शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७९१७ - लिखतदर्ता वदर ।

भाग: ५० साल: २०६५ महिना: बैशाख अंक:

निर्णय नं.७९१७     ने.का.प. २०६५      अङ्क १

 

सर्वोच्च अदालत संयुक्त इजलास

माननीय न्यायाधीश श्री अनुपराज शर्मा

माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ

सम्वत २०५८ सालको दे.पु.न. ७७४७

फैसला मितिः २०६४।७।१२।२

 

मुद्दा : लिखतदर्ता वदर ।

 

पुनरावेदक

प्रतिवादीः बारा जिल्ला कवहीगोठ गा.वि.स. वडा नं. २ बस्ने गणेश पण्डित कुम्हार

विरुद्ध

प्रत्यर्थी

वादीः बारा जिल्ला मझुरिया गा.वि.स.वडा नं. ४ बस्ने वीरेन्द्र पण्डित कुम्हार समेत  

 

शुरु फैसला गर्ने :

मा.जि.न्या. विमल ढुंगेल

पुनरावेदन फैसला गर्नेः

मा.न्या.लोकेन्द्र मल्लिक

मा. न्या.हरि वहादुर वस्नेत

 

§  लेनदेन व्यवहारको महल र दान वकसको महलमा भएका कानूनी व्यवस्थाहरु पृथक पृथक प्रावधानका लागि तर्जुमा गरिएका व्यवस्था हुँदा हदम्याद नै पृथक दान वकसको महलमा उल्लेखित कृयाको हकमा पनि आकर्षित हुन्छ भन्ने हो भने दान वकसको ५ नं. मा उल्लेखित कानूनी व्यवस्थाको औचित्यता माथि प्रश्न उठ्न जाने ।

§  प्रतिवादीहरु बीच एक आपसमा दिनु लिनु गरेको क्रिया लेनदेन व्यवहारको महल अनुरुपको नभई दान वकसकै महलको १ नं. अनुरुपको हो भन्ने तथ्यमा विवाद भएको अवस्था नहुदा सोही महलमा उल्लेखित कुराहरुको हकमा लागु हुने गरी सोही महलमा नै उजुर गर्ने अवधि तोकिएकोमा सोलाई पन्छाई अर्कै प्रयोजनको लागि राखिएको महलको व्यवस्था आकर्षित हुन्छ भन्न कानूनतः नमिल्ने ।

(प्रकरण नं.१३)

§  दान वकसको महलको कानूनी व्यवस्था व्यवहार चलाउने प्रयोजनार्थ लक्षित भएको नपाइएको अवस्थामा अंशवण्डाको महलको १९ नं. को देहाय (१) को प्रावधान अनुरुप व्यवहार चलाउन विवादित जग्गा हालैको वकसपत्र गरी दिएको भनी अर्थ गर्न नमिली अंशवण्डाको महलको १९(१) प्रस्तुत विवादमा आकर्षित नहुने ।

(प्रकरण नं.१४)

 

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री जानकी प्रसाद गिरी र श्री अरुण कुमार ज्ञवाली

प्रत्यर्थी वादी तर्फवाटः

अवलम्वित नजीरः

 

फैसला

            न्या.अनूपराज शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) (ग) बमोजिम दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :-

            २.    विपक्षी ईनरदेवी पण्डितको म फिरादी रमुनीदेवी पत्नी र हामी अन्य फिरादी छोरा हौं । विपक्षी ईनर पण्डितले हामीलाई खान लाउन नदिई कुटपिट गरी २०५० साल मार्ग महिनामा घरबाट निकाला गरी दिएको हुँदा माईती तथा मावलीमा वसी आएका हौं । लोग्ने तथा वावु ईनरदेव पण्डितले आफ्नो नाउँ दर्ताको जि. बारा गा.वि.स.कवहीगोठ वडा नं. २  कि.नं. २८५ को ज.वि. ०१० बाट हाम्रो अंश हक हरण गर्न दक्षिण तर्फवाट ०८ जग्गा हक छोडी मिति २०५५।५।३० गते विपक्षी गणेश पण्डितलाई हालैको वकसपत्र लिखत पास गरी दिएको र कि.का. गराई कि.नं. ३१० को ०८ जग्गा गणेश पण्डितले आफ्नो नाउँमा दर्ता समेत गराई लिएको कुरा गाउँ घरमा सुनी २०५६।५।३२ गते प्रमाणित नक्कल लिई थाहा भएको हुँदा फिराद पत्र गर्न आएका छौ । हामीहरुको अंश लाग्ने जग्गा हामीहरु सगोलको अंशियार हकवालालाई थाहा जानकारी नदिई हाम्रो मन्जुरीको लिखत नगराई साक्षी सम्म नबसाई गुपचुपै लिखत पास गरी गराई लिए दिएको ज.वि. ०८ मध्ये ५ खण्डको ४ खण्ड हाम्रो अंश हक जति ०६।। को लिखत र दर्ता समेत बदर गरी हाम्रो नाउँमा सँयुक्त दर्ता गराई पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र ।

            ३.    प्र. ईनरदेव पण्डितले रिझ वापत मलाई आफ्नो नाउँ दर्ताको आफु खुस गर्न पाउने जग्गा नै वकस गरी मिति २०५५।५।३० मा मा.पो.का.बाराबाट हालैको वकसपत्र लिखत पारित गरी दिएको हुँदा वादी दावी बमोजिम उक्त लिखत दर्ता समेत बदर हुनुपर्ने होईन । प्रतिवादी ईनरदेव पण्डित घरको मुख्य व्यक्ति रहे भएको कुरा फिराद लेखबाट प्रष्ट छ । घरका मुख्य व्यक्तिले अचल सम्पत्तिमा आधी सम्पत्ति आफुखुस गर्न पाउने कसैको मन्जुरी लिन नपर्ने कुरा अंशवण्डाको १९(१) मा किटानी कानूनी व्यवस्था रहे भएकोमा ईनरदेवले आफ्नो नाउँ दर्ताको कि.नं. २८५ को ज.वि. ०१८ मध्ये आधी जग्गा भन्दा कम जग्गा नै मलाई वकसपत्र गरी दिनु भएको तथा कि.नं. २८५ को जग्गा मध्ये ज.वि. ०१० लगायत अरु जग्गाहरु पनि ईनरदेवको नाउँमा दर्ता रहेको हुँदा प्रस्तुत फिराद अंशवण्डाको १९(१) नं. प्रतिकूल हुँदा खारेज भागी छ भन्ने समेत व्यहोराको प्रतिवादी गणेश पण्डित कुम्हारको प्रतिउत्तर पत्र ।

            ४.    यी वादीहरु मेरो पत्नी तथा छोराहरु हुन भन्ने कुरामा कुनै विवाद छैन । वादीहरु २०५० साल देखि म संग रिसाई माइति तथा मावलीमा गई बसेको हुँदा निजहरुको अंश लाग्ने सगोलको सम्पत्ति जग्गा फिराद दावी वमोजिम ०१८ मध्ये ०८ जग्गा हालैको वकसपत्र लिखत प्र. गणेश पण्डितलाई २०५५।५।३० गते पारित गरी दिएको हुँ । सो जग्गा वादीहरुको समेत अंश हक लाग्ने जग्गा हो । वादीहरु मसँग रीस गरी माईती मावलीमा गई बसेको हुँनाले निजहरुलाई अंश दिने मेरो ईच्छा नभएकोले सोही क्रममा उक्त जग्गा वकस लिखत पास गरी दिएको हुँ । अझै पनि वादीहरु म लोग्ने पितालाई छोडी अलग माईती मावलीमा नै बस्ने गरेकाले अरु पनि मेरा नामको जग्गा समेत मैले हिनामिना गर्नेनै छु उक्त लिखत दर्ता वदर नहुने गरी वादीको झुठ्ठा दावीवाट मलाई फुर्सद गरी पाऊँ भन्ने समेत व्यहोरको प्रतिवादी ईनरदेव पण्डित कुम्हारको प्रतिउत्तर पत्र ।

            ५.    सगोलको अंशियारले आफुखुस गर्न पाउने वाहेक अरुमा सगोलका उमेर पुगेका अरु अंशियारको मन्जुरी लिई व्यवहार गर्न पाउने र सो मन्जुरी नभएकोमा हक छाडेको मितिले १ वर्ष भित्रमा थाहा पाएको ३५ दिन भित्र आफ्नो अंश भाग वदर गराई लिन पाउने लेनदेनको १० नं. मा व्यवस्था भए अनुरुप यो फिराद आएको पाईन्छ । तर लिखत २०५५।५।३० मा भएको वादीहरुलाई सोही मितिमा प्रतिवादीले भोग गर्दा थाहा पाएको फिराद लेखवाटै देखिन्छ र फिराद २०५६।७।१४ मा पर्न आएको अवस्था छ । यसरी वादीको फिराद हदम्याद भित्र दायर हुन आएको देखिन आएन । त्यसैले वादी दावी अ.वं. १८० नं.ले खारेज हुने ठहर्छ भन्ने शुरु वारा जिल्ला अदालतवाट २०५६।११।१८ मा भएको फैसला ।

            ६.    शुरु वारा जिल्ला अदालतवाट भएको फैसलामा मेरो चित्त वुझेन । वादी दावी बमोजिम २०५५।५।३० को लिखत मिति २०५६।५।३२ मा नक्कल लिई प्रस्तुत मुद्दा हदम्याद भित्र दायर गरेकोमा शुरु जिल्ला अदालतले लेनदेन व्यवहारको १० नं. बमोजिमको हदम्याद लगाई खारेज गरेको मिलेन । शुरु फैसला खारेज गरी वादी दावी बमोजिम न्याय पाऊँ भन्ने ब्यहोराको वादीको तर्फवाट पुनरावेदन अदालतमा दायर भएको पुनरावेदन पत्र ।

            ७.    यसमा पुनरावेदक वादीहरुको समेत अंश हक लाग्ने जग्गा निजहरुको मन्जुरी नलिई प्रतिवादी ईनरदेव पण्डितले गणेश पण्डितलाई मिति २०५५।५।३० मा वकसपत्र गरी दिएको सम्वन्धमा दान वकसको ५ नं. ले निर्दिष्ट गरेको हदम्याद दुई वर्ष भित्रै मिति २०५६।७।१४ मा फिराद दायर गरेको देखिएको अवस्थामा लेनदेन व्यवहारको १० नं. को हदम्याद नाघी फिराद दायर गरेको भन्ने आधार लिर्इ वादी दावी खारेज गर्ने गरी बारा जिल्ला अदालतबाट भएको फैसला त्रुटिपूर्ण भै फरक पर्न सक्ने देखिँदा छलफलको निमित्त अ.व. २०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि नियम बमोजिम पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।

            ८.    प्रस्तुत विवादमा आकर्षित हुनै नसक्ने लेनदेन ब्यवहारको १० नं. को हदम्यादको आधार लिई वादी दावी खारेज हुने गरेको शुरु वारा जिल्ला अदालतको मिति २०५६।११।१८ को फैसला उल्टी भै वादी दावी बमोजिम वादीहरुको अंश हक जति ५ खण्डको ४ खण्डको लिखत र दर्ता समेत बदर भै सो वादीहरुको नाउँमा दर्ता समेत हुने ठहर्छ भन्ने पुनरावेदन अदालत हेटौंडाको मिति २०५८।५।१२ को फैसला ।

            ९.    अचल सम्पत्ति वेच विखन गर्दा वा कुनै किसिमले हक छाडी दिंदा लेनदेन व्यवहारको १० नं. आकर्षित नभई दानवकसको ५ नं. आकर्षित हुने भन्ने आधारमा लेनदेन व्यवहारको १० नं. अन्तर्गतको हदम्याद नाघेको नालिस तथा लिखतवाट ईन्साफ गर्न मिल्दैन । विपक्षी विरेन्द्र पण्डित १९ वर्ष, देवआली पण्डित १७ वर्ष र रकेश पण्डित ६ वर्ष भन्ने उमेर देखाई नालिस गरेकोमा २१ वर्ष उमेर नपुगेकाका व्यक्तिको लिखत गर्दा मन्जुरी लिन नपर्ने भन्ने अंशवण्डाको १९(१) मा र कानूनी व्यवस्था र नजिर छ । नजिर र कानून विपरीत गरेको पुनरावेदन अदालतको फैसला बदर गरी शुरु जिल्ला अदालतको फैसला सदर कायम गरी पाऊँ भन्ने प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।

            १०.    यसमा विवादित कि.नं. २८५ को ज.वि. ०१८ मध्ये ज.वि. ०८ मात्र वकस गरेको देखियो र सो लिखत हुँदा रमुनी देवी वाहेक अन्य वादीहरु २१ वर्ष उमेर नपुगेको देखिएको अवस्थामा अंशवण्डाको १९ नं. को देहाय (१) को कानूनी व्यवस्था विपरीत ५ भागको ४ भाग लिखत वदर गर्ने गरी भएको पुनरावेदन अदालत हेटौडाको फैसला फरक पर्न सक्ने देखिएकोले अ.वं. २०२ नं. अनुसार प्रत्यर्थी वादीहरुलाई झिकाई आएपछि पेश गर्नु भन्ने यस अदालतको २०६२।१०।९ को आदेश ।

११.    नियम वमोजिम पेशी सूचीमा चढी आज यस ईजलास समक्ष पेश भएको प्रस्तुत मुद्दासंग सम्वन्धित सम्पूर्ण मिसिलहरु अध्ययन गरी पुनरावेदक तर्फवाट उपस्थित विद्वान अधिवक्ताद्वय श्री जानकी प्रसाद गिरी र श्री अरुण कुमार ज्ञवालीले वादी मध्येकी रमुनी देवी उमेर पुगेकी र अरु उमेर नपुगेका हुँदा निजहरु समेतले वादीलाई छाडी माईती मावली गएपछि एक्लो व्यक्ति प्रतिवादी ईनरदेव विरामी पर्दा हेरचाह, रेखदेख औषधोउपचार ईत्यादी गरी व्यवहारमा खडकिएको समस्या समाधान गर्न सहयोग गरे वापत आधा भन्दा कमै जग्गा वकस गरि दिएको हो, वकसपत्रमा अंशवण्डाको १९(१) को प्रावधान पनि आकर्षित हुन्छ, आकर्षित नहुने भन्ने कुनै कानून पनि छैन, लिखतमा वकस भन्ने शव्द परे पनि औषधोपचार लगायतको व्यवहार चलाउन दिएको अवस्था हुँदा लेनदेन व्यवहारको १० नं. को आधारमा फिराद खारेज गर्ने गरेको शुरुको इन्साफ मनासिव हुँदा उक्त फैसला उल्टी हुने ठह¥याएको पुनरावेदन अदालतको फैसला उल्टी हुनुपर्छ भनी गर्नु भएको वहस समेत सुनियो ।

१२.   ईन्साफ तर्फ विचार गर्दा विपक्षी पति पिता ईनरदेव पण्डित कुम्हारले २०५० साल मार्ग महिना देखि खान लाउन नदिई घरबाट निकाला गरी हाम्रो समेत अंश हक लाग्ने जि.बारा कवहीगोठ गा.वि.स.वडा नं. २ कि.नं. २८५ को ०१८ जग्गा बाट दक्षिण तर्फबाट ०८ जग्गा हक छोडी २०५५।५।३० गते विपक्षी गणेश पण्डित कुम्हारलाई हालैको वकसपत्र लिखत पास गरी दिएकाले कि.का. गराई कायम भएको कि.नं. ३१० को ०८ मध्ये ५ खण्डको ४ खण्डको ०६।। को लिखत र दर्ता समेत बदर गरी हाम्रो नाउँमा सँयुक्त दर्ता गराई पाऊँ भन्ने फिराद दावी देखिन्छ । पत्नी छोराहरु रिसाई माईती मावलीमा गई कुनै वास्ता नगरेकाले फिराद दावी बमोजिमको जग्गा गणेश पण्डित कुम्हारलाई हालैको वकसपत्र लिखत पारित गरी दिएको हो । माईती मावलीमा वसेकोलाई मन्जुरी लिई साक्षी राख्न उचित सम्झिन, निजहरुलाई अंश दिने ईच्छा नभएकोले वकसपत्र लिखत पास गरि दिएको र अरु जग्गा समेत हिनामिना गर्ने नै छु भनी प्रतिवादी इनरदेवले प्रत्तिउत्तर फिराएको अवस्था हुँदा आफ्नै स्वास्नी छोराछोरी प्रति वैरभाव राखी जग्गा हालैको वकसपत्र पास गरी दिएको भन्ने देखिन आयो । प्रतिवादी गणेश पण्डित कुम्हारले अंशवण्डाको १९(१) नं. बमोजिम घरको मुख्यले अचलमा आधी सम्पत्ति आफ खुस गर्न पाउने र विरेन्द्र, देयाली र राकेशको उमेर २१ वर्ष भन्दा कम हुँदा निजहरुको मन्जुरी लिई रहन नपर्ने भनी प्रतिउत्तर पत्रमा उल्लेख गरेकोमा शुरु अदालतले लेनदेन व्यवहारको १० नं. वमोजिम उजुर गर्ने म्याद नाघी फिराद परेको भन्ने अवस्थामा खारेज गरेको स्थिति छ भने पुनरावेदन अदालतले लेनदेन व्यवहारको १० नं. नभई दान वकसको ५ नं. आकर्षित हुने भनी वादी दावी पुग्ने ठहर गरेको अवस्था छ ।

१३.   वादीहरु प्रतिवादी मध्येका ईनरदेवका पत्नी तथा छोराहरु भई निजका अंशियार नाताका भन्ने कुरामा कुनै विवाद छैन । अंशियारको नाताले दान वकसको ५ नं. को म्याद समाई फिराद गरेको देखिन्छ । उक्त नं. को कानूनी व्यवस्था हेर्दा आफुले दान वकस पाएको कुरामा आफ्नो हक पुगको मितिले र दिन नहुने दान वकस दिएकोमा पाउनेको हक पुगी भोग चलन गरेको मितिले २ वर्ष भित्र नालेस नदिए लाग्न सक्दैनभन्ने उल्लेख भएको पाईन्छ । विवादित जग्गा २०५५।५।३० मा पारित गरी दिएको भन्ने देखिएको र फिराद पत्र २०५६।७।१४ मा दर्ता भएको अवस्था हुँदा दान वकसको महलको हदम्याद भित्रै नालिस परेको पाईयो । पुनरावेदन पत्रमा दान वकसको ५ नं. प्रस्तुत मुद्दामा आकर्षित नभै लेनदेन व्यवहारको १० नं. को हदम्याद आकर्षित हुने भन्ने समेतको जिकिर लिएको अवस्था छ । लेनदेन व्यवहारको महल र दान वकसको महलमा भएका कानूनी व्यवस्थाहरु पृथक पृथक प्रावधानका लागि तर्जुमा गरिएका व्यवस्था हुन् । लेनदेन व्यवहारको महलको १० नं. मा अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति बेचबिखन गर्दा वा कुनै किसिमले हक छाडी दिंदा ऐनले आफुखुसी गर्न पाउने अरुको मन्जुरी लिन नपर्नेमा बाहेक अरुमा एकाघरसंगका अशियार सवै साक्षी बसेको वा निजहरुले मन्जुरीको लिखत गरि दिएको भए मात्र पक्का ठहर्छ । साक्षी पनि नवसेको र मञ्जुरीको लिखत पनि नभए मन्जुर नहुनले रजिष्ट्रेशन भएको मितिले एक वर्ष सम्ममा थाहा पाएको ३५ दिन भित्र उजुर गर्‍यो र निजको मन्जुरी ठहरिएन भने निजको हक जति सो सम्पत्ति निजलाई फिर्ता गराई दिनु पर्छ...भन्ने उल्लेख भई उक्त महल अन्तर्गत गरिएको अचल सम्पत्ति बेचबिखन वा हक छाडी दिंदाको अवस्थामा मन्जुर नहुने अंशियारले उजुर गर्न पाउने अवधि तोकिएको भन्ने देखिन्छ । यही महल अन्तर्गतको उक्त हदम्याद नै पृथक दान वकसको महलमा उल्लेखित क्रियाको हकमा पनि आकर्षित हुन्छ भन्ने हो भने दान वकसको ५ नं. मा उल्लेखित कानूनी व्यवस्थाको औचित्यता माथि प्रश्न उठ्न जाने हुन्छ । प्रतिवादीहरु बीच एक आपसमा दिनु लिनु गरेको क्रिया लेनदेन व्यवहारको महल अनुरुपको नभई दान वकसकै महलको १ नं. अनुरुपको हो भन्ने तथ्यमा विवाद भएको अवस्था नहुँदा सोही महलमा उल्लेखित कुराहरुको हकमा लागु हुने गरी सोही महलमा नै उजुर गर्ने अवधि तोकिएकोमा सोलाई पन्छाई अर्कै प्रयोजनको लागि राखिएको महलको व्यवस्था आकर्षित हुन्छ भन्न कानूनतः मिल्ने देखिएन ।

१४.   पुनरावेदनमा मुलुकी ऐन अंशवण्डाको १९(१) को प्रसंग उठाईएको देखिन्छ । सो सम्वन्धी कानूनी व्यवस्था हेर्दा, “पिता पूर्खाको पालाको चल अचल गैह्र सम्पत्तिको हकमा चलमा सवै र अचलमा आधि सम्म व्यवहार चलाउनलाई स्वास्नी छोरा, अविवाहित छोरी वा विधवा वुहारीको मन्जुरी नभए पनि आफुखुस गर्न पाउँछ । अचलमा आधी भन्दा बढी भने व्यवहार चलाउनै परे पनि एक्काईस वर्ष नाघेका स्वास्नी छोरा अविवाहित छोरी र विधवा बुहारीहरुको मन्जुरी लिएर मात्र खर्च गर्न हुन्छ । मन्जुरी नलिई गरेको सदर हुदैनभन्ने उल्लेख भएको पाईन्छ । जस अनुसार विवादित जग्गा आधा भन्दा कमै भएको र ३ जना वादीहरु २१ वर्ष भन्दा कम उमेरका हुँदा घरको मुख्यले व्यवहार चलाएको भन्ने तर्फ इंगित गर्दै जिकिर लिएको अवस्था छ । अंशवण्डाको १९ को देहाय (१) को उल्लेखित प्रावधान व्यवहार चलाउन भन्ने तर्फ लक्षित भएको पाईन्छ । विवादित जग्गा हालै देखिको वकसपत्र गरि दिएको र त्यसमा पनि वादीहरुका पति पिताले वादीहरुलाई अंशै दिने ईच्छा नभएको र अन्य आफ्नो नाउँका जग्गाहरु समेत हिनामिना गर्ने भनी प्रतिउत्तर फिराएको साथै दान वकसको महलको कानूनी व्यवस्था व्यवहार चलाउने प्रयोजनार्थ लक्षित भएको समेत नपाईएको अवस्थामा अंशवण्डाको महलको १९ नं. को देहाय (१) को प्रावधान अनुरुप व्यवहार चलाउन विवादित जग्गा हालैको वकसपत्र गरी दिएको भनी अर्थ गर्न नमिली अंशवण्डाको महलको १९(१) प्रस्तुत विवादमा आकर्षित हुने देखिएन । मुलुकी ऐन दान वसको १ नं. बमोजिम प्रतिवादी ईनरदेव पण्डित कुम्हारले विवादित जग्गा प्रतिवादी गणेश पण्डित कुम्हारलाई हालैको वकसपत्र पारित गरी दिंदा हक पुग्ने अंशियार वादीहरुको मन्जुरी लिनु पर्ने वा निजहरुलाई साक्षी राखेको हुनुपर्नेमा मञ्जुरी नलिएको र साक्षी समेत नराखेको अवस्था हुँदा वादी दावी खारेज गर्ने गरेको बारा जिल्ला अदालतको २०५६।११।१८ को फैसला उल्टी गरी प्रतिवादी ईनरदेवको हक लाग्ने बाहेक पारित वकसपत्र लिखतको जग्गाको ५ भागको ४ भाग जतिको लिखत र सो लिखतको आधारमा भएको दर्ता समेत बदर गरी वादीहरुको नाउँमा दर्ता हुने ठहराएको पुनरावेदन अदालत हेटौंडाको मिति २०५८।५।१२ को फैसला मिलेकै देखिँदा सदर हुन्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । पुनरावेदन अदालतको फैसलाको तपसिल खण्डमा उल्लेख भए बमोजिम वादीहरुलाई  प्रतिवादीबाट भराई दिनु पर्ने कोर्ट फि रु. ३४५।यस अदालतमा मिति २०५८।८।२० मा र.नं. ४९००० मा आम्दानी बाँधिएको देखिंदा उक्त धरौटी कोर्ट फि पाऊँ भनी वादीहरुको निवेदन परेमा नियमानुसार दिनु भनी लेखा शाखामा लेखी पठाउनु । दायरीको लगत काटी मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या.रामप्रसाद श्रेष्ठ

 

इति सम्वत् २०६४ साल कार्तिक १२ गते रोज २ शुभम् –––––––––––––

फैसला तयार गर्नेः दीपक कुमार दाहाल

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु