निर्णय नं. ४१०४ - अपहेलना

निर्णय नं. ४१०४ ने.का.प. २०४७ अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४६ सालको फौ.पू.नं. २८३
फैसला भएको मिति : २०४७।२।१७।५ मा
पुनरावेदक/प्रतिवादी : कारागार शाखा डोटीमा थुनामा रहेको कैलाशकुमार हमाल
विरुद्ध
प्रत्यर्थी/वादी : सु.प.क्षे.अ.
मुद्दा : अपहेलना
(१) न्यायाधीश अदालतकै अंग हो र सम्बन्धित अदालतमा भएको न्यायाधीशको हैसियतले निजले फैसला निर्णय गरेको हुन्छ, न्यायाधीशबाट भएको फैसला निर्णयको सन्दर्भमा चरित्रमा कलुषित भावना लिई आक्षेप लगाइन्छ भने सोबाट अदालतको मर्यादामा धक्का लाग्ने हुँदा अदालतको अवहेलना भएको हुने ।
(प्रकरण नं. १०)
(२) अवहेलना मुद्दामा अदालतको हैसियतले न्यायाधीशले कारवाही चलाउन र निर्णय फैसला गर्न सक्ने हुँदा यो अवहेलनाको मुद्दाको दावी लाग्न सक्दैन भन्ने प्रतिवादी पुनरावेदकको जिकिर खम्बीर नदेखिने ।
(प्रकरण नं. १०)
(३) दुई बेग्लै वारदात एवं अभियोगलाई लिएर दुई बेग्ला बेग्लै फैसला भएको अवस्थामा एउटै अपराध भन्न नमिल्ने ।
(प्रकरण नं. १०)
पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री सुधीर श्रेष्ठ
प्रत्यर्थी तर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ
फैसला
न्या.त्रिलोकप्रताप राणा
१. सु.प.क्षे.अ. को मिति २०४६।४।१ को फैसला उपर चित्त नबुझाई यस अदालत समक्ष पुनरावेदन दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।
२. सम्मानीत अदालतको प.सं. २०४५।४६ च.नं. २६३७ मिति २०४६।३।९।६ को पत्रबाट गोपी नेपालीको जाहेरीले वादी सु.प.क्षे.अ. प्रतिवादी डोटी दिपायल न.पं. वा.नं. ४ सिलगढी बस्ने वर्ष ४२ को कैलाशकुमार हमाल भएको अदालतको अवहेलना मुद्दामा प्र.कैलाशकुमार हमाललाई ६ महीना कैद र रु. १,०००।– जरिवाना हुने ठहरी फैसला कार्यान्वयनको लागि यस अदालतमा लगत पठाए अनुसार निज प्रतिवादी कैलाशकुमार हमाललाई पक्राउ गरी यस अदालतमा उपस्थित गराएकोमा निजलाई यस अदालतबाट २०४६।३।९।६ मा कैदी पुर्जी बुझाउँदा निजले उक्त भर्पाईमा सु.प.क्षे.अ. का भ्रष्ट मुख्य न्यायाधीश श्री जनार्दनलाल मल्लिक र सोही अदालतका अन्य भ्रष्ट मा.न्यायाधीश श्री केशवप्रसाद मुडभरीले म माथि गरेको अन्यायपूर्ण फैसला अनुसार तैयार पारिएको यो पत्र बुझी लिएँ भन्ने व्यहोरा लेखी कैलाशकुमार हमाल भु.पु. सचिव नेपाल किसान संगठन के.स. मिति २०४७।३।९।६।३ बजेर १५ मिनेट जाँदा भन्ने लेखी दस्तखत गरी कैदी पुर्जी बुझेको हुँदा सो भएको व्यहोरा जानकारीको लागि जाहेर गरिएको छ, भन्ने मिति २०४६।३।२२ प.सं. २०४५।४६ च.नं. १२३१ को डोटी जिल्ला अदालतको पत्र ।
३. सु.प.क्षे. अदालत, डोटी के, डोटी जि.अ. को प.सं. २०४५।०४६ च.नं. १२३१ मिति २०४६।३।२२ को पत्र र यस अदालतको टिप्पणी समेत पेश भयो, यसमा कैलाशकुमार हमाललाई डो.जि.अ. ले २०४६।३।९।६ मा बुझाएको कैदी पुर्जीमा सु.प.क्षे.अ. को अपहेलना हुने अपशब्दहरु निजले स्वहस्ताले लेखेको देखिँदा न्या.प्र.सु. ऐन, २०३१ को दफा ११ बमोजिम निज कैलाशकुमार हमाल उपर अदालतको अपहेलना सम्बन्धी मुद्दा चलाउन मुद्दाको विविध ठाडो दायरीमा दर्ता गरी सु.प.क्षे.अ. को अपहेलना हुने अपशब्दहरु निजले भर्पाईमा लेखेको हुँदा न्या.प्र.सु. ऐन, २०३१ को दफा ११ बमोजिम तपाईलाई सजायँ गर्न किन कारवाही गर्न नपर्ने हो सोको लिखितजवाफ यस अदालतमा ३ दिनभित्र कारागार शाखा मार्फत पठाउनु नपठाए कानुन बमोजिम हुनेछ, पछि तपाइको कुनै उजूर लाग्ने छैन भनी निज कैलाशकुमार हमालका नाउँमा हाल निज कैदमा बसेको कारागार शाखा डोटीको ठेगानामा ३ दिने म्याद जारी गरी नियम बमोजिम पेश गर्नु डो.जि. अदालतबाट सक्कल भर्पाई झिकाई मिसिल सामेल राख्नु भन्ने यस अदालत संयुक्त इजलासको २०४६।३।२२ को आदेश ।
४. डोटी जिल्ला अदालतको प.सं. २०४५।०४६ च.नं. १२३५ मिति २०४६।३।२३ को पत्र साथ प्राप्त निज कैलाशकुमार हमालले यस अदालतको अपमान हुने अपशब्दहरु उल्लेख गरी मिति २०४६।३।९।६ मा बुझी लिएको सक्कल कैदी पुर्जी मिसिल सामेल रहेको ।
५. श्री सु.प.क्षे. अदालतका नाउँले मेरा नाउँमा सु.प.क्षे. अदालतको अपहेलना हुने गरी अपशब्दहरु प्रयोग गरेको भन्ने बारे लिखितजवाफ दिन मलाई लेखी पठाएको पत्र सु.प.क्षे. अदालतबाट लेखी पठाएको हो वा कुनै व्यक्तिको घरमा बसी लेखी पठाएको हो उक्त सोधनी पत्रमा अदालतको छाप लागेको हुनु पर्ने तर सादा कागजमा टाइप गरी शाखा अधिकृतको मात्र छाप लागेको मिति २०४६।३।२२।५ को बिना दर्ता चलानीको पत्र प्राप्त भयो । मैले जिल्ला अदालत डोटीबाट बुझी लिएको पत्रको पछाडि भ्रष्ट घुसखोरी, न्याय बेचुवा, राष्ट्रघाती जनार्दनलाल मल्लिक र केशवप्रसाद मुडभरीको नाउँमा उल्लेख गरेकोमा कसरी अदालतको अपमान हुन गयो ? मैले जनार्दनलाल मल्लिक र केशवप्रसाद मुडभरीको विरोध गरेकोमा वादी निजहरु हुनु पर्नेमा वादी सु.प.क्षे.अ. को नाउँ उल्लेख गरियो व्यक्तिले घुस खाएकोमा विरोध गर्दा अदालतको अपहेलना कसरी हुन्छ ? व्यक्तिलाई अदालत मान्नमा म सहमत छैन वास्तविकतालाई बंग्याई कसको उजूरी र कसको आदेशबाट सोध्नु भएको हो सो पनि प्रष्ट खुलाई सु.प.क्षे. अदालतको नामले जथाभावी पत्र लेखी सु.प.क्षे. अदालतको नै अपहेलना गरेकोमा जिम्मेवार मा.मु.न्या. जनार्दनलाल मल्लिक र मा.न्या.केशवप्रसाद मुडभरी माथि अदालतको अपहेलनाको कारवाही गरियोस र सोको जानकारी र कसको उजूरी कसको आदेशबाट उक्त पत्र मेरा नाउँमा पठाएको हो सो समेतको जानकारी प्राप्त भएमा मात्र पुनः प्रमाण सहित जवाफ दिन तयार भएको व्यहोरा निवेदन छ । निज न्यायाधीशहरु माथि कानुनी कारवाही हुने व्यवस्था छ, छैन निजहरु माथि कारवाही हुने हो की सु.प.क्षे.अ. माथि कारवाही हुने हो सो पनि स्पष्ट खुलाई पाउन निवेदन गरेको छु भन्ने समेत व्यहोराको विपक्ष कैलाश कुमार हमालको २०४६।३।२५।१ को लिखितजवाफ ।
६. प्रस्तुत मुद्दाको सु.प.क्षे.अ. का फैसला बमोजिम विपक्ष कैलाशकुमार हमाललाई कैद म्याद ठेकिएको पुर्जी डोटी जिल्ला अदालतबाट बुझाउँदा निजले सो पुर्जीको पिठमा सु.प.क्षे.अ. का फैसला गर्ने सम्बन्धित बेञ्चका माननीय न्यायाधीशहरुलाई अपमानजनक अपशब्द लेखी सु.प.क्षे. अदालतको अपहेलना गरेको ठहर्छ । सो ठहर्नाले निज पटक पटक गर्दै रहेको कसूरको गंभीरताको दृष्टिले न्या.प्र.सु. ऐन, २०३१ को दफा ११ बमोजिम निजलाई कैद महीना ६ तथा जरिवाना रु. १०००।– हुन्छ भन्ने समेत सु.प.क्षे.अ. को मिति २०४६।४।१ को फैसला ।
७. अदालतको अपहेलना गर्ने मेरो मनासाय थिएन र मैले अदालतको अपहेलना गर्ने पनि छैन । वस्तुतः मैले अदालतको अपहेलना गरेको पनि छैन । अदालत प्रति मेरो सदैव आस्था रही आएको छ र यो अटुट पनि छ । अदालतको मान हानी गर्ने बारेमा मेरो वस्तुतः कहिल्यै मनसाय नभएकोमा समेत हदैसम्म सजायँ गर्ने गरिएको सु.प.क्षे.अ. को फैसला उल्टाई इन्साफ पाउँ भन्ने समेत प्र.कैलासकुमारको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
८. नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीकातर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री सुधीर श्रेष्ठले पुनरावेदकले अदालतको अपहेलना गरे भन्ने मुद्दामा अदालतबाट कैद जरिवाना भएको छ । वारदात दुई नभएकोले दोहरो सजायँ गरेको कानुनसंगत छैन । अपहेलनामा क्षमा गर्न सक्ने हुँदा सो क्षमा गरियोस भन्ने र प्रत्यर्थी अदालतको तर्फबाट उपस्थित विद्वान का.मु.सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले प्रतिवादीले अभद्र व्यवहार गरी न्यायाधीशको चरित्रमा नै आक्षेप आउने किसिमले लेखेको साथै निजले कुनै किसिमको क्षमायाचना समेत नगरेकोले निजलाई सु.प.क्षे.अ. बाट गर्ने गरेको जरिवाना कैदको सजायँ सदर हुनुपर्छ भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नु भयो ।
९. प्रस्तुत अपहेलना मुद्दामा सु.प.क्षे.अ. बाट भएको फैसला मिले नमिलेको के रहेछ हेरी निर्णय गर्नु पर्ने हुन आयो ।
१०. यसमा २०४६।३।९ मा पुनरावेदक प्रतिवादीलाई कैद पुर्जी दिंदा सो कैदी पुर्जीको पीठमा “सु.प.क्षे.अ. का भ्रष्ट मुख्य न्यायाधीश श्री जनार्दनलाल मल्लिक र सोही अदालतका अन्य भ्रष्ट न्यायाधीश श्री केशवप्रसाद मुडभरीले म माथि गरेको अन्यायपूर्ण फैसला अनुसार तैयार पारिएको यो पत्र बुझी लिएँ” भनी दस्तखत गरेको पाइन्छ । पुनरावेदक प्रतिवादीले व्यक्तिले घुस खाएकोमा विरोध गर्दा अदालतको अवहेलना कसरी हुन्छ भन्दै वादी निजहरु हुनु पर्ने हो । सु.प.क्षे.अ. हुने हो होइन भन्ने लिखितजवाफमा मूल जिकिर लिएको पाइन्छ । न्यायाधीश अदालतकै अंग हो र सम्बन्धित अदालतमा भएको न्यायाधीशको हैसियतले निजले फैसला निर्णय गरेको हुन्छ । न्यायाधीशबाट भएको फैसला निर्णयको सन्दर्भमा निजको चरित्रमा कलुषित भावना लिई आक्षेप लगाइन्छ भने सो बाट अदालतको मर्यादामा धक्का लाग्ने हुँदा अदालतको अवहेलना भएको हुन्छ । अतः पुनरावेदक प्रतिवादीले २०४६।३।९ को कैदी पुर्जीमा व्यक्त गरेको कुराबाट अदालतको अवहेलना भएको छैन भन्ने स्थिति रहेन । अवहेलना मुद्दामा अदालतको हैसियतले न्यायाधीशले कारवाही चलाउन र निर्णय फैसला गर्न सक्ने हुँदा यो अवहेलनाको मुद्दाको दावी लाग्न सक्दैन भन्ने प्रतिवादी पुनरावेदकको जिकिर खम्बीर देखिन्न । अघि २०४६।३।२ मा प्रतिवादी पुनरावेदक उपर अदालतको अवहेलनामा भएको फैसला एवं सजायँ र यो २०४६।३।९ को वारदात बनाई भएको २०४६।४।१ को फैसला एवं सजायँले मेरो पक्षलाई एकै अपराधमा दुई पटक सजायँ भयो । एकै वारदातको (continnuty) हुँदा प्रस्तुत मुद्दामा मेरो पक्षलाई सजायँ गरेको मिलेको छैन भन्ने पुनरावेदक तर्फको विद्वान अधिवक्ताको बहस भएकोमा अघि २०४६।३।२ मा अदालतको अपहेलनामा प्रतिवादी पुनरावेदकलाई भएको फैसला एवं सजायँ र यो प्रस्तुत २०४६।३।९ मा कैदी पुर्जीमा गरिएको लिखतलाई लिएर भएको २०४६।४।१ को फैसला एकै वारदातको सन्दर्भमा नभई दुई बेग्ला बेग्लै वारदातलाई लिएर भएकोले वारदात एकै भन्ने स्थिति देखिन्न । दुई बेग्लै वारदात एवं अभियोगलाई लिएर बेग्ला बेग्लै फैसला भएको अवस्थामा एउटै अपराध भन्न मिल्दैन । अदालतको अवहेलनाको कुरा प्रतिवादी पुनरावेदकले लेखी दिएको लिखतैले अभिव्यक्त गरेको र उक्त लेखिएको विषय वस्तु ठीक हो भनी आफ्नो लिखितजवाफमा समेत स्वीकार गरी अपसोच समेत प्रकट नगरेकोले अन्यथा विचार गर्ने स्थिति रहेन । अतः सु.प.क्षे.अ. ले सजायँ गरेको मिलेन भन्ने प्रतिवादी पुनरावदेकको जिकिर पुग्न सक्दैन । इन्साफ सु.प.क्षे.अ. को मनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा ठहरे बमोजिम प्रतिवादी कैलाशकुमार हमाल के अदालतको अवहेलना गरेको ठहरेकाले अ.बं. २०३ नं. बमोजिम पहिलो पुनरावेदन गरे बापत थप कैद दिन १८ र जरिवाना रु. १००।– हुन्छ । कानुन बमोजिम असूल गर्नु भनी डोटी जिल्ला अदालतमा लेखी पठाउन लगत काठमाडौं जिल्ला अदालत तहसील शाखालाई दिनु...१, मिसिल नियम बमोजिम गरी बुझाई दिनु...२
उक्त रायमा म सहमत छु ।
न्या.महेशरामभक्त माथेमा
इति सम्वत् २०४७ साल ज्येष्ठ १७ गते रोज ५ शुभम् ।