निर्णय नं. ७९२९ - निर्णय बदर हक कायम

निर्णय नं.७९२९ ने.का.प. २०६५ अङ्क २
सर्वोच्च अदालत संयुक्त इजलास
माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी
माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा
सम्व्त २०६१ सालको दे.पु.नं. ......९७१६
फैसला मितिः २०६४।८।३।२
मुद्दा :– निर्णय दर्ता बदर हक कायम ।
पुनरावेदक
वादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २० भिमसेनस्थान बस्ने कृष्णमान राजभण्डारी
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २३ बस्ने मिश्रीनानी राजभण्डारी समेत
शुरु निर्णय गर्नेः
मा.न्या.श्री रमेश पोखरेल
पुनरावेदन फैसला गर्नेः
मा.न्या.श्री दामोदरप्रसाद प्रजापती
मा.न्या.श्री भिमेन्द्रबहादुर कार्की
§ फिराद दायर गर्दा टाईपको भूल भएको भए प्रतिउत्तर पर्नु अगाडिनै निवेदन दिनुपर्ने ।
§ प्रतिउत्तर दर्ता भैसकेपछि इन्साफमा नै असर पर्ने गरी टाईपको भूल सुधार्न सकिने अवस्था नहुने ।
§ फिराद हदम्याद भित्र परेको छ, छैन भनी निर्णय गर्नलाई मुद्दा गर्नु परेको कारण कहिले सिर्जना भएको हो एकिन गर्नुपर्ने ।
(प्रकरण नं.८)
पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता वच्चुसिंह खड्का
प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल र विद्वान अधिवक्ता हेमकुमार श्रेष्ठ
अवलम्वित नजीरः
फैसला
न्या.मीनवहादुर रायमाझीः पुनरावेदन अदालत पाटनबाट मिति २०५८।११।१३ मा भएको फैसला उपर चित्त नबुझी वादी पक्षबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः–
विपक्षीहरु मिश्रीनानी राजभण्डारी र प्रकाश राज मास्के एक आपसमा मिली मिलेमतो गरी पूर्ण रुपमा नापी गोश्वारा समेतलाई झुक्यानमा पारी काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २३ कि.नं. ४२० खण्ड (घ) क्षेत्रफल ०–१–०–१ को घर जग्गा मिश्रीनानीको नाममा हाम्रो हक मेटाउने उद्देश्यले मिति २०३८।७।२४ मा स्ववासी सूचना अनुसार दुषित रुपले दर्ता गरेको हुँदा स्ववासी सूचना अनुसार भनि गरिएको दुषित दर्ता बदर गरी हक कायम गरी चलन समेत चलाई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।
मिश्रीनानीले विवादित जग्गा मिति २०३५।६।८ गतेको २१ दिने स्ववासी सूचना अनुसार वडा नं. २३ को कि.नं. ४२० को घर जग्गा आफ्नो नाममा दर्ता गरी जग्गा धनी प्रमाणपूर्जा प्राप्त गरी एकलौटी हक भोग गरी आउनु भएको थियो । मिश्रीनानीको नाममा दर्ता हुन आएको विवादित जग्गा फिरादीले दर्ता हुँदाका अवस्थामा म प्रतिवादीको यो यस्तो संलग्नताबाट दर्ता गराएको भनी किटानी साथ उल्लेख गर्न सक्नु भएको छैन । २०३५।६।८ को २१ दिने स्ववासी सूचना प्रकाशित भएकोमा सो सूचनाको विरुद्ध वादीले तत्काल कुनै प्रतिवाद रहेको थिएन भन्ने २०३८।७।२४ को निर्णयबाट मिश्रीनानीको नाममा दर्ता भई जग्गा धनी प्रमाणपूर्जा प्राप्त हुँदा सम्म विपक्षीको सो जग्गामा कुनै आपत्ति थिएन । मिश्रीनानीको नाममा विवादको घर जग्गा दर्ता हुनु पूर्व मेरो कुनै संलग्नता नरहेको अवस्थामा निज मिश्रीनानीको नाममा कानून बमोजिम दर्ता भई आएको जग्गा दर्ता बदर हुन नसक्ने हुँदा फिराद खारेज भागी छ खारेज गरिपाऊँ भन्ने समेत प्रतिवादी प्रकाशराज मास्केको प्रतिउत्तर जिकिर ।
प्रतिवादी मिश्रीनानी राजभण्डारीका नाउँको म्याद मिति २०५४।८।१० मा रित पूर्वक तामेल भई म्याद भित्र प्रतिउत्तर नफिराई म्याद गुजारी बसेको देखिन्छ ।
विवादित जग्गामा फिरादीको निर्विवाद हक स्थापित भएको नदेखिदा वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने काठमाडौं जिल्ला अदालतको मिति २०५८।५।१२ को फैसला ।
मेरो दावी नपुग्ने भनी गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी फिराद दावी बमोजिम गरिपाऊँ भन्ने व्यहोराको वादीको तर्फबाट पुनरावेदन अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
विवादित कि.नं. ४२० को जग्गा प्रतिवादीको हक भोगमा रहेको, विवादको जग्गा ताम्राराजा मास्केलाई विक्री गरे उपर १९९७ सालमा मुद्दा परी लिखत बदर भएता पनि प्रतिवादी मिश्रीनानीलाई नै बस्न दिईएको, २०३५ सालमा स्ववासी सूचना प्रकाशित भई सोही बमोजिम २०३८ सालमा विपक्षीको नाममा दर्ता भई प्रमाण पत्र दिदा समेत वादीले कुनै विवाद नगरेको र १९९७ सालमा फैसला भएकोमा सो फैसला अनुसार कार्यान्वयन नगरी त्यसै बसेको अवस्थामा फैसला बमोजिमको हक सदा सर्वदा रही रहन्छ भनी मान्न मिल्दैन । जिल्ला अदालतबाट वादी दावी नपुग्ने ठहराई गरेको इन्साफलाई सदर गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला ।
पुनरावेदन अदालतबाट गरेको फैसलामा चित्त बुझेन । विवादित जग्गाको सम्बन्धमा पहिले भएको अदालतको फैसलालाई मान्न पर्दैन भनी वेवास्ता गरी गरेको पुनरावेदन अदालतको फैसला आफैंमा न्यायिक छैन । एक पटक त्यसै विषयमा मुद्दा पनि हारी सकेपछि पुनः दर्ता गराउनु गैर कानूनी हो । कुनै व्यक्ति कसैको घरमा बस्दैमा सो बसेको घर उसैको हुन सक्दैन । मिश्रीनानीलाई बस्न सम्म दिएको हो । मुलुकी ऐन गुठीको महलको १६ नं.बमोजिम प्रस्तुत फिराद दायर गर्ने हदम्याद हुँदैन, धर्मलोप भएको कुरामा जहिले सुकै फिराद लाग्दछ । हदम्याद नभएको भनी प्रस्तुत मुद्दामा बोल्न मिल्दैन । पुनरावेदन अदालतबाट धर्म नष्ट हुने किसिमले दुषित निर्णय बदर नहुने गरी गरेको फैसला मिलेको छैन । त्यस्तो नमिलेको फैसला उल्टी गरी वादी दावी बमोजिम मिश्रीनानीका नाममा भएको दुषित दर्ता बदर गरिपाऊँ भनी वादीको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
यसमा वादी कृष्णमान राजभण्डारीको पिता धिर्जनारायण राजभण्डारी विरुद्ध ताम्रराज मास्के समेत भएको १९९९।७।१३ को राजधानी काठमाडौं देवानी अदालत दोश्रो फाँटको फैसलाबाट मिश्रीनानीले ताम्रराजलाई विक्री गरेको लिखित बदर भै विवादित घरमा वादीको हक कायम हुने ठहर भएको फैसला अन्तिम भएर रहेको देखिन्छ । यसरी अन्तिम रहेको फैसलाले एकाको हक कायम भएको घरलाई स्ववासी सूचना अनुसार भनी कि.नं. ४२० को घर जग्गा २०३८।७।२४ मा दुषित दर्ता गराएको देखिएको अवस्थामा पनि वादी दावी नपुग्ने ठहराएको शुरुको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको फैसला यस अदालत पूर्ण इजलासबाट ने.का.प. २०३० नि.नं. ७८५ पृष्ठ ३४५ को मुद्दामा प्रतिपादित सिद्धान्त विपरीत भई त्रुटिपूर्ण देखिदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (ख) बमोजिम दोहो¥याई हेर्ने निस्सा प्रदान गरिएको छ । विपक्षी झिकाई आए वा अवधि नाघेपछि नियम बमोजिम गरी पेश गर्नु भन्ने यस अदालतको मिति २०६०।१२।१८ को आदेश ।
यसमा प्रत्यर्थी प्रकाशराज मास्के र मिश्रीनानी राजभण्डारीको नामको म्याद मिति २०६१।४।५ मा अ.वं. ११० नं. को रित नपुगी वेपत्ते तामेल भएको देखिदा बदर गरी दिएको छ । अव सर्वोच्च अदालत नियमावली, २०४९ को नियम १०४ च बमोजिम गोरखापत्रमा सूचना प्रकाशित गरी हाजिर हुन आएपछि वा अवधि नाघेपछि नियमानुसार गरी पेश गर्नु भन्ने व्यहोराको यस अदालतको मिति २०६४।१।३१ को आदेश ।
२. नियम बमोजिम आजको दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फबाट विद्वान अधिवक्ता वच्चु सिंह खड्काले विवादित जग्गा मेरो पक्षले आगन देवताको पुजा आजा गर्न निजी गुठीको रुपमा राखेको जग्गा हो । विपक्षी मिश्रीनानीका लोग्नेले आँगन देवताको पूजा आजा गर्ने गरी सो घर जग्गामा वस्न दिएको अवस्थामा मिश्रीनानीले १९९७ सालमा सो घर जग्गा ताम्रराज मास्केलाई विक्री गरी दिए उपर मुद्दा परी १९९९ सालमा राजधानी काठमाडौं देवानी अदालत दोश्रो फाँटको फैसलाबाट उक्त लिखत बदर भै जग्गा वादीका बाबुका नाममा कायम भएको, विवादित विषयमा जग्गा पजनीको १७, जग्गा मिच्नेको १८ नं. को हदम्यादमा मात्र अदालतमा प्रवेश नगरी गुठीको महलको १६ नं. बमोजिमको हदम्याद भित्र फिराद गर्न प्रवेश गरेको अवस्थामा हदम्याद भित्रको फिराद भएन भन्न मिल्दैन । प्रतिवादीले विवादको जग्गा आगन देवताको गुठीको जग्गा होइन भनी १९९७ सालमा पनि भन्न नसकेको, प्रतिवादीले १९९९ सालको फैसला बमोजिमको घर जग्गा यहाँ छ भनी देखाउन नसकेको र विवादको जग्गाको चार किल्ला र १९९९ सालमा फैसला भएको जग्गाको चार किल्ला मिल्ने देखिदा देखिदै स्ववासी सूचनाको आधारमा २०३८ सालमा दुषित रुपमा प्रतिवादीका नाममा दर्ता गर्ने गरी गरेको निर्णय बदर गर्नु पर्नेमा सो निर्णय कायमै राखी वादी दावी नपुग्ने गरी गरेको पुनरावेदन अदालतको फैसला नमिलेकोले उल्टी गरी वादी दावी बमोजिम हुनु पर्दछ भनी गर्नु भएको वहस सुनियो ।
३. त्यसै गरी प्रतिवादीको तर्फबाट उपस्थित वरिष्ठ विद्वान अधिवक्ता श्रीहरी अर्याल र विद्वान अधिवक्ता हेमकुमार श्रेष्ठले विवादको जग्गा २०३८ सालमा मिश्रीनानीका नाममा दर्ता हुँदा वादीले कुनै निकायमा विवाद उठाएको नदेखिएको, मिश्रीनानीको मृत्यु २०५२।६।३ मा भै सकेको कुरा वादीलाई थाहा हुँदा हुँदै २०५४ सालमा फिराद दायर गर्दा प्रतिवादी बनाईएको छ । १९९९ सालमा भएको फैसलामा विपक्षी बनाईएका ताम्रराज मास्के मेरो पक्षका काका होइनन् । विपक्षी वादीले गुठीको जग्गा भनेतापनि गुठी हो भन्ने कुराको प्रमाण पेश गर्न नसकेको अवस्थामा वादी दावी पुग्न नसक्ने ठहराई पुनरावेदन अदालतबाट भएको फैसला मिलेकै हुँदा सदर हुनु पर्दछ भनी गर्नु भएको वहस समेत सुनियो ।
४. प्रस्तुत मुद्दामा वादी प्रतिवादीको तर्फबाट रहनु भएका विद्वान कानून व्यवसायीहरुले गर्नु भएको वहस समेत सुनी मिसिल संलग्न रहेका कागजातहरुको अध्ययन गरी पुनरावेदन अदालतबाट भएको फैसला मिले नमिले सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो ।
५. निर्णय तर्फ विचार गर्दा विवादित कि.नं. ४२० को जग्गा आगन देवताको नाममा निजी गुठी राखी प्रतिवादी मध्येकी मिश्रीनानीलाई बस्न दिएकोमा मिश्रीनानीले उक्त जग्गा ताम्रराज मास्केलाई विक्री गरे उपर १९९७ सालमा फिराद दायर भै १९९९ सालमा लिखत बदर हुने ठहरी फैसला भै सकेपछि पनि सो जग्गामा मिश्रीनानीलाई नै बस्न दिएकोमा निज मिश्रीनानीले विवादित जग्गा स्ववासी सूचनाको आधारमा २०३८ सालमा आफ्नो नाममा नाप नक्सा गराई दर्ता समेत गरेको हुनाले विपक्षीको त्यस प्रकारको दुषित दर्ता बदर गरी हक कायम गरिपाऊँ भन्ने वादीको मुख्य फिराद दावी रहेको देखियो ।
६. विवादित कि.नं. ४२० को घर जग्गा मिश्रीनानीले २०३५।६।८ गतेको २१ दिने स्ववासी सूचना अनुसार २०३८ सालमा आफ्नो नाममा नाप नक्सा गराई दर्ता गरी जग्गा धनी प्रमाणपूर्जा समेत प्राप्त गरी हक भोग गरेको कुरा मिसिल संलग्न कागजातबाट देखिन्छ । विवादित जग्गा २०३८ सालमा नाप नक्सा भै प्रतिवादी मिश्रीनानीको नाममा दर्ता हुँदाको समयमा वादीको तर्फबाट कुनै प्रतिवाद गरेको कुरा मिसिल संलग्न कुनै कागजात एवं वादीको फिराद दावी समेतबाट देखिन आएन । वादीले विवादको जग्गा आगन देवताको पुजा आजा गर्ने प्रयोजनका लागि निजी गुठीको रुपमा राखेको भनी जिकिर लिएतापनि आफ्नो जिकिरलाई पुष्टि हुने प्रकृतिको गुठी लगत र तिरो तिरेको रसिद लगायतका कागजातहरु पेश गर्न सकेको देखिदैन ।
७. वादीले आफ्नो फिराद दावीमा विवादित जग्गा आफ्ना बाबुले आगन देवताको पूजा आजा गरे वापत मिश्रीनानीलाई वस्न दिएकोमा १९९७ साल मार्ग २१ गते मिश्रीनानीले सो जग्गा ताम्रराज मास्केलाई विक्री गरे उपर फिराद परी १९९९ सालमा लिखत बदर हुने ठहराई फैसला भै हक कायम भएको जग्गा हो भनी लिएको जिकिर तर्फ विचार गर्दा विवादको जग्गा वादी दावी बमोजिम १९९९ सालको फैसला बमोजिम वादीको हक कायम भएको भनिएतापनि सो जग्गामा प्रतिवादी मिश्रीनानी २०५२।६।३ गते परलोक हुने दिन सम्म बसोवास गरी भोग गरेको कुरा वादी स्वयंले आफ्नो फिरादमा स्वीकार गरेका, सो फैसलाबाट वादीको हक कायम भएको जग्गा र विवादको कि.नं. ४२० को जग्गा एउटै हो भन्ने कुनै ठोस सवुद प्रमाण वादीले पेश गर्न नसकेको, विवादित जग्गा १९९९ सालको फैसलाबाट हक कायम भएको मान्ने हो भनेता पनि मुलुकी ऐन दण्ड सजायको महलको ४३ नं. को देहाय २ बमोजिमको हदम्याद भित्र वादीले चलन चलाउने सम्बन्धमा कुनै प्रक्रिया सम्म अगाडि नबढाएको र घर जग्गा प्रतिवादीकै हक भोगमा रहेको देखिन आउँदछ ।
८. विवादित जग्गाको सम्बन्धमा वादीको तर्फबाट परेको फिराद हदम्याद भित्र परेको छैन भनी प्रतिवादीले आफ्नो प्रतिउत्तर पत्रमा जिकिर लिएको हुँदा, प्रस्तुत मुद्दाको फिराद हदम्याद भित्र दायर भएको छ, छैन भन्ने सम्बन्धमा विचार गर्दा वादीले आफ्नो फिरादमा २०५३।१।१ गते सधै झै नित्यपुजा गर्न जाँदा विपक्षी मध्येको प्रकाशराज मास्के लगायतका व्यक्तिले घर हाम्रो भै सक्यो भनी झगडा गरी पूजा घर भित्र पस्न नदिएको भनी उल्लेख गरेका छन् । यी वादीबाट २०५४ साल वैशाख १२ गते मालपोत कार्यालय काठमाडौंमा गई नक्कल सारी २०५४।१।१३ मा फिराद दायर गरेको देखियो । वादीले आफ्नो पुनरावेदन जिकिरमा भूलको कारणले २०५४।१।१ हुनु पर्नेमा २०५३।१।१ भएको भनी जिकिर लिएको तर्फ हेर्दा निजले फिराद दायर गर्दा टाईपको भूल भएको भए प्रतिउत्तर पर्नु अगाडिनै निवेदन दिनु पर्ने हुन्छ । प्रतिउत्तर दर्ता भै सकेपछि इन्साफमा नै असर पर्ने गरी टाईपको भूल सुधार्न सकिने अवस्था हुँदैन । वादीको फिराद हदम्याद भित्र परेको छ, छैन भनी निर्णय गर्नलाई मुद्दा गर्नु परेको कारण कहिले श्रृजना भएका हो भनी एकिन गर्नु पर्ने हुन आउँदछ । मुद्दा चलाउनु पर्ने कारण परेको दिन देखिनै हदम्याद शुरु हुँदा पुनरावेदक वादीलाई प्रतिवादी प्रकाशराज मास्के लगायतका व्यक्तिहरुले २०५३।१।१ गते देखि पूजा घरमा जान पस्न नदिएको दिनलाई नै मुद्दा गर्नु पर्ने कारण परेको दिन देखिन आउँदछ ।
९. मुलुकी ऐन जग्गा पजनीको महलको १७ नं. मा “तालुकदारले खापी खाएका बाहेक एकको हकको जग्गा अर्काले दर्ता गराएकोमा थाहा पाएको मितिले ६ महिना भित्र र अरु कुरामा भए गरेको मितिले दुई वर्ष भित्र नालिस नदिए लाग्न सक्दैन” भन्ने कानूनी व्यवस्था भएकोमा पुनरावेदक वादीले प्रतिवादी मिश्रीनानीले दर्ता गराएको भन्ने कुरा थाहा पाएको १ वर्ष पछि मात्र फिराद दायर गरेको देखियो । त्यसै गरी वादीले आफ्नो फिरादमा जग्गा मिच्नेको १८ नं. को हदम्याद भित्र दायर गरेको भनी लिएको जिकिर सम्बन्धमा जग्गा मिच्नेको १८ नं. हेर्दा “रोक्का भएको लिए दिएको र जग्गा दपोट वा तिरो दपोट गरेको कुरामा बाहेक अरु जग्गाको कुरामा थाहा पाएको मितिले ६ महिना भित्र कुत वालीको कुरामा तिन वर्ष भित्र र जग्गाको झगडा परेको वालीको हकमा जग्गाको हक छुट्टिई अन्तिम किनारा भएको मितिले एक वर्ष भित्र नालेश नदिए लाग्न सक्दैन” भन्ने कानूनी व्यवस्था भए बमोजिम वादीले आफूलाई कानूनले दिएको ६ महिनाको हदम्याद भित्र फिराद दायर गर्न सकेको देखिदैन । त्यसै गरी वादीले आफ्नो दावीमा गुठीको १६ नं. को हदम्यादको दावी लिएतापनि विवादको जग्गा गुठीको भन्ने एकिन हुन नआएको अवस्थामा गुठीको १६ नं. आकर्षित हुने अवस्था देखिन नआए समेतबाट उल्लेखित कानूनी एवं सवुद प्रमाण समेतको आधारमा वादीको फिराद कानूनले तोकेको हदम्याद भित्र दायर भएको देखिएन ।
१०. तसर्थ विवादित जग्गा २०३५ सालको स्ववासी सूचना अनुसार मिश्रीनानीको नाममा नापनक्सा भै २०३८।७।२४ मा दर्ता गरी जग्गा धनी दर्ता प्रमाणपूर्जा समेत प्राप्त गरी सो जग्गा २०४६ सालमा मिश्रीनानीले प्रकाशराजलाई र तत् पश्चात प्रकाशराजले र.नं. १११८८ मिति २०५३।२।२० को राजिनामाले चन्द्र कुमारी मास्केलाई हक हस्तान्तरण भै सकेको, र मिश्रीनानीको २०५२।६।३ मा परलोक भएको कुरा तथ्यबाट पुष्टि भै सकेको अवस्थामा मिश्रीनानी जीवित छउन्जेल निजले निरन्तर रुपमा र निजको मृत्यु पश्चात प्रकाशराज र चन्द्र कुमारीले निरन्तर रुपमा भोग गर्दै आएको जग्गाको २०३८।७।२४ मा भएको दर्तालाई दुषित दर्ता भनी २०५४।७।१४ मा झण्डै १६ वर्ष पछि कानूनले निर्धारण गरेको हदम्याद समेत व्यतित गरी फिराद दायर गरेको देखिदा वादी दावी पुग्न नसक्ने गरी शुरु जिल्ला अदालतले गरेको इन्साफ सदर गरेको पुनरावेदन अदालत पाटनको इन्साफ मिलेकै देखिदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम अनुसार बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.दामोदरप्रसाद शर्मा
इति सम्व्त २०६४ साल मंसिर ३ गते रोज २ शुभम् ...............................
इजलास अधिकृत (उप सचिव) मोहनराज भट्टराई