निर्णय नं. ४१०२ - निषेधाज्ञा

निर्णय नं. ४१०२ ने.का.प. २०४७ अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४५ सालको दे.पु.नं. ८९६
फैसला भएको मिति : २०४७।३।६।४ मा
पुनरावेदक/प्रतिवादी : का.न.पं. वा.नं. १० बस्ने रामकृष्ण पण्डित क्षेत्री
विरुद्ध
विपक्षी/वादी/निवेदक : ऐ.ऐ. बस्ने नानीमैंया पण्डित क्षेत्री
मुद्दा : निषेधाज्ञा
(१) साविक देखि आवत जावत गर्ने गरी साविकदेखि चलन चल्तीका बाटोको रुपमा उपभोग गरी आएको जग्गालाई कसैले थुनछेक गर्न कानुनसंगत नदेखिँदा निषेधाज्ञा जारी हुने ।
(प्रकरण नं. १४)
पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री वेदप्रसाद शिवाकोटी
विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल
फैसला
न्या.त्रिलोकप्रताप राणा
१. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर चित्त नबुझाई प्रतिवादी तर्फबाट यस अदालतमा पर्न आएको निवेदनमा पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।
२. तत्कालीन भिमसेनगोला वा.नं. ६ हाल का.न.पं. वडा नं. १० बानेश्वर स्थित कि.नं. ८ को मेरो साविक देखिको बसोवास रहेको घर जग्गामा जान देवकोटा मार्ग (बानेश्वर) को पीच सडकसंग जोडिएको विपक्षी रामकृष्ण पण्डित क्षेत्रीको साविक घरदेखि दक्षिण साविकमा ११२ हात चौडाईको गोरेटो बाटो सो गोरेटो बाटो देखि दक्षिणतर्फको साँधवाला सावित्री सिजापतीले २०२९ सालमा कम्पाउण्ड लगाउँदाका बखत १ फिट आफ्नो जग्गा छाडी गोरेटो बाटोलाई फराकिलो पारेको त्यस्तो साविक देखिको मेरो घर जग्गामा आवत जावत गर्ने एक मात्र उक्त बाटोलाई मिति २०४२।७।१६ गते विपक्षीले सावित्री देवी सिजापतिले ०२९ सालमा लगाएको पर्खाल भत्काई उक्त बाटो थुनछेक गर्ने नियतले काँडेतार काठको लठ्ठा राखी मेरो घर जग्गामा आवत जावत गर्ने बाटो थुनछेक गर्ने प्रबल आशंका भएकोले नागरिक अधिकार ऐन, २०१२ को दफा ३ र ६ द्वारा प्रदत्त नागरिक अधिकारमा आघात पार्ने आशंका भएकोले ऐ. ऐनको दफा १७(२) बमोजिम उक्त गोरेटो थुनछेक गर्ने काम नगर्नु भनी विपक्षीको नाउँमा निषेधाज्ञाको आदेश साथै अन्तरिम आदेश समेत जारी पाउँ भन्ने समेतको नानी मैया पण्डितको बा.अं.अ. मा परेको निवेदनपत्र ।
३. विपक्षी अदालतमा स्वच्छ न्यायिक मन प्रयोग गरी नआई कलुषित भावनाबाट उत्प्रेरित भएको हुँदा निवेदन खारेजभागी छ । दावीको जग्गा बाटो नभई मेरो स्वामित्वको जग्गा हो वास्तवमा विवादित जग्गा आली मात्र भएको बाटो नभएको ठाउँमा जबरजस्ती बाटो कायम गर्नु घर बनाउनेको ३ नं. विपरीत छ । विपक्षीको हक अधिकार कुण्ठित नभएको हुँदा निवेदन खारेज गरी पाउँ भन्ने समेतको रामकृष्ण पण्डित क्षेत्रीको लिखितजवाफ ।
