निर्णय नं. ७९३२ - जालसाजी

निर्णय नं.७९३२ ने.का.प. २०६५ अङ्क २
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला
सम्वत २०६३ सालको फौ.पु.न ०५३१
फैसला मितिः २०६४।१०।८।३
मुद्दाः – जालसाजी ।
पुनरावेदक प्रतिबादीः ललितपुर जिल्ला ललितपुर उप.म.न.पा.वडा नं. ९ घर भै हाल काठमाण्डौ जिल्ला सतुंगल गा.वि.स. वडा नं ४ वस्ने बिक्की महर्जन
विरुद्ध
प्रत्यर्थी वादीः काठमाण्डौ जिल्ला सतुंगल गा.वि.स.वडा न. ३ वस्ने राधा विसंख्ये
शुरु फैसला गर्ने
जिल्ला न्यायाधीश श्री शम्भु वहादुर कार्की
पुनराबेदन अदालतमा फैसला गर्ने
मा.न्या. श्री अलिअकवर मिकरानी
मा.न्या. श्री जगदीश शर्मा पौडेल
§ सगोलको पैत्रिक सम्पत्तिमा बिक्री व्यबहार आदि जेसुकै हुने अवस्थामा उमेर पुगेको अंशियारको मंजुरी लिनु पर्ने अनिवार्य व्यवस्था लेनदेन व्यबहारको १० नं को कानूनले गरेको अवस्थामा अंश नभएको अंशियारले सगोलको सम्पत्ति बेच विखन गर्दा वा कुनै किसिमले हक छाडि दिंदा ऐनले आफुखुशी गर्न पाउने अरुको मन्जुरी लिनु नपर्नेमा वाहेक अरुमा एकाघरका अंशियार सवै साक्षी वसेको वा मन्जुरीको लिखत गरी दिएको भए मात्र पक्का ठहर्ने ।
§ आफ्नो पालामा आर्जेको सम्पत्ति निजी ठहर्ने अवस्था वाहेक सगै वसेको सम्पत्ति सगोलको आर्जनमा सवै अशियारको भाग लाग्ने ।
§ लिखत बदर र जालसाज सम्वन्धमा पक्षले आफुलाई सहज पर्ने जुनसुकै बाटो अवलम्वन गर्न सक्ने नै हुँदा वादी लिखत वदरमा नआई जालसाजमा मात्र आएकोलाई अन्यथा भन्न नमिल्ने ।
§ वादीको हक लाग्ने जग्गा निजको मन्जुरी वेगर बिक्री व्यबहार गरेको देखिएकोले किर्ते कागजको ३ नं अनुसार हक मेटने कार्य गरेको हुँदा जालसाज हुने अवस्थामा प्रतिवादीहरुले लेनदेन गरेको लिखत सम्पत्तिमा वादीको दाबी कायम रहन नसक्ने भन्न उपयुक्त नहुने ।
(प्रकरण नं.४)
पुनरावेदक / प्रतिवादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी र विद्वान अधिवक्ता चण्डेश्वरलाल श्रेष्ठ
प्रत्यर्थी वादी तर्फवाटः विद्वान अधिवक्ता खिमानन्द वन्जाडे, रुकु थापा के.सी. र भिमराज कडरिया
अवलम्वित नजीरः ने.का.प. २०५४, निर्णय नं.६३०३, पृष्ठ १
फैसला
न्या. राजेन्द्रप्रसाद कोइरालाः पुनराबेदन अदालत पाटनको मिति २०६३।२।२८ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ अनुसार दोहोर्याई निस्सा प्रदान भई पुनराबेदनमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ : –
बिपक्षी पति सिहरामले आफ्नो पुख्र्योली सम्पत्तिबाट आफ्नो अंश हक जति लिई मिति २०५२।८।५ मा अंश वण्डापत्र भै सकेको छ । बिपक्षी पति सिहरामको अंश हक खानेमा पति सिंहराम, जेठी श्रीमती म फिरादी राधा, र बिपक्षी सौता कान्छी श्रीमती गमला गरी ३ जना मात्र छौ. । सम्पूर्ण सम्पत्ति बिपक्षी पति जिम्मा रहेकोमा म समेतको अंश हक लाग्ने बिपक्षी सिंहराम विसंख्ये सार्की नेपालीको नाउँमा दर्ता भएको का.जि. सतुंगल गा.वि.स.वडा न. ४(ख) कि.नं ५१ को क्षे.फ. ३–१०–०–० जग्गा पुरै बिपक्षी पति सिंहराम विसंख्ये सार्की नेपालीले दिने र बिपक्षी बिक्की महर्जनले लिने तथा बिपक्षी गमला विसंख्ये नेपाली साक्षी वसी मिति २०५७।१२।१५ मा र.नं. ४७२८ को लिखतबाट एक आपसमा मिलोमतो गरी जानी जानी जालसाजी पूर्ण क्रियाबाट मेरो अंश हक मेटाउने कार्य गरेको हुँदा उक्त लिखत मध्ये ३ खण्डको एक खण्ड लिखत किर्ते कागजको ३ नं बमोजिम जालसाजी घोषित गरी सो लिखत बदर गरी ऐ.को १० नं बमोजिम बिपक्षीहरुलाई हदै सम्मको सजाय गरिपाऊँ भन्ने वादी दाबी ।
बिपक्षीका पति सिंहराम घरको मुली मान्छेले घर सल्लाह बमोजिम घरको व्यबहार चलाउनको लागि आफ्नो नाउँमा दर्ता रहेको सतुंगल गा.वि.स.वडा न. ४ ख कि.नं ५१ को क्षे.फ. ३–१०–०–० जग्गा मिति २०५७।१२।१५ मा र.नं ४७२८ बाट मलाई राजिनामा पारित गरी दिनु भएको हो । सो कुरा बिपक्षी वादीलाई उसै बखत थाहा जानकारी थियो । बिपक्षीको मन्जुरी समेतले निजको पतिले मलाई जग्गा पारित गरी दिएको हो । दाबीको लिखत किर्ते कागजको ३ नं प्रतिकूल भएको छैन । उक्त लिखत लेनदेन व्यबहारको १० नं. प्रतिकूल नभएको कारणबाट समेत बिपक्षी वादीको झुठ्ठा फिराद दाबीबाट अलग फुर्संद पाउँ भन्ने प्रतिवादी बिक्की महर्जनको प्रतिउत्तर जिकिर ।
यसमा प्रतिवादी सिंहराम विसंख्ये सार्की नेपाली र गमला विसंख्ये नेपालीको नाउँमा जारी भएको म्याद मिति २०५९।४।२३ मा तामेल भएकोमा निजहरुले प्रतिउत्तर नफिराई शुरु म्यादै गुजारी वसेका रहेछन ।
यसमा शुरुको आदेशानुसार वादीका साक्षी कान्छा विसंख्येले वादीलाई समर्थन हुने गरी कान्छा विसंख्ये र प्रतिवादी बिक्की महर्जनको साक्षी जयराम श्रेष्ठले प्रतिवादीको समर्थन हुने गरी बकपत्र गरेको देखिन्छ ।
यसमा जेठी श्रीमती वादीलाई नदेखाई निजको अंश हक मार्ने नियतले व्यहोरा ढाटी गरी दिएको लिखत जालसाजी होइन भन्न नमिल्ने हुँदा दाबीको राजिनामा लिखतको ३ भाग मध्ये वादीको एक भाग सम्म किर्ते कागजको ३ नं बमोजिम जालसाजी हुने र सो हदसम्म उक्त लिखत निष्कृय समेत हुन्छ । प्रतिवादी बिक्की महर्जनलाई अंशियार रहेको कुरा जानकारी नभएको हुदा निजलाई जालसाजीमा सजाय हुन सक्तैन । प्रतिवादी सिंहराम र गमलाले जानी जानी लिखत गरी दिएकाले निजहरुलाई जालसाजीको विगो रु ३,३३,३३३।३४ को किर्ते कागजको १० नं बमोजिम सयकडा २५ प्रतिशतले हुने रु ८३,३३३।३४ को दामासाहीले जरिवाना हुने ठहर्छ भन्ने शुरु काठमाण्डौ जिल्ला अदालतको २०६१।३।२१ को फैसला ।
बिपक्षी वादीको बिवादित लिखतमा मन्जुरी नभएको भए लेनदेन व्यबहारको १० नं बमोजिम कानूनका म्यादै भित्र नालेश लिई आउनु पर्ने प्रष्ट छ । उक्त कानूनी व्यवस्था बमोजिम दाबी नलिई किर्ते कागजको ३ नं बमोजिम दाबी गर्न पाउने हैन । म पुनरावेदकले मिति २०५७।१२।१५ मा लिखत पारित गरी लिएको हुँ । बिपक्षी वादीको फिराद मिति २०५९।१।१९ मा पर्न आएको छ । यस अवस्थामा काम भए गरेको मितिले २ वर्ष भित्र नालेश गर्नुपर्नेमा २ वर्ष नघाई पर्न आएको फिराद खारेज नगरी हुन पुगेको फैसला मिलेको नहुँदा उक्त फैसला बदर गरी इन्साफ पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी बिक्की महर्जनको पुनराबेदन अदालत पाटनमा परेको पुनराबेदन ।
शुरुबाट भएको फैसला नमिली फरक पर्न सक्ने देखिंदा अ.व. २०२ नं बमोजिम छलफलको लागि प्रत्यर्थीलाई झिकाई आएपछि वा म्याद नाघेपछि नियमानुसार पेश गर्नु भन्ने पुनराबेदन अदालत पाटनको मिति २०६२।७।२ गतेको आदेश ।
मेरो समेत अंश हक लाग्ने कि.नं. ५१ को क्षे.फ. ३–१०–०–० जग्गा पुरै बिपक्षीहरुको मिलोमतोमा मेरो अंश हक मेटाउने मनसायले जालसाजी पूर्ण तवरले राजिनामाको लिखत गरी दिनु लिनु गरेको हुँदा उक्त लिखत मध्ये ३ खण्डको १ खण्ड लिखत जालसाजी घोषित गरी सो लिखत बदर गरी बिपक्षीलाई हदैसम्म सजाय गरिपाऊँ भन्ने वादी दाबी र वादीका पतिले आफ्नो घर व्यबहार चलाउनका लागि जग्गा विक्री गरेको कार्यमा वादीको सहमती छैन भन्न नमिल्ने हुदा झुठ्ठा फिराद दाबीबाट फुर्सद पाउँ भन्ने प्रतिउत्तर जिकिर रहेकोमा ३ भागको १ भाग लिखत जालसाजी घोषित गरी सो लिखत बदर हुने ठहराई शुरुले गरेको फैसला उपर प्रस्तुत पुनराबेदन दायर हुन आएको देखिन्छ । काठमाण्डौ जिल्ला अदालतबाट मिति २०६१।३।२१मा कि.नं ५१ को क्षे.फ. ३–१०–० जग्गामा प्रत्यर्थी वादीको ३ भागको १ भाग अंश हक लाग्ने जग्गा निजको मन्जुरी नलिई मिति २०५७।१२।१५ मा प्रतिवादी सिंहराम विसंख्ये नेपालीले पुनरावेदक प्रतिवादी बिक्की महर्जनलाई राजिनामा गरी उक्त जग्गा ३ भागको १ भाग जालसाजी गरी विक्री गरी दिएकाले सो हदसम्म उक्त लिखत जालसाजी ठहरी उक्त लिखत निष्कृय समेत भै प्रतिवादी मध्येका प्रतिवादी सिंहराम विसंख्ये र गमला विसंख्ये नेपालीलाई किर्ते कागजको १० नं बमोजिम सजाय समेत हुने गरी गरेको मिति २०६१।३।२१ को काठमाण्डौ जिल्ला अदालतको फैसला मनासिव देखिंदा सदर हुने ठहर्छ भन्ने पुनराबेदन अदालत पाटनको मिति २०६२।२।२८ गतेको फैसला ।
यस मुद्दामा मात्र बिपक्षी वादीका पति र सौताले प्रतिउत्तर फिराउनु भएको छैन । अन्य लिखत बदर र जालसाजीमा प्रतिउत्तर लिई उपस्थित हुनु भएको छ । यसबाट पनि के प्रष्ट हुन्छ भन्ने मेरा दाता र बिपक्षी वादी समेत मिली मलाई अनाहकमा दुःख दिने मिलुवा मुद्दा गर्न वद नियत राखेको प्रष्ट हुन्छ । यहाँ मैले माथि प्रकरण प्रकरणमा लिएको जिकीरलाई प्रतिकूल असर नपर्ने गरी वैकल्पिक रुपमा के कुरा उठाउन चाहान्छु भने मेरा दाताले अंशवण्डाको १९(१) बमोजिम पैतृक सम्पत्तिको आधासम्म घर व्यबहार गर्न कसैको मन्जुरी वा सहमति लिनुपर्ने अवस्था छैन । यसरी हेर्दा देखिएकै पैतृक सम्पत्ति ६–२–१ रहेको छ । त्यसको आधा भनेको ३–१–०–२ जग्गासम्म कसैको मन्जुरी नलिई व्यबहार गर्न सक्ने कुरामा बिवाद हुन सक्दैन । ३–१०–० बाट ३–१–२ घटाउदा ०–८–२ मात्र बिवादित रहयो र उक्त ०–८–२ मध्ये ३ खण्ड अर्थात ०–२–३–० जग्गा सम्म बदर हुने हो । त्यस तर्फ विचारसम्म नगरी आत्मनिष्ठ भई गरेको फैसला मिलेको छैन । उक्त फैसला नमिलेको व्यहोरा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त सम्वत् २०५२ सालको दे.मि.न ३३८८ भिम वहादुर कार्की विरुद्ध कमल वहादुर कार्की भएको स.अ.वुलेटिन वर्ष ९ अंक ८ पृष्ठ १० ) समेतबाट समर्थित भएकै छ । बिपक्षी वादीको फिराद दाबी नपुग्ने समर्थनमा ने.का.प. २०५५ नि.नं. ६५९० पृष्ठ ४८८ ने.का.प. २०५३ नि.नं ६१५८ पृष्ठ १९५ प्रतिपादित सिद्धान्त समेतबाट समर्थित भएकै छ । अतः माथि प्रकरण प्रकरणमा उल्लेखित वेहोरा वमोजिम बिपक्षी वादीको झुठो वेहोराको साथ, हदम्यादको अभावमा कानून विपरीत परेको फिराद दाबी पुग्ने गरी हुन गएको फैसला बदर भागी रहेको प्रष्ट छ । तसर्थ पुनराबेदन अदालतको फैसला बदर भागी रहेकोले मुद्दा दोहोर्याई इन्साफ पाउँ भन्ने यस अदालतमा पर्न आएको वादीको निवेदन ।
यसमा वादी राधा विसंख्ये सिंहराम विसंख्येकी पत्नी भन्ने देखिन्छ । यिनै पति पत्नि बीच चलेको अंश मुद्दाबाट वादीको पतिको बिवादित कि.नं ५१ को जग्गा ३–१०–०–० मात्र नभई जम्मा ६–१–३–० जग्गा रहेको भन्ने देखिन्छ । वादी राधा विसंख्ये तीन अशियार मध्येको एक अंशियार भएको देखिन्छ । वादीको पतिले पुनरावेदकलाई बिक्री गरेको जग्गामा वादीको मन्जुरी नलिई बिक्री गरेको भएपनि वादीको तिन खण्डको एकखण्डमा मात्र हक हुने र अंशवण्डाको १९ नं अनुसार पुनरावेदकलाई बिक्री गरेको जम्मा जग्गामा आधा जग्गा मात्र विक्री गरेको हुँदा वादीको पतिले वादीको मन्जुरी नलिई बिक्री गर्न सक्नेमा वादीको मन्जुरी नलिई बिक्री गरेको भनि वादीले लिखत बदर तर्फ दाबी नै नलिई जालसाजी गरेको भनी परेको फिरादको आधारमा लिखत बदर गरेको शुरुको फैसला सदर गरेको पुनराबेदन अदालत पाटनको फैसला अ.व. १८४ नं तथा अंशवण्डाको १९ नं को व्याख्यात्मक त्रुटी हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरी दिएको छ । कानून बमोजिम गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०६३।१२।२८ गतेको आदेश ।
२. नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनराबेदन जिकिर सहितको मिसिल अध्ययन गरी पुनरावेदक बिक्की महर्जनको तर्फबाट रहनु भएको विद्वान वरिष्ठ अधिवक्ता श्री राधेश्याम अधिकारी र अधिवक्ता श्री चण्डेश्वर लाल श्रेष्ठले बिवादित जग्गा कृषि विकास वैकमा वादीको श्रीमानले धितो राखी लिएको ऋण चुक्ता गर्न वादीको सहमतिबाट विक्री गरेको जग्गा हाम्रो पक्षले खरिद गरी लिएको हो । कुनै जालसाज पूर्ण कार्य गरेको छैन । वादीको श्रीमानको अन्य जग्गा वाँकी नै भएको र सो जग्गाबाट अंश पाउने नै हुँदा बिवादित जग्गा खरिद गरी लिएको हो । प्रत्यर्थी वादीले लिखत बदर मुद्दा छुट्टै दिनु पर्नेमा उक्त मुद्दा नदिई प्रस्तुत जालसाजी मुद्दाको आधारमा हाम्रो पक्षले लिएको जग्गाको ३भागको १ भाग लिखत बदर हुने ठहराएको पुनराबेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण हुँदा वादी दाबी खारेज गरिपाऊँ भन्ने वहस गर्नुभयो । प्रत्यर्थी वादी राधा विसख्येको तर्फबाट विद्वान अधिवक्ताहरु खिमानन्द वन्जाडे, रुकु थापा के.सीं. र भिमराज कडरियाले हाम्रा पक्ष प्रत्यर्थी मध्येको सिंहराम विसंख्येको जेठी श्रीमती रहेको र निजहरुको बीचमा विधिवत अंशवण्डा भएको छैन । वादी राधा विसख्ये सिहराम विसंख्येको जेठी श्रीमती रहेको अवस्था निजको श्रीमान सिंहरामले बिवादित जग्गा विक्री गर्दा राजिनामा कागजमा वादीलाई साक्षी राखेको छैन । वादी राधा विसंख्येको मंजुरनामा नभएसम्म वादीको श्रीमानले विक्री गरेको अवस्थामा त्यस्तो विक्री भएको रजिष्ट्रेशनको लिखत लेनदेन व्यबहारको १० नं अनुसार बदर हुन सक्ने हुन्छ । तसर्थ प्रतिवादीहरुले मिलोमतो गरी जालसाजपूर्वक विक्री लिनु दिनु गरेको हुँदा जालसाजी ठहराई ३ भागको १ भागको लिखत जालसाज गरेको ठहराई बदर हुने ठहराएको पुनराबेदन अदालत पाटनको फैसला मिलेको हुँदा सदर हुनु पर्दछ भन्ने वहस गर्नुभयो ।
३. निर्णय तर्फ विचार गर्दा हामी ३ अंशियार छौ । सम्पुंर्ण सम्पत्ति पतिको जिम्मामा रहेको छ । म जेठी श्रीमती हुँदा हुदै पति सिंहराम विसंख्येले मेरो अंश हक लाग्ने जग्गा का.जि.सतुंगल गा.वि.स.वडा नं ४ ख कि.नं ५१ को क्षेत्रफल ३–१०–०–० जग्गा जालसाजी गरी २०५७।१२।१५ मा अर्का प्रतिवादी बिक्की महर्जनलाई विक्री गरेको हुँदा किर्ते कागजको ३ नं बमोजिम जालसाजी घोषित गरी ऐ को १० नं अनुसार सजाय गरिपाऊँ भन्ने वादी दाबी र दाबीको कागज ३ नं प्रतिकूल भएको छैन । बिपक्षी वादीको मन्जुरीबाट निजको पतिले बिवादित जग्गा विक्रि गरी दिएकोले लेनदेन व्यबहारको १० नं प्रतिकूल नभएकोले वादी दाबी खारेज गरिपाऊँ भन्ने प्रतिवाद जिकिर भएको प्रस्तुत मुद्दामा जालसाजी ठहराई शुरु काठमाण्डौ जिल्ला अदालतले ३ भागको १ भाग लिखत निष्कृय ठहराएको फैसलालाई सदर गरेको पुनराबेदन अदालत पाटनको फैसला उपर प्रतिवादी बिक्की महर्जनको निवेदनमा दोहोर्याउने निस्सा प्रदान भै पुनरावदेनमा दर्ता भई पेश हुन आएको देखियो ।
४. यसमा बिवादित जग्गा सतुंगल गा.वि.स.वडा नं ४(ख) कि.नं ५१ को क्षेत्रफल ३–१०–०–० सम्पत्ति सगोलमा रहेको र यी वादी राधा विसंख्ये अशियार रहेकोमा बिवाद देखिएन । यस्तो सगोलको पैत्रिक सम्पत्तिमा विक्री व्यबहार आदि जे सुकै हुने अवस्थामा उमेर पुगेको अंशियारको मंजुरी लिनुपर्ने अनिवार्य व्यवस्था लेनदेन व्यबहारको १० नं को कानूनले गरेको पाइन्छ । जस अनुसार अंश नभएको अंशियारले सगोलको सम्पत्ति बेच विखन गर्दा वा कुनै किसिमले हक छाडी दिंदा ऐनले आफु खुशी गर्न पाउने अरुको मन्जुरी लिनु नपर्नेमा वाहेक अरुमा एकाघरका अंशियार सवै साक्षी वसेको वा मन्जुरीको लिखत गरी दिएको भए मात्र पक्का ठहर्छ । प्रस्तुत लिखतमा यी वादी साक्षी वसेको वा मन्जुरी दिएको पनि देखिदैन । घर व्यबहार चलाउन आधासम्म घरको मुलीले विक्री गर्न पाउने भन्ने कानूनी व्यवस्था रहे पनि वैकमा धितो सम्पत्ति उकास गर्ने सिलसिलामा व्यबहार चलाउन विक्री गरेको भन्ने देखिन आएन । यस्तोमा अंशवण्डाको १८ नं ले निजी ठहर्ने र ऐ को १९ नं ले आफ्नो पालामा आर्जेको सम्पत्ति निजी ठहर्ने अवस्था वाहेक सगै वसेको सम्पत्ति सगोलको आर्जनमा सवै अशियारको भाग लाग्ने भन्ने ने.का.प. २०५४ नि.नं ६३०३ पृष्ठ १ मा लक्ष्मी देवी वास्तोला विरुद्ध इन्द्र मोहन अधिकारी भएको लिखत बदर मुद्दामा वृहद पूर्ण इजलासबाट सिद्धान्त प्रतिपादन भईसकेको समेतबाट समर्थित भएको देखिन आउँछ । लिखत बदर र जालसाज सम्वन्धमा पक्षले आफुलाई सहज पर्ने जुनसुकै बाटो अवलम्वन गर्न सक्ने नै हुँदा वादी लिखत वदरमा नआई जालसाजमा मात्र आएकोलाई अन्यथा भन्न मिलेन प्रस्तुत मुद्दामा प्रत्यर्थी वादी राधा विसंख्येको हक लाग्ने जग्गा निजको मन्जुरी वेगर विक्री व्यबहार गरेको देखिएकोले किर्ते कागजको ३ नं अनुसार हक मेटने कार्य गरेको हुँदा जालसाज हुने ठहर्छ । यस अवस्थामा प्रतिवादीहरुले लेनदेन गरेको लिखत सम्पत्तिमा वादीको दाबी कायम रहन नसक्ने भन्न उपयुक्त नहुने हुँदा यस अदालतवाट मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान हुँदा उल्लेख वूंदा संग यो इजलास सहमत हुन सकेन । अतः वादी दाबी अनुसार वादीको हकमा सम्म मिति २०५७।१२।१५ को लिखत जालसाज हुने ठहराएको शुरु काठमाण्डौ जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनराबेदन अदालत पाटनको मिति २०६३।२।२८ को फैसला मिलेको देखिंदा सदर हुने ठहर्छ । मिसिल नियम बमोजिम वुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.रामप्रसाद श्रेष्ठ
इति सम्वत २०६४ साल माघ ८ गते रोज ३ शुभम.......................................
शाखा अधिकृत : जवाहरप्रसाद सिंह