निर्णय नं. ७९४२ - ठगी

निर्णय नं.७९४२ ने.का.प. २०६५ अङ्क ३
सर्वोच्च अदालत , संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री केदारप्रसाद गिरी
माननीय न्यायाधीश श्री तपवहादुर मगर
संवत २०५९ सालको फौ.पु.नं.......३७१२
फैसला मितिः २०६४।११।९।५
मुद्दाः— ठगी ।
पुनरावेदक वादीः फ्रान्सिने मार्शलको जाहरीले, नेपाल सरकार
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः चितवन जिल्ला रत्ननगर न.पा. वडा नं. ६ वस्ने मोहनवहादुर मैनाली समेत
शुरु फैसला गर्नेः
जि.न्या. शम्भुवहादुर खडका
पुनरावेदन फैसला गर्नेः
मा.न्या. लोकेन्द्र मल्लिक
मा.न्या. हरिवहादुर वस्नेत
§ आफ्नो हक नपुग्ने चल वा अचल सम्पत्ति मालिकलाई ललाई फकाई वा जाल परिपञ्च गरी आफ्नो वनाउने तथा धोका दिई जुनसुकै व्यहोराले गफलतमा पारी अर्काको सम्पत्ति लिए दिए वा दिलाउने समेत गरेमा ठगी जन्य क्रिया घटित हुन जाने ।
§ ठगीको वारदात स्थापित हुन अर्काको चल–अचल जुनसुकै अवस्थाको सम्पत्ति भए पनि सम्पत्ति धारकलाई झुक्यान, धोका, गफलत लगायतका परिपञ्चमा पारी लिनु दिनु वा दिलाउनु समेतका काम कुरा गरिएको हुनुपर्ने ।
§ ठगी अपराधको मूलभूत तत्व आफ्नो हक नपुग्ने अर्काको सम्पत्ति स्वामीवाट गैरकानूनी तवरले लिनु दिनु र दिलाउनुसंग सम्बन्धित रहेको देखिन्छ । त्यो गैर कानूनी काम कारवाहीमा ललाई फकाई गरी विश्वासमा पार्ने, जाल परिपञ्चमा पार्ने, धोका गफलतमा पार्ने आदि जुनसुकै वा सबै तत्व अन्तरनिहित हुन सक्ने ।
§ जाहेरवालीको लगानीवाट रिसोर्ट सञ्चालन गर्न भौतिक पूर्वाधार सहित तयार भई सञ्चालनमा आउने अवस्थामा रहेको विवादित घर, जग्गा सो केही नजनाई निर्मित भौतिक संरचनाको अस्तित्व लोप गरी खेतीको जग्गा भनी जाहेरवालीलाई थाहा जानकारी नदिई अर्का प्रतिवादीलाई राजिनामा गरिदिएको कार्य मुलुकी ऐन ठगीको १ नं. को परिभाषा भित्र पर्ने ।
(प्रकरण न.१८)
पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्तात्रय श्री मिलनकुमार राई केदारप्रसाद दाहाल र हरि फूयाँल
प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री वालकृष्ण नेउपाने
अवलम्वित नजीरः
फैसला
न्या.केदारप्रसाद गिरीः पुनराबेदन अदालत हेटौडाको मिति २०५८।९।८ को फैसला उपर वादी नेपाल सरकारको तर्फबाट परेको मुद्दा दोहोर्याई पाउँ भन्ने निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को (क) अनुसार यस अदालवाट निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :–
नेपालमा घुम्न आउने क्रममा अशोक अमात्यसँग चिनजानी भै रिर्सोट होटल खोल्न सहमति भए वमोजिम मिति २०५३।१२।१२ मा करार भै मैले दिएको रु.५,९६,४०४/– वाट विपक्षी अशोक अमात्यको नाममा वछयौली गा.वि.स. वडा नं. ३ को कि.नं. ४४३ को ०–१०–० कठ्ठा जग्गा खरिद गरी व्लु लागुन प्रा.लि.को नाममा दर्ता गर्ने सम्झौता भै सो जग्गामा होटल स्वीमिङ पुल लगायतका भौतिक पुर्वाधार तयार गरी संचालन गरी आएकोमा २०५४।८।८ मा सो जग्गा आफ्नो ससुरा मोहन वहादुर मैनालीलाई राजिनामा गरी ठगीको १ नं. विपरीत अपराध गरेको हुँदा सो जग्गा खरिद गर्न दिएको रु.५,९६,४०४/– र निर्माण गरेको भवन, स्वीमिङ पुलमा खर्च भएको रु.२४,८०,०००।– गरी जम्मा रु.३०,७६,४०४/– ठगी भएको रुपैया विपक्षीहरुवाट दिलाई भराई विपक्षीहरु लाई सजाय गरिपाऊँ भन्ने २०५४।११।१० को फ्रान्सिने मार्शलको जाहेरी ।
२०५४।८।८ मा रु.८०,०००/– मा अशोक अमात्यवाट कि.नं. ४४३ को ०–१०–० जग्गा खरिद गरेको छु । उक्त जग्गामा जाहेरवालाले लगानी गरेको थाहा थिएन । २०५८।८।१२ मा मेरो छोरी कौशिला मैनालीलाई भगाई लगेको हुँदा ज्वाई नाता पर्छ । मैले सो जग्गा खरिद गर्दा खरले छाएको होटल घर १, वाथरुम १ र स्वीमिङ पुल वनाउन खाल्टो खनेको थियो । सो जग्गा स्थानिय मानिसले पनि अशोक अमात्यको हो भनेकोले मैले खरिद गरेको छु । मैले ठगी गरेको होइन अशोक अमात्यले ठगी गरेको हो भन्ने समेत मोहन वहादुर मैनालीको अधिकार प्राप्त अधिकारी समक्षको वयान ।
अशोक अमात्य अनुसन्धानको अवस्थामा पक्राउ नपरी फरार रहेको ।
प्रतिवादी अशोक अमात्य सौराहामा ३/४ वर्ष देखि गाइडको काम गरी आएको अवस्थामा फ्रान्सिने मार्सलसँग चिना जानी भै वछौली गा.वि.स. वडा नं. ३ मा ब्लु लागुन प्रा.लि. खोल्न सहमति भै जाहेरवालीले प्रतिवादी अशोक अमात्यलाई रुपैया दिई ०–१०–० कठ्ठा जग्गा किनी त्यस जग्गामा घर, टहरा, स्वीमिङ्ग पुल वनाउदै गर्दा सो जग्गा ब्लु लागुन प्रा.लि.को नाममा दर्ता नगरी दिई अशोक अमात्यले अर्का प्रतिवादी मोहन वहादुर मैनालीलाई विक्री गरी दिएको हो भन्ने समेत व्यहोराको घटनास्थल वरपर मौकामा वुझिएका माधव गिरी समेतका व्यक्तिहरुले लेखाई दिएको मिति २०५४।११।१८ को स्थलगत मुचुल्का ।
जाहेरवालीले रु.५,९६,४०४। मा प्रतिवादी अशोक अमात्यका नाउमा जग्गा खरिद गरेको र रु.२४,८०,०००/– घर, टहरा, स्वीमिङ्ग पुल वनाउन खर्च गरेकोमा पूर्ण विश्वास लाग्छ भन्ने समेत व्यहोराको माधव गिरी समेतका मानिसले लेखाई दिएको मूल्य मुचुल्का ।
यसमा जाहेरी दर्खास्त, पक्राउ प्रतिवादीको बयान, बस्तुस्थिति मुचुल्का तथा जाहेरी साथ पेश भएको सम्झौता पत्रको प्रतिलिपि समेतको आधारवाट प्रतिवादी अशोक अमात्यले जाहेरवाला बिदेशी नागरिकलाई बिभिन्न बाहाना बनाई चितवन सौराहाको जग्गामा रिसोर्ट खोल्ने भनी लगानी गर्न राजी गराई जाहेरवाली र निज प्रतिवादीका नाउमा हिमालयन बैंकमा कुनै एकको नाउवाट रकम झिक्न मिल्ने गरी खाता खोली जाहेरवालीले अमेरिकी बैंकवाट सो खातामा पठाएको रकम निकाली रु.५,९६,४०४/– मा जग्गा खरिद गरी त्यसमा घर, टहरा, र स्वीमिङ पुल वनाउन रु.२४,८०,०००/– खर्च गरी सकेपछि प्रतिवादी अशोक अमात्यले जाहेरवालीलाई थाहा जानकारी नदिई उक्त जग्गा अर्का प्रतिवादी मोहन मैनालीलाई रजिष्ट्रेशन पारित गरी लिनु दिनु गरी ठगी गरे गराएको वारदात स्थापित हुन आएकोले दुवै प्रतिवादीहरुलाई मुलुकी ऐन ठगीको १ नं. को कसूरमा सोही ४ नं. वमोजिम सजाय गरी विगो रु.३०,७६,४०४/ जाहेरवालीलाई दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको अभियोग पत्र ।
जग्गा विक्री गर्नुछ भनी अशोक अमात्यले भनेवाट निजसँग २०५४।८।८ मा उल्लेखित जग्गा रु.८०,०००/– मा खरिद गरेको हुँ । सो जग्गा खरिद गर्दा थारुको घर जस्तो एउटा घर र ट्वाइलेट थियो । उक्त घर जग्गा फ्रान्सिने मार्शलको हो भन्ने थाहा थिएन । अशोक अमात्यले पनि मलाई केही भनेको थिएन । घर, टहरा निर्माण गर्न रु.२४,८०,०००/– खर्च भएको जस्तो छैन । म निर्दोष हुँदा मलाई अभियोग दावी वमोजिम सजाय हुनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी मोहन वहादुर मैनालीले शुरु अदालतमा गरेको वयान ।
मैले बिक्री गरेको घर जग्गामा जाहेरवालीको कुनै पैसा लगानी गरेको छैन । चार पाँच महिना पहिले जाहेरवालीले मलाई रु. ६ लाख दिने र सो वापत विवादित जग्गा मैले निजलाई दिने गरी शर्तनामा भए पनि जाहेरवालीले सो रकम नदिने जानकारी दिए पछि मैले सो जग्गा मोहन वहादुर मैनालीलाई विक्री गरेको हुँ । मेरो र जाहेरवालीको वीचमा संयुक्त खाता खोल्ने सहमति भै सो खातामा जाहेरवालीले विदेशीलाई घुमाउन ल्याउदा उक्त विदेशी पर्यटकहरुलाई मैले नेपाल भित्र घुमाई दिए वापत पाउने रकम पठाइ दिएको हो । सो रकम मैले झिकेको हुँ । सो रकम पर्यटकलाई घुमाएको विल तिरी जाहेरवालीको निर्देशनमा खर्च भएको हो । मैले ठगी नगरेकोले मलाई अभियोग दावी वमोजिम सजाय हुनुपर्ने होइन, सफाइ पाँउ भन्ने समेत व्यहोराको प्रतिवादी अशोक अमात्यले अदालतवाट जारी भएको म्यादमा हाजिर भै गरेको वयान ।
कि.नं. ४४३ को ०–१०–० कठ्ठा जग्गा प्रतिवादी अशोक अमात्यले रु.३०,०००/– मा खरिद गरेको हो । सोही जग्गा रु.८०,०००/– मा मोहन वहादुर मैनालीलाई वेचेको हो । प्रतिवादी अशोक अमात्य चितवनमा ३।४ वर्ष पहिले टुरिष्ट गाइडको काम गर्थ्यो । जाहेरवालीलाई ठगी गरेको छैन । अशोक अमात्यवाट रु.८०,०००/– मा मोहन वहादुर मैनालिले खरिद गरेको कि.नं. ४४३ को ०–१०–० जग्गा हो । प्रतिवादी मोहन वहादुर मैनालीले जाहेरवालीलाई ठगी गरेको छैन भन्ने समेत व्यहोराको प्रतिवादीहरुका साक्षी रामप्रसाद श्रेष्ठ, श्याम ढकाल, तिलकप्रसाद पौडेल, विष्णुहरि देवकोटा समेतले गरेको बकपत्र ।
नेपाल आउने क्रममा अशोक अमात्यसँग अक्टुवर १९९३ देखि चिनजान भै १९९५ सम्म मैले हेल्पर राखी चितवन वछौलीमा होटल खोल्ने उद्देश्य भै हिमालयन वैक ठमेलमा नं.११५०३० जे. को संयुक्त खाता खोली २५ मार्च १९९७ मा रु.६,००,०००/–(छ लाख) रुपैया जम्मा गरिदिएको रकम अशोक अमात्यले राष्ट्रिय वाणिज्य वैंक रत्ननगर टाडिमा ७०९५ नं. को खाता खोली सो रकम सारी उक्त जग्गा खरिद गरेको हो । निजको पनौतिको घर निर्माण र तला थप्नको लागि रु.२,५०,०००/– अर्को रकम दिएको छु । मैले सो जग्गामा होटल संचालनको लागि घर, टहरा, ट्वाइलेट र स्वीमिङ पुल निर्माण गरी सकेको छु । सो जग्गा मेरो नाउमा पास नहुने भएकोले निजको नाममा खरिद गरेको छु । जग्गा खरिद र निर्माण समेतको लागी मेरो एकतीस लाख वरावर खर्च भएको छ । ब्लु लागुन प्रा.लि दर्ता गरे पछि मलाई थाहा नदिई १९९७ मा अशोक अमात्यले मोहन वहादुर मैनालीलाई सो घर जग्गा विक्री गरी ठगी गरेकोले प्रतिवादीहरुलाई ठगीमा सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको जाहेरवाली फ्रान्सिने मार्शलले अदालतमा गरेको वकपत्र ।
प्रतिवादीहरुले कसूरमा इन्कारी भै वयान गरेको अवस्था छ । अशोक अमात्य र जाहेरवालीको वीचमा २०५३।१२।१२ मा भएको करारको सम्वन्धमा करार ऐन, २०२३ को दफा १५(१) वमोजिम करार गर्ने पक्षहरुले करार पुरा नगरेमा करार मुद्दा दिई क्षतिपुर्ति दावी गर्न सक्ने अवस्था पनि विद्यमान देखिन्छ । जाहेरवालीलाई प्रतिवादी अशोक अमात्यले ललाई फकाई जाल परिपन्च गरी करारको लिखत गरायो भन्ने सम्वन्धमा वादी दावी नभएको र जाहेरवालीको आफ्नो वकपत्रमा सो कुरा उल्लेख गर्न नसकेको, २०५३।१२।१२ मा भएको करार वमोजिम प्रतिवादी अशोक अमात्यले आफ्नो नाममा खरिद गरेको कि.नं. ४४३ को ०–१०–० को जग्गा र सोमा वनेको घर, कटेरा समेत जाहेरवालीलाई राजिनामा नगरी अर्का प्रतिवादी मोहन वहादुर मैनालीलाई राजिनामा गरी करार वमोजिम शर्त पालना नगरेको कार्य ठगीको १ नं. को परिभाषा भित्र नपर्ने हुँदा प्रतिवादीहरु उपर अभियोग दावी पुग्न सक्दैन । सफाइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु चितवन जिल्ला अदालतको मिति २०५६।१०।५ को फैसला ।
जाहेरवाली र प्रतिवादी अशोक अमात्य वीच रेष्टुरा खोल्ने योजना मुताविक २५ मार्च १९९७ मा भएको कागजमा जाहेरवालीवाट US $ १०,५०९/- वरावरको नेपाली रुपैया अशोक अमात्य ले लिई सो जग्गा जाहेरवालीको नाममा दर्ता रहेको ब्लु लागुन प्रा.लि मा सार्ने शर्त रहेको, कि.नं. ४४३ को जग्गा अनिल श्रेष्ठबाट २०५२।३।२२ मा रजिष्ट्रेशन गरी लिएको दिन हिमालयन वैंक ठमेलको खाता नं. ११५०३० जे.को चेकवाट प्रतिवादी अशोक अमात्यले भुक्तानी दिएको देखिन्छ । रकम निकालिएको उक्त खाता कुनै एक जनावाट संचालन गर्ने गरी जाहेरवाली र निज प्रतिवादीले संयुक्त रुपमा खोलेको र जाहेरवालीले अमेक्स वैंक अमेरिकाबाट उक्त खातामा रकम पठाएको देखिन्छ । विदेशीको नाममा जग्गा खरिद गर्न र कम्पनी दर्ता नभएसम्म विदेशीले जग्गा प्राप्त गर्न नसक्ने हुँदा ब्लु लागुन प्रा.लि. दर्ता गरेपछि फिर्ता गर्ने गरी सहमति भएकोमा प्रतिवादी अशोक अमात्यले आफ्नै नाममा जग्गा खरिद गराई जाहेरवालीको लगानीवाट स्वीमिङ पुल तथा घर निर्माण भई रहेको अवस्थामा जाहेरवालीलाई धोका दिई आफ्नै ससूरा मोहन वहादुर मैनालीलाई सो जग्गा रु.८०,०००/– मा विक्री गरेको कार्य ठगीको १ नं. भित्र पर्दैन भनी भएको शुरुको फैसला त्रुटीपुर्ण हुँदा उल्टी गरी अभियोग दावी वमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन अदालत हेटौडामा परेको पुनरावेदन पत्र ।
यसमा जाहेरवालीले पठाएको रुपैयाबाट प्रतिवादी अशोक अमात्यको नाउँमा जग्गा खरिद गरेको र सोही जग्गा समेत हक हस्तान्तरण गर्ने २०५३।१२।१२ मा जाहेरवालीसँग करार समेत गरी सकेपछि विवादित जग्गा नै प्रतिवादी अशोक अमात्यले प्रतिवादी मोहन वहादुर मैनालीलाई हक छाडि दिएको देखिएको छ । जाहेरवालीलाई लिखित रुपमा हक हस्तान्तरण गर्न सहमति जनाएको विवादित जग्गामा जाहेरवालीले अरु निर्माण कार्य समेतमा खर्च गरीसकेको कुरा देखिएको यस स्थितिमा उक्त करारको दायित्व अव पुरा गराउन नसकिने अवस्थामा सो भएको करार कागजको रुप प्रकृतिवाट जाहेरवालीलार्ई लिखित रुपमा ठगी गर्न प्रतिवादीहरुले प्रपंच गरेको होइन भन्न सकिने अवस्था नहुँदा शुरु चितवन जिल्ला अदालतले वादी दावी नपुग्ने ठहर्याएको फैसला फरक पर्न सक्ने देखिदा छलफलको निमित्त प्रत्यर्थी झिकाई आए पछि वा अवधी नाघे पछि पेश गर्नु भन्ने पुनरावेदन अदालत हेटौडाको मिति २०५७।२।३२ को आदेश ।
जाहेरवाली र प्रतिवादी अशोक अमात्य वीच २०५३।१२।१२ मा भएको सम्झौतामा अशोक अमात्यको नाममा जग्गा खरिद गरी उक्त जग्गामा भौतिक पुर्वाधारहरु निर्माण समेत गरी सके पछि ब्लु लागुन प्रा.लि.को नाममा हस्तान्तरण गर्ने र सो वापत फ्रान्सिने मार्शलले रु. ६ लाख नेपाली रुपैया तिर्ने भन्ने उल्लेख भएको पाइन्छ । सो रकम जाहेरवालीले प्रतिवादी अशोक अमात्यलाई दिन नसके पछि निजले अरुलाई सो घर जग्गा विक्री गरेको विषयलाई ठगी गरेको मान्न मिलेन । ठगीको १ नं. को परिभाषा भित्र उक्त कार्य पर्ने देखिदैन । वैंकको रकम हिनामिना गरेको भन्ने जाहेरवालीको दावी पनि रहेको पाइदैन । मोहन वहादुर मैनालीलाई जग्गा विक्री ग¥यो भन्ने आधार लिई ठगी मुद्दा चलाएको देखिन्छ । सो जग्गा अन्य व्यक्तिलाई विक्री गर्दा ठगी ग¥यो भनी भन्न मिल्दैन । उक्त करारमा उल्लेखित घर जग्गामा प्रतिवादी अशोक अमात्यको हक रहेको भन्ने जाहेरवालीले स्वीकार गरेको र सो वापत रकम तिर्ने भन्ने उल्लेख भएकोले आफ्नो हकको हो भन्ने जाहेरवालीको कथन कानून संगत देखिदैन । करार तर्फ प्रतिवादी उपर कारवाही चलाउन तत्काल वहाल रहेको करार ऐनले वन्देज नलगाएको अवस्थामा सो मार्ग अवलम्वन नगरी गलत मार्ग अवलम्वन गरी आएको देखिदा शर्त पालना नगरेको कार्य ठगीको १ नं.भित्र नपर्ने भई वादी दावी पुग्न नसक्ने ठहर गरेको शुरु चितवन जिल्ला अदालतको २०५६।१०।५ को फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हटौडाको मिति २०५८।९।८ को फैसला ।
जाहेरवाली अमेरिकी नागरिक रहेकी, नेपाल कानूनले विदेशी नागरिकले अचल सम्पति खरिद गर्न नपाउने भएकोले जाहेरवालीले प्रतिवादी अशोक अमात्यसँग मिली हिमालयन वैंक ठमेलमा ११५०३० जे. नं. को खाता खोली सो खातामा अमेक्स वैंक अमेरिकाबाट पटक पटक रकम जम्मा गरेको र साझेदारीमा सौराहामा रेष्टुरा खोल्ने सहमति भए मुताविक कि.नं. ४४३ को जग्गा अशोक अमात्यको नाममा खरिद भएकै दिन संयुक्त नामको खाताबाट सो जग्गाको दाता अनिल श्रेष्ठको नाममा चेकबाट रकम भुक्तानी भएको छ । सो जग्गा ब्लु लागुन प्रा.लि. को नाममा प्रतिवादी अशोक अमात्यले हस्तान्तरण गर्ने भन्ने कार्य ठगी प्रयोजनको लागि तयार गरेको कागज मात्रै हो । ठगीको कसूर हुनको लागि धोका, गफलत को गुन्जायस रहन्छ । त्यस्तोमा ठगीमा कारवाही हुन सक्छ । जाहेरवालीलाई प्रतिवादी अशोक अमात्यले विश्वास दिलाउने उद्देश्यले कागज गरी दिएको, सो कागजका कारण विश्वासमा पारी प्रतिवादीले आफुलाई ठगी गरेको भनी स्पष्ट रुममा जाहेरवालीले अदालतमा वकपत्र गर्दा लेखाई दिएको देखिन्छ । एक जना विदेशी नागरिकले नेपालमा आफ्नो नाउँमा जग्गा खरिद गर्न कानूनतः नसक्ने व्यवस्थाको फाइदा उठाई विदेशी सँग त्यत्रो रकम ठगी गर्ने प्रतिवादी अशोक अमात्य र मोहन वहादुर मैनालीको कसूर अपराधलाई सम्झौता उल्लघंनको गलत अर्थ लगाई सफाइ दिएको फैसलामा मुलुकी ऐन ठगीको महलको १ नं. को गम्भिर त्रुटी भएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) खण्ड (क) बमोजिम दोहोर्याई निस्सा प्रदान गरिपाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको यस अदालत समक्षको निवेदन पत्र ।
यस्मा शुरु, रेकर्ड र भए प्रमाण मिसिल समेत झिकाई आए पछि पेश गर्नु भन्ने व्यहोराको यस अदालतको मिति २०५९।२।१० को आदेश ।
यस्मा जाहेरवाली फ्रान्सिने मार्शल अगस्टिन र अशोक अमात्य वीच २०५३।१२।१२ मा सम्झौता भएको, सो सम्झौता अनुसार सौराहामा स्वीमिङ पुल सहितको ब्लु लागुन नामक रिसोर्ट खोल्न सहमति भएको र प्रत्यर्थीको नाउँमा जग्गा खरिद गरी भौतिक पुर्वाधार निर्माण गरी ब्लु लागुन प्रा.लि. को नाममा हस्तान्तरण गर्ने र सो वापत अशोक अमात्यलाई लगभग ६ लाख रुपैया दिने भन्ने कुरा अदालतमा गरेको वयानबाट देखिन आएको र सो कार्यको लागि हिमालयन वैंक काठमाडौंमा ११५०३०J। नं. को जाहेरवाली फ्रान्सिने मार्शल अगस्टिन र प्रतिवादी अशोक अमात्यको नाउँमा संयुक्त खाता खोलिएको, सो खातामा AMEX BANK USA बाट रकम आएको भन्ने कुरामा विवाद देखिएन । साथै अशोक अमात्यको नाउँमा मिति २०५३।२।२९ मा राजिनामा पारित गरिएको कि.नं. ४४३ को जग्गामा नै घर, टहरा र स्वीमिङ्ग पुल अवस्थित रहेको देखिनुको साथै उक्त कम्पनी २०५४।९।२८ मा कम्पनी रजिष्ट्ररको कार्यालयमा दर्ता भएको समेत अवस्थामा सम्झौता विपरीत संयुक्त खाताको रकम झिकी अन्य कार्यमा प्रयोग गरी उक्त जग्गा समेत ससुरा मोहन वहादुर मैनालिलाई राजिनामा गरी हक छाडेको समेत समस्त वस्तुस्थितिबाट मुलुकी ऐन ठगीको १ नं. को कार्य गरिएको प्रमाणित भै रहेको अवस्थामा करारको शर्त पालना नगरेको कार्य ठगीको परिभाषा भित्र नपर्ने भनी गरेको शुरु चितवन जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत हटौडाको फैसलामा ठगीको १ नं. को गम्भिर व्याख्यात्मक त्रुटी देखिनाले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) वमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ । प्रत्यर्थीलाई झिकाई कम्पनी रजिष्ट्रारको कार्यलयबाट उक्त ब्लु लागुन प्रा.लि. को दर्ता हुँदाका अवस्थामा पेश गरेको कागजातको फायल समेत मंगाई नियमानुसार पेश गर्नु भन्ने समेत यस अदालतको मिति २०६२।१।१४ को आदेश ।
नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फवाट उपस्थित विद्वान सह—न्यायाधिवक्ता श्री महेश थापाले विवादित जग्गा खरिद र निर्माण कार्यमा लगानी र खर्च जाहेरवाली कै भएको हो भन्ने तथ्यलाई शुरु र पुनरावेदन अदालतको फैसलाले अन्यथा भन्न सकेको छैन । करारमा आउनु पर्नेमा ठगीमा आएको मिलेन भन्ने मात्र तर्क छ । विदेशी नागरिकको नाममा जग्गा पारित हुन नसकेको प्राविधिक कारणवाट प्रतिवादीको नामवाट जग्गा पारित गराई लिनु परेको वाध्यात्मक अवस्था पनि देखिइरहेको छ । करार जाहेरवालीको सम्पति फिर्ता गर्ने र पारिश्रमिक दिने विषयमा मात्र सिमित छ । जग्गामा जाहेरवालीको लगानी छैन भन्ने प्रतिवादीको अदालतको वयान छ । तर संयुक्त खातावाट चेक मार्फत भुक्तानी दिएको अवस्था छ । जाहेरवालीले अमेरिकी वैंक मार्फत सो खातामा पठाएको रकम निजको नभई आफ्नो मात्र हो भन्ने प्रतिवादी अशोकको भनाई छैन । जग्गामा भौतिक पूर्वाधार आफूहरुले बनाएको होइन भन्ने प्रतिवादीहरुको कथन छ । त्यसवाट पनि सो निर्माण कार्यमा प्रतिवादीको नभइ जाहेरवाली कै लगानी छ भन्ने कुरा स्थापित हुन्छ । अचल सम्पतिको मात्र ठगी हुने नभई चल सम्पतिको पनि ठगी हुन्छ । एउटा कामको लागी लिएको रकम अर्कैमा खर्च गर्नु पनि ठगी हुन्छ । प्रतिवादीहरुले जुनसुकै व्यहोरावाट भए पनि जाहेरवालीलाई झुक्याई निजको सम्पति ठगी गरी खाएको अवस्था हुँदा शुरु र पुनरावेदन फैसला उल्टी भई अभियोग दावी वमोजिम हुनु पर्दछ भन्ने समेत वहस गर्नुभयो ।
जाहेरवाली फ्रान्सिने मार्शलका तर्फवाट रहनु भएका विद्वान अधिवक्ता त्रय श्री मिलन कुमार राई, श्री केदारप्रसाद दहाल र श्री हरि फुयाँलले मिति २०५३।१२।१२ को संझौतालाई मात्र हेरेर शुरु र पुनरावेदन अदालतहरुवाट फैसला भएको अवस्था छ । उक्त संझौता समग्र घटनाको एक पक्ष मात्र हो । जाहेरवाली र प्रतिवादी अशोक अमात्य विचको सम्वन्धको शुरुवात देखी विवादित जग्गा मोहन वहादुरलाई हक हस्तान्तरण गर्दा सम्मका सम्पूर्ण तथ्यहरुलाई एक साथ हेरियो भने ठगी भएको तथ्य स्पस्ट रुपमा प्रमाणित हुन्छ । सम्झौतामा रकम बुझी सकेको व्यहोरा परेको छ । केवल पारिश्रमिक बुझिलिई घर जग्गाको स्वमित्व हस्तान्तरण गर्ने कुरा मात्र सो सम्झौतामा परेको छ । विपक्षी अशोकले पुनरावेदन अदालतमा दिएको निषेधज्ञाको निवेदन हेरिएमा निज एक सामान्य कामदार मात्र भएको, पारिश्रमिक लिने शर्तमा जाहेरवालीको काम गरिदिएको र पारिश्रमिक नपाएकोले जग्गा उनाउ व्यक्तिलाई वेचिदिएको भन्ने स्पस्ट उल्लेख छ । जाहेरवालीको अमेरिकावाट वैंक मार्फत आएको रकमवाट जग्गा खरिद भएको र सो रकम प्रतिवादीको नभएको तथा जग्गामा भौतिक पूर्वाधार समेत प्रतिवादीहरुले नवनाएकोवाट जाहेरवालीको सम्पति लगानी भएकोमा विवाद छैन । असल नियतवाट प्रतिनिधित्व पाएका प्रतिवादीले जाहेरवाली विदेशी नागरिक भएको कारणवाट गलत प्रतिनिधित्व गरी फाइदा लिएका हुन । समग्रमा झुक्याइएको र सम्पति ठगिएकै हुँदा ठगी ठहर हुनु पर्दछ भन्ने समेत वहस गर्नु भयो ।
प्रतिवादी अशोक अमात्य समेतका तर्फवाट रहनु भएका विद्वान अधिवक्ता श्री बालकृष्ण नेउपानेले फौजदारी मुद्दामा जाहेरी र अभियोग के छ भनेर हेरिनु पर्दछ । मुद्दाको जग त्यही भएकोले सो वाहेकको अवस्था र आधारवाट ठगी ठहर हुन सक्तैन । गफलतमा पारी झुक्याएर सम्झौता गराएको भन्ने जाहेरी र अभियोग छैन । सम्झौतामा जग्गा जमिन र त्यसमा जडित सवै वस्तु अशोकको हो भन्ने स्विकारिएको छ । केवल केही रकम लिई जाहेरवालीलाई हस्तान्तरण गर्ने भनिएको छ । जाहेरवालीले संझौता वमोजिम रकम नदिएको र रकमको आवश्यकता परेको कारणवाट आफ्नो नामको सम्पति हक हस्तान्तरण गर्दा ठगी हुने भन्ने प्रश्न नै आउदैन । प्रतिवादीको आफ्नो समेत संयुक्त नामको खाताको रकममा निजको हक नहुने भन्ने कुनै कानूनी आधार छैन । वाणिज्य वैंक ऐन,२०३१ को दफा २३ र प्रमाण ऐन, २०३१ को दफा ६ (क) वमोजिम त्यस्तो सम्पतिमा प्रतिवादीको हक लाग्ने नै हुन्छ भन्ने समेत वहस प्रस्तुत गर्नु भयो ।
पक्ष विपक्षका विद्वान कानून व्यवसायीहरुको, उपरोक्त वहस जिकिर तर्फ दृष्टिगत गरी पुनरावेदन सहितको सम्पूर्ण मिसिल कागजात अध्ययन गरि हेर्दा प्रतिवादीहरुलाई आरोपित कसूरवाट सफाइ दिने ठहराई शुरुवाट भएको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेको छ छैन ? र उक्त फैसला उल्टी गरी प्रतिवादीहरुलाई अभियोग माग दावी वमोजिम सजाय गरिपाऊँ भन्ने पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन ? भन्ने सम्वन्धमा निर्णय दिनु पर्ने देखिन आयो ।
२. निर्णय तर्फ विचार गर्दा प्रतिवादीहरुले जाहेरवालीको जम्मा विगो रु. ३०,७६,४०४।– वरावरको सम्पत्ति मुलुकी ऐन ठगीको १ नं. विपरीत ठगी गरेकोले दुवै प्रतिवादीहरुलाई सोही ४ नं. वमोजिम कारवाही गरी ठगी भएको विगो जाहेरवालीलाई दिलाई भराई पाउँ भन्ने समेत अभियोग माग दावीमा आरोपित कसूरमा इन्कार रही प्रतिवादीहरुले वयान गरेको देखिन्छ । करार वमोजिमको शर्त पालना नगरेको कार्य मुलुकी ऐन ठगीको १ नं.ले गरेको ठगीको परिभाषा भित्र नपर्ने हुँदा प्रतिवादीहरु उपरको अभियोग दावी नपुग्ने भनी आरोपित कसूरवाट सफाइ दिने ठहराई शुरु चितवन जिल्ला अदालतले गरेको फैसला पुनरावेदन अदालतवाट सदर भए उपर वादी पक्षको यस अदालतमा परेको मुद्दा दोहोर्याई हेरी पाउँ भन्ने निवेदनमा संझौता विपरीत संयुक्त खाताको रकम झिकी अन्य कार्यमा प्रयोग गरेको बिषय ठगीको परिभाषा अन्तर्गत नपर्ने ठहराएको फैसलामा मुलुकी ऐन ठगीको १ नं. को व्याख्यात्मक त्रुटी देखिएको भन्ने समेत आधारमा यस अदालतवाट निस्सा प्रदान भएको देखियो ।
३. यसमा जाहेरी दर्खास्तको व्यहोरा अध्ययन गरी हेर्दा नेपाल घुम्ने क्रममा सन् १९९५ मा चितवनको सौराहमा होटलमा काम गर्ने प्रतिवादी अशोक अमात्यसंग चिनजान भयो, सो ठाउँमा स्वीमिङ्ग पुल सहितको रिसोर्ट खोल्ने इच्छा भई प्रतिवादी अशोकलाई भन्दा तपाई लगानी गर्नुहोस व्यवसायमा म सहयोग गर्दछु । अहिले मेरो नाममा जग्गा खरिद गरौं पछि प्रा.लि. को नाममा हक हस्तान्तरण गरिदिन्छु भनेकाले नेपालीको सहयोगमा काम गर्न सजिलो हुने ठानी प्रतिवादी अशोकको भनाईमा विश्वास गरी हिमालयन बैंकमा दुई जना मध्ये कुनै एकले रकम निकाल्न सक्ने गरी संयुक्त खाता खोली अमेरिका गई सो खातामा तुरुन्त रकम पठाएँ । सोही मैले पठाएको रकमवाट अनिल श्रेष्ठको नाउको चितवन वछ्यौली गा.वि.स. वडा नं. ३.क. को कि.नं. ४४३ को ०–१०–० जग्गा अशोक अमात्यको नाममा खरिद गरेको थियो । म विदेशी नागरिक भएकोले सिधै मेरा नाउमा जग्गा पारित नहुने भएवाट ब्ल्यू लागुन प्रा.लि. दर्ता गराउन कारबाही चलाई इजाजत प्राप्त हुने अवस्थामा रहेकोले प्र.अशोकलाई मिति २०५३।१२।१२ मा संझौता गरी रु.५,९६,४०४।– दिई निर्माण कार्य समेत जारी राखेकोमा प्रा.लि.दर्ता भएपछि प्रा.लि.को नाममा हक हस्तान्तरण गर्नुपर्ने उक्त जग्गा मेरो हक मेटाउने नियतले जाल परिपञ्च गरी मलाई थाह नै नदिई मिति २०५४।८।८ मा मलाई धोका दिई निजको सहोदर ससूरा मोहन वहादुर मैनालीलाई राजिनामा पारित गरि दिएकोले निज प्रतिवादीहरु २ जनालाई पक्राउ गरी आवश्यक कारबाही चलाई, दिएमा सोही जग्गा र नदिएमा सो जग्गा खरिद गर्दा बिपक्षीले म संग लिएको रु. ५,९६,४०४।– एवं सो जग्गामा घर,टहरा, र स्विमिङपुल निर्माण गर्दा लागेको रु.२४,८०,०००।– गरी जम्मा रु. ३०,७६,४०४।– समेतको ठगी भएको विगो दिलाई भराई पाउँ भन्ने समेत उल्लेख गरेको पाइन्छ ।
४. जाहेरवाली फ्रान्सिने मार्शलले अदालत समक्ष उपस्थित भई जाहेरी दर्खास्तको समर्थन गर्दै गरेको वकपत्रमा विवादित जग्गा खरिद र त्यसमा आफ्नो मात्र लगानीवाट निर्माण कार्य गरेको हो । अशोकको १ रुपैया पनि खर्च भएको छैन । जमिन दिन्छु भन्ने विश्वास दिलाउनको लागि मात्र संझौता गरेको हो । संझौताको रकम २५ मार्च १९९७ मै दिई सकेको छु । हिमालयन बैंक मार्फत अशोक अमात्यको नेपाल बैंक टाँडीको खातामा रकम ट्रान्सफर गरिएको हो । प्रतिवादी अशोकको आमाको पनौतिको घर निर्माण गर्न २ लाख भन्दा बढी सहयोग समेत गरेको थिए भन्ने समेत व्यहोरा लेखाएको देखिन्छ । चितवन सौराहमा गाइड काम गर्ने प्रतिवादी अशोक अमात्यले जाहेरवालीको लगानीमा जग्गा किनी घर, टहरा र स्विमिङ पुल वन्दै गरेको अवस्थामा ब्ल्यू लागुन प्रा.लि. दर्ता नहुँदै सो जग्गा मोहन वहादुरलाई विक्री गरिदिएका हुन भनी वस्तुस्थिति मुचुल्कामा वस्ने माधव गिरी समेतका मानिसहरुले मौकामा व्यहोरा लेखाई दिएको र जाहेरवालीले रु. ५,९६,४०४।– दिई अशोक अमात्यको नाउमा राजिनामा गरी लिएको विवादित जग्गामा घर, टहरा र स्विमिङ पुल वनाउनको लागि रु. २४,८०,०००।– खर्च भएको विश्वास लाग्छ भन्ने मूल्यांकन मुचुल्काका मानिसहरुले लेखाई दिएको देखिन आउंछ ।
५. प्रतिवादी मोहनबहादुर मैनालीले अधिकार प्राप्त अधिकारी तथा अदालतमा गरेको वयानमा आफूले जाहेरवालीलाई ठगी गरेको होइन । अशोकले जग्गा विक्री गर्छु भनेकाले रकम दिई खरिद गरेको हो । जाहेरवालीसंग संझौता गरेको तथा निजको लगानी परेको थाहा थिएन । मैले जग्गा खरिद गरी लिंदा खरले छाएको एउटा घर, एउटा वाथरुम र खाल्डो मात्र थियो । जस्ले ठगी गरेको हो उसैलाई सजाय हुनुपर्छ भन्ने समेत व्यहोरा लेखाएको देखिन्छ । प्रतिवादी मध्येका मुख्य आरोपी अशोक अमात्य मौकामा फरार रहेको र पछि अदालतमा हाजिर भई वयान गर्दा साथीभाईवाट सापट गरी विवादित जग्गा खरिद गरी त्यसमा आफ्नै लगानीवाट एउटा घर वनाएको थिएँ । जाहेरवाली संग कुनै रकम लिएको छैन । पछि सो जग्गामा कसले अन्य निर्माण कार्य गर्यो थाह छैन । ४–५ महिना अघि चिनजान भएकी जाहेरवालीसंग ६ लाख लिई विवादित जग्गा दिने शर्तनामा भएकोमा धेरैपछि निजले सो जग्गा नलिने जानकारी दिएकीले मोहनबहादुरलाई विक्री गरेको हो । जाहेरवालीले कर गरेर संयुक्त खाता खोलेको र अमेक्स वैंकबाट निजले सो खातामा पठाएका रकम जाहेरवालीले नै पठाएका पर्यटकहरु घुमाउने क्रममा निजकै निर्देशन अनुसार खर्च गरेको हो, ठगी गरेको होइन भन्ने समेत व्यहोरा लेखाएको देखिन्छ ।
६. प्रतिवादी अशोक अमात्यको उक्त वयान व्यहोरावाट जाहेरवाली र निज वीच ब्ल्यू लागून प्रोजेक्टको लागि जग्गा किनी पूर्वाधार तयार पार्ने संझौता भएको, जाहेरवालीसंग हिमालयन बैंकमा दुई मध्ये एकको हस्ताक्षरवाट रकम निकाल्न मिल्ने गरी संयुक्त खाता खोलेको र सो खातामा जाहेरवालीले Amex Bank अमेरिकाबाट रकम पठाएको भन्ने तथ्यलाई स्वीकार गरेकै देखिन आउँछ । जाहेरी व्यहोरा, जाहेरवालीको अदालत समक्षको वकपत्र र प्रतिवादी अशोक अमात्यको अदालत समक्षको वयानको उक्त मूलभूत बिषय परस्पर मेलखाई समर्थित भइरहेको पाइन्छ । जाहेरवालीसंग भएको संझौता कार्यान्वयन नभएको, संझौता वमोजिम रकम नलिएको र संयुक्त खातामा जाहेरवालीले पठाएको रकम निजकै निर्देशन अनुरुप पर्यटक घुमाउन खर्च भएको भन्ने सम्म बिषयमा प्रतिवादीले जाहेरी व्यहोरा र अभियोग दावीसंग मेल नखाने पृथक व्यहोराको वयान जिकिर लिएको पाइयो ।
७. तथापि जाहेरवालीले अमेक्स बैंकबाट पठाएको प्रतिवादी र जाहेरवालीको संयुक्त नाममा हिमालयन बैंकमा खोलिएको खाता नं. ११५०३० J मा रहेको रकम जाहेरवालीले भने वमोजिम पर्यटक घुमाउन खर्च भएको भन्ने कुराको कुनै सवूद प्रमाण प्रत्यर्थी प्रतिवादीले दिन गुजार्न सकेको पाईदैन । संयुक्त खातामा जाहेरवालीले अमेरिकाबाट ओभरड्राफ्ट मार्फत रकम पठाएको तथ्य मिसिल संलग्न सो सम्वन्धी कागजातहरुवाट पुष्टि भएको र त्यसरी संयुक्त खातामा जम्मा भएको रकममा आफ्नो समेत हक लाग्ने हो भनी प्रतिवादीले जिकिरसम्म पनि लिन सकेको अवस्था छैन । विवादित कि.नं.४४३ को जग्गा खरिद गरेकै दिन जग्गा दाता अनिल श्रेष्ठलाई संयुक्त खाताकै चेकबाट भुक्तानी दिइएको देखिएवाट सो खाताको रकम विवादित जग्गा किन्न नभई पर्यटक घुमाउन खर्च भएको भन्ने प्रतिवादीको वयान खण्डित भईरहेको देखियो ।
८. यसका अतिरिक्त प्रमाणमा आएको निवेदक यिनै प्रतिवादी अशोक अमात्य विरुद्ध यिनै जाहेरवाली समेत बिपक्षी भएको संवत ०५४।५५ सालको नि.नं. ६१३ को पुनरावेदन अदालत पाटनबाट मिति ०५४।११।२७ मा आदेश भएको निषेधाज्ञा मुद्दाको निवेदन व्यहोरा हेर्दा जाहेरवालीसंग चितवन सौराहमा काम गर्दैका अवस्था १९९५ जुलाई महिनामा भेट भई घनिष्टता भएको, सोही घनिष्टताकै कारण ब्ल्यू लागुन नामको रेष्टुँरा खोल्ने सहमती भई संयुक्त लगानीमा जग्गा खरिद गरी निर्माण कार्य गरिएको, सम्पूर्ण कार्य सम्पन्न हुन लागेपछि जाहेरवालीलाई अन्य व्यक्तिले फकाई मेरो पारिश्रमिक समेत नदिई उक्त सम्पत्तिबाट मलाई विमुख पार्न लागेकोले योजना भित्रको सम्पत्ति मध्ये मेरा नाउको कि.नं.४४३ को जग्गा मोहनबहादुर मैनालीलाई रु.८०,०००।– मा राजिनामा पारित गरि दिएको हो भन्ने समेत व्यहोरा उल्लेख गरेको देखिन्छ ।
९. यसरी अदालत समक्ष विवादित जग्गा खरिद लगायत ब्ल्यू लागून रिसोर्टको पूर्वाधार तयार पार्न जाहेरवालीको कुनै रकम लगानी नभएको भनी वयान गर्ने प्रतिवादीले सो वयान गर्नु अघि पुनरावेदन अदालतमा दिएको निषेधाज्ञाको निवेदनमा निर्माण कार्यमा जाहेरवालीको लगानी परेको भन्ने कुरा स्पष्ट रुपमा स्वीकार गरी आफूले पारिश्रमिक वापत काम गरेकोमा जाहेरवालीले सो नदिएको भन्ने उल्लेख गर्दै आफ्नो लगानीको जग्गा मात्र विक्री गरेको भन्ने व्यहोरा लेखाएवाट पनि प्रतिवादीको अदालत समक्षको इन्कारी वयान विश्वासप्रद देखिन आएन ।
१०. विवादित जग्गाको प्रतिवादीहरु वीच लिनु दिनु भएको पारित राजिनामा लिखतमा घर टहरा उल्लेख नभएको प्रतिवादी मोहन वहादुरको वयानबाट सो जग्गामा निजले कुनै निर्माण कार्य नगरेको भन्ने भएकोमा वस्तुस्थिति तथा मूल्य मुचुल्काबाट रु.२४,८०,०००।– को घर, टहरा र स्विमिङ पूल सहितका पूर्वाधार तयार भएको देखिएको र स्वयं प्रतिवादी अशोकले समेत निर्माण कार्यमा जाहेरवालीकै रकम खर्च भएको भनी निषेधाज्ञाको निवेदनमा स्वीकार गरेवाट जाहेरी दर्खास्त झूठ्ठा रहेछ भनी विश्वास गर्न सकिने आधार देखिएन ।
११. यसप्रकार नेपाल भ्रमणमा आएकी एक विदेशी नागरिकलाई होटलमा काम गर्ने व्यक्ति प्रतिवादी अशोकले विश्वासमा लिई रिसोर्ट खोल्ने कार्यमा लगानी गर्न राजी गराई, कुनै एकको नामबाट सञ्चालन गर्न सकिने गरी संयुक्त बैंक खाता खोली जाहेरवालीले आफ्नो देश अमेरिकावाट सो खातामा पठाएको रकम झिकी जग्गा खरिद गरी रिसोर्टको पूर्वाधार तयार हुँदै गर्दाको अवस्थामा सो सम्पत्तिहरु निवेदिकाको नाउँमा दर्ता हुने अवस्थामा रहेको ब्ल्यू लागुन प्रा.लि. लाई हस्तान्तरण गर्नु पर्ला भनी मिति २०५४।९।२८ मा ब्ल्यू लागून प्रा.लि. दर्ता भएको प्रमाणपत्र लिनु अगावै सो प्रा.लि. स्थापनार्थ र सञ्चालनार्थ खरिद भई, पूर्वाधार खडा भएको विवादित जग्गा मिति २०५४।८।८ मा नै प्रतिवादी अशोक अमात्यले अर्का प्रतिवादी मोहनवहादुर मैनालीलाई भौतिक पूर्वाधार केही नजनाई खेतीको जग्गा भनी राजिनामा पारित गरि दिएको देखियो ।
१२. जाहेरवाली र प्रतिवादी अशोक अमात्यको भेटघाट चिनाजानी भए देखि विवादित जग्गा प्र.मोहनबहादुर मैनालीलाई राजिनामा पारित गरि दिंदाका अवस्था सम्म प्र.अशोक र जाहेरवाली वीच विकसित भएका सम्पूर्ण घटनाहरुको मालाकार कडि (Chain of link) हेर्दा जाहेरवालीलाई नेपालको पर्यटन व्यवसायमा लगानी गर्ने इच्छा भएको, प्रतिवादी अशोकको तर्फवाट नेपालमा लगानी गर्न सम्पूर्ण सरसहयोग हुने पूर्ण विश्वास दिलाइएको, प्रतिवादीले दिलाएको विश्वासमा परी जाहेरवालीले आफ्नो चल धनमाल प्रतिवादी मार्फत नै लगानी गरेको, विदेशी नागरिक जाहेरवालीका नाउँमा तत्काल प्रचलित कानून अनुसार अचल सम्पत्ति हक हस्तान्तरण हुन नसकेको र प्रा.लि. कम्पनी दर्ताको प्रकृयामा रहेको अवस्था मै प्रतिवादीले जाहेरवालीलाई धोखा दिई जाहेरवालीको लगानी परेको सम्पत्ति अर्का प्र. मोहनबहादुरलाई हकछाडी दिएको देखिन आएको छ ।
१३. जाहेरवाली र प्र.अशोक अमात्य वीच विकसित माथि उल्लिखित समग्र घटनाक्रमको एक पक्षका रुपमा निजहरु वीच मिति २०५३।१२।१२ मा सम्पन्न भएको करार भनिएको बिषय समेत प्रस्तुत मुद्दामा देखा परेको छ । प्रतिवादीलाई सफाइ दिएको शुरु र शुरुको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत हेटौंडाको फैसलाको मुख्य आधारको रुपमा सोही करार भनिएको अंग्रेजी भाषामा हस्त लिखित एक पृष्ठको लिखत रहेको देखिन्छ । प्रतिवादी अशोक अमात्य र जाहेरवाली फ्रान्सिने मार्शलको दस्तखत परेको Exchange of Contract नामाकरण गरिएको सो कागजको पहिलो प्रकरणमा "Blue lagoon Project at Malpul near sauraha, chitwan, Nepal भन्ने उल्लेख गर्दै संगसंगै 10 kotas of land, 40X85 meters, 3/क – 443 deed number, with house, common bath hut,fence, all goods & furnishing, all work (Labour) to date भन्ने लेखिएको देखिन्छ । ब्ल्यू लागुन नाम दिइएको सो प्रोजेक्ट अन्तर्गत विवादित कि.नं. ४४३ को १० कठ्ठा जग्गा त्यसमा खडा भएको भौतिक पूर्वाधार र कागज गर्दाका मिति सम्मको श्रम समेत समावेश रहेको भन्ने तथ्यलाई लिखतकै व्यहोराले स्वीकार गरेको देखिंदा सो सम्पत्ति सहितको समुच्चा पूर्वाधारलाई स्वयं प्रतिवादी अशोक अमात्यले ब्ल्यू लागून प्रोजेक्टको सम्पत्तिको रुपमा मानेको देखियो ।
१४. उक्त संझौता मार्फत जाहेरवाली र प्रतिवादी वीच आदान प्रदान गरिएको भनिएको बिषय वस्तुका रुपमा संझौताको पहिलो प्रवन्धमा Ashok Amatya Panauti Nepal, Transfers the above land ownership to Francine Marshall: including all property mentioned भन्ने उल्लेख भएको अवस्था देखिएको छ । सो सम्पत्ति हस्तान्तरणको पहिलो शर्तले माथि उल्लिखित जमिन र त्यसमा जडित चिजवस्तु प्रतिवादी अशोकले जाहेरवाली फ्रान्सिने मार्शललाई सोही संझौतावाट हस्तान्तरण गरेको तथ्य उजागर गरेको छ । त्यसैगरी सम्पत्ति हस्तान्तरणको दोश्रो तथा अन्तिम शर्तको रुपमा Francine Marshall,California,U.S.A.pays Ashok Amatya $ 10,509 U.s. in exchange, 5,96,404 Rs. भन्ने उल्लेख भएको व्यहोराबाट जाहेरवालीले प्रतिवादीलाई संझौतामा उल्लिखित सो रकम दिएको भन्ने देखिन आएको छ ।
१५. निश्चित समय भित्र कुनै शर्त वन्देजका अधिनमा कुनै काम गर्ने वा नगर्ने सहमतीका साथ प्रतिवादी र जाहेरवाली वीच सामान्य करारको रुपमा सो संझौता भएको भन्ने नदेखिई केवल जाहेरवालीसंग रकम वुझी लिई त्यसको बदला जमिन र सम्पत्तिको स्वामित्व प्रतिवादीले छाडि दिएको भन्ने देखिन आएको छ । सो लिखतमा उल्लेख भए बमोजिमको प्र. अशोक अमात्यलाई दिने भनिएको रकम हिमालयन बैंकमा जाहेरवाली र प्रतिवादीको संयुक्त नाममा रहेको खाता नं. ११५०३० जे. वाट उक्त संझौता भएको २५ मार्च १९९७ कै दिन प्रतिवादी अशोक अमात्यको नाउमा नेपाल वैंक लि. टाँडीमा रहेको खाता नं. ७०९५ मा ट्रान्सफर गरेको हो भनी जाहेरवालीले अदालत समक्षको वकपत्रमा स्पष्ट रुपमा उल्लेख गरेकोमा त्यसको खण्डन हुने कुनै प्रमाण प्रतिवादी पक्षवाट आउन सकेको छैन ।
१६. अर्को तर्फ सो सम्पत्ति हस्तान्तरण सम्वन्धी संझौता हुँदाको मिति २५ मार्च १९९७ अर्थात ०५३।१२।१२ सम्म जाहेरवालीको ब्ल्यू लागून प्रा.लि. दर्ता भई नसकेको कारण जाहेरवालीको नाममा उक्त सम्पत्ति कानूनी रुपमा हक हस्तान्तरण हुन नसके पनि विवादित जग्गा र घर, टहरा सहितको सम्पत्तिमा शुरु देखी नै जाहेरवालीको भोग चलन रहेको र अद्यापि सम्म सो सम्पत्ति निजले नै भोग चलन गरिरहेको भन्ने जाहेरवाली निवेदक रहेको लगाउको निषेधाज्ञा मूद्दामा पुनरावेदन अदालत हेटौंडाबाट भएको नाप नक्सा मुचुल्कामा उल्लेख भएको व्यहोरावाट स्पष्ट हुन्छ । यसवाट प्रतिवादी र जाहेरवाली वीचको समझदारी कार्यान्वयन नभएको भन्ने प्रतिवादी अशोक अमात्यको वयान खण्डित भई रहेको देखिन्छ ।
१७. मुलुकी ऐन ठगीको १ नं. को कानूनी व्यवस्था हेर्दा कसैले आफ्नो हक नपुग्ने अर्काको हकको चल अचल धनमाल हक पुग्नेलाई वा जसका जिम्मामा रहेको छ उसलाई ललाई फकाई वा जाल परिपञ्च गरी वा आफ्नो हक पुग्ने किर्ते कागज वनाई दिई वा पेश गरी वा आफूसंग नभएको कुरा आफूसंग छ भनी झुक्याई वा झुठ्ठो कुरालाई सद्दे हो भनी झुक्याई वा अरु जुनसुकै व्यहोरा संग धोका दिई गफलतमा पारी आफ्नो हक नपुग्ने अर्काको हकको चल–अचल धनमाल लिए दिए दिलाएमा वा अर्काको माल मेरो हो भनी वा मेरो भएको छ भनी लिखत गरी वा नगरी सोही माल लिए दिए विक्री व्यवहार गरेमा वा सट्टापट्टा गरी लिएमा ठगी गरेको ठहर्छ भन्ने समेत उल्लेख भएको देखिन्छ ।
१८. सो कानूनी प्रावधानको विश्लेषण गरी हेर्दा आफ्नो हक नपुग्ने चल वा अचल सम्पत्ति सम्पत्ति मालिकलाई ललाई फकाई वा जाल परिपञ्च गरी आफ्नो वनाउने तथा धोका दिई जुनसुकै व्यहोराले गफलतमा पारी अर्काको सम्पत्ति लिए दिए वा दिलाउने समेत गरेमा ठगी जन्य क्रिया घटित हुन जाने देखिन्छ । ठगीको वारदात स्थापित हुन अर्काको चल–अचल जुनसुकै अवस्थाको सम्पत्ति भए पनि सम्पत्ति धारकलाई झुक्यान, धोका, गफलत लगायतका परिपञ्चमा पारी लिनु दिनु वा दिलाउनु समेतका काम कुरा गरिएको हुनुपर्ने हुन्छ । यसवाट ठगी अपराधको मूलभूत तत्व आफ्नो हक नपुग्ने अर्काको सम्पत्ति स्वामीवाट गैरकानूनी तवरले लिनु दिनु र दिलाउनु संग सम्बन्धित रहेको देखिन्छ । त्यो गैर कानूनी काम कारवाहीमा ललाई फकाई गरी विश्वासमा पार्ने, जाल परिपञ्चमा पार्ने, धोका गफलतमा पार्ने आदि जुनसुकै वा सबै तत्व अन्तरनिहित हुन सक्दछ । जाहेरवालीको लगानीवाट रिसोर्ट सञ्चालन गर्न भौतिक पूर्वाधार सहित तयार भई सञ्चालनमा आउने अवस्थामा रहेको विवादित घर, जग्गा सो केही नजनाई निर्मित भौतिक संरचनाको अस्तित्व लोप गरी खेतीको जग्गा भनी जाहेरवालीलाई थाहा जानकारी नदिई अर्का प्रतिवादीलाई राजिनामा गरिदिएको कार्य मुलुकी ऐन ठगीको १ नं. को परिभाषा भित्र पर्ने नै देखिंदा यस अदालतवाट निस्सा प्रदान गर्दा लिइएको आधारसंग असहमत हुनु पर्ने कुनै कारण देखिन आएन ।
१९. अव ठगी गरे तर्फ के कुन प्रतिवादीलाई के कस्तो सजाय हुनु पर्ने हो भन्ने सम्बन्धमा वीचार गर्दा जाहेरवालीसंगको सम्पूर्ण व्यवहार प्रतिवादी अशोक अमात्यवाटै भएको देखिन्छ । जाहेरवाली र प्रतिवादी मोहन वहादुर मैनालीको कुनै चिनाजानी र सम्पर्क रहे भएको देखिंदैन । विवादित जग्गा राजिनामा पारित गरि दिने अवस्थामा समेत प्र.अशोकले केही कुरा नबताई आफूलाई रकमको आवश्यकता परेकोले जग्गा विक्री गर्नु पर्यो भनेकोले जग्गा खरिद गरेको हुँ भनी प्र.मोहनबहादुरले मौकामा र अदालतमा गरेको वयानमा उल्लेख गरेको देखिएवाट प्रस्तुत ठगीको वारदातमा निज प्रतिवादीको संलग्नता रहेको नदेखिंदा निज प्रतिवादीलाई सफाइ दिने ठहराएको हद सम्म शुरुको सदर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला मनासिव देखियो ।
२०. माथि प्रकरण प्रकरणमा गरिएको विश्लेषणबाट प्रतिवादी अशोक अमात्य एक्लैले जाहेरवालीलाई रिसोर्ट खोल्ने भनी ललाई फकाई जाल परिपञ्चमा पारी लगानी गर्न लगाई रिसोर्ट खोल्ने अवस्थामा पुगेपछि सो सम्पत्ति जाहेरवालीलाई फिर्ता गर्नु पर्ला भनी निजलाई थाहै नदिई अन्यत्र हक हस्तान्तरण गरेको देखिंदा निज प्रतिवादीले अभियोग दावी वमोजिम ठगीको कसूर गरेको ठहरी मुलुकी ऐन ठगीको ४ नं. वमोजिम निजले ठगी गरेको विगो रु. ३०,७६,४०४।– जाहेरवालीले भरी पाउने र विगो वमोजिम जरिवाना र एक वर्ष आठ महिना ५ दिन कैद समेत हुने ठहर्छ । दुवै प्रतिवादीहरुको हकमा अभियोग दावी नपुग्ने ठहराएको शुरुको सदर गरेको पुनरावेदन अदालत हेटौंडाको मिति २०५८।९।८ को फैसला सो हद सम्म मिलेको नदेखिदा केही उल्टी हुन्छ । अरुमा तपसिल वमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा उल्लेख भए बमोजिम प्रतिवादी अशोक अमात्यलाई सफाइ दिने ठहराएको शुरु चितवन जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत हेटौंडाको फैसला उल्टी भई निज प्रतिवादीले अभियोग दावी वमोजिम ठगीको कसूर अपराध गरेको ठहरी फैसला भएकोले ठगी ठहर भएको विगो रु.३०,७६,४०४।– जाहेरवालीलाई दिलाई भराई पाउँ भनी वादी नेपाल सरकारको ऐनका म्याद भित्र निवेदन परे कानून वमोजिम भराई दिनु तथा विगो वमोजिम कायम भएको जरिवाना रु.३०,७६,४०४।–को लगत कसी प्रतिवादीवाट असूल उपर गर्नु भनी शुरु चितवन जिल्ला अ. मा लेखी पठाउनु ..१
प्रतिवादीलाई लागेको कैद १ बर्ष आठ महिना ५ दिन निज पूर्पक्षको लागि थुनामा बसेको मिति २०५५।२।१० देखी शुरु अदालतको फैसलाले छुटि गएको मिति २०५६।१०।५ सम्म भुक्तान भइसकेको देखिंदा कैदतर्फ केहि गरिरहनु परेन ....२
प्रस्तुत फैसला भएको जनाउ सम्बन्धित जिल्ला सरकारी वकील कार्यालयमा दिनु भनी शुरु जिल्ला अदालतमा लेखि मिसिल नियमानुसार गरि वुझाई दिनु ...........३
उक्त रायमा सहमत छु ।
न्या.तपवहादुर मगर
इति सम्बत् २०६४ साल फाल्गुण ९ गते रोज ५ शुभम् ............
इ.अ.नारायण सुवेदी