४. निवेदक नानीमायाले कि.नं. ८ को बाँकी जग्गामा घर बनाउन मिति २०४१।३।१८ मा का.न.पं. मा नक्शा पासको लागि दर्खास्त दिंदा नयाँ बनिने घर जान उक्त गोरेटो बाटो नै कायम गरिएको र सोही बमोजिम का.न.पं. बाट जारी भएको १५ दिने सूचना मिति २०४१।८।५।३ मा विपक्षीका एकै सगोलका पिता कृष्णबहादुरले बुझी लिई सो कायम रहेको बाटोमा चित्त बुझाई बसेको देखिँदा बाटो साविक देखि नै चलन चल्तीमा रहेको प्रष्ट भएका साथै अदालतबाट भएको नक्शाबाट ४” ६” बाटो देखिएकोले आली नभई बाटै रहेको भन्ने कुरालाई प्रमाणित गरेकोले साविक देखि चलन चल्तीमा उपभोग गरी आएको बाटोलाई कसैले थुनछेक गर्नु कानुन एवं न्यायसंगत नहुँदा निवेदकको माग बमोजिमको बाटोमा आवत जावत एवं हिंड्डुल गर्न समेत नरोक्नु भनी विपक्षीका नाउँमा निषेधाज्ञा जारी हुने ठहर्छ भन्ने समेतको बा.अं.अ. का मिति २०४२।११।२९।४ को फैसला ।
५. घर बनाउने महलको ३ नं. अनुसार प्रत्यक्ष त्रुटि गरी बा.अं.अ. ले फैसला गरेको हुँदा सबूद प्रमाण समेत हेरी उक्त आदेश बदर उल्टी गरी साविक बमोजिम कायम गरी पाउँ भन्ने समेत प्रतिवादी रामकृष्णको म.क्षे. अदालतमा परेको पुनरावेदन पत्र ।
६. यसमा शुरु अञ्चल अदालतको निर्णय फरक पर्न जाने भएबाट अ.बं. २०२ नं. बमोजिम विपक्षीलाई झिकाई आएपछि पेश गर्ने भन्ने समेत म.क्षे.अ. को मिति २०४३।५।२२ को आदेश ।
७. यसमा निवेदकको घरमा आवागमन गर्ने विवादित गोरेटो बाटो बाहेक अन्य बाटो रहे भएको भई आएको नक्शाबाट देखिन नआएको, घर बनाउँदाको अवस्थामा नै नक्शा दर्खास्तमा आवागमन गर्ने उक्त विवादित गोरेटो बाटोलाई नै देखाएको देखिँदा साविक देखि चल्तीमा उपभोग गरी आएको बाटो देखिएकोले बाटोमा आवत जावत हिंड्डुल समेत नरोक्नु भनी निषेधाज्ञा जारी हुने ठहराएको बा.अं.अ. को फैसला मनासिब ठहर्छ भन्ने समेत म.क्षे.अ. को मिति २०४४।१०।१२ को फैसला ।
८. बाटो जस्तो महत्वपूर्ण कुरालाई सर्भे नक्शा आदिलाई बेवास्ता गरी गलत निर्णय गरेको समेत हुँदा कानुनी त्रुटिपूर्ण भएको फैसला, पुनरावेदनको अनुमति पाई उल्टी गरी पाउँ भन्ने समेत व्यहोराको प्र.रामकृष्ण पण्डित क्षेत्रीको यस अदालतमा पर्न आएको निवेदनपत्र ।
९. यसमा विवादित बाटो भनेको जग्गाको सँधियार सावित्री सिजापतिले २०२८।४।१५ गतेमा रुकमिणी नेपालीसंग किनेको जग्गाको चार किल्लामा बाटो भन्ने नभई निवेदक प्रतिवादीको जग्गा भन्ने उल्लेख भएको पारित राजीनामाबाट देखिन आएको छ । सर्भे नक्शाबाट पनि बाटो भन्ने नदेखिँदा यस्तो स्थितिमा ०४२ सालमा भएको नक्शाको आधारबाट निषेधाज्ञा जारी हुने ठहराई वादी दावी भन्दा बढी कुरामा गरेको म.क्षे.अ. को फैसलामा अ.बं. १७१ तथा १८४(क), १८५ र १८९ समेतको कानुनको व्याख्यात्मक त्रुटि हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०४४।१२।८ को आदेश ।
१०. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री वेदप्रसाद सिवाकोटीले डेढ हात साविकको जग्गा हो, सोमा सावित्रीले घर बनाउँदा १ फिट जग्गा थपियो र अब ३ फिट भयो । सो जग्गा थुनछेक गर्न लागे भनी निषेधाज्ञाको मुद्दा पर्यो । मेरो पक्षको लिखितजवाफमा साविक देखिको आली हो भनेको छ । मेरो पक्षको जग्गा भन्दा दक्षिण सावित्री सिजापतिले किनेको हो । सोमा उत्तरतर्फ बाटो छैन निजले मेरो पक्ष रामकृष्णको जग्गा भनी आएको छ । आली बाटो हुन सक्दैन । उक्त आली कति फिटको हो विवाद हुँदा त्यस्तोमा सबूद प्रमाण बुझ्ने स्थिति हुँदा निषेधाज्ञा जारी गर्न मिल्दैन । बाटो खिचोलामा मुद्दा दिनु पर्दथ्यो । सावित्रीले किनेको राजीनामामा बाटो नदेखिई मेरो पक्ष रामकृष्णको जग्गा भन्ने उल्लेख हुँदा निषेधाज्ञा जारी हुनु पर्ने होइन भनी बहस प्रस्तुत गर्नु भयो ।
११. विपक्षी वादीतर्फका विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले यो निषेधाज्ञा मुद्दा २०४२।७।१८ मा परेको छ । रामकृष्ण पण्डितको सावित्री सिजापति उपर खिचोला मुद्दा २०४३।१।१५ गते परेकोले खिचोला मुद्दा परेपछि सो बाटोको सृजना भएको होइन । निषेधाज्ञा निवेदनमा बाटो १।। हात र पछि सावित्रीले १ फिट छोडी साविक ३ फुटमा एक फुट थपी ४ फुट भएको भन्ने लेखाई छ । अतः १।। हात भन्ने मात्र दावी नभई फुटमा तीन र थपिएको एक फुट समेत चार फुट भनिएको छ । मेरो पक्षले बाटो भन्नु भएको छ, विपक्षीले आली भन्नु हुन्छ । तर आलीबाट आवत जावत हुने गरेको कुरा विपक्षीले लिखितजवाफमा स्वीकारेकै छ । आली कति हो भन्ने सम्बन्धमा नक्शाबाट ४” ६” निस्कियो । त्यति आली होइन घटी हो अरु मेरो जग्गा हो भनी विपक्षीले खण्डित गर्नु भएको छैन । नक्शा जिकिरमा सो घटी हो भन्नु भएको छैन । आली बाटोको रुपमा प्रयोग भएकोले हिंड्न दिनु पर्दछ । सावित्रीले राजीनामा गर्दा उत्तर किल्लामा बाटो नदेखिँदैमा बाटो हरण हुने होइन भनी बहस प्रस्तुत गर्नु भयो ।
१२. यसमा म.क्षे.अ. को इन्साफ मिले नमिलेको के रहेछ सो को निर्णय दिनु पर्ने हुन आयो ।
१३. यसमा निर्णयतर्फ विचार गर्दा मेरो बसोवास भएको घर जग्गामा जाने देवकोटा मार्गको पिच सडक पूर्व जोडिएको विपक्षी रामकृष्ण पण्डित क्षेत्रीको साविक घरदेखि दक्षिण साविक ११२ हात चौडाईको गोरेटो बाटो कायम रहेकोमा सो गोरेटो बाटोदेखि दक्षिणतर्फको साधवाला ऐ. बस्ने सावित्री सिजापतिले २०२९ सालमा आफ्नो घर जग्गामा बाउन्ड्रीवाल लगाउँदाको बखत ३ फिट चौडा गोरेटोमा एक फिट थपी गोरेटो बाटोलाई फराकिलो पारी कम्पाउण्ड पर्खाल उठाउनु भएको थियो । उक्त गोरेटो बाटो साविकदेखि भोगचलन गर्दै आएको थिएँ । २०४२।७।१६ गते विपक्षी रामकृष्णले सो गोरेटो बाटो भन्दा दक्षिण पट्टिको बानेश्वर बस्ने सावित्री देवी सिजापतिले २०२९ सालमा लगाएको पक्की पर्खाल जबरजस्ती भत्काई उक्त साविकदेखि भोगचलन गरी आएको बाटो थुनछेक गर्ने नियतले काँडेतार काठको लठ्ठा उक्त बाटो नजिक राखी मेरो घर जग्गामा साविकदेखि आवत जावत गर्ने बाटो थुनछेक गर्ने प्रबल आशंका भएकोले उक्त गोरेटो बाटो थुनछेक नगर्न भनी विपक्षीका नाउँमा निषेधाज्ञाको (आदेश जारी) गरी पाउँ भन्ने निवेदकको मुख्य जिकिर देखिन्छ । विपक्षीको दावी बमोजिमको जग्गा बाटो नभई मेरो जग्गा हो । सो बाटो नभई आली हो । वास्तवमा विपक्षीको दावी अनुसारको बाटो भन्ने कुरा कुनै केही ठाउँमा उल्लेख भएको छैन । तैपनि मबाट एक नागरिकको कर्तव्य सम्झी विपक्षीलाई कुनै किसिमको हालसम्म बाधा विरोध गरेको छैन । विपक्षीले आलीसम्म भएको, बाटो नभएको ठाउँमा जबरजस्ती वा गैरकानुनी तरीकाले बाटो कायम गर्न खोज्नु भएको छ भन्ने समेत विपक्षीको लिखितजवाफको मुख्य भनाई रहेको पाइन्छ । विपक्षीले निवेदक दावी अनुसारको जग्गा बाटो होइन आली हो भने तापनि त्यस्तो आली जग्गाबाट निवेदक आउने जाने गरेको कुरालाई विपक्षीले आफ्नो लिखितजवाफमा स्वीकार गरेको देखिन्छ । अब यसै विवादलाई लिएर २०४२।११।७ मा अदालतबाट नक्शा भएकोले सो नक्शातर्फ हेर्दा न.नं. १६ को घरको बलेसी दुई फुट नौ इञ्च बाहेक गरी सो देखि दक्षिण रहेको न.नं. १४ को ४”–६” जग्गालाई विपक्षीले आली डिल भनेकोमा निवेदकले बाटो भनेको पाइन्छ । सावित्री सिजापतिले मिति २०२८।४।१५ मा रुकमिणी नेपालीसंग जग्गा खरीद गर्दा उक्त लिखतमा उत्तर सीमानामा बाटो नभनी रामकृष्ण पण्डितको जग्गा भनी उल्लेख गरेकोले त्यहाँ बाटो छैन भन्ने पुनरावेदकतर्फका विद्वान अधिवक्ताको बहस भएकोमा उक्त लिखतमा यो निवेदक साक्षी बसेको देखिन्न । यस्तो अवस्थामा निवेदकले विवादको जग्गा रामकृष्ण पण्डितको भनी स्वीकारेको भन्न मिल्दैन । यिनै पुनरावेदकले आफ्नो लिखितजवाफमा त्यहाँ बाटो नभई आली हो र सो आलीबाट यो निवेदक आवत जावत गर्ने गरेको र त्यस्तो आवत जावतमा बाधा विरोध आफूले नगरेको भनी आफ्नो लिखितजवाफमा स्वीकार गर्नु भएको हुनाले सो आली डिल भए पनि त्यस्तो आली डिलबाट यो निवेदक साविकदेखि आवत जावत गर्ने गरेको रहेछ भन्ने कुरामा विवाद देखिएन ।
१४. यिनै निवेदक नानी मैया पण्डितले न.नं. १० को जग्गामा घर बनाउँदा पश्चिम किल्लामा ३ फुट आफ्नै जग्गा र सो देखि पश्चिम कृष्णबहादुर र गोरेटो बाटो भन्ने कुरा निवेदकले दिएको नक्शा दर्खास्तमा उल्लेख हुनुको साथै नक्शा साइट प्लानमा पनि सोही कुरा उल्लेख भएको देखिन्छ । सो बनेको घरलाई लिएर रामकृष्ण पण्डितले यिनै नानी मैया पण्डित उपर का.न.पं. मा उजूरी दिंदा त्यहाँ बाटो नभएकोमा बाटो छ भनी नक्शा पास गरे भन्ने तर्फ उजूरी नदिई ३ फिट जग्गा नछाडी खुल्ला झ्याल राखेको भन्ने उजूरी दिएबाट निज रामकृष्ण पण्डितले मौकैमा उजूर गर्दा बाटो नभएको भए बाटो कायम गरी नक्शा दर्खास्त दियो भनी उजूर नगरी खुला झ्याल राखेतर्फ मात्र उजूर गरेकोले त्यहाँ बाटो छैन भन्ने पुनरावेदकतर्फका विद्वान अधिवक्ताको बहस मिलेको देखिएन । नक्शाबाट निवेदकको न.नं. १० को घरमा जान न.नं. १४ देखि बाहेक अन्यत्र बाटो देखिन्न सोही बाटो भई न.नं. १० को घरमा जाने अवस्थाको नक्शा प्रकृतिबाट देखिन्छ । विपक्षीको न.नं. १६ को घरको बलेसी २”–९” बाहेक गरी सो देखि दक्षिण रहेको न.नं. १४ को ४”–६” नक्शामा डिल आली जनिएकोमा त्यति डिल आली जग्गा होइन थोरै हो भनी विपक्षीले नक्शा जिकिर लिनु भएको पाइन्न । अर्थात् ४”–६” आली डिल रहे भएको कुरालाई विपक्षीले अस्वीकार गरेको देखिन्न । अब उक्त जग्गा आली डिल हो भनी विपक्षीले भने तापनि त्यस्तोबाट निवेदकलाई आवत जावत गर्न दिएको कुरा स्वयं विपक्षीले आफ्नो लिखितजवाफमा समेत स्वीकार गर्नु भएकोले निवेदकले साविक देखि आवत जावत गर्ने गरी साविकदेखि चलन चल्तीमा बाटोको रुपमा उपभोग गरी आएको त्यस्तो जग्गालाई कसैले थुनछेक गर्न कानुनसंगत नदेखिँदा निषेधाज्ञा जारी हुने ठहराएको बा.अं.अ. को इन्साफ मनासिब ठहराएको म.क्षे.अ. को इन्साफ मनासिब ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हिरण्येश्वरमान प्रधान
इति सम्वत् २०४७ साल आषाढ ६ गते रोज ४ शुभम् ।