।१३ गते नामसारी गरी उक्त जग्गा मध्ये कि.नं. १०८ को जग्गा प्र. विष्णुमाया साम्सोहांङबाट रु. १,००,०००।– लिए दिए जस्तो गरी २०५७।७।२ गते जालसाजी राजीनामा खडा गरी सोही मितिमा र.नं. १७३ बाट पारीत भई दा.खा. गरी ज.ध. प्रमाण पूर्जा समेत प्राप्त गरेकोले २०५७।२।१० गतेको फैसला र २०५७।७।२ गते जालसाजी पूर्ण राजीनामा लिखत समेतका सम्पूर्ण कागजातहरु बदर गरी उक्त कि.नं. १०८ र ३४२ को जग्गाहरु मेरो नाउँमा दर्ता गरी मबाट रहेको कोर्ट फि दस्तुर समेत प्र.हरुबाट दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र ।
फिरादीको माग दावीको जग्गा विपक्षीले मिति २०४४।३।२४ गते म प्रतिवादीलाई राजीनामा गरी दिएको ४ किल्ला भित्रको जग्गा हो, उक्त जग्गालाई विपक्षीले कि.नं. १०८,३४२, समेत २ कित्ता कायम गरी विपक्षीका पतिको हकै नपुग्ने जग्गालाई नापनक्सा गरी बिक्री वितरण गर्नलाई खोज्दा मात्र मलाई थाहा भयो । विपक्षीका पति उपर दे.नं. ७९ मिति २०५६।४।१७ गते नापी दर्ता बदर गरिपाऊँ भनी फिराद दर्ता गरी कार्वाही भई सम्मानीत अदालतबाट नक्सा हुँदा समेत विपक्षीका पतिले मलाई राजिनामा गरी दिएको ४ किल्ला भित्रको जग्गा विपक्षीले आफ्नो नाममा नाप नक्सा गरेको कुरा पुष्टि भई मिति २०५७।२।१० गते सम्मानीत अदालतबाट नापी दर्ता बदर भई मेरो नाउँमा दर्ता हुने ठहरी फैसला भएको हो । यसरी मेरो राजीनामाको आधारमा फैसला बमोजिम भएको दा.खा. नामसारी जग्गा धनी दर्ता प्रमाण पूर्जा सदर राखी फिरादीको झुठा माग दावीबाट अलग फार्सा गराई फैसला गराई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी नारायण सिं मादेन समेतको प्रतिउत्तर पत्र ।
यसमा वादी दावीको बाँकी राखेको ४५ हात जग्गा प्रतिवादी बाहेक अन्य कुन कुन व्यक्तिको नाममा दर्ता भएको छ ? प्रतिवादीबाट खुलाई त्यस्ता व्यक्तिलाई अ.वं. १३९ नं. बमोजिम बुझ्ने भन्ने शुरु जिल्ला अदालतको आदेश ।
यसमा वादी दावीको ४५ हात जग्गा म समेतले फुङलिङ गा.वि.स.वार्ड नं. ४ कि.नं. ११०३ मा गोश्वारी नापी दर्ता गरेको नभई साविकमा जग्गाधनी दर्तावाल यी प्रतिवादी मध्येका नारायण सिं मादेनका नाममा दर्ता रहेका फुङलिङ गा.वि.स.वार्ड नं. ४ कि.नं. १०९, ९५१, १००५ समेत ३ कित्ताबाट जम्मा ५ रोपनी ९ आना जग्गा रु. ३,९०,०००।–मा ०५१।१।२१ गते म डम्बरबहादुर, दिपेन्द्र सेन्दाङ्ग, बलबहादुर तामाङ, गितादेवी सेम्वाग र दलमाया तामाङ समेत ५ जनाले गोश्वारी दर्ता राजीनामा गरी लिएको जग्गा हो यस जग्गाभित्र वादी दावीको ४५ हात भनेको जग्गा पर्दैन भन्ने एकै व्यहोराको बुझिएका बलबहादुर तामाङ, दिपेन्द्र सेन्दाङ र डम्बरबहादुर राईको मिसिल संलग्न विभिन्न मितिको बयान ।
