निर्णय नं. ४१४७ - उत्प्रेषण

निर्णय नं. ४१४७ ने.का.प. २०४७ अङ्क ५
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४५ सालको रि.नं. १०४५
आदेश भएको मिति: २०४७।५।११।२ मा
निवेदक : का.न.पं. वा.नं. १६ ब्लक नं. १५।३५३ बस्ने जमलधर तुलाधरसमेत
विरुद्ध
विपक्षी : श्री नेपाल बैंक लिमिटेड, ग्यारेण्टी विभाग, काठमाडौं अफिस काठमाडौंसमेत
विषय : उत्प्रेषण
(१) सुरक्षण बापत दृष्टिबन्धक राखेको अचल सम्पत्ति ग्यारेण्टी रकमसम्मको लागि लिलाम बिक्री गरी असूल उपर गर्न सक्ने अधिकार वाणिज्य बैंक ऐन, २०३१ को दफा ४७(क) अनुसार नेपाल बैंक लिमिटेड प्रधान कार्यालयलाई रहे भएको देखिने ।
(प्रकरण नं. १०)
निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी एवं विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री कोमल प्रकाश घिमिरे एवं विद्वान अधिवक्ता श्री दुर्गाप्रसाद सुब्बा
आदेश
न्या.गजेन्द्रकेशरी बास्तोला
१. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ ।
२. प्रत्यर्थी नं. २ का संस्थानको नाममा आयात भएका रासायनिक मल कलकत्ता बन्दरगाहाबाट छुट्टाई नेपाल अधिराज्यको विभिन्न स्थानसम्म ढुवानी गर्न भनी प्रत्यर्थी नं. २ र ४ का बीच मिति २०३८।१।१५ मा भएको सम्झौता बमोजिम प्रत्यर्थी नं. १ समक्ष प्रत्यर्थी नं. ४ को तर्फबाट हामी निवेदकको नाममा दर्ता हक भोगको का.जि.का.न.पं. वडा नं. १६ अन्तर्गतको कि.नं. २२५ को क्षेत्रफल २–०–१–३ को जग्गामा बनेको घर सुरक्षण बापत ६ महीनाको लागि मिति २०३८।१।२४ मा. रु. ७,०१,८००।– मूल्यको परफरमेन्स बन्ड लेटर अफ ग्यारेन्टी लेखी दिएका थियौं । उक्त ग्यारेन्टी पत्रको अवधि समाप्त नहुँदै प्रत्यर्थी नं. ३ ले एजेन्सी र संस्थान बीच भएको सम्झौता अनतर्गतको काम कार्यवाही समाप्त भई नसकेकोले ग्यारेन्टी पत्रको म्याद समाप्त भएको मितिले अर्को ३ महीनाको लागि म्याद थप गरी पठाउनु हुन भनी प्रत्यर्थी नं. ४ र १ लाई मिति २०३८।७।९ मा पत्र लेखी पठाएको सो सम्बन्धमा पुनः ०३८।७।१० मा विपक्षी नं. ३ ले ग्यारेन्टी हद रोक्का राख्ने आदेशको पत्र पठाएमा विपक्षी नं. १ ले मिति ०३८।७।१९ मा ग्यारेन्टी रोक्का राख्नु पर्ने कारण तथा सबूद प्रमाणको माग गरेकोमा विपक्षी संस्थानबाट मिति २०३८।७।२० मा सम्झौता उल्लंघन गरेको कुरालाई प्रमाणित गरिएको पत्र पठाई सकिएको र सम्झौता बमोजिमको काम समाप्त नभएकोले उक्त बैंक ग्यारेन्टीज यस संस्थानको खातामा जम्मा गरिदिनु हुन भनी लेखेको पत्र बैंकसंग गरिएको जमानी पत्रको शर्त नं. १ विपरीत भएको स्पष्टै छ । प्रत्यर्थी नं. १ ले मिति ०४०।२।१६ मा पुनः प्रत्यर्थी नं. ३ लाई बैंक ग्यारेन्टीज फुकुवाको सम्बन्धमा सोधनी गरी पठाएकोमा प्रत्यर्थी नं. २ र ४ बीच सम्पन्न भएको सम्झौताको उल्लंघन नभएको र यसको अतिरिक्त प्रत्यर्थी नं. १ ले मिति २०४४।९।९ मा अन्य प्रत्यर्थीहरु लगायत म निवेदक जमलधरलाई ७ दिनभित्र रकम बुझाउन नल्याएमा ग्यारेन्टी बापत सुरक्षणमा रहेको अचल सम्पत्ति सूचना प्रकाशित गरी लिलाम बिक्री बढाबढ गरी असूल उपर गरिने र अचल सम्पत्तिको सुरक्षणको आधारमा जारी गरिएको हुँदा दावी रकम बुझाउन ल्याउनु होला अन्यथा कार्यवाही भई जाने व्यहोरा जानकारी गराइएकोमा सो सम्बन्धमा मिति २०३८।१।२४ मा ६ महीनाको निमित्त दृष्टिबन्धक लेखी दिएको सुरक्षणको जमानीपत्रको म्यादै समाप्त भइसकेकोले सुरक्षण बापत लेखी दिएको घर लिलाम बढाबढ बिक्री गरी असूल उपर हुनु नपर्ने भनी प्रत्यर्थीहरु समेतलाई लिखित अनुरोध गर्दै सुरक्षण बापत राखिएको अचल सम्पत्ति फुकुवा गरी पाउँ भनी प्रत्यर्थीहरु समक्ष म जमलधर तुलाधरले निवेदन गरेको थिएँ । तत्पश्चात प्रत्यर्थी नं. १ समेतले जमानीपत्रको भाखा समेत व्यतित भइसक्दा पनि हामी निवेदकको अचल सम्पत्ति फुकुवा नगरी पुनः मिति २०४५।६।१० मा प्रत्यर्थी नं. ४ बाट अदालतको फैसला बमोजिम जमानत बापतको रकम समेत प्राप्त नभएकोले ७ दिनभित्र बुझाउन ल्याउनु होला रकम बुझाउन नल्याउनु भएमा जमानीपत्र जारी गर्दा मार्जिन बापत राखेको रकम सहित बाँकी रकम यसै कार्यालयबाट भुक्तानी पठाई भुक्तानी पठाएको मिति देखि नियमानुसार लाग्ने ब्याज सहित सम्पूर्ण रकम असूल उपर गर्न नियमानुसारको कार्यवाही हुने व्यहोरा जानकारी गराउँदछौं भनी प्रत्यर्थी नं. १ ले मिति २०४५।६।१० मा व्यहोरा उल्लेख गर्दै अन्य प्रत्यर्थीहरुलाई पत्र लेख्दै म निवेदकलाई समेत जानकारी गराएको छ । जबकी परफरमेन्स बण्ड लेटर अफ ग्यारेन्टीको बन्देज तथा शर्तहरुको नं. १ मा उक्त एजेन्सीले सम्झौताको उल्लंघन गरेमा सबूत प्रमाण सहित लेटर अफ ग्यारेन्टीको म्याद भुक्तान हुनु अगावै बैंक समक्ष दावी विरोध जनाउनु पर्ने र नं. २ मा यो लेटर अफ ग्यारेन्टीको म्याद सन् १९८१, ५ नोभेम्बरमा समाप्त हुने र सो पछि कुनै किसिमले बैंक जवाफदेही नहुने एवं कुनै प्रकारले दावी विरोध गरेमा पनि सो नलाग्ने भनी उल्लेख भएको छ । अतः सो विपरीत म्याद समाप्त भइसकेपछि उक्त दृष्टिबन्धकमा उल्लेखित सम्पत्ति घर लिलाम गर्न बैंकलाई अधिकार नै छैन । जुन लेनदेन व्यवहारको ३ नं. प्रतिकूल छ । प्रत्यर्थी बैंक र संस्थानलाई परफरमेन्स बण्ड लेटर अफ ग्यारेन्टी दिइएको काम कुरा भन्दा बढी अर्थात एजेन्सीज जे जति बुझाउनु पर्ने हुँदै जान्छ । त्यो सबै कुराहरु जमानत दिइएको सम्पत्तिबाट समेत असूल उपर गरी लिनु भनी हामी निवेदकहरुले त्यस्तो मन्जूरी स्वीकृति दिई कुनै लिखित कागजात गरी दिएका छैनौं । यसरी भाखा नाघी सकेपछि लिखत विपरीत अनाधिकार रुपमा प्रत्यर्थी बैंक समेतले हाम्रो अचल सम्पत्तिको विवरण गोरखापत्रमा प्रकाशित गरी लिलाम बिक्री बढाबढ गरी असूल उपर गर्न नियमानुसारको कार्यवाही हुने भनी मिति २०४५।६।१० मा पत्राचार भएको कुरा थाहा पाएबाट यसरी प्रत्यर्थी बैंक समेतको उक्त काम कारवाही र निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउँ साथै हुन लागेको लिलाम बढाबढ बिक्रीको काम कार्यवाही नगर्नु नगराउनु भन्ने अन्तरिम आदेश समेत जारी गरी पाउँ भन्ने समेतको रिटनिवेदन जिकिर ।
३. यसमा के कसो भएको हो विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि पेश गर्न साथै अन्तरिम आदेश सम्बन्धमा छलफल निमित्त ने.बैं.लि.प्र.का. लाई झिकाई नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको आदेश ।
४. यसमा प्रस्तुत रिटनिवेदनको किनारा नभएसम्म सुरक्षणमा रहेको विवादका घर जग्गा लिलाम नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरी दिएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति २०४५।९।२ को आदेश ।
५. विपक्षीले आफूले ज्योति क्लियरिङको लागि कृषि सामग्री संस्थानको पक्षमा बैंक ग्यारेन्टी जारी गर्न आफ्नो हकभोगको का.न.पं. वडा नं. १६ कि.नं. २२५ को घर जग्गा सुरक्षण बापत बैंकलाई लेखी दिएको भन्ने कुरामा विपक्षीले विवाद गर्न सकेका छ्रैनन् र लिखत अनुसार बैंक जमानी बसे बापत बैंकलाई जमानीबाट मुक्त गराई सकिएको छ भन्ने पनि विपक्षीको कथन छैन । विपक्षीले राखेको सुरक्षण बापत यस बैंकले कृषि सामाग्री संस्थानको पक्षमा उल्लेखित ग्यारेन्टी नं. ४४।१२३ जारी गरेको हो । ग्यारेन्टीको मिति २०३८।१।२४ भएको र ६ महीनासम्म रहने तथा सो अवधि भित्र ग्यारेन्टी रकम रु. ७,०१,८००।– सम्म उक्त संस्थानले दावी गरेमा बैंकले बिना शर्त सो रकम दिनु पर्ने भन्ने व्यहोरा उक्त ग्यारेन्टीमा उल्लेखित छ । सो ग्यारेन्टी नवीकरण भएको तथा म्यादै भित्र दावी समेत परेको भन्ने कुरा देखिन्छ । कृषि सामाग्री संस्थान र ज्योति क्लियरिङ बीच के कस्तो सम्झौता भएको थियो के कति काम भयो भएन त्यो बैंकको सरोकारको कुरा होइन । उक्त लिखत सिर्फ ६ महीनाको लागि भएको नभई बैंक ग्यारेन्टी फुकुवा गराई बैंक जमानीको दायित्वमा मुक्त नभएसम्म सो सुरक्षण कायमै रहने र त्यसको सुचना दिंदा पनि विपक्षीले रकम नबुझाई बाँकी रहे राख्यो भने सुरक्षण बापतको अचल सम्पत्ति लिलाम बिक्री गरी बैंकले आफ्नो रकम लिन सक्ने भन्ने कुरा उक्त लिखतमा उल्लेखित छ । अतः कृषि सामग्री संस्थानले रीतपूर्वक दावी गरेको हँुदा नै ग्यारेन्टीको रकम संस्थानलाई दिई ज्योति क्लियरिङले सो रकम बैंकलाई भर्ना नदिएमा विपक्षीको अचल सम्पत्ति लिलाम बिक्री गरिने वाणिज्य बैंक ऐन, २०३१ को दफा ४७(क) मा व्यवस्था भएको हुँदा विपक्षीको रिटनिवेदन खारेज होस भन्ने समेत विपक्षी नेपाल बैंक लिमिटेडको तर्फबाट परेको लिखितजवाफ ।
६. यस संस्थान र ज्योति क्लियरिङका प्रो.अमृत ज्योति कंशाकारको बीच संस्थानलाई १६,००० मे.टन मलखाद कलकत्ता पोर्टबाट नेपाल अधिराज्यको विभिन्न तोकिएको स्थानहरुमा ल्याई दिने सम्बन्धमा मिति २०३८।१।२५ मा आपसी सम्झौता भएको थियो सम्झौता बमोजिम काम सम्पन्न गर्न उल्लेखित एजेन्सीले राख्नु पर्ने परफरमेन्स बण्ड बापतको रकममा रु. ३,९९,९२१।– मिति २०३८।१।२४ मा नगदै र मिति २०३८।१।२५ मा रु. ४७,४९०।– नगद र मिति २०३८।१।२४ मा ७,०१,८००।– बापत अचल सम्पत्ति ने.बैं.लि. प्रधान कार्यालयलाई सुरक्षण बापत दृष्टिबन्धक पास गरी दिई ने.बैं.लि. प्रधान कार्यालयबाट संस्थानलाई ग्यारेन्टी पत्र प्राप्त भएकोले परफरमेन्स बण्ड बापतको रकम संस्थानले स्वीकार गरी सम्झौता बमोजिम काम गर्न उल्लेखित एजेन्सीलाई दिइएको हो । संस्थान र उल्लेखित एजेन्सीका बीच भएको सम्झौता अनुरुप समय मै काम सम्पन्न गर्ने काम निज एजेन्सीबाट हुन नसकेकोले सम्झौता बमोजिम निज एजेन्सीले राखेको परफरमेन्स बण्ड जफत गरी निज एजेन्सीले बढी लगेको रकम लगायत हर्जाना उपर समेतमा अदालती कारवाही उठाई निज एजेन्सीले तिर्न पर्ने ठहरी म.क्षे.अ. बाट अन्तिम निर्णय समेत भइसकेको छ । उल्लेखित अवस्थामा परफरमेन्स बण्ड जफत हुने कुरा सम्झौता मै किटान व्यवस्था भएको कुरो हो र परफरमेन्स बण्डको प्रयोजन पनि त्यही हो । परफरमेन्स बण्ड बापत राखिएको रकम सम्बन्धमा नेपाल बैंक लि. समक्ष संस्थानले समय मै दावा गरी आएको छ । यस सम्बन्धमा संस्थानले बैंक समक्ष समय मै दावी गरी उल्लेखित रकम संस्थानको खातामा जम्मा गरी दिन मिति २०३८।७।२०, २०३८।९।१६, २०४१।१२।२, २०४१।१।२५, २०४४।२।७, २०४४।२।१७, २०४४।७।२४, २०४४।११।१३, २०४५।५।२४ मा समेत पत्र व्यवहार गरी सकेको छ । नेपाल बैंक लि.ले संस्थानको दावी स्वीकार गरेर नै रकम असूल उपरको निमित्त लिलाम बिक्रीको कार्यवाही अगाडि बढाएको हुनुपर्छ । फेरि यस संस्थानको सम्बन्ध र सरोकार ज्योति क्लियरिङ एण्ड फरवार्डिङ एजेन्सीसंग मात्र हो । बैंक ग्यारेन्टी भए यस संस्थानलाई पुग्छ । विपक्षी रिट निवेदकसंग कुनै सरोकार नै छैन । ६ महीनाको म्याद समाप्त भइसकेको भन्ने रिट निवेदक अदालतबाट उल्लेखित एजेन्सीले संस्थानलाई तिर्न बुझाउन पर्ने गरी अन्तिम निर्णय भइसकेपछि ७ वर्ष पछि मात्र रिट क्षेत्रमा आएको समेत देखिँदा सफा हात लिई नआएको प्रस्तुत रिटनिवेदन खारेज होस भन्ने समेत कृषि सामग्री संस्थान प्र.का. र एकै मिलानको कृषि सामग्री संस्थान प्र.का. खरिद बिक्री विभागको छुट्टाछुट्टै लिखितजवाफ ।
७. कृषि सामग्री संस्थान र मेरो एजेन्सी बीच भएको सम्झौता बमोजिम सम्झौताको मूल्य बमोजिम कूल मूल्यको ५०% रकम माल बाहक जहाज कलकत्ता बन्दरगाहमा आइपुग्नु भन्दा ७ दिन अगावै पेश्कीको रुपमा भुक्तानी दिनु पर्ने दायित्व संस्थानको रहेकोमा बदनियत राखी ९ दिन पछि मात्र उपलब्ध गराएबाट नै शर्त बमोजिम दायित्व पूरा हुन नसकेको हो । जुन कुराबाट मलाई पर्न गएको क्षति रु. ११,२५,०००।– मलाई विपक्षी संस्थानले तिर्नु पर्ने गरी २०४३।४।२४ मा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको अन्तिम फैसलाबाट पनि सिद्ध भएको छ । अतः मेरो तर्फबाट विपक्षी रिट निवेदकले २०३८।१।२४ मा ने.बैं.लि. ग्यारेन्टी विभागलाई सुरक्षण बापत लेखी दिएको सम्पत्ति संस्थानले सम्झौता उल्लंघन गरेको कारणबाट लिलाम बढाबढ गर्न मिल्छ वा मिल्दैन सम्मानीत अदालतबाटै विचार हुनेछ भन्ने समेत विपक्षी ज्योति क्लियरिङ एण्ड फरबार्डिङ एजेन्सीको तर्फबाट परेको लिखितजवाफ ।
८. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिटनिवेदनको फाइल अध्ययन गरी रिट निवेदक जमलधर तुलाधरका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी एवं रिट निवेदक गुहयधरको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल तथा विपक्षी ने.बैं.लि.प्र.का. को तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरे एवं विपक्षी कृषि सामग्री संस्थानको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री दुर्गाप्रसाद सुब्बाले गर्नु भएको बहस जिकिर समेत सुनियो ।
९. अब यसमा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने हो होइन सो को निर्णय दिनु परेको छ ।
१०. निर्णयतर्फ विचार गर्दा यसमा विपक्षी ज्योति क्लियरिङ एण्ड फरवार्डिङ एजेन्सी तर्फबाट ६ महीनाको भाखा राखी विपक्षी बैंकबाट जारी भएका परफरमेन्स बण्ड लेटर अफ ग्यारेन्टीमा उल्लेख भएको अवधि भित्र अधिकार प्राप्त व्यक्तिको दावा विरोध नपरी सो म्याद नै समाप्त भएको साथै विपक्षी एजेन्सी र विपक्षी कृषि सामग्री संस्थान बीच भएको करारको म्याद पनि समाप्त भइसकेको हुँदा बैंकमा जमानत स्वरुप राखिएको हाम्रो घर जग्गा फुकुवा गरी दिनु सो नगरी एकतर्फ अनधिकृत व्यक्तिहरुबाट पत्राचार एवं काम कारवाही भई लिलाम बढाबढ गरी असूल उपर गर्ने निर्णय एवं सूचना समेत प्रकाशित गरी सकेको हुँदा विपक्षी बैंकका उक्त निर्णय एवं काम कारवाही बदर गरी पाउँ भन्ने मुख्य रिटनिवेदन जिकिर रहेको देखिन्छ । विपक्षी मध्येका कृषि सामग्री संस्थान र ज्योति क्लियरिङ एण्ड फरवार्डिङ एजेन्सीका बीच संस्थानको नाममा तेस्रो मुलुकबाट आयात भएका रासायनिक मल कलकत्ता बन्दरगाहबाट छुटाई नेपाल अधिराज्यका विभिन्न स्थानमा ढुवानी गर्न मिति २०३८।१।२५ मा भएको सम्झौता बमोजिम विपक्षी ज्योति क्लियरिङ एण्ड फरवार्डिङ एजेन्सीको तर्फबाट रिट निवेदकको आफ्ना नाममा रहेको का.जि.का.न.पं. वडा नं. १६ को कि.नं. २२५ को क्षेत्रफल २–०–१–३ को जग्गा र सो जग्गामा बनेको घर समेत रु. ७,०१,८००।– बापत ने.बैं.लि. प्रधान कार्यालयलाई सुरक्षणको रुपमा मिति २०३८।१।२४ मा दृष्टिबन्धक पास गरी दिई ने.बैं.लि. प्रधान कार्यालयबाट संस्थानलाई ग्यारेन्टी पत्र प्राप्त भएकोले परफरमेन्स बण्ड बापतको रकम संस्थानले स्वीकार गरी सम्झौता बमोजिम काम गर्न उक्त एजेन्सीलाई दिएको कुरामा विवाद देखिन आएन । यसरी सम्झौता बमोजिमको काम गर्ने सिलसिलामा उक्त एजेन्सीले मलहरुको डेलिभरी यथास्थानमा समयमा पुर्याउन नसकेको समेतबाट धेरै हानी नोक्सानी भएकोले सम्झौताको ग्यारेन्टी स्वरुप उक्त एजेन्सीले राखेको उपरोक्त परफरमेन्स बण्डको रकम संस्थानको खातामा जम्मा गरी दिनु हुन भनी विपक्षी कृषि सामग्री संस्थानले नेपाल बैंक लिमिटेड ग्यारेन्टी विभागका नाममा म्याद भित्रै मिति २०३८।७।१० मा प.सं. ४२।०३८।३९४६२ को पत्र पठाएकोमा बैंकले मिति २०३८।७।१९ मा ज्योति क्लियरिङ एण्ड फरवार्डिङ एजेन्सी र कृषि सामाग्री संस्थानको बीच सम्झौताको उल्लंघन भएको सबूत मागी पठाएको र सोको प्रतिउत्तरमा सम्झौताको दफा ९ को उपदफा २ बमोजिम कलकत्ता जहाजबाट मल डिस्चार्ज भएको अन्तिम दिनले एक महीना भित्रै सबै मलहरु संस्थानका गोदामहरुमा बुझाई सक्नु पर्नेमा उक्त दफाको उल्लंघन गरी हालसम्म उक्त जहाजहरुबाट विभिन्न मितिमा डिस्चार्ज पूरा भइसकेका मल केही मात्रामा कलकत्ता पोर्ट मै रेण्ट लागी त्यसै परिरहेकोले धेरै नोक्सानी परेको भन्ने समेतका विभिन्न मिति समेत उल्लेख गर्दै सम्झौता उल्लंघन भएको सबूत सहित कृषि सामग्री संस्थानले नेपाल बैंक लिमिटेड ग्यारेन्टी विभागका नाममा मिति २०३८।७।२० मा पत्र पठाएको कुरा नेपाल बैंकको तर्फबाट विद्वान अधिवक्ताले बेञ्चलाई देखाउनु भएको कारवाही फाइल हेर्दा देखिन आयो यसरी कृषि सामग्री संस्थानले कारण सहित उल्लेख गर्दै उक्त परफरमेन्स बण्डको रकम रीतपूर्वक तिर्न बुझाउन माग गरेपछि नै रिट निवेदकले ज्योति क्लियरिङ एण्ड फरवार्डिङ एजेन्सीको लागि कृषि सामग्री संस्थानको पक्षमा बैंक ग्यारेन्टी जारी गर्न रकम रु. ७,०१,८००।– सम्मको लागि संरक्षण बापत बैंकलाई लेखी दिएको कि.नं. २२५ को घर जग्गा लिलाम बिक्री गर्ने कार्यवाही बैंकको तर्फबाट हुन लागेको देखिन्छ । यसरी सुरक्षण बापत दृष्टिबन्धक राखेको उक्त अचल सम्पत्ति ग्यारेन्टी रकम रु. ७,०१,८००।– सम्मको लागि लिलाम बिक्री गरी असूल उपर गर्न सक्ने अधिकार वाणिज्य बैंक ऐन, २०३१ को दफा ४७(क) अनुसार नेपाल बैंक लिमिटेड प्रधान कार्यालयलाई रहे भएको समेत देखिएबाट सो अचल सम्पत्ति लिलाम बिक्री गर्न पाउने हैन भन्ने रिटनिवेदन जिकिर मनासिब नदेखिँदा रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिटनिवेदन खारेज हुने ठहर्छ ।
उक्त रायमा म सहमत छु ।
न्या.महेशरामभक्त माथेमा
इतिसम्वत् २०४७ साल भाद्र ११ गते रोज २ शुभम् ।