निर्णय नं. ४१४० - कीर्ते

निर्णय नं. ४१४० ने.का.प. २०४७ अङ्क ५
संयुक्त इजलास
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४५ सालको फौ.पु.नं. ५५५
फैसला भएको मिति : २०४७।५।१७।१ मा
पुनरावेदक/वादी : का.न.पं. वा.नं. २४ बस्ने नानीभाइ मानन्धरसमेत
विरुद्ध
विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने हरिलाल मानन्धरसमेत
मुद्दा : कीर्ते
(१) प्रस्तुत मुद्दाको फिराद अर्को कीर्ते मुद्दाको फिराद समेत एकै मितिमा परेको देखिँदा यस्तोमा एउटा नालेश दिएपछि प्रतिवादी हेरी जाँची बुझी अर्को फिराद दिएको भन्न नमिल्ने ।
(प्रकरण नं. १५)
(२) एकै पटक नालेश परेकोमा एउटा नालिशको रुप विचार गरी सो मुद्दाको रुपले अरु कुरामा पछि नालिश दिने नियत लिई नालिश दिएको भन्ने स्थिति नदेखिने ।
(प्रकरण नं. १५)
(३) दुई बेग्लाबेग्लै कित्ताको एउटै व्यक्तिले बकस पाएको रहेछ भने त्यस्तोमा एउटै नालेश दिनु पर्ने कानुनी व्यवस्था नदेखिने । यस्तोमा एउटै नालेश दिनु पर्छ भन्न नमिल्ने ।
(प्रकरण नं. १५)
(४) लिखतलाई अदालतले प्रमाणमा लिने हो भने सो सुनाउनु पर्ने ।
(प्रकरण नं. १५)
पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास
विपक्षी/प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री गोविन्दकुमार उपाध्याय
फैसला
न्या.त्रिलोकप्रताप राणा
१. मध्यमाञ्चल क्षेत्रीय अदालतबाट पुनरावेदनको अनुमति प्रदान नभएको आदेश उपर पुनरावेदन गर्न अनुमति पाउँ भनी पर्न आएको निवेदनमा अनुमति प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।
२. हामीहरुको बाबु हरिलाल मानन्धरको नाउँमा मा.पो.का.का. मा दर्ता भएको कालीमाटी गा.पं. वा.नं. (ग) कि.नं. १७४ को क्षेत्रफल ०–७–० कित्ता १, ऐ.कि.नं. १८२ को क्षेत्रफल ०–१५ को कित्ता १ समेत जम्मा २ कित्ता जग्गाको जोगमाया महर्जन मोही भई कमाई आएको बाबु छउन्जेल बाबुले र २०३९ सालदेखि बाबुलाई पक्षघात रोग लागी परलोक भइसकेको र मोही जोगमाया पनि परलोक भइसकेकोले निजको छोराहरुबाट हामीहरुले बाली बुझी लिई भोगी आएको जग्गालाई विपक्षहरु सबै मिली छँदै नभएको का.जि. बटु भुजोङ बहाल भनी नक्कली मानिस खडा गरी हरिलाल मानन्धरको जग्गा हाम्रो बाबुको परलोक हुनु अगाडि रजिष्ट्रेशन पास गरी सो माथि लेखिएको २ कित्ता जग्गा मध्ये कि.नं. १७४ को ०–७–० जग्गाको मोल रु. २१,१००।– राखी हालैको बकसपत्र गरी विपक्ष मध्येको हरिलाल मानन्धर दिने नक्कली मानिस खडा गरी विपक्षी चन्ता महर्जन लिने विपक्ष शिवराम, पूर्णमान, रमेशबहादुर कार्की समेत भई हामीहरुको हक मेटाउने गरी कीर्ते कागजको १ नं. बमोजिम कीर्ते गरेकोले कीर्तेको ७ नं. बमोजिम सजायँ गरी पाउँ भन्ने समेतको फिरादपत्र दावी ।
३. वादी दावी पूर्ण असत्य र गैरकानुनी हो यो कि.नं. १७४ को जग्गा विपक्षीको जिकिर बमोजिम विपक्षीको बाबुको दर्ता हकको होइन । निजी गुठीको जग्गा रैकर भएर दर्ता भएको फिराद दुषित छ । मालपोत कार्यालयको मिति २०३९।२।१९ को निर्णयले यो जग्गा हरिलालको नाउँमा निजी गुठी भनी दर्ता भएकोले समेत दावीको जग्गा फिरादीको पिताको नभएको स्वतः सिद्ध छ । मालपोत कार्यालयको रोहवरमा कानुनको रीत पुगेको लिखत कीर्ते हुन सक्दैन । दावीको जग्गा म चन्ता महर्जनको साम्नेमा लिखत पास भई मेरो स्वामित्व हक भोगमा आएकोमा विपक्षहरुले दर्ता बदर खिचोला तथा लिखत बदरमा दावी गर्न सकेको देखिएन । मेरो दाता हरिलाल मानन्धरको दर्ता हक भोगको का.जि. डांछी गा.पं. वा.नं. ९(ङ) कि.नं. ४६ बाट कित्ताकाट भएको कि.नं., १३६ को २–०–१ को रैकर जग्गालाई निजी गुठीमा र कि.नं, १७४ को गुठी जग्गा रैकरमा सट्टापट्टा गरेको लिखत मा.पो.का. काठमाडौंबाट र.नं. १७८७ बाट पारित भएपछि मात्र मलाई र.नं. १७९३ द्वारा निज दाताले बकसपत्र लिखत पारित गर्नु भएको छ । उक्त सट्टापट्टाको लिखतबाटै कि.नं. १७४ को जग्गा रैकरमा परिणत भएको उक्त जग्गा विपक्षीको रहेको भए कुन लिखतमा दावा लिई बदर गराउनु पर्नेमा त्यसतर्फ दावा नगरी पछिल्लो लिखतमा दावा गरेको त्रुटिपूर्ण हुँदा वादी दावी खारेज गरी पाउँ भन्ने समेत चन्ता महर्जनको प्रतिउत्तरपत्र ।
४. अन्य प्रतिवादीहरुले म्याद गुजारी प्रतिउत्तर नफिराएको ।
५. बुझिएम्म प्रमाणको परिबन्धबाट वादीले जुन लिखतलाई कीर्ते कायम गरी पाउँ भनी दावी लिएको छ सो लिखत हुनुभन्दा अगाडिको गुठी रैकर परिर्वतन सम्बन्धमा पारित भएको अघिल्लो लिखत उपर वादीहरुले कुनै विरोध नजनाएको कारण प्रमाण समेतको आधारमा यिनै वादी प्रतिवादी भएको यसै मुद्दाको लगाउ कीर्ते मुद्दाको फौ.मि.नं.४ को फिराद खारेज हुने ठहरी यसै बेञ्चबाट आजै फैसला भएकोले सोही फैसला बमोजिम प्रस्तुत मुद्दा खारेज हुने ठहर्छ भनी गरेको श्री का.जि.अ. को मिति ०४४।८।१० गतेको फैसला ।
६. श्री का.जि.अ. को जि.न्या. श्री नरेन्द्रकुमार श्रेष्ठले फिराद खारेज गरी हामीलाई हराई मिति ०४४।८।१० मा गर्नु भएको फैसलामा हाम्रो चित्त बुझेन उक्त इन्साफ उल्टाई शुरु फिराद दावी बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको संयुक्त पुनरावेदनपत्र ।
७. यसमा दे.पु.नं. ५४२ को मुद्दामा आजै यसै बेञ्चबाट अ.बं. २०२ नं. बमोजिम झगडिया झिकाउने आदेश भएको र प्रस्तुत मुद्दामा शुरु जि.अ. ले इन्साफ गर्दा सोही कुरालाई समेत आधार देखिँदा प्रस्तुत मुद्दामा पनि अ.बं. २०२ नं. बमोजिम झगडिया झिकाउनु भन्ने बागमती अञ्चल अदालतको मिति ०४४।११।३ गतेको आदेश ।
८. यसमा ०४१।७।६ मा गरिएको बकसपत्रको लिखतको सम्बन्धमा मात्र प्रस्तुत कीर्ते नालिश परेको देखिन्छ । उसै दिन पारित भएको सट्टापट्टाको लिखतमा नालेश नपरेको र अ.बं. ७३ नं. समेतको विपरीत प्रस्तुत नालेशबाट इन्साफ तर्फ विचार गर्न नपर्ने हुँदा दावी खारेज गरेकोसम्म शुरु जिल्ला अदालतको फैसला मनासिब हुँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको बागमती अञ्चल अदालतबाट मिति २०४५।२।१८ मा भएको फैसला ।
९. बागमती अञ्चल अदालतको इन्साफमा चित्त नबुझी पुनरावेदन गर्न अनुमति पाउँ भनी वादीहरुको मध्यमाञ्चल क्षेत्रीय अदालतमा पर्न आएको निवेदनपत्र ।
१०. शुरु काठमाडौं जिल्ला अदालतको फैसलामा कुनै कानुनी त्रुटि विद्यमान भएको नदेखिएकोले पुनरावेदनको अनुमति दिन मिलेन भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालत एक न्यायाधीशको इजलासबाट मिति २०४५।८।२३ मा भएको आदेश ।
११. मध्यमाञ्चल क्षेत्रीय अदालतबाट पुनरावेदनको अनुमति प्रदान नहुने गरी भएको आदेश त्रुटिपूर्ण हुँदा उक्त आदेश बदर गरी पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादीहरुको यस अदालतमा पर्न आएको निवेदनपत्र ।
१२. यसमा वादी निवेदकले फिरादपत्र दिंदा दावीको लिखत आफ्नो बाबु हरिलाल मानन्धरले गरी दिएको नभई हरिलाल भन्ने वर्ष ३८ को कीर्ते मानिस खडा गरी कीर्ते गरेको भनी दावी लिई फिराद दिएको बहसमा देखाएको फिराद नक्कलबाट देखिन आएकोबाट विवादको लिखत वादीको बाबुले गरेको हो होइन भन्ने मुख्य प्रश्न रहेको स्पष्ट छ । तर जुन सट्टापट्टाको लिखतलाई आधार मानी निवेदकको फिराद खारेज भएको छ सो लिखत उपर निवेदकको उजूरै नभए पनि विवादको लिखतको जग्गा निवेदकका बाबु हरिलालको भए विवादको लिखत निवेदकका बाबुले गरेको हो होइन भन्ने तर्फ विचार गर्नु नै पर्ने हुन्छ । यस दृष्टिबाट पनि सट्टापट्टाको लिखतमा उजूर नपरेको भनी खारेज गरेको मिलेको देखिन आउँदैन उसमा पनि जुन सट्टापट्टाको लिखतमा उजूर नपरेको भनी निवेदकको फिराद खारेज गरेकोबाट पेश भएको सो लिखत अ.बं. ७८ नं. बमोजिम सुनाउनु पर्नेमा सो सुनाएको पनि देखिन नआई ने.का.प. २०३०, नि.नं. ७२९, पृष्ठ ८० को मुद्दामा प्रतिपादित सिद्धान्त विपरीत ठहर भएको देखिन आएकोले न्या.प्र.सु. ऐन, ०३१ को दफा १३(५) बमोजिम पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासबाट मिति ०४५।१०।७ मा भएको आदेश ।
१३. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा वादी पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री कमलनारायण दासले सट्टापट्टाको लिखत सम्बन्धी मेरो पक्षले फिराद दिंदासम्म पनि थाहा थिएन । अतः जानकारी नभएको लिखतलाई दावी नलिएको भनी खारेज गर्न मिल्ने होइन । उक्त प्रमाण वादीको विरुद्ध लाग्ने भएमा अ.बं. ७८ नं. बमोजिम सुनाउनु पर्नेमा सो पनि गरेको छैन । सट्टापट्टा भए पनि दुवै जग्गा हरिलालको नाउँमा छ । मेरो पक्षको जग्गा कीर्ते व्यक्ति खडा गरी बिक्री गर्न मिल्ने होइन । दुइवटा लिखतमा एउटै मुद्दा दिन बाध्य गर्न मिल्दैन । मेरो पक्षको बाबुको उमेर ८८ वर्षको छ जबकी लिखतमा यो लिखत गर्ने व्यक्ति ३८ वर्ष भन्छ जबकी जेठो छोरा नै ६८ वर्षको भएको छ । यो जग्गा मेरो पक्षको बाबुको नाउँमा २०३९।२।१९ मा नामसारी दा.खा. समेत भएको र उमेर ८८ वर्ष भन्ने प्रमाणित समेत हुँदा यस्तो अवस्थामा शुरुले वादी दावी खारेज गरेको इन्साफलाई सदर गर्दै आएको बा.अं.अ. को इन्साफ र अनुमति नदिएको क्षेत्रीय अदालतको आदेश समेत बदर होस् भन्ने तथा विपक्षी प्रतिवादीहरुका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री गोविन्दकुमार उपाध्यायले विपक्षीले फिरादमा बाबु ८७ वर्षको भन्नु हुन्छ तर सट्टापट्टाको कागज पनि मेरो बाबुले गरेको भन्नु हुन्छ जुन कागजमा उहाँका उमेर ३८ वर्ष छ यसकारण पनि मानिस सद्धे हो भन्ने प्रष्ट हुन आउँछ । अनुमति दिएको आधार मिल्दैन । कारण यो पास लिखत हो जबकी नजीरको लिखत पास भएको छैन । वादीले प्रतिउत्तर दिंदा थाहा पाएँ भन्छ तर सट्टापट्टा हुँदा यो जग्गा रैकर भनी बिक्री भएको छ जबकी त्यस अघि गुठी भन्ने जग्गा हो । नक्कल लिएपछि थाहा भएकोमा प्रतिउत्तर परी थाहा पाएको भनी भन्न मिल्ने होइन शुरु जि.अ. को इन्साफ सदर गरेको बा.अं.अ.को इन्साफ र पुनरावेदनको अनुमति नभएको क्षेत्रीय अदालतको आदेश सदर होस् भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नु भयो ।
१४. प्रस्तुत मुद्दामा बागमती अञ्चल अदालतको इन्साफ माथि अनुमति प्रदान नगरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको आदेश मिले नमिलेको हेरी निर्णय दिनु पर्ने हुन आयो ।
१५. यसमा निर्णयतर्फ विचार गर्दा कि.नं. १७४ को क्षेत्रफल सात आना जग्गा कि.नं. ८२ को पन्ध्र आना जग्गा समेत मध्ये कि.नं. १७४ को सात आना जग्गा निवेदकहरुको हक मेटाउन मिति २०४१।६।२८ मा प्रतिवादीहरुले कीर्ते काम गरेकोले उक्त लिखतलाई कीर्ते कायम गरी प्रतिवादीहरुलाई सजायँ गरी पाउँ भन्ने वादी दावी भएकोमा एउटै व्यक्तिको दुई कित्ता जग्गा एकै मितिमा एकसाथ एकै व्यक्तिले हक हस्तान्तरण गर्ने गरी हालैको बकसपत्रको लिखत रजिष्ट्रेशन पारित गराएकोमा अ.बं. ७३ नं. ले एउटै नालेश दिनु पर्नेमा प्रत्येक कित्ताको भिन्दाभिन्दै नालेश दिएको र सट्टापट्टाको लिखत रजिष्ट्रेशन पारित भएको देखिन्छ सो लिखत बदर गराउन नसकेको र त्यस्तो लिखत उपर वादीको दावी नभएको भन्दै शुरु जिल्ला अदालतले खारेज गरेको इन्साफलाई बागमती अञ्चल अदालतले सदर गरेको पाइन्छ । अ.बं. ७३ नं. हेर्दा सो मा फिरादपत्र दिंदा उही मानिसको नाउँमा एकै पटक एउटै नालिश दिए हुने मुद्दामा सो नगरी पहिले दिएका नालिशको रुप विचार गरी मात्र सो मुद्दाका सो रुपले अरु कुरामा पछि नालिश दिने नियत लिई यति कुरा मात्र यस नालिशबाट दिलाई भराई वा सजायँ गरी पाउँ भनी वादी दिन र सो वादीमा छुटेको त्यस्तो किसिमको बाँकी रहेको मुद्दामा पछि वादी दिन समेत पाउँदैन भन्ने लेखिएको पाइन्छ । प्रस्तुत मुद्दाको फिराद अर्को कीर्ते मुद्दाको फिराद समेत एकै मिति २०४१।१२।७ मा परेको देखिन्छ । यस्तोमा एउटा नालेश दिए पछि प्रतिवादीको हेरी जाँची बुझी अर्को फिराद दिएको भन्न मिल्दैन । एकै पटक नालेश परेकोले एउटा नालेशको रुप विचार गरी सो मुद्दाको सो रुपले अरु कुरामा पछि नालेश दिने नियत लिई दिएको भन्ने स्थिति देखिँदैन । अतः अ.बं. ७३ नं. को आधार लिएको शुरु जिल्ला अदालत र अञ्चल अदालतको फैसला बुँदा मिलेको देखिएन । एउटै नालेश दिन पर्ने भन्ने शुरु जिल्ला अदालत र अञ्चल अदालतको तर्क तर्फ हेर्दा एउटै व्यक्तिले दुई बेग्ला बेग्लै कित्ताको जग्गाको बकस पाउने देखिन्छ । दुई बेग्ला बेग्लै कित्ताको एउटै व्यक्तिले बकस पाएको रहेछ भने त्यस्तोमा एउटै नालेश दिनु पर्ने कानुनी व्यवस्था देखिन्न । यस्तोमा एउटै नालेश नदिएको भन्ने आधार लिएको शुरु जिल्ला अदालत र अञ्चल अदालतको बुँदा समेत मिलेन । अब सट्टापट्टाको लिखत बदर गराउन नसकेको भन्ने अञ्चल अदालत समेतको तर्क तर्फ हेर्दा उक्त सट्टापट्टाको लिखत यो वादीलाई फलानो मितिमा थाहा थियो भनी प्रतिवादीले भन्न सकेको पाइँदैन । उक्त सट्टापट्टा भएको कुरा वादीलाई प्रतिउत्तर परेपछि थाहा हुने स्थिति देखिँदा सोतर्फ दावी लिन वा बदर गराउन सकेन भन्ने अञ्चल अदालतको बुँदा पनि मिल्ने देखिँदैन । उक्त सट्टापट्टाको लिखतलाई अदालतले प्रमाणमा लिने हो भने सो वादीलाई सुनाउनु पर्ने देखिन्छ । अतः यस्तो अवस्थामा शुरुले खारेज गरेको इन्साफ सदर गरेको बागमती अञ्चल अदालतको फैसला पुनरावेदन गर्न अनुमति प्रदान नगरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको आदेश समेत मिलेको नदेखिँदा शुरु जिल्ला अदालत र बागमती अञ्चल अदालतको फैसला तथा म.क्षे.अ. को आदेश समेत बदर हुने ठहर्छ । अब कानुन बमोजिम कारवाही किनारा गर्नु भनी दुवै पक्षलाई तारेख तोकी मिसिल शुरु जिल्ला अदालतमा पठाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.रुद्रबहादुर सिंह
इतिसम्वत् २०४७ साल भाद्र १७ गते रोज १ शुभम् ।