प्रतिवादी नारायण सिंह मादेनले देवीप्रसाद चापागाईबाट मिति २०४४।३।२५ मा राजिनामा पारित गरी लिंदा सावा पा बाट तोक्मा आउने बाटो उधो, पश्चिम हर्षप्रसाद मादेनको वारी साँध पूर्व म रिनीका साँध ४५ हात बाहेकको उत्तरको जग्गा सम्म पारित गरी दिएको देखिन्छ । पारित लिखतबाट वादीका स्व. पति देवीप्रसादको हकमा ४५ हात जग्गा बाँकी रहेको देखिन्छ । सो कुरालाई प्रतिवादीले स्वीकार गरेको, वादीको ४५ हात जग्गा कसले दर्ता गराएका हुन् भनी प्रतिवादीको कागज गराउँदा बलबहादुर तामाङ समेतका व्यक्तिले दर्ता गराएका हुन् भन्ने जिकिर लिएतापनि बलबहादुर समेतका व्यक्तिलाई अ.वं. १३९ नं. बमोजिम बुझ्दा उक्त जग्गा नारायण सिंह मादेनबाट हामीले लिएका हौं भनी बयान गरेबाट प्रतिवादीले लिएको जिकिर पुष्टि हुन आएन । मिति २०४४।३।२५ को पारित लिखतको किल्लाले बादीको जग्गा मिति ०५८।६।२५ मा भै आएको न.नं. १५ र १६ को कि.नं. १०८ र ३४२ को जग्गा देखिएको हुँदा वादीको हकको कि.नं. १०८ र ३४२ को जग्गालाई नापी निर्णय बदर गरिपाऊँ भनी प्र. नारायण सिंह मादेनले मुद्दा दायर गरी २०५७।२।१० मा नापी निर्णय बदर हुने ठहरी यसै अदालतबाट फैसला भएको, सो फैसला अनुसार भएको दर्ता र मिति २०५७।७।२ मा नारायण सिंह मादेनले विष्णुमायालाई कि.नं. १०८ को जग्गा पारित गरी दिएको लिखत र दा.खा. नामसारी कानून संगत नदेखिंदा बदर भै कि.नं. १०८ र ३४२ को जग्गा वादीको नाममा दर्ता गराई लिन पाउने ठहर्छ भन्ने समेत शुरु ताप्लेजुङ्ग जिल्ला अदालतको मिति २०५९।२।२१ को फैसला ।
विपक्षीले मेरो राजीनामाको ४ किल्ला भित्रको जग्गा आफैं राजीनामा गरी दिने र आफैं आफ्ना नाममा दुषित दर्ता गर्ने गरी नापी दर्ता गरे उपर दे.नं. ७९ मा विपक्षी उपर फिराद दर्ता गरी कार्वाही हुने क्रममा विपक्षीको ठेगानामा अ.वं. ११० नं.को रीतपूर्वक तामेल भएकोमा म्याद जालसाज गरे भनी छुट्टै जालसाजमा उजूर गर्ने क्रममा म्याद तामेल गर्ने तामेल्दार उपर उजूर गर्न नसकी काल्पनिक व्यहोराको आधारमा मिति २०५७।२।१० को फैसला बदर गरिपाऊँ भनी उजूर गरी सोही आधारमा मेरो हक भोगको ठहरी भएको फैसलालाई बिना आधार प्रमाण बदर हुने ठहर्याई शुरुबाट भएको फैसला बदर गरी प्रतिउत्तर जिकिर बमोजिम गरिपाऊँ भन्ने समेत प्रतिवादीको पुनरावेदन अदालत समक्षको पुनरावेदन पत्र ।
यसै लगाउको फौ.नं.५० को जालसाज मुद्दामा झगडिया झिकाउने आदेश भएकोले प्रस्तुत मुद्दामा पनि छलफलको लागि विपक्षी झिकाई नियमानुसार गर्नु भन्ने पुनरावेदन अदालत इलामको मिति २०५९।८।१७ को आदेश ।
वादीको पति देवीप्रसाद चापागाई उपर २०५६।४।१७ मा दायर भई निजकै जीवनकालमा ०५७।२।१० मा फैसला भएको नापी निर्णय बदर मुद्दामा पतिको नाममा तामेल भएको प्रतिउत्तर गर्ने म्याद रित पूर्वक तामेल नभएकोले फैसला बदर गरिपाऊँ भनी मिति २०५७।४।२८ मा अ.वं. २०८ नं. विपरीत प्रस्तुत फैसला बदर मुद्दाको फिराद दायर गरेको देखियो । अ.वं. ८६ नं.को सुविधा मुद्दामा पक्षलाई प्राप्त हुने नभै पक्ष बाहेकका फैसलाले प्रत्यक्ष असर पार्ने व्यक्तिलाई मात्र प्राप्त हुन सक्ने अवस्था देखिन्छ । तर प्रस्तुत मुद्दाका फिरादीले निजको पतिको नाममा मुद्दा दायर भई फैसला भएपछि पतिको मृत्यु भएको कारणले हकवालाको हैसियतले प्रस्तुत मुद्दा दायर गरेको देखिंदा निजको कानूनी हैसियत मुद्दाका पक्ष सरहको हुँदा निजलाई उक्त अ.वं. ८६ नं.को सुविधा प्राप्त हुने देखिदैन । लगाउको जालसाज मुद्दामा शुरुको फैसला उल्टी भई दावी पुग्न नसक्ने ठहरी फैसला भएको आधार समेतबाट शुरुको फैसला मिलेको नदेखिंदा उल्टी हुने र वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत इलामको मिति २०६०।५।२५ को फैसला ।
पुनरावेदन अदालतको उक्त फैसलामा चित्त बुझेन । विवादित कि.नं. १०८ र ३४२ जग्गा मेरा पतिको नाम दर्ताको भएकोमा विवाद छैन । दक्षीण तर्फ ४५ हात बाँकी राखी उत्तर तर्फबाट केही जग्गा विपक्षीलाई मिति २०४४।३।२४ मा दिएकोबाट पनि सो तथ्य पुष्टि हुन्छ । विपक्षीहरुले जालसाजपूर्वक झुठो व्यहोरा लेखी अदालतबाट जारी भएको म्याद समेत घर नै नभएको अवस्थामा घर दैलामा तामेल गराएको भनी गुपचुप राखी प्रतिवाद गर्न पाउने प्राकृतिक न्यायको सिद्धान्त विपरीत फैसला गराएको प्रष्ट छ । पतिको २०५७।४।७ मा परलोक भएकोले सो जग्गा नामसारी गराउन जाँदा २०५७।७।२० मा मात्र सो कुरा जानकारी भयो । पतिको मृत्यु भई सकेकोले अ.वं. २०८ को प्रकृया अवलम्बन गर्ने अवस्था नभएकोले अ.वं. ८६ नं.को म्याद भित्रै सो फैसला बदरमा फिराद गरेको हो । उक्त मुद्दामा मलाई प्रतिवादी नबनाएको र त्यसमा मेरो कुनै संलग्नता नरहंदा नरहंदै मुद्दाको पक्ष सरह मानी अ.वं. ८६ नं.को सुविधाबाट बञ्चित गर्ने गरी भएको फैसला कानूनको गलत व्याख्या गरी भएको हुँदा सो फैसला उल्टी गरी शुरुको फैसला सदर गरिपाऊँ भन्ने समेत व्यहोराको पुनरावेदक वादीको यस अदालत समक्षको पुनरावेदन पत्र ।
यसमा फूङलिङ गा.वि.स.वडा नं.४ को कि.नं. ३४२ र १०८ को दर्ता सम्बन्धमा नापीबाट भएको निर्णय नापी शाखा ताप्लेजुङबाट झिकाई लगाउको फौ.पु.नं. ३४९७ को मुद्दा समेत साथै पेश गर्नु भन्ने समेत यस अदालतको मिति २०६३।६।२३ को आदेश ।
२. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री राधेश्याम अधिकारीले ४५ हात दक्षिण तर्फको जग्गा बाँकी राखी उत्तर तर्फको जग्गा मात्र ०४४ सालमा बिक्री गरेको हो । ०४५ सालमा घरबाट बेची वसाई सरी झापामा बसोवास गरेको व्यक्तिको फुङलिङको घर दैलामा म्याद तामेल हुन सक्ने अवस्था छैन । अ.वं. ८६ नं. मात्रै उल्लेख गरेर आएको होइन । अ.वं. २०८ फौजदारी मुद्दामा लाग्दैन । जालसाजी मुद्दाबाटै पनि जालसाजी ठहर हुन सक्ने अवस्था विद्यमान छ । प्रस्तुत मुद्दालाई मात्र एकांकी रुपमा हेरी वादी दावी नपुग्ने ठहराएको पुनरावेदन अदालतको फैसला उल्टी भई शुरु जिल्ला अदालतको इन्साफ सदर गरिनु पर्दछ भन्ने समेत वहस प्रस्तुत गर्नु भयो ।
३. पुनरावेदक तर्फका कानून व्यवसायीको उल्लिखित वहस जिकिर मनन् गरी पुनरावेदन पत्र सहितको शुरु र रेकर्ड मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालतको फैसला मिलेको छ,, छैन ? र पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो वा होइन ? भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखिन आयो ।
४. निर्णय तर्फ बिचार गर्दा मेरा पति देवीप्रसादको नाउँमा नापी दर्ता भएको कि.नं. १०८ र ३४२ को जग्गाको नापी दर्ता बदर गरिपाऊँ भनी विपक्षी नारायण सिं मादेन समेत वादी भई दिएको मुद्दामा फुङलिङबाट घरवार बेची झापा बसाई सरेका पतिको साविक घर दैलामा वेपत्ते म्याद तामेल गराई नापी दर्ता बदर हुने गरी ०५७।२।१० मा भएको फैसलाले मेरो हक गएकोले अ.वं. ८६ नं.बमोजिम सो फैसला र ०५७।७।२ को राजिनामा बदर गरिपाऊँ भन्ने समेत पुनरावेदक वादीको मुख्य फिराद दावीमा झुठा वतनमा म्याद तामेल गरेको होइन । वादीको पतिले ०४४ सालमा राजिनामा गरिदिएको ४ किल्ला भित्रको जग्गा पुनःनिजले नापी दर्ता गराएकोले सो बदरमा मेरो फिराद परी भएको फैसला बदर हुनु पर्ने होइन भन्ने समेत प्रतिउत्तर जिकिर रहेको देखिन्छ । शुरुले वादी दावी बमोजिम मिति २०५७।२।१० को फैसला र मिति २०५७।७।२ को पारित राजिनामा लिखत समेत बदर हुने ठहराएको फैसला उल्टी गरी वादी दावी नपुग्ने ठहराएको पुनरावेदन अदालतको फैसला उपर पुनरावेदक वादीको प्रस्तुत पुनरावेदन परेको पाइन्छ । विवादित जग्गा मेरा स्व.पतिका नाउँ दर्ताको भन्नेमा विवाद छैन । घरवास बिक्री गरी बसाई सरी गएको व्यक्तिको घर दैलोमा जालसाजीपूर्वक म्याद तामेल गरी एकतर्फी रुपमा गरेको फैसला बदर गरी मेरो हक कायम गर्नु पर्नेमा वादी दावी नपुग्ने ठहराएको पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण हुँदा बदर गरी शुरुको फैसला सदर गरिपाऊँ भन्ने नै पुनरावेदक वादी पक्षको मुख्य पुनरावेदन जिकिर रहेको देखिन्छ ।
५. यस्मा वादी यिनै प्रत्यर्थी नारायण सिंह मादेन र प्रतिवादी पुनरावेदक वादीको पति देवीप्रसाद चापागाई भएको संवत् २०५६ सालको दे.दा.नं. ७९ को नापी दर्ता बदर मुद्दामा पतिका नाउँमा बेपत्ते म्याद तामेल गराई ताप्लेजुङ जिल्ला अदालतबाट मिति २०५७।२।१० गते भएको फैसलाले आफ्नो हक गएकोले अ.वं. ८६ नं. बमोजिम सो फैसला तथा प्रतिवादी नारायण सिंहले अर्को प्रतिवादी विष्णुमाँयालाई मिति २०५७।७।२ मा पारित गरि दिएको राजिनामा लिखत समेत बदर गरिपाऊँ भन्ने नै वादीको फिराद दावी रहेको छ । प्रमाणमा आएको उक्त दे.दा.नं. ७९ को नापी दर्ता बदर मुद्दाको मिसिल हेर्दा मिति २०५६।४।१७ फिराद परेको देखिन्छ भने प्रतिवादी देवीप्रसाद चापागाईका नाउँको म्याद फिरादमा लेखिएको निज प्र.को वतन फुङलिङ गा.वि.स.वडा नं. ४ स्थित निजकै घर दैलोमा टांस गरिएको भन्ने देखिन आउँछ । म्याद भित्र प्रतिउत्तर नपरेपछि शुरु अदालतबाट विवादित जग्गाको सर्भे नक्सा, दर्ता श्रेस्ता समेतका सबूद प्रमाण झिकाई नाप नक्सा समेत गराई प्रतिवादीबाट वादीले २०४४।३।२५ मा पाएको पारित राजिनामाको ४ किल्ला र विवादित जग्गाको ४ किल्ला मिल्न भिड्न आएको देखिएको भन्ने समेत आधारमा दावीको कि.नं. १०८ र ३४२ को जग्गाको प्रतिवादी देवीप्रसादले गराएको नापी दर्ता बदर गरी वादी नारायण सिंहका नाउँमा दर्ता हुने ठहराई मिति २०५७।२।१० मा फैसला गरेको देखियो ।
६. उक्त फैसला भई सके पश्चात मिति २०५७।४।७ मा पति देवीप्रसादको मृत्यु भएको र मिति २०५७।७।१८ गते सो कुरा थाहा पाएको भनी मिति २०५७।७।२८ मा वादीको अ.वं. ८६ नं. अन्तर्गत प्रस्तुत मुद्दाको फिराद परेको देखिन आउँछ । मुलुकी ऐन अदालति बन्दोवस्तको २०८ नं.मा ... “समाव्हान इतलायनामा तामेल गर्दा यसै महलको ११० नं. बमोजिम रीत नपुर्याई तामेल गरेकोले थाहा पाउन नसकी प्रतिवादी दिन नपाई म्याद गुज्रेको भन्ने उजूरी साथ फैसला भएको छ महिना भित्रमा थाहा पाएको पैंतीस दिन भित्र झगडियाले प्रतिवादी लेखी दिन ल्यायो भने पहिले मिसिल सामेल रहेको तामेली समाव्हान हेरी रितपूर्वक तामेल भएको देखिन आएन भने सोही व्यहोराको पर्चा लेखी प्रतिवादी दर्ता गरी ऐन बमोजिम बुझ्नु पर्ने प्रमाण बुझी मुद्दा फैसला गर्नु पर्छ । रीत पुगी तामेल भएको देखिएमा सोही व्यहोरा खोली उजूर लाग्न सक्तैन भनी दरपीठ गरी फिर्ता दिनुपर्छ” भन्ने समेत उल्लेख भएको देखिन्छ । भै रहेको उक्त कानुनी प्रावधानबाट अ.वं. ११० नं. बमोजिम रितपूर्वक म्याद तामेल नभएको कारणबाट प्रतिउत्तर दिन नपाउने व्यक्तिले फैसला भएको छ महिना भित्र थाहा पाएको ३५ दिनभित्र सो कुराको उजूरी साथ प्रतिउत्तर दिन पाउने अवस्था विद्यमान रहेको देखिन आउँछ । मिति २०५७।२।१० मा भएको फैसला मिति २०५७।४।७ मा थाहा पाएको भनी मिति २०५७।७।२८ मा फैसला भएको छ महिना भित्रै वादीको प्रस्तुत मुद्दाको फिराद परेको देखिएबाट सो कानूनी मार्ग अवलम्बन गर्न पुनरावेदक वादीलाई कुनै वाधा अवरोध परेको भन्ने स्थिति पनि देखिदैन । पुनरावेदकको पतिको २०५७।४।७ मा मृत्यु भई सकेको कारणले पनि लोग्नेको सम्पत्तिमा हक खाने पुनरावेदक वादीलाई मुद्दा सकार गरी उजूरी साथ प्रतिउत्तर दिन कुनै कानूनले रोकेको पाइदैन । यस्तो कानूनमा व्यवस्था भई रहेको सुगम मार्ग परित्याग गरी अ.वं. २०८ नं. विपरीत पुनरावेदक वादी अ.वं.८६ नं.को सहारा लिई अदालत प्रवेश गरेको देखियो ।
७. अब, पुनरावेदक वादीलाई मुलुकी ऐन, अ.वं. ८६ नं.को कानूनी व्यवस्थाले मद्दत गर्न सक्ने नसक्ने के रहेछ भनी पुनरावेदन अदालतको ठहर बूंदाका सम्बन्धमा विश्लेषण गर्नु अघि सो कानूनी व्यवस्था दृष्टिगत गर्नु वाञ्छनीय हुने देखिन्छ । त्यस तर्फ हेर्दा मुलुकी ऐन अ.वं. ८६ नं.मा ”फैसला डिसमिस मिलापत्र खारेज भएका मुद्दामा सो फैसला डिसमिस मिलापत्र खारेज भएकाले अर्काको हक समेत जाने भएको रहेछ भने जसको हक जानेछ त्यसैले थाहा पाएका पैंतिस दिनभित्र यसमा हाम्रो पनि हक लाग्छ । यसले मात्र हारी वा डिसमिस खारेज मिलापत्र गराएकोले हाम्रो हक जाने होइन भनी आफ्नो हक जातिमा झगडियाका नाउँमा नालेस दिए इन्साफ गरी दिनु पर्छ ।” भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । अ.वं. ८६ नं.को सो कानूनी व्यवस्थाको मकसद दुई पक्ष बीच मुद्दा चली फैसला, डिसमिस, मिलापत्र वा खारेज भएको व्यहोराले कुनै अर्को पक्षको हक गएको छ भने त्यस्तो हक जाने व्यक्तिले अघिबाट भएको फैसला, डिसमिस, मिलापत्र या खारेज बदर गराउन थाहा पाएको ३५ दिनभित्र आउन पाउछ भन्ने नै रहेको देखिन्छ । अर्थात अ.वं. ८६ नं.को सहारा लिई अदालतमा प्रवेश गर्ने व्यक्ति अघि चलेको मुद्दाको पक्ष विपक्षी नभई कुनै तेश्रो पक्ष रहेको हुनु पर्ने तत्वलाई सो कानूनी व्यवस्थाले मूल रुपमा अंगिकार गरेको देखिन आउँछ । कुनै दुई पक्ष मिलि तेश्रो पक्षको हक जाने गरी फैसला समेत गराएको अवस्थामा प्रभावित पक्षलाई थाहा नहुने भएको कारण आफूले थाहा पाएपछि आफ्नो गुमेको हक कायम गराउन अदालत प्रवेश गर्न पाउने कानूनी व्यवस्था स्वयंमा बोध गम्य र स्पष्ट पनि हुँदा त्यसमा अलमल गरी रहनु पर्ने अवस्था छैन । अघि चलेको मुद्दामा नै वादी वा प्रतिवादी कुनै रुपमा संलग्न रहेको व्यक्तिले पछिबाट फैसला बदरमा आउन पाउँछ भन्ने हो भने अदालतको निर्णयले कहिल्यै पनि अन्तिमता नपाउने अवस्था रहन्छ । निर्णय अन्तिमता (finality of decisions) को सिद्धान्त समेतले यस्तो कार्यलाई रोक्दछ ।
८. प्रस्तुत विवादमा प्रत्यर्थी नारायण सिं मादेन वादी र पुनरावेदकका पति देवीप्रसाद प्रतिवादी भई चलेको नापी निर्णय बदर मुद्दाको फैसलाबाट पतिका नाउ दर्ताको जग्गाको हक गएको भनी उनै प्रतिवादीको श्रीमतिले प्रस्तुत फिराद दिएको अवस्था छ । पतिसंग छुट्टि भिन्न भै बसेकोले आफ्नो हक हिस्सा जति कायम हुनु पर्ने भन्ने दावी पनि छैन । पतिको हक खाने हकदारको रुपमा पतिको मृत्युपछि आफूलाई प्रस्तुत गर्ने पुनरावेदक वादीलाई निजको पति भन्दा पृथक हैसियतको तेस्रो पक्षका रुपमा मानी अ.वं. ८६ नं.को सुविधा पाउने अर्थ गर्ने हो भने निर्णय अन्तिमताको सिद्धान्त विपरीत हुन पुगी अ.वं. ८६ नं.को कानूनी व्यवस्थाको गलत व्याख्या कायम हुन जान्छ । यसै कानूनी व्यवस्थाको व्याख्या गर्दै पुनरावेदक वादी अशोक काजी बनीया विरुद्ध छिरिङ फिन्छोक समेत प्रत्यर्थी प्रतिवादी भएको संवत् २०५३ सालको दे.पु.ई.नं.१०३ को हक कायम निर्णय बदर मुद्दामा यस अदालतको पूर्ण इजजासबाट एकासगोलमा रहेकी आमा उपर परेको मुद्दा हारजित भई फैसला भएपछि सगोलमा रहकै नावालक छोराहरुले उमेर पुगेपछि अ.वं. ८६ नं. को आधारमा मुद्दा गर्दै जान पाउने हो भने विवादको निरुपण कहिल्यै अन्त नहुने समेत भई मुद्दाको अन्तिम हुने सिद्धान्तको प्रतिकूल हुन्छ । घरको मुख्यले गरेको मुद्दामा अ.वं. ८६ नं. आर्कषित हुँदैन भन्ने समेत सिद्धान्त (नेकाप.२०५८ अंक ७,८, पृष्ठ ४४० नि.नं. ७०२२ प्रतिपादित भएको देखिन्छ ।
९. तसर्थ उल्लिखित कानूनी व्यवस्था र प्रतिपादित सिद्धान्त समेतको विश्लेषणात्मक आधार प्रमाणबाट एकासगोलको पति प्रतिवादी भई चलेको नापी निर्णय बदर मुद्दामा अ.वं. ११० नं. विपरीत म्याद तामेल भई प्रतिवाद गर्न नपाएकोले फैसला बदर गरिपाऊँ भनी अ.वं. २०८ नं.को कानुनी व्यवस्थालाई परित्याग गरी अ.वं. ८६ नं. अंगाली आएको प्रस्तुत मुद्दाको फिराद खारेज गर्नु पर्नेमा वादी दावी पुग्ने ठहराएको शुरु ताप्लेजुङ जिल्ला अदालतको फैसला उल्टी गरी वादी दावी नपुग्ने ठहराएको पुनरावेदन अदालत इलामको मिति २०६०।५।२५ को फैसलाको परिणाममा तात्विक भिन्नता नहुने हुँदा सदर भई सो फैसला बदर गरिपाऊँ भन्ने पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न नसक्ने ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
प्र.न्या.केदारप्रसाद गिरी
इजलास अधिकृतः नारायण सुवेदी
इति संवत् २०६४ साल फागुन १९ गते रोज १ शुभम् ...............