शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४१४१ - कर्तव्य ज्यान

भाग: ३२ साल: २०४७ महिना: भाद्र अंक:

निर्णय नं. ४१४१     ने.का.प. २०४७      अङ्क ५

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४६ सालको फौ.पु.नं. ३८१

”          ”          सा.नं. ८२

फैसला भएको मिति : २०४७।५।२०।४ मा

पुनरावेदक/प्रतिवादी : जि.का.कारागार शाखा काठमाडौंमा थुनामा रहेको विष्णु शेरचन

विरुद्ध

वादी/विपक्षी : तोप शेरचनको जाहेरीले श्री ५ को सरकार

मुद्दा : कर्तव्य ज्यान

(१)    मार्ने योजना सुनियोजित देखिन्छ, तत्काल कुनै आवेशमा आई मारेको देखिँदैन, त्यस्तो अवस्थामा अ.बं. १८८ नं. को प्रयोग गरी घटी सजायँ होस् भन्ने प्रतिवादी पुनरावेदकतर्फका विद्वान अधिवक्ताको बहस संग सहमत हुन नसक्ने ।

(प्रकरण नं. १७)

पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री नरहरी आचार्य

फैसला

न्या.त्रिलोकप्रताप राणा

१.     पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर चित्त नबुझाई प्रतिवादी तर्फबाट पुनरावेदन परेको तथा साधक जाँचको लागि समेत पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।

२.    मिति २०४४।५।१७ गते दिनको ११.१० बजेको समयमा पोखरा न.पं. वडा नं. ३ नदिपुर स्थित कन्या स्कूल अगाडि एकजना लोग्ने मानिसले एकजना आइमाई माथि फलामको छुरी छातीमा प्रहार गरी भाग्न लागेको अवस्था निजलाई पक्राउ गरी सोधपुछ गर्दा मेरो सौतेनी आमा अभिसरालाई छुरी प्रहार गरेको हुँ । मेरो नाम विष्णु शेरचन हो भनी भनेको हुँदा घटना घटाएको छुरी रगत लागेको अवस्थामा बरामद गरी यसैसाथ दाखिल गरेका छौं भन्ने समेत प्र.स.नि. बाबुराम बस्नेत समेतले मिति २०४४।५।१७ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा दिएको प्रतिवेदन ।

३.    मिति २०४४।५।१७ गतेका दिन दिउँसो अन्दाजी १०.३० बजे मेरो बुहारी अभिसरा शेरचनले पोखरा न.पं. वडा नं. ३ नदिपुर कन्या स्कूलमा पियनमा रही काम गरिरहेको बेला विष्णु शेरचनले बाहिर बोलाई छुरा प्रहार गरी मृत्यु भएकोले कानुन बमोजिम गरिपाउँ भन्ने तोप शेरचनले मिति २०४४।५।१८ मा जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरी दर्खास्त ।

४.    मृतकको शरीरमा जत्रतत्र रगत लागेको मुटु कलेजोसम्म देखिने गहिराइको ५ इन्च लम्बाई ५ इन्च चौडाई घाउ समेत भएको भन्ने व्यहोराको मिति २०४४।५।१७ को लाश प्रकृति मुचुल्का । Cause of death is shock due to hemorrhage as a result of grievous injury to heart and left lung भन्ने समेत गण्डकी अञ्चल अस्पतालबाट भई आएको मिति २०४४।५।१७ मा भएको लाश जाँचको रिपोर्ट ।

५.    मलाई सौतेनी आमा अभिसराले वाल्यकाल देखि नै हेला गरेकी र छुटी भिन्न हुँदा बाबुको जिन्सी नगद समेत आफैंले लिएको तेरो अगाडि पछाडिका चिचिला समेत खतम गर्छु भन्दथिन । २०४४।२।४ गते वर्ष ४ को छोरीको मृत्यु भएको, निज सौतेनी आमाले कस्तो हुँदो रहेछ थाहा पाइस् भनेकी तत्कालै कान्छो छोराको २०४४।५।१६ गते मृत्यु भएकोले सौतेनी आमा अभिसरा बोक्सेनीलाई नमारी छाडदिन भने रातमा कल्पना गरी बिहान २०४४।५।१७ गते अभिसरालाई मार्ने मनसायले नदिपुर स्कूलमा आएँ । अभिसरा स्कूल बाहिर निस्की बाटोतर्फ लागेको देखी पछि पछि लागी फलामे छुरी मुटुमा पर्ने गरी प्रहार गरें, सोही प्रहारको चोटबाट निजको मृत्यु भएको हो । अभिसरालाई कर्तव्य गरी मार्नमा अरु कुनै कसैको सहमति छैन मेरै स्वेच्छा बाट मारेको हुँदा कानुनले हुने सजायँ भोग्न मन्जूर छ भन्ने समेत प्रतिवादी विष्णु शेरचनले मिति ०४४।५।१८ मा प्रहरीमा गरेको बयान ।

६.    घरायसी रिसइवीको कारणबाट छुरी प्रहार गरी सोही प्रहारको कारणबाट निज अभिसराको अस्पतालमा मृत्यु भएको हो भन्ने समेत २०४४।६।१।५ को सरजमीन मुचुल्का ।

७.    प्रतिवादी विष्णु शेरचनले सौतेनी आमा अभिसरा शेरचनलाई छुरा प्रहार गरी मारेको हुँ भन्ने साविती बयानलाई सरजमीन मुचुल्का, लाश जाँच प्रतिवेदन, लाश प्रकृति मुचुल्का समेतबाट मुलुकी ऐन ज्यान सम्बन्धीको महलको १ नं. को कसूर निज प्रतिवादी विष्णु शेरचनले गरेको पुष्टि हुन आएकोले निजलाई ज्यानसम्बन्धी महलको १३ नं. को देहाय १ अनुसार सजायँ हुन माग दावी लिंदै बरामद हुन आएको फलामे छुरी समेत यसै साथ राखी दाखिल गरेको छ भन्ने समेत मिति २०४४।६।६ को प्रहरी प्रतिवेदन ।

८.    मेरो सौतेनी कान्छी आमालाई कर्तव्य गरी मुटुमा छुरी रोपी मारेको हुँ निजलाई मार्नु पर्ने कारणमा निज बोक्सी थिइन् । मेरो ४ वर्षको छोरी मरेकोमा कस्तो हुँदो रहेछ देखिस् भनी धम्की दिएकी र ६ वर्षको कान्छो छोरा समेत मर्दा निजलाई खबर पठाउँदा पनि नआएकोले निज बोक्सी रहेछ भन्ने मलाई पूरा विश्वास भई निज कन्या मा.वि. मा पियनमा काम गर्ने, निज मा.वि. बाट बाहिर निस्कदा फलामे छुरीले मुटुमा पर्ने गरी रोपी दिएँ सोही बेदनाबाट निजको मृत्यु भएको हो भन्ने समेत प्रतिवादी विष्णु शेरचनले शुरु कास्की जिल्ला अदालतमा गरेको बयान ।

९.    अभिसरा बोक्सी भई मेरा छोरा छोरीहरुलाई मारिदिएका हुँदा निज बोक्सी हो भन्ने मलाई पूरा विश्वास लागी छुरा प्रहार गरी मेरै कर्तव्यबाट निजलाई मारेको हुँ भनी प्र.विष्णु शेरचनले किटानी साथ प्रहरी र अदालतमा गरेको बयानलाई जाहेरवाला तथा सरमजीनका मानिस समेतले मृतक अभिसरा शेरचनको मृत्यु विष्णु शेरचनको कर्तव्यबाट भएको हो भनी लेखिदिएको बकपत्र तथा लाश जाँच प्रतिवेदन समेतबाट प्र.विष्णु शेरचनले अभिसरालाई कर्तव्य गरी मारेको देखिन आएकोले सर्वश्वसहित जन्मकैद हुने ठहर्छ भन्ने समेत शुरु कास्की जिल्ला अदालतबाट भएको फैसला ।

१०.    आवेशमा आई आमाको हत्या हुन गएकोले ज्यानसम्बन्धीको १४ नं. बमोजिम गरिपाउँ भन्ने समेत प्रतिवादी विष्णु शेरचनले गण्डकी अञ्चल अदालतमा दिएको पुनरावेदनपत्र ।

११.    अभिसरा शेरचनलाई प्रतिवादी विष्णु शेरचनले छुरा प्रहार गरी कर्तव्य गरी मारेको देखिन आएकोले वादी दावा बमोजिम प्रतिवादीलाई सर्वश्वसहित जन्मकैद गर्ने गरी शुरु कास्की जिल्ला अदालतबाट भएको फैसला मिलेकै देखिँदा शुरु इन्साफ मनासिब ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत गण्डकी अञ्चल अदालतबाट मिति ०४६।२।५ मा भएको फैसला।

१२.   मुलुकी ऐन ज्यानसम्बन्धीको १३(१) बमोजिम सर्वश्वसहित जन्मकैद गर्न सजायँ गरेको गण्डकी अञ्चल अदालत समेतको फैसला बदर गरी उचित न्याय पाउँ भन्ने समेत व्यहोराको विष्णु शेरचनले पश्चिमाञ्चल क्षेत्रीय अदालतमा दिएको पुनरावेदनपत्र ।

१३.   यसमा सौतेनी आमा अभिसरालाई मार्ने मनसाय राखी आफू कहाँ रहेको फलामे छडलाई आगोमा तताई घनले थिची धारिलो बनाई आमाले काम गर्ने स्कूल अगाडि गई वारदात स्थलमा मार्छु भन्ने उद्देश्यले छुरा प्रहार गरी मारेको भन्ने बयानमा उल्लेख गरेबाट मृतकलाई मार्ने नियोजित उद्देश्य रहेको देखिँदा सबूद प्रमाणको आधारमा प्रतिवादी विष्णु शेरचनलाई ज्यानसम्बन्धी १३(१) नं. ले सर्वश्वसहित जन्मकैद गर्ने ठहर्‍याएको शुरुको इन्साफ मनासिब ठहर्छ भन्ने समेत प.क्षे.अ.को फैसला ।

१४.   सो फैसलामा चित्त बुझेन, मेरो मनस्थिति ठीक नभएकोले सो घटना घट्न गएको हुँदा अ.बं. १८८ नं. बमोजिम सजाय घटाई पाउँ भन्ने यस अदालतमा दर्ता हुन आएको प्र.विष्णु शेरचनको पुनरावेदनपत्र ।

१५.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री नरहरि आचार्यले आमा बोक्सी हो मार्नु पर्छ भन्ने मानसिक असन्तुलनको कारणले प्रस्तुत वारदात भएको देखिन्छ । मेरो पक्षको छोरा छोरी मरेको र सो आमाको कारणले यस्तो हुन गएको हो भन्ने कुरा विष्णु शेरचनलाई लाग्न गई आवेशमा आई आफ्नी सौतेनी आमालाई मारेकोले यस्तो अवस्थामा अ.बं. १८८ नं. ले घटी सजायँ होस् भनी बहस प्रस्तुत गर्नु भयो ।

१६.    प्रस्तुत मुद्दामा पुनरावेदकको कानुन व्यवसायीको जिकिर बमोजिम अ.बं. १८८ नं. आकर्षित हुने नहुने के रहेछ हेरी निर्णय दिनु पर्ने हुन आयो ।

१७.   यसमा निर्णयतर्फ विचार गर्दा, प्र. विष्णु शेरचन उपर आफ्नी सौतेनी आमा अभिसरा शेरचनलाई कर्तव्य गरी मारेकोमा ज्यानसम्बन्धीको १३(१) नं. बमोजिमको सजायँ माग दावी गरी पाउन प्रहरी प्रतिवेदन दायर भएको देखिन्छ । प्रतिवादी विष्णु शेरचन आफ्नो सौतेनी आमा अभिसरालाई मुटुमा लाग्ने गरी छुराले प्रहार गरी मारेमा अदालतमा समेत सावित देखिन्छ । मुटु कलेजोसम्म देखिने गहराई भएको छुराको प्रहारबाट निज अभिसराको मृत्यु भएको कुरा लाश जाँच मुचुल्काबाट र रक्तस्राव Cause of death is shock due to hemorrhage as a result of grievous injury to heart and left lung बाट भएको भन्ने कुरा पोष्टमार्टम रिपोर्टबाट पुष्ट्याई भएको पाइन्छ । प्रतिवादी विष्णु शेरचनको छुराको प्रहारबाट अभिसरा मरेको कुरा चस्मदिद व्यक्ति जाहेरवाला अशोक राणाको बकाई समेतबाट समर्थित भएकोले प्र.विष्णु शेरचनलाई ज्यानसम्बन्धीको १३(१) बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहराएको शुरुको सदर ठहराएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मनासिब ठहर्छ । अ.बं. १८८ नं. प्रयोग गरी मेरो पक्षलाई कम सजायँ होस् भन्ने पुनरावेदकतर्फका विद्वान अधिवक्ताको बहस भएकोमा अ.बं. १८८ नं. मा ऐनले मृत्यु दण्ड, सर्वश्वसहित जन्मकैद वा जन्मकैद गर्नु पर्ने भएका मुद्दामा सावित ठहरे पनि इन्साफ गर्ने हाकिमका चित्तले भवितव्य हो की भन्न हुने सम्मको शंकाले वा अपराध गरेको अवस्था विचार गर्दा कसूरदारलाई ऐन बमोजिमको सजायँ दिंदा चर्को हुने भई घटी सजायँ हुनु पर्ने चित्तले देखेमा ऐनले गर्नु पर्ने सजायँ ठहराई आफ्नो चित्तले देखेको कारण सहितको खुलासा राय पनि साधक तोकमा लेखी जाहेर गर्नु हुन्छ । अन्तिम निर्णय दिनेले पनि त्यस्तो देखेमा ऐनले हुने सजायँमा घटाई तोक्न हुन्छभन्ने लेखिएको पाइन्छ । अपराधको अवस्था विचार गर्दा प्रतिवादी विष्णु शेरचनले अभिसरालाई मार्ने पूर्व योजना र नियत राखी आफ्नो घरमा रहेको फलामे पातोलाई तताई पिटी च्याप्टो बनाई ढुंगामा दुबै साइड घोटी धारिलो छुरी बनाई स्कूलमा गएकी अभिसरा शेरचनलाई बाहिर बोलाई कुनै वादविवादै नगरी एक्कासी छुरी प्रहार गरी मारेको देखिन्छ ।  अभिसरालाई छुरी प्रहार गरी कुनै वादविवाद झगडा भएको देखिन्न । मार्ने नियतले छुरी समेत बनाई सोही छुरी प्रहार गरी अभिसरालाई मारेको पाइन्छ । अभिसरालाई मार्ने योजना सुनियोजित देखिन्छ । तत्काल कुनै आवेशमा आई अभिसरालाई मारेको देखिन्न । त्यस्तो अवस्थामा अ.बं. १८८ नं. को प्रयोग गरी प्रतिवादीलाई घटी सजायँ होस् भन्ने प्रतिवादी पुनरावेदक तर्फका विद्वान अधिवक्ताको बहससंग सहमत हुन सकिएन । अ.बं. १८८ नं. को प्रयोग हुन मनासिब देखिएन । पुनरावेदन तहबाट मुद्दा किनारा भएकोले साधकको लगत कट्टा गरी मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.रुद्रबहादुर सिंह

 

इतिसम्वत् २०४७ साल भाद्र २० गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु