शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ७९४४ - कर्तव्यज्यान

भाग: ५० साल: २०६५ महिना: असार अंक:

निर्णय नं.७९४४     ने.का.प. २०६५      अङ्क ३

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी

माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी

संबत् २०६४ सालको फौ.पु.नं. .....०१३७

फैसला मितिः २०६५।३।१८।४

 

मुद्दाः  कर्तव्य ज्यान ।

 

पुनरावेदक प्रतिवादीः संखुवासभा जिल्ला सापु गा.वि.स. वडा नं. ९ गाउँथला घर भै हाल कारागार कार्यालय जगन्नाथ देवल, काठमाडौंमा थुनामा रहेको पासाङ शेर्पा

विरुद्ध

प्रत्यर्थी वादीः प्रेम लाक्पा शेर्पाको जाहेरीले नेपाल सरकार

 

शुरु फैसला गर्नेः

मा.न्या.प्रेमराज ढकाल

पुनरावेदन फैसला गर्नेः

मा.न्या.दुर्गाप्रसाद उप्रेती

मा.न्या.हरिराम कोइराला

 

§  प्रहरीले प्रतिवादीलाई कुटपिट गरी वयान गराएको भन्ने कुरा पुष्टि हुने प्रमाण मिसिलबाट नदेखिएको अवस्थामा अदालतमा बयान गर्दा प्रहरीले कुटपिट गरी यातना दिएको भन्ने अपुष्ट भनाईको आधारमा सरकारी वकील समक्ष गरेको प्रतिवादीको बयानलाई अन्यथा नमिल्ने ।

(प्रकरण न.७)

§  मृतक प्रतिवादीकी पत्नी भएको र निजको सुरक्षा प्रति प्रतिवादी अझ सम्वेदनशिल हुनुपर्नेमा उल्टै अमानवीय, निन्दनीय र क्रुरतापूर्वक ढंगले आफ्नी पत्नीलाई आगो लगाई पीडा पुर्‍याई मृत्युन्मूख गराएको अवस्था देखिदा आफूले गर्न नहुने क्रुर कर्तव्य गरेकोमा त्यस्तो कर्तब्य प्रति पछुताई आत्मग्लानी महसुस हुनुपर्नेमा त्यस्तो अवस्था नदेखिएको, प्रतिवादी पुनरावेदकले न्यायीक प्रक्रियालाई जटिलता तर्फ धकेलेको, मृतकलाई आगो लगाई उफ्रीउफ्री नाची क्रुर कार्य गरेको देखिन आएको समेतबाट मुलुकी ऐन, अदालती बन्दोवस्तको १८८ नं. बमोजिम सजायमा छुट गर्न सकिने अवस्थाको विद्यमानता देखिन नआउने ।

(प्रकरण न.८)

 

पुनरावेदक प्रतिवाद तर्फवाटःविद्वान अधिवक्ता श्री लक्ष्मण थपलिया, दामोदर खड्का

प्रत्यर्थी वादी तर्फवाटः

अवलम्वित नजीरः

           

फैसला

न्या.मीनवहादुर रायमाझीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत पाटनको फैसला उपर पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर निम्न बमोजिम छः

मिति २०६२।५।२९ गते राति काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १६ पकनाजोल बस्ने पासाङ शेर्पाले आफ्नै श्रीमती छम्जी शेर्पालाई आगो लगाई जलाई दिएको र आगोले जली सिकिस्त घाईते भएकी छम्जी शेर्पाको हाल वीर अस्पतालमा उपचार भई रहेको भन्ने सूचना प्राप्त भएकोले कानून बमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको प्र.ना.नि. दीपक थापाको प्रतिवेदन ।

मिति २०६२।५।२९ गते अं. २२ बजेको समयमा मेरो आफ्नै डेरा कोठामा मेरो श्रीमान पासाङ्गसँग दिउसो वहिनीहरु सानु शेर्पा, लमी शेर्पा कोठामा आएको कुरालाई विवाद गरी भान्सामा रहेको नवलेको स्टोभबाट मट्टितेल मेरो शरीरमा खन्याई सलाई कोरी शरीरमा आगो लगाई दिई हाँसेर नाच्न थाली पानी पानी भन्दा समेत पानी नदिई नाचेका थिए । मलाई मेरो शरीरमा आगो लगाउने मेरो श्रीमान पासाङ शेर्पा हुन् भन्ने समेत व्यहोराको आगोले जली सख्त घाईते भएकी छम्जी शेर्पाले मौकामा गरेको कागज ।

काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १६ स्थित पूर्वमा कृष्ण डंगोलको पक्की घर, पश्चिममा पिपल्स क्याम्पस, उत्तर देवदास श्रेष्ठको पक्की घर, दक्षिणमा गणेशमान श्रेष्ठको पक्की घर, यति चार किल्ला भित्र सानुबाबु मानन्धरको चार तल्ले टिनको छानो भएको कच्चा घरको उत्तर तर्फको कोठाको ढोका दक्षिण मोहडा भई वन्द अवस्थामा रहेको, कोठाको उत्तर तर्फको कुनामा पानी राख्ने प्लाष्टिकको ड्रम रहेक खाटमा विछ्‌याउन लागेको अवस्थामा रहेको घटनासँग प्रमाण लाग्ने सेतोमा कालो बुटृा भएको तन्ना थान, डढेको सलाईको बट्टा थान, जलेको ब्रा थान१ र जलेको कार्पेटको टुक्राहरु समेत प्रहरी अधिकृत समेतको डोरले बरामद गरी लगेको भन्ने समेत व्यहोराको घटनास्थल मुचुल्का ।

२०६२।५।२९ गते रातको २२.३० वजेको समयमा वहिनी आगलागीमा परी घाईते अवस्थामा वीर अस्पतालमा उपचार भईरहेको छ भन्ने थाहा पाई तत्काल गई हेर्दा वहिनीको शरीरको सम्पूर्ण भाग जली वेहोस अवस्थामा उपचार भइरहेको देखि के कसरी आगो लागी घाईते भयौं भनी बुझ्दा निज बहिनीको श्रीमान पासाङ शेर्पाले वहिनी छम्जी शेर्पाको शरीरमा मट्टितेल खन्याई ज्यान मार्ने उद्देश्यले आगो लगाई सख्त घाईते बनाएका हुन् भन्ने एकिन थाहा पाई जाहेरी दिन आएको छु । निज प्रतिवादी पक्राउ गरी कानून बमोजिम गरिपाऊँ भन्ने समेत व्यहोरको फुटी शेर्पाले दिएको जाहेरी दरखास्त ।

निज पासाङ शेर्पालाई निजको घर कोठामा गई खोजतलास गर्दा फेला परेकोले निजलाई पक्राउ गरी यसै पत्र साथ दाखिला गरेको छु भन्ने समेत व्यहोराको प्र.ना.नि. दीपक थापाको प्रतिवेदन ।

मेरो भतिजी बुहारी छम्जी शेर्पालाई निजको श्रीमान पासाङ शेर्पाले मिति २०६२।५।२९ गते राति आफ्नै डेरा कोठामा शरीरमा मट्टितेल खन्याई आगो लगाई सख्त घाईते भई निजको उपचार हुँदा हुँदै मिति २०६२।६।३ मा मृत्यु भएको हुँदा कानून बमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको प्रेम लाक्पा शेर्पाको जाहेरी दरखास्त ।

लाशको घाँटी देखि हात र खुट्टा सम्मको भागमा सेतो व्यान्डेज लगाएको सेतो व्यान्डेज सुरक्षा साथ खोली हेर्दा पेट, देव्रे हातको कुम देखि नाडीसम्मको भाग आगोले जली छाला समेत खुईलिएको र पानी जस्तो पदार्थ निस्केको भन्ने समेत व्यहोराको लाश जाँच प्रकृति मुचुल्का ।

म र श्रीमती बीच वारम्वार विवाद भैरहने र वारदातका दिन पनि निजसँग मेरो वादविवाद भै निजलाई हातपात गर्दा पनि विवाद गर्न छाडिनन् । निज श्रीमती र म बीच चर्का चर्की भनाभन हुँदै गयो । राती हुँदा पनि श्रीमती हल्ला गर्न छाडिनन् । निज कोठा भित्र हल्ला गरी रहेकोले मैले ३/४ पटक लात्ती र मुक्काले प्रहार गर्दा समेत होहल्ला गर्न नछाडेकीले निजसँग पहिल्यै देखि रिस उठी रहेको र आगो लगाई मारी दिएमा सँधैको वादविवाद नै समाप्त हुन्छ भन्ने सोची निजलाई मार्ने मनसायले कोठामा खाना बनाउन राखेको स्टोभको मट्टितेल निजको शरीरमा खन्याई दिएँ, स्टोभ नजिकै रहेको सलाईको वट्टा खोली सलाई कोरी श्रीमतीले लगाएको कुर्ताको तलको भागमा आगो सल्काई दिएपछि निजले लगाएको कपडामा आगो दन्कदै गयो र श्रीमती छटपटाउँदै उफ्रँदै रुंदै ऐया पोल्यो, मेरो शरीरमा छिटो पानी हाल, पानी पानी भन्दै विलौना गरेकी थिईन । मलाई निजसँग रिस उठेको कारण म पनि निज छटपटाए जस्तै उफ्रंदै नाचेको थिए । श्रीमतीले पनि पानी भन्दै मलाई एक्कासी समाउन आईन र निजको शरीरमा बलेको आगोले मेरो दायाँ हातको हत्केला र नाडीमा समेत आगोले पोली म समेत सामान्य घाईते भएको हुँ । श्रीमतीको वीर अस्पतालमा उपचार हुँदाहुँदै मिति २०६२।६।३ मा मृत्यु भएको हो भन्ने समेत व्यहोराको प्रतिवादी पासाङ शेर्पाले सहायक जिल्ला न्यायाधिवक्ता समक्ष गरेको बयान कागज ।

म समेत दिदीलाई हेर्न जाँदा दिदीको शरीर आगोले जली छटपटाउनु भएको थियो । के कसरी आगो लाग्यो भनी सोध्दा मेरो श्रीमानले मट्टितेल खन्याई सलाई कोरी आगो लगाई दियो भनेकी थिई भन्ने समेत व्यहोराको अनुसन्धानको क्रममा बुझिएकी लक्ष्मी शेर्पाले गरेको कागज ।

घाईते छम्जी शेर्पालाई के कसरी आगो लाग्यो भन्दा निज घाईतेले आफ्नो दुवै आँखाबाट आँसु निकाल्दै मलाई लोग्नेले आगो लगाई दियो भनेकी हुन् भन्ने समेत व्यहोराको अनुसन्धानको क्रममा बुझिएका आङदोर्जे शेर्पाले गरेको कागज ।

निज घाईतेलाई के कसरी तिम्रो शरीरमा आगो लाग्यो भनी सोध्दा मेरै लोग्नेले शरीरमा मट्टितेल खन्याई सलाई कोरी आगो लगाई दियो भनेकी हुन्, पासाङ शेर्पाले शरीरमा मट्टितेल खन्याई आगो लगाई मरणासन्न अवस्थामा पारी उपचार हुँदाहुँदै मृत्यु भएकोमा विश्वास लाग्छ भन्ने मिनमा शेर्पाले अनुसन्धानको क्रममा गरेको कागज । 

90% superficial burn whole body भन्ने समेत छम्जी शेर्पाको नामको घाउ जाँच केश फाराम मिसिल सामेल रहेको  ।

Cause of death - Burn (जलेको कारणबाट मृत्यु भएको) भन्ने व्यहोराको छम्जी शेर्पाको नामको शव परिक्षण प्रतिवेदन मिसिल सामेल रहेको ।

निज छम्जी शेर्पाको आगोले जली घाईते भई उपचारको क्रममा मृत्यु भयो भन्ने थाहा पाएको हुँ । निजको शरीरमा के कसरी आगो लाग्यो सो बारे थाहा भएन भन्ने व्यहोराको अनुसन्धानको क्रममा बुझिएका सानुबाबु मानन्धरले गरेको  कागज ।

मैले सुने अनुसार कहिलेकाहीं छोरा बुहारीको एक आपसमा वाद विवाद हुने भन्ने समेत सुनेको हुँ । मिति २०६२।६।३ गते वुहारीको मृत्यु भयो र म बुहारीको साथमा नबस्ने हुँदा बुहारीको शरीरमा के कसरी आगो लाग्यो सो बारे खुलाउन सक्दिन भन्ने व्यहोराको अनुसन्धानको क्रममा बुझिएका दाकी शेर्पाले गरेको कागज ।

छम्जी शेर्पाको मृत्यु निजकै श्रीमान पासाङ शेर्पाले शरीरमा मट्टितेल खन्याई आगो लगाई आगोको जलनको पीडाले भएको भन्ने २ जना र छम्जी शेर्पाको मृत्यु निजकै श्रीमान पासाङ शेर्पाले शरीरमा मट्टितेल खन्याई आगो लगाई आगोको जलनको पीडाले भएको विश्वास लाग्छ भन्ने एक जना समेत ३ जनाको वस्तुस्थिति मुचुल्का ।

प्रतिवादी पासाङ शेर्पाले आफ्नै श्रीमती छम्जी शेर्पाको शरीरमा मट्टितेल खन्याई आगो लगाई निर्मम तरीकाबाट कर्तब्य गरी मारेको पुष्टि हुन आएको हुँदा प्रतिवादी पासाङ शेर्पा उपर मुलुकी ऐन ज्यान सम्बन्धीको महलको १ र १३(३) नं. को कसूर अपराधमा ऐ. १३(३) नं. अनुसार सजाय हुन माग दावी लिईएको भन्ने समेत व्यहोराको २०६२।७।१ को अभियोगपत्र ।

मैले श्रीमतीलाई मट्टितेल खन्याई आगो लगाई कर्तब्य गरी मारेको होइन । दिनभर अफिसमा काम गरी बेलुका ८.०० वजे पछि कोठामा गई खाटमा पल्टिएर वसेको केही छिनमा अकस्मात निज (श्रीमती) को शरीरमा आगो बल्न थाल्यो । उक्त आगो देख्ना साथ मैले निभाउने प्रयास गरें । आगो रोक्दा मेरो नाडीमा समेत आगोले पोलेको छ । उपचारको क्रममा निजको मिति २०६२।६।३ मा मृत्यु भएको हो । उनीसँग सामान्य विवाद मात्र थियो भन्ने समेत व्यहोराको प्रतिवादी पासाङ शेर्पाले अदालतमा गरेको बयान ।

छम्जी शेर्पालाई आगो लगाउने काम निजकै पति पासाङ शेर्पाले गरेको हो भनेर मेरै मृतक वहिनीले अस्पतालमा भनेकी थिई भन्ने समेत व्यहोराको जाहेरवाला फुटी शेर्पाले गरेको वकपत्र ।

अस्पतालमा मृतक अलिअलि वोल्दै थियो, आफ्नै श्रीमान पासाङ शेर्पाले मट्टितेल खन्याएर आगो लगाई दिएको भनेर ईसाराले बताएकी थिई भन्ने समेत व्यहोराको काजी शेर्पाले गरेको वकपत्र ।

अस्पतालमा हामी पनि गएर सोधपुछ गर्दा आफ्नो श्रीमान छम्जी शेर्पालाई पासाङले बसी राखेको ठाउँमा मट्टितेल खन्याएर आगो लगायो भनेर विरामीको मुखबाट सुने समेत व्यहोराको आङदोर्जे शेर्पाले गरेको वकपत्र ।

मृतकसँग मैले सोद्धा बेलुका श्रीमानको लागि खाना बनाउन जाँदा श्रीमानले मट्टितेल खन्याएर सलाई कोरेर आगो लगाई दियो भनेर मलाई मृतकले भनी भन्ने समेत व्यहोराको मीनमा शेर्पाले गरेको वकपत्र ।

मेरो छोरा पासाङले मृतकलाई आगो लगाएको होइन भन्ने समेत व्यहोराको प्रतिवादीको साक्षी डाकी शेर्पाले गरेको वकपत्र ।

निज छम्जी शेर्पाको शरीर जलेको थियो । मैले निजलाई सोद्धा हिजो बेलुका मलाई मेरो श्रीमानले शरीरमा मट्टितेल खन्याएर आगो लगाई दियो भनेर मलाई भनी भन्ने समेत व्यहोराको वस्तुस्थिति मुचुल्काका गंगाबहादुर बस्नेतले गरेको वकपत्र ।

स्टोभ बाली रहेको अवस्थामा स्टोभमा पासाङले लात्ताले हिर्काई र ५ लिटरको तुम्लेटमा पनि लात्ताले हिर्काउँदा मट्टितेल छर्किएर स्टोभको आगोले भेट्टाएर आगो लागी यस्तो भएको हो भनेर मलाई मृतकले भनी भन्ने समेत व्यहोराको आङदावा शेर्पाले गरेको बकपत्र ।

आगो लगाई मार्ने काम पासाङले गरेको होइन भन्ने मलाई विश्वास लाग्छ । मलाई निज मृतक आफैंले आगो लगाएको विश्वास लाग्छ भन्ने समेत व्यहोराको जाहेरवाला प्रेम लाक्पा शेर्पाले गरेको  वकपत्र ।

मलाई थाहा भएसम्म लोग्नेले स्वास्नीलाई आगो लगाई मारेको जस्तो लाग्दैन भन्ने समेत व्यहोराको कृष्णबहादुर तामाङले गरेको वकपत्र ।

प्रतिवादीले आफ्नी श्रीमतीलाई आगो लगाई मारेको जस्तो लाग्दैन भन्ने समेत व्यहोराको घटनास्थल मुचुल्काका धर्मराज थिङले गरेको बकपत्र ।

मृतक आफैंले आगो लगाई मरेको जस्तो लाग्छ । मतृक आगो लागी सके पछि पनि हस्पिटल जाने क्रममा म आफैले आगो लगाएको हुँ भनेर भनेकी थिईन भन्ने समेत व्यहोराको घटनास्थल मुचुल्काका नानी मैया तामाङले गरेको वकपत्र ।

मृतकले मर्नु पूर्व गरेको कागज, फुटी शेर्पा, काजी शेर्पा, मिनमा शेर्पा, आङदोर्जे शेर्पा र गंगाबहादुर बस्नेत लगायतका व्यक्तिले गरेको वकपत्र समतेका कागज प्रमाणले पुष्टि गरेको देखिन आई संकलित कागज प्रमाणबाट यी प्रतिवादीको कर्तव्यबाट छम्जी शेर्पाको मृत्यु भएको देखिंदा प्रतिवादी पासाङ शेर्पालाई ज्यान सम्बन्धी महलको १ नं. विरुद्धको कसूरमा ऐ. महलको १३(३) नं. बमोजिम सर्वश्व सहित जन्म कैद हुने ठहर्छ । अपराध हुँदाको अवस्थालाई विचार गर्दा उल्लेखित सजाय चर्को हुने देखिएकोले मुलुकी ऐन, अ.वं. १८८ नं. अनुसार प्रतिवादीलाई ५ वर्ष कैद सजाय हुन राय व्यक्त गरेको भन्ने समेत शुरु काठमाडौं जिल्ला अदालतको मिति २०६३।९।९ को फैसला।

मृतकले आत्महत्या गर्न खोजेको भन्ने भनाईलाई कुनै सन्दर्भमा उल्लेख नै नगरी गरेको फैसला प्रमाण ऐन, २०३१ को दफा ३,,, २५ र नजिर समेतको प्रतिकूल हुँदा जिल्ला अदालतको फैसला बदर गरी आरोपित कसूरबाट सफाइ पाउँ भन्ने समेत प्रतिवादी पासाङ शेर्पाको पुनरावेदन अदालत पाटनमा परेको पुनरावदेन पत्र ।

यसमा मृतक छम्जी शेर्पाको मर्नु पूर्व मिति २०६२।५।२९ मा भएको कागजमा रोहवरमा रहेको व्यक्तिको अदालतमा उपस्थित भै वकपत्र भएको अवस्था नदेखिएकोमा कसूर ठहर गरी भएको शुरु काठमाडौं जिल्ला अदालतको मिति २०६३।९।९ को इन्साफ प्रमाणको मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिंदा छलफलको लागि पुनरावेदन सरकारी वकीललाई जानकारी दिई पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश ।

यसमा मृतकले मिति २०६२।५।२९ मा गरेको कागजमा रोहवरमा बस्ने व्यक्तिहरुलाई अ.वं. ११५ नं. बमोजिम बुझ्न निजहरुको काठमाडौं जिल्ला अन्तर्गतको वतनमा म्याद जारी गरी उपस्थित भएपछि वा म्याद नाघेपछि नियमानुसार पेश गर्नु भन्ने पुनरावेदन अदालत पाटनको मिति २०६३।१२।२९ को आदेशानुसार जारी भएको म्यादमा निजहरु उपस्थित नभएको  ।

प्रतिवादी पासाङ्ग शेर्पालाई निजले आफ्नी श्रीमती छम्जी शेर्पालाई आगो लगाई कर्तव्य गरी मारेकोले मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वश्व सहित जन्मकैद गर्ने गरी काठमाडौं जिल्ला अदालतबाट मिति २०६३।९।९ मा भएको फैसला मिलेको देखिदा सदर हुने ठहर्छ । प्रतिवादीले वारदातको समयमा मृतक प्रति देखाएको आपराधिक क्रुरता र निर्दयता समेतलाई हेर्दा पाँच वर्ष मात्र कैदको सजाय गर्नु धेरै कमी सजाय हुन गई न्यायोचित नहुने देखिदा ५ वर्षको मात्र सजाय गर्ने गरी शुरु अदालतले व्यक्त गरेको राय मनासिव देखिदैन । प्रतिवादीले मृतकलाई मार्ने पूर्व योजना रहेको नदेखिएको र तत्काल उठेको रिशको आवेशमा आई प्रस्तुत वारदात गराएको अवस्था देखिदा निज प्रतिवादी पासाङ शेर्पालाई कानून बमोजिमको सजाय गर्दा चर्को पर्ने देखिएकोले १० वर्ष कैदको सजाय गरी छाडी दिन न्यायोचित हुने देखिएकोले अ.वं. १८८ नं. बमोजिम यो छुट्टै राय व्यक्त गरेका छौं भन्ने पुनरावेदन अदालत पाटनको २०६४।२।२४ को फैसला ।

मृतक छम्जी शेर्पाको मृत्यु जलेर भएको कुरामा विवाद नभएको, जलेकै हुँदा म, मेरो आमा, मृतकका दाजु समेत भई अस्पताल लगेको हुँदा शंकाको आधारमा दोषी ठहर गर्नु फौज्दारी न्यायको मान्य सिद्धान्त विपरीत छ । कपोलकल्पित प्रहरीमा लेखाएको बयान दोषी ठहर गर्ने आधार बन्न सक्दैन । प्रहरीले अनुसन्धानको क्रममा तयार पारेको कागज अदालत समक्ष प्रमाणित नभएसम्म प्रमाणमा लिन मिल्दैन । अनुसन्धानको क्रममा तयार भएका कागज र अदालत समक्ष साक्षीको रुपमा बकेका कागज अमिल्दो छ । अदालतमा आई वकपत्र  गर्ने मानिसहरुले आफैंले घटना घटेको देखेको छैन । मृतकलाई मैले मार्नु पर्ने कारण छैन र मारेको समेत होइन । मृतक ३/४ पटक मर्न चाहेको भनी साक्षीले भनेबाट निजको मृत्यु आत्महत्याबाट भएको प्रष्ट हुँदा पुनरावेदन अदालत पाटनको फैसला बदर गरी सफाइ पाउँ भन्ने प्रतिवादीको यस अदालतमा २०६४।५।२० मा दर्ता भएको पुनरावेदन  पत्र ।

२.    नियम बमोजिम पेशी सूचीमा चढी आज यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन जिकिर सहितका मिसिल कागजात अध्ययन गरी पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ताद्वय लक्ष्मण थपलिया र दामोदर खड्काले मृतकले प्रस्तुत घटना भन्दा अगाडि देखि नै मर्न प्रयास गरेको भन्ने अनुसन्धानमा बुझिएका नानी मैया तामाङ समेतका व्यक्तिले उल्लेख गरेका छन्, प्रतिवादी स्वयंले मृतकलाई बचाउन अस्पताल लगेको छ, प्रतिवादीले मृतकलाई मार्ने मनसाय राखेको भए त्यसरी बचाउने प्रयास गर्ने अवस्था नै आउँदैन, मृतकलाई माईती पक्षले निम्न वर्गीय केटासँग गएको भनी तिरस्कार गरेको र सो सहन नसकी आत्महत्या गरेको भन्ने मिसिलबाट देखिन्छ, मृतकलाई प्रतिवादीले स्टोभबाट मट्टितेल खन्याई आगो लगाएको भए आगो लगाउञ्जेल कुनै बचावटको प्रयासै नगरी बस्ने अवस्था आउँदैन, त्यस्तो बचावटको प्रयास र  हार गुहार गरेको अवस्था नभएकोमा प्रतिवादीले कर्तव्य गरेको स्थापित हुँदैन, प्रतिवादीले आगो लगाई मारेको पुष्टि नहुँदा अभियोग दावीबाटै प्रतिवादीलाई सफाइ दिनु पर्छ भनी गर्नु भएको वहस समेत सुनियो ।

३.    मिसिलबाट देखिएको तथ्य एवं विद्वान अधिवक्ताहरुको वहस समेतलाई मध्यनजर राखी इन्साफ तर्फ विचार गर्दा, पासाङ शेर्पाले आफ्नै श्रीमती छम्जी शेर्पालाई शरीरमा मट्टितेल खन्याई आगो लगाई निर्मम तरिकाबाट कर्तव्य गरी मारेको पुष्टि भएको भनी  प्रतिवादी पासाङ शेर्पा उपर मुलुकी ऐन, ज्यान सम्बन्धीको महलको १ र १३(३) नं. को कसूरमा ऐ. १३(३) नं. बमोजिम सजायको माग दावी लिई अभियोग पत्र दायर भएको  देखियो । मृतकको मृत्यु जलेको कारणबाट भएको भन्ने तथ्यमा विवाद नदेखिएको र  प्रतिवादीले अदालतको वयानमा मृतक आफैंले शरीरमा मट्टितेल खन्याई आगो लगाई आत्महत्या गरेको भन्ने भनाई रहेबाट मृतकको शरीरमा आगो लगाउने कारक व्यक्ति मृतक आफैं हुन् वा यी प्रतिवादी हुन् भन्ने कुराको निरुपण गर्नु पर्ने देखियो ।

४.    मिसिल संलग्न कागजातको अवलोकन गर्दा, “२०६२।५।२९ गते राती अं. २२:०० बजेको समयमा आफ्नै डेरा कोठामा श्रीमान पासाङ्ग शेर्पासँग दिउँसो वहिनीहरु सानु शेर्पा, लमी शेर्पा कोठामा आएको कुरालाई विवाद गरी भान्सामा रहेको नवलेको स्टोभबाट मट्टितेल मेरो शरीरमा खन्याई सलाई कोरी मेरो शरीरमा आगो लगाई दिई हाँसेर नाच्न थाली पानी पानी भन्दा समेत पानी नदिई नाचेका थिए, मलाई मेरो शरीरमा मट्टितेल खन्याई दिई शरीरमा आगो लगाउने मेरो श्रीमान पासाङ शेर्पा हुन्भन्ने व्यहोराको २०६२।५।२९ मा वीर अस्पतालमा उपचारको क्रममा मृतकले कागज गरी दिएको देखियो । उपचारकै क्रममा मृतकको २०६२।६।३ मा मृत्यु भएको पाईयो ।

५.    प्रतिवादीले सहायक जिल्ला न्यायाधिवक्ता समक्ष सरकारी वकील कार्यालयमा बयान गर्दा २०६२।५।२९ गते ट्रेकिङ्ग अफिसको कामकाज सकी मादक पदार्थ सेवन गरी डेरामा पुग्दा बच्चाले लगाउने नयाँ कपडा टिसर्ट र जिन्सको पाईन्ट देखि यी नयाँ कपडाहरु कहाँबाट ल्याईस् भनी श्रीमतीलाई सोध्दा, दिउँसो वहिनीहरु मलाई भेटघाट गर्न आएका, आउँदा छोराको लागि कपडा पनि ल्याई दिएछन् भनिन्, तेरा माईतीलाई डेरामा आउन नदिनु भन्दा तैले किन अटेर गरेको हो भनी श्रीमतीलाई भन्दा एक्कासी रिसाईन र निज र म बीच चर्काचर्की भनाभन हुँदै गयो, /४ पटक लात्ती र मुक्का समेत प्रहार गर्दा होहल्ला गर्न छाडिनन्, मलाई निजसँग पहिले देखि रिस उठीरहेको थियो, राती अ. १० बजिसक्दा पनि निज श्रीमती होहल्ला गर्न नछाडेकीले कोठामा खाना बनाउन भनी राखेको स्टोभको मट्टितेल निजको शरीरमा खन्याई दिएँ र अव तँलाई आगो लगाई मार्छु भन्दा निजले गुहार गुहार भन्दै अरु होहल्ला गरिन र मैले सो स्टोभ नजिकै रहेको सलाईको बट्टा खोली सलाईको काँटी निकाली सलाईको बट्टामा कोरी आगो सल्काएँ र श्रीमतीले लगाएको कुर्थाको तल्लो भागमा आगो सल्काई दिए पछि निजले लगाएको कपडामा आगो दन्कदै गयो र श्रीमती छम्जी शेर्पा छटपटाउँदै, उफ्रँदै आत्तिदै, रुँदै ऐया ऐया पोल्यो भनी मेरो शरीरमा छिटो पानी हाल, पानी पानी भनी विलौना गरेकी थिईन, मलाई निजसँग रिस उठेको कारण म पनि निज छटपटाए जस्तै उफ्रदै नाचेको थिएँ, श्रीमतीले पानी पानी भन्दै आत्तिदै एक्कासी मलाई समाउन आईन र निजको शरीरमा बलेको आगोले मेरो दायाँ हातको हत्केला र नाडीमा समेत पोली म समेत घाईते भएको हुँ भन्ने समेत उल्लेख गरेको पाईयो । अदालतमा प्रतिवादीले बयान गर्दा आफूले निज मृतकलाई आगो नलगाएको, मृतक आफैंले मट्टितेल खन्याई आगो लगाई आत्महत्या गर्न खोजेको भनी कसूर गरेकोमा इन्कार रहेको अवस्था भए पनि मृतकसँग सामान्य भनाभन भईरहने भन्ने कुरा स्वीकार गरेको देखिन्छ । मृतकको अढाई वर्षको छोरा समेत रहेको देखिएकोमा सो छोराले पाउने आमाको ममताबाट बञ्चित हुने गरी मृत्तकले आत्महत्या गर्नु पर्ने खास कारण प्रतिवादीले खुलाएको तथा मिसिलबाट देखिएको छैन ।

६.    अनुसन्धानको क्रममा बुझिएका आङदोर्जे शेर्पाले अनुसन्धान अधिकारी समक्ष कागज गर्दा, वीर अस्पतालमा गई घाईते छम्जी शेर्पालाई के कसरी आगो लागी घाईते भयौ भन्दा निज घाईतेले लोग्नेले आगो लगाई दियो भनेकी हुन् भनी उल्लेख गरेको र अदालतमा वकपत्र गर्दा, अस्पताल गएर सोधपुछ गर्दा पासाङले आफ्नी श्रीमतीलाई वसी राखेको ठाउँमा मट्टितेल खन्याएर आगो लगायो भनेर विरामीको मुखबाट सुने भनी वकपत्र गरेबाट आफ्नो मौकाको भनाईलाई थप पुष्टि गरेको देखियो । त्यस्तै फुटी शेर्पाले ज्यान मार्ने उद्योगमा २०६२।६।१ मा पहिलो जाहेरी दिंदा प्रतिवादी पासाङ शेर्पाले वहिनी छम्जी शेर्पालाई जिउ मार्ने उद्देश्यले शरीरमा मट्टितेल खन्याई आगो लगाई घाईते बनाएको र चिन्ताजनक अवस्थामा रहेको भनी उल्लेख गरेको देखिएको र अदालतमा वकपत्र गर्दा छम्जीलाई आगो लगाउने काम निजकै पति पासाङ शेर्पाले गरेको हो भनेर मृतक वहिनीले अस्पतालमा भनेकी थिई भनी खुलाएको समेत पाईयो । त्यस्तै यिनै प्रतिवादीले मृत्तकको शरीरमा मट्टितेल खन्याएर आगो लगाई दिएको भनी मृत्तकले भनेको भनी मौकामा बुझिएका आङदोर्जे शेर्पा, वस्तुस्थिति मुचुल्काका गंगाबहादुर बस्नेत, बुझिएका मिनमा शेर्पाले वकपत्र गरेको पाईयो भने आफ्नै श्रीमान पासाङ्ग शेर्पाले मट्टितेल खन्याएर आगो लगाई दिएको भनेर मृतकले इशाराले बताएको थियो भनी वस्तुस्थितिका काजी शेर्पाले वकपत्र गरेको समेत देखियो ।

७.    मृतकले अस्पतालमा मर्नु भन्दा अगावै आफ्नो पीडाको कारक तत्वको सम्बन्धमा कागज गर्दा प्रतिवादी पासाङ शेर्पालाई देखाएको मृतकको कागजबाट देखिन्छ । सोही कुरा मृतकले अस्पतालमा आफूलाई भनेको भनी मौकामा बुझिएका व्यक्तिहरुले मौकामा कागज गर्दा खुलाएको तथा अदालतमा आई वकपत्र गरी दिएको समेत देखिएको छ । अस्पतालमा मृतकले भनेको कुरा लेखवद्ध गर्दा उपस्थित रोहवरमा बसेका व्यक्तिहरुको अदालतमा वकपत्र भएको अवस्था देखिन नआए पनि मृतकलाई प्रतिवादीले मट्टितेल खन्याई आगो लगाई दिएको कुरा मृतकले अस्पतालमा भनेको प्रत्यक्ष सुन्नेले अदालतमा आई व्यक्त गरेको यस अवस्थामा प्रतिवादीले अदालतमा बयान गर्दा अधिकार प्राप्त अधिकारी समक्ष भएको बयान व्यहोरा झुठ्ठा भएको र प्रहरीले कुटपिट गरी सहीछाप गराएको भन्ने उल्लेख गरे पनि निज प्रतिवादीलाई सरकारी वकील कार्यालयमा सहायक जिल्ला न्यायाधिवक्ता समेत समक्ष बयान गराएको देखिंदा सरकारी वकील कार्यालयमा सरकारी वकील समक्ष प्रहरीले कुटपिट गरेको भन्ने प्रतिवादीको भनाई विश्वासलायक र भरपर्द देखिन आएन । प्रहरीले प्रतिवादीलाई कुटपिट गरी वयान गराएको भन्ने कुरा पुष्टि हुने प्रमाण मिसिलबाट नदेखिएको अवस्थामा अदालतमा बयान गर्दा प्रहरीले कुटपिट गरी यातना दिएको भन्ने अपुष्ट भनाईको आधारमा सरकारी वकील समक्ष गरेको प्रतिवादीको बयानलाई अन्यथा सम्झन मिल्ने देखिएन । प्रतिवादीले मृतकलाई मार्ने मनसाय राखी आगो लगाई दिएको कारण सोही पीडाबाट मृतकको मृत्यु भएको भन्ने तथ्य मिसिलबाट स्थापित भएको देखिन आएकोले प्रतिवादी पासाङ शेर्पाले ज्यान सम्बन्धी महलको १ नं. विपरीतको कसूर गरेकोमा सोही महलको १३(३) नं. बमोजिम सर्वश्व सहित जन्मकैदको सजाय हुने ठहराएको शुरु काठमाडौं जिल्ला अदालतको २०६३।९।९ को फैसला सदर हुने ठहराएको पुनरावेदन अदालत पाटनको २०६४।२।२४ को फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ ।

८.    प्रतिवादीलाई शुरुले ५ वर्ष कैद गर्ने राय लगाएको परिवर्तन गरी १० वर्ष कैदको सजाय गर्न न्यायोचित हुने भन्ने पुनरावेदन अदालतको राय तर्फ विचार गर्दा, प्रतिवादीले आफ्नै पत्नी छम्जी शेर्पालाई मारी दिएमा सधैंको वाद विवाद समाप्त हुन्छ भन्ने सोची निजको शरीरमा मट्टितेल खन्याई आगो लगाए पछि छम्जी शेर्पा पीडाले छटपटाई कराई उफ्रिँदा यी प्रतिवादी खुसीले उफ्रीउफ्री नाचेको भन्ने प्रतिवादीले सरकारी वकील समक्ष गरेको वयानबाट र मृतकको मौकाको कागजबाट देखिदा प्रतिवादीले मृतकलाई मार्ने मनसाय राखी मृत्युवरण गराउन आगो लगाउने कर्तव्य गरेको र सोही कर्तब्यले छम्जी शेर्पालाई मृत्यु गराएको तथ्य स्थापित भएको देखिन्छ । मृतक प्रतिवादीकी पत्नी भएको र निजको सुरक्षा प्रति प्रतिवादी अझ सम्वेदनशिल हुनु पर्नेमा उल्टै अमानविय, निन्दनिय र क्रुरतापूर्वक ढंगले आफ्नी पत्नीलाई आगो लगाई पीडा पुर्‍याई मृत्युन्मुख गराएको अवस्था देखिन्छ । आफूले गर्न नहुने त्यस्तो क्रुर कर्तव्य गरेकोमा त्यस्तो कर्तब्य प्रति पछुताई आत्मग्लानी महसुस हुनुपर्नेमा त्यस्तो अवस्था नदेखिएको, प्रतिवादी पुनरावेदकले न्यायीक प्रक्रियालाई जटिलता तर्फ धकेलेको, मृतकलाई आगो लगाई उफ्रीउफ्री नाची क्रुर कार्य गरेको देखिन आएको समेतबाट मुलुकी ऐन, अदालती बन्दोवस्तको १८८ नं. बमोजिम सजायमा छुट गर्न सकिने अवस्थाको विद्यमानता देखिन आएन । प्रतिवादी पासाङ शेर्पालाई ५ वर्षको मात्र सजाय गर्ने गरी शुरु अदालतले व्यक्त गरेको राय मनासिव नदेखिने भनी १० वर्ष कैद गर्न राय लगाएको पुनरावेदन अदालतको राय समेत मिलेको नदेखिंदा उक्त रायसँग सहमत हुन सकिएन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनु ।

 

उक्त रायमा सहमत छु ।

 

न्या.ताहिरअलि अन्सारी

 

इति सम्वत् २०६५ साल आषाढ १८ गते रोज ४ शुभम......

 

इजलास अधिकृतःदीपक कुमार दाहाल

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु