निर्णय नं. ७९१४ - लेनदेन ।

निर्णय नं.७९१४ ने.का.प. २०६५ अङ्क १
सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री केदारप्रसाद गिरी
माननीय न्यायाधीश श्री गौरी ढकाल
सम्वत् २०६२ सालको दे.पु.नं. ८३४६
फैसला मितिः २०६४।९।६।६
मुद्दाः लेनदेन ।
पुनरावेदक/वादीः कपिलवस्तु जिल्ला वाणगंगा गा.वि.स.वडा नं.७ घर भै कपिलवस्तु नगरपालिका वडा नं.५ वस्ने प्रेमकुमारी घिमिरे
विरुद्ध
प्रत्यर्थी/प्रतिवादीः कपिलवस्तु जिल्ला वाणगंगा गा.वि.स.वडा नं.७ वस्ने दिलबहादुर सेन
अघि फैसला गर्ने
मा.न्या. विनोदमोहन आचार्य
पुनरावेदन अदालत वुटवलः
मा.न्या. राजेन्द्रप्रसाद कोइराला
मा.न्या. रामप्रसाद खनाल
§ सम्बन्धविच्छेद मुद्दाबाट विवादको निरुपण नहुँदासम्म निजहरु अलग रहे वसेको वा निजहरु अलग अलग अंशियार रहेको भन्न मिल्ने अवस्था नहुने ।
§ वादी प्रतिवादी एकासगोलका अंशियार रहेको भन्ने तथ्य स्थापित भएको अवस्थामा निजहरु बीच ऋण लिनु दिनु भै सगोलको सम्पत्तिबाट घरघराना गरी असुल उपर गर्ने भन्ने प्रश्न नआउने ।
§ एकासगोलमा रहे वसेको अवस्थामा सगोलकै सम्पत्तिबाट असुल उपर गर्ने गराउने विषय निहित रहेको लिखत हुनु र नहुनु वा सो लिखत वमोजिम असुल उपर हुनु र नहुनुमा कुनै तात्विक अन्तर नहुने हुँदा त्यस्तो लिखत वमोजिम साँवा व्याज भरी भराउको दावीको पनि कुनै औचित्य नदेखिने ।
§ स्तुत विवादमा विवादको लिखत हुँदाको मितिसम्म यी वादी प्रतिवादी बीचको पति पत्नीको सम्बन्ध यथावत् कायम रहेको तथ्य स्थापित भएको अवस्था हुँदा सगोलका पति पत्नीबीच भएको लेनदेन र सो असुल उपर नभएमा सगोलकै सम्पत्तिबाट असुल उपर गर्ने शर्त राखिएको लिखतको कुनै औचित्य नरहने भन्ने आधारमा वादी दावी पुग्न नसक्ने ।
(प्रकरण नं.३)
पुनरावेदक वादी तर्फवाटः
प्रत्यर्थी प्रतिवादी तर्फवाटः
अवलम्वित नजीरः
फैसला
प्र.न्या.केदारप्रसाद गिरीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अनुसार यस अदालतमा दायर भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः -
बिपक्षीले मसँगवाट मिति २०५०।५।१७ मा घर खर्च गर्न भनी रु.३०,०००।– सो को व्याज समेत एकमुष्ट ऐ. कार्तिक मसान्तसम्ममा वुझाउनेछु भनी तमसुक गरी दिएकोले मिति २०६०।५।४ गते बिहान उक्त रुपैया साँवा व्याज माग्न भनी जाँदा तिम्रो रुपैया दिन्न जे गर्न सक्छौ गर भनी ठाडो जवाफ दिएकाले विगो रु.३०,०००।– र सोको ९ बर्ष ११ महिना २१ दिनको हुने व्याज रु.२९,९२५।०३ समेत गरी जम्मा साँवा व्याज रु.५९,९२५।०३ र १० बर्ष पुग्न ९ दिन बाँकी रहेको हुँदा सो अवधिसम्मको व्याज समेत बिपक्षीवाट दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको वादीको फिराद दावी ।
निज वादी मेरो श्रीमती हुँदैको अवस्थामा ताराप्रसाद भन्ने व्यक्तिसँग २०५० साल भाद महिनामा अर्को विवाह गरी गएकीले निजले उल्टै म उपर फौ.नं. २६ को सम्बन्धविच्छेद मुद्दा गरी अदालतमा गई सम्बन्धविच्छेद हुने गरी मिति २०५०।५।१८ मा वाँके जिल्ला अदालतवाट मिलापत्र भएको र वादीले काल्पनिक रुपमा गलत कागज खडा गरी अदालतलाई समेत गुमराहमा पारी झुठ्ठा मुद्दा दिएकाले झुठ्ठा वनावटी वादी दावीवाट अलग फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर ।
यी वादी मसँगबाट पोइल गइसकेको, निजले दायर गरेको सम्बन्धविच्छेद मुद्दामा मिलापत्रको कागज गर्दा लेखक साक्षी समेतले कहाँ कहाँ सहीछाप गराए मलाई थाहा भएन । रुपैया लिएको होइन, छैन । मिति २०५०।५।१८ गते वादी पोइल गइसकेकी हुँदा निजसँग मैले कर्जा लिने कुरै भएन भन्ने समेत व्यहोराको प्रतिवादी दिल वहादुर सेनले गरेको वयान ।
रुपैया लिई तमसुक भएको हो, प्रतिवादीले झुठ्ठा वयान गरेका हुन् भन्ने समेत व्यहोराको वादी प्रेम कुमारी घिमिरेले गरेको वयान ।
वादीका साक्षी खगेश्वर अर्याल र प्रतिवादीका साक्षी श्यामबहादुर सेनले गरेको वकपत्र मिसिल संलग्न रहेको ।
प्रतिवादीले रुपैया नलिएको भने पनि लिखतको सहीछाप र वैधतालाई चुनौती दिन नसकेको, वादीका साक्षीले रुपैया लिनु दिनु गरी तमसुक भएको भनी वकपत्र गरी दिएका, वादी प्रतिवादीको श्रीमती भएपनि व्यवहारमा अलग्गै वस्ने गरेकी भन्ने देखिन आएको र अलग वसेकी श्रीमतीवाट कुनै कर्जा नै लिदैन भनी अनुमान गर्न नमिल्ने हुँदा लिखत बमोजिमको साँवासम्म वादीले प्रतिवादीवाट भराई लिन पाउने ठहर्छ । लोग्ने स्वास्नीको सम्बन्ध कायम रहेको अवस्थामा भएको लेनदेन व्यवहारको व्याज भराई दिन मनासिव नहुने हुँदा व्याजको हकमा वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको कपिलवस्तु जिल्ला अदालतको मिति २०६०।१२।२ को फैसला ।
लिखतका साक्षीलाई वुझिएको छैन । वादी पहिले मेरै श्रीमती भई पछि ताराप्रसादसँग लोग्ने स्वास्नी भई बसेकी, निजसँग कर्जा लिने प्रश्नै हुँदैन । मिति २०५०।५।१८ मा वादीसँग मिलापत्र गर्दा बिपक्षीले अर्को विवाह गरी १ छोरा समेतको जन्म भएको उल्लेख छ । त्यस्ती वादीसँग कर्जा लिएको भन्ने कुरा विश्वास लायक नै नभएको र वादीका साक्षीले सुनेको आधारमा वकपत्र गरेको समेतवाट वादीको दावी नपुग्ने फैसला गर्नुपर्नेमा लिखत वमोजिमको साँवासम्म भराई दिने ठहराएको शुरु फैसला उल्टी गरी न्याय पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी दिलवहादुर सेनको पुनरावेदन पत्र ।
लेनदेन भएको तथ्य स्वीकार गरीएको कानून वमोजिम व्याज पाउनु पर्ने स्थिती प्रष्ट देखिएको अवस्थामा कानून बिपरीत हुने गरी अनुमानको आधारमा व्याज नपाउने ठहराएको हदसम्म शुरु फैसला वदर गरी फिराद दावी वमोजिम न्याय पाउँ भन्ने समेत व्यहोराको वादी प्रेम कुमारी घिमिरेको पुनरावेदनपत्र ।
सम्बन्धविच्छेद मुद्दा पर्दा पर्दैका अवस्थामा दुवै थर स्वतन्त्र अलग अलग अंशीयार हुन् भन्न सकिने अवस्था पनि छैन । यस अवस्थामा वादी प्रतिवादी वीच लेनदेन नभएको भनी प्रतिवादीले भनी राखेकै र सगोलको सम्पत्तिवाट घरघराना गरी असुल गर्ने भनी लेखिदिएको तमसुकको सगोलका व्यक्ति वीच कुनै अर्थ नरहने हुँदा विवादित मिति २०५०।५।१७ को लिखत अनुसार साँवा व्याज भरी भराउ गर्न नमिल्नेमा दावी अनुसार साँवासम्म वादीले प्रतिवादीवाट भरी पाउने ठहराएको शुरु कपिलवस्तु जिल्ला अदालतको मिति २०६०।१२।२ को फैसला मिलेको नदेखिंदा उल्टी भई वादी दावी पुग्न नसक्ने ठहर्छ । वादीको व्याज समेत भराई पाउँ भन्ने पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत बुटवलको मिति २०६२।२।२२ को फैसला ।
आफूले २०४७ सालमै अर्को विवाह गरी छोरा समेतको जायजन्म भएको पुष्टी भैरहेको र सो कारणबाट वादी प्रतिवादीबीच सम्बन्धविच्छेद भएपछि मिति २०५०।५।१७ मा भएको तमसुकमा वादी साहु र प्रतिवादी असामी भै रु.३०,०००।– लेनदेन भएको पुष्टी भैरहेको अवस्थामा सगोलका व्यक्तिबीच भएको लेनदेनको संज्ञा दिई वादी दावी पुग्न नसक्ने ठहर्याई भएको पुनरावेदन अदालत वुटवलको फैसला त्रुटिपूर्ण रहेको हुँदा उल्टी गरी फिराद जिकीर वमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको वादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
२. नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको सम्पूर्ण मिसिल अध्ययन गरी हेर्दा प्रतिवादीले घर खर्च गर्न भनी रु.३०,०००।– लिएकोमा सोको साँवा व्याज माग्न जाँदा दिन्न भनी ठाडो जवाफ दिएकाले साँवा व्याज समेत दिलाई भराई पाउँ भन्ने फिराद दावी रहेकोमा निज वादी मेरो श्रीमती हुँदैको अवस्थामा अर्को विवाह गरी गएकी र सम्बन्धविच्छेद मुद्दा गरी मिति २०५०।५।१८ मा वाँके जिल्ला अदालतवाट मिलापत्र भएको र हाल आएर लेनदेनमा दावी गरी दिएको झुठ्ठा मुद्दावाट फुर्सद पाउँ भन्ने प्रतिउत्तर जिकिर रहेको देखिन्छ । शुरु अदालतबाट लिखत बमोजिमको साँवासम्म वादीले प्रतिवादीवाट भराई लिन पाउने ठहर्याई भएको फैसला उपर दुबै पक्षको पुनरावेदन परेकोमा सम्बन्धविच्छेद मुद्दा पर्दा पर्दैका अवस्थामा दुवै थर स्वतन्त्र अलग अलग अंशीयार हुन् भन्न सकिने अवस्था नरहेको र त्यस्तो अवस्थामा सगोलको सम्पत्तिवाट घरघराना गरी असुल गर्ने भनी लेखिदिएको तमसुकको सगोलका व्यक्तिविच कुनै अर्थ नरहने भन्ने आधारमा शुरु फैसला उल्टी गरी भएको फैसला उपर वादीको पुनरावेदन परी प्रस्तुत मुद्दा यस इजलास समक्ष पेश हुन आएको अवस्था हुँदा पुनरावेदन जिकीर समेतलाई दृष्टिगत गरी पुनरावेदन अदालत वुटवलबाट भएको फैसला मिले नमिलेको के रहेछ भन्ने सम्बन्धमा विचार गरी निर्णय दिनुपर्ने भएको छ ।
३. निर्णयतर्फ विचार गर्दा यी वादी प्रेमकुमारी घिमिरे धनी र प्रतिवादी दिलबहादुर सेन ऋणी भै मिति २०५०।५।१७ मा घरखर्च गर्न समेत वापत भनी रु.३०,०००।– कर्जा लेनदेन भएको भन्ने व्यहोराको कपाली तमसुक फिरादसाथ पेश भएको छ भने सो लिखत वमोजिम आफूले कर्जा लिएको छैन भनी प्रतिवादीले लिखतको व्यहोरालाई अस्विकार गरेका छन् । विवादित सो लिखतलाई हेर्दा चलन अनुसारको व्याज समेत गरी २०५० साल कार्तिक मसान्तसम्ममा एकमुष्ट बुझाउने, नबुझाए ऋणीका घर घराना चल अचल श्रीसम्पत्तिबाट कानून वमोजिम असुल उपर गरी लिनु भन्ने व्यहोरा समेत उल्लेख भएको पाइन्छ । तर यी वादी प्रतिवादी पति पत्नी नाताका व्यक्ति भएका र मिति २०५०।९।१७ सम्म उनीहरुबीचको सो सम्बन्ध कायमै रहेको भन्ने कुरा प्रतिउत्तर पत्रसाथ पेश हुन आएको यिनै वादी प्रतिवादी पक्ष विपक्ष भएको सम्बन्धविच्छेद मुद्दाको मिलापत्रको प्रतिलिपिबाट देखिएको छ । मिति २०५०।५।१८ मा बाँके जिल्ला अदालतबाट भएको सो मिलापत्रमा यी वादी प्रतिवादीबीचको सम्बन्धविच्छेद हुने गरी मिलापत्र भएको देखिन्छ । त्यसरी मिति २०५०।५।१८ मा कानूनी रुपमा मिलापत्र हुनु अघिसम्म निजहरुबीचको सम्बन्ध कायमै रहेको मान्नु पर्ने हुन्छ । सम्बन्धविच्छेद मुद्दाबाट सो विवादको निरुपण नहुँदासम्म निजहरु अलग रहे वसेको वा निजहरु अलग अलग अंशियार रहेको भन्न मिल्ने अवस्था हुँदैन । जव वादी प्रतिवादी एकासगोलका अंशियार रहेको भन्ने तथ्य स्थापित हुन्छ, तव निजहरुबीच ऋण लिनु दिनु भै सगोलको सम्पत्तिबाट घरघराना गरी असुल उपर गर्ने भन्ने प्रश्न नै आउँदैन । एकासगोलमा रहे वसेको अवस्थामा सगोलकै सम्पत्तिबाट असुलउपर गर्ने गराउने विषय निहीत रहेको लिखत हुनु र नहुनु वा सो लिखत वमोजिम असुल उपर हुनु र नहुनुमा कुनै तात्विक अन्तर नहुने हुँदा त्यस्तो लिखत वमोजिम साँवा व्याज भरी भराउको दावीको पनि कुनै औचित्य देखिँदैन । प्रस्तुत विवादमा विवादको लिखत हुँदाको मितिसम्म यी वादी प्रतिवादीबीचको पति पत्नीको सम्बन्ध यथावत् कायम रहेको तथ्य स्थापित भएको अवस्था हुँदा सगोलका पति पत्नीबीच भएको लेनदेन र सो असुल उपर नभएमा सगोलकै सम्पत्तिबाट असुल उपर गर्ने शर्त राखिएको लिखतको कुनै औचित्य नरहने भन्ने आधारमा वादी दावी पुग्न नसक्ने ठहर्याएको पुनरावेदन अदालत वुटवलको मिति २०६२।२।२२ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक/वादीको पुनरावेदन जिकीर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कटृा गरी मिसिल नियमानुसार गरी बुझाईदिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.गौरी ढकाल
इति सम्बत् २०६४ साल फागुन १६ रोज ५ शुभम् ................. ।
इजलास अधिकृतः उमेश कोइराला