निर्णय नं. ४१५८ - कर्तव्य ज्यान

निर्णय नं. ४१५८ ने.का.प. २०४७ अङ्क ६
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४७ सालको फौ.सा.नं. ९०
फैसला भएको मिति : २०४७।३।१३।४ मा
वादी : कुलबहादु गुरुङको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रतिवादी : गोरखा जिल्ला छोप्राक गा.पं. वा.नं. ६ बस्ने मनकुमारी गुरुङ
मुद्दा : कर्तव्य ज्यान
(१) जन्मेको जातक मारी गाडेको देखिन आएकोले निजलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) बमोजिम जन्मकैदको सजायँ गर्ने ठहर्याएको शुरु तथा अञ्चल अदालतको इन्साफ सदर गरेको क्षेत्रीय अदालतको फैसला मनासिब देखिने । (प्रकरण नं. १५)
फैसला
प्र.न्या.धनेन्द्रबहादुर सिंह
१. पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४७।१।४।३ को फैसला उपर साधक जाँचको लागि पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. ज्ञानमाया भन्ने बुद्धिमाया अविवाहिता गर्भवती भएको कुरा गाउँ घरमा होहल्ला भई गाउँ पञ्च भलादमी बसी कसको गर्भ हो भनी भन्दा ज्ञानमाया भन्ने बुद्धिमाया गुरुङले गाउँकै श्यामबहादुरको गर्भ बोकेकी रहिछ निज दिदी भाइ बाबु बाबुका छोरा छोरी भएकोले हाडनाताबाट बच्नको लागि २०४४।६।१६ गते राती जन्मेको बालक कर्तव्य गरी मारेको शंका लागि जाहेरी दिन आएको छु । लाश जाँच गरिपाउँ भन्ने कुलबहादुरको जाहेरी दर्खास्त ।
३. धनसारको घरको पाली खामा देखि पूर्वतर्फ ९ फिट फरक कुनामा झारपात थुपारी रहेको झारपात फाली हेर्दा पूर्व उत्तर सिरान पश्चिम दक्षिण गोडा गरी बायाँ कोल्टो परी बायाँ हात पछाडि पट्टि फर्किएको छोरा जातक मृतक लास सडी गली गएको भन्ने समेत लास जाँच प्रकृति मुचुल्का रहेछ ।
४. जेठा बाबु पर्नेको छोरा श्यामबहादुर आज भन्दा ७–८ महीना पहिला राती म सुतेको ठाउँमा आई मलाई करणी गरेको थियो सोही करणी वीर्यबाट मेरो गर्भ रहन गएछ । २०४४।६।८ गते मलाई श्यामबहादुरको जिम्मा लगाई दिएकोले म श्यामबहादुरको घरमा बसेकी हुँ । २०४४।६।१६ गते विजया दशमीको दिन राती मलाई सुत्केरी वेथा लागेको थियो । श्यामबहादुर गाउँतिर कता गएका थिए मलाई थाहा छैन । राती श्यामबहादुरकै घर पिडीमा मेरो गर्भबाट छोरा जातक बालक पैदा भयो । बालक पैदा हुँदाका अवस्थामा निज श्यामबहादुर गुरुङ घरमा थिएन । निजकी आमा मनकुमारी गुरुङ थिइन । बालक जन्मने बित्तिकै हेर्दा चलेको थियो सासु आई बच्चा उठाई धनसार घर अगाडि कुनामा लगी कोदालोले खनी पुरी दिएकी हुन् । त्यस बखत श्यामबहादुरले कर्तव्य गरेको छैन । कर्तव्य गर्ने भनी सहमति थियो थिएन मलाई थाहा छैन उक्त बच्चा म समेतले भई कर्तव्य गरी मारे मराएको होइन भन्ने समेत प्र.ज्ञानमाया भन्ने बुद्धिमाया गुरुङको प्रहरीमा भएको बयान कागज रहेछ ।
५. बुद्धिमायाले म श्यामबहादुरको करणी वीर्यबाट गर्भ रहेको पनि भनिन, मैले करणी गरेको हुँदा उक्त गर्भ सकारी स्वास्नी तुल्याई राखेको हुँ । हामीहरु सहोदर दाजु भाइका छोरा छोरी होइनौं । विजया दशमीको दिन साँझ म मामाको घरमा गएको थिएँ । म मामाको घरबाट पिङ खेल्न चित्रे गाउँमा गएको हुँ । २०४४।६।१६ गते राती ज्ञानमायाको गर्भबाट जातक छोरा पैदा भएछ । निज बुद्धिमायाको गर्भ पतन गराउने उद्देश्य मेरो थिएन । म समेत भई कर्तव्य गरी ज्यूँदो बालक मारे मराएको होइन भन्ने समेत प्र.श्यामबहादुर गुरुङको प्रहरीमा भएको बयान कागज ।
६. हाडनाताबाट बच्न बचाउने उद्देश्यले मनकुमारी गुरुङ र निजको छोरा श्यामबहादुर गुरुङको सल्लाह सहमतिबाट मनकुमारीले जिउँदो जन्मेको छोरालाई मारी फाली दिएकी हुन् भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का रहेछ ।
७. हाडनाताबाट बच्ने बचाउने उद्देश्यले मनकुमारी र श्यामबहादुरले बुद्धिमायाबाट जन्मेको छोरालाई कर्तव्य गरी मारी मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १ नं. को कसूर गरेको प्रमाणित हुन आएकोले मनकुमारी गुरुङलाई र श्यामबहादुर गुरुङलाई सोही ऐनको १३(३) अनुसार सजायँ हुन र बुद्धिमायालाई १७(३) अनुसार सजायँ गरी पाउँ भन्ने प्रहरी प्रतिवेदन दावी रहेछ ।
८. गत मंसीर महीनामा श्यामबहादुर म सुतेको ठाउँमा आई मलाई करणी गर्यो त्यसपछि म पनि करणी लिनु दिनु हुँदै आएको अवस्था श्यामबहादुरको करणी वीर्यबाट मेरा पेटमा गर्भ रहन गएकोले २०४४ साल आश्विन ८ गते म श्यामबहादुरको घरमा गई बसेकी अवस्था २०४४ आश्विन १६ गते श्यामबहादुरकै घरमा बच्चा जन्मेको त्यस बखत श्यामबहादुरको आमा मनकुमारीले पनि देखेकी छन् । बच्चा जन्मिएको एकछिन पछि मरेको हो मैले कर्तव्य गरी मारेको होइन । श्यामबहादुरले पनि मारेको होइन भन्ने ज्ञानमाया भन्ने बुद्धिमायाको अदालतमा गरेको बयान रहेछ ।
९. ज्ञानमाया भन्ने बुद्धिमायालाई मैले करणी गरेको थिएँ । मैले गरेको करणी वीर्यबाट निज गर्भवती भएछ । २०४४।६।१६ गतेको दिन म मामाको घरमा टिका लगाउन गएको हो रात त्यहीं बसी ऐ.१७ गते घरमा आउँदा बुद्धिमायाले बालक जन्माएको र बालक मरेको कुरा थाहा पाएको हुँ । जन्मेको जातकलाई मैले मारे मराएको होइन भन्ने समेत श्यामबहादुरको अदालतमा भएको बयान रहेछ ।
१०. आफ्नो घरमा टिका लाउने काम सकी माइतमा टिका लगाउन गएको माइतबाट आधा रातमा घर आउँदा बुहारी बुद्धिमाया बाहिर पिंडीमा सुती रहेकी थिई म धनसारमा सुतें, बुद्धिमायाको गर्भबाट कुन बेला मरे वा बाँचेको बालक पैदा भयो मैले थाहा पाइन बुहारीबाट जन्मेको बालकलाई मैले कर्तव्य गरी मार्न पर्ने कारण केही नहुँदा मैले कर्तव्य गरी मारे मराएको होइन बच्चा जन्मिदा जिउँदो थियो सासु मनकुमारीले लगी गाडी मारेको भनी ज्ञानमाया भन्ने बुद्धिमायाले किन भनी मैले बालक कर्तव्य गरी मारेको होइन भन्ने प्र.मनकुमारीको अदालतमा भएको बयान कागज ।
११. आदेशानुसार जाहेरवाला सरजमीनका मानिस र प्रतिवादीका साक्षीको बकपत्र मिसिल सामेल रहेछ ।
१२. प्रतिवादी मनकुमारीले कर्तव्य गरी नवजात शिशुलाई मारेको ठहर्छ र प्र.श्यामबहादुर तथा ज्ञानमाया उपरको वादी दावी पुग्न नसकी सफाई पाउने ठहर्छ प्र.मनकुमारीको हकमा मिसिल प्रमाणबाट दावी रहेको भए तापनि घटनाक्रममा वारदातको अवस्थालाई हेर्दा कानुन बमोजिम जन्मकैदको सजायँ चर्को हुने देखी निजलाई ५ वर्ष मात्र कैद हुनु पर्ने चित्तमा लागेकोले अ.बं. १८८ नं. अनुसार छुट्टै राय लगाई जाहेरी फैसला गरी दिएँ भन्ने समेत शुरु गोरखा जिल्ला अदालतको २०४५।१०।१२ को फैसला ।
१३. सबूद प्रमाणको आधारमा सफाई पाएका प्रतिवादीहरुलाई शुरु प्रहरी प्रतिवेदन माग दावी अनुसार नै सजायँ गरी पाउन सादर अनुरोध गरिएको छ भन्ने समेत श्री ५ को सरकारको तर्फबाट गण्डकी अञ्चल अदालतमा परेको पुनरावेदन ।
१३. प्रतिवादी श्यामबहादुर उपर मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) को सजायँको माग दावी लिइएकोमा प्रतिवादीहरु मानकुमारी र ज्ञानमाया भन्ने बुद्धिमाया समेतले मृतक जातक जन्मिदा निज घरमा नभएको र निजले मृतक जातकलाई मार्ने सल्लाह समेत दिएको होइन भनी स्पष्ट रुपमा प्रहरी तथा अदालतमा बयान गरेका छन । अदालतमा आई बकपत्र गर्ने साक्षी सरजमीनले पनि प्रतिवादी श्यामबहादुर घटनास्थलमा भएको र निजले मृतक जातकलाई मार्ने सल्लाह दिएको भनी किटानी रुपमा भन्न सकेको देखिएन । यसको अलावा निज घटनास्थलमा उपस्थित रही मृतक जातकलाई मार्नु पर्ने सल्लाह सहमति दिएको कुरा वादी पक्षबाट कुनै प्रमाण पेश भएको देखिएन । केवल प्रतिवादी ज्ञानमायाले बोकेको गर्भ निजको हो भन्ने कुराको स्पष्ट स्वीकारोक्तिको आधारमा निज माथि शंका गरी निजलाई कसूरदार ठहर्याउन कानुन तथा न्यायसंगत देखिएन । अर्को प्रतिवादी ज्ञानमाया भन्ने बुद्धिमाया माथि मुलुकी ऐन ज्यानसम्बन्धीको १७(३) को सजायँको माग दावी भएकोमा निजले मृतक जातकलाई मारेको हेरी रही जाहेर प्रकाश नगरेको भन्ने कुराको लागि प्रशव वेदनाबाट पीडित प्रतिवादीले तत्कालै सो कुरा गरेन भनी अभियोग लगाउनु उपयुक्त नहुनुको साथै निजले उक्त कसूर गरेको कुरामा वादी पक्षबाट कुनै ठोस प्रमाण प्रस्तुत नभई शंकाको भरमा मात्र अभियोग लगाई सजायँको माग दावी गरेको देखिनाले प्रतिवादीहरु श्यामबहादुर र ज्ञानमायाले सफाई पाउने ठहरी गरेको शुरुको फैसला मनासिब छ प्र.मनकुमारीको हकमा साधक सदरको लागि प.क्षे.अ. मा पठाई दिने ठहर्छ भन्ने समेत गण्डकी अञ्चल अदालतको मिति २०४६।३।२८।४ को फैसला ।
१४. प्रतिवादी श्यामबहादुर गुरुङ र बुद्धिमाया गुरुङको हकमा सफाई दिए उपर श्री ५ को सरकारको तर्फबाट पुनरावेदन परेको नदेखिँदा त्यसतर्फ बोल्नु परेन । मनकुमारी गुरुङको हकमा सासू मनकुमारीले छोरा बच्चा बोकी लगी गाडेको भनी बुद्धिमाया गुरुङले बयान गरेको तथा बुझिएका सरजमीनका मानिसहरुले पनि सोही मिलानको बकपत्र गरेको समेतबाट निजलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ गर्ने गरेको शुरु इन्साफ सदर गरेको गण्डकी अञ्चल अदालतको इन्साफ मनासिब देखिँदा सदर हुने ठहर्छ भन्ने समेतको पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४७।१।४।३ को फैसला ।
१५. उक्त फैसला उपर साधकको लगतमा दर्ता भई नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा प्रतिवादी मनकुमारी गुरुङले बुहारी बुद्धिमाया गुरुङबाट जन्मेको जातक छोरालाई कर्तव्य गरी मारेकोले निजलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ होस् भन्ने प्रहरी प्रतिवेदन दावी रहेको पाइन्छ । बुद्धिमाया गुरुङले अधिकारप्राप्त अधिकारी समक्ष बयान गर्दा जेठा बाबु पर्नेको छोरा श्यामबहादुरसंग करणी लिनु दिनु भई सोही गर्भबाट मिति २०४४।६।१४ गते राती जन्मेको छोरालाई सासू मनकुमारी आई बच्चा उठाई धनसार घर अगाडि कुनामा लगी कोदालाले खनी पुरी दिएकी हुन् भनी बयान गरेको देखिन्छ । निजले उक्त बयानमा जन्मदाको अवस्थामा बच्चा चलबलाएको थियो भन्ने व्यहोरा समेत खुलाएकोले सो बच्चा जीवित जन्मेको भन्ने देखिन आउँछ । मृतक बच्चा जन्मेको भए वा जन्मिसकेपछि कालगतिले मरेको भए विधिपूर्वक त्यसको सदगत गर्नु पर्नेमा त्यसो नगरी गुपचुप राखी धनसार घर अगाडि कोदालीले खनी गाड्नु पर्ने थिएन । प्रतिवादी मनकुमारी गुरुङले अदालत समक्ष बयान गर्दा निज सो दिन घरमा दशैंको टिका लगाउने काम सकी माइतमा टिका लगाउन गएको र त्यहाँ टिका लगाई सोही आधा रातमा घर फर्कंदा बुहारी पिंडीमा सुती रहेकी थिई म धनसारमा गई सुतें भन्दै कसूरमा इन्कार रही बयान गरेको देखिन्छ । बुद्धिमायाले बयान गर्दा प्रशुती वेदनाले छटपटिएर पिंडीमा सुतेको भनी बयान गरेको देखिन्छ । प्रशुती वेदनाबाट तडपिएर पिंडीमा सुतेको बुहारीलाई एक्लै छाडी आफू धनसारमा गएर सुतेको भन्ने भनाई स्वाभाविक देखिन्न । साथै बच्चा जन्मदाको अवस्थामा सासु मनकुमारी समेत चस्मदिद छन भनी बुद्धिमायाले अदालतमा समेत बयान गरेको देखिएको छ । सरजमीनका समस्त मानिसहरुले मनकुमारी गुरुङले जिउँदो जन्मेको बच्चालाई मारी गाडी दिएकी हुन् भनी लेखाई दिएको पाइन्छ र सरजमीनमा भनेको सोही व्यहोरालाई समर्थन गर्दै सरजमीनका मानिस सन्तमान गुरुङ समेतले अदालतमा आई बकपत्र समेत गरी दिएको देखिन्छ । निज मनकुमारीले शुरुले गरेको सजायँ उपर पुनरावेदन समेत गरेको देखिँदैन । अतः निज मनकुमारी गुरुङले बुहारी बुद्धिमायाबाट जन्मेको जातक मारी गाडेको देखिन आएकोले निजलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) बमोजिम जन्मकैदको सजायँ गर्ने ठहर्याएको शुरु तथा अञ्चल अदालतका इन्साफ सदर गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४७।१।४ को फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हिरण्येश्वरमान प्रधान
इतिसम्वत् २०४७ साल असार १३ गते रोज ४ शुभम् ।