शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७९३८ - मोही लगत कट्टा

भाग: ५० साल: २०६५ महिना: जेष्ठ अंक:

निर्णय नं.७९३८     ने.का.प. २०६५      अङ्क २

 

सर्वोच्च अदालत संयुक्त इजलास

माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी

माननीय न्यायाधीश श्री राजेन्द्र्रप्रसाद कोइराला

सम्वत २०६३ सालको दे.पु.नं. ८९७६

फैसला मितिः २०६५।२।३१।६

 

मुद्दाःमोही लगत कट्टा ।

 

पुनरावेदक प्रतिवादीः मोरङ जिल्ला गोविन्दपुर गा.वि.स. वडा नं. ३ घर भई हाल ऐ. कसेनी गा.वि.स.वडा नं.६ बस्ने वलवहादुर वुढाथोकी

बिरुद्ध

प्रत्यर्थी वादीः मोरङ जिल्ला डांगीहाट गा.वि.स. वडा नं. ५ बस्ने मचिन्द्र वहादुर लिम्बु

 

शुरु निर्णय गर्ने

भूमिसुधार अधिकारी श्याम भण्डारी

पुनरावेदन निर्णय गर्नेः

मा.न्या. गोविन्द कुमार श्रेष्ठ

मा.न्या. राघवलाल वैद्य

 

§  विशेष अदालत ऐन वा अन्य कुनै विशेष कानूनमा पुनरावेदनको म्याद थाम्ने थमाउने स्पष्ट व्यवस्था नभएको अबस्थामा सामान्य ऐनको रुपमा रहेको मुलुकी ऐन, अदालती वन्दोबस्तको ५९ नं. आकर्षित हुँदैन भन्नु न्यायसंगत नभएकोले पुनरावेदनको म्याद गुज्रेमा अ.वं. ५९ नं. अनुसार थाम्न पाउने सुविधा प्राप्त हुने ।

(प्रकरण नं.५)

§  भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५५(१) बमोजिमको पुनरावेदनको म्याद ३५ दिन र अ. वं. ५९ नं. बमोजिम थाम्न पाउने म्याद ३० दिन गरी ६५ दिन भित्र पुनरावेदन अदालतमा प्रस्तुत पुनरावेदन दर्ता गरेको अबस्थामा कानूनले तोकेको हदम्याद भित्रै परेको पुनरावेदनलाई हदम्याद नघाई दायर भएको भन्न नमिल्ने ।

(प्रकरण नं.६)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता भीमवहादुर ढकाल

प्रत्यर्थी वादी तर्फवाटः विद्वान अधिवक्ता मोतिराज गौतम

अवलम्वित नजीरः

 

फैसला

            न्या.ताहिरअलि अन्सारीः पुनरावेदन अदालत विराटनगरको फैसला उपर प्रतिवादीको तर्फबाट परेको मुद्दा दोहोर्‍याई पाउँ भन्ने निवेदनमा यस अदालतवाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम दोहोर्‍याई हेर्ने निस्सा प्रदान भै पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः

            मेरा नाम दर्ताको जिल्ला मोरङ कसेनी गा. वि. स. वडा नं. ६(ख) को कि. नं. ३५२ को ज. वि. ०५ ऐ. ऐ. को कि. नं. ७२ को ज. वि. ०१०१५ ऐ. वडा नं. ६(घ) को कि. नं. ८१ को ज. वि. ०१८ À ऐ. ऐ. को कि. नं. ८३ को ०१२१० ऐ. ऐ. को कि. नं. ७४ को ०१६५ ऐ. ऐ. को कि. नं. ४५ को ०१० ऐ. ऐ. को कि. नं. ७१ को ०१२० समेत जग्गाको मोही महलमा प्रतिवादी विपक्षी वल वहादुर वुढाथोकीको नाम उल्लेख भएको र निजले उल्लेखित जग्गा ३०।३४ बर्ष अगाडि देखि नै मोहीमा जोत आवाद गर्न छाडी अन्यत्रै गएको हुँदा उक्त जग्गा म जग्गा धनी आँफैले जोतआवाद गरी आएको हुँदा भु. सं. ऐन, २०२१ को दफा २६(१)(ग) अनुसार मोहीको लगत कट्टा गरिपाऊँ भन्ने वादीको उजुरी निवेदन ।

