निर्णय नं. ७९१५ - बैनाबट्टाको शर्त वा करार वमोजिम गरिपाऊँ ।

निर्णय नं.७९१५ ने.का.प. २०६५ अङ्क १
सर्वोच्च अदालत संयुक्त इजलास
का.मु.सम्माननीय प्रधान न्यायाधीश श्री मीनवहादुर रायमाझी
माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ
संवत २०५९ सालको दे.पु.नं. ....८४४४
फैसला मितिः २०६५।१।१६।२
मुद्दाः— बैनाबट्टाको शर्त वा करार वमोजिम गरिपाऊँ ।
पुनरावेदक
प्रतिवादीः पाँचथर जिल्ला थर्पु गा.वि.स.वडा नं. ३ वस्ने चन्द्रबहादुर मावो
विरुद्ध
प्रत्यर्थी
वादीः ऐ.ऐ.बस्ने लाखबहादुर मावो
शुरु निर्णय गर्नेः
जि.न्या.मेघनाथ भट्टराई
पुनरावेदन निर्णय गर्नेः
मा.मु.न्या.राजेन्द्र कुमार भण्डारी
मा.न्या.हरिप्रसाद घिमिरे
§ बैनावट्टा बमोजिम लिखत पारित गराई दिने अधिकारक्षेत्र कुनै पनि कानूनले गाउँ विकास समितिको कार्यालयलाई नदिएकोले अनधिकृत निकायमा दिएको त्यस प्रकारको निवेदनको कुनै कानूनी महत्व नरहने ।
(प्रकरण नं.८)
§ लिखतको भाखा भित्र वाँकी रकम वुझाउन गएको भन्ने कुनै प्रमाण दिन गुजार्न सकेको नदेखिदा वाँकी रकम वुझी जग्गा पारित गरी दिन अस्विकार गरेको भए लिखत वमोजिम वाँकी रकम थैली राखी लिखत पारित गराई पाउँ भनी अदालत प्रवेश गर्नु प्रथम कर्तव्य र दायित्व हुन आउने ।
§ वैनावट्टाको लिखतको मूल प्रयोजन प्रथमतः सो लिखत वमोजिमको कार्य गर्नु गराउनुमा केन्द्रीत रहने ।
§ लिखत पारित हुन नसक्ने अवस्था उत्पन्न भएमा मात्र बैनावट्टाको रकम फिर्ता माग गर्न पाउने दोश्रो विकल्प क्रियाशील हुने हुँदा वैनावट्टा लिखतको भाखाभित्र वाँकी रकम वुझाउन गएको थिएँ भनी दावी लिने पक्षले अदालत प्रवेश गर्दा सो रकम थैली राखी वैनावट्टाको शर्त र दायित्वको पक्षमा आफू प्रतिवद्ध रहेको देखाउन सक्नु पर्ने ।
(प्रकरण नं.९)
करार वमोजिम गराई पाउँ भनी एकीन र स्पष्टताका साथ करार ऐनको मात्र दावी लिई अदालत प्रवेश नगरी वैनावट्टाको शर्त वा करार वमोजिम गरिपाऊँ भनी दोहोरो दावी लिई अदालत प्रवेश गरेको देखिएवाट सो वैनावट्टाको लिखतलाई करारको रुपमा ग्रहण नगरेको देखिदा सो लिखतको कार्यान्वयनको लागि वाँकी रकम बुझाउन जानुपर्ने प्रत्यर्थीकै पहिलो दायित्व भएको र सो गरेको थिएँ भनी देखाउनु पर्नेमा अदालतमा प्रबेश गर्दा समेत उक्त रकम थैली राखी आउन नसकेवाट लिखतको शर्तको उल्लघन पुनरावेदकवाट नभई प्रत्यर्थी वादी पक्षवाटै भएको मान्नु पर्ने ।
(प्रकरण नं.१०)
पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री भिम वन्जारा
प्रत्यर्थी वादी तर्फवाटः विद्वान अधिवक्ताद्वय शिवप्रसाद रिजाल र आइ वहादुर गुरुङ
अवलम्वित नजीरःने.का.प. २०४९, अंक १, निर्णय नं.४४४७, पृष्ठ १
फैसला
का.मु.प्र.न्या.मीनवहादुर रायमाझीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावदेन अदालत इलामको मिति २०५९।३।२६को फैसला उपर प्रतिवादी चन्द्र वहादुर मावोको यस अदालतमा पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ:–
बिपक्षीले मिति ०५७।९।३० सम्ममा मैले वाँकी रुपैया वुझाउँदा निजका नाममा दर्ता रहेका मेदीवुङ ७ (क) कि.नं.६८को क्षे.फ.रो.५–५–२–३ र ऐ.कि.नं. ६९ रो.८–१–३–० समेत जम्मा २ कित्ता जग्गा शर्तनामा कागज वमोजिम मलाई राजिनामा पास गरी दिन इन्कार गर्दै अन्यत्र बेच विखन गर्ने उद्देश्य राखी मिति ०५७।९।१६ को वैनावट्टा शर्त करारको उल्लघन गर्न पुग्नु भएकोले उक्त शर्त कागजमा उल्लेखित शर्त वमोजिमको रु.१,५०,०००।–बिपक्षीवाट मलाई दिलाई भराई फिराद गर्दा लागेको सम्पूर्ण कोर्ट फि समेत बिपक्षीबाट दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।
बिपक्षी वादी र म प्रतिवादी वीच मिति ०५७।९।१६ मा सम्झौता कागज हुंदा कि.नं. ६८ र ६९ समेतका २ कित्ता जग्गा रु.१,२५,०००।–मोल कायम गरी ०५७।९।३० गते भित्र म प्रतिवादीले राजिनामा पास गरी दिने शर्त राखी रु.७५,०००।– को बैनावट्टाको कागज गरेकोमा सो बैनावट्टाको कागज अनुसार वाँकी रकम बिपक्षीवाट लिई लिखतमा उल्लेखित कि.नं.६८,६९ को जग्गा राजिनामा पारित गर्नुपर्ने दायित्व मैले उल्लंघन गरेको भनी बिपक्षीले करार ऐन, २०५६ को दफा ८९ को साथै लेनदेन व्यवहारको ४० नं. ले दोब्बर रु.१,५०,०००।– को विगो तर्फ दावी लिनु भएको रहेछ । दुई मध्ये कुन ऐन अन्तरगत दिलाई भराई लिन पाउने हो सो कानूनको उल्लेखै नगरी निर्दिष्ट मागको अभावमा दायर भएको फिराद खारेज गरी झुठ्ठा वादी दावीवाट फार्सा गराई पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।
शर्तनामा वमोजिम रुपैयाँ वुझी पास नगरी प्रतिवादीले करार उल्लघन गरेको भएमा मात्र वादीले शर्त पुरा गराई पाउँ भन्ने दावी लिन मिल्थ्यो भने अर्को तर्फ शर्त पुरा नगरेमा शर्त वमोजिम रुपैया अड्डामा दाखिल गरी जग्गा पारित गरिपाऊँ भनी आउनु पर्नेमा सो नगरी डबल रुपैया दिलाई पाउँ भनी वादीले दावी गरेको देखिंदा वादी स्वयंले शर्त पालना गरेको भन्ने तथ्य नदेखिएवाट डवल रुपैयाँ पाउ भन्ने फिराद दावी पुग्न सक्दैन भन्ने समेत शुरु पाँचथर जिल्ला अदालतवाट मिति ०५८।१०।२४ मा भएको फैसला ।
फिरादीले दावी लिएको मिति ०५७।९।१६ को वैनावट्टाको शर्तनामा कागजलाई प्रतिवादीले स्वीकार गरी प्रतिउत्तर फिराएको र विवादीत लिखत शर्तनामाको कागज भएको कुरा शुरु फैसलामा पनि स्वीकार गरिएको अवस्थामा पनि प्रतिवादीले वादीवाट वैनावापत लिएको रु.७५०००।– को शर्तनामा वमोजिम डवल रु.१,५०,०००।– भराई दिनु पर्नेमा सो नठहराएको शुरुको फैसला कानूनन् त्रुटीपूर्ण हुंदा वदर गरी फिराद माग दावी वमोजिम गरी इन्साफ पाउँ भन्ने समेत वादीको तर्फवाट पुनरावेदन अदालत समक्ष पर्न आएको पुनरावेदन ।
यसमा वादीवाट पेश भएको लिखतलाई प्रतिवादीले स्वीकार गरेको अवस्थामा वादी दावी नपुग्ने गरी भएको शुरुको फैसला फरक पर्ने देखिंदा छलफलमा प्रत्यर्थी झिकाउनु भनी पुनरावेदन अदालतवाट भएको आदेश ।
वादी र प्रतिवादी विच मिति ०५७।९।१६ मा भएको करारनामा कागजको अस्तित्वमा विवाद नभएका,प्रतिवादीले रु.७५,०००।–तत्काल बुझी लिएको र बाँकी ५०,०००।– वादीले ०५७।९।३० सम्म बुझाउन ल्याए कि.नं. ६८ र ६९ का जग्गाहरु पास गरिदिने शर्त उल्लेख भएको । गा.वि.स.मा निवेदन गरेवाट वादीले रकम वुझाउन पहल गरेको देखिएको । स्वयं प्रतिवादीले उपस्थित हुन नगई सम्झौता उल्लंघन भएको देखिंदा बैना रकमको डवल तिर्नु पर्ने शर्त वमोजिम रु. १,५०,०००।– वादीले प्रतिवादीवाट भरी पाउने ठहर्छ । वादी दावी नपुग्ने भनी शुरुवाट भएको फैसला उल्टी हुन्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत इलामको मिति २०५९।३।२६ को फैसला ।
पुनरावेदन अदालतको उक्त फैसलामा चित्त बुझेन । पुनरावेदकको नाउँ दताको कि.नं. ६८ र ६९ को जग्गा रु.१,२५,०००।– मूल्य कायम गरी बिपक्षीलाई विक्री गर्ने सहमती भई ०५७।९।३० भित्र बाँकी रकम दिई सक्ने गरी रु. ७५,०००।– लिनुदिनु गरी ०५७।९।१६ मा बैनाबट्टाको कागज सम्म भएको हो । बिपक्षीले भाखा भित्र बाँकी रकम बुझाउन नल्याएपछि जग्गा पास गर्ने अवस्था हुँदैन । ०५७।९।३० को भाखा भएकोमा गा.वि.स.मा ०५७।।१०।१२ मा गएको र लेनदेन व्यवहार सम्बन्धी विवाद हेर्ने अधिकार गा.वि.स.कार्यालयलाई कानूनले प्रत्याभूत गरेको पनि छैन । जम्मा रु. १,२५,०००।– मूल्य वरावरको जग्गा खरिद विक्री गर्ने गरी रु.७५,०००।–वैनास्वरुप लिएकोमा बिपक्षीले नै वाँकी रकम वुझाउन नआई पारित हुन नसकेको तर्फ ध्यान नदिई प्रतिफल भन्दा वढी रु. १,५०,०००।– भराई दिने गरेको पुनरावेदन अदालतको फैसला मुलुकी ऐन अ.वं. १८४, १८५, प्रमाण ऐनको दफा ५४,लेनदेन व्यवहारको २,४० र करार ऐन २०५६को कानूनी व्यवस्था र सर्वोच्च अदालतवाट प्रतिपादित सिद्धान्त बिपरित हुँदा वदर गरी शुरु फैसला सदर गरिपाऊँ भन्ने समेत व्यहोराको पुनरावेदक प्रतिवादीको यस अदालत समक्षको पुनरावेदनपत्र ।
मिति २०५७।९।१६ को बैना करारको भाखा शर्त अनुसार ०५७।९।३० भित्र वादीले बाँकी रकम प्रतिवादीलाई वुझाउन लगेको नदेखिएको तथा गा.वि.स.मा भाखा अवधि नाघेपछि ०५७।१०।७ मा मात्र निवेदन गरेवाट निजले शर्त पालन गरेको भन्न नमिल्ने हुनाले प्रतिवादीले करारको शर्त उल्लघन गरेको आधारमा क्षतिपूर्ति समेतको रकम भराउने गरेको पुनरावेदन अदालत इलामको फैसला फरक पर्न सक्ने देखिंदा अ.वं. २०२ नं. वमोजिम छलफलको निमित्त प्रत्यर्थी झिकाउनु भन्ने समेत व्यहोराको यस अदालतको मिति २०६२।१२।६ को आदेश ।
२. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री भीम वन्जाराले पुनरावेदकले शर्त उल्लघन गरेको होइन । वादीले लिखतको भाखा भित्र बाँकी रकम बुझाउन ल्याएको अवस्था छैन । बाँकी रकम थैली राखी साधिकार निकायमा जग्गा पास गरिपाऊँ भनी गएको पनि होइन । अनधिकृत निकाय गा.वि.स.मा पनि भाखा नाघी सकेपछि मात्र वादी गएको हो । जम्मा रु. १,२५,०००।– को जग्गा लिने दिने सम्झौता भएको छ । सम्झौता उल्लघन भएको भनी प्रतिफल भन्दा बढी १,५०,०००।– भराई दिने ठहर भएको समेत पुनरावेदन फैसला त्रुटिपूर्ण हुँदा वदर गरिनु पर्दछ भन्ने समेत बहस गुर्नभयो ।
३. प्रत्यर्थी वादीका तर्फवाट रहनु भएका विद्वान अधिवक्ताद्वय श्री शिव प्रसाद रिजाल र श्री आईबहादुर गुरुङ्गले वादीले रकम वुझाउन जाँदा प्रतिवादीले नबुझेको हो । रकम बुझाई पाउँ भनी गा.वि.स.मा गएकोवाटै रकम बुझाउन प्रयत्न गरेको भन्ने स्पष्ट हुन्छ । प्रतिवादी गा.वि.स.ले वोलाउँदा समेत नगई बसेको अवस्था छ । यसवाट प्रतिवादीले वैना रकम पचाउन खोजेको स्पष्ट हुन्छ । करार ऐन, २०५६ को दफा ८२ वमोजिम करारको शर्त कुनै एक पक्षले उल्लघन गरेमा दफा ८३ वमोजिम हानी नोक्सानी वापत क्षतिपूर्ति भराउने मिल्ने कानूनी व्यवस्था छ । लिखतमा नै यो यति क्षतिपूर्ति दिने भन्ने स्पष्ट उल्लेख भएकोले विवाद गरीरहनु पर्ने अवस्था छैन । लिखत वमोजिमको क्षतिपूर्ति भराई दिने ठहराएको पुनरावेदन अदालतको फैसला सदर गरिनु पर्दछ भन्ने समेत वहस प्रस्तुत गर्नुभयो ।
४. दुवै पक्षका कानून व्यवसायीको वहस सुनी पुनरावेदन पत्र सहितको मिसिल कागजात अध्ययन गरी हेर्दा पुनरावेदन अदालतको फैसला मिलेको छ, छैन ? र पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन ? भन्ने बिषयमा निर्णय दिनुपर्ने देखियो ।
५. निर्णयतर्फ विचार गर्दा बिपक्षीका नाउँदर्ताको कि.नं. ६८ र ६९ को जग्गा रु.१,२५,०००।– मा पारित गरी लिने दिने सहमती भई रु.७५,०००।– वैना वापत बुझी ०५७।९।३० सम्ममा वाँकी रकम लिई जग्गा पारित गरि दिने शर्त राखी ०५७।९।१६ मा वैनावट्टाको लिखत भएको थियो । भाखाभित्र रकम वुझाउन जाँदा बिपक्षीले वुझी नलिएको र गा.बि.स. कार्यालयमा निवेदन दिएकोमा बिपक्षी हाजिर नभएकोले लिखतको शर्त वमोजिम वैना दिएको रकमको दोव्वर रु.१,५०,०००।– दिलाई भराई पाउँ भन्ने नै प्रत्यर्थी वादीको मुख्य फिराद माग दावी रहेको देखिन्छ । वैनावट्टाको भाखा भित्र रकम बुझाउन वादी नआएकोले जग्गा पारित गरि दिने अवस्था भएन । अतः फिराद खारेज गरिपाऊँ भन्ने समेत प्रतिउत्तर जिकिर भएको प्रस्तुत मुद्दामा शुरुले वादी दावी नपुग्ने ठहराएको फैसला उल्टी गरी वैना दिएको रु.७५,०००।–को दोब्बर रु. १,५०,०००।– वादीले प्रतिवादीवाट भराई पाउने ठहराएको पुनरावेदन अदालतको फैसला उपर चित्त नबुझाई पुनरावेदक प्रतिवादीको प्रस्तुत पुनरावेदन परेको पाइयो । वादी आफै भाखाभित्र रकम वुझाउन नआएको, भाखा नाघेपछि अनधिकृत निकाय गा.वि.स. मा गएको अवस्था हुंदा हुँदै प्रतिफल भन्दा बढी रकम भराउने गरी भएको पुनरावेदन फैसला त्रुटिपूर्ण हुँदा वदर गरिपाऊँ भन्ने समेत पुनरावेदन जिकिर भई यस अदालतवाट सोही आधार समेतमा प्रत्यर्थी झिकाउने आदेश भएको देखियो ।
६. पुनरावेदक प्रतिवादीको नाउँदर्ताको कि.नं. ६८ र ६९ को जग्गा जम्मा मूल्य रु. १,२५,०००।–मा प्रत्यर्थी वादीले पारित गरि लिने सहमती जनाई मिति ०५७।९।१६ मा वादी र प्रतिवादी विच वैनावट्टाको कागज भएको भन्ने तथ्यमा कुनै विवाद देखिएको छैन । सो लिखतमा उल्लेख भए वमोजिम रु.७५,०००।– वैनावापत पुनरावेदक प्रतिवादीले वुझी लिएको भन्ने तथ्य पनि निर्विवाद रुपमा स्थापित भईरहेको देखिन्छ । वैनावट्टाको लिखतमा उल्लेख भए वमोजिमको वाँकी ५०,०००।– ०५७।९।३० सम्ममा बुझ्ने बुझाउने बिषयमा दुवै पक्षवीच विवाद उत्पन्न भई लिखत पारित हुन सकेको देखिंदैन ।
७. पुनरावेदक प्रतिवादीले वादी रकम वुझाउन नआएको भनी जिकिर लिएकोमा प्रत्यर्थी वादीले लिखतको भाखा भित्र पुनरावेदक प्रतिवादीलाई रकम वुझाउन गएको थिएँ भन्ने कुराको कुनै पनि प्रमाण दिन गुजार्न सकेको पाइएन । मौखिक दावीका भरमा प्रत्यर्थी वादी लिखतको भाखाभित्र पुनरावेदकलाई वाँकी रकम बुझाउन गएका रहेछन् भनी अदालतले अनुमान गर्न मिल्दैन ।
८. अर्को तर्फ शुरु मिसिल संलग्न गाउँ विकास समितिको कार्यालय थर्पूको मिति ०५८।३।२७ को पत्र साथ प्राप्त भएको प्रत्यर्थीले दिएको भनेको निवेदन हेर्दा चन्द्रबहादुर मावोले ०५७।९।३० सम्म पूरा रुपैया बुझी लिखत पारित नगरी दिएकोले यस कार्यालयमा झिकाई आवश्यक कारवाही गरिपाऊँ भन्ने सम्मको व्यहोरा परेको देखिन्छ । त्यसमा पनि सो निवेदन प्रत्यर्थीले वैनावट्टा वमोजिम वाँकी रकम वुझाउने भाखा भित्र परेको भन्ने पनि नदेखिई ०५७।१०।८ मा परेको देखिन्छ भने निवेदन साथ प्रतिवादीलाई वुझाउन वाँकी रकमको थैली झुण्ड्याएको पनि देखिन आउँदैन । बैनावट्टा बमोजिम लिखत पारित गराई दिने अधिकार क्षेत्र कुनै पनि कानूनले गाउँ विकास समितिको कार्यालयलाई नदिएकोले अनधिकृत निकायमा वादीले दिएको त्यस प्रकारको निवेदनको कुनै कानूनी महत्व रहने पनि हुँदैन । उक्त निवेदनको पीठमा बिपक्षी चन्द्रबहादुर मावो उपस्थित नभएकोले सम्बन्धित ठाउँमा कानूनी कारवाहीको लागि जान जानकारी दिने भनी ०५७।१०।२३ मा गा.वि..स.वाट तोक आदेश भएपछि मिति ०५७।१०।२५ मा प्रत्यर्थी वादी प्रस्तुत मुद्दाको फिराद लिई आएको देखियो ।
९. यस प्रकार प्रत्यर्थी वादीले लिखतको भाखा भित्र पुनरावेदक प्रतिवादीलाई वाँकी रकम वुझाउन गएको भन्ने कुनै प्रमाण दिन गुजार्न सकेको देखिंदैन । प्रतिवादीले वाँकी रकम वुझी जग्गा पारित गरि दिन अस्विकार गरेको भए लिखत वमोजिम पुनरावेदकलाई बुझाउन वाँकी रकम थैली राखी लिखत पारित गराई पाउँ भनी अदालत प्रवेश गर्नु वादीको प्रथम कर्तव्य र दायित्व हुन आउँछ । वैनावट्टाको लिखतको मूल प्रयोजन प्रथमतः सो लिखत वमोजिमको कार्य गर्नु गराउनुमा केन्द्रित रहन्छ । लिखत पारित हुन नसक्ने अवस्था उत्पन्न भएमा मात्र बैनावट्टाको रकम फिर्ता माग गर्न पाउने दोश्रो विकल्प कृयाशील हुन्छ । प्रतिवादीलाई वैनावट्टा लिखतको भाखाभित्र वाँकी रकम वुझाउन गएको थिएँ भनी दावी लिने पक्षले अदालत प्रवेश गर्दा सो रकम थैली राखी वैनावट्टाको शर्त र दायित्वको पक्षमा आफू प्रतिवद्ध रहेको देखाउन सक्नु पर्दछ । अन्यथा वादीको दावीमा विश्वास गर्न सकिने ठाउँ रहन्न । यस्तै प्रकृतिको विवादको बिषयवस्तु अन्तरनिहित रहेको निवेदिका प्रतिवादी तिर्थ कुमारी राणा विरुद्ध रामशंकर श्रेष्ठको मू.स.गर्नें विनोद शंकर श्रेष्ठ बिपक्षी वादी भएको संवत २०४४ सालको दे.पु.ई.नं.९१ को करार वमोजिम लिखत पास गरिपाऊँ भन्ने मुद्दामा यस अदालतको पूर्ण इजलासवाट वादीले बैनावट्टा वमोजिम तिर्न बुझाउन बाँकी रहेको रकम थैली राखी नालेश गरेको देखिएको भन्ने समेत आधारमा दावी वमोजिम लिखत पारित हुने ठहरी मिति २०४६।१२।२ मा निर्णय भई ने.का.प. २०४९ अंक १ पृष्ठ १ नि.नं. ४४४७ मा स्पष्ट रुपमा थैली धरौट राख्नु पर्ने प्रक्रियालाई अगाडि बढाएको अवस्था छ ।
१०. प्रत्यर्थी वादीको दावी हेर्दा परस्पर विरोधाभाषपूर्ण समेत देखिएको छ । वादीको दावी एका तर्फ करार ऐन,२०५६ मा आधारित देखिन्छ भने अर्को तर्फ मुलुकी ऐन लेनदेन व्यवहारको ४० नं. समेतलाई अँगालिएको देखिन्छ । यसवाट वादीले सो लिखतलाई एकातर्फ करारको संज्ञा दिन खोजेको देखिन्छ भने अर्को तर्फ लेनदेन व्यवहार अन्तर्गतको वैनावट्टाको लिखतको रुपमा लिएको पाइन्छ । करार ऐन,२०२३ वहाल रहेको कानूनी सन्दर्भमा प्रस्तुत मुद्दामा दावी लिइएकै जस्तो तत्वहरु अन्तरनिहित रहेको वैनावट्टाको कागजलाई करारनामाको संज्ञा दिई माथि उदृत तीर्थकुमारी राणाको मुद्दामा यस अदालतको पूर्ण इजलासवाट निर्णय भएको देखिन्छ ।
११. यद्यपि प्रस्तुत मुद्दाका वादी सो मुद्दामा जस्तो करार वमोजिम गराई पाउँ भनी एकीन र स्पष्टताका साथ करार ऐनको मात्र दावी लिई अदालत प्रवेश नगरी वैनावट्टाको शत वा करार वमोजिम गरिपाऊँ भनी दोहोरो दावी लिई अदालत प्रवेश गरेको देखिएवाट वादी स्वयंले सो वैनावट्टाको लिखतलाई करारको रुपमा ग्रहण नगरेको देखियो । सो लिखतको कार्यान्वयनको लागि पुनरावेदक प्रतिवादीलाई वाँकी रकम बुझाउन जानु पर्ने प्रत्यर्थीकै पहिलो दायित्व भएको र सो गरेको थिएँ भनी देखाउनु पर्नेमा अदालतमा प्रबेश गर्दा समेत उक्त रकम थैली राखी आउन नसकेवाट लिखतको शर्तको उल्लघन पुनरावेदकवाट नभई प्रत्यर्थी वादी पक्षवाटै भएको मान्नु पर्ने देखिंदा यस अदालतवाट प्रत्यर्थी झिकाउँदा ग्रहण गरिएको आधारसंग असहमत हुनुपर्ने कुनै कारण देखिएन ।
१२. तसर्थ माथि प्रकरण प्रकरणमा उल्लिखित आधार कारण, कानूनी व्यवस्था र प्रतिपादित सिद्धान्त समेतको विश्लेषणात्मक परिप्रेक्ष्यमा प्रत्यर्थी वादी स्वयंले लिखत बमोजिमको शर्त पालना गरेको नदेखिएको, वैनावट्टाको लिखत अनुसार पुनरावेदक प्रतिवादीलाई वुझाउन वाँकी रकम फिराद साथ थैली राखी राजिनामा पारित गराई पाउँ भनी स्पष्ट र एकिन दावी लिई अदालत प्रवेश गरेको पनि देखिन नआएको हुँदा दोब्बर रकम भराईपाउँ भन्ने वादी दावी नपुग्ने ठहराएको शुरुको फैसला सदर गर्नुपर्नेमा वैना वापत लिएको रु. ७५,०००।– को दोब्बर रु. १,५०,०००।– भराई दिने ठहराएको पुनरावेदन अदालत इलामको मिति २०५९।३।२६ को फैसला त्रुटीपूर्ण देखिंदा उल्टी भई शुरु पाँचथर जिल्ला अदालतको मिति ०५८।१०।२४ को फैसला मनासिव ठहर्छ । अरुमा तपसिल वमोजिम गर्नु ।
तपसिल
पुनरावेदन अदालत इलामको फैसला उल्टी भई शुरु पाँचथर जिल्ला अदालतको फैसला मनासिव ठहरेकोले पुनरावेदन अदालतको फैसलाको तपसिल खण्ड १ वमोजिम विगो भराउने तर्फ राखेको लगत कायम नरहने हुँदा सो को जानकारी शुरु अदालतलाई गराउनु .....१
पुनरावेदन अदालतको तपसिल खण्ड २ बमोजिम प्रतिवादीवाट भराई पाउने ठहरेको कोर्ट फी रु.४९११।–पुनरावेदकले यस अदालतमा पुनरावेदन गर्दा धरौट राखेको देखिंदा सो फिर्ता पाउँ भनी कानूनका म्याद भित्र दर्खास्त दिए पुनरावेदक प्रतिवादीलाई फिर्ता दिनु .......२
पुनरावेदक प्रतिवादीले यस अदालतमा पुनरावेदन गर्दा राखेको थप कोर्ट फी रु. ६४०।५० प्रत्यर्थी वादीवाट भराई पाउँ भनी ऐनका म्याद भित्र दर्खास्त दिए केही दस्तुर नलीर्इ भराई दिनु भनी शुरु अदालतमा लेखि पठाउनु ... ३
मिसिल नियमानुसार गरी बुझाई दिनु ...........४
उक्त रायमा सहमत छु ।
न्या.शारदा श्रेष्ठ
इति सम्बत् २०६५ साल बैशाख १६ गते रोज २ शुभम् ....
इजलास अधिकृतः—नारायण सुवेदी