शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७९२८ - कर्तव्यज्यान

भाग: ५० साल: २०६५ महिना: जेष्ठ अंक:

निर्णय नं.७९२८     ने.का.प. २०६५      अङ्क २

 

सर्वोच्च अदालत, संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री केदारप्रसाद गिरी

माननीय न्यायाधीश श्री तपबहादुर मगर

सम्वत् २०६२ सालको फौ.पु.नं. ३४५२

फैसला मितिः २०६४।१२।२४।१

 

मुद्दाः कर्तव्य ज्यान ।

 

पुनरावेदक वादीः विष्णुकुमारी दर्जीको जाहेरीले नेपाल सरकार

विरुद्ध

प्रत्यर्थी प्रतिवादीः वाग्लुङ जिल्ला हटिया गा.वि.स. वडा नं. ३ वस्ने मिनबहादुर दर्जी

 

अघि फैसला गर्नेः

मा.जि.न्या.श्री करुणानिधि शर्मा

पुनरावेदक फैसला गर्नेः

का.मु.मु.न्या.श्री ताहिरअलि अन्सारी

न्या.श्री गोपाल पराजुली

 

§  मानिसको मृत्युको सम्बन्धमा सो सम्बन्धी विषयगत विशेषज्ञता हासिल गरेका विशेषज्ञहरुद्वारा गरिएको परीक्षण र त्यसका आधारमा प्रस्तुत गरिएको रायको प्रामाणिक महत्व रहने ।

(प्रकरण नं.३)

§  सामान्य कुटपिटको विषयलाई मनसायसहितको आपराधिक कार्यको संज्ञा दिन नमिल्ने ।

§  ज्यान सम्बन्धीको १३(३) नं. वमोजिमको सजायको माग दावी लिने वादी पक्षले प्रतिवादीबाट ज्यान मार्ने नियतका साथ त्यस्तो आपराधिक कार्य गरेको हो भन्ने पुष्टी गर्न सक्नुपर्ने ।

§  केबल जाहेरी दरखास्त र जाहेरवालाको भनाईलाई मात्र आधार बनाएर कर्तव्य ज्यान जस्तो गम्भीर मुद्दामा निष्कर्षमा पुग्न  नहुने ।

(प्रकरण नं.४)

§  अनुमान, आशंका र सम्भावना जस्ता मनोगत आधारमा कुनै पनि आपराधिक कार्यमा मनसाय तत्वको विद्यमानता छ नै भनी निष्कर्ष निकाल्नु न्यायोचित नहुने, मनसाय तत्वको विद्यमानता प्रमाणहरुबाट नै देखिनु पर्ने र त्यस्तो प्रमाण जुटाउने दायित्व वादी पक्षले नै वहन गर्नुपर्ने ।

(प्रकरण नं.५)

 

पुनरावेदक वादी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता शरद खड्का

प्रत्यर्थी प्रतिवादी तर्फवाटः

अवलम्वित नजीरः

 

फैसला

            न्या.तपवहादुर मगरः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अनुसार यस अदालतमा दायर भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः-

मीनबहादुर दर्जीले छविलाल दर्जीलाई मिति २०६१।३।३१ गते राती घरको पिंढीमा सुतिराखेको वखत लात्ती र मुक्काले शरीरका विभिन्न भागमा हिर्काई घाइते बनाएकोमा औषधी उपचार गराउँदै गरेको वखत मिति २०६१।४।२ गते निज छविलाल दर्जीको मृत्यु भएको भन्ने समेत व्यहोराको विष्णु कुमारी दर्जीको जाहेरी दरखास्त ।

छविलाल दर्जीलाई कुटपिट गरेको भन्ने खवर पाई के भएको रहेछ भनी  छविलाल दर्जीको घरमा गई निजलाई बुझ्दा हिजो राती मीनबहादुर दर्जीले अंश सम्बन्धी विषयमा निहुँ झिकेर मलाई कुटपिट गरेकाले शरीर दुखी रहेको छ । श्वास फेर्न अप्ठ्यारो भएको छ । मलाई बचाउ, मेरो औषधी उपचार गराई देउ भनी छविलाल दर्जीले भेला जम्मा भएको मानिसलाई भनेपछि मीनबहादुर दर्जी समेतलाई सोधपुछ गर्दा  छविलाल दर्जीलाई मैले कुटपिट गरेको हो, अर्काे दिनपनि छविलाल दर्जीलाई मारीदिन्छु भनी धाक धम्की दिएको  थियो । अंश सम्बन्धी निहुँ खोजी छविलाल दर्जीलाई मीनबहादुर दर्जीले लात्ती मुक्काले प्रहार गरी घाइते बनाई सोही चोट पटकका कारणले छविलाल दर्जीको मृत्यु भएकोमा पूर्ण विश्वास लाग्छ भन्ने समेत व्यहोराको मौकामा बुझिएका शेरबहादुर दर्जी, चन्द्रबहादुर भण्डारी, टिका परियार, जितबहादुर मल्ल, शुलबहादुर दर्जी, मीनबहादुर दर्जी, कर्णबहादुर दर्जीले गरिदिएको करिव एकै मिलानको छुट्टा छुट्टै कागज ।

मादक पदार्थ सेवन गरेको वखतमा जग्गा सम्बन्धी अंशको कुरा गर्ने बिचार उठी छविलालसँग मेरो भागमा जग्गा जमिन कम परेको छ दिनुपर्छ भनी भन्दा निजले मलाई लौरो र हँसियाले प्रहार गरेकाले लौरो र हँसियां मैले निजको हातबाट खोसी फाली दिएँ । अंश माग्दा मलाई पिट्न खोजेकोले मलाई पनि रिस उठी बाजेको निधारमा तथा कोखामा समेत मुक्का प्रहार गर्दा बाजे ढल्न गएको हो, बाजे छविलाल दर्जीलाई मैले नै कुटपिट गरेको हो भन्ने समेत व्यहोराको अभियुक्त मीनबहादुर दर्जीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान कागज ।

घ्यार घ्यारको आवाज सुनेपछि निन्द्राबाट उठी आमा बाजेलाई के भयो उठ्नुहोस भनी कराई आमा समेत उठी हेर्दा छविलाल दर्जीलाई मीनबहादुर दर्जीले कुटपिट गर्दै गरेको देखेको हुँ, मीनबहादुर दर्जीले कुटपिट गरेको चोट पटकको कारणबाट छविलाल दर्जीको मृत्यु भएकोमा पूर्ण विश्वास लाग्छ भन्ने समेत व्यहोराको चश्मदीद गवाह बिना दर्जीले गरिदिएको कागज ।

मीनबहादुर दर्जीले छविलाल दर्जीलाई कुटपिट गरेकोमा सोही चोटपटकको कारण छविलाल दर्जीको मृत्यु भएकोमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको मैकामा बुझिएका जुने दर्जी, कृष्ण दर्जी, टेकबहादुर खड्का, सिलागे दर्जी समेतका व्यक्तिहरुले गरिदिएको एकै मिलानको छुट्टा छुट्टै कागज ।

मृत्युको कारणमा undetermined भन्ने उल्लेख गरी प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालय वाग्लुङका मेडिकल अधिकृतले गरेको पोष्ट मार्टम रिपोर्ट ।

अभियुक्त मीनबहादुरले पीडित छविलालको ज्यान लिने उद्देश्यबाट रक्सी खाई मारौं भन्ने नियतले कुटपिट गरेको र कुटपिट गरेको ३ दिनभित्र अनवरत रुपमा थलापरी उपचार गर्दागर्दै कुटपिटका चोटपिरले उठ्न नसकी मिति २०६१।४।२ गते राती मृत्यु भएकोले मुलुकी ऐन ज्यान सम्बन्धीको १/९ नम्बरको कसूर अपराधमा प्रतिवादीलाई सोही महलको १३(३) नं. बमोजिम सजायँ गरिपाऊँ भन्ने समेत व्यहोराको अभियोग पत्र ।

मिति २०६१।३।३१ का बेलुकी ९ बजेको समयमा हजुरबुबा छविलालसँग अंश वारेमा कुरा चल्दा हजुरबुबाले मलाई लौराले हान्नु भयो । मैले लौरो खोसी फाली दिएँ, त्यसपछि हँसियाले हान्न थाल्नु भयो, मैले हँसिया खोसी फाली दिएँ र म मेरो घरतिर आएँ, मैले हजुरबुबालाई हानेको, कुटपिट गरेको होइन । त्यसको भोलिपल्ट हजुरबुबा पहिलेदेखि नै खोकी दमको विरामी हुनु भएकोले मैले औषधी पसलबाट रु.९००।को औषधी लगी हजुरबुबालाई दिएको हुँ । मिति २०६१।४।२ गते विहानदेखि हजुरबुबालाई पखला समेत लागेकोले आमाले जीवनजल समेत लगिदिनु भएको हो, मिति २०६१।४।२ गते राती हजुरबुबाको मृत्यु भएछ । मृत्यु हुने बेलामा हजुरबुबा खाटबाट भुईमा खस्नु भएको हो, मृत्यु विरामीका कारण वा खाटबाट लड्नाका कारणले भएको हो मलाई थाहा छैन । अनुसन्धान अधिकारी समक्ष बयान दिँदा मेरो स्वास्थ्य त्यति ठिक थिएन, तापनि मैले हजुरबुबालाई हानेको भनेको होइन । सो बाहेक अरु सबै व्यहोरा हो । हानेको भन्ने कसरी लेखियो मलाई थाहा छैन । मैले हजुर बुबालाई कुटपिट गरेको मारेको नहुँदा अभियोग दावी अनुसार सजायँ पाउनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी मीनबहादुर दर्जीले शुरु अदालतमा गरेको बयान ।

मैले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीको व्यहोरा तथा त्यसमा भएको सही मेरो हो । प्रतिवादीको कुटपिटबाटै ससुरा छविलालको मृत्यु भएको हो भन्ने समेत व्यहोराको जाहेरवाला विष्णु कुमारी दर्जीले गरेको बकपत्र ।

प्रतिवादीको कुटाईबाटै हजुरवाको मृत्यु भएको हुनु पर्दछ भन्ने समेतको वादी पक्षका साक्षी बिना दर्जी, टिका परियार, कर्णबहादुर दर्जी, शुलबहादुर दर्जी, चन्द्रबहादुर भण्डारी समेतले गरिदिएको बकपत्र ।

छविवालको मृत्यु कुटपिटबाट भयो भन्ने हल्ला सुनी मलाम गएको हुँ भनी वादी पक्षका गवाह मीनबहादुर दर्जी र प्रतिवादीले पिटेर मारे जस्तो लाग्दैन भनी वादी पक्षकै गवाह शेरबहादुर दर्जीले शुरु अदालतमा गरेको बकपत्र ।

कुटपिट भयो होला, तर मैले देखिन  भनी प्रतिवादीका साक्षी प्रधान वि.क. ले, प्रतिवादीले कुटपिट गरे होला जस्तो लाग्दैन भनी प्रतिवादीका साक्षी कृष्णबहादुर मल्लले र नातिले कुटपिट गर्‍यो भनी मृतकले भनेका थिए भनी प्रतिवादीकै साक्षी इन्द्रबहादुर भण्डारीले गरेको बकपत्र ।

 पहिला देखिनै झै झगडा गरिरहने नाति मीनबहादुर दर्जीले कुटेको कुटाईबाट थलापरी मृतक छविलालको मृत्यु भएको भन्ने प्रत्यक्षदर्शी, जाहेरवाला विष्णु कुमारीको  किटानी जाहेरी, प्रतिवादीले अदालतमा आरोपित कसूरमा इन्कार रही बयान गरेतापनि मृतकसँग प्रतिवादीको सो दिन झगडा भएको तथ्यमा सावित रहेको तथा अनुसन्धान अधिकारी समक्ष प्रतिवादीले बयान गर्दा घटि अंश दिएको रिसमा मृतक हजुरवावालाई कुटपिट गरेको र सोही कुटपिटबाट थलापरी मृत्यु भएको भन्ने उल्लेख गरी साविती बयान समेत गरिदिएको पाइन्छ । वारदातको प्रत्यक्षदर्शी जाहेरवाला एवम यी प्रतिवादीले अनुसन्धान अधिकारी समक्ष गरेको बयान एक अर्कामा मिल्न भिड्न आएको छ भने प्रतिवादीकै साक्षी इन्द्रबहादुर मल्लले बकपत्र गर्दा मृतकले मर्नु भन्दा पहिला व्यक्त गरेको कुरा उल्लेख गर्दै नातिले कुटपिट गर्‍यो भन्दथे, अंश सम्बन्धमा होला मादक पदार्थ सेवन गरी झगडा गर्दथे भनी बकपत्र गरेको देखिन आएबाट अभियुक्त मीनबहादुर दर्जीले अभियोग मागदावी बमोजिम मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १ र ९ नं.को कसूर अपराध गरेको हुँदा निजलाई ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्व सहित जन्मकैद हुने ठहर्छ भन्ने शुरु बाग्लुङ जिल्ला अदालतको मिति २०६१।८।२८।२ को  फैसला ।

मैले ७६ वर्षिय बृद्ध हजुरबुवालाई  कुटपिट गरेको होइन । हजुरबुबा दम र खोकीको विरामी हुनुहुन्थ्यो । मृतक हजुरबुबाले मेरो बुबालाई अंश थोरै दिनु भएकोमा अंश थोरै दिनु भयो भनी मैले भन्नु स्वाभाविकै हो, त्यसलाई रिस इविको रुपमा ग्रहण गर्न मिल्दैन । मैले हजुरबुबालाई कुटपिट गरेको र सोही चोटपिडाबाट हजुरबुबाको मृत्यु भएको भनी मैले कहिँ कतै बयान गरेको समेत छैन । घटनास्थल प्रकृति मुचुल्का, लाश जाँच प्रकृति मुचुल्का, साक्षीहरुको बकपत्र समेतबाट मेरो चोट पिडाबाट मृतक हजुरबुबाको मृत्यु हुन गएको भन्ने देखिँदैन । मिसिल संलग्न प्रमाणहरुको वस्तुपरक ढंगबाट अध्ययन र विश्लेषण नगरी केवल आत्मपरक ढंगबाट अनुमानको भरमा व्याख्या र विश्लेषण गरी ज्यान जस्तो गम्भीर मुद्दामा कसूरदार ठहर्‍याई बाग्लुङ जिल्ला अदालतले मलाई सर्वस्व सहित जन्मकैद गर्ने गरेको फैसला त्रुटीपूर्ण भएकाले उक्त फैसला बदर गरी मैले अभियोग दावीबाट पूर्ण रुपमा सफाई पाउँ भन्ने समेत व्यहोराको कारागार शाखा वाग्लुङ मार्फत प्रतिवादी मीनबहादुर दर्जीले पुनरावेदन अदालतमा गरेको पुनरावेदन  पत्र ।

यसमा शव परीक्षण प्रतिवेदन समेतको परिप्रेक्ष्यमा शुरु बाग्लुङ जिल्ला अदालतको फैसला बिचारणीय देखिँदा अ.वं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ समेत बमोजिम पुनरावेदन सरकारी वकिल कार्यालय वाग्लुङलाई पेशीको सूचना दिई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत वाग्लुङको मिति २०६२।१।८ को आदेश ।

            यसमा रक्षा शिक्षा गर्ने बाहेकको यी प्रतिवादी मीनबहादुर दर्जीको कुटपिटबाट मृतक छबिलाल दर्जीको मृत्यु भएको हो भन्ने कुरा मिसिल संलग्न जाहेरवाली विष्णुकुमारी दर्जी समेतका मानिसहरुको वयान तथा वकपत्रबाट पुष्टी भएको र मृतकलाई यी प्रतिवादी मीनबहादुरले ज्यान लिने इविलाग वा मनसाय नभै अंश घटीबढी भयो बराबरी गरिदिनु होस् भन्ने कुरामा विवाद भै मृतकको चोटबाट प्रतिवादीलाई हातमा घाउ समेत हुन गई आपसी कुटपिट हुन गई भवितव्यबाट मृतक छविलालको मृत्यु हुन गएको देखिँदा ज्यान सम्बन्धी महलको ५ नं. को कसूरमा ऐ. को ६ नं. को देहाय ४ वमोजिम एक वर्ष ६ महिना कैद र पाँचसय रुपैयाँ जरिवाना गरी भवितव्यको कसूर ठहर गर्नुपर्नेमा ज्यान सम्बन्धी महलको   १३(३) नं. वमोजिम सर्वस्व सहित जन्मकैद हुने ठहर्‍याएको मिति २०६१।८।२८ को बाग्लुङ जिल्ला अदालतको फैसला सो हदसम्म नमिलेकोले उल्टी भै प्रतिवादीलाई एक वर्ष ६ महिना कैद तथा रु.५००।जरिवाना हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत बाग्लुङको मिति २०६२।३।१३ को फैसला ।

            प्रतिवादीले मृतक छविलाल दर्जीलाई कुटपिट गरेको कुरामा अधिकार प्राप्त अधिकारी समक्ष सावित रहेको, एउटै परिवारका बाजे मृतक र नाती प्रतिवादी रहेका र अंश सम्बन्धी विवाद उत्पन्न भै मिति २०६१।३।३१ गते बाजेलाई कुटपिट गर्दा सोही चोटका कारणबाट निजको मृत्यु भएको भन्ने कुरा जाहेरी दरखास्त र जाहेरवालाहरुको वकपत्र समेतबाट खुल्न आएको, लाश प्रकृति मुचुल्कामा वायाँ छातीमा कोतरिएको घाउ रहेको भन्ने पाइएको, बृद्ध अवस्थाका बाजेलाई जवान अवस्थाका नातिले लात्ती मुक्का आदिले प्रहार गर्दा मृत्यु हुनु स्वाभाविक रहेको हुँदा पुनरावेदन अदालत वाग्लुङको फैसला त्रुटिपूर्ण रहेको हुँदा उल्टी गरी अभियोग दावी वमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारका तर्फबाट परेको पुनरावेदन पत्र ।

            २.    नियम वमोजिम इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक/वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता श्री शरद खड्काले गर्नु भएको वहस जिकीर समेत सुनियो । प्रतिवादी मीनबहादुरले पीडित छविलाललाई ज्यान लिने मनसाय सहित मादक पदार्थ सेवन गरी कुटपिट गरेको र सोही चोटबाट थला परी पीडितको मृत्यु भएको हुँदा प्रतिवादीलाई ज्यान सम्बन्धीको १३(३) नं. वमोजिम सजाय गरिपाऊँ भन्ने अभियोग दावी रहेको प्रस्तुत मुद्दामा प्रतिवादीको अदालतसमक्षको वयानमा बाजेसँग अंश सम्बन्धी कुरा चलिरहेको अवस्थामा बाजेले आफूलाई लौरो र हँसियाले प्रहार गर्नुभएको हो, आफूले बाजेलाई कुटपिट गरेको छैन, खोकी र दमको विरामी रहनुभएका बाजेलाई आफैंले औषधी किनेर दिएको, मिति २०६१।४।२ गते विहान देखि पखाला समेत लागेको र त्यसैदिन राती वहाँको मृत्यु भयो, आफूले कुटपिट नगरेको हुँदा सजाय पाउनुपर्ने होइन भनी जिकीर लिइएको देखिन्छ । शुरु अदालतबाट अभियोग मागदावी वमोजिम प्रतिवादीलाई कसूरदार ठहर्‍याई ज्यान सम्बन्धीको १३(३) नं. वमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्‍याए उपर प्रतिवादीको पुनरावेदन परेकोमा पुनरावेदन अदालत वाग्लुङबाट प्रतिवादीले मृतकलाई मारौ भन्ने मनसाय प्रेरित भै प्रहार गरेको अवस्था नदेखिएको र शव परीक्षण प्रतिवेदनबाट पनि मृत्युको कारण Undetermined भनी उल्लेख भएको अवस्थामा ज्यान सम्बन्धीको १३(३) नं. वमोजिम सजाय गर्नु न्यायोचित नहुने भन्ने समेतको आधारमा प्रतिवादीलाई ज्यान सम्बन्धी महलको ५ नं. को कसूरमा ऐ. ६(४) नं. वमोजिम १ वर्ष ६ महिना कैद र रु.५००।जरिवाना हुने ठहर्‍याई फैसला भएको छ । सो उपर वादी नेपाल सरकारका तर्फबाट पुनरावेदन पर्न आएको हुँदा पुनरावेदन जिकीर हेरी पुनरावेदन अदालत वाग्लुङको फैसला मिले नमिलेको के रहेछ भन्ने सम्बन्धमा विचार गरी निर्णय दिनुपर्ने भएको छ ।

            ३.    निर्णयतर्फ विचार गर्दा मृतक छविलाल र प्रतिवादी मीनबहादुर एकै परिवारका हजरबुवा र नाति नाताका व्यक्तिहरु रहेको र मिति २०६१।३।२१ गते राती यी दुई जनाका बीचमा अंश सम्बन्धी विषयमा विवाद भएको भन्ने सम्मको तथ्यमा विवाद देखिँदैन । घटना हुँदाका वखत आफ्नै घरको पिँढीमा सुतिराखेका हजुरबुवालाई प्रतिवादीले लात्ती मुक्काले शरीरका विभिन्न भागमा हिर्काई घाइते बनाएको र उपचार हुँदा हुँदै मिति २०६१।४।२ गतेका दिन निजको मृत्यु भएको भन्ने जाहेरी दरखास्त रहेको र जाहेरी व्यहोरालाई समर्थन गर्दै जाहेरवालाले अदालतसमक्ष वकपत्र समेत गरिदिएको देखिन्छ । प्रतिवादीको अधिकार प्राप्त अधिकारी समक्षको वयानमा अंश सम्बन्धी विवाद भै हजुरबुवाले आफूलाई लौरो र हँसियाले प्रहार गरेकाले आफूले पनि मुक्काले प्रहार गरेको भनी कुटपिट गरेको कुरासम्मलाई स्वीकार गरेकोमा अदालतसमक्ष उपस्थित भै वयान गर्दा आफूले कुटपिट नगरेको भनी इन्कारी वयान गरेका छन् । प्रतिवादीले गरेको कुटपिटको चोटबाट थला परी सोही कारणबाट मृतकको मृत्यु भएको भन्ने नै अभियोग दावीमा आधार बनाईएको हुँदा मृतकको मृत्युको कारणका सम्बन्धमा शव परीक्षण प्रतिवेदनमा उल्लिखित व्यहोराले महत्व राख्ने हुन्छ । वाग्लुङ अस्पतालबाट भएको शव परीक्षण प्रतिवेदनमा मृत्युको कारण Undetermined भनी उल्लेख गरिएको पाइन्छ । प्रतिवेदनको External Examination, Internal Examination Special Examination को महलमा पनि मृतकको शरीरको बाहिरी तथा भित्री भागमा उल्लेख्य चोटपटक लागेको नपाइएको अवस्था देखाइएको छ । मानिसको मृत्युको सम्बन्धमा सो सम्बन्धी विषयगत विशेषज्ञता हासिल गरेका विशेषज्ञहरुद्वारा गरिएको परीक्षण र त्यसका आधारमा प्रस्तुत गरिएको रायको प्रामाणिक महत्व रहन्छ । प्रमाण ऐन, २०३१ को दफा २३ मा विशेषज्ञको रायलाई प्रमाणमा लिन हुन्छ भन्ने कानूनी व्यवस्था पनि गरिएको पाइन्छ ।

            ४.    लाठा ढुंगा र सानातिना हातहतियारले कुटी, हानी, रोपी, घोची वा अरु ज्यान मर्ने गैह्र कुरा गरी ज्यान मरेमा त्यस्तो कार्य गर्ने मानिस ज्यानमारा ठहर्छ भन्ने ज्यान सम्बन्धी महलको १३(३) नं. को कानूनी व्यवस्थालाई हेर्दा त्यसमा मनसाय तत्वलाई महत्व दिइएको देखिन्छ । आपराधिक कार्य र आपराधिक मनसाय अपराधका प्रमुख दुई तत्व हुन् । सामान्य कुटपिटको विषयलाई मनसायसहितको आपराधिक कार्यको संज्ञा दिन मिल्ने हुँदैन । ज्यान सम्बन्धीको १३(३) नं. वमोजिमको सजायको माग दावी लिने वादी पक्षले प्रतिवादीबाट ज्यान मार्ने नियतका साथ त्यस्तो आपराधिक कार्य गरेको हो भन्ने पनि पुष्टी गर्न सक्नु पर्छ । केबल जाहेरी दरखास्त र जाहेरवालाको भनाईलाई मात्र आधार बनाएर कर्तव्य ज्यान जस्तो गम्भीर मुद्दामा निष्कर्षमा पुग्न हुँदैन । प्रस्तुत मुद्दामा जाहेरी दरखास्त र अभियुक्तको अधिकार प्राप्त अधिकारी समक्षको वयानलाई नै आधार बनाएर अभियोग लगाईएको देखिन्छ भने यस अदालतमा परेको पुनरावेदनमा पनि वादी तर्फबाट तिनै दुई विषयलाई आधार बनाइएको पाइन्छ । तर ती दुबै आधारलाई पुष्टी गर्ने गरी अन्य स्वतन्त्र र वस्तुनिष्ठ प्रमाणहरु पेश हुन सकेको भने मिसिलबाट देखिँदैन । जाहेरी दरखास्त, जाहेरवालाको वकपत्र र अधिकार प्राप्त अधिकारी समक्षको अभियुक्तको वयानबाट पनि दुबैपक्षबीच कुटपिट भएको भन्ने सम्मको तथ्य उजागर हुन्छ, मार्ने मनसाय सहित कुटपिट गरेको भन्ने कुरा त्यसबाट पनि पुष्टी हुने अवस्था  देखिँदैन ।

५.    माथि गरिएको विश्लेषणबाट मृतक र प्रतिवादीबीच अंश सम्बन्धी विषयमा विवाद उत्पन्न भै तत्कालै दुबैतर्फबाट कुटपिट भएको र सो घटनाको केही दिनभित्रै छविलाल दर्जीको मृत्यु भएको भन्ने देखिन आएको छ । प्रतिवादीले ज्यान लिनेसम्मको इविलाग वा मनसाय सहित कुटपिट गरेको भन्ने कुरा मिसिल संलग्न प्रमाणहरुबाट देखिँदैन र वादी पक्षबाट त्यस सम्बन्धमा स्वतन्त्र र वस्तुनिष्ठ प्रमाणहरु जुटाउन सकेको पनि पाईंदैन । अनुमान, आशंका र सम्भावना जस्ता मनोगत आधारमा कुनै पनि आपराधिक कार्यमा मनसाय तत्वको विद्यमानता छ नै भनी निष्कर्ष निकाल्नु न्यायोचित हुँदैन, मनसाय तत्वको विद्यमानता प्रमाणहरुबाट नै देखिनु पर्छ र त्यस्तो प्रमाण जुटाउने दायित्व वादी पक्षले नै वहन गर्नु पर्छ । ज्यान लिने इविलाग वा मनसाय नभै कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला भन्ने जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भै कुनै मानिस मर्न गएको भवितव्य ठहर्छ भन्ने मुलुकी ऐन, ज्यान सम्बन्धीको ५ नं. मा र त्यसरी भवितव्य भै मानिसको ज्यान मरेकोमा रक्षा शिक्षा गर्ने बाहेक अरु कसैले कसैलाई कुटपिट गर्दा भवितव्य परेकोमा पाँचसय रुपैयासम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुबै सजाय हुन्छ भन्ने ज्यान सम्बन्धीको ६ नं. को देहाय (४) मा रहेको कानूनी व्यवस्थाको परिप्रेक्षमा प्रतिवादी मीनबहादुर दर्जीबाट मृतक छविलाल दर्जीमाथि भएको कुटपिटलाई मनसाय प्रेरित हत्याको संज्ञा दिन मिल्ने अवस्था देखिएन । तसर्थ भवितव्यको कसूर ठहर्‍याई प्रतिवादी मीनबहादुर दर्जीलाई १ वर्ष ६ महिना कैद र रु.५००।जरिवाना हुने ठहर्‍याएको पुनरावेदन अदालत वाग्लुङको मिति २०६२।३।१३ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कटृा गरी मिसिल नियमानुसार गरी बुझाईदिनु ।

 

उक्त रायमा म सहमत छु । 

                                                           

प्र.न्या.केदारप्रसाद गिरी

 

इतिसम्बत् २०६४ साल चैत्र २४ गते रोज १ शुभम् ...........

इजलास अधिकृतः उमेश कोइराला

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु