निर्णय नं. ७९२१ - अंश ।

निर्णय नं.७९२१ ने.का.प. २०६५ अङ्क १
सर्वोच्च अदालत, सयुक्त इजलास
माननयि न्यायाधीश श्री शारदा श्रेष्ठ
माननीय न्यायाधीश श्री ताहिरअलि अंसारी
सम्वत् २०६२ साल को दे.पु.नं ९४१५
फैसला मितिः २०६४।१२।५।४
मुद्दाः–अंश ।
पुनरावेदिका वादीः का.जि.का.म.न.पा वडा.नं ४ धुम्वराही वस्ने डा. पुष्करराज पाण्डेकी श्रीमती सविना पाण्डे
विरुद्ध
प्रत्यर्थी प्रतिवादी ऐ.ऐ. वस्ने कृष्णराज पाण्डे समेत
शुरु फैसला गर्नेः
मा.न्या. गिरिशकुमार शर्मा
पुनरावेदन फैसला गर्नेः
मा.न्या. राजेन्द्रप्रसाद कोइराला
मा.न्या. रण वहादुर वम
§ नेपालमा सम्वन्धविच्छेदको उजुरी दायर गर्ने प्रकृया र त्यस पछि अवलम्वन गरिने कार्यविधि समेत अमेरिकी अदालतले आफ्नो क्षेत्राधिकारमा कारवाही गर्दा अपनाएको वा त्यहाँको कानून अनुसार अपनाउनु पर्ने वाध्यता रहेको समेत नपाइदा यस सम्वन्धमा नेपालको कानून र अमेरिकी राज्य ओक्लाहामाको कानूनी व्यवस्था पूर्णरुपले फरक रहेको अवस्थामा नेपालमा रहेको नेपाली नागरिक उपर ओक्लाहामामा सम्वन्धविच्छेद मुद्दा दायर गरी नेपालको कानूनले निर्दिष्ट गरेको आधारहरु भन्दा भिन्न आधारमा सम्वन्धविच्छेद हुने ठहरी ओक्लाहामामा भएको फैसला नेपालमा स्वतः मान्यता प्राप्त गर्न सक्दछ र कार्यान्वयन योग्य छ भन्न नमिल्ने ।
(प्रकरण नं.१२)
§ वादीले अमेरिकी अदालतमा आफ्नो प्रतिनिधित्व गराएको देखिएतापनि निजले सम्वन्धविच्छेद गर्न स्वीकार नगरी प्रतिनिधित्व मात्र गराए वाटै जे निर्णय हुन्छ त्यो मान्छु भनी यी वादीले प्रतिवद्धता देखाएको वा Legally surrender गरेको भनी सम्झन नमिल्ने ।
§ सम्वन्धविच्छेद लगायत विहावारी सम्वन्धी मुद्दा नेपाल कानूनले फौजदारी मुद्दाको श्रेणी भित्र राखेको छ (अ.वं. ९नं.) साथै त्यसको लागि ऐनले नै अवस्था र प्रकृया निर्धारण गरेको अवस्थामा त्यसको विपरीत वा त्यसको अनुशरण नगरी भएको कुनै पनि निर्णय मान्नु वा त्यसको नेपालमा कार्यान्वयन गर्नु नेपाल कानूनको र सार्वजनिक नीति (Public policy) को स्पष्ट उल्लघंन हुन जाने ।
(प्रकरण नं.१३)
§ ओक्लाहामाको अदालतको निर्णयको आधारमा नेपाल कानून बमोजिम व्यक्तिगत घटनाको रुपमा जन्म मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३ द्वारा निर्धारित प्रकृया बमोजिम सम्वन्धविच्छेद दर्ता पनि नभएको र ओक्लाहामाको अदालतले गरेको भनिएको सम्वन्ध विच्छेदको निर्णय प्रस्तुत मुद्दाको सन्दर्भमा अस्तित्वहीन (Nonexistent) भएकोले वादी र प्रतिवादी वीचको सम्वन्धविच्छेद हुँदै नभइ यी दुई वीच कायमै रहेको हुँदा प्रस्तुत अंश मुद्दाको प्रयोजनका लागि समेत वैवाहिक सम्वन्ध कायमै रहने ।
(प्रकरण नं.१५)
पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री शम्भु थापा, इश्वरीप्रसाद भटृराई
प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री राधेश्याम अधिकारी, विद्वान अधिवक्ताहरु श्री पवनकुमार ओझा, अम्वरप्रसाद पन्त, प्रकाश राउत र भरत खरेल
अवलम्वित नजीरःने.का.प.२०२९, निर्णय नं.७०८, पृष्ठ ३६६
फैसला
न्या.ताहिरअलि अन्सारीः न्याय प्रशासन ऐन,२०४८को दफा ९ वमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण र तथ्य यस प्रकार छ :-
प्रतिवादी मध्येका डा.पुष्कराज पाण्डेसंग कुल रीत परम्परा अनुसार मिति २०५३।८।२८मा म फिरादीको विवाह काठमाडौंमा सम्पन्न भइ हाम्रो वैवाहिक जीवन प्रारम्भ भएको थियो । तत् पश्चात विपक्षी पतिको समेत सल्लाह साथ लागि म पनि न्यूयोर्क फर्कि डेरामा पति पत्नीको हैसियतले जीवन निर्वाह गर्न थाल्यौं । म फिरादीको सहयोग र सहमती समेतवाट संयुक्तराज्य अमेरिकाको ओक्लाहामा भन्ने ठाउँको गलअलपट इण्डियन हेल्थ फेमिली हस्पिटलमा पतिले चिकित्सकको नोकरी पाए पछि न्यूयोर्कवाट उक्त नयाँ ठाउँमा गइ वस्न थाल्यौं । पतिले सान्फ्रांसिस्को भन्ने शहरमा एम. डि. को जाँच दिन जान्छु भनेकाले एक्लै वस्न सुरक्षित हुन्न भनि मलाई फकाइ निज पतिले वासिङगटन डि.सी.मा कार्यरत मेरो दाजु कहाँ निज पति नफर्किउन्जेलका लागि पठाई दिनु भयो । दुइ हप्तामा जाँच सकी तिमीलाई वोलाउँछु भनि गएका विपक्षी पतिले ओक्लाहमा फर्केर आई सकेपछि पनि वोलाउनु भएन । विवाह भएको १ वर्ष पनि नपुग्दै हेला गरी शिक्षित प्रतिष्ठित विपक्षीहरुले मलाई विदेशमा लगी एक्लै छाडी लालनपालन गर्नु त परै जावस खोज खवर समेत नगरी भोक भोकै छाड्ने वेसहारा पार्ने वदनियतपूर्ण एवं अमानवीय व्यवहार गरी त्यागेको र त्यहाँ वस्नै नसकी विवशतापूर्ण परिस्थितिमा नेपाल फर्कि पतिको घरमा वस्न जाँदा वस्न सम्म पनि नदिएवाट वाध्य भै लोग्ने स्वास्नीको महलको ४ नं बमोजिम हाल मलाई थाहा भए अनुसारको अंशियारहरु विपक्षी ससुरा, सासु, जेठाजु सागर राज पाण्डे, पति डा.पुष्कारराज पाण्डे समेतका ४ व्यक्तिहरुको चार अंशवाट विपक्षी पतिको १ भाग अंश छुटयाई सो वाट मलाई आधा भाग अंश छुटयाई अदालतवाट नै चलन समेत चलाई पाउँ भन्ने समेत व्यहोराको वादी सविना पाण्डेको फिराद पत्र ।
मैले विपक्षीको पालन पोषण हेर विचार नगरेको र मेरो माता पिता समेतको मिलोमतोवाट विपक्षीलाई घर परिवारवाट निकाला गरेको भन्ने फिरादपत्र व्यहोरा विलकुल गलत एवं झुठा हो । मैले विपक्षीलाई खान लाउन नदिइ वेसहारा छाडेको होइन । विपक्षी स्वयंले दाजु कहाँ जान्छु भनी अगष्ट १४, १९९७ मा गै ए अगष्ट २७ मा फकिर्ने गरी फिर्ता टिकट समेत मैले खरीद गरी पठाएको हो र पटक पटक मैले फोन गरी कुरा भएकोले नवोलाएको भन्नु र आफैले टिकट किनी फर्की आए भन्नु सरासर गलत हो । विपक्षीको दावी अनुसार मैले वा मेरो माता पिता समेतको मिलोमतोमा विपक्षीहरुलाई खान लाउन नदिइ निकाला नगरेको र विपक्षी आफू खुसी गएकोले र लोग्ने स्वास्नीको ४ नं. लाग्ने अवस्था समेत नभएकोले फिराद खारेज भागी छ म र विपक्षी आपसमा नमिल्ने भएकोले सम्वन्धविच्छेद गरी पाउन ओक्लाहामा राज्यको पोन्टोटेक काउन्टी जिल्ला अदालतमा यो मुद्दा पर्नु अगाडि नै मैले सम्वन्धविच्छेद निवेदन दिएकोमा विपक्षीको जिकिर समेत पेश भै मुद्दा विचाराधीन भएको समेत सादर अनुरोध छ भन्ने समेत व्यहोराको प्रतिवादी पुष्करराज पाण्डेको प्रतिउत्तर पत्र ।
हामी कसैले पनि विपक्षीलाई खान लाउन नदिई घरवाट निकाला गरेको होइन छैन । हाम्रो काठमाडौंको घरमा विपक्षी जाँदा वस्दा पस्न नदिएको भन्ने कुरा समेत झुठा हो । विपक्षीले फिरादको प्रकरण ३ मा विपक्षी हाम्रो काठमाडौं घरमा वस्न जाँदा हामी अमेरिकामा वसेका र हामीले घरमा वस्न नदिनु भनि नोकरलाई भनेको समेत भनी लेखेको सम्पूर्ण कुरा कपोल कल्पित हो । लोग्ने स्वास्नीको ४ नं.को अवस्था विद्यमान नभएको हुँदा फिराद खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी अम्विका देवी पाण्डेको समेत प्रतिउत्तर पत्र ।
विपक्षीवाट पेश भएको पत्राचारहरु प्रस्तुत मुद्दामा प्रमाण लाग्ने होइन । साथै पत्राचार गोप्य नै रहने भएकाले सार्वर्जनिक गर्न मिल्दैन भन्ने समेत व्यहोराको वादीको वारेशले गरेको ७८ नं. बमोजिम गरेको वयान ।
वादीले दावी बमोजिम अंश पाउनु पर्ने अवस्था हो भन्ने समेत व्यहोराको वादीका साक्षी रिता के सी को वकपत्र ।
अंश पाउनु पर्छ भन्ने समेत व्यहोराको वादीको साक्षी विनय रेग्मीको वकपत्र ।
वादीको दावी झुठ्ठा हो अमेरिकामा नै सम्वन्धमा विच्छेद भै सकेकोले अंश पाउनु पर्ने होइन भन्ने प्रतिवादीका साक्षी भुवेश्वरीको वकपत्र ।
सविना पाण्डेले पेश गरेको भनिएको कागजको फोटो कपी मिसिल सामेल भएको सक्कल कागज नभएकोले सक्कल कागज पेश भएका वखत नामाकरण गर्नेछु । फैसलाको हकमा विदेशी अदालतवाट भएको भनिएको फैसलामा यकीन गर्न कठिनाई परेको हुँदा छुटयाउँन सकिदैन भन्ने समेत व्यहोराको वादीको वारेशको वयान ।
Affidavit मा सविना पाण्डेले मेरो सामुन्नेमा सही गरेको ठिक सांचो हो भन्ने समेत व्यहोराको अधिवक्ता तिलक शम्शेरको वयान ।
वादी र प्रतिवादी पुष्करराज पाण्डे विच अमेरिकाको ओकलाहामा राज्यको पोन्टाटेक काउन्टीको जिल्ला अदालतवाट डि ९८–१३ मा सम्वन्धविच्छेद हुने ठहरी अन्तिम फैसला भएको देखिन्छ । तसर्थ सम्वन्धविच्छेद भै सकेकी स्वास्नीले लोग्नेवाट अंश पाउने कानूनी व्यवस्थाको अभावमा प्रतिवादीहरुवाट अंश दिलाई पाउँ भनि वादीले गरेको फिराद दावी मनासिव मान्न सकिने अवस्था नहुँदा फिराद दावी पुग्न नसक्ने ठहरयाई भएको काठमाडौं जिल्ला अदालतको मिति २०५८।११।२१ को फैसला ।
शुरु जिल्ला अदालतले वादी दावी नपुग्ने ठहर गरेको फैसलामा चित्त वुझेन सो फैसला वदर गरी वादी दावी बमोजिम गरिपाऊँ भन्ने वादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
यसमा नेपाली नागरिकहरुका वीच नेपालमा भएको वैवाहिक सम्वन्धमा विच्छेद मुलुकी ऐन लोग्ने स्वास्नीको महलमा व्यवस्था गरिएको प्रावधान अन्तर्गत मात्र हुन सक्ने भन्ने भएको अवस्थामा विदेशी मुलुकमा प्रचलन भएको ऐन कानून अन्तर्गत विदेशी मुलुकमा भएको सम्वन्धविच्छेदको फैसला लाई आधार मानी वादी दावी बमोजिम अंशमा दावी नपुग्ने ठहर्याएको शुरु काठमाडौं जिल्ला अदालतको इन्साफ फरक पर्न सक्ने देखिदा प्रत्यर्थीहरुलाई छलफलका लागि अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाइ आएपछि नियमानुसार गरी पेश गर्नु भन्ने व्यहोराको पुनरावेदन अदालत पाटनको आदेश ।
प्रतिवादी पुष्करराज पाण्डे र यी वादी सविना पाण्डे वीच अमेरिकाको ओक्लाहामा राज्यको जिल्ला अदालतवाट सम्वन्धविच्छेद हुने गरी सम्वन्धविच्छेद भैसकेकोले यी वादी प्रतिवादीहरुको अंशियार मान्न नमिल्ने हुँदा वादी दावी नपुग्ने ठहरयाई शुरु काठमाडौं जिल्ला अदालतवाट मिति २०५८।११।२१ मा भएको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति २०६०।१०।६ को फैसला ।
विवाह दर्ता ऐन, २०२८ को कानूनी व्यवस्था र व्यक्तिगत घटना दर्ता गर्ने ऐन, २०३३ को दफा ४ को समेत प्रतिकूल छ । हिन्दु कानूनमा आधारित नेपालको मुलुकी ऐन लोग्ने स्वास्नीको कानूनी व्यवस्था अनुसार पुरुष र नारी वीच एक पटक लोग्ने स्वास्नीको सम्वन्ध कायम भएपछि सो सम्वन्धविच्छेद सोही कानूनले निर्धारण गरेको देशको कानून वमोजिम नै सम्वन्धविच्छेद भएको अवस्था विद्यमान देखिंदा उक्त कानूनी व्यवस्थाको विपरीत अमेरिकी कानूनको प्रयोग गरी अमेरिकी अदालतवाट सम्वन्धविच्छेद भैसकेकोले मैले अंश पाउने होइन भनी प्रतिवादीले लिएको पुनरावेदन जिकिरको आधारमा पुनरावेदन अदालत पाटनले मैले अंश नपाउने ठहर गरी गरेको फैसला कानून र न्यायको रोहमा नमिलेकोले सो फैसला उल्टी गरी फिराद दावी बमोजिम फैसला गरिपाऊँ भन्ने समेत व्यहोराको पुनरावेदिका वादी साविना पाण्डेको पुनरावेदन जिकिर ।
नेपालको नागरिकलाई नेपालकै कानूनी व्यवस्था लागु हुने भई लोग्ने स्वास्नीको सम्वन्धविच्छेदको लागि मुलुकी ऐन लोग्ने स्वास्नीको १,१ (क) नं.मा भएको अवस्था र तारिकावाट नै कारवाही चली सम्वन्धविच्छेद हुने कानूनी प्रावधान रहेको देखिन्छ । हाम्रो कानूनमा विद्यमान उपरोक्त व्यवस्था र अन्तरराष्ट्रिय कानूनमा भै रहेको व्यवस्थालाई पनि प्रस्तुत विवादमा विचार गर्न पर्ने हुन्छ । वावु आमा छोरा छोरीहरुको जिय जियैको अंश गर्नुपर्छ भन्ने व्यवस्था अंशवण्डाको १ नं.मा उल्लेख भएको देखिन्छ । कुनै विदेशी नागरिकको सम्पति निजको देशमा र नेपालमा रहेको अवस्थामा नेपालमा रहेको सम्पतिमा नेपालकै कानून वमोजिम निर्णय निरोपण हुने भनी ने.का.प.२०२९, नि.नं ७०८, पृष्ठ ३६६ मा कानूनी सिद्धान्त प्रतिपादन भै रहेको परिप्रेक्ष्यमा वादी दावी नपुग्ने ठहर गरेको शुरुको फैसलामा प्रतिपादित कानूनी सिद्धान्तको त्रुटी विद्यमानता रहेको देखिंदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम प्रस्तुत मुद्दा दोहोरयाई दिने निस्सा प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालतको मिति २०६१।१२।१७ को आदेश।
२. नियमानुसार निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदिकाको तर्फवाट रहनु भएका विद्वान अधिवक्ताहरु श्री शम्भु थापा, श्री इश्वरी प्रसाद भटृराई तथा प्रत्यर्थी प्रतिवादीका तर्फवाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री राधेश्याम अधिकारी, अधिवक्ताहरु पवनकुमार ओझा, अम्वरप्रसाद पन्त, प्रकाश राउत र भरत खरेलले गर्नु भएको वहस समेत सुनियो ।
३. पुनरावेदिकाको तर्फवाट वहस प्रारभ्भ गर्दै वादी र प्रत्यर्थी पुष्करराज पाण्डे वीच हिन्दु विधि अनुसार विवाह भै यी वादी प्रतिवादी वीच मुलुकी ऐन लोग्ने स्वास्नीको महल वमोजिम वैवाहिक सम्वन्ध भए पश्चात निजहरु नेपालवाट अमेरिकाको ओक्लाहामा गएको अवस्थामा मेरो पक्षलाई निज विपक्षी पुष्करराजले उचित हेर विचार र खाने, लाउने प्रवन्धमा समेत हेलचेक्रयाई गरी वेवास्ता गरेकोले त्यहाँ वस्न नसकि नेपालमा आफ्नो घरमा आएर वस्दा समेत घरमा सासु ससुराले खान लाउन नदिई घरवाट निकाला गरी दिएकाले निज वादीले आफ्नो अंश भाग पाउँ भनी शुरु काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा दिई विचाराधीन रहेको अवस्थामा यी वादी प्रतिवादी वीच अमेरिकाको ओक्लाहामा राज्यको अदालतवाट सम्वन्धविच्छेद भै सकेकोले शुरु र पुनरावेदन अदालत पाटनवाट समेत अंश नपाउने गरी भएको फैसला मुलुकी ऐन लोग्ने स्वास्नीको महल एवम् प्रमाण ऐन, २०३१ विपरीत छ अर्काको देशमा भएको सम्वन्धविच्छेदको कुरालाई नेपालमा चलेको अंश मुद्दामा प्रमाणको रुपमा ग्रहण गर्न मिल्दैन । अमेरिकी अदालतको फैसलाले नेपाली अदालतमा विचाराधीन रहेको फैसलालाई प्रभावित गर्न सक्दैन । नेपालको कानून अनुसार विवाह भै लोग्ने स्वास्नीको महल वमोजिम सम्वन्ध कायम रहेका यी वादी प्रतिवादीहरुको सम्वन्धविच्छेद हुँदा नेपालकै कानून अनुसार सम्वन्धविच्छेद हुनु पर्ने हो अलग अलग देशमा कानून लगायत राष्ट्रिय नीति (Public Policy) पनि अलग अलग हुन्छन र आफ्नै मुल्य मान्यतामा आधारित हुन्छन् । विदेशमा भएको मध्यस्थको निर्णय कार्यान्वयन गर्नु वाहेक विदेशी अदालतले गरेको फैसला कार्यान्वयन गर्नु नेपाल कानूनले मिल्दैन । त्यसकारण अमेरिकी अदालतमा वादी प्रतिवादीहरु वीच सम्वन्धविच्छेद भै सकेको भनि यी वादीको अंश पाउँ भन्ने दावी पुग्न नसक्ने ठहरयार्ई शुरु काठमाडौं जिल्ला अदालत र पुनरावेदन अदालतवाट भएको फैसला कानून र न्यायको दृष्टिमा नमिलेकोले सो फैसला उल्टी गरी वादीको दावी वमोजिम अंश दिलाई भराई पाउँ भन्ने समेत वादी तर्फका अधिवक्ताहरुले वहस गर्नु भयो ।
४. प्रतिवादीहरुको तर्फवाट विद्वान अधिवक्ता डा.अम्वर प्रसाद पन्तले सामान्यतया एक देशमा भएको फैसला अर्को देशमा मान्यता प्राप्त गर्दछ । Sanctity of Judgement का लागि पनि त्यो आवश्यक छ । यस वाहेक केही देशहरुमा द्विपक्षीय सहमतीले पनि एक अर्का देशमा भएको फैसलाको सम्मान गर्नु पर्छ । एक देशमा भएको सम्वन्धविच्छेदको निर्णयलाई अर्को देशले मान्यता दिनु भन्दा पहिला सक्षम अदालतवाट भएको हो होइन र प्राकृतिक न्याय विपरीत भएको हो वा होइन भन्ने हेर्ने गरिन्छ । यी वादीलाई अमेरिकी अदालतले वुझेको र वादीले अमेरिकी अदालतमा आफनो प्रतिनिधित्व समेत गराई फैसला भएको हो त्यस कारण सो फैसलालाई मान्यता विहिन गर्न मिल्दैन । राजश्व सम्वन्धी र सजाय दिएको मुद्दामा मात्र आफनो देशको कानून विपरीत भएको विदेशी अदालतको फैसलालाई इन्कार गर्न सकिन्छ । यस्तो सम्वन्धविच्छेद मुद्दाको फैसलालाई जस्ताको तस्तै कार्यान्वयन गर्नुपर्ने हुनाले त्यसलाई प्रमाणको रुपमा ग्रहण गरी जिल्ला र पुनरावेदन अदालतले अंश नपाउने ठहराई गरेको फैसला सदर हुनुपर्छ भन्ने समेत वहस गर्नु भयो ।
५. प्रतिवादीहरुका तर्फवाट विद्वान वरिष्ठ अधिवक्ता श्री राधेश्याम अधिकारी तथा अधिवक्ताहरु पवनकुमार ओझा, प्रकाश राउत र भरत खरेलले वादीलाई प्रतिवादीहरुले खान लाउन नदिई घरवाट निकाला गरेको होइन । नेपाल कानून अनुसार यी वादी प्रतिवादी वीच वैवाहिक सम्वन्ध कायम भए पश्चात अमेरिकाको ओक्लाहामा शहरको हस्पिटलमा नोकरी भयो, निश्चित अवधीका लागि निजहरु अमेरिका गए पश्चात् विपक्षी वादीले अमेरिकामा वस्दा लोग्ने पुष्करराज पाण्डेलाई शारीरिक एव मानसिक पीडा पुरयाएको कुरा मिसिल संलग्न कागज प्रमाणवाट देखिन्छ । वादी प्रतिवादी दुवै पक्ष अमेरिकामा वसोवास गर्दै आएकोले यी वादी प्रतिवादी वीच अमेरिकाको ओक्लाहामा राज्यको जिल्ला अदालतमा सम्वन्धविच्छेद मुद्दा चली २०५५।६।८ मा सम्वन्धविच्छेद हुने गरी फैसला भएको छ । सो फैसला अमेरिकी विदेश मन्त्री कोलिन पावेलको हस्ताक्षर सहितको प्रमाणित प्रतिलिपी वाट स्पष्ट र अकाट्य छ । उक्त सक्षम अदालतवाट भएको फैसला उपर विपक्षी वादीले पुनरावेदन नगरी अन्तिम भएर वसेको छ । नेपालमा वैवाहिक सम्वन्धविच्छेद हुदैन भन्ने होईन । त्यस कारण विदेशको सक्षम अदालतवाट भएको फैसला नेपालमा समेत मान्य हुने अन्तरराष्ट्रिय कानून र मान्यता हुँदा सो फैसलालाई वेवास्ता गरी निज नेपालमा आई आफनो भागको अंश पाउँ भनी लिएको दावी न्याय र कानूनको रोहमा मिलेको नहुँदा वादी दावी पुग्न नसक्ने ठहरयाई शुरु काठमाडौं जिल्ला अदालत र पुनरावेदन अदालत पाटनवाट भएको फैसला मिलेकै देखिंदा सदर हुनु पर्छ भन्ने समेत वहस गर्नु भयो ।
६. दुवै पक्षका विद्वान वरिष्ठ अधिवक्ता र अधिवक्ताहरुको वहस सुनि मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत पाटनले गरेको फैसला मिले नमिलेको के हो र वादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन सो विषयमा निर्णय गर्नुपर्ने देखियो ।
७. यसमा निर्णय तर्फ विचार गर्दा निम्न कुराहरुको निर्णय गर्नुपर्ने देखिन्छ ।
१ संयुक्त राज्य अमेरिकामा भएको भनिएको सम्वन्धविच्छेदको फैसलाले नेपालको कानुन अनुसार मान्यता पाउने हो वा होइन ।
२ वादी र प्रतिवादी पुष्करराज पाण्डे वीच पति पत्नी को नाता कायम छ वा छैन,
३. वादीले प्रतिवादीहरुवाट अंश पाउनुपर्ने हो वा होइन ।
८. पहिलो प्रश्न र यस मुद्दामा सार्वाधिक महत्वपूर्ण विवादको सर्वप्रथम निर्णय गर्नुपर्ने हुन आउँछ । यसको लागि नेपालमा विवाह र सम्वन्धविच्छेद सम्वन्धी कानूनी व्यवस्था अवलोकन गर्दा विहावारीको महलको १ नं.मा “हाडनाता करणीको महलले सजाय हुने नातामा वाहेक यस महलका नम्वर– नम्वरमा लेखिएका कुराका अधिनमा रही आफनो इच्छा अनुसार राजी खुशीले विहावारी गर्न हुन्छ” भन्ने उल्लेख भएको पाइन्छ सोही महलको अन्य नम्वरहरुमा कस्तो संग र कस्तो अवस्थामा विहावारी गर्न नहुने भन्ने वन्देजात्मक कानूनी प्रावधानहरु छन् । तर सोही महलको ७ नं. ले “ लोग्ने मानिस र स्वास्नी मानिस दुवैको मन्जुरी विना विवाह गरी दिन हुँदैन ” भन्ने उल्लेख भए वाट विहावारी गर्न हुने अवस्थाका स्त्री पुरुषले आफनो राजीखुशीले आफनो इच्छा वा आफनो धार्मिक साँस्कृतिक परम्परा अनुसारको प्रकृया वा विधि विधान अपनाई विहावारी गर्न कानूनले अधिकार प्रदान गरेको पाइन्छ यसको अतिरिक्त विवाह दर्ता ऐन, २०२८ को दफा४ मा पनि विवाह हुन सक्ने तीन अवस्थाहरु उल्लेख गरिएको पाइन्छ । सो अनुसार भएको विवाहलाई सोही ऐनको दफा १० अनुसार दर्ता गरिने व्यवस्था छ साथै अन्य प्रकृया वमोजिम पनि भएको विवाहको दर्ता उक्त ऐनको दफा ११ अनुसार हुने व्यवस्था गरिएको छ ।
९. पति पत्नीको वैवाहिक सम्वन्ध कायम रहँदै पति वा पत्नीले अर्को विवाह गर्न पाउँदैन त्यस्तो गरेमा सजायको भागी हुनु पर्ने कानूनी व्यवस्था छ। तर विहावारीको ९नं मा उल्लेखित अवस्थाहरुमा भने लोग्ने मानिसले पहिलो पत्नी जिवित छदै अर्को विवाह गरे सजाय वाट उन्मुक्ति प्रदान गरिएको छ । यस्तै विहावारीको २(९), ४ नं. ५ नं.७ नं. र ८ न का दफाहरुमा उल्लेख गरिएको वन्देजात्मक अवस्थामा गरिएको विवाह वदर हुने व्यवस्था गरिएको छ । सो वाहेक एक पटक वैवाहिक सम्वन्ध कायम भई सकेको पति पत्नीको सम्वन्ध विधिवत, कानून वमोजिमको कार्यविधि अपनाई विच्छेद हुने गरी निर्णय नहुँदा सम्म कायम रहन्छ ।सम्वन्धविच्छेद हुनका लागि लोग्ने स्वास्नीको महलले केही अवस्थाहरु निर्दिष्ट गरेको छ । सो अनुसार लोग्ने स्वास्नीको महलको १ नं.को उपदफा(१)(२) र (३)मा क्रमश लोग्नेले आफ्नो स्वास्नी सिंत सम्वन्धविच्छेद गर्न पाउने आधारहरु, स्वास्नीले आफनो लोग्ने सित सम्वन्धविच्छेद गर्न पाउने आधारहरु र लोग्ने स्वास्नी दुवैको मन्जुरी वाट सम्वन्धविच्छेद गर्न चाहेमा त्यसको कार्यविधि उल्लेख गरिएको छ । उक्त दफा अनुसार पतिले आफनो पत्नी संग सम्वन्धविच्छेद गर्न पाउने अवस्थाहरु निम्न बमोजिम छन ।
१. स्वास्नीले लोग्नेको मन्जुरी वेगर लगातार ३ वर्ष वा वढि समयसम्म लोग्नेवाट अलग वस्ने गरेको
२. स्वास्नीले लोग्नेको ज्यान जाने, अंग भंग हुने वा अरु कुनै ठूलो शारीरीक वा मानसिक कष्ट हुने किसिमको काम वा जाल, प्रपन्च गरेमा ।
३. स्वास्नीलाई निको नहुने यौन सम्वन्धी कुनै रोग लागेमा ।
४. स्वास्नीले पर पुरुषसंग करणी गराएको ठहरेमा ।
सम्वन्धविच्छेदको प्रकृयाः–
लोग्ने स्वास्नीको १ नं.को देहाय (१) वा देहाय(३) अनुसार लोग्नेले स्वास्नी सित सम्वन्धविच्छेद गर्न चाहेमा वा दुवैको मन्जुरीले सम्वन्धविच्छेद गर्न चाहेमा सम्वन्धित गाउँ विकास समिति वा नगरपालिकामा निवेदन दिनुपर्ने , यी निकायहरुले त्यस्ता लोग्ने स्वास्नी वीच सम्वन्ध कायम रहने प्रयोजनले सकभर मेल मिलाप गराउनु पर्ने र अन्ततोगत्वा मेलमिलाप हुन नसकेमात्र आफनो राय सहित अधिकार प्राप्त जिल्ला अदालतमा पठाउनु पर्ने व्यवस्था सोही महलको नं.१ क ले गरेको छ ।
१०. यसप्रकार नेपालको कानूनी व्यवस्थामा लोग्ने मानिस र स्वास्नी मानिस वीच सहमति छ भने विवाह गर्न एकदम सरल छ तर दुवैको सहमतिले पनि भई सकेको वैवाहिक सम्वन्धविच्छेद हुन अत्यन्त दुष्कर वा कठिन छ । यी वादी र प्रतिवादी मध्ये पुष्कर राज पाण्डे वीच हिन्दु विधि परम्परा अनुसार नेपालमा विवाह सम्पन्न भएको्मा कुनै विवाद छैन । साथै उक्त दुवै जना संगै अमेरिका गई त्यहाँ यी वादी पनि ६ महिना भन्दा वढी वसेको र त्यस्तो अवस्था अमेरिकी राज्यको वैवाहिक कानून Matrimonial Law आकर्षित हुने हो कि भन्नलाई अमेरिकामा फैसला हुँदाका अवस्थासम्म प्रतिवादीले नेपालको नागरिकता छोडिसकेको देखिदैन । घटना क्रम हेर्दा वादी सवीना पाण्डे र प्रतिवादी पुष्कर पाण्डे वीच सन १९९६ को दिसम्वर १३ मा विवाह भई त्यसपछि यी दुवै जना अमेरिका गएको देखिन्छ । वादी सवीना पाण्डेले पुष्कर पाण्डे लाई जानकारी समेत गराई सन १९९८ जनवरी ९ तारीखमा नेपाल फर्केको र सन १९९८ फरवरी ३ तारेखमा तदनुसार २०५४।१०।२१ प्रस्तुत अंश मुद्दा दायर गरेको देखिन्छ ।
११. अर्कोतर्फ प्रतिवादी पुष्करराज पाण्डेले प्रस्तुत अंश मुद्दा पर्नु भन्दा अघि तर सवीना पाण्डे नेपाल फर्किसके पछि सन् १९९८।१।१४ मा ओकलाहामा अदालतमा सम्वन्धविच्छेद मुद्दा दायर गरेको देखिन्छ र उक्त अदालतवाट यी दुवै वीच सम्वन्धविच्छेद हुने गरी २४ सेप्टम्वर १९९८मा फैसला भएको देखिन्छ । त्यहाँ सम्वन्धविच्छेद मुद्दा पर्दा र निर्णय हुँदा सम्मको अवधिमा यी वादी अमेरिकामा नरहेको तथ्य निर्विवाद छ । सम्वन्धविच्छेदका लागि दिइएको उजुरीमा यी दुवै Incompatible भएकोलाई मुख्य कारण देखाई सम्वन्धविच्छेदको माग गरिएको छ । अन्य आधारको रुपमा सन्तान नभएको र गर्भवती नभएको कुरा पनि उल्लेख गरिएको छ । सो वाहेक नेपालको कानूनले लोग्ने स्वास्नीको महलको दफा १(१) मा उल्लेख गरेको अवस्था मध्ये कुनै अवस्थाको् विद्यमानताको उल्लेख उक्त उजुरीमा गरिएको पाइदैन । ओकलाहामा अदालतको फैसलामा प्रतिवादीले अमेरिकामा के कति वसेको हो सो कुरा उल्लेख नगरी सो उजुरी पर्नु भन्दा अगावै ३० दिन भन्दा वढि समय देखि उजुरीकर्ता प्रस्तुत मुद्दाका प्रतिवादी पुष्करराज पांडे Pontetec county मा वसोवास गरेका कुरोसम्म उल्लेख गर्दै अधिकारक्षेत्र ग्रहण गरेको पाइन्छ । यसको अतिरिक्त विभिन्न ९ निर्णयधारहरु मध्ये क्र.सं. ४ मा वादी र प्रतिवादी दिसम्वर ३०, सन १९९७ देखि अलग अलग वसेको र दुवै पक्ष Incompatible भएको भनी यिनै दुइ मुख्य आधारमा सम्वन्धविच्छेद हुने निर्णय गरेको देखिन्छ । Incompatible भनेको अमिल्दो , असंगत, विपरीत चरित्र वा स्वभाव भएको वा वेमेल भन्ने हो ।अर्थात लोग्ने र स्वास्नी वीच स्वभाव , वानी वेहोरा (Nature and Habits) मा भिन्नता भएमा पनि ओकलांहामाको कानून बमोजिम सम्वन्धविच्छेद हुन सक्ने देखिन्छ । तर, सोही आधारमा नेपालमा सम्वन्धविच्छेद हुन सक्दैन ।
१२. नेपालमा लोग्नेको मन्जुरी वेगर लगातार तीन वर्ष वा वढी अवधी सम्म अलग वसेकी स्वास्नी संग मात्र अलग वसेको आधारमा लोग्नेले सम्वन्धविच्छेद गर्न पाउँछ । तर, उक्त अमेरिकी अदालतले दिसम्वर ३०, १९९७ देखि २४ सेप्टेम्वर सन १९९८ सम्म ९ महीना मात्र लोग्नेसंग स्वास्नी अलग वसेको आधारमा सम्वन्धविच्छेदको निर्णय गरेको छ त्यस्तै नेपाल कानून बमोजिम हुन सक्ने सम्वन्धविच्छेदको अन्य कुनै पनि आधार वा अवस्था दर्शाई उक्त फैसला गरिएको पाईदैन । यसको अतिरिक्त नेपालमा सम्वन्धविच्छेदको उजुरी दायर गर्ने प्रकृया र त्यस पछि अवलम्वन गरिने कार्यविधि समेत उक्त अमेरिकी अदालतले आफ्नो क्षेत्राधिकारमा कारवाही गर्दा अपनाएको वा त्यहाँको कानून अनुसार अपनाउनु पर्ने वाध्यता रहेको समेत पाइदैन । यस प्रकार यस सम्वन्धमा नेपालको कानून र अमेरिकी राज्य ओक्लाहामाको कानूनी व्यवस्था पूर्ण रुपले फरक रहेको पाइन्छ । यस्तो अवस्थामा नेपालमा रहेको नेपाली नागरिक उपर ओकलाहामामा सम्वन्धविच्छेद मुद्दा दायर गरी नेपालको कानूनले निर्दिष्ट गरेको आधारहरु भन्दा भिन्न आधारमा सम्वन्धविच्छेद हुने ठहरी ओकलाहामामा भएको फैसला नेपालमा स्वतः मान्यता प्राप्त गर्न सक्दछ र कार्यान्वयन योग्य छ भन्न मिल्ने देखिदैन ।
१३. यी वादीले अमेरिकी अदालतमा आफनो प्रतिनिधित्व गराएको देखिए तापनि निजले सम्वन्धविच्छेद गर्न स्वीकार गरेको छैन । र, प्रतिनिधित्व गराए वाटै त्यहाँवाट जे निर्णय हुन्छ त्यो मान्छु भनी यी वादीले प्रतिवद्धता देखाएको वा Legally surrender गरेको भनी सम्झन मिल्दैन । निवेदक कुंवर इन्द्र प्रताप नारायण सिह वि. राजमाता वसन्त कुंवर भएको अंश मुद्दामा सर्वोच्च अदालतका १४ जनाको वृहत फुलवेन्च वाट १० जनाको वहुमत निर्णयमा “यहाँको कानून बमोजिम न्याय लिने दुवै पक्ष यहाँको अदालतको अधिकारक्षेत्रमा आफुलाई समर्पण गरेको र निजी अन्तर्राष्ट्रिय कानूनको सिद्धान्त अनुसार कुनै व्यक्तिको अचल सम्पत्ति अन्य मुलुकमा रहेकोमा दुई राज्यको अन्य सन्धि वा सम्झौता रहेनछ भने त्यस्तो अचल सम्पतिको हकमा जुन देशमा सो सम्पति रहेको छ, त्यसै देशको कानून बमोजिम हुने भन्ने सिद्धान्त प्रतिपादित गरिएको छ ।(ने.का.प. २०२९ नि.नं ७०८, र पृ ३६६, नि मि २०२९–९–१५–६) सोही सिद्धान्त अनुसार त्यस्तो विवादमा आधारित नेपालका अदालतहरुले निर्णय गर्दै आएकोमा कुनै विवाद छैन । तर कुनै पनि दृष्टिकोणवाट उक्त नजीर प्रस्तुत मुद्दामा प्रतिवादीको पक्षमा प्रयोग हुने देखिदैन । सम्वन्धविच्छेद लगायत विहावारी सम्वन्धी मुद्दा नेपाल कानूनले फौजदारी मुद्दाको श्रेणी भित्र राखेको छ (अ.वं. ९ नं.) साथै त्यसको लागी ऐनले नै अवस्था र प्रकृया निर्धारण गरेको छ । त्यसको विपरीत वा त्यसको अनुशरण नगरी भएको कुनै पनि निर्णय मान्नु वा त्यसको नेपालमा कार्यान्वयन गर्नु नेपाल कानूनको र यहाँको सार्वजनिक नीति (Public policy) को स्पष्ट उल्लघंन हुन जान्छ ।
१४. यस सम्वन्धमा निजी अन्तर्राष्ट्रिय कानून संग सम्वन्धित अन्य देशको प्रचलन पनि यस्तै नै रहेको छ । व्रिटिश अदालतहरुले अन्य देशका खास गरी यूरोपियन यूनियन देशका अदालतवाट भएको अन्य विषयको फैसलालाई मान्यता दिने गरेतापनि Vervacke vs Smith को मुद्दामा व्रिेटेनमा गरिएको विवाहवाट कायम भएको वैवाहिक सम्वन्धविच्छेदको निर्णय वेल्जियमको एउटा अदालतले गरेकोमा त्यस्तो सम्वन्धविच्छेद व्रिटेनको Public Policy को विरुद्ध भएकोले मान्यता दिन नमिल्ने भनी House of Lords ले फैसला गरेको थियो (Private International law by Cheshire, chapter. 22, p.815, Matrimonial cases) । व्रिटिस अदालतहरु देशको सार्वजनिक निती (Public policy) प्रतिकुल हुन जाने विदेशी फैसलाई मान्यता दिन ईच्छुक देखिदैनन् । उक्त मुद्दामा व्रिटिश पुरुषसंग विदेशी महिलाले विवाह गरेकी थिइन जवकि प्रस्तुत मुद्दामा महिला र पुरुष दुवै नेपाली नागरिक हुन, विवाह नेपालमा सम्पन्न भएकोले र यी वादी नेपालमा रहेको अवस्थामा वैवाहिक सम्वन्धविच्छेदको लागी नेपालको कानून लागु हुनेमा कुनै शंका छैन । यसर्थ अमेरिकामा भएको सम्वन्धविच्छेदको निर्णयलाई मान्यता दिन मिलेन ।
१५. दोश्रो प्रश्न तर्फ विचार गर्दा यी वादी र प्रतिवादी पुष्करराज पाण्डे वीच ओकलाहामाको अदालतले गरेको भनिएको सम्वन्धविच्छेदको निर्णयले नेपालमा मान्यता प्राप्त गर्न नसक्ने देखिने वितिकै यी दुवैको वैवाहिक सम्वन्ध कायमै रहेको मान्नुपर्ने हुन्छ । किनभने उक्त ओकलाहामाको अदालतको निर्णयको आधारमा नेपाल कानून बमोजिम व्यक्तिगत घटनाको रुपमा जन्म मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३ द्वारा निर्धारित प्रकृया बमोजिम सम्वन्धविच्छेद दर्ता पनि भएको छैन । त्यस कारण ओकलाहामाको अदालतले गरेको भनिएको सम्वन्ध विच्छेदको निर्णय प्रस्तुत मुद्दाको सन्दर्भमा अस्तित्वहीन (Nonexistent) भएकोले यी वादी र प्रतिवादी वीचको सम्वन्धविच्छेद हुँदै नभइ यी दुई वीच वैवाहिक सम्वन्ध कायमै रहेको छ । सो वैवाहिक सम्वन्ध प्रस्तुत अंश मुद्दाको प्रयोजनका लागि समेत कायमै रहेको देखिन्छ ।
१६. अव तेश्रो प्रश्नको सम्वन्धमा विचार गर्दा यी वादी सविना पाण्डे र प्रतिवादी पुष्कर राज पाण्डे वीच दिसम्वर १३ सन १९९८, तदनुसार २०५३।८।२८ मा विवाह भएको तथ्य निर्विवाद छ भन्ने कुरा माथि उल्लेख गरि सकिएको छ । कानून बमोजिम यी दुर्इं वीच सम्वन्धविच्छेद नभएको र अमेरिकामा भएको सम्वन्धविच्छेदको निर्णयले यहाँ मान्यता प्राप्त गर्न नसक्ने भए पछि उपरोक्त दुई जना वीच पति पत्नीको नाता कायमै रहेको अवस्था छ । साथै यी वादीले अंश लिई अलग भईसकेको भन्ने प्रतिवादीको भनाई पनि छैन । यस्तो अवस्थामा वादी सविना पाण्डे आफनो पति पुष्करराज पाण्डेको सगोलको अंशियार देखिन्छ । यस्तै, प्रतिवादी पुष्कर राज पाण्डेले पनि अन्य प्रतिवादीहरुवाट अंश लिई भिन्न भई सकेको स्थिति पनि नभएकोले निज पुष्करराज पाण्डे र अन्य प्रतिवादीहरु पनि परस्परमा सगोलका अंशियार रहेको देखिन आई रहेको छ ।
१७. जिल्ला अदालत र पुनरावेदन अदालतले कानूनको गलत व्याख्या गर्दै वादी र प्रतिवादी पुष्करराज पाण्डे वीचको सम्वन्धविच्छेद हुने ठहरी अमेरिकाको ओकलाहामा अदालतले गरेको फैसलालाई एकमात्र निर्णयाधार वनाई वादीले प्रतिवादीहरुवाट अंश नपाउने ठहराई फैसला गरेको देखिन्छ । सो वाहेक अंशवण्डा हुने प्रयोजनका लागी अंशको तायदाती लिने लगायतका अन्य कुनै कारवाही गरेको देखिदैन । त्यसकारण अमेरिकी अदालतवाट भएको सम्वन्धविच्छेदको फैसलालाई आधार वनाई यी वादीले प्रतिवादीहरुवाट अंश नपाउने भनी वादी दावी नपुग्ने ठहराई काठमाडौं जिल्ला अदालतले गरेको फैसला सदर गर्ने गरी पुनरावेदन अदालत पाटनवाट भएको २०६०।१०।६को फैसला नमिलेकोले वदर गरि दिइएको छ । प्रतिवादी पुष्करराज पाण्डे र यी वादी सवीना पाण्डे वीच पति पत्नीको नाता कायमै रही सगोलको अंशियार भएको र सवै प्रतिवादीहरु सगोलका अंशियार रहे भएकोले अरु केही बुझ्नु आवश्यक भए सो समेत वुझी दुवै पक्ष वीच मानो छुटिृएको मितिवाट वण्डा गर्नुपर्ने सम्पतिको तायदाती समेत लिई फैसला गर्नु भनी उपस्थित पक्ष विपक्षलाई तारीख समेत तोकी निर्णयार्थ मिसिल पुनरावेदन अदालत पाटनमा पठाई दिने समेत ठहर्छ ।
उक्त रायमा म सहमत छु ।
न्या.शारदा श्रेष्ठ
इति सम्वत २०६४साल चैत्र ५ गते रोज ४ शुभम्–––––––––
इ.अ रणवहादुर कटवाल