निर्णय नं. ४१४९ - कर्तव्य ज्यान

निर्णय नं. ४१४९ ने.का.प. २०४७ अङ्क ५
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४७ सालको फौ.पु.नं. २९५
फैसला भएको मिति : २०४७।५।२४।१ मा
पुनरावेदक/वादी : प्यूठान पक्ला गा.पं. वा.नं. ७ बस्ने तेजबहादुर बुढा मगरको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : प्यूठान पक्ला गा.पं. वा.नं. ७ बस्ने तेजबहादुर बुढामगर
मुद्दा : कर्तव्य ज्यान
(१) प्रतिवादी अदालतबाट जारी भएको म्यादमा हाजिर नभई फरार रही बसेका र जाहेरी किटानी परेको समेतबाट मृतक झुण्डी मरेको नभई प्रतिवादीले कर्तव्य गरी मारेको देखिँदा निजलाई वादी दावी बमोजिम मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) नं. अनुसार सर्वश्वसहित जन्मकैद हुने ।
(प्रकरण नं. २६)
पुनरावेदक/वादी तर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री ध्रुवलाल राज
फैसला
न्या.गजेन्द्रकेशरी बास्तोला
१. न्यायप्रशासन सुधार (संशोधन सहित) ऐन, २०३१ को दफा १३(३)(ग) बमोजिम म.प.क्षे.अ. को फैसला उपर दर्ता हुन आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त व्यहोरा र ठहर निम्नानुसार छ ।
२. चुमान सिं बुढामगर मिति २०४३।२।११ गते बेलुकी खाना खाई गोठमा सुत्न गएकोमा पटुकाको नाम्लोले पासो लगाई मरेको हुँदा जाहेर गरेको छु भन्ने तेजबहादुर बुढा मगरको २०४३।२।१३ को जाहेरी दर्खास्त ।
३. २०४३।२।१४ को लाश प्रकृति मुचुल्का ।
४. मृतक र मृतकको छोराको २०४३।२।११ गते बेलुकी झगडा परेको थियो । सोही रिसइवीबाट कसैको सहयोग लिई मारेको हो भन्ने समेत २०४३।२।१६ को धनबहादुर र प्रेमबहादुरको संयुक्त जाहेरी दर्खास्त ।
५. मिति २०४३।२।११ गते बेलुकी झगडा हुँदा प्रेमबहादुर, धनबहादुरले छुट्याएको हुन संधै झगडा गर्ने हुँदा राती विस्तरामा बसेको अवस्था मुंग्राले हानी मारेको हुँ भन्ने तेजबहादुर बुढामगरको प्रहरी समक्ष गरेको बयान कागज ।
६. तेजबहादुर साविती भएको हुँदा निजले नै मारेको हुनुपर्छ भन्ने समेत २०४३।२।३१ को सरमजीन मुचुल्का ।
७. प्रतिवादी तेजबहादुर बुढा मगरलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) अनुसार सजायँ गरी पाउँ भन्ने समेत प्रहरी प्रतिवेदन माग दावी ।
८. प्रहरीले के के लेखाई दस्तखत गराए थाहा छैन मैले बाबुलाई मारेको होइन मैले दिएको जाहेरी साँचो हो भन्ने समेत प्र.तेजबहादुर बुढाको प्यूठान जिल्ला अदालतमा भएको बयान ।
९. मृतकको निधारमा घाउ थियो र बाबु छोरा पहिले देखि झगडा हुँदा प्रतिवादीले कर्तव्य गरी मारेकोमा शंका लाग्छ भन्ने समेत अम्बरबहादुर, चन्द्रबहादुर, दुर्गाबहादुर, धनबहादुर समेतको शुरु प्यू.जि.अ.मा भएको बकपत्र ।
१०. २०४३।२।११ गते बेलुकी झगडा हुँदा म समेतले सम्झाई मृतक चुमान सिं सुत्न गए प्रतिवादी पनि धनबहादुरको घरमा सुत्न जान्छु भनी गएका हुन भोली पल्ट मरेको हुँदा कर्तव्यबाट मरेको शंका लाग्छ भन्ने समेत प्रेमबहादुरको शुरु जि.अ.मा भएको बकपत्र ।
११. लोग्ने चुमान सिं आफैं झुण्डी मरेका हुन प्र.तेजबहादुरले मारेको हो भन्न सक्दिन भन्ने समेत मृतककी पत्नी बिकी मगर्नीको प्यूठान जिल्ला अदालतमा भएको बकपत्र ।
१२. चुमान सिं कर्तव्यबाट मरेको मलाई थाहा छैन भन्ने विष्णु मगर्नीको प्यूठान जि.अ.मा भएको बकपत्र ।
१३. प्र.का साक्षी थमनबहादुर र चेतबहादुरको बकपत्र ।
१४. तेजबहादुर बुढा मगरले बाबु चुमान सिंह बुढा मगरलाई मारी झुण्डाएको भन्ने प्रहरी प्रतिवेदन पुग्न सकदैन । प्र.तेजबहादुर बुढा मगरले सफाई पाउने ठहर्छ भन्ने समेत प्यूठान जिल्ला अदालतको २०४४।१।१३ को फैसला ।
१५. शुरु जिल्ला अदालतबाट साक्षी र सबूतको मूल्यांकन नगरी गरेको फैसला त्रुटिपूर्ण हुँदा प्रतिवादी तेजबहादुरलाई प्रहरी माग दावी अनुसार सजायँ गरिपाउँ भनी वादी श्री ५ को सरकारले राप्ती अञ्चल अदालतमा गरेको पुनरावेदन ।
१६. प्रतिवादी तेजबहादुर बुढा मगरलाई सफाई दिने गरेको प्यूठान जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत राप्ती अं.अ. को २०४४।१२।२४ को फैसला ।
१७. राप्ती अञ्चल अदालतबाट शुरु जि.अ.को फैसला मनासिब ठहराई गरेको इन्साफमा चित्त बुझेन । प्रहरी प्रतिवेदन माग दावी बमोजिम गरी पाउँ भनी वादी श्री ५ को सरकारले मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतमा गरेको पुनरावेदन ।
१८. म.प.क्षे. संयुक्त इजलासबाट मिति २०४५।५।१३ मा भएको झ.झि.आदेश ।
१९. म.प.क्षे.अ. संयुक्त इजलासबाट वारदात मितिमा मृतकको नातिनी ज्वाई तिलाबहादुर र नातिनी पिमा मगर्नी मृतककै घरमा भएकोले निजहरुलाई जिल्ला अदालत मार्फत बुझी पेश गर्नु भन्ने मिति २०४५।१२।१३ मा भएको आदेश ।
२०. मृतकको नातिनी ज्वाई तिलबहादुर नातिनी पिमा मगर्नीलाई बुझ्न अर्घाखाँची जिल्ला अदालतमा लेखी जाँदा अर्घाखाँची जिल्ला अदालतबाट रीतपूर्वक तामेल भएको ७ दिने म्याद भित्र नआई निज तिलबहादुर र पिमाले म्याद गुजारी बसेका ।
२१. मृतक चुमान सिंहलाई मार्न मुंग्रा प्रहार गरेको अवस्थामा देख्ने चस्मदिद कोही छैन । प्रहरीको साविती सरजमीनबाट पुष्टि हुन नसकेको, सरजमीनमा तथ्य मात्र किटान नभई विश्वास व्यक्त गरेकोलाई भरपर्दा प्रमाणित आधार मान्न मिलेन । शंकाको सुविधा अभियुक्तले पाउने हुँदा प्रतिवादी तेजबहादुर बुढाले सफाई पाउने ठहर्छ मृतकको लाश प्रकृति मुचुल्काबाट शरीरमा घा चोट र रगत बगेको देखिएको मृतकको मृत्यु आत्महत्या नभई कर्तव्यबाट भएको ठहर्छ भन्ने समेत म.प.क्षे.अ. को मिति २०४६।३।७ को फैसला ।
२२. उक्त फैसलामा चित्त बुझेन मृतकको मृत्यु कर्तव्यबाट भएकोमा स्या. अदालत समेतले ठहर गरेको छ । मिसिल प्रमाण एवं प्रतिवादीको बयान, सरजमीनको बकपत्र तथा लाश प्रकृति मुचुल्काबाट मृतक चुमान सिंको मृत्यु प्रतिवादीकै कर्तव्यबाट भएकोले म.प.क्षे.अ. को फैसला बदर गरी प्रतिवादीलाई वादी दावी अनुसार सजायँ गरी पाउँ भन्ने वादी श्री ५ को सरकारले यस अदालतमा गरेको पुनरावेदन ।
२३. प्रतिवादी तेजबहादुर बुढा मगरलाई दावी अभियोगबाट सफाई दिने ठहर्याएको म.प.क्षे.अ. को फैसला विचारणीय हुँदा विपक्षीलाई झिकाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने यस अदालतको संयुक्त इजलासको मिति २०४६।११।२ को आदेश ।
२४. प्रतिवादी तेजबहादुर बुढा मगरलाई झिकाउन यस अदालतबाट प्यूठान जिल्ला अदालतमा लेखी पठाउँदा प्यूठान जिल्ला अदालतबाट रीतपूर्वक म्याद तामेल हुँदा समेत म्यादमा हाजिर नभई प्रतिवादी म्याद गुजारी बसेको ।
२५. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित विद्वान उपन्यायाधिक्ता श्री धु्रवलाल राजले गर्नु भएको बहस समेत सुनियो यसमा म.प.क्षे.अ. ले गरेको इन्साफ मनासिब बेमनासिब के रहेछ सो को नै निर्णय दिनु परेको छ ।
२६. यसमा निर्णयतर्फ विचार गर्दा मृतक चुमान सिंहको प्रतिवादी तेजबहादुरको अंश सम्बन्धी विषयलाई लिएर मिति २०४३।२।११ गते बेलुकी झगडा भई मृतक बाबुलाई लठ्ठीले दाहिने पट्टि निधारमा एक चोट प्रहार गरी नाम्लोको डोरीले घरको थाम खम्बामा बाँधेको हुँ । सोही अवस्थामा प्रेमबहादुर र धनबहादुर आई झगडाको विषयलाई भोलिपल्ट पञ्चायत गराउने भनी झगडा शान्त पारी गएका पछि बाबुलाई हत्या गरेमा सँधैको झगडाबाट मुक्त हुने भन्ने समेतको मनमा सोचाई आएकोले मुंग्रोले बाबुको दाहिने पट्टि गर्दनमा ठूलो प्रहार गरें । पुनः बायाँ पट्टि एक प्रहार गरें, बाबु मरीसकेपछि आफैं झुण्डी मरेको बनाउन गोठ घरको बलोमा झुण्ड्याई दिएको हुँ भन्ने समेत व्यहोराबाट अधिकारप्राप्त अधिकारी समक्ष प्रतिवादी सावित हुँदै अदालतमा कसूरमा इन्कार छन् तापनि सो अदालतको इन्कारी कतैबाट पुष्टि हुनसकेको छैन । लाश प्रकृति मुचुल्काबाट मृतक चुमान सिंको शरीरमा घा चोट र रगत बगेको समेत देखिएबाट प्रतिवादीको प्रहरीको साविती लाश प्रकृति मुचुल्काबाट समर्थित हुन आएको छ । अदालतमा अम्बरबहादुर, चन्द्रबहादुर, दुर्गाबहादुर, धनबहादुर समेतको बकपत्र हुँदा निजहरुले मृतकको निधारमा घाउ थियो । प्रतिवादी र मृतक बीच बराबर पहिलेदेखि झै झगडा हुने हुँदा प्रतिवादीले नै कर्तव्य गरी मारेका हुन भनी किटान गरेका छन् । प्रतिवादी अदालतबाट जारी भएको म्यादमा हाजिर नभई फरार रही बसेका, जाहेरी किटानी परेको समेतबाट मृतक चुमान सिंह मगर झुण्डी मरेको नभई प्रतिवादी तेजबहादुर बुढाले कर्तव्य गरी मारेको देखिँदा निजलाई वादी दावी बमोजिम मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) नं. अनुसार सर्वश्वसहित जन्मकैद हुने ठहर्छ । प्रतिवादीलाई सफाई दिने गरी गरेको मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
प्रतिवादी तेज ब.बुढा मगर के माथि इन्साफ खण्डमा लेखिए बमोजिम २० वर्ष कैद र सर्वश्व हुने ठहरेकोले निजको अंश ऐन बमोजिम सर्वश्व तायदात गरी बेरुजू हुँदा कैदको लगत कसी असूल उपर गर्न लगत राख्नु भनी शुरु प्यूठान जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु...१, मिसिल नियमानुसार गरी बुझाई दिनु...१
उक्त रायमा मेरो सहमति छ ।
न्या.प्रचण्डराज अनिल
इतिसम्वत् २०४७ साल भाद्र २४ गते रोज १ शुभम् ।