प्रतिवादीका नाममा कार्यालयवाट जारी भएको म्याद मिति २०५७।१।१० मा तामेल भई प्रतिवाद नपरी शुरु म्याद नै समाप्त भएको हुँदा शुरु कार्यालयवाट मिति २०५७।२।५ गते स्थलगत सर्जमिन हुँदा उल्लेखित जग्गा ३२।३३ बर्ष अगाडि देखि मोहीले जोत आवाद गर्न छाडी अन्यत्रै गएको हुँदा उक्त जग्गा ज. ध. आफैले जोत कमोद गरी आएको भन्ने एकै व्यहोराको मुचुल्का समेतका आधारमा यस कार्यालयवाट मिति २०५७।२।९ मा मोहीको लगत कट्टा हुने गरी निर्णय भै श्रेस्ता पुर्जामा समेत मोहीको नाम कट्टा भै गएकोमा उक्त निर्णय मैले मिति २०५७।४।११ मा नक्कल सारी लिंदा थाहा हुन गएको हुँदा थाहा पाएको मितिले ६ महिना ३५ दिन भित्र आफुलाई परेको अन्याय पिर मर्का समेत खुलाई अ. वं. २०८ नं. बमोजिम प्रतिउत्तर दर्ता गरी कार्यवाहीमा वस्न पाउँ भन्ने व्यहोराको प्रतिउत्तर पत्र दर्ता भै प्रतिवादी समेत तारेखमा रहेको ।

मोही लगत कट्टा गरी दिने गरी यस कार्यालयवाट २०५७।२।९ मा भएको निर्णय पश्चात पनि मोही प्रतिवादीले आफ्नो र आफ्ना परिवार तर्फबाट जग्गा जोत आवाद गरेको नदेखिएको, मोही लगत भरेको अनुसूचि समेत पेश गर्न नसकेको, आफ्नो कर्तब्य र दायित्व पुरा नगरी जग्गा जोत्न छाडी जग्गाधनी स्वयंले जग्गा जोति आएको देखिएकोले मोही लगत कट्टा हुने गरी मिति २०५७।२।९ मा भएको निर्णयमा परिवर्तन हुन सक्ने आधारहरु नदेखिएकोले मोही लगत कट्टा गर्ने गरी भएको निर्णय यथास्थितिमा रहने निर्णय गरि दिएको छु भन्ने समेत व्यहोराको शुरु भूमिसुधार कार्यालय मोरङको मिति २०६०।९।३।५ को निर्णय ।

प्रमाणको कार्यविधिगत प्रकृया पुरा नगरी निर्णय गरेको, भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६(ग) को गलत ब्याख्या गरेको, ३०।३४ बर्ष देखि मोही अन्यत्र गै वेपत्ता भएको भनी फिराद दावी लिएको एकातर्फ छ भने अर्को तर्फ २०५९ सालको कुतवाली दिएन, दिलाई पाउँ भनी अर्को फिराद पनि दिएको, त्यस तर्फ कुनै ध्यान दिइएको छैन । वादी प्रतिवादीको प्रमाण एक आपसमा सुनाई अ. वं. ७८ नं. को प्रकृया पुरा गर्नुपर्नेमा सो नगरेको, २०५९ सालको वाली दिएन दिलाई पाउँ भनी वादीले दिएको मुद्दा निजकै विरुद्ध प्रमाण लगाउनु पर्नेमा सो तर्फ समेत ध्यान नपुर्‍याएको, यदि मैले दावि बमोजिम ३०।३५ बर्ष अगाडि देखि जग्गा जोत्न छाडेको भए कानूनको म्याद भित्र वादीले उजुर गर्न सक्नु पर्ने थियो, सो भए गरेको छैन । अतः शुरु फैसला अन्यायपूर्ण भएकोले बदर उल्टी गरी मेरो मोही हक यथावत कायम गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन ।

यसमा जग्गाधनीले मोहीवाट कि. नं. ३५२, ७२, ८१, ८३, ७४, ४४, ८१ समेत कित्ता जग्गाको २०५६ सालको कुतवाली कसेनी गा. वि. स. को रोहवरमा २०५६।११।२२।१ मा वुझी लिएको र भूमि सम्बन्धी ऐन, २०२१ को दफा २६(१)(ग) बमोजिम मोहीले जग्गा जोत्न छाडेको सूचना समेत जग्गाधनीले नदिएको अबस्थामा ३४।३५ बर्ष अघि देखि नै मोहीले जोत्न छाडेको भनी लगत कट्टा गर्ने गरेको भूमिसुधार कार्यालय मोरङको ईन्साफ नमिलेकोले अ. वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत विराटनगरको मिति २०६१।३।१४।२ को आदेश ।

यसमा पुनरावेदकले यस मुद्दामा आकर्षित नहुने अ. वं. ५९ नं. अनुसार गुज्रेको म्याद थमाई  पुनरावेदन पत्र दर्ता गरी कारवाई चलाएको देखिएको र सो थामी पाएको म्याद समेत विशेष अदालत ऐन, २०५९ बमोजिम थाम्न पाउने १५ दिन भन्दा बढीको देखिन आएको समेत कारणवाट दर्ता नै हुन नसक्ने पुनरावेदन पत्र दर्ता हुन आएको कारणले पुनरावेदकको पुनरावेदन जिकिर भित्र प्रवेश गरी रहन परेन । तसर्थ प्रस्तुत पुनरावेदन खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत विराटनगरको मिति २०६२।३।१६ को फैसला ।

भूमि सम्बन्धी ऐनमा पुनरावेदनको म्याद गुज्रेमा थमाउने कानूनी व्यवस्था नभएको अबस्थामा अ. वं. ५९ नं. बमोजिम म्याद थमाउन पाउने प्रचलन रही आएको छ । त्यस्तै विपक्षी वादीले म उपर कुत दिलाई मोही निष्काशन गरिपाऊँ भनि २०५९ सालमा मुद्दा दायर गरेवाट समेत विवादित जग्गाको मोही म भएको कुरा पुष्टी भएको छ । साथै उक्त मुद्दाले जग्गा जोत्न छाडेको हुँदा मोहीको लगत कट्टा गरिपाऊँ भनि दिएको मुद्दामा भएको निर्णय खण्डित भएको अबस्था छ । यस्तो अबस्थामा भूमि सम्बन्धी ऐनमा भएको कानूनी व्यवस्था बमोजिम विवादित जग्गाको मोही म रहे भएको र विवादित जग्गा मैले नै कमाई आएकोमा केवल सर्जमिनका आधारमा मात्र मोहीको लगत कट्टा गर्न मिल्दैन । अतः सम्मानित सर्वोच्च अदालतवाट लखन मुखिया विन विरुद्ध केशवप्रसाद उपाध्याय (स. अ. वुलेटिन २०५७ बर्ष ९ अङ्क १२, पृ. १२), कृष्णमान श्रेष्ठ विरुद्ध चिनका थारु (स. अ. वुलेटिन २०५५ अङ्क ७, पृ. ७) समेतका मुद्दामा प्रतिपादित कानूनी सिद्धान्त एवं भूमि सम्बन्धी ऐन, २०२१ को दफा २९(२) ख, २९क को देहाय (ख) एवं मुलुकी ऐन अ. वं. ३५ नं. विपरीत भएको पुनरावेदन अदालतको त्रुटीपूर्ण फैसला बदर गरी न्याय पाउँ भन्ने समेत ब्यहोराको प्रतिवादीको तर्फबाट यस अदालत समक्ष परेको मुद्दा दोहोर्‍याई हेरी पाउँ भन्ने निवेदन ।

यसमा भूमिसुधार अधिकारीले मोही लगत कट्टा सम्बन्धी मुद्दामा गरेको निर्णय उपर पुनरावेदन अदालतमा पुनरावेदन गर्दा अ. वं. ५९ नं. बमोजिम ३० दिनको म्याद थाम्न थामिन सक्ने भनी यस अदालतवाट सम्बत २०५३ सालको दे. पु. नं. ३५१२ लखन मुखिया विन विरुद्ध केशवप्रसाद उपाध्याय भएको कुत दिलाई मोही निष्काशन मुद्दामा फैसला भै सिद्धान्त कायम भएको देखिन्छ । (स. अ. वुलेटिन २०५७ अङ्क १२ पृ. १२) उल्लेखित नजिर र अ. वं. ५९ नं. को गलत ब्याख्या गरी पुनरावेदन नै खारेज हुने गरी पुनरावेदन अदालतवाट भएको फैसलामा अ. वं. ५९ नं. र उल्लेखित नजिरको ब्याख्यामा गम्भिर त्रुटी भएको देखिदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) को आधारमा प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरी दिएको छ । विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको आदेश ।

२.    नियम बमोजिम पेशी सूचीमा चढी इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता भीम वहादुर ढकालले विवादित जग्गाको मोही पुनरावेदक प्रतिवादी भै निजले नै विवादित जग्गा जोत कमोद गरी आएकोमा जग्गा धनीको तर्फबाट परेको प्रस्तुत मोही लगत कट्टा मुद्दामा मोही लगत कट्टा हुने गरी २०५०।२।९ मा भूमिसुधार कार्यालयबाट कानून विपरीत निर्णय भएको छ । सो निर्णय उपर प्रतिवादीको तर्फबाट अ. वं. २०८ नं. बमोजिम परेको प्रतिउत्तरवाट समेत उक्त २०५७।२।९ मा भएको निर्णय परिवर्तन नगरी सोही निर्णय कायम गर्ने गरी शुरु भूमिसुधार कार्यालय मोरङवाट २०६०।९।३ मा निर्णय भयो । सो उपर कानूनका म्याद भित्र पुनरावेदन परेकोमा म्याद नाघी पुनरावेदन परेको भनि पुनरावेदन पत्र खारेज गर्ने गरी भएको पुनरावेदन अदालत विराटनगरको फैसला त्रुटीपूर्ण छ । जग्गाधनीको तर्फबाट २०५९ सालमा परेको कूत दिलाई मोही निष्काशन गरिपाऊँ भन्ने मुद्दावाट समेत विवादित जग्गा मेरो पक्षले कमाई आएको तथ्य प्रमाणित भएको अबस्थामा अ. वं. ५९ नं. को म्याद भित्र परेको पुनरावेदन पत्र खारेज गर्ने गरी भएको पुनरावेदन अदालतको फैसला कानून संगत नहुँदा बदर गरिपाऊँ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो । प्रत्यर्थी वादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता मोतीराज गौतमले विवादित जग्गाको फिल्ड बुकको मोहीको महलमा पुनरावेदकको नाम लेखिएको भएतापनि निजले ३०, ३४ बर्ष देखि जग्गा कमाउन छाडेकोले सोही मिति देखि जग्गा धनीले नै कमाई आएका छन् । यस्तो अबस्थामा कर्तब्य निर्वाह नगर्ने मोहीलाई निष्काशन गरी भएको भूमिसुधार कार्यालयको निर्णयमा कुनै त्रुटी छैन । त्यसैगरी प्रस्तुत मुद्दामा विशेष अदालत ऐन बमोजिमको पुनरावेदनको म्याद आकर्षित हुनेमा अ.वं. ५९ नं. बमोजिमको म्यादमा परेको पुनरावेदन पत्र खारेज गरी भएको पुनरावेदन अदालत विराटनगरको फैसलामा कुनै त्रुटी नहुँदा उक्त फैसला सदर गरिपाऊँ भन्ने समेत वहस प्रस्तुत गर्नुभयो ।

