निर्णय नं. ७९२० - अंश चलन ।

निर्णय नं.७९२० ने.का.प. २०६५ अङ्क १
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी
माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
संवत् २०५९ सालको दे.पु.नं.– ९३२३
फैसला मितिः २०६४।९।४।४
मुद्दाः– अंश चलन ।
पुनरावेदक प्रतिवादीः का. जि. का. म. न. पा. वडा नं. १५ डल्लु वस्ने वुद्धरत्न खड्गी समेत
विरुद्ध
प्रत्यथी वादीः ऐ. ऐ. वस्ने भनि लेखेको धर्म खड्गी
शुरु फैसला गर्नेः–
मा.न्या. दिपककुमार कार्की
पुनरावेदन फैसला गर्ने
मा.न्या.वैद्यनाथ उपाध्याय,
मा.न्या.गोविन्द कुमार श्रेष्ठ
§ अंशियारको सम्बन्धमा नातामा बिवाद नभए पछि वादीले अंश पाउनु पर्ने कुरालाई कानून वमोजिम प्राप्त जन्मसिद्ध हक अधिकारको रुपमा लिनु पर्ने ।
§ कुनै पनि व्यक्तिले कानून प्रतिकूल अंशियारबिहिन हुनुपर्ने वा पटक पटक अंश पाइरहने भन्ने स्थिति स्वीकार्य नहुने ।
§ अंशमा दावी गर्ने पक्षले आफु अंशियार भएको नाता सम्बन्धमा र अंश नपाएको कुरा स्थापित गर्नु पर्दछ भने अंश पाइसकेको भनी प्रतिवाद गर्ने पक्षले सगोलको सम्पत्तिबाट कुनै सम्पत्ति वादीले पाएको भए वादीले के कुन मितिमा के कुन सम्पत्ति के कुन रुपबाट प्राप्त गरेको हो, सो सम्पत्ति वादीको हकभोग स्वामित्वमा आएको वा निजले बिक्री व्यवहार दान दातव्य वा अरु कारणबाट हाल निजको जिम्मामा नरहेको वा हक स्वामित्व समाप्त भएको भनी पुष्ट्याई गर्नुपर्ने ।
§ अंशबण्डा भएको लिखत प्रमाण व्यवहार भोग समेतबाट देखिने हुनु पर्छ, प्रतिवादीको नाममा धेरै कित्ता जग्गा छ, तर वादीको नाममा एक कित्ता पनि दर्ता नामसारी नभएको परिप्रेक्ष्यमा अंशबण्डा भैसकेको ठहराउन न्यायोचित नहुने ।
(प्रकरण नं.२५)
पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारी
प्रत्यर्थी वादीका तर्फबाटः विद्वान अधिवक्ताहरु कोमल प्रकाश घिमिरे, द्वारिकामान जोशी र भ्रमण श्रेष्ठ
अवलम्वित नजीरः ने.का.प.२०५०, निर्णय नं.४७४२, पृष्ठ २६९
फैसला
न्या.कल्याण श्रेष्ठः पुनरावेदन अदालत पाटनको मिति २०५८।१०।८ को फैसला उपर प्रतिवादीको तर्फबाट परेको मुद्दा दोहोर्याई पाऊँ भन्ने निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) अनुसार यस अदालतबाट निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :–
२. स्व. माने खड्गीको दुई भाई छोराहरुमा जेठो म फिरादीका पीता वेखालाल खड्गी र कान्छो विपक्षी प्रतिवादीहरुको पति पिता वेखारत्न खड्गी हुन् । मेरो पिताको २००६ सालमा मृत्यु भएको, विपक्षीका पिता पतिको २०४५ सालमा मृत्यु भयो । मेरो वावुको म एक मात्र सन्तान हुँ । वावुको मृत्यु भएको २ वर्ष पछि आमाले मलाई मेरो वावुको घरमा छाडी अन्य व्यक्तिसंग विवाह गरि जानुभयो । मेरो वाल्यकाल कान्छा वावु वेखारत्न खड्गीकै रेखदेखमा वित्यो । विपक्षीहरुले मलाई घरमा वस्न नदिएकोले डेरा गरी वसेको छु । मेरो वावुको अंश भाग मलाई दिनु पर्यो भन्दा तलाई हामीले अंश दिनुपर्ने होइन भनी विपक्षीहरुले अन्याय गरे । वण्डा गर्नुपर्ने सम्पूर्ण चल अचल विपक्षीहरुकै जिम्मा छ । मेरा वावु र विपक्षीहरुको वावु बीच हाल सम्म वण्डा भएको छैन र मेरा जिम्मा कुनै सम्पत्ती छैन । मेरो अंशहकमा असर पर्ने गरी विपक्षीहरुले कुनै प्रमाण पेश गरेमा अ.वं.७८ नं. वमोजिम वयान गर्ने हक सुरक्षीत गरी मेरी आमा सानीनानी खड्गीलाई अ. वं.१३९ नं. वमोजिम वुझिपाउँ । कान्छा वावुको मृत्यु पछि मैले अंश पाउने सम्पत्ति विपक्षीहरुले आ–आफ्नो नाममा नामसारी गरेका छन् त्यसबाट मेरो अंश लाग्ने स्वतः सिद्ध छ । अतः विपक्षीहरुबाट अंश गर्नुपर्ने सम्पत्तिको फाँटवारी लिइ जेठो मेरो वावु स्व. वेखालाल खड्गी र कान्छो विपक्षीहरुको पिता पती वेखारत्न खड्गी २ भाईका २ अंशियार कायम गरि स्व. वेखालाल खड्गीको अंश खाने म एकमात्र भएकोले १ भाग दिलाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।
३. हामीहरुका ससुरा वाजे जिवित रहेकै अवस्था २००० सालको वडा दशैमा हामीहरुका जेठाजु जेठा बाबु वेखालाल र हामिहरुका पति पिता वेखारत्न छुट्टी भिन्दा भिन्दै हुँदा चल सम्पत्ति हात हातमै वुझेको अचल सम्पत्ति कुनै नभएको हुँदा तत्काल कुनै अचल सम्पत्ति वण्डा गर्नुपर्ने स्थिति नै थिएन । वेखालाल खड्गीको मृत्यु पश्चात विपक्षी हामी संगै वसेको भन्ने झुट्टा हो । विपक्षीले हामी हरुका पति पिता जीवितै छदै अंश माग गरेको एवं उहाँको परलोक पश्चात हामीसंग अंशमाग गरेको छैनन् । हामीहरुले अंश दिनुपर्ने समेत होइन । निजलाई हामीले चिने जानेको पनि छैन । निज अंशियारा हो भन्ने प्रमाण पुर्याउन सकेको छैन । अतः हामीहरुका पिता पति २००० सालमै छुट्टी भिन्न भै आ–आफ्नो खति उपति गरी आएकोमा पचास वर्ष पछि हामीहरुसंग अंश माग दावी गरेको विपक्षीको फिराद अ.वं.८२ नं. समेतको आधारमा खारेज गरी दावीबाट फुर्सद दिलाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुको संयुक्त प्रतिउत्तर पत्र ।
४. वादी प्रतिवादी बीच हालसम्म अंशवण्डा भएको छैन । धर्मखड्गीको नाममा कुनै सम्पत्ति छैन । यिनीहरु भाई भाईका छोराहरु हुन् । भाई भाई वीच अंशवण्डा हुनुपर्ने हो भन्ने समेत व्यहोराको वादीका साक्षी कृष्णमाया गिरीको वकपत्र ।
५. वादी प्रतिवादी २००० सालतिर भिन्नै वसेका थिए र सो समयमा आ–आफ्नो सम्पत्ति लिएर छुट्टै वसेका हुन यी वादीले प्रतिवादीबाट अंश पाउने हैन भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी एस. पि. श्रेष्ठको वकपत्र ।
६. यसमा फिरादपत्रको प्रकरण (५) मा उल्लेख भएकी सान्नानी खड्गीलाई फिरादपत्रको प्रकरण १ मा उल्लेखित वतनमा म्याद जारी गरि अ.वं.१३९ नं. वमोजिम वुझी पेश गर्नु भन्ने काठमाडौं जिल्ला अदालतको आदेश ।
७. वादी र प्रतिवादी वीच नातामा मुख मिलेकै देखिएको र २००० सालमा नै वादीका पिता र प्रतिवादीहरुका पति पिता वीच अंश भइसकेको भन्ने जिकिर लिएकोमा सो कुराको प्रमाण प्रतिवादीहरुबाट पेश हुन नसकेबाट यी प्रतिवादीहरु एकासगोलका अंशीयार भई वादीले अंश पाउने नै देखिदा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी वादी प्रतिवादीबाट अंशको तायदाती फाँटवारी लिइ,नपुग कोर्ट फी वादीबाट लिई परस्परमा सुनाई जग्गाको दर्ता समेत वुझी पेश गर्नु भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतको आदेश ।
८. प्रतिवादीले १९९९।४।४ मा भिन्न भै वण्डापत्र भएको र रसिद थान ४ समेत अ.वं.७७ (५) वमोजिम प्रमाण लगाई पाउँ भनी फोटोकपीहरु राखी ०५७।५।१२ मा निवेदन दिएको र उक्त लिखतहरु प्रमाणमा लिइनु पर्ने वहस दावी समेत हुँदा फाँटवारी लिने आदेश भैसकेको भएतापनि प्रतिउत्तरमा २००० सालको वडा दशै देखि भिन्न भएको जिकिर रहेको र माइती पट्टीका इष्टमित्रका घरमा लिखत रहेको फेला परेको देखाएको हुँदा उल्लेखित कागजातहरु अ.वं.७७ (५) वमोजिम प्रमाणमा लिइ प्रतिवादीबाट सक्कलै लिखत दाखेल गराई अ.वं.७८ नं. वमोजिम वादीलाई देखाई सुनाई नियमानुसार पेश गर्नु भन्ने काठमाडौं जिल्ला अदालतको आदेश।
९. मिति १९९९।४।४ को वण्डापत्र, नं. ६४५ को पोत रसीद, नं. ६४४ को रसीदथान २, नं. ६४५ हाल नं. २७२७ उल्लेख भएको थान १ समेत ५ थान सक्कल लिखतहरु पढी वाची सुनाउदा सुने हेरे देखे वयान गर्न पक्षसंग सोधपुछ गरी वयान गर्ने हुँदा समय पाउँ भन्ने वादी वारेश को वयान भै पुनः बयान गर्दा घरसारको वण्डा लिखत, सम्पूर्ण रसिद सवै जालसाजी किर्ते हुन भन्ने समेत अ.वं.७८ नं.वमोजिम वादीले गरेको वयान ।
१०. उक्त लिखतहरु सवै सद्धे साँचा हुन । सद्दे लिखतलाई किर्ते जालसाजी भन्ने वादीलाई नै सजाँय गरिपाऊँ भन्ने समेतको प्र.वा.ले.अ.वं.७८ नं.वमोजिम गरेको वयान ।
११. वादीले अंश पाइसकेको भन्न कुन कुन सम्पत्ति पाएको हो प्रतिवादीले देखाउन सकेको छैन । व्यवहार प्रमाणबाट वण्डा भैसकेको मान्न जग्गा छुट्टा छुट्टै दर्ता भएको , भोग विक्रि व्यवहार छुट्टा छुट्टै हुनुपर्छ सो भएको छ भन्ने पनि प्रतिवादीले भन्न सकेको पाइएन । यस्तो अवस्थामा वादीले अंश पाइसकेको भन्न कानूनसंगत देखिएन । वादीले प्रतिवादीबाट अंश पाउने नै देखिन्छ । फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी तायदातीमा उल्लेखित जग्गा समेत वण्डा लाग्ने देखिन आयो । ०५७।५।१२ को लिखतहरु प्रमाण लाग्ने अवस्थाको नदेखिदा किर्ते जालसाजी हो, होइन हेर्नु पर्ने देखिएन । घर जग्गा समेतको तायदातीमा उल्लेख सम्पूर्ण सम्पत्ति बाट २ भागको १ भाग अंश वादीले पाउने ठहर्छ भन्ने समेतको शुरु काठमाडौं जिल्ला अदालतको मिति २०५७।७।१६ को फैसला ।
१२. मिति १९९९।४।४ मा वण्डा भएको र वण्डा पारीत गर्नुपर्ने कानूनी प्रचलन नहुँदा वण्डापत्र पारीत सम्म हुन नसकेको हो । उक्त वण्डापत्र जिवित छउन्जेल अंश नपाउने विपक्षीलाई अंशदिने ठहर्याएको फैसला वदर भागी छ । यी वादीका पिता र हाम्रा पितासंग लेनदेन कारोवार भएको प्रमाण सुरक्षित छ । एका सगोलमा भएको भए लेनदेन कारोवार गर्नुपर्ने थिएन । ५३ वर्ष सम्म अंश दावी नगरी विपक्षी कहाँ के गरी वसेका थिए खुल्दैन । १९९९ सालको वण्डाको लिखत तत्काल प्राप्त नहुँदा प्रमाण लगाई पाउँ भनि दिएकोमा प्रमाणमा नलगाई फैसला भएको छ । अत अंश पाइसकेको विपक्षीलाई अंश दिलाउने गरी भएको शुरु फैसला वदर गरी न्याय पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको तर्फबाट पुनरावेदन अदालत, पाटनमा दायर भएको पुनरावेदन पत्र ।
१३. यसमा मिसिल संलग्न मा.पो.का. कलंकीबाट प्राप्त लगतबाट वादीका पिता र प्रतिवादीका पति पिताको नाममा छुट्टा छुट्टै लगत देखिएकोले शुरुको फैसला नमिली फरक पर्ने हुँदा छलफलको लागी अ.वं.२०२ नं.तथा पु.वे.अ. नियमावली २०४८ वमोजिम विपक्षी झिकाई आए वा अवधि नाघेपछि पेश गर्नु भन्ने पुनरावेदन अदालत, पाटनको मिति ०५८।५।१५ को विपक्षी झिकाउने आदेश ।
१४. विपक्षीहरुको पुनरावेदनपत्र गैरकानूनी अन्यायीक एवं स्थापित कानूनी सिद्धान्तहरुको वर्खिलाप भएको हुँदा विपक्षीहरुको पुनरावेदनपत्र खारेज गरिपाऊँ भनी वादीले उपस्थित हुन आएको निवेदन पत्र ।
१५. यसमा मिति १९९९।४।४ मा भएको भनेको घरसारको वण्डापत्रमा उल्लेखित जग्गा मध्ये सो लिखत भिडी कुन कुन कित्ता कायम भई कसका नाउँमा नापी दर्ता भै कुन कुन कित्ता कायम भएका छन् अ.वं.१३३ नं. वमोजिम पुनरावेदक प्रतिवादीबाट कागज गरी खुलाउन लगाई नियमानुसार गरी पेश गर्नु भन्ने व्यहोराको पुनरावेदन अदालत, पाटनको मिति ०५८।९।१८ को आदेश ।
१६. १९९९।४।४ मा भएको वण्डापत्र वमोजिम हाम्रा पिता वेखारत्न कसाइले दाता गणेशमान श्रेष्ठसंग १९९६।६।६ र.नं.६२३ को ल.नं.४३३ पोता लगतबाट क्षे.फ.०–६–० किनी लिएकोमा सोबाट अंशवण्डा भै पछि जग्गा नाप जाँच हुँदा का.न.पा.वडा नं.३ को कायमी कि.नं.३३ सो कि.नं.३३ कित्ताबाट भै कि.नं.५९० कायम छ वण्डा लाग्ने होइन । ल.नं.१७२९ पोता लगत नं.२९४ उल्लेख भएको जग्गा का.न.पा.वडा नं.साविक ३ कि.नं.५ मा नाप जाँच भै क्षे.०–७–० कायम भै हाम्रा पीता बेखारत्न खड्गीका नाममा मोहीयानी नामसारी भै आएको र जग्गा धनीले दर्ता प्रमाणित गरी सकेको देखिदैन भन्ने समेत व्यहोराको अ. वं. १३३ नं. वमोजिम प्रतिवादीको कागज ।
१७. छुट्टी भिन्न भैसकेको, दर्ता फुटी अंशियारा सवैको भागमा नरम गरम मिलाई दर्ता भएको, तिरो भाग भएको समेतका प्रमाणको अभावमा वादी प्रतिवादी वीच अंशवण्डा भैसकेको छ भन्न नमिल्ने हुँदा शुरु जिल्ला अदालतले दावी वमोजिम २ भागको १ भाग अंश वादीले पाउने गरेको फैसला मिलेकै हुँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको फैसला ।
१८. १९९९।४।४ को घरसारको वण्डापत्र तथा विपक्षीका पिता तथा हामीहरुका पिता समेतका नाममा छुट्टाछुट्टै दर्ता रहेको पोता रसिद एवं रैकर परीणतको रसिद समेतका प्रमाणहरु साथै राखी निवेदन गरेकोमा उक्त प्रमाणलाई प्रमाणमा लिने गरी काठमाडौं जिल्ला अदालतबाट ०५७।५।२३ मा आदेश भएको थियो । सो वण्डा वमोजिम आफ्नो आफ्नो भाग भोगको आफ्नो आफ्नो नाममा दाखेल खारेज दर्ता भएको प्रमाण विपक्षीको वावु वेखालाल खड्गीको नाममा सुख्खाबाट खेत पोता नं.६६४ को पोत दर्ता विद्यमानता र त्यसैलाई हा.नं.१७२८ मा निजको नाममा रैकर परिणत दर्ता भएकोले पुष्टी गरेको छ । वेखारत्नको नाममा दर्ता भएको जग्गा समेत हाम्रा पिताले जेठा वावु र काकाको भाग २००२।४।८।२ को घरसारको लिखतलाई ऐ. ९ गते पारीत गरी निजहरुको भागहरु जति छोडपत्र गरिदिएको प्रमाण पुनरावेदन अदालतमा निवेदन साथ पेश गरेका छौं । विपक्षीका पिता र हाम्रा पिताको समेत छुट्टा छुट्टै पोत दर्ता एवं रैकर परिणत दर्ता समेत भएकोबाट अंशवण्डाको ३० नं. वमोजिम वण्डा भएको स्थापित भएको छ । जिल्ला अदालतमा पेश गरेको घरसारको १९९९ सालको वण्डापत्र र पुनरावेदन अदालतमा २००२।४।९ को छोडपत्रको कुनै प्रमाण नलगाई फैसला भएको छ । कस्ले पाएको अंश हाल नापीमा कस्को नाममा दर्ता भयो वा एकाको अंश भागको जग्गा सम्पत्ति अर्काकोमा गयो वा गएन भनि हेरिने होइन । अंशवण्डाको ३० नं. को परीप्रेक्ष्यमा ठहर निर्णय हुनुपर्ने अवस्था छ । सर्वोच्च अदालतबाट दानालाल मण्डल धानुक समेत विरुद्ध सियालाल मण्डल धानुक भएको अंश मुद्दामा प्रतिपादित सिद्धान्त विपरीत फैसला भएको हुँदा न्याय प्रशासन ऐन २०४८ को दफा १२(१)(क) (ख) अन्तर्गत मुद्दा दोहर्याई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुको यस अदालतमा परेको निवेदन ।
१९. यसमा संवत १९९९ सालको घरसारको लिखत र २००२ साल श्रावण ९ गतेको पारीत लिखतबाट यी पक्ष विपक्षहरु वीच घरसार मै वण्डा भई वेग्ला वेग्लै दर्ता भएको देखिएको र त्यसरी आ–आफ्नो खति उपति आफैले व्यहोर्ने हिसावले छुट्टिइ वसेको देखिनेमा शुरुले अंशवण्डा हुने ठहर्याएको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको मिति ०५८।१०।८ को फैसलामा अंशवण्डाको ३० नं. को त्रुटी विद्यमान देखिदा न्याय प्रशासन ऐन २०४८ को दफा १२(१) को खण्ड (क) वमोजिम प्रस्तुत मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ भन्ने मिति २०५९।२।२१ को यस अदालतको मुद्दा दोहोर्याई हेर्ने निस्सा आदेश ।
२०. नियम बमोजिम मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान बरिष्ठ अधिवक्ता श्री बसन्तराम भण्डारीले २००२ सालको पारित छोडपत्रको लिखत र १९९९ सालको घरसारको बण्डापत्र समेतका व्यवहार प्रमाणबाट वादीले अंश पाइसकेको अवस्थामा पुनः अंश पाउने ठहर गरेको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला मिलेको नहुँदा बदर हुनु पर्छ भनी बहस गर्नु भयो । प्रत्यर्थी वादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरु श्री कोमल प्रकाश घिमिरे, श्री द्वारिकामान जोशी र श्री भ्रमण श्रेष्ठले वादीको जिम्मामा अंश वापतको कुनै पनि सम्पत्ति प्राप्त भएको अवस्था छैन । वादीको आमाले २०१५ सालमा वादीलाई प्रतिवादीको जिम्मा लगाएको अवस्थामा सो भन्दा अगावै भएका भनेका कागजबाट अंश पाएको भन्न सकिने अवस्था छैन । वादी दावी वमोजिम अंश पाउने ठहर गरेको शुरु फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला कानून अनुरुप कै हुँदा सदर हुनु पर्छ भनी बहस गर्नु भयो ।
२१. उपर्युक्त विद्वान कानून व्यवसायीहरुको बहस जिकिरलाई दृष्टिगत गरी मिसिल संलग्न कागजात अध्ययन गरी हेर्दा पुनरावेदन अदालत, पाटनले गरेको फैसला मिलको छ वा छैन ? भन्ने सम्बन्धमा निणर्य गर्नुपर्ने देखिन आयो ।
२२. निणर्य तर्फ विचार गर्दा बण्डा गर्नुपर्ने सम्पूर्ण सम्पत्ति बिपक्षीको जिम्मामा रहेको र हाल सम्म अंशबण्डा नभएकोले अंशबण्डा गरिपाऊँ भन्ने फिराद दावी र वादीका पिता बेखालाल र हामीहरुका पति पिता बेखारत्नका बीचमा २००० सालमा नै छुट्टि भिन्न भै सकेको हुँदा फिराद खारेज गरिपाऊँ भन्ने प्रतिउत्तर जिकिर रहेको प्रस्तुत मुद्दामा वादी दावी वमोजिम २ भागको एक भाग अंश वादीले पाउने ठहर गरेको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसला उपर प्रस्तुत पुनरावेदन पर्न आएको देखिन्छ ।
२३. प्रस्तुत मुद्दामा मूल पूर्खा माने खड्गीका छोराहरु बेखालाल, बेखामान र बेखारत्न भएको र बेखालाल तर्फका छोरा वादी धर्म खड्गी र बेखारत्न तर्फका पत्नी प्रतिवादी नानीमाया, छोराहरु बुद्ध र न्हुच्छे भएकोमा कुनै बिवाद देखिएन । वादी प्रतिवादीहरु बीच नाता सम्बन्धमा कुनै बिवाद पनि रहेको पाइएन । अव वादी प्रतिवादीहरु बीच अंशबण्डा भए नभएको तर्फ विचार गर्दा वादीले अंशबण्डा नभएको भनी दावी गरेको र प्रतिवादी तर्फबाट १९९८ सालमा घरसारमा बण्डा भएको, २००० साल देखि छुट्टि भिन्न भै बसेको र २००२ सालको पारित लिखतबाट बण्डा भैसकेको भनी प्रतिवाद गरेको र यस अदालतबाट पनि सोही आधारमा मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरेको अवस्था मिसिलबाट देखिन्छ ।
२४. प्रतिवादी बुद्ध खड्गीले पुनरावेदन अदालतमा पेश गरेको निवेदनमा संलग्न राखेको २०१५ साल आषाढ ३१ गते वादीकी आमा साननानी खड्गीले गरेको कागजको प्रतिलिपि हेर्दा वादीका बाबु बेखालालको मृत्यु पछि निज आमा अन्यत्र बिवाह गरी गएकी र नावालक यी वादीलाई प्रतिवादीहरुका बाबु बेखारत्नलाई जिम्मा लगाएको अवस्था देखिन्छ । प्रतिवादीहरुले जिकिर लिएको मिति २००२ सालको पारित बण्डा पत्रबाट वादीले अंश पाएको भनेको जग्गा कि.नं.५९० मा प्रतिवादी मध्येकै नानीमायाका नाममा दर्ता कायम भएको अवस्था देखिन्छ । यसबाट पुनरावेदकले जिकिर लिएको पारित बण्डापत्र कार्यान्वित नभएको भन्ने स्थिति देखिन आउँछ ।
२५. अंशियारको सम्बन्धमा नातामा बिवाद नभए पछि वादीले अंश पाउनु पर्ने कुरालाई कानून वमोजिम प्राप्त जन्मसिद्ध हक अधिकारको रुपमा लिनु पर्ने हुन्छ । कानून प्रतिकूल कुनै पनि व्यक्तिले अंशियारबिहिन हुनुपर्ने वा पटक पटक अंश पाइरहने भन्ने स्थिति स्वीकार्य हुँदैन । अंशमा दावी गर्ने पक्षले आफू अंशियार भएको नाता सम्बन्धमा र अंश नपाएको कुरा स्थापित गर्नु पर्दछ भने अंश पाइसकेको भनी प्रतिवाद गर्ने पक्षले सगोलको सम्पत्तिबाट कुनै सम्पत्ति वादीले पाएको भए वादीले के कुन मितिमा के कुन सम्पत्ति के कुन रुपबाट प्राप्त गरेको हो, सो सम्पत्ति वादीको हकभोग स्वामित्वमा आएको वा निजले बिक्री व्यवहार दान दातव्य वा अरु कारणबाट हाल निजको जिम्मामा नरहेको वा हक स्वामित्व समाप्त भएको भनी पुष्ट्याई गर्नुपर्ने हुन्छ । यस्तै बिवाद समावेश भएको अंश मुद्दामा यस अदालतबाट अंशबण्डा भएको लिखत प्रमाण व्यवहार भोग समेतबाट देखिने हुनुपर्छ, प्रतिवादीको नाममा धेरै कित्ता जग्गा छ, तर वादीको नाममा एक कित्ता पनि दर्ता नामसारी नभएको परिप्रेक्ष्यमा अंशबण्डा भैसकेको ठहराउन न्यायोचित नहुने (ने.का.प.२०५० नि.नं.४७४२ पृष्ठ २६९) भनी सिद्धान्त प्रतिपादन भएको देखिन्छ । उक्त कानूनी सिद्धान्त प्रस्तुत मुद्दामा पनि आकर्षित हुने अवस्था देखिन्छ ।
२६. प्रस्तुत मुद्दाका वादीलाई निजकी आमाले मिति २०१५।३।३१ मा प्रतिवादीका बाबुलाई नावालक अवस्थामा लिखत गरी जिम्मा लगाएको, प्रतिवादीले जिकिर लिएको मिति २००२ सालको पारित बण्डापत्रबाट वादीका बाबुले प्राप्त गरेको भनेको सम्पत्ति प्रतिवादी नानीमैयाका नाममा दर्ता कायम भएको देखिएको, वादीले प्राप्त गरेको अंश भागको सम्पत्ति वादीका नाममा दर्ता कायम भएको र वादी पक्षले त्यस्तो सम्पत्ति भोग बिक्री व्यवहार गरेको भनी प्रतिवादीले आफ्नो जिकिर पुष्टि गर्न नसकेको समेतका आधारमा हेर्दा यी वादीले अंश पाइसकेको भनी मान्न मिलेन । उपरोक्त कारणहरुले १९९९ सालको घरसारको लिखत र २००२ सालको पारित लिखतको आधारमा अंशबण्डा भईसकेको भनी मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गर्दा लिइएको आधारसंग सहमत हुन सकिने अवस्था भएन ।
२७. तसर्थ माथि बिवेचित सबूद प्रमाण र कानूनी सिद्धान्त समेतका आधारमा वादीले दावी वमोजिम २ भागको १ भाग अंश पाउने ठहर गरेको शुरु जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०५८।१०।८ को फैसला मिलेको देखिंदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । फैसलाको जनाउ दुबै पक्षलाई दिई प्रस्तुत मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.राजेन्द्रकुमार भण्डारी
इति सम्बत २०६४ साल पौष ४ गते रोज ४ शुभमः–––––––––––––––––––––––
शाखा अधिकृतः– श्याम भट्टराई