निर्णय नं. ४१०७ - सम्बन्ध विच्छेद

निर्णय नं. ४१०७ ने.का.प. २०४७ अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४५ सालको फौ.पु.नं. ६७६
फैसला भएको मिति : २०४६।११।८।२ मा
पुनरावेदक/प्रतिवादी : का.न.पं. वा.नं. ३२ बस्ने नारायणनन्द वैद्य
विरुद्ध
विपक्षी/वादी : ऐ.ऐ. बस्ने मनेको रेइको फुजीवारा
मुद्दा : सम्बन्ध विच्छेद
(१) वादी प्रतिवादीको बयान कागज र प्रतिवादीको सम्पत्ति विवरण श्रोतबाट समेत बाबुको इज्जत आमद अनुसार नाबालकलाई खान लाउन शिक्षा र औषधि उपचार समेतको लागि रु. १५००।– दिलाएको रकम बेमनासिब भन्न नमिल्ने ।
(प्रकरण नं. १९)
पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल
फैसला
न्या.त्रिलोकप्रताप राणा
१. मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त नबुझी पुनरावेदनको अनुमति प्रदान भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार रहेछ ।
२. रुसबाट प्राप्त छात्रवृत्तिमा इतिहास विषयमा जापानबाट छानिई १९६५ मा म अध्ययन गर्न जाँदा विपक्षी इन्जीनीयरीड्डमा अध्ययन गर्नु हुँदै रहेछ । चीनजान पछि आत्मीयता बढ्दै गई १९७० मा विवाह भएको र दुबै टोकीयो गयौं । एक छोरी समेत जन्मीन । १९७२ मा अध्ययन पुरा भएकोले काठमाडौं आयौं । उहाँका अरु परिवार जातियताका कट्टर भएकोले अलगै रही विपक्षीले इन्जीनीयरीङ क्याम्पसमा अध्ययन गर्नु भएको र मैले कालिकास्थानमा कटेज एरोरा नामक होटल खोली बसेका थियौं । मैले बीच बीचमा २ पटकसम्म अध्ययनार्थ विपक्षीलाई जापान मेरो सर्वश्व राखी पठाएको थिएँ । पछि म प्रति दुव्र्यवहार बढ्न थाल्यो । एकपटक झण्डै ज्यानसम्म गुमाउनु परेको थियो । यस्तैमा टोकियो निवासी सुश्री किकोटा सुजुकीको २४ मार्च १९८२ को पत्र पाई विपक्षीलाई सोद्धा निज किकोरासंग अनुचित सम्बन्धबाट बच्चा जन्मने स्थिति भएको भनी लेखिएको रहेछ । सोही जरियाबाट समेत भनाभन भई विपक्षीले मलाई निलडाम पर्ने गरी कुटी अप्रिल १९८२ मा घरबाट निकाला गरी दिएकोले डेरा गरी बस्ने आएकोमा माडा नामक जापानी महिलासंग शरणमा गएँ । परिवार समाज देश समेतलाई त्यागी विपक्षी भनी नेपाल आएको र विपक्षी बाहेक अरु यहाँ कोही नभएकोमा विपक्षीबाट म प्रति असल व्यवहार भएन । लोग्ने स्वास्नीको सम्बन्ध कायमै राखी रहँदा म भयभित र त्रासित भएर बस्नु पर्यो । छोरी मिचीलाई म आफैं राख्न चाहन्छु । लोग्ने स्वास्नीको दफा ३(५) अनुसार छोरीलाई आवश्यक खर्च भराई, विपक्षीको कब्जामा रहेको मेरो सम्पत्ति दिलाई लोग्ने स्वास्नीको १(२) अनुसार वैवाहिक सम्बन्ध विच्छेद गरिपाउँ भन्ने समेत रेइको फुजि बारा वैद्यको २०३९।१।१६ मा काठमाडौं जिल्ला अदालतमा परेको निवेदन ।
३. म मेरो परिवार प्रति विपक्षीले गरेको घृणा र बेइजज्त निवेदन समेतबाट खुल्न आएकै छ । कटेज आरोरा मेरो पैसाले खोलेको भन्ने झुठ्ठा हो । सुश्री किकोरा सुजुकीको पत्र सम्बन्धमा मलाई केही थाहा छैन । १७ मार्च १९८२ का दिन मे १, १९८२ देखि सम्बन्ध विच्छेद गर्ने औपचारिक रही भएपछि कटेज अरोरा मलाई सुम्पिएकी हुन् लगानी मेरो र मेरो परिवारको मात्र भएको हो, विपक्षीको भएको होइन । कटेज आरोरा सम्बन्ध विच्छेद सम्बन्धी समस्याले छोडेको कुरा जापानको अशाही सिकुन नामक पत्रिकामा समेत ७ मे १९८२ मा प्रकाशित गर्नु भएको छ । विपक्षीसंग सम्बन्ध विच्छेद गर्न पाउँ भन्ने समेत नारायण नन्द वैद्यको प्रतिउत्तरपत्र ।
४. वादी प्रतिवादी बीच सम्बन्ध विच्छेद हुने र सम्पत्तिको विवरण नदिएकोले त्यस सम्बन्धी दावी पुग्दैन । नावालखको हकमा लोग्ने स्वास्नीका ३(५) अनुसार निवेदिका वादीले राख्न पाउने ठहर्छ भन्ने समेत शुरु काठमाडौं जिल्ला अदालतको ०३९।७।१६ को फैसला ।
५. सम्पत्ति दिलाई नलिने गरेको र छोरीको भरण पोषणको खर्च सम्बन्धमा केही नबोलेको शुरु फैसलामा चित्त बुझेन भनी वादीको बा.अं.अ.मा परेको पुनरावेदन ।
६. स्वास्नी र छोरीलाई भरण पोषण दिने दिलाउने तर्फ समेत बुझी ३ महीना भित्र त्यस सम्बन्धमा निर्णय गर्नु भनी मिसिल काठमाडौं जिल्ला अदालतमा पठाइदिने भन्ने समेत बा.अं.अ. को २०४०।४।२६ को फैसला ।
७. मेरो दाइजो पेवा समेतबाट किनेको कार र कालीमाटीमा २ रोपनी कालीकास्थानमा १–८–० र बौद्धमा १ रोपनी जग्गा किनेकीमा नागरिकता नभएका कारणले विपक्षीका नाउँमा रहेको हो हाल मुद्दा परेकोले सो जग्गा बिक्री गरे भन्ने सुन्छु । कटेज अरोराको आम्दानी मासिक रु. ३०,०००।– हुन्थ्यो भन्ने समेत वादीको कागज ।
८. इन्जीनीयरिङ क्याम्पस पुल्चोकमा रा.प.द्वि. सरह उप प्राध्यापक छु सो बाहेक अरु केही सम्पत्ति छैन । पुर्खौली सम्पत्ति बण्डा भएको छैन भन्ने समेत प्रतिवादीको कागज ।
९. वादीको दावी अनुसार छोरीको भरण पोषणको लागि वर्तमान अवस्था, सेन्टमेरिजको अध्ययन रेखदेख गर्ने मानिस राखेको र रहन सहनको स्तरलाई समेत मध्यनजर राख्दा मासिक रु. १५००।– भरी पाउने ठहर्छ । लोग्ने स्वास्नीको ४क. अनुसार भराउने तर्फ दावी भएको नदेखिने र सम्पत्तिको सम्बन्धमा सबूद प्रमाण पेश नगरेको र कोर्टफी समेत दाखिल गरेको नदेखिँदा त्यसतर्फ दावी पुग्न सक्दैन भन्ने समेत २०४२।११।२० को शुरु का.जि.अ. को फैसला ।
१०. १२१५।– मासिक तलब खाने उप प्राध्यापकबाट १५००।– मासिक भराई दिने गरेका शुरु इन्साफ सामाजिक न्याय र विवेक समेतको विपरीत भएकोले बदर गरी प्रतिउत्तर अनुसार गरिपाउँ भनी प्रतिवादीको बा.अं.अ. मा परेको पुनरावेदन ।
११. वादीको इज्जत आमद अनुसार अंक किटान गर्ने विवेकाधीन अधिकार अदालतलाई रहेको अवस्थामा रु. १५००।– नाबालिकालाई भराई दिने गरेको इन्साफ मनासिबै ठहर्छ भन्ने समेत बा.अं.अ. को २०४३।३।३१ को फैसला ।
१२. सो फैसलामा प्रत्यक्षतः कानुनी त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्रतिवादीको म.क्षे.अ. मा परेको निवेदन ।
१३. बालिका आमासंग रहेकी त्यस अवस्थामा प्रमाणको मूल्यांकन गरी, शिक्षा, खान लगाउन, औषधी उपचार समेत लाग्ने उल्लेख नभई फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने समेत २०४३।२२।१ को आदेश ।
१४. बाबुको इज्जत आमदको मूल्यांकन गरी अदालतले मनासिब खर्चको अंक किटानी गर्न पाउने स्वविवेकाधिकार प्रयोग गर्न पाउने नै देखिन्छ । इज्जत आमद भन्ने विषय समय सापेक्ष हुँदा र प्रतिवादीले यति रकम दिन्छु भनी किटानी गरी अंक उल्लेख गर्न नसकेको देखिँदा शुरुको इन्साफ सदर गरेको बा.अं.अ. को फैसलामा त्रुटि नदेखिएकोले परिवर्तन गरी रहन परेन । इन्साफ बा.अं.अ. को मनासिब ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको म.क्षे.अ. को मिति २०४५।१।८।४ को फैसला ।
१५. म.क्षे.अ. को फैसलामा लोग्ने स्वास्नीको ३(५) को प्रत्यक्षतः कानुनी त्रुटि हुँदा न्या.प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख)(ग) अन्तर्गत पुनरावेदनको अनुमति पाउँ भन्ने नारायणनन्द वैद्यको यस अदालतमा दर्ता हुन आएको निवेदनपत्र ।
१६. निवेदक नारायणनन्द वैद्य उपप्राध्यापक पदमा कार्यरत रही मासिक रु. १२१५।– तलब खानेमा छोरीलाई मासिक रु. १५००।– का दरले खर्च दिनु पर्ने ठहर्याएको म.क्षे.अ. को इन्साफमा लोग्ने स्वास्नीको ३(५) को व्याख्यात्मक त्रुटि भई प्रस्तुत मुद्दामा न्या.प्र.सु.ऐ., २०३१ को दफा १३(५)(ख) को अवस्था विद्यमान देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने यस अदालत संयुक्त इजलासको मिति २०४५।३।३।६ को आदेश ।
१७. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्यालले मेरो पक्ष मासिक रु. १२१५।– तलब पाउने एउटा उपप्राध्यापक हुन निजबाट मासिक रु. १५००।– जस्तो ठूलो रकम छोरीलाई भरी दिनु पर्ने भनी ठहर गरेको न्यायसंगत भएन । लोग्ने स्वास्नीको ३(५) ले नाबालकको शिक्षा दिक्षा खान लाउन र औषधि उपचार समेतको व्यवस्था गर्नै पर्छ भनेको छ जबकी यति ठूलो रकमको व्यवस्था गर्न मेरो पक्ष सक्षम नभएकोले अरु फैसला बदर हुनुपर्छ भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नु भयो ।
१८. प्रस्तुत मुद्दामा म.क्षे.अ. को इन्साफ मिले नमिलेको के रहेछ हेरी निर्णय दिनु पर्ने हुन आयो ।
१९. यसमा लोग्ने स्वास्नीको दफा ३(५) बमोजिम छोरी मिचीलाई आवश्यक खर्च विपक्षीबाट दिलाई भराई पाउँ र विपक्षीको कब्जामा रहेको मेरो सम्पत्ति दिलाई लोग्ने स्वास्नीको दफा १(२) बमोजिम निज विपक्षबाट वैवाहिक सम्बन्ध विच्छेद गरिपाउँ भन्ने वादीको फिराद र वादी दावीबाट फुर्सद गराई सम्बन्ध विच्छेद गरिपाउँ भन्ने प्रतिवादी भएको यस मुद्दामा वादी प्रतिवादी बीच सम्बन्ध विच्छेद हुने ठहरी छोरी मिचीको लालन पालनको लागि मासिक रु. १५००।– प्रतिवादीबाट भराउने ठहरी म.क्षे.अ. समेतबाट फैसला भएको देखिन्छ । उक्त भराउने खर्च मेरो आम्दानी भन्दा बढी भएकोले कम हुनुपर्छ भन्ने प्रतिवादी पुनरावेदकको भनाई देखिन्छ । अब आम्दानीको श्रोत हेर्दा प्रतिवादीको तलबको मात्र आम्दानीको श्रोत नदेखिई अरोरा कटेजको आम्दानीको श्रोत पनि देखिन्छ । उक्त अरोरा कटेजको मासिक आम्दानी रु. ३०,०००।– हुन्छ भन्ने वादीको भनाई भएकोमा सोतर्फ प्रतिवादीले होइन भन्न सकेको पाइन्न । रु. १५००।– मासिक नाबालकको खान, लाउन, शिक्षा औषधि उपचारको समेतको लागि पाउँ भन्ने वादी भएकोमा त्यति पाउने होइन । यति पाउने हो भनी आम्दानी श्रोतको विवरण खुलाई प्रतिवाद गर्न सकेको पनि देखिन्न । लोग्ने स्वास्नीको ३ नं. को देहाय ५ मा “आमाले पाल्दा बाबुले आफ्नो इज्जत आमाद अनुसार नाबालकलाई खान लाउन शिक्षा र औषधि उपचार समेतको मनासिब खर्च दिनु पर्छ” भन्ने लेखिएको पाइन्छ । वादी प्रतिवादीको बयान कागज र प्रतिवादीको सम्पत्तिको विवरण श्रोतबाट समेत बाबुको इज्जत आमाद अनुसार नाबालकलाई खान लाउन शिक्षण र औषधि उपचार समेतको लागि रु. १५००।– दिलाएको रकम बेमनासिब भन्न मिलेन । अतः शुरु जिल्ला अदालतको इन्साफ सदर गर्ने गरेको बा.अं.अ. को इन्साफ मनासिब ठहराएको म.क्षे.अ. को इन्साफ मनासिब ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हिरण्येश्वरमान प्रधान
इति सम्वत् २०४६ साल फाल्गुण ८ गते रोज २ शुभम् ।