निर्णय नं. ४१३० - जग्गा खिचोला

निर्णय नं. ४१३० ने.का.प. २०४७ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४४ सालको दे.पु.नं. ६८५
फैसला भएको मिति : २०४७।३।२२।६ मा
पुनरावेदक/प्रतिवादी : का.न.पं. वा.नं. ९ बस्ने दिलमान राजभण्डारीसमेत
विरुद्ध
विपक्षी/वादी : ऐ. वा.नं. २७ बस्ने मिश्री राजभण्डारीसमेत
मुद्दा : जग्गा खिचोला
(१) कागज बमोजिम भोगाधिकार भएको कुरामा विवाद नदेखिँदा कित्ता काट गर्ने गरेको निर्णय र सो बमोजिम दर्ता गर्ने गरेको कार्य समेत बदर भई वादी दावी बमोजिम वादी दावीको जग्गामा प्रतिवादीहरुले खिचोला गरेको ठहर्याएको अं.अ. को इन्साफ मनासिब ठहर्याएको क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्ने ।
(प्रकरण नं. १६)
पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल
विपक्षी/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त
फैसला
न्या.त्रिलोकप्रताप राणा
१. मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफमा चित्त नबुझी पुनरावेदन गर्न अनुमति पाउँ भनी पर्न आएको निवेदनमा पुनरावेदन गर्न अनुमति प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।
२. हाम्रा पति तथा पिताजी उदयमान राजभण्डारी र विपक्षीको पिता गजेन्द्रका नाउँमा संयुक्त दर्ता भएको पशुपति महास्नान गुठीको जग्गा नापी हुँदा का.जि.बत्तीस पुतली गा.पं. वडा नं. ९(ख) कि.नं. ४ को १०–१०–० कायम भएकोमा उक्त जग्गाको मोही अन्यायी भैरवबहादुर रहेकोमा गुठी संस्थान ऐन बमोजिम उक्त जग्गा तीन भागमा बण्डा गरी हामी मिश्री नानी समेतका नाउँमा ३–५–३, गजेन्द्रमानका नाउँमा ३–५–३ र मोही भैरवबहादुरको नाउँमा ३–५–२ बण्डा गरी सोही अनुरुप गुठी संस्थान तहसील कार्यालयमा बाली बुझाई आएका छौं । ०३१ सालसम्म कित्ताकाट भएको थिएन, चक्रपथ निर्माण हुँदा उक्त कि.नं. को जग्गा मध्ये ३–३–१ अधीग्रहणमा परेको थियो । सो अधीग्रहणमा परेको मिलाउन २०३१।१।२८ मा चार किल्ला समेत उल्लेख गरी आएका थियौं, यतिकैमा २०३९।११।२९ गते मेरा किल्ला भित्रको जग्गा विपक्षी दिलमान र गम्भीरमानले खिचोला गर्न आएको हुँदा के रहेछ भनी मालपोत कार्यालय र गुठी संस्थान गई बुझ्दा कि.नं. ८६ को ३–५–३, विपक्षी दिलमान राजभण्डारी र गम्भीरमानको नाउँमा कायम गरिएको र कि.नं. ८७ को ३–७–३ जग्गा भैरवबहादुर जोताहा कायम राखी दर्तावाला शिवमान, गजेन्द्रमान कायम गरिएको रहेछ, सो कुरा गुठी संस्थानको मिति ०३९।९।१० को पर्चा मिति ०३९।११।२९ मा नक्कल सारी लिएबाट थाहा भयो, अतः गुठी संस्थानको मिति ०३९।११।२९ को पत्रद्वारा विपक्षी दिलमान समेतको नाउँमा कि.नं. ४४ बाट कित्ताकाट गरी दर्ता गरेको कि.नं. ८६ को जग्गा दर्ता गर्ने गरेको पत्र सम्बन्धित निर्णय र सो दर्ता बदर गरी मेरो जग्गामा खिचोला गर्न आएकोले खिचोला समेत मेटाई पाउँ भन्ने समेत व्यहोराको मिश्री राजभण्डारी समेतको संयुक्त फिरादपत्र ।
३. बाबा गजेन्द्रमानबाट हामीहरुले बकस पाई नामसारी गराई बत्तीसपुतली गा.पं. वडा नं. ९(ख) कि.नं. ४४ को ६–१२–३ जग्गा कित्ताकाट गराई हामीहरुको दर्ता हक भोगको ३–५–३ कि.नं. ८६ र विपक्षी को कि.नं. ८७ मा रहेको छ, विपक्षीले २०३९।११।२६ मा हामीले खिचोला गर्न आएको भनी लेखेको छ, तर कसरी खिचोला गर्न आएको हो भन्न र लेख्न सकेको छैन खिचोला गर्न आयो भन्दैमा खिचोलाको वारदात कायम हुन सक्ने होइन, एक भन्दा बढी व्यक्तिको एक भन्दा बढी व्यक्ति उपर एकभन्दा बढी विषयमा मु. ऐन अ.बं. ७२ नं. ले लाग्न समेत नसक्ने हुँदा फिराद दावीबाट फुर्सद दिलाई पाउँ भन्ने समेत व्यहोराको दिलमान राजभण्डारी समेतको संयुक्त प्रतिउत्तरपत्र ।
४. बाबुको भागमा परेको जग्गा मध्ये बकस पाएको रोपनी ०–१२–० कटाई बाँकी रहने जग्गा बाबुको मृत्यु पछि आमा भाइले भोग गरी आएका छन । वादीको दावी अनुसार मैले निजको हकको भनेको जग्गामा खिचोला गर्न गएको छैन र गर्नु पर्ने कारण समेत छैन । नामसारी बारेमा पत्र लेखी २०३९।११।१९ को पत्रद्वारा कित्ताकाट गरी दर्ता गरे भन्ने फिराद दावीका हकमा मेरो कुनै सम्बन्ध नभएकोले मैले वादीलाई कुनै प्रकारको अन्याय गरेको छैन भन्ने समेत व्यहोराको प्रेम श्रेष्ठको प्रतिउत्तरपत्र ।
५. कि.नं. ४ को जग्गा चक्रपथमा परेको कित्ताकाट भई बाँकी कि.नं. ४४ को ६–१२–३ कायम रहेको कि.नं. ८६ को ३–५–३ विपक्षी दिलमान गम्भीरमानका नाउँमा कायम गरिएको कि.नं. ८७ को ३–७–० जग्गामा भैरवबहादुरको जोताहा मोही कायम राखी दर्तावाला मोही शिवमान, गजेन्द्रमान कायम गरिएको र गुठी संस्थानको मिति ०३९।९।११ का पत्र अनुसार भन्ने लेखिएको रहेछ, चक्रपथमा अधीग्रहण भई बाँकी रहेको जग्गा हामीहरुका मन्जूरनामा बमोजिम कित्ताकाट हुनु पर्नेमा हामीलाई बुझिएन भन्ने उल्लेख भएको रहेछ तापनि मालपोत कार्यालयले के आधारमा त्यस प्रकारको दर्तावाला र जोताहा मोही कायम गरेको हो सो कुरा यस संस्थानलाई थाहा हुन सकेन, वादीहरुले औंल्याएको ०३९।९।११ को पत्रमा त्यसप्रकार लेखिएको समेत नहुँदा यस संस्थान उपरको फरेवी दावीबाट फुर्सद गराई पाउँ भन्ने समेत व्यहोराको गुठी संस्थानको प्रतिउत्तरपत्र ।
६. लिखत र भोगका विपरीत बुझ्नुपर्ने वादी समेतलाई नबुझी कित्ताकाट गर्ने गरेको निर्णय बदर भई वादी दावीको जग्गामा खिचोला गरेको समेत ठहर्छ भन्ने समेत व्यहोराको बा.अं.अ. को मिति २०४२।।३।२ को फैसला ।
७. बा.अं.अ. को फैसलामा प्रत्यक्षतः विवाद रहित त्रुटि भएको हुँदा प्रतिउत्तर जिकिर बमोजिम इन्साफ पाउँ भन्ने समेत व्यहोराको दिलमान समेत जना २ को म.क्षे.अ. मा परेको संयुक्त पुनरावेदन ।
८. दे.डि.पु.नं. १८०० को बकसपत्र बदर मुद्दा र दे.डि.पु.नं. १८६९ को घर भत्काई पाउँ भन्ने मुद्दामा अनुमतिको आदेश भई डिभिजनको लगतमा दर्ता भएको देखिएकोले प्रस्तुत मुद्दा सोही मुद्दाहरुको लगाउको भएको हुँदा उक्त मुद्दाको निर्णयबाट प्रस्तुत मुद्दामा समेत असर परी अं.अ. को इन्साफ फरक पर्न जाने हुँदा छलफल निमित्त विपक्षी झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने समेत मिति २०४३।६।१३।२ को म.क्षे.अ. को आदेश ।
९. वादी तथा प्रतिवादीका बीच आ–आफ्नो जग्गाको क्षेत्रफल तथा भोग चलनको सम्बन्धमा कुनै फरक तथा विवाद भएको भए नक्शामा खण्डन गर्न, लेख्न लगाउनु पर्नेमा सो गरेको छैन । यसको अतिरिक्त ०३१।१।२८ को कागजमा उल्लेखित जग्गा अर्थात् गुठी संस्थानलाई तिरो भरो समेत गरी आएको आफ्नो भागको जग्गा मध्ये केही जग्गा भैरवबहादुरले आफ्नो छोरा प्रेमबहादुर श्रेष्ठलाई २०३१ साल भाद्रमा रजिष्ट्रेशन पास गरी हक हस्तान्तरण गरी सकेकोमा सो अनुसार प्रेमबहादुर श्रेष्ठको हक कायम भएको भन्ने कुरा मिसिल कागजबाट प्रष्ट देखिन्छ । सो कागज अनधिकृत भए प्रतिवादीहरुले बदर गराउन समेत सकेको छैन । अतः उपरोक्त कारण तथा आधार र बा.अं.अ. को फैसलामा उल्लेख भएका अन्य बुँदा प्रमाणबाट समेत कित्ताकाट गर्ने गरेको समेत सम्पूर्ण निर्णय तथा कार्यहरु बदर भई वादी दावाको जग्गामा प्रतिवादीहरुले खिचोला गरेको ठहराएको बा.अं.अ. को फैसला मनासिब ठहर्छ भन्ने समेत व्यहोराको मिति २०४४।५।३ को म.क्षे.अ. को फैसला ।
१०. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त नबुझी पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्रतिवादी पक्षको यस अदालतमा पर्न आएको निवेदनपत्र ।
११. यसमा यसै लगाउको यिनै दिलमान राजभण्डारी समेत निवेदक साँहिला भन्ने प्रेमबहादुर श्रेष्ठ विपक्षी भएको नि.नं. ६८६ को घर भत्काई पाउँ भन्ने मुद्दामा पुनरावेदनको अनुमति प्रदान भई आदेश भएको यस मुद्दामा पनि पुनरावेदनको लागि अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासबाट मिति २०४४।८।१० मा भएको आदेश ।
१२. यसमा गुठी संस्थानले कारवाही गरेको फाइल झिकाई गुठी संस्थानलाई पेशीको सूचना दिनु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासबाट मिति २०४६।७।३० मा भएको आदेश ।
१३. यसमा प्रतिवादी मध्येका प्रेम श्रेष्ठ समेतलाई रोहवरमा राखी छलफल गर्नु पर्ने देखिँदा निजलाई झिकाउनु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासबाट मिति ०४७।१।९ मा भएको आदेश ।
१४. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा प्रतिवादी पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरिहर दाहालले भैरवबहादुरको सम्पूर्ण जग्गा सडकमा परिसकेको छ र निजले क्षतिपूर्ति समेत बुझी सक्नु भएको छ । अब भैरवबहादुरको जग्गा नै छैन र जग्गा दर्ता समेत छैन । २०३१।१।२८ को कागज रजिष्ट्रेशन पास भएको छैन । त्यस्तो कागजले मेरो पक्षलाई असर पार्न सक्दैन अतः एवं खिचोला गरेको भन्ने क्षेत्रीय अदालतको फैसला उल्टी हुनुपर्छ भन्ने तथा विपक्षी वादी मिश्री र नारायणका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले विपक्षीले भैरवबहादुरको जग्गा छैन मुआब्जा बुझी सकेको भन्नु हुन्छ तर सो होइन कारण कि.नं. ४४ बाट कित्ताकाट हुँदा कि.नं, ८७ मा भैरवबहादुर मोही भनी लेखिएको छ । नक्सामा यसरी भोग छ भनिएकोमा विपक्षीले सो होइन भनी जिरह गर्न सकेको छैन । अब अहिले कोरा बन्दी गरी ०३१।१।२८ मा मन्जूर गरेको कागजलाई मेरो पक्षलाई नबुझी कि.नं. ८६ र ८७ कित्ताकाट गरेको मिलेको छैन । कित्ताकाट हुँदा कि.नं. ८६ मा आफू दिलमान, गम्भीरमान लेखाउने र कि.नं. ८७ मा मात्र मोही भैरब भन्न मिल्दैन । मोही दुवै कित्तामा भएकोले क्षेत्रीय अदालतले गरेको इन्साफ सदर होस भनी बहस प्रस्तुत गर्नु भयो ।
१५. प्रस्तुत मुद्दामा म.क्षे.अ. को इन्साफ मिले नमिलेको के रहेछ हेरी निर्णय दिनु पर्ने हुन आयो ।
१६. यसमा गुठी संस्थानको ०३९।९।११ को पत्रानुसार कि.नं. ४४ बाट कित्ताकाट गरी कि.नं ८६ मा दिलमान र गम्भीरमानको नाउँमा कित्ता कायम गरेको र कि.नं. ८७ मा शिवमान, गजेन्द्रमानको नाउँमा कित्ता कायम गरी मोहीमा भैरवबहादुरको नाउँ उल्लेख भएको पाइन्छ । उक्त कि.नं. ४४ को साविक जग्गा तीन भाग लगाई गुठीमा तिरो तिरान भई आएकोमा विवाद देखिन्न । यस्तो कि.नं. ४४ को जग्गा वादी समेत तीन जनाले भोगी चर्ची आएकोमा यी वादीहरुलाई राखी कित्ताकाट गरेको देखिँदैन, सम्बन्धित जग्गामा हकभोग पुग्ने सबैको रोहवरमा कित्ताकाट नगरी निज वादीहरुको अनुपस्थितिमा कित्ताकाट गरी दिलमान र गम्भीरमानको नाउँमा दर्ता गरेको समेत मिलेन । ०३१।१।२८ मा जग्गा के कसरी भोग गर्ने हो । सो बारे कागज भएको छ सो कागज बन्दोवस्त सम्बन्धी भोगसम्मको कागज हुँदा पास हुने स्थिति छैन । २०३१।१।२८ का कागजलाई प्रतिवादीले जालसाजी कीर्ते भन्न सकेको देखिँदैन । अतएव उक्त २०३१।१।२८ को कागज बमोजिम भोगाधिकार भएको कुरामा विवाद नदेखिँदा कित्ताकाट गर्ने गरेको निर्णय र सो बमोजिम दर्ता गर्ने गरेको कार्य समेत बदर भई वादी दावी बमोजिम वादी दावीको जग्गामा प्रतिवादीहरुले खिचोला गरेको ठहर्याएको बा.अं.अ. को इन्साफ मनासिब ठहराएको म.क्षे.अ. को इन्साफ मनासिब ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.प्रचण्डराज अनिल
इति सम्वत् २०४७ साल आषाढ २२ गते रोज ६ शुभम् ।