३.    दुबै तर्फको विद्वान अधिवक्ताहरुको बहस सुनी मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालतको फैसला मिले नमिलेको के रहेछ ? सोही बिषयमा निर्णय गर्नुपर्ने देखियो ।

४.    यसमा, प्रत्यर्थी वादीको तर्फबाट भूमिसुधार कार्यालय मोरङमा परेको मोही लगत कट्टा मुद्दामा भूमि सम्बनधी ऐन, २०२१ को दफा २६(१) को खण्ड (ग) बमोजिम मोही लगत कट्टा हुने ठहरी सो कार्यालयवाट मिति २०५७।२।९ मा निर्णय भएको देखिन्छ । त्यसमा प्रतिवादीको नाममा तामेल भएको म्याद वेरीतको भन्दै सो निर्णय उपर यिनै पुनरावेदक प्रतिवादीको तर्फबाट अ. वं. २०८ नं. बमोजिम प्रतिउत्तर परेकोमा भूमिसुधार कार्यालयवाट भएको उक्त २०५७।२।९ को पूर्व निर्णयलाई नै यथावत कायम राखी मोही निष्काशन गर्ने गरी निर्णय भएको देखिन्छ । प्रत्यर्थी जग्गा धनीको तर्फबाट मोहीले कूत नबुझाएको कारण देखाई २०५९।१२।२७ मा परेको कूत दिलाई मोही निस्काशन मुद्दामा मोही लगत कट्टा भई मोहीको हकै समाप्त भै सकेकोले वादी दावी नपुग्ने गरी भूमिसुधार कार्यालय मोरङवाट २०६०।९।३ मा निर्णय भएको देखिन्छ । अर्को तर्फ यी पुनरावेदक प्रतिवादीका तर्फबाट परेको जग्गा वाडफाँड मुद्दामा मोहीको हक नै समाप्त भएको हुँदा जग्गा वाँडफाँड हुन नसक्ने भनी दावी नै खारेज गर्ने गरी २०६०।९।३ मा निर्णय भएको समेत देखियो । प्रस्तुत मोही लगत कट्टा मुद्दामा भूमिसुधार कार्यालयबाट भएको निर्णय उपर यिनै प्रतिवादीको तर्फबाट पुनरावेदन परेकोमा पुनरावेदन अदालत विराटनगरवाट बिशेष अदालत ऐन, २०५९ बमोजिमको म्याद भित्र पुनरावेदन पत्र दर्ता नगरी अ. वं. ५९ नं. बमोजिम पुनरावेदन दायर गरेकोले म्याद नाघी पुनरावेदन दायर भएको भन्दै इन्साफ तर्फ प्रवेश नगरी पुनरावेदन खारेज गरेको देखियो ।

५.    यस्तो अबस्थामा पुनरावेदन अदालतमा प्रतिवादीको तर्फबाट परेको पुनरावेदन म्याद भित्र छ वा छैन सोही कुराको सर्वप्रथम निर्णय गर्नुपर्ने देखियो । यस सम्बन्धमा विचार गर्दा मोही लगत कट्टा समेतका मुद्दाहरुको कारवाही र निर्णय विशेष अदालत ऐन, २०३१ अनुसार गर्नुपर्ने गरी भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५३(१) ले व्यवस्था गरेको छ । सोही ऐनको दफा ५५(१) ले भूमि सम्बन्धी ऐन, २०२१ अन्तर्गतको निर्णय उपर पैतीस दिन भित्र पुनरावेदन अदालतमा पुनरावेदन लाग्ने व्यवस्था गरेको छ । सो वाहेक भूमि सम्बन्धी ऐन, २०२१ मा पुनरावेदनको म्याद थाम्ने थमाउने सम्बन्धी स्पष्ट कानूनी व्यवस्था भएको देखिदैन । विशेष अदालत ऐन, २०५९ को दफा ११ मा विशेष अदालतमा परेको मुद्दा र सो अदालतको फैसला उपर परेको पुनरावेदनमा १५ दिनसम्म म्याद तारेख थाम्न पाउने सम्मको व्यवस्था गरेको देखिन्छ । उक्त दफा ११ ले पुनरावेदनको म्याद गुज्रेमा थाम्न पाउने अवधी निर्धारण गरेको छैन । यसरी विशेष अदालत ऐन वा अन्य कुनै विशेष कानूनमा पुनरावेदनको म्याद थाम्ने थमाउने स्पष्ट व्यवस्था नभएको अबस्थामा सामान्य ऐनको रुपमा रहेको मुलुकी ऐन, अदालती वन्दोबस्तको ५९ नं. आकर्षित हुँदैन भन्नु न्यायसंगत हुँदैन । यस्तो अबस्थामा पुनरावेदनको म्याद गुज्रेमा अ. वं. ५९ नं. बमोजिम थाम्न थमाउन पाउने कानूनी व्यवस्था लागु हुने स्पष्ट छ । यसै सम्बन्धमा यस अदालतवाट पुनरावेदक लखन मुखिया विन विरुद्ध केशवप्रसाद उपाध्याय भएको कुत दिलाई मोही निस्काशन मुद्दामा (स.अ. वुलेटिन २०५७ अङ्क १२, पृ. १२) पुनरावेदनको म्याद गुज्रेमा अ. वं. ५९ नं. अनुसार थाम्न पाउने सुविधा पुनरावेदकलाई प्राप्त हुने भनी यस अदालतवाट पहिला नै ब्याख्या भइसकेको छ ।

६.    माथि उल्लेख गरिएको कानूनी व्यवस्था र प्रतिपादित सिद्धान्त समेतका आधारमा प्रस्तुत मुद्दामा यी पुनरावेदकको नाममा भूमिसुधार कार्यालय मोरङवाट जारी भएको पुनरावेदनको म्याद मिति २०६०।१०।२२ मा तामेल भै सो मितिवाट भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५५(१) बमोजिमको पुनरावेदनको म्याद ३५ दिन र अ. वं. ५९ नं. बमोजिम थाम्न पाउने म्याद ३० दिन गरी ६५ दिन भित्र २०६०।१२।१३ मा पुनरावेदन अदालत विराटनगरमा प्रस्तुत पुनरावेदन दर्ता गरेको अबस्थामा कानूनले तोकेको हदम्याद भित्रै परेको पुनरावेदनलाई हदम्याद नघाई दायर भएको भन्न मिलेन ।

७.    तसर्थ म्याद नाघी पुनरावेदन परेको भन्ने आधारमा औचित्य भित्र प्रवेश नगरी पुनरावेदन खारेज गर्ने गरेको पुनरावेदन अदालत विराटनगरको मिति २०६२।३।१६।५ को फैसला मिलेको नदेखिदा बदर गरी दिएको छ । अव कानून बमोजिम जो जे बुझ्नु पर्छ बुझी हदम्याद भित्र  परेको  प्रस्तुत  पुनरावेदनवाटै  ठहर निर्णय गर्नु भनी उपस्थित पक्षहरुलाई तारेख तोकी शुरु र पुनरावेदन अदालतको मिसिल समेत पुनरावेदन अदालत विरानगरमा पठाई दिने ठहर्छ । दायरीको लगत कट्टा गरी रेकर्ड मिसिल अभिलेख शाखामा बुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या.राजेन्द्रप्रसाद कोइराला

 

इति सम्वत २०६५ साल जेठ ३१ गते रोज ६ शुभम .... ।

ईजलाश अधिकृतः रमेशप्रसाद ज्ञवाली

 

 

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु