निर्णय नं. ४१२४ - उत्प्रेषण

निर्णय नं. ४१२४ ने.का.प. २०४७ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
सम्वत् २०४६ सालको रि.नं. ७९८
आदेश भएको मिति : २०४७।१।१४।१ मा
निवेदक : एभरेष्ट पेपर मिल्स (प्रा.) लि.को तर्फबाट संचालक रमेशप्रसाद शराफ
विरुद्ध
विपक्षी : जलेश्वर भन्सार कार्यालयसमेत
विषय : उत्प्रेषण
(१) निवेदकले आयात गरेको पल्प संकेत नं. ४७.०१ अन्तर्गत भन्सार महसूल माफी दर्शाई माल छाडी सकेपछि पुनः पल्प संकेत नं. ४८.०१ ज (५) मा पर्ने भनी गरेको भंसार विभागको निर्णय र सोको आधारमा छूट हुन गएको भन्सार महसूल दाखिल गर्न ल्याउनु भनी भंसार कार्यालयबाट लेखेको पत्र अनाधिकृत एवं त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ।
(प्रकरण नं. १६)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हा
विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइराला
आदेश
न्या.बब्बरप्रसाद सिंह
१. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार छ ।
२. यस उद्योगले कागज बनाउनका लागि कच्चा पदार्थ पल्प विदेशबाट झिकाउने गरेको प्रस्तुत वर्ष पनि भन्सार दरबन्दीको संकेत नं. ४७.०१ अन्तर्गत पल्प आयात गर्न वाणिज्य विभागबाट १९ अप्रिल १९८८ मा नं. १२२८३।०४४ को इजाजतपत्र पाई २०६.९२८ मे. टन पल्प (लिवच्ड बगास पल्प) १४३७ वेल्श (पोका) चीनबाट झिकाई जलेश्वर भन्सारमा आउँदा २०४५।१०।५ मा प्रज्ञापनपत्र भरेको ।
३. जलेश्वर भन्सार कार्यालय भन्सार विभागको २०४५।९।६ को मूल्य निर्धारण आदेशानुसार बील अनुसार मूल्य निर्धारण गरी उक्त बगास पल्प भन्सार दरबन्दीको समेत नं. ४७.०१ अन्तर्गतको हुँदा सोही उल्लेख गरी महसूल माफी दर्शाई आयात गर्न दिएकोमा उक्त कच्चा पदार्थबाट कागज तयार भई बिक्री समेत हुँदै गएको करीब ४, ५ महीनापछि भन्सार दरबन्दी ४८.०१ लाग्ने भनी भन्सार विभागले सूचना गरी भन्सार कार्यालय जलेश्वरले २०४६।३।१६ मा छूट रकम १५% ले रु. ३,५७,१२१।५२ दाखिला गर्न ल्याउनु भनी आदेश गरेकोमा उद्योगले आयातित कच्चा पदार्थमा भन्सार छूट हुने भनी जवाफ दिएको ।
४. यस उद्योगले भन्सार ऐन, २०१९ को दफा ५ को प्रकृया पूरा गरी कच्चा पदार्थ आयात गरेकोमा अधिकारप्राप्त अधिकारीले संकेत नं. ४७.०१ अन्तर्गत पर्ने भनी भन्सार छूट गरी माल छाडेकोमा अर्को दरबन्दी ४८.०१ ले १५% भन्सार महसूल असूल गर्न निर्देशन दिने अधिकार भन्सार विभागलाई नभएको र अनाधिकृत निर्देशन अनुसार निवेदकबाट छूट रकम भनी माग गर्ने विपक्षी भन्सार कार्यालयलाई अधिकार छैन । अघि पनि बगास पल्प आयात गर्दा ४७.०१ अन्तर्गत भन्सार महसूल माफी पाई आएको थियो ।
५. माल पठाउने ओकाई इन्टरप्राइजेज लि.को इन्भ्वाइसमा पल्प (ल्विच्ड बगास पल्प) इण्डष्ट्रियल र मैटेरियल भनी उल्लेख भएको रनोमेनकलेचरको भोलुम २ पेज नं. ६६४ मा पनि पल्प ४७.०१(२) मा परेको देखिन्छ । विवादित ४८.०१ मा विभिन्न तयारी कागज र कागज बोर्डको लागि बनेको दरबन्दी हो ।
६. अतएवं भन्सार विभागको २०४६।२।८ र २०४६।६।१२ को गैरकानुनी निर्णय बमोजिम भन्सार अधिकृत, जलेश्वरले छूट भन्सार रकम भनी रु. ३,५७,१२१।५२ दाखिल गर्न माग गरी संविधान प्रदत्त हकाधिकारमा आघात पुगेको हुँदा उत्प्रेषण मिश्रित परमादेश समेतको आदेश जारी गरी विपक्षीहरुको निर्णय र आदेश बदर गरी गैरकानुनी छूट रकम असूल नगर्नु भनी आदेश गरी पाउँ भन्ने समेत रिटनिवेदन जिकिर ।
७. यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको आदेश ।
८. भन्सार दरबन्दीको संकेत नम्बरमा द्विविधा परेकोमा सो को वर्गीकरण गर्ने अधिकार भन्सार विभागलाई भए अनुरुप उक्त विभागबाट २०४६।२।४ को निर्णयानुसार उक्त गवास पल्पलाई संकेत नं. ४८.०१ ज(५) मा वर्गीकरण गरेकोले उक्त संकेत नं. अनुसार १५% नं. महसूल माग गरेको हो वगास पल्प बोर्ड तयारी कागज नै भएकोले ४८.०१ ज(५) मा वर्गीकरण गरिएको हुनुपर्छ भन्ने समेत व्यहोराको जलेश्वर भन्सार कार्यालयको लिखितजवाफ ।
९. पल्प बोर्ड पेपरलाई जलेश्वर भन्सार कार्यालयले भन्सार महसूल दरबन्दीको संकेत नं. ४७.०१ बाट माफिमा छाडेकोमा कारवाही चल्दा पल्प बोर्डलाई Custom Co-operation nomecloture को Explanation Note को Chapter 48 मा पर्ने व्याख्या गरे अनुसार विवाद उत्पन्न नहोस् भन्नको लागि स्पष्ट गर्न भन्सार ऐन, २०१९ को संशोधन सहित दफा ४४(क) बमोजिम संकेत नं. ४८.०१ ज (५) मा वर्गीकरण गरी २०३७।११।१३ मा निर्णय भई २०३७।११।१९ मा परिपत्र भई गएकोमा रिट निवेदकले सो लाई बेवास्ता गरी भन्सार माफी भन्ने दावी लिएकोमा घरेलु तथा ग्रामीण उद्योग विभागमा नमूना समेत पठाउँदा उखुको खोस्टाबाट बनेको व्यहोरा २०४६।१।२७ को निर्णयानुसार अनुरोध छ भन्ने जवाफ प्राप्त भएको, निवेदकले आयात गरेको वगास पल्प नभई त्यसबाट तयार गरिएको पल्प बोर्ड पेपर नै हुँदा नियमानुसार संकेत नं. ४८.०१ ज (५) अनुसार भन्सार महसूल लिन २०४६।६।१२ मा पुनः निर्णय भई २०४६।६।१३ मा निर्देशन दिएको कानुन अनुरुप नै छ भृकुटी कागज कारखानाले पनि पल्प बोर्ड भएको जानकारी दिएकोले नियम बमोजिम नै ४८–०१ ज (५) बमोजिम छूट रकम असूल गर्न निर्देशन दिएकोले रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत भन्सार विभागको लिखितजवाफ ।
१०. नियम बमोजिम पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा रिट निवेदक तर्फका विद्वान अधिवक्ता श्री सुशिलकुमार सिन्हाले निवेदकबाट आयातित बगास पल्प भन्सार दरबन्दीको संकेत नं. ४७.०१ अन्तर्गत पर्ने भनी छोडेपछि पुनः ४८.०१ मा पर्छ भनी भन्सार माग गर्न मिल्दैन । पशुपति सोप इण्डष्ट्रिज प्रा.(लि.) विरुद्ध विराटनगर भन्सार कार्यालय भएको २०४५ सालको रिट नं. १२०६ मा पनि एकपटक एउटा संकेत नम्बर अन्तर्गतको वस्तु भनी भन्सार महसूल असूल गरी माल छाडी सकेकोमा पुनः अर्को संकेत नम्बर अन्तर्गतको माल वस्तु भनी स्पष्ट आधार नदेखाई थप भन्सार महसूल असूल गर्न पाउने अधिकार भन्सार ऐनले दिएको मान्न नमिल्ने भन्ने समेत मिति २०४६।११।१४।१ मा सिद्धान्त प्रतिपादित भइरहेको छ । प्राप्त इजाजतपत्र अनुसार नै निवेदकले पल्प आयात गरेको हो यदि विवरण झुठ्ठा भए सजायँ गर्नु पर्ने थियो सो गरेको छैन तसर्थ संकेत नं. ४७.०१ अन्तर्गत पर्ने भनी महसूल माफी दर्शाई छोडेको कच्चा पदार्थमा संकेत ४८.०१ ज (५) बमोजिम १५% महसूल माग गरेको कानुन विपरीत छ भन्ने तथा विपक्षी तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइरालाले निवेदकले इजाजतपत्र लिएको र प्रज्ञापनपत्र भरेको ठीक छ तर निवेदकले आयात गरेको वस्तु वगास पल्प नभई त्यसबाट तयार गरिएको पल्प बोर्ड पेपर हो प्रस्तुत नजीरमा स्पष्ट आधार नदेखाई थप भन्सार महसूल लिन नपाउने भन्ने छ महसूल नै लिन नपाउने भन्ने नहुँदा आयातित वस्तु वगास पल्प नभई पल्प बोर्ड (तयारी) हुँदा नियमानुसार संकेत नं. ४८.०१ ज (५) बमोजिम महसूल लगाएको कानुन अनुरुप नै छ भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नु भयो ।
११. यसमा रिट निवेदकले पल्प झिकाउने इजाजतपत्र प्राप्त गरी सो अनुसार पल्प झिकाई प्रज्ञापनपत्र भरी विपक्षी भन्सार कार्यालय जलेश्वरले उक्त माल भन्सार दरबन्दीको संकेत नं. ४७.०१ मा पर्ने भई महसूल नापी गरेबाट इजाजत दिए अनुसार पैठारी गरे भन्ने कुरामा विवाद देखिन्न पछि आएर झिकाइएको उक्त पल्प संकेत नं. ४७.०१ भित्र पर्दैन संकेत नं. ४८.०१ ज (५) भित्र पर्ने हुँदा १५% ले भन्सार महसूल लिनु पर्नेमा सो छूट भएकोले रु. ३,५७,१२१।५२ भन्सार महसूल बुझाउन ल्याउनु भनी मिति २०४६।३।१६ मा विपक्षी भन्सार कार्यालयले यी रिट निवेदकलाई पत्र पठाएको कानुन प्रतिकूल छ भन्ने समेत निवेदक जिकिर देखिन्छ ।
१२. निवेदकलाई पल्प झिकाउने इजाजतपत्र प्राप्त भई झिकाएको पल्प प्रज्ञापनपत्र भर्दैको अवस्थामा इजाजतपत्र अनुसारको नभए विपक्षी भन्सार कार्यालयले उसै मौका पैठारी गर्न मनाही गर्न सक्ने वा इजाजतपत्र भन्दा फरक पारी झिकाएको भए कानुनले लाग्ने महसूल लिई ऐन कानुनले जरिवाना लिनु पर्ने भए सो समेत लिनु पर्नेमा सो केही नगरी इजाजतपत्र अनुसार झिकाएको पल्प प्रज्ञापनपत्रमा भरेको मिलेको भनी मिति २०४५।१०।५ मा संकेत नं. ४७.०१ उल्लेख गरी भन्सार महसूल माफी दर्शाई बगास पल्प आयात गर्न दिएकोमा पछि मिति २०४६।३।१६ सो भन्सार माफीमा छाडेको मिलेन त्यस्तोमा भन्सार दरबन्दी संकेत नं. ४८.०१ ज (५) बमोजिम १५% भन्सार महसूल बुझाउनु ल्याउनु भनी लेखेको पाइन्छ ।
१३. उक्त पत्रमा यो यति कारणले छूट हुन गएको रकम दाखिल गर्न ल्याउनु भनी स्पष्ट आधार उल्लेख गरेको पाइँदैन केवल संकेत नं. ४८.०१ ज (५) बाट १५% लाग्ने भनी उल्लेख गरेको देखिन्छ ।
१४. बहसको दौरान विपक्षी कार्यालयतर्फका विद्वान सहन्यायाधिवक्ताले उक्त झिकाइएको माल बगास पल्प नभई पल्प बोर्ड हो भनी जिकिर लिनु भएकोमा सो फिनिस्ड गुड्स हो कि भन्नलाई तयारी पोशाक तथा हाते कागज आयोजना त्रिपुरेश्वरको मिति २०४६।४।१३ को पत्रबाट “परीक्षणमा गरिएको उक्त पल्प सिट Bagassa (बगास) बाट बनिएको हो र सो कागज बनाउने कच्चा पदार्थको रुपमा पनि प्रयोग हुने” भन्ने लेखिएको देखिन्छ ।
१५. यस्तो अवस्थामा एकपटक एउटा संकेत नम्बर अन्तर्गतको वस्तु भनी माल छाडी सकेकोमा पुनः अर्को संकेत नम्बर अन्तर्गत पर्ने माल वस्तु भनी भन्सार महसूल असूल गर्न पाउने अधिकार भन्सार ऐनले विपक्षीलाई दिएको देखिन्न ।
१६. यस्तै विषय वस्तुलाई लिएर २०४५ सालको रिट नं. १२०६ निवेदक पशुपति सोप इण्डष्ट्रिज प्रा.लि. विरुद्ध विपक्षी विराटनगर भन्सार कार्यालय समेत भएको उत्प्रेषण विषयमा मिति २०४६।११।१४ मा निर्णय हुँदा “एकपटक एउटा संकेत नम्बर अन्तर्गतको वस्तु भनी भन्सार महसूल असूल गरी माल छाडी सकेकोमा पुनः अर्को संकेत नम्बर अन्तर्गतको मालवस्तु भनी स्पष्ट आधार नदेखाई थप भन्सार असूल गर्न नपाउने” भन्ने तथा निवेदक ज्ञान इण्डष्ट्रिज प्रा.लि. विरुद्ध विपक्षी कैलाली भन्सार कार्यालय समेत भएको २०४० सालका रि.नं. १७६९ का उत्प्रेषण विषयमा मिति २०४१।३।१९ मा निर्णय हुँदा भन्सार महसूल नलाग्ने निर्णय भई निकासी भइसकेको मालको भन्सार महसूल छूट भएको भनी सो दाखिल गराउन कुनै कानुनले अधिकार प्रदान गरेको नदेखिने” भन्ने समेत सिद्धान्त प्रतिपादित भएकोले यो रिट निवेदकले आयात गरेको पल्पको सम्बन्धमा संकेत नं. ४७.०१ अन्तर्गत भन्सार महसूल माफी दर्शाई माल छाडी सकेपछि पुनः उक्त पल्प संकेत नं. ४८.०१ ज (५) मा पर्ने भनी गरेको भन्सार विभागका मिति ०४६।२।८ र २०४६।६।१२ का निर्णय र सोको आधारमा छूट हुन गएको भन्सार महसूल रु. ३,५७,१२१।५२ दाखिल गर्न ल्याउनु भनी भन्सार कार्यालय जलेश्वरबाट मिति २०४६।३।१६ मा लेखेको पत्र समेत अनाधिकृत एवं त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । जानकारीको लागि आदेशको प्रतिलिपि म.न्या.का. मार्फत पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.त्रिलोकप्रताप राणा
इति सम्वत् २०४७ साल बैशाख १४ गते रोज १ शुभम् ।